तपाईं नभएको भए मेरो नाति जेलभित्रै सड्ने रहेछ । मेरा एक एक पसिनाका थोपाले जोगाएर अनि आफ्नो गाँस कटाएर राखेको यो पैसाले तपाईं र तपाईंका सारा सन्तानको भलो होस् ।
===
अदालत सामुको सडकपेटीमा एकजना वृद्ध महिला ओहोरदोहोर गरिरहन्छिन् । प्रहरीको नीलो गाडी रोकिएपिच्छे नजिकै गएर चिहाउँछिन् । शायद कोही परिचितको प्रतीक्षामा छिन् उनी । पछिल्लो गाडी रोकिएसँगै ४ जना राईफलधारी प्रहरी ओर्लिए, पछिपछि ओर्लिए युवादेखि वयस्क उमेरका १०/१२ जना । एकजना प्रहरी जवानले बन्दुकको कुन्दाले सङ्केत गर्दै ती सबैलाई पेटीको भित्तामा लहरै उभिन लगाए । सबैले आज्ञापालन गरे । हरेक दुईजनाका विपरित हातहरूबीच एउटा हतकडी झोलिएको थियो ।
यसपटकको समूहमा महिलाको नजरले खोजिरहेको मुहार भेटिएछ क्यारे, उनका आँखा चलमलाए । त्यसपछि पहिले त ती रसाए, अनि दुई थोपा तातो आँशु उनका गालाको बाटो हुँदै तुरुक्क भुइँमा खसे । महिला परिचित अनुहार नजिक जान खोज्दै थिइन्, प्रहरीले उनलाई पन्छाउँदै पर्खाल छेउ पुर्यायो । “अलि पर बस्नूस्, नजिक आउन मिल्दैन”- उसले सावधान गराउँदै भन्यो । “केही कुरा गर्ने भए माथि इजलासभित्र मात्रै है आमै” – यसपालि प्रहरीको बोली अलि नरम सुनियो । यति सुन्नासाथ उनी त्यहाँ एकछिन पनि रोकिइनन्, उनका पाइला अदालततर्फ सोझिए । मूल ढोकामै एउटा मेचमा आसन जमाएर बसेका कर्मचारीसँग केहीबेर उनले खासखुस गरिन् । युवकले टेबुलमा रहेको रजिष्टर पल्टायो र उनलाई केही भनेजस्तो देखियो । त्यसपछि ती महिला फटाफट अगाडि बढिन् र सिधै भर्याङ चढेर इजलास नं. ५२३ अगाडि पुगिन् । ढोका खुलै रहेछ, भित्र चिहाइन् ।
इजलास हल खाली थियो, कोही पनि आइपुगेका थिएनन् । पाँच तल्ला एक्सप्रेस आइपुग्दा उनको गतिलाई थाम्न हम्मे परेको तीव्र सङ्केत उनका फोक्सा र गोडाले दिइरहेका थिए । सुस्ताउन भनी भित्र ढोकाको छेउमै रहेको एउटा कुर्सीमा उनले आफूलाई अटाइन् । शरीर कुर्सीमा भए पनि उनका नजर भने बाहिर बरण्डातिरै थिए ।
एकछिनपछि दुई जोडी मर्दाना गोडा आफ्नै सुरमा भित्रिए । भित्र अर्को एक दु:खी प्राणी सुस्ताइरहेको भेउ तिनले पाएनन् । नत्र तिनको यस्तो संवाद ती महिलाका कानमा पर्ने थिएनन् :
पहिलो बोली: वकील साप, अब त्यो केटोलाई त छाड्दे पनि भयो हैन र ? बिचरो ९ महिनादेखि धाएको धायै छ ।
दोस्रो बोली: हैन हैन श्रीमान्, आज नगरौँ । अब दुइ पटक मात्र ।
पहिलो बोली: जाबो टापटिपेलाई यति नसिहत नै काफी भइसक्यो । कस्ता कस्ता डनहरू शानले बाहिर हिँडिरहेछन् !
फेरि उसले चोरी गरेको भनेको मोटरसाइकल फेला परेर पनि त्यसको धनीले चलाउन थालिसकेको रहेछ ।
दोस्रो बोली: हुन्छ नि त । यो एकपटक मात्रै । त्यसपछि हजुरको मर्जी ।
महिलाले कसका विषयमा के कुरा भइरहेको भन्ने केही भेउ पाइनन्, जसरी ती दुईले आफ्नो संवाद अर्को एकजोडी कानभित्र पसेको थाहा पाएनन् । तर एउटा बोलीचाहिँ महिलालाई परिचितझैँ लाग्यो ।
केहीबेरमै बाहिर बरण्डामा कल्याङकुलुङ बढ्दै गयो । महिलाले प्रतीक्षा गरिरहेको मुहार पनि टुप्लुक्क देखियो । कुर्सीबाट ओर्लिएर फाल हाल्दै उनी त्यो मुहार मुसार्न पुगिन् । कामिरहेका उनका दुई हात च्याप्प समातेर युवकले आफ्नो मुहार छोप्यो र साथीहरूको लहैलहैमा लागेर पितृतुल्य हजुरआमालाई दिएको पिडाका लागि मनमनै माफी माग्यो । यस पटक भने प्रहरीले उनीहरूको मिलनमा कुनै हस्तक्षेप गरेन । बरू के सम्झ्यो कुन्नि, निन्याउरो अनुहार लगाएर उसले ती दुईलाई एकटक हेरिरह्यो ।
“ए दिलबहादुर ! ल अब अर्को पेशीमा तिम्रो टुङ्गो लाग्ने भयो । मैले श्रीमानलाई बिन्ती बिसाएको छु, पोजेटिभ भएको छ । आजलाई तिम्रो स्थगित भयो” अचानक अघिको संवादमा संलग्नमध्येको एउटा आवाज सुनेर महिला झसङ्ग भइन् । युवकको मुहारबाट आफ्नो हात झिकेर आवाज आएतिर हेरिन्, दिलबहादुरको वकील पो रहेछ ।
“लौ आमै, दिलबहादुरका खराब दिन चाँडै सकिएला जस्तो छ । धेरै गाह्रो गरेर श्रीमानलाई मनाएको छु ।” वकीलको बोलीमा वृद्धाले ढोङको पराकाष्ठा महसूस गरिन् । पेट उमठिएर वमन होला जस्तो भयो । कति साखुल्य पल्टिन सकेको होला भनेर आँखा तिरमिराए, छेवैको भित्तामा आड लिएर उनले आफूलाई सम्हाल्न खोजिन् । दिलबहादुरले यो संसारमा आफ्नो भन्ने एक मात्र पात्र, बुढी हजुरआमाको मनोदशा बुझ्नै सकेन । उसलाई लाग्यो, उसका वकीलले यति खुशीको खबर ल्याउँदा पनि उनी किन यति असामान्य व्यवहार देखाइरहेकी छिन् ?
“आमै मेरो अर्को मुद्दामा पनि जानु छ”, फीसको सङ्केत गर्दै वकील बोले । महिलाको धैर्यको बाँध टुट्यो । उनले पटुका फुकाउँदै बटारिएका नोटको बिटो निकालिन् र वकीलको हातमा राख्दै भनिन्- “वकील साप, तपाईंको जय होस् । अघि भित्र तपाईं दुईको सबै कुरा मैले सुनेँ । तपाईं नभएको भए मेरो नाति जेलभित्रै सड्ने रहेछ । मेरा एक एक पसिनाका थोपाले जोगाएर अनि आफ्नो गाँस कटाएर राखेको यो पैसाले तपाईं र तपाईंका सारा सन्तानको भलो होस् । त्यसपछि पनि उनी के के भन्दै थिइन्, वकील त्यहाँबाट अलप भइसकेका थिए ।
किंकर्तव्यविमुढ दिलबहादुर हजुरआमाको अनुहार हेरेर टोलाइरहेथ्यो, प्रहरीले आएर ल जाऊँ जाऊँ भनेर पाखुरा समायो । खुइय गर्दै भुइँमा थुचुक्क बसेकी हजुरआमालाई फर्की फर्की हेर्दै ऊ ओझेल भयो ।
“बरू भोकभोकै मर्न दिऊन्, कसैले आफ्ना शाखा सन्तानलाई यस्ता मान्छेचाहिँ नबनाऊन् ! कस्तो असत्ती रहेछ”- वृद्धाको असह्य पीडा शब्दरूपी वाणको रूपमा निस्कियो, त्यसको तरङ्ग अदालतको भित्ताहरूमै बिलाए ।

