साहित्यपोस्ट डट कम

कट्टीका झाँक्री बा र सिम्लेको झाँक्रीदह

कट्टीका झाँक्री बा र सिम्लेको झाँक्रीदह

कट्टीका शेरबहादुर (शिरे) उखपातै नाम चलेका झाँक्री धामी थिए । मैले उनलाई देखिनँ । उनी वि.सं. २०३१ सालमा बिते, त्यो बेला म चार वर्षको मात्र थिएँ ।

हाम्रो घर सेरा, खाल्ले । उनको घर कट्टी, बाम्राङ । बीचमा सिम्लेखोलो । नाताले शिरे धामी मेरा हजुरबा पर्थे । पुर्खा काँशीरामका साँहिला छोरा बुद्धवीरका पनाति, माधवका नाति, जितमानका छोरा । माधवका ६ भाइ छोरामध्ये ठूलाकान्छा धर्मध्वज र कान्छा जितमान पुर्ख्यौली अंश लिएर बाम्राङ पुछार, कट्टीमा बसाइँ सरे । धर्मध्वजका सन्तान अहिले छैनन्, कट्टीगाउँ भने जितमानकै सन्तानले भरिएको छ ।

हाम्रा हजुरबा मण्डलमान वि.सं. २०३० साल माघमा बिते । बडहरको रूखबाट लडेर बिरामी हुँदा बुबा झाँक्री बालाई लिन कट्टी गएछन् । तर झाँक्री बाले अक्षता खेलाउँदै फ्याट्ट भनेछन्— “दाइ बाँच्दैनन् । तँ जा, म अहिले आउँदिनँ ।”

बुबा निराश भएर फर्किएछन् । त्यसको भोलिपल्टै हजुरबा बिते । हजुरबा बितेको मलाई अलि–अलि थाहा छ ।

शेरबहादुर जाजुल्ले झाँक्रीधामी थिए भन्ने कुरा मैले उनी बितेपछि मात्र बिस्तारै थाहा पाएँ । गाउँमा व्यापक विश्वास थियो—उनलाई साक्षात् झाँक्रीले लगेर विद्या सिकाएको हो ।

उनी धामी बसेको हेर्ने प्रत्यक्षदर्शीहरू अझै पनि थुप्रै छन् गाउँमा । उनीहरूले सुनाएका कथाहरू यस्ता छन्–

शिरेधामीको भुँडी एमानको दमाहा जत्रो थियो । धामी बस्न जाँदा उनी भातसँग एक मानो घिउ पूरै खान्थे । भात खाइसकेपछि उठ्नका लागि उनलाई दैलाको आग्लो नै दिनुपर्थ्यो । आम्खोरा टेकेर उठ्न पर्‍यो भने त आम्खोरै कच्याक–कुचुक हुन्थ्यो ।

सामान्य जोखाना हेरेर उनी मर्ने बाँच्ने खुट्याउँथे । आयु यति छ भनेर घडी–पला समेत तोकिदिन्थे । मदौरुको उपचार नलाग्ने छ भने धामी बस्दा उनको एउटा खुट्टो मात्र काम्थ्यो । उपचार लाग्ने भए शरीर थाम्नै नसक्ने गरी काम्ने आउँथ्यो ।

धामी बस्दै गर्दा बाँसको फुर्के चलाउँदै ‘झाँक्री लिसो ले !’ भनेर हात थापेपछि उनको हातमा तननन लिसो आउँथ्यो । त्यसपछि फुर्केले त्यो लिसो खेलाउँदै उनी बिरामीको उपचार गर्थे ।

निकै टाढा–टाढा (परदेश समेत) सम्मका बिरामीहरूको उनी उपचार गर्थे । टाढाका मान्छेहरूको जोखाना हेर्ने क्रममा उनी अक्षता फुकेर पठाउँथे । बिरामीलाई छोएर आएको त्यो अक्षतालाई उनी ढ्याङ्ग्रोमा थाप्थे । अक्षतालाई जस्तो रङमा आइज भन्यो त्यही रङमा आउँथ्यो ।

धामी बसेको बेला बान हानेर टाढा–टाढासम्मका घरपालुवा पशुपन्छीहरू ठहरै पारिदिन्थे । अक्षता फुकेर हानेपछि ठूला–ठूला रूखसमेत सुकाइदिन्थे ।

मन्त्रले भक्लङ–भक्लङ ढिक्की चलाइदिन्थे । घ्वाइँ–घ्वाइँ जाँतो घुमाइदिन्थे ।

टाढाबाट बान हानेर अनेक तन्त्र–मन्त्र खेलाउने नकारात्मक शक्तिहरूको आँखा फुटाइदिन्थे । बोली नआउने बनाइदिन्थे ।

कुनै मान्छे बौलाएर धतुलाएर हिंडेको छ भने चामल फुकेर पठाएपछि त्यो मान्छे घर फर्कन्थ्यो । निको हुन्थ्यो ।

उनी ‘फु’ गरेर कुखुराका डिम्मा र बज्र ढुङ्गा समेत उडाइदिन्थे ।

शेरबहादुरका झाँक्री कलासम्बन्धी यस्ता कथा र किम्वदन्तीहरू थुप्रै छन् गाउँमा । धामी बस्दा उनका अलौकिक र अद्भूत कलाहरू हेर्नका लागि गाउँ नै उल्टिएर आउँथ्यो भनी बुढा–पुरानाहरू बताउँछन् । उनका यस्ता अचम्मलाग्दा कहानीहरू मैले केटाकेटीदेखि नै सुनेको हुँ ।

बाल्यकालमा हामीलाई तर्साउन भनिन्थ्यो— “धेरै रोयौ भने झाँक्रीले लान्छ ।”

झाँक्रीको नाम सुन्नासाथ आङ जिरिङ्ग हुन्थ्यो ।

गाउँमा अन्य धामीहरू पनि थिए—झिँगटीघरका पदमबहादुर, राताबारीका सुब्बा, उदयबहादुर (तिर्पाली), कट्टीका गौरी, रामचन्द्र, युवराज, बाटाघरका नर, तीनतलेकी झम्की आदि । यीमध्ये गौरी, रामचन्द्र र युवराजमा भने शेरबहादुरकै झाँक्रीदेउ चढेको विश्वास गरिन्थ्यो ।

यी झाँक्रीका नाम विभिन्न थिए । कोही सुनझाँक्री, कोही लट्टे झाँक्री, कोही बाला झाँक्री, कोही फेदीगाउँको चिलिम ढुङ्गामा बस्ने झाँक्री ।

यी सबै ढ्याङ्गो ठोकेर, झ्याम्टा कसेर धामी बस्थे ।

तर उनीहरूलाई झाँक्रीले उडाएर लगेको भने होइन— देउका रूपमा उनीहरूका आङमा चढेका मात्र हुन् ।

सानैदेखि मेरो मनमा जिज्ञासा थियो—

झाँक्री बा कस्ता थिए ? उनलाई झाँक्रीले कहाँ लग्यो ? के सिकायो ?

कसैले भन्थे—गोठबाट लग्यो । कसैले—खेतबाट । कसैले—ओढारभित्र राख्यो । तर सत्य कसैले ठ्याक्कै भनेन । “कुण्ड–कुण्ड पानी, मुण्ड–मुण्ड बुद्धि” जस्तै भयो । पछि मलाई लाग्यो—यस्ता कथाहरू सत्यतथ्यसहित जोगाउनुपर्छ । यिनै त भोलिका लोककथा हुन् ।

केही वर्षअघि कट्टीका गोविन्द भट्टराईसँग कुरा गरेँ । त्यसपछि झाँक्री बाका नातिहरू—गौरी र रामचन्द्रलाई भेटेँ । उनीहरूले सुनाएको कथा यस्तो थियो—

तीन वर्षको हुँदा आमासँग सुतिरहेको बेला उनी एक्कासी हराए, केही घण्टापछि फेरि ओछ्यानमै भेटिए । सात वर्षको हुँदा गोठबाट हराए, तीन दिनपछि त्यहीँ भेटिए ।

त्यसबेला सबैले केरकार गरेपछि बल्ल उनले रहस्यको पोको फुकाए–

उनलाई बाला लट्टेझाँक्रीले उडाएर एउटा नीलोदहमा लग्यो । दहभित्र एउटा सुनको मन्दिर । मन्दिरभित्र सुनको दियो बलिरहेको ।

झाँक्रीको शरीरैभरि भुत्लैभुत्ला । लामा–लामा कपालका लट्टा । हात र खुट्टामा तिखा–तिखा नङ्ग्रा ।

दहभित्रको त्यो सुनको मन्दिरमा ढ्याङ्ग्रो ठोकेर विभिन्न कला देखाउँदै झाँक्रीले उनलाई झाँक्रीविद्या सिकायो । केही मन्त्रहरू दियो । काँसको डबकामा बालुवासँग मिसिएको मकैको भात र गँड्यौलाको खान्की खुवायो ।

त्यसपछि त्यही सुनको मन्दिरबाट शक्तिस्वरूप एउटा दियो र तीन धर्के शालिग्राम उनको हातमा दिएर तीन दिनमा जहाँबाट जुनबेला उनलाई लगेको थियो त्यही बेला त्यही ठाउँमा लगेर छोडिदियो । बल्ल उनी छाँगाबाट खसेजस्ता भए ।

गुरुले दिएको दियोचाहिँ गोठमा आइपुगेपछि बालुवा भएको थियो ।

उनका यी रहस्यमय कुरा सुनेर आफ्नो गाउँघरका मान्छे सबै चकित परे ।

केही दिनपछि उनले भनेको आधारमा गाउँलेहरूले त्यो दह खोज्दै गएछन् । कट्टी पुछार सालघारीको जङ्गल हुँदै ओरालै–ओरालो खोज्दै जाँदा वरिपरि चट्टान र बाक्लो जङ्गलले घेरिएको गहिरो खोंचमा सिम्लेखोलाको दह रहेछ । त्यो कालोनीलो दह हेर्दै डर लाग्दो । निकै गहिरो । त्यहाँबाट अलि तल झरेर सिम्लेखोला दिखुवामा मिसिएको । सिम्लेखोलो ठूलो चट्टानबाट दहमा छाँगो बनेर झरेको । त्यसपछि त्यो ठाउँलाई ‘झाँक्रीदह’ भनियो ।

नौ वर्षको हुँदा उनी दहमा हाम फालेको देखियो, फेरि एक घण्टापछि फर्किए ।

त्यसपछि झाँक्री विद्या पूर्ण रूपमा प्रकट भयो ।

दश वर्षमा ढ्याङ्ग्रो बनाएर धामी बस्न थाले । उनको ख्याति टाढासम्म फैलियो ।

वि.सं. २०३१– आफैंले तोकेको तिथि, मिति र समयमा ७७ वर्षको उमेरमा झाँक्री बा बिते ।

उनले पाएको तीनधर्के शालिग्राम पनि त्यसैबेला हरायो ।

*****

केही वर्षअघि ‘भट्टराई वंशावली’ निकाल्ने क्रममा २०७७ फागुन २१ गते हामी झाँक्रीदह पुग्यौँ । बाटो पहिल्याउँदै निकै तल पुगेपछि शिवगङ्गा नामको दिखुवाखोलो देखियो । त्यही दिखुवाखोलामा गएर कालीगङ्गा नामको सिम्लेखोलो मिसिएको । सिम्ले वारिपारि लाम्पातेका अग्ला–अग्ला रूखहरू । पूर्वपट्टि सिमपाखा । उँभोपट्टि लङ्खुर डाँडो । उँधोतिर जडेपाखो र दोभाने खेत । जङ्गल, चट्टान र छाँगोबीचको त्यो ठाउँ साँच्चै रहस्यमय थियो । छाँगोको तल चट्टानमा शिवजी र झाँक्रीको आकृतिजस्तो देखिन्थ्यो । हामीले छेउबाट छाँगाको पानीले शिर अचायौँ । अञ्जुलीमा भरेर त्यो अमृततुल्य जल पियौँ । अनि, मनमनै ती साक्षात् बाला लट्टेझाँक्रीको आराधना गर्‍यौँ र झाँक्रीको दिव्य शक्ति प्राप्त गरेका हाम्रा पूज्य पुर्खा झाँक्री बालाई सम्झियौँ । आशिर्वाद माग्यौँ ।

झाँक्रीदहभन्दा अलि माथि चमेरेपाखो । “अहिले पनि त्यो चमेरेपाखोमा बेला-बेला ढ्याङ्ग्रो बजाएर लट्टेझाँक्री हिँड्ने गर्छ,” कट्टीलेहरूले बताए ।

*****

अब हामीलाई एउटा कुरा झन् स्पष्ट भयो— यो संसार रहस्यमय छ । धामीझाँक्रीको भूमिका हाम्रो समाजमा गहिरो छ ।

एकातिर उनीहरूले आशा, उपचार र मनोबल दिए । अर्कोतिर अन्धविश्वास, डर र शोषण पनि बढे । आज विज्ञानको युगमा पनि ती परम्पराहरू पूर्णतः हराएका छैनन् । समयसँगै परम्परा बदलिन्छन् । तर तिनको मूल महत्त्व जोगाउनु आवश्यक छ । हाम्रा पुर्खाका कथा, विश्वास र परम्परा—यी सबै हाम्रा धरोहर हुन् । यिनलाई बुझ्दै, परिमार्जन गर्दै, अगाडि बढाउनु हाम्रो जिम्मेवारी हो ।

त्यसैले, झाँक्री बा (शिरेझाँक्री) जस्ता पात्रहरू लोकस्मृतिमा जीवित रहनै पर्छ । उनका कथा–कहानी, स्थान र किम्वदन्तीहरू—हाम्रा साझा सम्पत्ति हुन् ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.