आजकलका निरोहरू फोहोर मन पराउँदैनन्
त्यसैले सफाइ गर्छन्
गरीब बस्ने झोपडीको ।
भत्काउँछन् एक–एक गारा
गर्छन् भग्नावशेषको दृश्यावलोकन
अनि खुशी हुन्छन्
शहर सफा भएकोमा ।
आजकलका निरोहरू अन्धेर शासन चाहँदैनन्
ल्याउन खोज्छन् सुशासन
करको भारी बोकाउँदै
जनताको घाँटी अठ्याउँदै
अनि फनक्क फर्केर सुकिला–मुकिलातिर
दिन्छन् प्रत्याभूति
‘हामी तिम्रै मात्र हौँ ।’
उहिलेका हुन् वा अहिलेका
निरोहरूलाई जायज विरोधका आवाज मन पर्दैन ।
उनीहरूको आङको जुम्रा देखाएको मन पर्दैन ।
गरीबी मन पर्दैन
गरीब नै मन पर्दैन ।
र कथम्कदाचित्
आफ्नै जनको बेथिति देखे पनि
असह्य सन्त्रासका कारण
शहर जलिरहेको देखे पनि
उहिलेका निरोहरू बाँसुरी बजाउँथे
आजकलका निरोहरू
मौन बस्छन् ।


