साहित्यपोस्ट डट कम

कविता : अहंकारबाट एकतासम्म

कविता : अहंकारबाट एकतासम्म

देशले खोजिरहेछ आज शालीनता

अहंकार र घमण्डले हराइदिन्छ मानवता ।

दम्भ र भाषणले छोप्छन् सधैँ काम

खराब नियत लुकाइदिन्छन् खाली ठूला नाम ।

अन्यायको अन्धकारले दब्छ यहाँ न्याय

विभाजन फैलाउँछ द्वेष, मर्छ एकताको माया ।

हिंसा फैलँदा भत्किन्छ जीवनको शान्ति

न्याय उज्यालिँदा फेरि फर्कन्छ देशमा कान्ति ।

आऊ घमण्ड छोडेर अपनाऔँ नयाँ विनम्रता

अहंकार हटाएर फिर्ता ल्याऔँ हराएको मानवता ।

शब्द होइन, कामले निर्माण गरौँ नयाँ राष्ट्रियता

न्याय, शान्ति र सद्भावले सजाऔँ हाम्रो एकता ।

विकृतिका भुमरी तोडी बनाऔँ साँचो शील

आफ्नै कमजोरी सुधार्दै रोपौँ उज्यालो दिल ।

छलकपट हटेपछि फुल्छ मनको वसन्त

सत्य र करुणाले बन्छ देश अझ उन्नत ।

भाइचारा र सद्भावले खुल्छ नयाँ मार्ग

अन्धकार हट्छ जब सहमतिले भरिन्छ संवाद ।

उमेर, जात, भाषा नसोची समाऔँ हातमा हात

एकताको सुगन्धले फुलाउँछ देशको प्रात ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.