साहित्यपोस्ट डट कम

काठमाडौँमा ‘काठमाडौँ कलिङ साहित्य महोत्सव’ जेठ २३–२४ मा

काठमाडौँमा ‘काठमाडौँ कलिङ साहित्य महोत्सव’ जेठ २३–२४ मा

काठमाडौँ । चौथो संस्करणको ‘काठमाडौँ कलिङ साहित्य महोत्सव’ यही जेठ २३ र २४ गते आयोजना हुने भएको छ ।

‘सीमाभन्दा परः परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ विषयवस्तुमा केन्द्रित दुईदिने महोत्सवमा दक्षिण एसियाका चर्चित लेखक, कलाकार, चलचित्रकर्मी, सङ्गीतकार, कूटनीतिज्ञ तथा बुद्धिजीवीहरूको सहभागिता रहने महोत्सवकी निर्देशक रञ्जना निरौलाले जानकारी दिनुभएकाे छ ।

उहाँका अनुसार महोत्सवमा पहिचान, बसाइँसराइ, समावेशिता, अध्यात्म, वातावरण र सामाजिक सहभागिताजस्ता विश्वव्यापी विषयहरूमा दक्षिण एसियाली साहित्य र सांस्कृतिक परम्पराको महत्वबारे छलफल गरिनेछ । साथै, साहित्य र संस्कृतिले आजको बदलिँदो विश्व परिवेशसँग कसरी संवाद गरिरहेका छन् भन्ने विषयमा बहस केन्द्रित हुनेछ ।

महोत्सवअन्तर्गत समूहगत छलफल, मुख्य वक्तव्य, कविता वाचन, साङ्गीतिक प्रस्तुति, लेखकसँग अन्तरक्रिया, पुस्तक विमोचन, कार्यशाला तथा सांस्कृतिक साँझका कार्यक्रमहरू आयोजना गरिनेछन् । महोत्सव यशस्वी प्रज्ञान प्रतिष्ठानको सहकार्यमा सञ्चालन हुन लागेको हो ।

आयोजकका अनुसार ‘नेपाली काव्य’, ‘नारी लेखनः समानता र स्वतन्त्रता’, ‘नेपाल–भारत सिनेमा’, ‘समाज, सभ्यता र संस्कृति’ लगायत दुई दर्जनभन्दा बढी विषयमा अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिनेछन् ।

भारतको ओडिशास्थित भुवनेश्वरमा आधारित ‘कलिङ साहित्य महोत्सव’ दक्षिण एसियाको प्रमुख साहित्यिक तथा सांस्कृतिक कार्यक्रममध्ये एक मानिन्छ । सन् २०२२ देखि यसले नेपालसहित दक्षिण एसियाली देशहरूबीच साहित्यिक तथा सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्दै आएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.