साहित्यपोस्ट डट कम

काठमाडौंमा ‘वसन्त कविता महोत्सव’ सम्पन्न: नेपाली कविताहरू अंग्रेजीमा प्रस्तुत

काठमाडौंमा ‘वसन्त कविता महोत्सव’ सम्पन्न: नेपाली कविताहरू अंग्रेजीमा प्रस्तुत

काठमाडौं । राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा शनिबार ‘वसन्त कविता महोत्सव’ सम्पन्न भएको छ । वर्तमान कविता समूहको आयोजनामा भएको कार्यक्रममा नेपाली कविहरूले आफ्ना मौलिक भावना, संवेदनाहरू र सामाजिक विसंगति, प्रेम, प्रकृति, राजनीतिक निराशा तथा मानवीय अस्तित्वका विविध पक्षलाई अंग्रेजी भाषामा प्रस्तुत गर्नुभएकाे थियाे ।

आयोजक तथा उद्घोषक चन्द्रबहादुर लामाले महोत्सवको उद्देश्य नेपाली माटोको सुगन्ध र अनुभवलाई विश्वव्यापी बनाउन रहेको बताउनुभयाे । कार्यक्रमको सुरुवात गर्दै कवि विश्व सिग्देलले ‘वर्तमान कविता समूह’ले अन्य भाषाहरूमा पनि बहुभाषिक अभिव्यक्तिहरू प्रस्तुत गर्ने योजना बनाएको र यो पहिलो कार्यक्रम रहेको जानकारी दिनुभएकाे थियाे । उहाँले आफ्नो कविता ‘पब्लिक टोइलेट’ मार्फत आधुनिक सभ्यता र राजनीतिमा व्यंग्य प्रहार गर्नुभयाे ।

त्यसैगरी कवि भीष्म उप्रेतीले ‘ह्वाट इफ द स्काई फल्स’ शीर्षकको कवितामा बाबु–छोराको संवाद मार्फत आकाशलाई विश्वास र उच्च आकांक्षाको प्रतीकका रूपमा चित्रण गर्नुभयाे । रजनी मिलाले ‘डार्कनेस इन सर्च OF LIGHT’ मार्फत उज्यालोको प्रतीक्षामा रहेका सिर्जनशील आँखाहरूको कथा प्रस्तुत गर्नुभयाे भने अभय श्रेष्ठले ‘लभ: अ मेडिटेटिभ स्लीप’ मार्फत प्रेम, निद्रा, देश गुमाउनु र अस्तित्व संकटलाई गहिरो शैलीमा उजागर गर्नुभयाे ।

सुमन वर्षाले ‘लुज’ शीर्षकमा जीवनको वास्तविक उत्सव र शान्ति खोज्ने दार्शनिक पक्ष देखाउनुभयाे । रामगोपाल आशुतोषले ‘वान डे द नेसनल एन्थम विल बी प्लेड फर मी टु’ मार्फत समानता र न्यायको आशावादी दृष्टिकोण राख्नुभयाे । करुणा नेपालले ‘न्यू विगिनिङ’ मार्फत पीडा र निराशापछि नयाँ सुरुवातको उत्साह व्यक्त गर्नुभयाे ।

तेजिन एमिल इजमले जेन्जी विरोध प्रदर्शनबाट प्रेरित आफ्नो शीर्षक विहीन कवितामा शान्तिका लागि चढाइएको फूल बारुद र घृणाको धुवाँमा परिणत हुने विषयमा आक्रोश व्यक्त गर्नुभयाे । सुवास सिंह पराजुलीले ‘नोटिस फर द लस अफ रिभर’ मार्फत हराउँदै गएको नदी र प्रकृतिको अवस्था चित्रण गर्नुभयाे ।

कृपा खनालले तीन खण्डमा सहरी जीवनका प्रेरणा र उडानको कथा प्रस्तुत गर्नुभयाे, भुवन थपलियाले ‘स्प्रिङ’ मार्फत प्रकृतिसँगको सामीप्यताको महत्व देखाउनुभयाे भने आनन्द विजय गुरुङले सहरीकरणले प्राकृतिक सौन्दर्यलाई कुरुप बनाउने यथार्थ प्रस्तुत गर्नुभयाे।

त्यसैगरी, अमर आकाश, रमी प्रिया, चन्द्रबहादुर लामा र धीरकुमार श्रेष्ठले गरिबी, प्रेम, राजनीतिक धोका, मृत्युको यथार्थ र मानवीय जिजीविषालाई कवितामार्फत प्रभावकारी रूपमा उजागर गर्नुभयाे ।

कार्यक्रमले नेपाली कवितालाई अंग्रेजी भाषामा प्रस्तुत गर्दै विश्वस्तरीय पाठकसम्म पुर्‍याउने एक महत्वपूर्ण पहलको रूपमा अर्थपूर्ण उदाहरण प्रस्तुत गरेको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.