यदि ज्ञान, देउता रिसाउने जादू हो भने किन यसको उज्यालोले मलाई भय होइन, स्वतन्त्रताको स्वाद दियो ?
===
काठमाडौँका गगनचुम्बी भवनहरू, उद्याेग, मोटरगाडी, भीड, धुवाँ र धुलोको अराजक कोलाहलबाट टाढा पहाडको काखमा टाँसिएजस्तो बनेको एउटा सानो गाउँ थियो, जसको नाम थियो उज्यालो बस्ती ।
नाममा उज्यालो भए तापनि, त्यस बस्तीको जीवनमा गोधूलिभन्दा पनि बाक्लो अन्धकार थियो । वर्षौंदेखिकाे अज्ञानताको सुरुङ, अन्धविश्वासको बेडी, शोषणको जञ्जिर र भयको छायाले गाउँलाई आवृत पारेको थियो । साँझ पर्दा पहाडबाट लम्बिने छायाले जब बस्ती ढाक्थ्यो, गाउँलेहरू डरले स्वर गम्भीर बनाएर भन्थे “देउता रिसायो, आज रात अनिष्ट बन्न सक्छ ।”
गाउँका तथाकथित ‘पण्डित’हरू चौतारोमा उभिएर बारम्बार दोहोऱ्याउँथे “देवताको कोप टार्न धुपधुवांर र बलिवेदी अनिवार्य छ, नत्र विपत्ति अवश्यम्भावी छ !” यही वाक्य पुस्तौँ देखिको नियति थियो गाउँलेहरूको । शिक्षकहरू कहिल्यै टिकेनन् । उनीहरूलाई ‘कुसंस्कार फैलाउने शत्रु’ भन्दै गाउँबाट धपाइन्थ्यो । मुखियाहरू बाहिरबाट आउने सहयोग निजी गोदाममा भण्डारण गर्थे । तर गाउँ भने भित्ताको लेदोजस्तै, चिरपुरानो अन्धकारमा कैद थियो ।
उज्यालो बस्ती सिसीफसको मिथकजस्तै थियो । जहाँ मानिसहरूले जीवनभर विशाल ढुङ्गा धकेल्थे र हरेकपल्ट त्यो ढुङ्गा पहाडको गोरेटो हुँदै फेरि तलै फर्किन्थ्यो, कहिल्यै कुनै प्रगति थिएन ।
त्यही बस्तीमा जन्मिएको थियो, विलक्षण ।
उसका आँखामा अचम्मको चमक थियो । न पण्डितको भय, न मुखियाको लोभ, न परम्पराको अन्धअनुदान । उसका आँखाहरूमा एउटै अडिग प्रश्न थियो, “किन ? यो प्रश्न उसले आफूसँग मात्र होइन, आफूभित्रको डरसँग पनि सोध्थ्यो ।
एकदिन गाउँको चौरमा प्रयाेगकाे पुरानाे सामान मर्मत गर्न गाउँभन्दा बाहिरको कुनै एक अपरिचित मानिस आयो । उसको सानो झोलामा मोबाइल थियो, गाउँमै पहिलोपटक देखिएको रहस्यमय यन्त्र ।
विलक्षणले पहिलोपटक मोबाइलको स्क्रिनबाट निस्किएको नीलो उज्यालो देख्दा उसका आँखाले मात्र हैन, सासले समेत गम खायो, जसरी अन्धा मानिसले पहिलोपटक दियोको प्रकाश बुझ्छ । त्यो उज्यालो गाउँको पुरानाे ढुङ्गे भित्तामा प्रतिविम्बित हुँदा पुरानो अन्धकारको रंग क्षणभरमै हराएको महसूस भयो ।
स्क्रिनमा देखिएका विशाल संसारका चित्रहरूले उसको कल्पनाको पर्खाल भत्काइदियो । उसको हृदयको गहिराइबाट आवाज आयो, “यदि ज्ञान, देउता रिसाउने जादू हो भने किन यसको उज्यालोले मलाई भय होइन, स्वतन्त्रताको स्वाद दियो ?”
बिस्तारै उसले इन्टरनेट चलाउन सिक्यो । त्यसपछि संसारका महान् आवाजहरू उसका कानसम्म आइपुगे ।
मण्डेला: “शिक्षा नै संसार बदल्ने सबैभन्दा शक्तिशाली हतियार हो ।”
अमर्त्य सेन: “विकास भनेको आयभन्दा बढी, स्वतन्त्रताको विस्तार हो ।”
हरारी: “मानिसहरू कथामा संयोजित हुन्छन्, त्यसैले इतिहास, सत्य र मिथक एउटै धागोबाट बुनेका हुन्छन् ।”
यी आवाजहरूले उसको हृदयमा एउटै स्वरमा चलायमान गति सृजना गराए, “गाउँमा परिवर्तन चाहिन्छ र त्यो सम्भव छ ।”
विलक्षणले गाउँको ढुङ्गे घरहरूमध्ये एउटामा सानो इन्टरनेट केन्द्र खोल्यो र नाम दियो, “उज्यालो क्याफे” गाउँका लागि त्यो केवल एक कोठा थियो, विलक्षणका लागि विश्वसँग साक्षात्कार हुने ज्ञानको द्वार ।
उसकी आमा पहिलोपटक त्यहाँभित्र पसेर स्क्रिनमा देखिएको विशाल समुद्र हेरेर चकित भइन् । उनको आँखामा आँशु टिलपिल टिलपिल भए, “आकाश आफैँ भुइँमा ओर्लेको जस्तो छ त ! तर बाबु, यो नयाँ शक्तिले हाम्रा देउतालाई नरिसाओस् है !”
नक्सा नचिनेका, पुस्तक नदेखेका बुढाबुढीहरूले जब हिमालयभन्दा ठूला पर्वतहरू पनि विश्वमा छन् भन्ने थाहा पाए, अभिशप्त ‘सानोपन’ को भावनाले भरिएको जीवनको बोझ उनीहरूको आँशुले धुन थाल्यो ।
युवाहरूले युरोपका शहर, सिंगापुरका सडक, स्विट्जरल्याण्डका हिमाल देखे । उनीहरू एकअर्कालाई सोध्थे “सगरमाथा त संसारकै शिरमा उभिएको छ, तर हामी किन यति पछि छौँ ?”
विलक्षण मुस्कुरायो । यही प्रश्न नै परिवर्तनको पहिलो ढोका हो ।
उसले क्याफेको ठूलो स्क्रिनमा देशका दृश्यहरू प्रोजेक्ट गर्यो । पोखराको फेवा, इलामको माइपोखरी, मुगुको राराताल । गाउँलेहरूले सुइँक–सुइँक गर्दै हेरे “हाम्रो त अझै सुन्दर ! यति नजिक भएर पनि हामीले किन नदेखेका रहेछौँ ?”
पहिलोपटक गर्वको उज्यालो गाउँलेका आँखामा झल्कियो । पहिलोपटक उनीहरूले महसूस गरे, “सम्पदा हाम्रो विशाल छ, सोच मात्र साँघुरो थियो, रहेछ ।”
विलक्षणको लोकप्रियता देखेर मुखियाहरू छटपटाए । उनीहरूले गुपचुप रूपमा ‘विकास योजना’ भन्दै विदेशी दलालसँग गाउँको ठूलो जमिन बेच्ने सम्झौता गरे ।
मुखियाले धम्काउँदै विलक्षणलाई रोक्न खोजे । विलक्षणको मनमा एकपटक डरको सानो छाल आयो, कहीँ मेरो यो ज्ञानले मलाई नै विनाशतिर त डोऱ्याउँदै छैन ? तर उसले तत्काल आफैँलाई प्रश्न गर्यो, “सत्यको खोजमा डरले जित्नु हुँदैन ।”
उसले ती कागजातका सबै प्रमाणको फोटो खिच्यो, स्क्यान गर्यो र गाउँभरि प्रोजेक्टरमा देखायो । स्क्रिनमा चम्किएको थियो मुखियाहरूको धोका ।
गाउँ स्तब्ध भयो । मुखियाहरू हडबडाए । “सबै झुट हो ! यो बदनाम गर्न खोजिएको षड्यन्त्र हो !”
तर विलक्षणले ‘अपलोड’ बटन थिचिसकेको थियो । प्रमाण विश्वभर फैलियो मानवअधिकार संस्था, पत्रकार, पर्यावरण समूह, सबैको ध्यान उज्यालो बस्तीमा खस्याे ।
“हामीलाई वर्षौंदेखि धोका दिइएको रहेछ” गाउँलेहरू आक्रोशमा रोए ।
विलक्षणले उठेर भन्यो, “सत्य लुकाउन सकिँदैन । अब हामी अन्धकारको दास रहने छैनौँ ।”
त्यसदिन उज्यालो बस्तीमा अक्षर, ज्ञान र सूचना पहिलोपटक सत्ता बने । मुखियाहरू पदच्युत भए । तर उनका केही समर्थकले ‘विलक्षणको हैकम’ भन्दै गाउँमा विरोधको सानो स्वर निकाले, जसले परिवर्तनको बाटो सजिलो छैन भन्ने संकेत गर्यो ।
हिमालतिर हेर्दै विलक्षणले गाउँलाई घोषणा गर्यो, तर उपदेशका रूपमा होइन, प्रतिबद्धताका रूपमा ।
“हामी मुक्त हुन्छौँ तर केवल ज्ञानले मात्र होइन, उत्तरदायित्वले पनि ।”
अन्धविश्वासबाट: विज्ञान, तर्क र शिक्षातिर । अब हामी देवता रिसाएको हेरेर होइन, मौसमको तथ्याङ्क हेरेर खेतीको योजना बनाउँछौँ ।
दुरुपयोगबाट: पारदर्शिता, नियम र स्वच्छ प्रशासनतिर । हाम्रो गाउँको हरेक पैसाको हिसाब इन्टरनेटमै पारदर्शी हुनेछ ।
सङ्कीर्णताबाट: विश्व नागरिक (Global Citizens) को चेतनातिर । हामीले आफ्नो सम्पदालाई चिन्छौँ, तर संसारसँग सिक्न पनि पछि पर्दैनौं ।
वर्षौंपछि— उज्यालो बस्तीको खोलामा वातावरण अनुकूल आधुनिक आयोजना आयो । विद्यार्थीहरूले Yale, Tokyo र अन्य विश्वविद्यायसँग अनलाइन कक्षाहरू लिन थाले ।
कतिपय युवाहरूले प्रविधि सिक्न नसकेर निराश पनि भए, तर विलक्षणले ‘असफलता ज्ञानको अन्त्य होइन’ भन्दै उनीहरूलाई हौसला दियो ।
पुराना बुढाबुढीहरूले एकदिन विलक्षणको हात समाएर भने, “बाबु, हामीले भगवानलाई खोजेका थियौँ, तर खोजेको शक्ति त, ज्ञानमै रहेछ ।”
विलक्षण मुस्कुरायो जसरी बिहानको पहिलो किरण हिमालको टुप्पोबाट झर्दा सारा संसार उज्यालो देखिन्छ ।
अन्धकार हटिसकेको थियो । उज्यालो बस्ती पहिलोपटक साँच्चै उज्यालो भएको थियो । गाउँभर फैलिएको थियो एउटा स्वर, “राष्ट्रले आफ्ना कमजोरीलाई विश्वको दर्पणमा हेर्न सिक्यो भने, नयाँ युग जन्मिन्छ ।”
उज्यालो बस्तीले सिद्ध गर्यो: सूचना शक्ति हो, ज्ञान प्रकाश हो र प्रकाश अन्धकारको अन्त्य मात्र होइन, मानवीय चेतनासहितको नयाँ युगको आरम्भ पनि हो ।

