साहित्यपोस्ट डट कम

कविता : आफैँभित्र खोजी गर्नुपर्छ आफैँ

कविता : आफैँभित्र खोजी गर्नुपर्छ आफैँ

घरबाहिर तामझाम छ

घरभित्र हरे ! राम छ

पढेलेखेको छ

अन्तर्हृदयमा केही नदेखेपछि

बेकाम छ

भित्र नै कामैकाम छ

र पनि

विमानस्थलमा जाम छ

थाहा छैन जानेहरूलाई— आफ्नै

हृदयस्थलमा काम छ ।

अमेरिकाले अवसर दिँदा

चीनले चमत्कार दिँदा

भारतले भरोसा दिँदा

खाडीले खन्याउँदा

अनि युरोपले युगान्तकारी परिवर्तन दिँदा

एसियाले एकताको ऐना देखाउनुपर्छ

नेपालले नवप्रवर्तनको नसालु आरम्भ देखाउनुपर्छ ।

हरे ! राम पनि घरभित्र

हरेक काम पनि घरभित्र

चित्र र चरित्र पनि घरभित्र निर्माण गरेर

प्राचीनतामा आधुनिकता ल्याएर

गोबरलाई गणेश बनाएर

निर्यात गर्नुछ आविष्कार

पैठारीमा प्रेम पनि ल्याउनु छ

क्लेस, द्वन्द्व र दरारलाई

करारमा राखेर न्यूनीकरण गर्दा

प्रेम र परेवाले

शान्ति ल्याउनुपर्छ ।

तडकभडकमय सडकको तामझाम

देखावटी दृश्यमा नाटक हो

नियमको नृत्य होइन

कर्मको कृत्य होइन

केवल आफ्नोपनको आभास

आफैँ भित्र हुनुपर्छ

पवित्र हुनुपर्छ ।

“चोर माइन्डेड”को दुनियाँमा सफलता देखिए पनि

“कमजोर माइन्डेड”को जीवनमा

जीवन्तता हुन्छ

कामचोर हुँदैन कमजोर मान्छे ।

ज्ञात रहोस्

कामचोर नहुनु नै अथाह धनी हुनु हो

त्यसैले

अस्ट्रेलियादेखि अफ्रिकाभन्दा पनि पर

आफैँभित्र खोजी गर्नुपर्छ आफैँ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.