प्युठान। कौशिक गोत्रीय रेग्मीहरूको वंशावली समेटिएको पुस्तक कौशिक गोत्रीय रेग्मी वंशावली को परिचर्चा स्वर्गद्वारी नगरपालिका–३, भिङ्गीमा सम्पन्न भएको छ ।
वंशावलीका लेखक तथा सङ्कलनकर्ता भोजराज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वंशावलीका जेष्ठ सदस्य प्रेमलाल रेग्मी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
परिचर्चा कार्यक्रममा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्षसमेत रहनुभएका पुस्तकका सम्पादक तथा प्रकाशक रेग्मीले कृतिको समीक्षात्मक चर्चा गर्नुभयो । उहाँले वंशावलीलाई नामहरूको सूचीमा सीमित नभएको उल्लेख गर्दै भन्नुभयो, “यो पुस्तक वंशहरूको नामावली मात्र होइन, यसले इतिहास पनि बोल्छ । हाम्रा पुर्खाहरूको सामाजिक, सांस्कृतिक अवस्था, राज्यका विभिन्न तहमा उनीहरूको भूमिका, देशका प्रमुख ऐतिहासिक घटनामा पुर्खाहरूको सहभागिता, साथै जुठो–सुतक जस्ता सामाजिक संस्कारसमेत कति पुस्तासम्म कसरी चलनमा थिए भन्ने विषय पुस्तकले स्पष्ट पारेको छ ।”
कार्यक्रममा कौशिक गोत्रीय रेग्मी वंशका सबैभन्दा जेष्ठ नागरिक ९९ वर्षीय केशरादेवी रेग्मीलाई विशेष सम्मान गरिएको थियो ।
शिक्षक हरिश्चन्द्र रेग्मीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा वंशका सदस्यहरू, स्थानीय बौद्धिक व्यक्तित्व तथा साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

