साहित्यपोस्ट-नपढी सुखै छैन...

कथा: तीन आकृतिहरू विश्वासघातका

कथा: तीन आकृतिहरू विश्वासघातका

[१]

परलोकको वातावरण विचित्रको थियो । न अँधेरो न उज्यालो, न जाडो न गर्मी । सुख-दु:ख, हर्ष-अमर्ष, अनि दुराग्रहसँगैसँगै पश्चाताप पनि थियो त्यहाँ । यस्तै वातावरणभित्र यहुदा इस्करियोत पनि पश्चातापहरूको भुँवरीभित्र पसेका थिए, जहाँबाट उनलाई उम्कनु हम्मेहम्मे परिरहेथ्यो । यहुदा इस्करियोत । येशु ख्रीष्टका चुनिएका बाह्र शिष्यहरूमध्ये एक विश्वासी शिष्य – परलोकमा नरलोकका विगतभित्र डुबिरहेका थिए । 

नरलोकमा म एक सामान्य युवक थिएँ । मेरो हृदयले स्वयंलाई सोधिरहेको हुन्थ्यो, “ईश्वर कहाँ छन् र किन छन् ? गरिबी र अत्याचार किन छ ? धर्मगुरुहरू स्वयम् किन अन्यायी छन् ?” यस्तै सोचाइहरूभित्र डुबुल्की मार्दै गर्दा मैले ख्रीष्टबारे सुनेँ – यस्ता एक व्यक्ति जसले पानीलाई मदिरा बनाइदिए । यो चमत्कार मैले त देखेकाे थिइनँ तर बासिन्दाहरूका मुखबाट चाहिँ सुनेको थिएँ ।

गालीलको कनान शहरमा एउटा विवाह उत्सव थियो जहाँ ख्रीष्टकी आमा मरियम पनि उपस्थित थिइन् । हामी सबै शिष्यहरूलाई पनि त्यस उत्सवमा निम्त्याइएको थियो । प्रीतिभोजमा अचानक मदिराको अभाव देखियो । ख्रीष्टकी माता मरियमलाई यस कुराको ज्ञात भएपछि उनले ख्रीष्टलाई यस समस्याबारे बताइन् । यहुदी परम्पराअनुसार ढुङ्गाका घ्याम्पाहरूमा पानी हालेर यहुदीहरूका लागि शुद्धीकरण गरिने छवटा ढुङ्गाका घ्याम्पाहरू त्यहाँ राखिएका थिए । प्रत्येक घ्याम्पामा प्राय: तीसदेखि चालिस लिटरसम्म पानी राख्न सकिन्थ्यो । ख्रीष्टले चाकरहरूलाई ती सब ध्याम्पाहरूमा पानी भर्न आग्रह गर्नुभयो । भोजका मुखियाले त्यो पानी चाखे, जो अब दाखमद्यमा परिणत भएको थियो . . . [यूहन्ना : २: ९ ] ख्रीष्टको यस चमत्कारले म चकित बनेँ । मलाई लाग्यो : क्षणभरमै पानीलाई मदिरा बनाउनु भनेको कुरा सामान्य त होइन । यस्ता असाधारण व्यक्तिले सारा संसार समेत परिवर्तन गरिदिन सक्छन् । यस्ता मानिसको अनुयायी नभएर म अरू कसको हुन सक्छु र ? मैले ख्रीष्टमा ईश्वरीय शक्ति देखेँ र निर्णय लिएको थिएँ, म उहाँलाई पछ्याउनेछु ।

 त्यसपछि लगत्तै अर्को एउटा घटना । गालीलको एउटा सानो गाउँमा म ख्रीष्टसँग हिँडिरहेको थिएँ । घामको रापले मेरो सातोपुत्लो उडिसकेको थियो । प्रत्येक पाइलाले मलाई सोच्न बाध्य गराइरहेको हुन्थ्यो: मान्छेहरूले ख्रीष्टलाई मसीहा भन्थे किनकी उहाँमा शक्ति थियो, सामर्थ्य थियो तर यस मसीहाले त रोगी, भिखारी र मछुवाहरूलाई मात्र बचाइरहनुभएको थियो । तिनीहरूलाई बचाएर मात्र के संसारमा परिवर्तन ल्याउन सकिन्थ्यो र ? यति सोच्दा सोच्दै एउटा रोगी, जसलाई सारा समाजले अशुद्ध, अछुतो सम्झी अवहेलना गर्थे, बहिष्कार गर्थे – थरथर काम्दै आएर ख्रीष्टको खुट्टैअघि घुप्लुक्कै ढल्यो । नि:सहाय रोगीले भनिरहेथ्यो, “हे प्रभु, तपाईंको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ ।” (मत्ती ८:२)अचम्म ! उहाँले त त्यस रोगीलाई आफ्नो हातले स्पर्श गर्दै भन्नुभयो, “म इच्छा गर्दछु, तिमी निको होइजाऊ ।” विकृत अनुहार र कुहिरहेको शरीर लिएको त्यस रोगी तत्कालै निको भएको साक्षी थिएँ म ।

अझ अर्को एक घटनाले त अन्य मानिसहरूमा पनि एउटा आशाको किरण छरिदिएको थियो । त्यस दिन एउटा भीडले ख्रीष्टलाई पछाइरहेको थियो । भीडले उहाँबाट प्रवचन सुन्न चाहन्थे, उनका चमत्कार हेर्न चाहन्थे । शहरदेखि धेरै टाढामा पाँच हजारभन्दा धेरै मानिसहरूको भीड थियो । मानिसहरू भोकाएका थिए । त्यो जमात शहरदेखि धेरै टाढा भएकाले त्यहाँ किनी खाने खाद्य सामग्रीहरूको व्यवस्था थिएन । यतिकैमा एउटा केटोले ख्रीष्टअघि आएर पाँचवटा माछा र दुई साना रोटी थमाइदियो । उसले त्यो आफ्नो खाजाका निम्ति बोकेको थियो । ख्रीष्टले ती माछा र रोटीलाई आफ्नो हातमा लिनुभयो अनि आकाशतिर हेर्दै भन्नुभयो, “धन्यवाद प्रभु !” उहाँले आफ्ना शिष्यहरूलाई ती माछा र रोटी मानिसहरूलाई बाँडिदिने आदेश दिनुभयो । साँच्चै चमत्कार भयो । मानिसहरू सबैले आफ्नो भोक ती पाँचवटा माछा र दुईवटा रोटीले मेटाए । मलाई लाग्यो, साँचो हृदयले जति नै थोरै चिज पनि परोपकारका निम्ति समर्पण गरियो भने त्यो नै यथेष्ट हुँदो रहेछ । त्यस चमत्कारले मलाई सोच्न बाध्य गराइरहेथ्यो: हामीमाझ यस्ता शक्तिशाली ख्रीष्ट छन् भने हामीले उहाँलाई किन राजा नबनाउने ? हामीले रोमको अत्याचारी शासनलाई परिवर्तन गर्न सक्छौँ । अन्य मानिसहरूमा पनि यस्तै विचारले ठाउँ ओगट्न लागेको थियो । तर‌ ख्रीष्टको बाटो फरक थियो । माछा र रोटीले मेरो पेट त भरियो नि तर मनमा भने कता कता विश्वासका तीता स्वादहरूले मलाई असजिलो बनाइरहेथ्यो – हो त्यस दिन हजारौं भोकाएकाहरूलाई ख्रीष्टले खुवाउनुभयो तर मेरो चाहना थियो क्रान्ति, शक्ति र परिवर्तन । त्यसै समयदेखि मेरो मनले मलाई साउती गरिरहेको थियो, ‘ख्रीष्ट राजा बन्न सक्नुहुन्छ तर केवल स्वर्गको बाटोलाई अपनाएर, पृथ्वीको बाटोलाई अपनाएर होइन । अनि… त्यसपछि त म टाढिन लागेँ…मभित्रको विश्वास आवाजैबिना च्यातिन लाग्यो । यस्ता चमत्कारी ख्रीष्टले किन रोमीहरूलाई रोमका अत्याचारबाट मुक्त गराउनुहुन्न ? के यस्तै राजा हामीलाई चाहिएको हो त ? दया र प्रेमले मात्र मानव जातिको उद्धार हुन सक्छ र ? 

सोच्दा सोच्दै मलाई अर्को घटनाले विरक्त गरायो: “यहुदा एक चतुर व्यक्ति हुन् जसमा उचित ढङ्गले हिसाबकिताबको व्यवस्था राख्ने क्षमता छ ।” भन्दै ख्रीष्टले मलाई कोषाध्यक्षको भार सुम्पिदिनुभएथ्यो । अनुदानमा पाएका चाँदीका सिक्का, सुनका गरगहना – सबै सबैको लेखाजोखा राख्ने दायित्व मलाई सुम्पिइएको थियो । तर मेरा आँखा चाँदीको थैलोमा गढेको थियो । यही लोभले मैले चाँदीका ३० सिक्काहरूमै विश्वासघात गरेको थिएँ । एक चुम्बनको मोल ३० चाँदीका सिक्काहरू, जुन चुम्बनले ख्रीष्टको क्रुसिफिक्सन तय गर्यो । त्यो चुम्बन जसमा प्रेम होइन विश्वासघात थियो । म मरेपछि मेरो मन भतभती पोलिरहेको थियो । मैले ३० चाँदीका सिक्काहरू मन्दिरमै फ्याँकिदिएर आत्महत्या गरेको थिएँ ।

त्यस समयदेखि म अति पीडित छु, थकित छु…अति नै थकित…केही समयका निम्ति विश्रान्ति चाहन्छु म । परलोकदेखि टाढा…धेरै टाढा…नरलोकको एउटा शान्त र नि:शब्द वातावरणमा । तर कसरी ? यस इच्छापूर्तिका निम्ति ख्रीष्टलाई प्रार्थना गर्नबाहेक अरु कुनै विकल्प नदेखेर मैले ख्रीष्टलाई प्रार्थना गरेँ, “हे परमप्रभु, म यस परलोकमा आएको हजारौँ वर्ष भइसक्यो । नरलोकमा गरेका मेरा कुकर्मले म पीडित छु, थकित छु । तीस चाँदीका सिक्काहरूमा मैले तपाईंलाई बेचेँ । मैले तपाईंप्रति ठूलो विश्वासघात गरेँ । हजारौं वर्षदेखि म मेरो कुकृत्यको विगतमा बाँचिरहनुपर्दा म साह्रै नै थाकिसकेको छु । अब मलाई विश्रामको आवश्यकता छ । केही क्षणका निम्ति भए पनि म यो परलोक छाड्न चाहन्छु अनि नरलोकको एउटा शान्त वातावरणमा बस्न चाहन्छु । हे प्रभु, के यो मेरो सानो प्रार्थनालाई सुनिदिनुहुन्न ?”

यहुदाले प्रार्थना के गरिसकेका थिए, उनका कानमा एक चिरपरिचित स्वरको प्रवेश भएको अनुभव उनलाई भइरहेथ्यो । ख्रीष्टको स्पष्ट स्वर उनले सुनिरहेका थिए : यहुदा, वास्तवमा तिमीले परलोकबाट उन्मुक्ति खोजेका होइनौं । तिमी विश्रामको खोजमा छौ । तर त्यो विश्राम तिमीले तब पाउनेछौ जब तिमीले नरलोकमा गरेको अनुभव त्यस्तै अन्य अनुभवीहरूसँग साझा गर्नेछौ । तिम्रो इच्छा चाँडै पूर्ण हुनेछ जब नरलोकबाट एक कर्तव्यपरायण अनुभवीले तिमीलाई आमन्त्रण गर्नेछन् । तिमीलाई मेरो आशीर्वाद र शुभकामना ।

[२]

विभीषण । लङ्काका राजा, रावणका कान्छा भाइ । ब्रह्मजीबाट उनले पाएका यो नाम । असुर वंशको एक धर्मात्मा उनी । नीति, धर्मको मार्ग र सत्कर्मलाई सदैव अँगालिरहने असुर उनी । ब्रह्माजीले उनलाई वरदान दिनुभएको थियो: तिमी धर्मनिष्ठ हुनेछौ र सधैं सत्यको पक्षमा लागिपर्नेछौ । उनी यही वरदानले शायद पीडित छन् आज । रावणवध र लङ्का युद्धको समाप्तिपछि लङ्कामा राज गर्नका साथसाथै श्रीरामद्वारा अमरत्वको वरदान पनि प्राप्त गरे उनले । तर समय सँगसँगै विरक्तिँदै गइरहेको अनुभव भइरहेथ्यो उनलाई । राज्यको लोभ थिएन । लोभ थियो त केवल श्रीरामचन्द्रको चरणकमलमा सेवा पुर्याउने ।

प्रभु श्रीरामले उनलाई लङ्काको राजा बनाउने घोषणा गर्नुहुँदा उनले प्रभु श्रीरामलाई भनेका शब्दहरू अझसम्म उनको मनमा आलो भइआउँछन् : “तपाईंको चरणकमलको सेवासिवाय राज्य मेरा निम्ति अति नै तूच्छ वस्तु लाग्छ तर तपाईंको इच्छा यही नै छ भने यसलाई म तपाईंको आज्ञा सम्झनेछु र लङ्काको सेवा धर्मपूर्वक गर्नेछु ।” 

उनको शिरमाथि हात राख्दै प्रभु रामले भन्नुभएको थियो, “तिमीले आफ्नो कुलविरुद्ध उभिएर सत्यको साथ दियौ । तिमी साँच्चै नै धर्म र सत्यको प्रतीक हौ । कसैले पनि यस्ता कार्य सहजै गर्न सक्तैनन् । त्यसैले, म तिमीलाई वरदान दिन्छु – जबसम्म यो पृथ्वी रहनेछ तबसम्म तिमी जीवित रहनेछौ । लङ्कामा तिम्रो शासन यथावत रहिरहनेछ । चिरकालसम्म तिमी धर्मको मार्गदर्शन गर्ने अमर प्राणी हुनेछौ ।” त्यही दिनदेखि विभीषणले अमरत्व प्राप्त गरे । उनी खुशी थिए । लङ्काका प्रजाहरूलाई सुख, शान्ति र समृद्धि प्रदान गर्ने भरमग्दुर प्रयास गरे उनले । उनी आफैचाहिँ कत्तिको खुशी थिए ? कसैले जान्न वा बुझ्न चाहे होलान् र ?

अहिले उनलाई पछुतो छ: मैले किन चिरञ्जीवीको वरदान प्राप्त गरेँ ? म किन एक्काइसौँ शताब्दीसम्म पनि बाँचिरहेकै छु । रामायण कालदेखि लिएर ऐलेसम्म बाँचिरहनुपर्दा, महाभारत – कुरुक्षेत्रको साक्षी हुनुपर्दा, नूहको जहाज र चालिस दिन र चालिस रातको हात्तीसुँडे पानीको प्रहारले ल्याइएको महाप्रलयको साक्षी हुनुपर्दा, येशू ख्रीष्टको क्रुसिफिक्सनको साक्षी हुनुपर्दा, होलोकास्ट – छ लाखभन्दा बढी यहुदीहरू, जिप्सीहरू, राजनीतिक विरोधीहरू, अपाङ्गहरू, समलैंगिकहरू र अल्पसंख्यकहरूलाई योजनाबद्धरूपमा हत्या गरिएको साक्षी हुनुपर्दा, हिरोशिमा र नागासाकीका त्रासदीहरूका साक्षी हुनुपर्दा को चाहिँ विरक्तिँदैन होला र ! हे प्रभु राम ! मलाई फकाइफुस्लाई किन चिरञ्जीवीको वरदान दिनुभयो ?

पछुतोले उनी क्लान्त देखिन्थे । शरीर शिथिल हुन लागेको अनुभव उनलाई भइरहेथ्यो । विरक्तिले उनलाई थकाइभित्र घुइक्याइँदिएपछि उनलाई लाग्यो - प्रभु रामको सहारा नलिई उनी विरक्ति र थकानबाट कहिल्यै उम्कन सक्ने छैनन् ।

रात जति जति गहिरिँदै जाँदै थियो उति नै उनलाई पछुतोले सताइरहेथ्यो । थकानले उनलाई अझ धेरै कस्दै लगिरहेथ्यो । सास फेर्न कठिन भइरहेथ्यो । कुन्नि किन हो, उनलाई आफू बसेको ठाउँ, आफू उभिएको धर्ती र आफूले प्राप्त गरेको सिंहासनदेखि टाढा…धेरै टाढा… कहिल्यै नगएको र कहिल्यै नदेखेको एउटा शान्त र सुरम्य ठाउँमा गएर केही समय बिताउने इच्छा जागृत भएर आइरहेथ्यो । “सुनको लङ्काभन्दा पनि सुख र शान्तिमय ठाउँ कहाँ होला ?” भन्ने कुराले उनलाई विचलित बनाइदिएको थियो । उनले कताकता सुनेका थिए - भारतवर्षको उत्तरी पूर्वमा, हिमालयको काखमा एउटा शान्त र सुरम्य ठाउँ छ – दार्जिलिङ, जहाँका मानिसहरू यति लाटा छन् कि कसैले तिनीहरूका टाउकामा काँटी नै ठोकिदिए पनि उनीहरू हाँसिरहन्छन् । कुनै गुनासो छैन, कुनै आक्रोश छैन । सधैँ हाँसिरहन्छन् त्यहाँका लाटाहरू । 

“यस्ता शान्त र सुरम्य ठाउँमा गएर केही क्षण बिताउन पाए मेरा थकानहरू मेटिने थिए कि ? मेरो विरक्तिले मुक्ति पाउने थियो कि ! अमरत्वबाट मुक्ति पाएर म पनि दार्जिलिङेहरूजस्तै सधैँभरि हाँसिरहन पाउने थिएँ कि !” विरक्ति र थकानले यस्ता विचारहरू विभीषणका मनमा अंकुरित हुन लागिरहेका थिए । “दार्जिलिङ भन्ने ठाउँमा कैले पुगेर विश्राम लिन पाउँला ? कहिले त्यहाँका शीतल र स्वच्छ हावाको परिवेशमा बसी विगतका कुराहरूलाई बिर्सिदिएर वर्तमानभित्रको क्षणसँग आह्लादित हुन सकूँला ?”

“तर…” उनले फेरि सोच्न थाले, “विगत नभएको वर्तमान पनि के वर्तमान ? विगतले नै हामीलाई सिकाउँछ । अनुभवको सङ्ग्रह विगतले हामी चेतिन्छौँ, परिपक्व बन्छौँ । त्यसैबाट सिकेर नै त हामी सुधार्न सक्छौँ हाम्रो वर्तमानलाई । विगतले हामीलाई कष्ट नदिएको होइन तर यो हाम्रा निम्ति प्रेरणा बन्न पनि नसकेको त होइन । विगतले पीडा दिए तापनि त्यस पीडाबाट नै हाम्रो चेतना गहिरिएर जान्छ । विगतको सम्झना गर्दै वर्तमानमा दार्जिलिङको त्यो सुरम्य ठाउँमा गएर केही क्षणको निम्ति भए पनि विश्राम लिन पाए म त कति तृप्त हुने थिएँ होला !”

त्यस रात आफ्नो ओछ्यानमा गुटुमुटु हुनुअघि विभीषणले प्रभु रामको सम्झना गरे । अमरत्व प्रदान गरिदिनुहुने श्रीरामलाई प्रार्थना गरे : हे प्रभु, यति दीर्घकालसम्म बाँचिरहनुपर्दा म धेरै नै थाकेँ । यतिबेला मलाई विश्रामको खाँचो छ । मेरो बासस्थानदेखि धेरै धेरै टाढा जाने मेरो इच्छा छ प्रभु…दार्जिलिङ मैले देखेको छैन – सुनेको मात्र हुँ । स्वर्गभन्दा शान्त र सुरम्य ठाउँमा गएर विश्राम लिने मेरो उत्कट इच्छालाई चाँडै पूर्ण गरिदिनहुने विनती यहाँलाई चढाएँ । मेरो यो विनतीलाई चाँडै स्वीकृति दिनुहुन्छ भन्ने आशामा म विश्वस्त छु । हे प्रभु, यति दया ममाथि बर्साउनुहोला । प्रभु, दार्जिलिङ मैले देखेको छैन - सुनेको मात्र हुँ - त्यहाँ पुगेपछि शारीरिक र मानसिक थकानहरू सबै नै विलुप्तिएर जान्छ भन्ने लाग्छ मलाई । तपाईं त सर्वज्ञाता हुनुहुन्छ । त्यस ठाउँमा कसरी जाने ? कृपया मलाई मार्गदर्शन गर्नुहोला ।’

[३]

ख्रीष्ट जन्मनुभन्दा १०० वर्षअघिको गौरवमय राष्ट्र रोम । त्यहाँ थिए दुई मित्रहरू । जुलियस सिजर अनि मार्कुस जुनियस ब्रुटस । दुवै सँगसँगै हुर्केका, बढेका, खेलेका, रमाएका र एकअर्काका दुःख र सुख साझा गरेका । एउटै सपना तिनीहरूका आँखामा थिए- रोमलाई समृद्ध बनाउने । तर कहाँ ब्रुटस, कहाँ सम्राट सिजर ! दुईबीच यति ठूलो व्यवधान भए तापनि सिजरले ब्रुटसलाई एउटा पिताको प्रेम दिएका थिए । ब्रुटुसले पनि सिजरलाई आफ्नो गुरु र संरक्षक मानेका थिए । यसभन्दा पनि बढी ब्रुटसले सिजरलाई आफ्नो परम मित्र मानेका थिए ।

त्यो साँझको क्षण, ब्रुटसका आँखामा अझ पनि आइबस्छ: दुवै मित्रहरू कोलाहलमय शहरदेखि धेरै टाढा, टाइबर नदीको बगरमा बसेर कुरा गरिरहेका । सिजरले त्यस साँझ ब्रुटसलाई भनेका थिए, “मेरो भविष्य तिमी नै हौ । जब मेरा पाइलाहरू पतनतर्फ लम्किरहेका हुन्छन् त्यस समय मलाई कसैले रोक्न सक्छ भने त्यो तिमी नै हुनेछौ ।”

   ब्रुटसलाई विश्वास लागिरहेको थिएन कि यस्ता सम्भावनाहरू पनि छन् । यो उनको कल्पनादेखि बाहिरको कुरा थियो ।

“ ‘पतन’ शब्दको ‘प’समेतले तिमीलाई छुन डराउनेछ । जुलियस, तिमी त रोमको गौरव हौ, यो देशको भविष्य हौ । किन तिमी यस्ता कुराहरू गरिरहेछौ ?” भनेका थिए ब्रुटसले । त्यो साँझ एक सम्राट र एक मित्रबीचका कुराकानीका साक्षी थिए टाइबर नदीका सललल बगिरहेको स्वच्छ जल, नदीकै बगरमा ओछिएका बालुवा र छरपस्टिएका रोडाहरू अनि त्यहाँका रुखपातहरूसँग साउती गरिरहेको शान्त हावा ।

परलोकमा ब्रुटस निकै चिन्तित थिए । ईसा पूर्व ४४को १५ मार्चको घटना बारम्बार उनका आँखाअघि आइरहन्थ्यो । आफ्ना अति प्रिय साथी जुलियस सिजरलाई पिठ्यूँमा कसरी उनले छुरी घोपेका थिए । उनलाई थाहा थियो - उनका साथी जुलियस सिजर, रोमका नेता अनि एक विजेता थिए । जनताले उनलाई देवता मानेका थिए । तर त्यहाँ केही यस्ता पनि थिए जसलाई डरले सताइरहन्थ्यो अनि त्यस्तोमा षडयन्त्रकारी नहुने त कुरै थिएन । आज ब्रुटसको मनमा द्वन्द्व चलिरहेछ : सिजरको सबैभन्दा भरपर्दो मित्र म ब्रुटस । युद्धमा सँगै लडेका, सँगै जितेका । मेरो अति प्रिय मित्रलाई कति प्रेम गरेको थिएँ मैले तर यो गणराज्यप्रतिको प्रेम र कर्तव्यले मेरो हात सधैँ कामिरहेको हुन्थ्यो । त्यही हातले मेरा प्रिय मित्र सिजरको पिठ्यूँमा छुरी घोप्दा किन कामेन त्यो मेरो हात ? त्यस दिन जब जुलियसले सिनेट भवनमा प्रवेश गरेको थियो सिनेटका सबै सदस्यहरू उठेर कसरी उसलाई स्वागत गरेका थिए ! तर त्याे स्वागतभित्र धारिलो र तीखो छुरी लुकिरहेको थियो । ऊ त मेरो मित्र मात्र नभएर पिता समान पनि थियो । तैपनि शंकाहरू मेरो मनबाट उम्कनै सकेका थिएनन् : जुलियसले राजाको स्थान प्राप्त गर्यो भने समस्त रोमवासी दासत्वमा बाँच्नुपर्नेछ । यस्तो परिस्थितिबाट उम्कनलाई के मैले मेरो प्रिय मित्रको हत्या गर्नैपर्थ्यो र ? हृदय विचलित भइरहेको थियो उनको । उनले पुर्‍याएको त्यो शारीरिक चोट शायद त्यति गहिरो त नहोला तर आत्मामा भने त्यो चोट सागरको गहिराई जस्तै गहिरो थियो ।

   त्यस दिन कास्काले सिजरमाथि गरेको प्रथम आक्रमण र त्यसपछिका आक्रमणहरू कसरी भुल्न सक्छन् र ब्रुटसले ? जब आक्रमणकारीमाझ सिजरले ब्रुटसलाई देखे, तब सिजरले भनेका अन्तिम वाक्य, “तिमी पनि, ब्रुटस ?” यो भनाइले झन् विचलित भइरहेका थिए ब्रुटस । कास्का, ब्रुटस र अन्य सिनेटरहरूले सिजरको हत्या गरेपछि उनीहरूमा एउटा दृढ विश्वासले जन्म लिएको थियो – सिजरको मृत्युपछि रोम तानाशाही शासनको अत्याचारबाट मुक्त हुनेछ । रोममा गणराज्य पुनर्स्थापित हुनेछ । तर आफूले चिताएजस्तो सधैँ कहाँ हुन्छ र ! उनीहरूले जे सोचे, त्योभन्दा धेरै फरक बाटोमा घटनाक्रमहरू अघि बढिरहेका थिए । ब्रुटस अझ सोचिरहेथे: जुलियसलाई सहायताका हात दिने उनका विश्वास पात्र जनरल मार्क एन्टोनी र उनका छोरा तथा उत्तराधिकारी ओक्टाभियन अनि लेपिडस जस्ता सहायकलाई किन मैले साथ दिइनँ ? किन म र कासियस हत्या योजनाकार र हत्यारा भयौं ? 

   ईसा पूर्व ४२ मा फिलिपीको युद्धमा ब्रुटस र कासियस पराजित भए । त्यसपछि ती दुवैलाई आत्महत्या गर्नबाहेक अरू कुनै विकल्प रहेन ।

  मृत्युपछि पनि ब्रुटसले एक निर्णायक युद्ध देखे : मार्क एन्टोनी, सिजरका विश्वासी जनरल रोमी परम्परा विरोधी भए । मिश्रकी रानी क्लियोपाट्रासँग मिलेर उनी शक्ति विस्तारतिर अग्रसर भए । एक्टियमका एक निर्णायक युद्धमा ओक्टाभियनले एन्टोनी र क्लियोपात्ट्रालाई पराजित गरेपछि क्लियोपाट्राले पनि आत्महत्या गरिन् । त्यसपछि ओक्टाभियन रोमका प्रथम सम्राट बने । रोममा गणराज्यको अन्त भयो । रोम एउटा साम्राज्यमा परिणत भयो । 

   आत्महत्यापछि न त स्वर्ग न त नर्कमा बास गर्न पुगेका ब्रुटसको मुटुको व्यथा झन् बढ्न लागिरहेथ्यो । मित्रता र राष्ट्रभक्तको बीचमा परेको एउटा पीडित आत्माले उनलाई छोडेकै थिएन । ‘सिजर तानाशाह बन्न खोज्दै छन् ।यस्तो भयो भने त रोम कमाराकमारीको देश हुनेछ ।’भन्दै कासियसले बारम्बार ब्रुटसलाई सम्झाएको कुरा ब्रुटसले अझसम्म भुल्न सकेका छैनन् । ब्रुटस नि:शब्द रहन्थे तर द्वन्द्वहरूले उनको मनलाई उथुलपुथुल पारिदिन्थे: तिमीले राष्ट्रलाई तानाशाहबाट बचाउन पर्छ । गणतन्त्रलाई खतरामा पु-याउन हुँदैन । जुलियस मेरो परमपिता मात्र नभएर मित्र पनि हो । हजारौं हजारौं वर्ष भइसक्यो यस कुराले मालाई बिचलित बनाइरहेछ । म थाकिसकेको छु । मलाई विश्राम चाहिएको छ । जुलियस, तिमीले किन अझसम्म माफ गरेको छैनौ मलाई? हो, म तिम्रो मित्र हुँदाहुँदै पनि मैले तिमीलाई नरोजेर राष्ट्रहितलाई रोजेँ । हे मित्र जुलियस ! यस ठाउँमा आत्मग्लानीले मेरो हृदयमा डढेलो लागिरहेको छ । यहाँबाट म टा…ढा, धेरै टाढा गएर विश्राम लिन चाहन्छु – केही समयको निम्ति । मलाई तिम्रो सहायताको आवश्यकता छ । साँचो हृदयले मैले यी कुराहरू तिमीलाई भनिरहेछु । यो अशान्त आत्माले पीडित तिम्रो अभिन्न मित्र ब्रुटसले तिमीबाट सहायताको आशा राखेको छ । तिमी त स्वर्गमा छौ । स्वर्गमा भएकाहरू सबैमा पीडितहरूको उद्धार गर्ने क्षमता छ । म न ता स्वर्गकै भएँ नता नर्ककै । म त भीरको चिन्डो…

   भोलि बिहान ब्रहममुहुर्तको शीतल समयमा जब ब्रुटस निद्राबाट वञ्चित भए उनको शयनकक्षको खिडकीमा एउटा सुनौलो रङको सुगाले तिखो स्वरमा ब्रुटसलाई भनिरहेथ्यो, ‘ब्रुटस, उठ निद्रालाई त्याग । तिमी धेरै सुत्यौ ।अब तिमीले धेरै लामो यात्राको सुरूवात गर्नुपर्नेछ जसले तिमीलाई तिम्रा थकानहरूबाट मुक्त गरिदिनेछ ।’ ब्रुटस त्यस सुगाको खिरिलो‌ आवाजले अति नै आश्चर्यचकित थिए । ‘यो बोल्ने सुगाले मेरो पनि भाषा बुझ्छ नै होला’ भन्ने लागेर उनले सुगालाई सोधे, ‘सुगा तिमी यसरी ब्रह्म मुहूर्तमा मलाई बिउँझाउन किन आयौ? यसै पनि म ब्रह्म मुहर्तमा आफै बिउँझिहाल्छु । तिमीले मलाई बिउँझाउने त्यस्तो के आवश्यकता पर्यो ?

   ‘ब्रुटस’, सुगाले आफ्नो टाउको यताउति हल्लाउँदै भन्यो,’ म एक संदेश-वाहक हूँ । मैले तिम्रो निम्ति एउटा सन्देश लिएर आएको छु । उ: हेर त, तिम्रो सिरानीमै राखिदिएको छु त्यो सन्देश ।’

   सुगातिर आकर्षित भइरहेको ब्रुटससले आफ्ना आँखाहरू सिरानीतिर कुदाए । उनी तीन छक्क परिरहेका थिए । उनको सेतो शाटनको खोल लगाएको सिरानीको टुप्पोमा एउटा चुच्चो र धारिलो छुरीबाट तपतप चुहिरहेका रगतका थोपाहरूको चित्र थियो । त्यो छुरी चिरपरिचित लागिरहेको थियो ब्रुटसलाई । सिजरको पिठ्युँमा घोपेको छुरी । हो, त्यही छुरीबाट नै सिजरका रगतहरू तप तप चुहिरहेका थिए ।

   ‘यो के हो सुगा ?’ आत्तिएर सुगातिर फर्कँदै ब्रुइटसले के प्रश्न गर्न आँटेका थिए, सुगा अदृश्य भइसकेको थियो । कता कता एउटा अनौठो डरले उनको मुटुलाई उफारिरहेथ्यो । यस्तैमा सिरानी नजिकै गएर उनले सिरानीलाई नियालेर हेर्न थाले । साटनको सेतो खोलमा राता अक्षरहरूमा लेखिएको थियो: मेरो प्रिय मित्र ब्रुटस, जब तिमीले मेरो पिठ्यूँमा छुरी घोप्यौ, त्यस समय म अति क्रोधित थिएँ । तर त्यो क्रोधसँग अब मेरो सिन्कोपाङ्रो भइसकेको छ । मृत्युले हामीलाई समानता प्रदान गरेको छ । मैले तिम्रा गुनासा ध्यानपूर्वक सुनेँ । यसैले यो मेरो संदेश तिमीलाई । तिमीले मलाई मात्र होइन तिमी स्वयंलाई पनि मार्यौ तर ब्रुटस, मैले तिम्रो हृदयलाई मर्न दिइनँ । तिम्रो प्रायश्चितले नै तिमीलाई मुक्ति प्रदान गर्यो । एउटा मार्ग तिमी अघि ओछ्याइरहेछु । त्यसलाई तिमी पछ्याऊ । जहाँ न युद्ध छ न षड्यन्त्र, छ त केवल सम्झनाहरू र मौनता । यस मार्गलाई पछ्यायौ भने तिमी पुग्नेछौ दार्जिलिङको महाकाल डाँडामा । जहाँ तिमीले भेट्नेछौ तिमी जस्तै आत्मग्लानिले पीडित दुई आत्माहरू : विभीषण अनि यहूदा । तिमीहरू जब आफ्ना भोगाइहरू एका अर्कामा साझा गर्नेछौ तब तिमीहरू सबैको हृदयमा शान्तिले बास गर्नेछ । ब्रुटस, अब झट्टै केही क्षणको निम्ति तिमीले तिम्रा आँखाहरूलाई चिम्लिदेऊ र संकल्प गर यसरी, ‘हे महाकाल बाबा ! महाकल डाँडामा विश्रान्तिको निम्ति मलाई तपाईंको पवित्र स्थानमा प्रवेश-अनुमति दिनुहुन कृपा गर्नुहोला ।’ 

   जसै आँखा चिम्लेर ब्रुटसले महाकाल बाबाको संकल्प गरे तत्कालै उनी दार्जीलिङको रमाइलो चौरस्तामा ठिङ्ग उभिएको भानुभक्तको प्रतिमाअघि आफैलाई पाए । उनले प्रतिमालाई नियालेर के हेरेका थिए प्रतिमाले बिस्तारै महाकालको रूप धारण गरी ब्रुटुसको शिरलाई हातले स्पर्श गर्दै भने, ‘ब्रुटसको आकृति, तिमी अहिले दार्जिलिङको चौरस्तामा आइपुग्यौ । अब यहाँदेखि केही पर उत्तरतिर गएर विन्डमेर होटलछेउ भएर उकालो लग्यौभने तिमी आफूले चाहेको स्थानमा पुग्नेछौ ।’

   केही क्षणपछि ब्रुटस महाकाल डाँडाको टुप्पोमा पुगे । महाकालले जब ब्रुटसमा दृष्टिपात गरे तब उनका आँखाहरूमा झलझली आए बालककालको अबोध ब्रुटस, युद्धका रगतहरू,विश्वासघात र पछुतोले लतपतिएका ब्रुटस । 

   क्षणभरमै ब्रुटसका आँखाहरूबाट महाकालको आकृति अदृश्य भइसकेको थियो । महाकालका शब्दहरू मात्र ब्रुटसका कानहरूमा यसरी आइरहेका थिए, ‘ब्रुटस, महाकाल डाँडामा तिमीलाई स्वागत छ । तिमी जुन उद्देश्यले यहाँ आउने उत्कट इच्छा गरेथ्यौ त्यो निश्चय नै पूर्ण हुनेछ । यो यस्तो ठाउँ हो जहाँ न तिमी राजा नै हुनसक्छौ न ता अपराधी । यहाँ तिमीलाई समयले पटक्कै छुन सक्तैन । तिमीलाई निद्राले नित्य अँगालिरहेको हुन्छ ।’ महाकालका यी शब्दहरूसँगसँगै ब्रुटस उभिएको डाँडालाई निस्तब्धताले ढाक्यो । कताकता हावाको स्पर्शले मन्दिरका शंख-घण्टीहरूका दुर्बल निनाद ब्रुटसका कानहरूभित्र प्रवेश गरिरहेको थियो ।

[४]

   ‘हे प्रभु, यति धेरै समयसम्म बाँचिरहनुपर्दा म अति नै थकित छु । यतिबेला मलाई विश्रामको खाँचो छ…मेरो बासस्थानदेखि धेरै टाढा जाने मेरो इच्छा छ । प्रभु…दार्जिलिङ मैले देखेको छैन – सुनेको मात्र हुँ . . . त्यस ठाउँमा कसरी जानुपर्ने ? कृपया मलाई मार्गदर्शन गर्नुहोला ।’ 

   त्यस रात विभीषणले प्रभु रामलाई प्रार्थना के गरेका थिए, उनको आँखाअघि एउटा दीप्तिमान आकृति प्रकट भयो । त्यो आकृति थियो प्रभु रामको । मृदु स्वरमा रामाकृतिले उनलाई भने, ‘विभीषण, तिमीले धर्मको साथ दियौ । हजारौँ वर्षको तलमाथि र गज्याङ्गुजुङ्हरू देख्यौ । वास्तवमा तिमी थाकेका छैनौ । थकान भन्ने शरीरको मात्र हुँदैन । कहिलेकाहीँ आत्मालाई पनि थकान लाग्छ । यसले एकान्त खोज्छ । यो मौनताको खोजमा लागिरहेको हुन्छ । तिमीले सुनेको दार्जिलिङ, त्यहाँका सोझालाटा मानिसहरू, त्यहाँका मनोरम तथा सुरम्य ठाउँ, सयपत्री र लालीगुराँसले सुन्दर बनाइदिएका पहाडी भेकहरू, चाँपको महकले मदहोश बनाइदिने परिवेश, चियाका बुट्टाहरूले हरियै बनाइदिएका चियाबारीहरू र बिहान अनि साँझमा सुनको मुकुट अनि दिनभरि चाँदीको मुकुट लगाएर दार्जीलिङलाई दृष्टिपात गरिरहने कञ्चनजंघा सत्य हुन् । तर त्यस्ता सुरम्य ठाउँमा ती सोझा लाटा मानिसहरू जस्तोसुकै आपद विपद् र संकटलाई पनि आत्मसात् गरेर ओठहरूमा मुस्कान ल्याउन सफल बनेका छन् । त्यहाँ केही विश्वासघातीहरू पनि छन् जो तिमीजस्ता होइनन् । त्यहाँका ती सोझा लाटा मान्छेहरू आफ्नै भूमिमा आफ्नो अस्मिता खोजिरहेका छन् । यति हुँदाहुँदै पनि तिनीहरू हाँसिरहेकै छन् । तिमी पनि त्यहाँ पुगेपछि निश्चय नै हाँस्नेछौ । तिनीहरू यस्तो परिस्थितिमा पनि कसरी हाँस्न सकेका छन् त ? थाहा छ विभीषण, यो कसरी सम्भव छ ? त्यसको मूल कारण हो तिनीहरूलाई त्यहाँका महाकाल बाबाले आशीर्वाद दिएका छन्: जस्तै परिस्थितिमा पनि तिमीहरूको मुस्कान कसैले पनि खोस्न सक्ने छैनन् । यसैले विभीषण, तिमी त्यही महाकाल डाँडामा पुगेर आफ्नो थकान मेटाउनेछौ, विश्राम लिनेछौ । दार्जिलिङको त्यो पवित्र स्थान, महाकाल डाँडामा जानका निम्ति म तिमीलाई मार्गदर्शन अवश्य गर्नेछु ।’

   रामाकृतिका यी शब्दहरूले विभीषणका आँखाहरू पोखरीमा परिणत भइसकेका थिए । रामाकृतिप्रति नतमस्तक हुँदै विभीषणले भने ‘हे प्रभु, म त्यहाँ पुग्न सक्छु होला र ? हजारौं वर्षदेखि म त देहधारी नै छु । महाकाल डाँडा जस्तो त्यो पवित्र स्थानले यो मेरो थकित रूपलाई स्वीकार गर्छ होला र ?’

   ‘हो विभीषण, तिमीले ठिकै भन्यौ । तिम्रो देहलाई स्वीकार्ने छैन महाकाल डाँडाले तर त्यस ठाउँमा आत्मा र आकृति अवश्य पुग्न सक्छन् !’ यति भन्दै रामाकृतिले आफ्नो धनुको ताँदोलाई तन्काएर छोडिपठाए । विभीषणले ओगटेको ठाउँ मधुरमय संगीतको धुनहरूले गुञ्जायमान भयो । संगीतका मधुरमय धुनहरूसँगसँगै त्यहाँ बादलहरूको एउटा उज्यालो मार्ग पनि स्पष्ट देखिन थाल्यो ।

   विभीषणलाई विश्वासै भइरहेको थिएन: प्रभु रामले मजस्तो एउटा विश्वासघाती भाइलाई पनि यसरी मार्गदर्शन दिन सक्छन् र ? 

   ‘विभीषण व्यर्थै शंका किन गरिरहेछौ ?’ विभीषण असमञ्जसमा परेको देखेर रामाकृतिले भने, ‘यो सपना होइन विपना नै हो । यो जुन मार्ग तिमीले देखिरहेको छौ यो मार्ग साधारण मार्ग होइन । यस मार्गले तिमीलाई महाकाल डाँडाको टुप्पोमा पुर्‍याउने छ ।’

   अति हर्षोल्लासित विभीषणले रामाकृतिप्रति नतमस्तक हुँदै भने, ‘हे मेरो प्रभु राम, तपाईंको मार्गदर्शनको निम्ति लाखौं लाखौं धन्यवाद । अब म महाकाल डाँडा जान तयार छु । प्रभुको आशीर्वाद पाऊँ ।’

   रामाकृतिले आशीर्वचनका हात विभीषणका शिरमा राख्दै भने, ‘विभीषण, तिम्रो यात्रा मङ्गलमय रहोस् अनि एउटा कुराको सम्झना रहोस् – संसारलाई छोड्नु धर्म छोड्नु कदापि होइन । विश्राम खोज्नु कष्टहरूबाट मुक्त हुनु होइन ।’ रामाकृतिका यी आशीर्वचनहरू साथसाथै रामाकृति अदृश्य भयो ।  विभीषणले बिस्तारै उज्यालो बादलहरूको मार्गमा आफ्ना पाइलाहरू अघि बढाउन थाले ।

   निमिषमै…विभीषणको अमर देहमा थकित आत्मा एउटा तीर्थयात्री भएर दार्जिलिङको महाकाल डाँडामा पुगेको छ । महाकल मन्दिरको पछिल्तिर एउटा साधारण कुटी छ जो त्यहाँका पुजारी र भक्तहरूसँग अदृश्य छ । त्यही कुटीरभित्र विभीषणको आकृतिले विश्राम लिइरहेको छ । उनको थकानलाई अझ सजिलो बनाइदिएको छ दाजिलिङका चियाका घुटकाहरूले । चियाका घुटकाहरूको आनन्द लिइसकेपछि विभीषण ध्यानमग्न छन् । उनका नेत्रद्वयबाट सप्तरङ्गी प्रकाशहरू निस्किरहेका छन्ः शायद कसैलाई केही सन्देश पठाएका हुन् कि ?

[५]

   ‘तिम्रो इच्छा चाँडै पूर्ण हुनेछ जब तिमीलाई नरलोकबाट एउटा कर्तव्यपरायण दोषीले आमन्त्रण गर्नेछन् ।’ त्यस समय यहुदाले जब ख्रीष्टलाई प्रार्थना गरेका थिए, प्रत्युत्तरमा उनले ख्रीष्टका यी स्पष्ट शब्दहरू सुनेका थिए । त्यही रात ख्रीष्टका शब्दहरू वास्तविकतामा परिणत भएका थिए । यहुदाका आँखाअघि एउटा ठूलो चाँदीको सिक्का देखा पर्यो, जसमा सुनौला अक्षरहरूले सजिएका वाक्यहरू थिए: 

   प्रियवर यहुदा, शायद तपाईंले मेरो नाम कतै न कतै त सुन्नुभएकै होला । म विभीषण, लङ्कापति, रावणको भाइ, एक विश्वासघाती भाइ जसले प्रभु रामलाई चुनेर आफ्नै कुलको विरुद्ध उभिएको थियो । मैले पनि तपाईंले जस्तै विश्वासघातको उपाधि पाएको थिएँ । फरक यति मात्र हो कि मैले अमरत्व पाएँ तपाईंले मृत्युको बोझ पाउनुभयो । दार्जिलिङको महाकाल डाँडा, जहाँ न समयको बाक्के फुट्छ न दोषीहरूलाई नै बाँध्न सकिन्छ । यस्ता पवित्र अनि शान्तिले बास गरेको ठाउँमा आउनुभएर तपाईंका सुखदुःख हामी एकअर्कामा साझा गरौँ भन्ने ध्येयले तपाईंलाई आमन्त्रण गरिरहेको छु । तपाईंको उपस्थितिको आशा राखेँ । 

                       - विभीषण ।

   पुनश्च: प्रत्युत्तरका निम्ति – तपाईंले देखिरहनुभएको सिक्का अदृश्य भएपछि फेरि एकपल्ट आफ्ना आँखाहरू चिम्लिनुहोस् । तपाईंले देख्नुहुनेछ एउटा सुनको सिक्का । त्यही सिक्कामा आफ्नो ध्यान केन्द्रित गर्दै आफ्ना आवाजहरूद्वारा मलाई सन्देश पठाउन सक्नुहुनेछ ।

  विभीषणका यी वाक्यहरूले यहुदालाई लाग्यो – विभीषणले यस्ता विश्वासघातीलाई पनि सम्मान दिइरहेका छन् । सुनको सिक्कामा ध्यान केन्द्रित गर्दै यहुदाले तुरुन्तै प्रत्युत्तर दिइहाले: श्रद्धेय विभीषणज्यू, दार्जिलिङको महाकाल डाँडामा मलाई आमन्त्रित गर्नुभएकोमा अजस्र धन्यवाद । हो, तपाईंको नामसँग म परिचित छु जस्तो लाग्छ । मैले जस्तै तपाईंले पनि विश्वासघात गर्नुभएथ्यो तर त्यो विश्वासघात न्यायका लागि थियो । महाकाल डाँडामा तपाईंसँग भेट भएपछि शायद मैले पनि अब न्यायको कुनै रूप पाउन सक्छु कि जस्तो लाग्छ । 

   त्यसपछि यहुदाले केही समयको निम्ति मौन धारण गर्दै ख्रीष्टको सम्झना गरे । निमिशमै उनका आँखाहरूअघि अति प्रज्ज्वलित अक्षरहरू आउन थाले:महाकाल डाँडा पदयात्रामा तपाईंलाई स्वागत छ । यात्रा आरम्भ गर्नोस् । 

      यहुदा बिस्तारै दार्जिलिङको महाकाल डाँडातिर प्रस्थान गर्न लागिरहेका थिए ।

[६]

   हिन्दू र बौद्ध धर्मावलम्बीहरूले पवित्र मानेका दार्जिलिङको अब्जरभेटरी हिलमा अवस्थित महाकाल बाबाको मन्दिर । सन् १८२७तिर स्थापना भएको दोर्जेलिङ मठ । सन् १८३५ तिर अङ्ग्रेजहरूले दार्जिलिङलाई सिक्किमबाट लिएपछि यहाँको जनसंख्यामा वृद्धि हुन गयो । कालान्तरमा भगवान् शिवको मन्दिर स्थापना गरिएपछि यहाँका रैथानेहरूले महाकाल बाबा मन्दिर भन्न थाले । यहाँ हिन्दू र बौद्ध - दुवै धर्मावलम्बीहरूले पूजा गर्छन् । बौद्ध स्तूप र प्रार्थना चक्रहरू, शिवलिङ्ग, गणेश, हनुमान, दुर्गा र कालीका मूर्तिहरू मन्दिर परिसरमा हाराहारी छन् जसले धार्मिक सहअस्तित्वको प्रमाण गर्दछ । रैथानेहरू विश्वास गर्छन् : महाकल बाबा दार्जिलिङका रक्षक हुन् । सदैव आपद्, विपद्, सङ्कट तथा दुर्घटना र रोगहरूबाट वञ्चित राख्छन् ।

   हिमालयको काखमा बसेको यो अति रमणीय र पवित्र स्थान महाकाल डाँडा . . . यहाँको छानो - निलो आकाश – सुनौला रंगहरूमा परिणत भइरहेको थियो । चाँदीको कन्चनजङ्गा सुनौलो मुकुटमा परिवर्तित भइसकेको थियो । सधैँझैं आज पनि अदृश्य विभीषण महाकाल मन्दिरअघिको चौतारीमा शीतल हावाको आनन्द लिइरहेका थिए । साँच्चे नै यस पावन भूमिमा आइपुगेपछि विभीषणका सबै कुण्ठाहरूले उनलाई छोडिसकेका थिए । मन शान्त थियो । उनकाे त्यही शान्त मन यहुदाकहाँ पुगेको थियो : के यहुदाले पनि मैले जस्तै विश्वासघात गरे होलान् ? किन गरे होलान् ? अरे ! म किन यति उत्तेजित ? किन यति जिज्ञासु ? मैले त उहाँलाई निम्त्याइसकेको छु । यहाँ आइपुगेपछि उहाँकै मुखारविन्दबाट वृत्तान्त सुनूँला नि !

   यतिकैमा पुरानो र धुलैधुलो भएको ओभरकोट जस्तो देखिने पहिरन लगाएका, टाउकोको फेटा केही मात्रामा देब्रेतिर ढल्किएका, छालाको फुस्रे स्याण्डल लगाएका र हातमा खैरो थैली लिएर विभीषणतिर एउटा आकृति आइरहेको उनले देखे । चौतारीबाट जुरुक्क उठेर विभीषण त्यस आकृतितिर बढ्न लागे । आकृतिलाई अभिनन्दन जनाउँदै विभीषणले भने, “यहुदा, महाकाल डाँडामा तपाईंलाई स्वागत छ । म तपाईंकै प्रतीक्षामा थिएँ ।”

   “प्रणाम विभीषण”, यहुदाले भने, “मलाई सम्झना गरेर तपाईंले यस्तो पवित्र स्थान, महाकाल डाँडामा आमन्त्रण गर्नुभएर ठूलो उपकार गर्नुभयो । मेरो अभिवादन अनि कृतज्ञता स्वीकार गर्नुहोला ।” 

   “मेरो पनि अभिवादन स्वीकार गर्नुहोला आदरणीय विभीषण, आदरणीय यहुदा ।” रातो रङ्गको रोमन पहिरनमा हठात् ब्रुटसको आगमनमा विभीषण अनि यहुदा अति नै हर्षोल्लासित थिए ।

   “महाकाल डाँडामा तपाईंलाई स्वागत छ ब्रुटस । मेरो अभिवादन स्वीकार गर्नुहोला ।” विभीषणले ब्रुटसलाई स्वागत जनाउँदै अभिवादन टक्राए । 

   “ब्रुटस, मेरो पनि अभिवादन तपाईंलाई ।” यहुदाले अभिवादन टक्रयाए ब्रुटसलाई । 

  महाकाल डाँडाको त्यो अविस्मरणीय क्षण अति नै सुखदायी थियो ती तीन आकृतिहरूका निम्ति । केही क्षणपछि तिनीहरू विभीषणका कुटीरमा पुगे । कुटीरका सेवकले विश्व प्रसिद्ध दार्जिलिङे चियाका प्यालाहरू तिनीहरूअघि टक्र्याइदिए । तिनीहरू सबै सुगन्धित चियाहरूमा सम्पूर्णत: डुबिरहेका थिए । रात अझ गहिरिँदै जाँदै थियो । तीन आकृतिहरू आफ्नै गफमा रूमलिरहेका थिए । सबै हर्षोल्लासित थिए । 

  [७]

   महाकाल डाँडामा तीन आकृतिका निम्ति समयको गति छैन । यद्यपि घाम उदाउँछ, अस्ताउँछ । बिहान दिनमा परिणत हुँदै साँझ पर्छ । साँझ फेरि रात्रिमा परिणत हुन्छ । यो महाकाल डाँडामा त्यस समय साँझको आधिपत्य थियो जसलाई साथ दिएको थियो मौनताले । मन्दिरका शंखघण्टीहरू लोसे थिए । भक्तहरूका आवाज शिथिल भइसकेका थिए । हावामात्र आँटिलो भएर घण्टीहरूलाई उस्काउँदा दुई चार ससाना घण्टीहरू कता कता टङ्ल्याङ्टुङ्लुङ् गर्ने भएका थिए । 

   यस्तै अवस्थामा महाकाल डाँडाको टुप्पोतिर रहेको चिटिक्क परेको टी बार केवल तीन आकृतिहरूका निम्ति खोलिएको थियो । तीन आकृतिहरू दार्जिलिङको चिया गफमा चुर्लुम्म डुबिरहेका थिए । टेबलमा चिया आइपुग्नुअघि विभीषण अविस्मरणीय क्षणमा थिएः “विनाशबाट बाँच्नु छ भने हरिल्याएका सीतालाई फर्काइदिनुहोस् ।” भन्ने चेतावनी जब विभीषणले रावणलाई दिए तब रावणले उनलाई निर्वासित गरिदिए । श्रीरामको शरणमा पर्नुबाहेक अरु कुनै विकल्प थिएन उनको । रामको शरणमा पुगे उनी । त्यसपछि के भयो त ? के हुन्थ्यो र ! युद्ध सकियो । रावणवधको काण्ड सिद्धियो । विभीषण लङ्काका राजा भए । तर के उनले पाएका सिंहासनमा शान्तिले बास गरेको थियो र ? हरेक रात विभीषणका सपनामा रावण आएर भन्थ्यो, “भाइले दाजुलाई विश्वासघात गर्यो ।” युगौंयुग बितिसक्दा पनि प्रश्न त त्यही नै थियो – “तिमीले धर्मको साथ दियौ कि त्यसको नाममा आफ्नै दाजुलाई विश्वासघात गर्यौ… ?”

  “के सोचिरहनुभएको छ विभीषणज्यू ?” चियाका प्यालाहरू टेबलमा आइपुगेपछि यहुदाले विभीषणलाई उनका विचारमग्न क्षणहरूबाट पृथक् गराइदिए , “हिजोका गफहरूले तपाईं थकित हुनुभएझैँ देखिनु हुँदैछ आज । तपाईं सञ्चै हुनुहुन्छ ?” 

   टेबलबाट चियाका प्याला उठाएर चियाको एक दुई घुटका लिँदै शान्त र गहिरो स्वरमा भने विभीषणले, “यहुदाज्यू, म साँच्चै नै थकित छु । युगौंयुगदेखि म हिँडेको हिँडेकै छु । म गाउँघरमा हिँडेँ, शहरमै हिँडेँ । जंगलमा हिँडेँ । मन्दिरमा हिँडेँ । युद्धभूमिमा पनि हिँडेँ । यसरी हिँड्दा हिँड्दा मैले जसलाई धर्म भनेर रोजेको थिएँ त्यो विश्वासघात थिएछ ।”

   ब्रुटसले चियाका दुई चार घुटका लिइसकेका थिए । विभीषणको कुरा सुनेपछि उनले भने, “विभीषणज्यू, मलाई त यस्तो लाग्छ – हामी सबैले समयमा सत्यलाई समर्थन गरेर आफ्ना रगत बगाएका छौं ।” विभीषणले चियाको अर्को घुटका लिएपछि ब्रुटसलाई हेर्दै भने, “ब्रुटसज्यू, तपाईंको पीडा म बुझ्छु । रावणको रहस्य रामलाई बताएपछि म आफ्नै रगतको विरुद्ध भएको थिएँ तर धर्म र न्यायको रक्षा गर्नु पनि त आफ्नो एउटा कर्तव्य थियो । तर समय र इतिहासले मलाई देशद्रोहीको उपाधी दिए । तपाईंले पनि त गणराज्यको रक्षाहेतु आफ्नो प्रिय मित्रको पिठ्यूँमा छोरी घोप्नुभयो ।”

   “हो विभीषणज्यू, जुलियसले गणराज्यलाई मार्न खोजेझैँ लाग्यो मलाई । रोमलाई बचाउन ममा प्रेमको बलिदान दिन बाहेक अरु कुनै विकल्प थिएन । रोमका निम्ति मैले आफ्नै मित्रको रगत बगाएँ । अहिले यस्तो महसूस हुन्छ कि म भ्रममा थिएछु । के रोम साँच्चै नै बाँच्यो र ?”

   यहुदा चुपचाप विभीषण र ब्रुटसका कुरा सुनिरहेका थिए । “भ्रममा हामी सबै छौं”, यहुदाले आफ्ना आँखाहरू विभीषण र ब्रुटसका आँखाहरूसँग मिलाउँदै भने, “म पनि त भ्रममै परेको थिएँ । तीन वर्षजति मैले उहाँसँग बिताएँ । हामी अनुयायीहरूले उहाँलाई जिजस भन्यौँ – हाम्रा शिक्षक, हाम्रा अगुवा र हाम्रा आशा । मैले आशा साँचेको थिएँ– जिजस राजा बनून् । रोमको क्रूर शासनको विरोध गरून् तर त्यो आशा निराशामा परिणत भइरहेको थियो । प्रेम र क्षमाका कुरा बाहेक अरु के पो थियो र उहाँमा ?”

चियाको अर्को घुटका लगाउँदै ब्रुटसले यहुदालाई भने, “एउटा मित्रको सट्टा गणराज्यको सुरक्षा हेतु लागिपरेँ म । यति हुँदाहुँदै पनि म उसलाई अति नै माया गर्थेँ तर उफ ! उसको निरंकुशताले हद पार गरिरहेको थियो । हो, म मरेँ तर राज्यको भलाई गर्ने कार्यमा म कहिल्यै कर्तव्यच्यूत भइनँ । तर इतिहासले मलाई गद्दारको उपाधि दियो । यहुदाज्यू, तपाईं र मेरो बाटो फरक भए तापनि कर्म हाम्रो एकै थिएछ जुन कर्मले हामीलाई विश्वासघाती बनायो ।”

“होइन ब्रुटसज्यू, मेरो कथा केही मात्रामा फरक छ ।” ब्रुटसतिर हेर्दै भने यहुदाले ।

 “कुन हिसाबले ?” ब्रुटसले जिज्ञासा प्रकट गरे ।

 “सुन्नुहोस् है त”, यहुदाले भने, “विभीषणज्यू, तपाईं पनि सुन्नुस् है मेरो जीवनको महत्त्वपूर्ण घटना ।” विभीषण र ब्रुटसका अनुहारहरूभरि जिज्ञासा फैलिन थालेको थियो । यहुदा भन्दै गए, “यरुसलेमको त्यो चुक घोप्टिएको रात । जिजस र हामी बाह्र शिष्यहरू एउटा कोठामा भेला भएका थियौं । ससाना मैन बत्तीहरूले त्यो कोठालाई उज्यालो बनाइदिएको थियो । कोठा वरिपरिको चकमन्न रातलाई झ्याउँकिरीहरूका आवाजले केही मात्रामा हस्तक्षेप गरिरहेको थियो । त्यस रात जिजसले हामीसँग अन्तिम भोज गर्नुभएको थियो । भोजनका निम्ति हामी सबै भोजको टेबुल कुर्सीमा थियौँ । भोजन शुरू गर्नुभन्दाअघि उहाँले हातमा रोटी लिएर हामीहरूलाई हेर्दै भन्नुभयो, “यो मेरो शरीर हो जुन तिमीहरूका लागि विभाजित हुनेछ ।” त्यसपछि उहाँले हामी सबैलाई मदिराको कचौरा उठाएर हामीतर्फ हेर्दै भन्नुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” [मत्ती २६: २७,२८]

   चियाका प्यालाहरू सबै रित्तो भइसकेकाले यहुदाका कुरालाई बीचमै काट्दै विभीषणले भने, “यहुदाज्यू, माफ गर्नुहोला, म एकपटक फेरि चियाको निम्ति सेवककहाँ गएर आऊँ है !” विभीषण पाकशालातिर लागे ।

  “अँ…क्राइष्टले मदिराको कचौरा उठाएको कुरा गर्नुहुँदै थियो तपाईंले”, पाकशालाबाट फर्किएपछि विभीषणले यहुदालाई सोधे, “त्यसपछि के भो ?” 

   “त्यो अन्तिम भोजपछि हामी सबै जैतुन डाँडा हुँदै गेतस्मनीको बगैँचामा पुग्यौं । अनि त्यही बगैँचा हो जहाँ जिजस पक्राउ भएका थिए । पक्राउ गर्नेहरूलाई मैले एउटा संकेत दिएको थिए: … जुन मानिसलाई म म्वाइ खान्छु तिनै हुन्, तिनैलाई समात । [मत्ती २६:४८] “हे गुरु, प्रणाम !” भन्दै मैले उहाँलाई म्वाइ खाएँ । मेरो त्यही म्वाइले जिजसलाई काँडाको मुकुट लगाएर, हात र खुट्टाहरूमा काँटी ठोकेर क्रुसमा टङ्गाइयो । तीस चाँदीका सिक्काहरूमा मैले आफ्नो विश्वास बेचिदिएँ । जब मैले उहाँलाई चुमेँ उहाँले भन्नुभएको थियो, “यहुदा तिम्रो चुम्बनमा मैले विश्वासघात देखिरहेको छु ।” इतिहासमा विश्वासघातको गहिरो छाप परेको त्यस समय मैले महसूस गरें । म किन हतारिएँ त्यसबेला ? पश्चाताप गर्नुको सट्टा मैले आत्महत्या गरेँ । यसैले म नर्कमा पुगेँ ।” यहुदाका आँखा रसाइसकेका थिए । विभीषण र ब्रुटस ट्वाल्ल परेर एकअर्कालाई हेरिरहेका थिए ।

   चिया आइपुग्यो । तातो बाफ उड्दै गरेको सुगन्धित चियाका घुट्काहरूले यी तीन आकृतिलाई फेरि नयाँ ऊर्जा प्रदान गरिरहेका थिए ।

   यहुदाको वृतान्त कताकता आफ्नै कथाहरूसँग मेल खाइरहेझैँ लागिरहेथ्यो विभीषणलाई । उनले यहुदाको दाहिने काँध थप्थपाउँदै भने, “यहुदाज्यू, सुन्नमा तपाईंको कथा विश्वासघातको कथाझैँ लाग्छ । चाँदीका सिक्काहरूका निम्ति तपाईंले आफ्नो गुरु बेच्नुभयो । तर वास्तवमा यो अर्धसत्य हो । तपाईंले चाहना गर्नुभएको थियो, आशा गर्नुभएको थियो- जिजसले आफ्नो शक्ति देखाउन् । मसीहाको प्रमाण प्रस्तुत गरून् । यसभन्दा पनि बढी - तपाईंले यस कर्मलाई नअप्नाउनु भएको भए परमेश्वरको भविष्यवाणी पूरा हुने थिएन । न ता क्रुसिफिक्सनको कुरा आउनेथ्यो न ता रेजुरेक्सनको नै ।”

    विभीषणका यी कुराहरूले यहुदाको अनुहार केही मात्रामा उजेलियो । “विभीषणज्यू, तपाईंले मलाई अगावै बुझ्नुभएको रहेछ”, यहुदाले भने, “मेरो भाग्य भविष्यवाणीले नै कोरिएको थियो - मेरो रोटी खानेले मलाई धोका दिनेछ । तर के गर्नु ! विनाशकारी विपरित बुद्धि । मैले प्रायश्चित गर्नुको सट्टा आत्महत्या गरेँ ।”

   ध्यानपूर्वक यहुदालाई सुनिरहेको ब्रुटसले चियाको दुई घुटका लिँदै भने, “यहुदाज्यू म पनि तपाईंजस्तै भाग्यकै प्रश्नमा तुर्लुङ्ग झुण्डिरहेको छु । भविष्यवक्ताले मार्चको इडसबाट (मध्य मार्च महिना) सावधान (Beware of the Ides of March) भन्ने चेतावनीलाई मैले वास्तै गरिनँ । फलत: म विश्वासघाती त भएँ भएँ तर भविष्यवाणीलाई पूरा गर्ने एउटा निमित्त पनि भएँ ।

   “ब्रुटसज्यू,” ब्रुटसका कुरा सुनेपछि विभीषण भन्न लागे, “तपाईं भाग्य र भविष्यवाणीको कुरा गर्नुहुन्छ नि ! बाइबलमा मात्र होइन रामायणमा पनि भविष्यवाणी गरिएको थियो–राक्षसकुलका कोही धर्मपथमा लाग्नेछ । त्यो चाहिँ म नै हुँ, रावणको भाइ विभीषण । म पनि प्रश्नहरूमा बाँधिएको छु । भविष्यवाणी पूरा गर्ने समय जब आयो त्यस समय हाम्रो स्वतन्त्र इच्छाको मोल के थियो ? भविष्यवाणी सत्य हुन सक्छ तर मुक्ति पनि त सत्य नै हो ।”

“हो विभीषणज्यू,” यहुदा भन्न लागे, ”तपाईंले सत्य कुरा गर्नुभयो । हामी तीनैजनाको भविष्यवाणी पूरा भयो तर मेरो आत्मा भने रोदनमा चुर्लुम डुबिरहेको छ ।” 

दुवैका अनुहारतिर हेर्दै ब्रुटसले भने, “विभीषणज्यू, यहुदाज्यू, भविष्यवाणी सत्य हो । यसले हामीलाई बाटो देखायो । तर के गर्नु अपराधको घाउ हामीमा अझसम्म निको भइसकेको छैन ।”

 “हाम्रा घाउहरू निको नभएको कारण थाहा छ ?” यहुदाले प्रश्न तेर्साए ।

 “उही त हो !” भने विभीषणले, “हामी सबैले प्रायश्चित गर्नमा कन्जुस गर्यौं ।”

 “तपाईंले ठीक भन्नुभयो विभीषणज्यू ।” विभीषणका कुरालाई समर्थन जनाउँदै ब्रुटसले भने, “सिजरको पिठ्यूँमा छुरी घोपेरर रोमलाई बचाउन किन तम्सिएँ म ? एउटा साथीको माया र कर्तव्यमाझ अल्झिएको मेरो आत्मा आज केही मात्रामा भए पनि हलुका भएको छ ।”

महाकाल डाँडाको चिसोले गँग्रिएका हत्केलाहरू रगड्दै भने यहुदाले, “चाँदीका तीस सिक्काहरूमा जिजसलाई विश्वासघात गर्नु मेरो महापाप थियो यद्यपि मैले विश्वासघातको औचित्य जति नै र जुनै दृष्टिकोणबाट पनि दिऊँ । तर काँडाका मुकुट लगाएका क्रुसिफाइड जिजसले भनिरहनुभएको थियो, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस् ।” मलाई लाग्छ त्यो क्षमा मेरै निम्ति पनि थियो ।

यहुदाको आङ हत्केलाले सुसम्याउँदै विभीषणले भने, “यहुदा, मलाई पनि त तपाईंलाई जस्तै विश्वासघातले पीडा नदिएको होइन तर प्रभु रामप्रति मेरो आस्था धमिलिएको छैन र यही आस्थाले नै म युगौँ युग बाँचिरहेको छु र यसरी तपाईंहरूलाई निम्त्याएर हामी एक अर्काका सुख दु:ख साझा गर्न सकिरहेका छौं ।”

बाह्रपल्ट टङ्… टङ्…टङ्… गर्दै महाकाल डाँडाको टी बारको भित्ते घडीको घन्टीले सुनसान डाँडाको निस्तब्धतालाई भत्काउँदै मध्यरातको सूचना त दिइरहेकै थियो तर साथसाथै यी तीन आकृतिहरूका मानसिक बोझ पनि बिस्तारै बिस्तारै हलुका हुँदै गइरहेको थियो । मध्यरातको अन्धकारमा उनीहरूका आत्माले विश्वासघातका छायाहरूलाई मुक्तिको प्रकाशतिर लगिरहेथ्यो । तिनीहरूको हृदयमा शान्तिको साम्राज्य फैल्न लागिरहेथ्यो ।

[८]

भोलिपल्ट । विभीषणका कुटीरमा । साँझकै बेला । तीन आकृतिहरूको जमघट थियो । सबैले एकअर्कालाई ‌कौतुहलमय आँखाले हेरिरहेका थिए । तिनीहरू सबैले एकअर्काको पीडामा आफैंलाई देखिरहेका थिए । शायद उनीहरूलाई ज्ञात भइरहेथ्यो– विश्वासघातलाई पराजित गर्ने क्षमता केवल प्रायश्चित र क्षमामा छ । 

कुटीरको सेवकले भिजेका कोदोका दानाहरूले भरिएका तीनवटा बाँसका ढुङ्ग्रारू र एक कितली तातो पानी डाइनिङ् टेबलमा राखिदिँदै भने, “हे दिव्यात्माहरू, महाकाल डाँडामा आज तपाईंहरूको अन्तिम रात । रात्री भोज केही क्षणभित्रै पस्किन लागेको छु । भोजन ग्रहण गर्नुभन्दाअघि यो हाम्रो पहाडी पेय, तोङ्बाको आनन्द लिनुहोला ।” तीनैवटा तोङ्बाका ढुङ्ग्राहरूमा फिप्सिन गाड्दै सेवक पाकशालातिर लागे ।

विभीषण, यहुदा र ब्रुटस आश्चर्यचकित हुँदै एकअर्कालाई हेरिरहेका थिए । तिनीहरूले एकअर्कामा पीडा र अपराध-बोधको छाप छरङ्ग देखिरहेका थिए । तर सेवकका श्रद्धा र व्यवहारले तिनीहरूका हृदय प्वाँखजस्ता हलुका भइरहेका थिए ।

केही क्षणपछि टी बारको सेवकले गुन्द्रुकको अचार र आलुदम डाइनिङ टेबलमा राखिदिँदै अतिथिहरूलाई भन्यो, “हाम्रो स्टार्टर यस्तै छ है !” तिनीहरूलाई तोङ्बा पिउने तरिका बताएपछि सेवक पाकशालातिर के जान लागेका थिए ब्रुट्सले तिनलाई भने, “धन्यवाद आदरणीय सेवक, तपाईंको आतिथ्य सत्कारलाई हामी चिरकालसम्म स्मरण गर्नेछौं । हामी यहाँ रहुन्जेल तपाईंबाट जुन प्रकारको सेवा र सत्कार पायौँ त्यो अति नै अतुलनीय छ, अविस्मरणीय छ ।”

विभीषण र यहुदाले सेवकलाई आभार प्रकट गरेपछि यहुदाले सेवकलाई सोधे, “सेवकज्यू, प्रेमपूर्वक तपाईंले हामीलाई अर्पण गर्नुभएको पेय लिनेछौँ । एउटा कुरा सोध्नु छ तपाईंलाई ।”

“हजुर भन्नुहोस् ।”

“तोङ्बाको आनन्द लिनभन्दाअघि हामी एकअर्काका ढुङ्ग्राहरू ठोक्याउँदै ‘चियर्स !’ भन्न लागिरहेछौँ । तपाईंहरूसँग पनि ‘चियर्स’ भन्ने चलन छ ?”

“हजुर, छ नि ! किन नहुनु र ?” मुस्कुराउँदै सेवकले भन्यो ।

“तपाईंहरूको भाषामा यसलाई के भन्छ ?” सोधे यहुदाले ।

“जाओस् त !” सेवकको मुस्कान पुष्टिएको थियो ।

एक अर्काका तोङ्बाका ढुंग्राहरू आपस्तमा ठोक्याउँदै भने, “लु, जाओस् त !” तीन ओठहरूमा तीन फिप्सिनहरू क्षणिक कैदी भइरहेका थिए । आफ्नो ओठबाट फिप्सिनलाई मुक्त गर्दै यहुदाले भने, “विश्वासघातहरूले पनि मुक्ति चाहन खोज्छ । महाकाल डाँडाको यो शान्त परिवेशमा यस्ता पेयले मेरो आत्मालाई केही क्षणका लागि भए पनि न्यानोपन प्रदान गरिरहेछ ।”

   “विश्वासघात र रक्तपातको कथामा मलाई संसारले स्मरण गर्छ ।” ब्रुटसले तोङ्बाको स्वाद लिँदै भने,  “तर आज यो पवित्र अनि सरल पेयको सौगातले मेरो हृदयमा शान्तिले बास गर्न खोजेको मैले अनुभव गर्दैछु ।”

विभीषणका ओठहरूले मुस्कान बोकिरहेका थिए । कितलीबाट तोङ्बामा तातोपानी खनाउँदै उनले भने, “हामीलाई विगतले होइन स्वीकृतिले मुक्ति दिन्छ । यो बाँसको ढुङ्ग्रोमा अटाएका असंख्य कोदोका दानाहरू आत्मसिद्धिका प्रतीक हुन् ।”  

अहिले तीनै आकृतिहरूका कानमा यी शब्दहरू गुञ्जिरहेका थिए: “हे महायात्रीहरू, तिमीहरूको आत्मस्वीकृतिले तिमीहरूलाई अवश्य चिन्नेछ बरु यसलाई इतिहासले चिन्न नसक्ला । तोङ्बा – यो पहाडको पुरानो आत्मा हो जसले सधैंभरि क्षमा बोकिरहेको हुन्छ । यही तिनीहरूको कला हो ।”

रात्रीभोजपश्चात् रात अझ गहिरिँदै जाँदै थियो । मध्य रातको आगमन भइरहेथ्यो । माहाकाल डाँडा चुपचाप थियो । ब्रुटसले आङ तन्काउँदै भने, “कति दुःखको कुरो ! महाकाल डाँडामा अब हाम्रो बास चाँडै नै टुङ्गिन लागिरहेछ । यो डाँडाले हामी सबैलाई क्षणभरकै निम्ति भए तापनि विश्राम प्रदान गर्यो । तर हाम्रो यात्रा अझ सकिएको छैन ।”

 मौन विभीषण आत्मसन्तुष्टिले भित्रभित्रै आह्लादित भइरहेका थिए । यहुदाको अनुहारमा पीडाको छाप भए तापनि हृदयमा शान्तिले बास गर्न लागेको थियो । उनले भने, “अपराध पनि क्षमामा विलुप्त हुनसक्दो रहेछ । यस महाकल डाँडाबाट मैले यही नै पाठ सिक्न पाएँ ।”

मध्यरातको केही क्षणपछि तीन आकृतिहरू कुटीरबाट निस्किए र डाँडाको टुप्पोमा पुगे जहाँ तिनीहरूका आकृतिलाई कुहिरोले केही मात्रामा छोपिदिएको थियो । केही क्षणपछि कुहिरो अझ बाक्लियो । तीन आकृतिहरू कुहिरोमै हराउँदै गए । केही क्षणपछि ती आकृतिहरू अदृश्य भइसकेका थिए ।

केही क्षणपछि महाकाल डाँडालाई बाक्लो अन्धकार र शुन्यताले ढाक्दै गए । तीन पीडित आत्माहरूलाई तोङ्बाको न्यानोपनले क्षमाको स्पर्श प्रदान गर्यो र यसरी मध्यरातको कुहिरोमा विलीन हुँदै ती नाम पीडामा होइन शान्तिमा स्मरण गरिने भयो ।

कुनै समय, विभिन्न युगका विभिन्न आकृतिहरू यस माहाकल डाँडामा आएका थिए भन्ने प्रमाण ती अदृश्य कुटीर, टी बार, तोङबा र कुटीरका सेवकले प्रमाण दिनेछन् कि ?

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.