आमा, म बैठकमा जान्नँ
त्यहाँ धेरै हल्ला हुन्छ ।
केही बोल्न खोज्दा
अरूलाई टाउको दुख्छ ।
आमा, म बैठकमा जान्नँ
त्यहाँ कुरा कम, झगडा बढी ।
वाचा धेरै, ईर्ष्या धेरै
उपलब्धि थोरै ।
आमा, म बैठकमा जान्नँ
त्यहाँ
कोही निदाउँछन्
कोही चुम्बन उडाउँछन्
कोही सकी–नसकी लम्बेतान भाषण लाउँछन्
अँह, केही बुझ्दिनँ ।
आमा, म बैठकमा जान्नँ
कुनै बेला दीप श्रेष्ठ गुन्जिएजस्तै
“आमा, तिनीहरूले जेसुकै भनुन्
म बहुला होइन”
आमा, म बैठकमा जान्नँ
बरु, बस्छु यतै ।
खान्छु चिज, लाउँछु कमिज
भाइरल हुन्छु यसै ।
आमा, म बैठकमा जान्नँ
त्यहाँ धेरै नाटक मञ्चन हुन्छ ।
बरु, बस्छु यतै ।
टोल बनाउने तलतल
मेट्छु यतै ।

