काठमाडौं । पत्रकार तथा कथाकार ध्रुवसत्य परियारको दोस्रो कथासंग्रह ‘कलना’ बजारमा आएको छ । इम्प्रिन्ट पब्लिशर्सद्वारा प्रकाशित उक्त कृति चैत १९ गतेदेखि औपचारिक विमोचनबिनै सिधै बजारमा ल्याइएको हो ।
प्रकाशक रमेश घोरासैनीका अनुसार संग्रहमा लामा–छोटा गरी नौ वटा कथा समावेश छन् । संग्रहअन्तर्गत ‘मन्त्र’ शीर्षकको लामो कथामा डा. बिन्दु शर्माले छोटो टिप्पणीसमेत लेख्नुभएकाे छ, जसमा कथाको संरचना र प्रस्तुतिशैलीबारे विश्लेषण गरिएको छ ।
डा. शर्माका अनुसार ‘मन्त्र’ कथामा मिथक, यथार्थ र स्वैरकल्पनाको संयोजनमार्फत इतिहास र वर्तमानलाई एउटै आयाममा प्रस्तुत गरिएको छ । कथाकार परियारको समाख्यान शैलीले पाठकलाई रहस्यमा राख्दै कथालाई आकर्षक बनाएको टिप्पणी गरिएको छ ।
२०७४ सालमा प्रकाशित ‘कैरन’ कथासंग्रहबाट चर्चा कमाएका परियारले ‘कलना’ लाई आफ्नो कल्पनाको कल्लोलका रूपमा व्याख्या गर्नुभएकाे छ । उहाँका अनुसार इतिहास, प्रागइतिहास तथा वर्तमान समाजमा विद्यमान विश्वास र अन्धविश्वासका आधारमा कथाहरू बुनिएका छन् । २ सय २२ पृष्ठको उक्त पुस्तकको मूल्य ५ सय ९९ रुपैयाँ राखिएको छ ।

