चितवन । कविडाँडा साहित्य समाजले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार–२०८२’का लागि पहिलो चरणमा छनोट भएका १६ आख्यान कृतिको विस्तारित सूची सार्वजनिक गरेको छ ।
समाजद्वारा आइतबार जारी प्रेस विज्ञप्तिअनुसार वि.सं. २०८२ मा प्रकाशित नेपाली आख्यान कृतिमध्ये समाजले सङ्कलन गर्न सकेका कृतिबाट पुरस्कार चयन समितिले १६ कृतिको विस्तारित सूची सिफारिस गरेको हो ।
समितिले आगामी महिनामा यसै सूचीबाट उत्कृष्ट ६ कृतिको संक्षिप्त सूची सार्वजनिक गर्ने जनाएको छ । त्यसपछि अन्तिम चरणमा एक उत्कृष्ट कृतिलाई ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार–२०८२’ प्रदान गरिनेछ ।
विस्तारित सूचीमा अकारादि क्रममा गोविन्द गिरी प्रेरणाको 'अ–विधवा', केशवराज ज्ञवालीको 'अज्ञात', केशव दाहालको 'इथा', नारायण ढकालको 'जगज्जननी उसकी आमाको नाम होइन', चन्द्रप्रकाश बानियाँको 'तुलु राजा', क्षितिज समर्पणको 'तोरकीन', नवीन अभिलाषीको 'दहाड', उमा सुवेदीको 'परिधि', रेशम विरहीको 'पार्श्वध्वनि', ओम रिजालको 'पैकेलो', वसन्त पराजुलीको 'बखान', सीमा आभासको 'महायुग', नीलम कार्की निहारिकाको 'राजमाता', लक्ष्मण वियोगीको 'सत्यम', श्रवण मुकारुङको 'सलह' र शङ्करप्रसाद गैरेको 'सूतपुत्र' परेका छन् ।
कविडाँडा साहित्य समाजका अध्यक्ष एल.बी. क्षेत्रीद्वारा जारी विज्ञप्तिमा पुरस्कार छनोट प्रक्रिया बहुचरणीय रूपमा अगाडि बढाइने उल्लेख गरिएको छ ।

