२ महीनाको बर्खे स्कुल बिदा सकेर फेरि पहाड चढेको थिएँ जागिर पछ्याउँदै । स्कुल इलामको पहाडी गाउँमा, घर आफ्नो झापा । महीना डेढ महीनामा घर जान्थेँ । आफन्तै पर्नेहरूकोमा कोठा लिएर बस्थेँ । उनीहरूको ठुलो गोलटोल थियो त्यहाँ । तीमध्ये एक भाइकोमा मेरो बसाइँ थियो । खाना चैँ आफैँ पकाएर खाने गर्थेँ, कोठाभाडा पर्दैनथ्यो । पहाडको ठाउँ त्योबेला बि.एस्.सी. टिचर भनेपछि सबैले इज्जत नै गर्थे । अनि बेलाबेला खाना खान पनि बोलाउँथे तिनै आफन्तले । यदाकदा कोही विद्यार्थी अनि स्थानीय स्टाफहरूकामा पनि निमन्त्रणा हुन्थ्यो ।
सामान्य खेतीपाती गर्थे सबै, पहाडी गाउँमा आर्थिक अवस्था सबैको राम्रै थियो । त्यही गाउँमा एकजना टेकिन्द्रे भन्ने पनि थियो । पोहोर मात्रै आमा खसेपछि ऊ एक्लै बस्थ्यो मावल दार्जिलिङ्गतिर अनि आफन्तहरू माथि इलाम बजारतिर थिए रे उसका । खसी बोका व्यापार र खेतीपाती गर्थ्यो । त्यो गाउँमा बसेको ३ वर्ष भैसकेको हुनाले प्रायः सबैलाई नै म चिन्दथेँ । ऊसँग मेरो त्यति धेरै घुलमिल त थिएन तर गाउँकै सबैभन्दा रमाइलो अलिक उरन्ठेउलो, रेलाठट्टा गरिरहने अनि कन्जुसीमा पनि राम्रै नाम कमाको भन्ने उसको आम परिचय थियो । उसका कन्जुस्याँइका किस्सा धेरै सुनेको थिएँ । एकचोटी अर्काले चराइरहेको खसीको हुलमा लुसुक्क पसेर एउटा खसीको घाँटीमा रातो रुमाल बान्दिएछ अनि आत्तिँदै गोठालो भाको ठाउँमा गएर “ए भाइ, यहाँ घाँटीमा रातो रुमाल बाँधेको खसी आको त छैन ? पड्केले कुदाउनु कुदायो” भनेर अर्काको खसी लगेर बेचेको, एउटा ल्वाङ् भाँचेर ३ जनालाई बाँडेको, तल मधेसतिर झर्दा गाडी भाडाको लोभले हिनेरै आउनेजाने गर्ने गरेका किस्सा सुनेको थिएँ ।
उसलाई गाउँघरमा मलामी जान समेत प्रतिबन्ध लगाइएको थियो । त्यो घटना चैँ मलाई राम्रोसँग थाहा थियो । गाउँकै एकजना बुढी आमै खसेर म पनि मलामी गएको थिएँ, शनिबारको दिन थियो । लास सँगसँगै टेकिन्द्रे पनि हिन्दै थियो । एक्कासी लास बोकिरहेको मृतक आमैको छोरो भुँडेको पाइन्ट खुस्कियो । पेटी लगाएको रहेनछ… शोकमा डुबेको मान्छे ! भित्रबाट धोक्रे हाफपाइन्ट लगाएको रहेछ । लास एकछिन रोकेर छोरोचैँले पाइन्ट तानेर लगायो । त्यैबेला टेकिन्द्रेले उसको छेउमा गएर अलिक सानो स्वरमा भन्यो – “हौ जेठा.. यत्ति साह्रो बहादुर त हुनुपर्दैन हौ पाइन्ट त लगाएरै बोक्दा हुन्छ…।”
यस्तो बेला पनि उसले मजाक गरेको कतिपयले मन नपराएर रिसाएझैँ गरे तर टेकिन्द्रेको हँसीमजाक गरिरहने बानी थाहा भएकाले कसैले खासै केही भनेनन् । पाइन्ट लगाइसकेर एकछिन लास बिसाउने संकेत गरेर भुँडे पिसाब फेर्न गएको थियो, १० मिनेट जति बित्दा पनि आएन । म, टेकिन्द्रे र हेडसर पनि पिसाब फेर्न भनी भुँडे भएकैतिर गयौँ । लौ… भुँडे त हाँस्दै फेरि रोएजस्तो पनि गर्दैछ ।
“हैन यो कहाँ हरायो भनेको त हाँस्दै पो छ त ! के भको केटा तँ… आमा मरेकी छन् ऊ हाँस्दै छ, बौलाइस् कि के हो ?”, हेडसरले भुँडेलाई हकारेझैँ गर्दै भने ।
“यो टेकिन्द्रेलाई फर्की भन्नु न हेडसर… हँसाको हँसाई गर्छ अघिदेखि के के भनिरन्छ यस्तो बेलामा पनि रेला गर्छ साले ।”
हेडसरले टेकिन्द्रेतिर फर्केर भने– “आइन्दा मलामी जान बन्देज भो है तँलाई गधा… मान्छेले देख्दा पनि लाजमर्दो… जतिखेरै तेरो रेला… तँ अबदेखि यस्तो मरिमराउमा नहिन्नु बरु…।” त्यसपछि टेकिन्द्रे कतै मलामी जाँदैन भन्ने चर्चा थियो ।
जस्तै नहाँस्ने मान्छेलाई पनि ऊ के के भनेर हँसाइ छाड्थ्यो । स्कुलमा पनि उसले के के उट्पट्याङ्ग गरेर हँसाइरहन्थ्यो । बेलाबेला त अनेक उट्पट्याङ्ग गर्दागर्दै उसले गाउँ नै छोडेर कति दिन भागेको पनि सुनेको थिएँ । एकचोटि त्यो गाउँकै पूर्व प्रधानपन्च क्याप्टेन वीरमान सुब्बा तल सोक्तिमबाट छोरीको घरतिर जाँदै रहेछन्..उकालो बाटो स्या..स्या..गर्दै आउँदै गरेका प्रधानपन्चसँग यताबाट खसीबाख्रा लिएर खुदुनाबारी बजार झर्दै गरेको टेकिन्द्रेको जम्काभेट हुनासाथ छोरीको घर हिनेको थाहा पाएपछि बुढालाई सोधेछ, “हैन खबर थाहा पाएरै हिन्नुभो कि थाहा पाउनु भको छैन पर्धान बाउ ?”
“हैन के भन्छ यो ? कस्तो खबर हौ केटा ?”
“हन बिहानै नातिनी सकिएको थाहा छैन पर्धान बाउ ?..खै एक्कासी भुँडी बटारिएर अरे…छिट्टै जानुभो भने लास चैँ भेट्नुहुन्छ कि ! आफु त आज हटिया यी खसिबाख्रा लिएर नगइ नहुने”
टेकिन्द्रेको कुरा सुनेर पर्धानपन्ध सल्याकसुलुक् भएछन्..प्रेसर भाको मान्छे त्यस्तो अपत्यारिलो र दु:खलाग्दो खबर सुन्दा उनको हालत कस्तो भयो होला ! आत्तिएर छोरीको घर पुग्दा नातिनी आँगनमा खेलिरहेको भेटेपछि र टेकिन्द्रेले त्यति नराम्रो मजाक गरेको थाहा पाए । पर्धानले टेकिन्द्रेलाई धुइधुइती खोजेका थिए रे कुट्नलाई, कसोकसो गरेर टेकिन्द्रे ३ दिन हराएर आएछ । “मैले पनि हल्ला सुनेको हो”, भनेर जसोतसो कुटाइ खानबाट चैँ बचेछ । यस्तो थियो टेकिन्द्रेको स्वभाव !
३, ४ वर्षअघिको दशैँको यौटा रेलाको रमाइलो किस्सा मेरै विद्यार्थी टीकाले यसरी सुनाएको थियो– टेकिन्द्रेले खसी काट्ने भनेर धेरैलाई झुक्याएर दशैँभरी बेपत्ता भएर मावल दार्जिलिङ्गतिर हराएको थियो । उसले भदौदेखि नै दशैँको मासुका लागि गाउँतिर कपी र डट्पेन लिएर हिँडेको थियो । १ किलो मात्रै राख्ने भन्नेलाई पनि उसले कराएर “कम्तीमा २ किलो त लिनु लोभीहरू…” भन्दै गाउँभरि गरेर १४ केजी मासु लगाएको रहेछ । पछि अष्टमीका दिन मासु लिन जाँदा टेकिन्द्रेको घरको दृष्य यस्तो थियो रे – घरमा ताला लागेको छ । सिकुवाको बाँसको यौटा खम्बामा उसको खैरे कुकुरलाई कतै चल्न चटपटाउन नसक्ने गरि बाँधिएको छ । कुकुर कुर्सीमा बसेको छ अनि कुकुरको मुखमा १ फिट जतिको डण्डी तेर्सो पारेर घुसारिदेको छ । कुकुर स्यास्या गरेर राल चुहाएर मरि नै हाल्लाजस्तो गर्दैछ । कुकुरको घाँटीमा यौटा डोरी झुन्ड्याइदिएर यौटा कार्टुनको खोलमा यस्तो लेखेको छ –“यहाँ मासु पाइने छैन ल नरिसाउनुस् है….” अनि सबै हिस्स परेर फर्के ।
“बज्या असत्ति ! मान्छे त हावा नै हो नि ! यस्ता औतारि मोराको विश्वास गरेर हेर त ज्वाइँ छोरीलाई पनि यतै ख्वाउने भनिराको छ….हैन के के पनि उट्पाट्याङ आको हौ नि भाउजू यो टेकिन्द्रे मुर्दालाई पनि”
“अनि कपि र कलम नै बोकेर तेत्रो गाउ डुलेपछि कसरी विश्वास नगर्नु हौ… कार्कीकोमा त सब्बै मासु लागिसकेको भन्ने सुनेको । के पाइएला र अब बजारमा पनि के कसो हो”
यस्तै भन्दै सबै बाटो लागे । म पनि मासु लिन गाको थिएँ । “हैन के को हल्ला हौ टेकिन्द्रेको घरमा ?” तल्तिरबाट घिमिरे कान्छा कराउँदै आयो । ऊ बिर्तामोडतिर ग्यारेजमा काम गर्थ्यो, उतै बस्थ्यो र त्यही दिन दशैँको बिदा लिएर आएको रैछ, उसले पो सुनायो– “मैले त टेकिन्द्रेलाई बिर्तामोडमा देखेको त दार्जिलिङ्ग हिँडेको भन्थ्यो । मलाई पनि पिक्चर हेराउँछु भन्यो र दर्पण छाया हेरायो उसकै पैसामा । तिहारपछि आउँछु भन्थ्यो ।” उसको कुरा सुनेर सबै ट्वाल्ल परे अनि म पनि मासु नलिइ फर्किएँ । पछि तिहारपछि मात्रै आयो टेकिन्द्रे…मावलको बोजु साह्रै भाको खबर आएर इमर्जेन्सी दार्जिलिङ्ग जानुपर्यो भनेर सबैलाई थामथुम पार्यो ।
उसको बिहेको किस्सा पनि चर्चित थियो । गाउँकै पराजुली खलककी छोरी पर्मिलालाई उसले भगाएर बिहे गरेको थियो । पुस महिनाको कुरा हो । गाउँबाट अचानक पर्मिला हराएको हल्ला चल्यो । पर्मिला ९ कक्षाकी मेरै विद्यार्थी थिई । उसको टेकिन्द्रेसँग लसपस भएको हल्ला १ वर्षदेखि चल्दै आएको थियो तर अचम्म के भयो भने पर्मिला हराउँदा टेकिन्द्रे घरमै छ । पुसको बाक्लो हुस्से लागेको छ । ऊ आँगनमा झोक्राएर बसेको छ, घरीघरी रोएजस्तो पनि गर्छ । भेट्नेहरूलाई भन्छ– जोसँग गएपनि राम्रो होस् उसको, मलाई धोका दिएर गई तर कोही बात छैन…तल झापाबाट अस्ति भर्खर माग्न आएको र पर्मिलालाई निकै मन पराएको केटोसँगै भागेको पराजुली माइलाले लख काट्यो । मनमनै टेकिन्द्रेसँग छोरीको बिहे नभएकोमा ऊ खुशी पनि थियो । त्यस्तो हावा उट्पट्याङ्ग केटा उमेर पनि धेरै फरक भएको टेकिन्द्रेलाई ज्वाइँ मान्न पराजुली माइला तयार थिएन पनि । फेरि मुख्य कुरा टेकिन्द्रेसँग पराजुली खलकको आर्थिक तथा सामाजिक हैसियत पनि नमिल्ने र जात पनि नमिल्ने थियो । पराजुली माइलाको लागि यो ठुलो कुरा थियो । टेकिन्द्रे तामाङ्ग अर्थात् मतवाली र पर्मिला बाहुनी ! टेकिन्द्रे गाउँमै भएको र झोक्राएर, रोएर विरक्तिएर बसेको देखेपछि पराजुली खलक र सारा गाउँलेले पर्मिला कोही अरुसँग नै पोइला गएको अनुमान गरे । फेरि उसले घरमा लेखेर छोडेको चिठीको व्यहोरा यस्तो थियो– “बुवा…मलाई नखोज्नु..म काठमाडौँ जाँदैछु, केटा विराटनगरको हो…म उसैसँग भागेँ । केही दिन पछि घर आउँछु । केटाको बानीव्यहोरा राम्रो छ । चिनजान भएको १ वर्ष भयो । झापा जाँदा भेटेको हो । मलाई माफ गर्दिनु बुवा..”
पराजुली माइलाले धुईपताल छोरीको खोजी गरे, झापातिर आफन्तकोमा अनि काठमाडौँ, कतै खबर गर्दा पनि ३ दिनसम्म पर्मिलाको कुनै पत्तो लागेन ।
हराएको चौथो दिन पर्मिला टेकिन्द्रेकै घरमा लुकेर बसेको अवस्थामा भेटिई । हुस्से लाग्ने पुसको छोटो दिन, टेकिन्द्रेले पर्मिलालाई घरमै लुकाएर राखेको रहेछ । सबै तीनछक्क परे । पराजुली माइलाले पाता कसेर टेकिन्द्रेलाई गाउँले भेला पारेर केरकार गरे, छुटाउने कुरा गरे तर ३ दिनसम्म टेकिन्द्रेसँग बसेकी र अब सबैलाई थाहा भएको र छुटाएर केही फाइदा नहुने गाउँ समाजको सल्लाहलाई मान्दै मन नलागी नलागी पराजुली माइलाले टेकिन्द्रेलाई ज्वाइँ मानेर पर्मिलालाई जिम्मा लाएर पठाए तर टीकाटालो वा बिहे भने गर्दिएनन् र टेकिन्द्रेको ससुराली आईजाई पनि खासै थिएन ।
यस्तो फिल्मी शैलीमा टेकिन्द्रेले पर्मिलालाई स्वास्नी बनाएको थियो ।
मलाई खसीको मासु एकदम मन पर्ने ! त्यहाँ जसकोमा खसी काटे पनि प्रायः पठाइदिनु भन्थेँ म । कसैले पैसा लिन मान्दैनथे । घरबाट आएकै दिन बेलुका अचम्मै भयो । मलाई उही टेकिन्द्रेकोमा खाना खान बोलावट भयो । मेरो यत्रो ४ वर्षको बसाइँमा पहिलोचोटी उसको घरमा खाना खाने निम्तो आएको थियो । आएकै दिन खाना बनाउन पनि अल्छी लागिरहेको थियो, थकान पनि थियो । पहिला खाना बनाउदिनथेँ, एउटा विद्यार्थी केटो मसँगै बस्थ्यो । म उसलाई नि:शुल्क ट्युशन पढाइदिन्थेँ र बेलाबखत खर्च पनि दिन्थेँ । २ वर्ष बसेर एस.एल.सी. सकाएपछि ऊ क्याम्पस पढ्न इलामतिर लाग्यो र म पनि प्रायः आफन्तकातिर र यदाकदा कोही विद्यार्थीकोमा अनि अल्छी लाग्दा होटलतिर पनि खाने भएकाले खाना पकाउन कसैलाई फेरि सहयोगी राखिनँ । त्यहाँ आइकन उसकोमा कहिल्यै खाना नखाएको, आज त अचम्मै भो भन्ने मनमनै सोच्दै बेलुका ५ बजेतिर टेकिन्द्रेकोमा पुगेँ । पुग्नासाथ एकदमै आदरसत्कार भयो । “हैन सरलाई खाना खुवाऊँ भनेको कहिल्यै पो जुर्न आटेन त हौ ! सर आउनुभएको थाहा पाएँ दिउँसो । अनि घरतिर के कसो रैछ सर ?” उसले आत्मीयता देखायो ।
एकछिन गफगाफ गरेपछि खाना खान हात धुने संकेत भो । भान्सामा त खसीको भुटन छुट्टै, झोल हालेको छुट्टै अनि ग्रेभि पनि बनाएको रहेछ । “ए सर थाक्नुभा’को होला विचरा आजै आउनुभाको” भन्दै लोकल रक्सी पनि खुवायो ।
“ए त्यहाँ सरलाई थप्दे राम्रो राम्रो पिस हाल आमाचैँ…. सर खसीको मासु एकदम मन पराउनुहुन्छ भन्ने सुनेको थेँ ” भन्दै बडो सम्मानसाथ खुवायो । ऊ पनि हल्का मातेको थियो , खाइसकेर बाहिर सिकुवाको खाटमा आराम गर्न बसियो । एकछिन गफगाफ गरेपछि म त थाकेको शरीर हल्का रक्सीको नशाले झुल्न थालेँछु । अब जान्छु भन्दापनि उसले, “के मेरोमा एक रात बस्नु हुँदैन सर” भनेर रिसाएझैँ गर्दै उतै सुत्न आग्रह गर्यो । म पनि थकित र हल्का मातेकोले गर्दा उसकैमा बस्न तयार भएँ । भित्र ओछ्यान तयार भयो । पहाडको ठाउँ, काठको तक्ताको भित्ता थियो । मैले तन्द्रामै मधुर आवाजमा भएपनि पर्मिला र ऊ सुत्ने कोठाभित्रबाट खासखुस गरेको सुनेँ, “सर कस्तो ठिक ट्याममा आउनुभएछ आज पर्मिली । भोलि हटिया लान ठिक्क पारेको …..गोट्टि छेरेर छेरेर स्वात्तै गैगो……तँ त गाडिदिऊँ भन्दैथिइस् नि…झण्डै गाडिसकेको तेरो कुरा सुनेर ! फेरि यसो सोचेँ, तात्तातै छ किन पो फ्याँक्नु हौ बित्थामा मासु ! बजारमा पनि त सद्दे नै काट्छ भन्ने हुँदैन । फेरि सर पनि आको थाहा पाएँ..खुवाएजस्तो पनि भो है ?”
उसको यति कुरा सुनिसक्ता मेरो निन्द्रा पनि भाग्यो र पेट नराम्रोसङ्ग बटारिएर आयो । केही भन्न पनि मन लागेन । मज्जाले खाइहालियो उठेर ट्वाइलेट गएँ ।
बिहान पनि खाना यतै खाएर जानु भन्ने उसको जोड थियो, मैले मानिनँ ।
“ए पर्मिला..त्यो झोला निकाल त..झण्डै बिर्सेको..सर यो घरमै खान काटेको हो बेच्नलाई हैन । अलिकति लानुस् बनाएर खानुहोला !”
“हैन हैन टेकिन्द्र मासु पर्दैन । खाइहालेँ नि” भन्दै म कोठा फर्किएँ ।

