साहित्यपोस्ट डट कम

कवि शेखर ढुङ्गेलको ‘मृत्यु–उत्सव’ कृतिको लोकार्पण

कवि शेखर ढुङ्गेलको ‘मृत्यु–उत्सव’ कृतिको लोकार्पण

कवि शेखर ढुङ्गेलको कविताकृति ‘मृत्यु–उत्सव’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघको आयोजनामा अनामनगरस्थित डालो रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका साहित्यप्रेमी तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मञ्चासिन व्यक्तित्वहरूबाट सामूहिक रूपमा कृतिको लोकार्पण गरिएको थियो ।

कृतिका भूमिका लेखकसमेत रहनुभएकाे समालोचक प्रमोद प्रधानले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै मृत्युलाई उत्सवका रूपमा हेर्ने दृष्टि आध्यात्मिक पक्षसँग जोडिएको उल्लेख गर्नुभयो । उहाँले कृतिभित्र स्वदेशप्रेम, सामाजिक विसङ्गति, भ्रष्टाचार र जीवनदर्शनसँग सम्बन्धित विषयहरूलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको बताउनुभयो । ८३ वटा कविताहरू समेटिएको उक्त कृतिले देशभित्र र बाहिरको नेपाली जीवनलाई समेत स्पर्श गरेको उहाँको धारणा थियो ।

लेखकीय मन्तव्य राख्दै कवि ढुङ्गेलले आफ्ना कवितामार्फत मृत्युको डरभन्दा पर गएर वर्तमानमा बाँच्ने सन्देश दिन खोजिएको बताउनुभयो । उहाँका अनुसार मृत्युको भय हटेपछि जीवनप्रति सकारात्मक ऊर्जा पैदा हुन्छ ।

कार्यक्रममा कविहरू सुमन थापा सङ्गम, गीता कार्की र मणि लोहनीले कृतिभित्रका कविताहरू वाचन गर्नुभएकाे थियाे । साथै प्रा.डा. सुरेन्द्र केसी, कलाकार मदनदास श्रेष्ठ र पत्रकार देवप्रकाश त्रिपाठीले शुभकामना मन्तव्य व्यक्त गर्दै कृतिको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा कवि ढुङ्गेललाई साहित्यिक पत्रकार संघका तर्फबाट सम्मान गरिएको थियो भने कृतिको आवरण तयार गर्ने कलाकार कवि नरेन्द्रबहादुर श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा संघकी कोषाध्यक्ष पद्मावती सिंहले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे भने सञ्चालन गीतकार तथा कलाकार नरहरि प्रेमीले गर्नुभएको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.