इम्फाल । आधुनिक मणिपुरी काव्यका अग्रणी स्रष्टा कविरत्न लाइश्रम समरेन्द्रको शतवार्षिकी वर्ष विविध साहित्यिक कार्यक्रमका साथ सम्पन्न भएको छ । जुलाई २० मा मणिपुरको राजधानी इम्फालस्थित प्रेस क्लबमा आयोजित विशेष समारोहमार्फत एक वर्षदेखि सञ्चालन हुँदै आएको शतवार्षिकी कार्यक्रमको समापन गरिएको हो । उक्त उद्घाटन समारोहमा मणिपुरका नेपालीभाषी कवि तथा साहित्यकार भवानी अधिकारीले कवि सोमेरोन्द्रका कविताको नेपाली अनुवाद सुनाएका थिए ।
लाइश्रम समरेन्द्र बर्थ सेन्टिनरी कमिटीका संयोजक तथा साहित्य अकादेमी पुरस्कार विजेता शरदचान्द थियामको संयोजनमा वर्षभरि विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी समरेन्द्रको साहित्यिक योगदानको स्मरण गरिएको थियो ।
शतवार्षिकी कार्यक्रमअन्तर्गत समरेन्द्रको कृति ‘वा अमत्त हाइगे तेलङ्गा’को अंग्रेजी अनुवाद प्रकाशन गरिएको थियो । यस्तै बङ्गलादेश मणिपुरी साहित्य संसद्को आयोजनामा बङ्गलादेशमा विशेष कार्यक्रम सम्पन्न भएको थियो भने साहित्य सेवा समिति ककचिङसहित विभिन्न संस्थाको संयुक्त आयोजनामा कविता वाचन तथा समरेन्द्रको जीवन र साहित्यबारे विशेष प्रवचन आयोजना गरिएको थियो । त्रिपुराको अर्काेतलामा पनि पेट्रियोटिक राइटर्स फोरम त्रिपुरा र आयोजक समितिको संयुक्त आयोजनामा शतवार्षिकी समारोह सम्पन्न भएको थियो ।
समापन समारोहमा साहित्य अकादेमी पुरस्कार विजेता कवि राजकुमार भुवनसना, एस. एम. शेख, लानबोन कबुई, नेपाली साहित्य परिषद् मणिपुरका सल्लाहकार भवानी अधिकारी, समारोह समितिका अध्यक्ष येङखोम अनिलकुमार तथा संयोजक शरदचान्द थियामलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ११ जना स्रष्टाले समरेन्द्रका चयनित कविता वाचन गर्नुभएकाे थियाे । वक्ताहरूले समरेन्द्रको साहित्यिक योगदान, व्यक्तित्व र आधुनिक मणिपुरी कवितामा उहाँको प्रभावबारे चर्चा गर्नुभएकाे थियाे ।
समापन समारोहमा बोल्दै संयोजक शरदचान्द थियामले महान् साहित्यकारहरूको सिर्जनात्मक विरासतबाट प्रेरणा लिएर जातीय सद्भाव, उन्नति र प्रगतिका लागि युवापुस्ताले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । दोस्रो सत्रमा सलाम तोम्बाको अध्यक्षतामा कविहरूले स्वरचित कविता वाचन गर्नुभएकाे थियाे ।
वि.सं. १९२५ जुलाई २० मा इम्फालमा जन्मिएका लाइश्रम समरेन्द्र आधुनिक मणिपुरी साहित्यका प्रमुख कविका रूपमा परिचित हुनुहुन्छ । उहाँका कवितामा हास्य, व्यङ्ग्य र गहन जीवनदर्शनको प्रभाव पाइन्छ । जामिनी सुन्दर गुहा गोल्ड मेडल, मणिपुर स्टेट कला एकेडेमी पुरस्कार, साहित्य अकादेमी पुरस्कार तथा कविरत्न पुरस्कारलगायतका सम्मानबाट विभूषित समरेन्द्रको २ जुन २०१६ मा निधन भएको थियो ।

