भैरवसिंह सातदोबाटो टोलको त्यो घरमा बस्न आएको लगभग ६ वर्ष हुनलाग्यो । दाङ खानीगाउँका एकजना मान्छेले उसलाई त्यो घरमा बसेर पढ्ने बन्दोवस्त गरिदिएका थिए ।
कोइलाखानीको भारी बोक्ने काम छोडेर घोराही शहर पसेको भैरवसिंह काठमाडौँको गल्लीमा पछारियो । बल्लतल्ल एउटा भवन निर्माण कम्पनीमा बालुवा ईंटा बोक्ने ज्यामी काम पायो र अँध्यारो कोठा किरायामा लियो । रिङ्गरोडको त्यो बस बिसौनीमा एकदिन ती दाङका मान्छेसँग भेट भो; उनले एउटा राम्रो घरमा बस्ने अवसर मिलाइदिए ।
पासाङ मेलम्चीबाट त्यहाँ आएकी हो । युद्धकालमा पासाङका साथीहरू माओवादतिर तानिए र छापामार भए । ऊ सात कक्षामा पढ्थी । बाबु-आमाले एकजना दिदीको साथ लाएर काठमाडौँ बस्न पठाए, छापामार हुनबाट बचाउका लागि ।
पासाङ र भैरव एउटै टोलमा बसेका घरेलु कामदार हुन् तर उनीहरू एक-आपसमा भर्खर चिनजान भयो ।
चिनजानको माध्यम हो – सातदोबाटोको गोधुली तरकारी बजार । त्यहाँ उनीहरूको प्रायः हरेक दिनको बेलुकीपख भेट हुनेगर्छ; बोलचाल हुनथालेको भने धेरै भएको छैन ।
पासाङलाई निकैचोटि देखेपछि भैरवसिंहको मन एक तमाशले उद्वेलित भयो, ऊसँग बोल्ने निहुँ खोज्ने जुक्ति सोचिरह्यो । जुक्ति फेला पार्न उसलाई दुई महीना लाग्यो ।
पासाङलाई बजारमा भेटेको दिन भैरवसिंहको चुरीफुरी अलि बढी हुन्थ्यो । कहिले सुसेला लगाउँदै हिँड्ने, कहिले नजिक गएर ठुल्ठूलो स्वरमा तरकारीको मोलमोलाई गर्ने र कहिले उभिएर बाटो छेक्न खोज्ने जस्ता उत्ताउला क्रियाकला गर्न थाल्यो भैरव । उसले पासाङको ध्यान आफूतिर तान्न भरमग्दुर प्रयास गर्यो भन्दा फरक पर्दैन ।
पासाङ धेरैजसो उसकी घरमालिक्नीसँग बजार भर्न आएकी हुन्थी । मालिक्नी सँगै भएपछि भैरवको भाले चाला देखेर, बुझेर पनि ऊ प्रतिक्रिया दिन सक्दिनथी । मालिक्नीले थाहा पाएको बखत उसलाई शङ्का गर्ने ठाउँ मिल्थ्यो । त्यसैले पासाङ त्यो युवा फुर्तीलाई देखेको नदेखै गरिरहेकी थिई ।
एकदिन मौका जुर्यो । “तँ चिता म पुर्याउँछु” भन्ने उक्ति पूरा भयो ।
…
भैरवसिंह र पासाङले एक अर्कामा पहिलो चरणको चिनजान गरे – नजिकैको चमेनाघरमा बसेर । यो आमनेसामने बसाइमा कुरा धेरै खुलेन – अप्ठ्यारो मानी मानी दुवैले थोरै बोल्न भ्याए । बोल्ने विषय नै मनको फाँटबाट जिब्रोसम्म बग्न सकेन ।
“घर कता हो ?”, भैरवले वार्ताको ढोका खोल्यो, “मेरो नाम भैरवसिंह थारू । घर दाङ कोइलापानी ।” पासाङको जवाफ नपर्खी उसले परिचयको सार टुङ्ग्याइहाल्यो ।
“मेरो घर मेलम्ची, नाम पासाङ थिङ ।”, भैरवले खोलेको परिचयको ढोकामा पासाङ बल्ल प्रवेश गरी, निकैबेरको आनाकानीपछि ।
आधा प्लेट मोःमो मगाएर खाउञ्जेल कति नै बोल्न भ्याइन्छ र ! फेरि घर मालिकको समयसीमाले बाँधेको छ । उनीहरू निर्बन्ध छैनन् ।
हिच्किचाउँदै पासाङले सोधी, “बस्ने घर कहाँ हो ? मेरो माने अहिले बसेको घर ?”
भैरवसिंहले थोरै जिस्किने भावमा भन्यो- “म त निकै टाढाको मान्छे । सस्तो तरकारी किन्न र राम्रो मान्छे हेर्न ग्वार्कोबाट यहाँ आउँछु ।”
चमेनाघरमा ग्राहक आउने जाने भैरहन्छ । यस्तोमा पहिलोचोटि भेटेका युगल जोडीले मनको पोको खोल्न नसक्नु स्वभाविक हो । खाइसकेर उनीहरू उठे ।
“ल अब छुटुम् ।”, दुवै आ-आफ्नो पैसा तिरेर विदा भए । पासाङले यति मात्र भनी – “सात बजेछ । मालिक्नीको छोरो ट्युसनबाट आउने बेला भो । खान दिनुपर्छ ।”
त्यहाँबाट चापागाउँतिर हिँडेकी पासाङको बाटो परसम्म पहिल्यायो भैरवसिंहले ।
…
त्यस सालको दशैं छेकमा भैरवसिंह र पासाङले दक्षिणकाली मन्दिरमा भेट्ने मौका जुराए । त्यस दिनसम्म भोगेको आ-आफ्नो जिन्दगीका पानामा लेखिएका कथा उपकथा साट्ने भए ।
पासाङ बिहानको दश बजेतिरै दक्षिणकाली पुगी । उसले नयाँ कुर्ता सलवार झिकेर लाएकी थिई । सेतो भुइँमा रातो फूलबुट्टा छाप भएको कपडाले पासाङको जिउडालमा चमक थपेको थियो । कपाललाई चुल्ठोमा बाटेर एउटा निख्खर सेतो बन्धनले अड्याएको र दाहिनेपट्टि नक्कली गुराँसको सजावट टाँसेको थियो । नजानिँदो फिक्का लाली पोतेकी थिई, ओठमा । सोझो मनको सादा आभूषण ।
झन्नै डेढ घण्टापछि भैरवसिंह आइपुग्यो । कुनै फिल्मको नायकको नक्कलमा उसले कालो चस्मालाई टाउकोमाथि अड्याएको थियो । सेतो गन्जी बाहिर इस्टकोट अनि सेतो पाइन्टमा ऊ आफूलाई यहाँ चलचित्रको नायकत्व ग्रहण गर्न आएको भान गरिरहेको थियो ।
“छ्या, कति ढिलो !”, पासाङको मुख छिटो भयो आज ।
“होइन क्या, बल्खुमा दक्षिणकाली आउने बस पर्खिंदा ढिलो भयो । फेरि मालिकलाई बिहान चिया नास्ता बनाइदिनु पर्यो नि त !”
दक्षिणकाली माईको दर्शन सकेर बसपार्कछेउको एक खाजाघरमा बसे उनीहरू । खुवा र खीरले पेटका मुसा मारेपछि केही एकान्त ठाउँको खोजीमा लागे, र लप्सीको फेदमा अड्डा जमाए । आज उनीहरू खुल्ला आकाश र दक्षिणकाली वनको शीतल हावामा उन्मुक्त सास फेरिरहेका छन् – स्वतन्त्र, निर्बन्ध र निशङ्कोच ।
“कता जाने भनेर निस्क्यौ घरबाट ?”, भैरवले रुखको फेदमा आफ्नो रुमाल ओछ्याएर बस्यो र गफको सिलसिला झिक्यो ।
“के भन्छ, अँ, बौद्धमा दिदीको कोठा जाने भनेर निस्केको ।”
“ढाँटेको ?”
“अनि तिमीले पनि ढाँटेरै आएको होला !”, पासाङले अलि चोटिलो जवाफ दिई ।
अनौपचारिकतामा खुल्न मजा हुन्छ । खोलेर मन बगाउन पाइन्छ । दुवैलाई यो मञ्जुर छ ।
विगतका जीवन भोगाइका सबैखाले परिदृश्यमा मनको बह पोखे पालैपालो । घर परिवारको कुरा, घरबाट निस्केर हिँडेपछि पाएको हण्डर, काम गर्ने ठाउँमा खेपेको सास्ती, घर मालिकको हप्कीदप्की सबै गफका विषय बने ।
“गाउँमा माउवादीको डर थियो । एकजना दिदी बौद्धमा गलैंचा फेक्ट्रीमा काम गर्थ्यो, त्यहीँ आएर बस्यो ।”, पासाङले आफ्नो लेकाली लवजमा भनी ।
“म त घरबाट भागेर हिँडेको । घरको काम गर्नु एकदम गाह्रो लाग्ने । अनि स्कूलको कापी, पेन्सिल र चप्पल किन्न पैसा नै नहुने । कोइलाखानीमा काम गरेँ स्कूलका लागि चाहिने पैसा कमाउन । आठ कक्षामा पढ्दा एउटा साथीले शहरमा राम्रो काम पनि पाइन्छ र पढ्ने स्कूल पनि राम्रो हुन्छ भनेर लोभ देखायो । दुवै जना घरबाट भागेर हिड्यौं । हो, माववादीहरू हाम्रो गाउँमा पनि खान बस्न आइरहन्थ्यो । मैले त उनीहरूले भनेको कुरा नै बुझिनँ ।”, भैरवसिंहको कथा थोरै उक्कियो ।
“अहिले ता तिनेरु काठमाडौँतिरै पसिसक्यो भन्छ । अबो लडाइँ नगर्ने रे !”, पासाङको भित्री डर केही मत्थर भएजस्तो छ, “यहाँ पनि तिमी हामी जस्तो घरेलु काम गर्ने जवान केटाकेटीलाई माउवादीले लगेको थियो रे – मेरो घर मालिकनीले भनेको । उता नजावस् भनेर आपाले मलाई यहाँ दिदीकोमा राखेको ।”
भैरवले कुरालाई अगाडि बढायो, “घोराही बजारमा बालुवा र ईंटा बोक्ने काम गर्थें । त्योबेला मलाई पनि जनमुक्ति सेनामा जाऊँ कि जस्तो लागेको थियो । गरिबी र अन्याय विरुद्ध लड्न मजा आउँछ होला जस्तो ला’थ्यो । तर दाङको आर्मी ब्यारेकमा माववादीले आक्रमण गरेपछि सेनाले खोजी खोजी हामीजस्तो अल्लारेलाई समात्नु थाल्यो । साथी र म त्यहाँबाट पनि भागेर काठमाडौँ छिरेको ।”
भैरवको कथा यतिमा सकिएको छैन, तर ऊ रोकियो र पासाङको मुख च्यायो ।
“हन कति डरछेरुवा हो यो केटा त !”, पासाङले व्यङ्गको झटारो हानी भैरवतिर । उसको ओठमा फुत्किन लागेको मुक्त हाँसोको फोहोरा गाँठो परेको थियो ।
“अनि तिमीलाई चाहिँ डर नलागेर होला अरूको घरमा काम गर्न काठमाडौँ बसेको !,” भैरवले पनि सेटारो फर्कायो । पासाङले अनुहार खुम्च्याएर अर्कोपट्टि फर्की, र कड्की – होला ! होला !
“अँ अनि पासाङ, तिमीले गलैँचा फेक्ट्रीमा काम गरेको होइन ?”
“काम गरेको होइन, सिकेको । त्यहाँ पनि शोषण गर्छ मालिकले । कति महीना त ज्याला नि दिँदैन । केटीहरूलाई लोभ देखाएर बम्बै लैजान्छ भन्थ्यो । माउवादीहरू पसेको अरे त्यहाँ । मालिकले पैसाको मुखबुजो लगाएर फर्काएको अरे !”
केहीबेर रोकिएर पुनः पासाङ बोली, “त्यहाँभन्दा त गाली खाए पनि अहिले बसेको घर मालिकनी ठीक छ । स्कूल जान पाउँछु । पकिट खर्च दिन्छ । मालिक विदेशमा काम गर्छ; आएको बेला नयाँ कपडा र अरू समान किनिदिन्छ । राम्रो, मीठो खान पाएको छु ।”
गफै गफमा समय बितेको पत्तो भएन । यहीबेला उनीहरू बसेको ढिस्को छुनै खोजेर एउटा यात्रु बस बिसौनीतर्फ हुइकियो । बस रोकिएपछि ओर्लेका यात्रीहरूतिर हेर्दै पासाङ र भैरव त्यहाँबाट ओझेल पर्न हिँडे । ओर्लेका यात्रीहरूमध्ये एक हूल माओवादीका छापामार जस्ता देखिन्थे । पासाङ र भैरवसिंहले परैबाट लख काटे ।
….
नौ महीना पछि…..
युद्ध विराम भयो । शान्ति सम्झौता गरियो । माओवादी पछ्याएर जङ्गल पसेकाहरू जति बचेका थिए, गाउँ शहर फर्किए । भूमिगत बसेका माओवादी नेताको भाषण सुन्न र हेर्न काठमाडौँको खुलामन्चमा सर्वसाधारणलाई निषेध गरिएको टुँडिखेल क्षेत्र र रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली क्षेत्र छोप्ने गरी विशाल जनसागर उर्लियो । “कमिलाको गोलो एउटा मरेको गड्यौलामाथि खनिएको” जस्तो गरी मानिसहरू जम्मा भएका थिए । माओवादीका मुक्ति सेना र साँस्कृतिक टोलीका तन्नेरीहरू गट्ठागट्ठामा ठाँटले हिँडेका देखिन्थे – निर्वाध र निस्फिक्री भएर ।
पासाङ र भैरव स्कूलको परीक्षा सकेर निस्केका थिए, ती फेरि घरमा फर्केनन् ।

