साहित्यपोस्ट डट कम

कथा: सिक्का

कथा: सिक्का

शोभा सुन्दरी थिई । नाम र रूपको मिठो सामञ्जस्य थियो । ऊ आफ्नो सौन्दर्यको सुपरमार्केट बोकेर सडकमा निस्कन्थी । उसलाई देख्ने पुरुष मात्र नभएर नारी नै पनि उसको सुन्दरतामा चिन्तामग्न हुन्थे । मुखको मात्र मूल्याङ्कन गर्ने हो भने त सौन्दर्यको रसलाई अपकर्ष गराउने छिद्र नभएका होइनन् । तर समग्र देहभवनमा दृष्टि दिँदा भने प्रत्येक कोठा विशेष योजनासहित निर्माण भएकामा शङ्का थिएन । उसको यौवन र त्यसका उद्दीपनमा खोट लगाउनुपर्ने ठाउँ भेट्न कठिन मात्र होइन असम्भव नै थियो । उसलाई देखेपछि जोसुकैका मनमा व्यभिचारीभावहरूले उखरमाउलो मच्चाउन थालिहाल्थे । 

शोभाजस्ती युवतीको लावण्यका कारण लीलाधरको हृदयसरोवरमा अजस्र लहरहरू उठ्न थालेका थिए । कन्या को हो अनि कसकी नातेदार हो भन्ने कुराको अतिसङ्क्षिप्त जानकारी उसलाई थियो । निकट भविष्यमै आफू बसेको घरमा एउटी सुकुमारी कन्या दीर्घकालीन अभ्यागत हुन आउने कुरा सुनेदेखि उसका मनमा खुलदुलीका चक्रवात उठ्न थालिसकेका थिए । कन्या कस्ती होली ? त्यससित कसरी बोल्ने ? जस्ता सस्ता भावुक प्रश्नले उसको हृदयतलमा भुक्लुक भुक्लुक छाल उठाइरहेका थिए । कन्या आउने दिन नजिक आउँदै गर्दा उसको मन झनझन हुँडल्लिइरहेको थियो । 

कलङ्की मन्दिरदेखि दक्षिणतिरको ओह्रालोमा रहेको त्यस घरमा लीलाधर डेरा खोज्दै आउँदा तीनओटा कोठा खाली थिए । बार्दलीसहितको एउटा कोठालाई लीलाधरले बैना मार्यो । अर्काे हप्ता बचेरासहितको एक जोडीले बाँकी दुइटा कोठालाई आफ्नो गुँड बनाए । एकै तला, एकै धारो, एकै चर्पी भएपछि नचिनेको मान्छेसित पनि एकै भएर बस्नुको विकल्प थिएन । मुस्कानबाट शुरु भएको परिचय झाँगिन धेरै समय लागेन । लीलाधर मानिस हँसिलो, रसिलो र मिजासिलो थियो । मानिसको औकात र अवस्था हेरी अदप राख्न सक्ने गुण उसको स्वभावमै थियो । 

छिर्न त धादिङको जीवनपुरबाट ऊ पढ्नका लागि काठमाडौँ छिरेको थियो । महेशधर्म मा.वि.बाट प्रवेशिका तृतीय श्रेणीमा विद्यालय भरिबाटै तृतीय नै भएपछि ऊ शहर जान योग्य भयो । त्यस वर्ष सो विद्यालयका तीन जनाले एसएलसीको फलामे ढोका तोडे । जसमध्येको एउटा होनाहार लीलाधर आचार्य पनि  थियो । पिताजी धरणीधर थिए नेपालीका शिक्षक । माओवादीले संस्कृत विषय नबालुन्जेल उनी संस्कृतका गुरु थिए । उनलाई छोरो अङ्ग्रेजीको मास्टर होस् भन्ने थियो । आफ्नो रुचिअनुकूलको सल्लाह दिएर उनले छोरालाई शहर पठाए । 

एकाउन्न जनाले एसएलसी दिँदा पास हुने तीन जनामा आफ्नो छोरो पनि परेपछि धरणीधर गुरु खुशीले फुलेल भए ।  सत्र वर्ष अगाडि छोरो जन्माएर सानो पुरुषार्थ गरेको रहेनछु भन्ने उनलाई अहिले आएर लाग्न थाल्यो । श्रीमतीप्रति पनि उनका मनमा आभारका भावना सगबगाए । “अब दुईटी छोरीले दाइको प्रगति देखेर पढे भने पढे हैन भने उनैले दुःख पाउँछन् ।” धरणी गुरुका मनमा एकछिन यस्तै भाव पलायो अनि बिलायो । 

आफ्नो सफलताले बाबुबाजेकै छाती चौडा भएको तथ्यलाई लीलाधरले महसूस गरेको थियो । अब त्यो छातीलाई चौडा मात्र हैन टुँडिखेल नै बनाइदिन्छु भनेर ऊ शहर पस्यो । 

दुई वर्ष उसले मिहिनेत नगरेको होइन । उसको परिश्रमलाई कम आँक्नेलाई पाप लाग्छ ।  बिदा बाहेकका सबै दिन उसले महेन्द्ररत्न क्याम्पसमा बितायो । बिदाका दिनमा समेत टेनिस र भलिबल खेल्नका लागि क्याम्पसमै उपस्थित भयो । त्यही दुई वर्षको बिचमा ऊ छोटेमोटे कवि भयो । सानोतिनो गजलकार भयो । ठाउँकुठाउँ सायरी मार्दै क्याम्पसका बालाहरूलाई आफूतिर तान्ने प्रयास पनि गरिभ्यायो । तर उसको जोर चलेन । विद्यार्थी सङ्गठनको नेता पनि हुन खोज्यो । एउटा उम्दा विद्यार्थीले क्याम्पसमा गर्नुपर्ने सबै काममा उसले दक्षता देखायो तर कुनै पनि कामलाई निरन्तरता दिन सकेन । मुख्य कुरो त ऊ निरन्तर रूपमा उत्तीर्ण हुन सकेन । अङ्ग्रेजी पढ्न आएको मान्छेलाई अङ्ग्रेजीले नै पत्याइदिएन । दुई वर्षमा सकिनुपर्ने आइएड अर्काे दुई वर्ष लगाएर उही तृतीय श्रेणीमा पास भयो । 

त्यतिन्जेल लीलाधरको जीवनले अर्काे लीला चाहिरहेको थियो । उसले पिताजीलाई प्रष्टै भनिदियो, “अब ब्याचलरमा बिहान पढ्छु । दिउँसो काम गर्छु ।”

पुत्रले त्यसरी आफ्नो जिन्दगीको राजमार्ग प्रस्तुत गरेपछि पिता अवाक् भए । “काम गरेर पढ्छु भन्नुको मतलब अब यसले नपढ्ने भयो ।” यति सोचेर एकछिन खिन्न भए । छोरो स्वावलम्बी हुने कुराले धरणीधर ढुक्क पनि भए । मास्टरको छोरो मास्टर नै हुनुपर्छ भन्ने आफ्नो विचार भने धराशयी हुन लागेको देखेर उनको मन तीतो भयो । 

लीलाधरले जयानन्द मित्तलको कपडा दुकानमा सारी देखाउने र पट्याउने काम पायो । बिहान दश बजे पुग्नुपर्थ्यो नोकरीमा । दिनभरि सारी छिरोल्ने, देखाउने, पट्याउने, राख्ने । काम यत्ति हो । (यसमा धोती, कुर्ता, सलवार आदि जिनिस पनि पर्थे भन्ने कुरा जोसुकैले बुझ्नुपर्छ ।) दुई हजार एकाउन्न तनखाका अतिरिक्त मित्तल साहुले उसलाई दिउँसोको खाजा अनि दीपावलीमा एक थान वस्त्र र एक जोर जुत्ता उपलब्ध गराउने अलिखित करारनामा पनि भएको थियो । लीलाधरको आकर्षक तलब देखेर उसलाई जागिर खोजिदिने दाइसाथी जागेन्द्र त्रिपाठी भुतुक्कै भएको थियो । जागेन्द्रले अग्रवालको भोटेबहालमा भएको धारापाइपको पसलबाट खाजा र जम्मा उन्नाइस सय पचास मात्र पाउँथ्यो । वस्त्र र पाउपोसको कुरा त्यता थिएन । काम धुलोमुलोवाला अलि चर्कै थियो । त्रिपाठीको तलब हेरेर पनि लीलाधर आफ्नो जागिरप्रति गौरवान्वित भयो । 

डेढदुई वर्षभन्दा बढी लीलाधरलाई मित्तलको खाजा खान मन लागेन । कारण थियो बाफलका नयाँ घरबेटी — खड्काजी । छत्रेदेउरालीबाट राजधानी छिरेका खड्काजीको घर बाफलमा थियो अनि लीलाधर उनको घरको बहालवाला । वसन्तबहादुर खड्का कालीमाटी तरकारी बजारका नामुद व्यापारी थिए । तरकारी बेचेरै घडेरी किने । घर बनाए । छोराछोरी पढाए । विदेश पठाए । त्यतिबेला बुढाबुढी मात्र थिए घरमा तर पनि खड्काले आफ्नो जीवनाधार तरकारी व्यापार छोडेका थिएनन् । उमेरले यौटा सहयोगी खोजिरहेका बेलामा लीलाधर उनको घरमा नयाँ पाहुना हुन आइपुग्यो । व्यक्ति हेरेर व्यक्तित्व पत्ता लगाउन खग्गु खड्काले लीलाभित्रको युवा जोशलाई चिने । एकाध दिनमा कालीमाटी तरकारी बजारमा डोका र किरेट घिसार्न जानका लागि केटो तयार भयो । दिउँसोको जागिर त्यागिदियो । बिहानको नाम मात्रको पढाइलाई गोली मार्यो । खड्काजीको स्कुटरमा बस्यो । दुई बजे बिहान कालीमाटी पुग्यो । व्यवहार र व्यापार हेर्यो, जान्यो । 

“अर्काको काम गरेर मात्र उँभो लागिन्न भाइ । सानै भए नि काम आफ्नै गर्नुपर्छ ।” खड्काजीले यति मात्र भनेनन् । उनले आफ्नै स्टलको एक भाग नापेर दिए र त्यसको भाडा पनि तोकिदिए । यसरी लीलाधरको जिन्दगी तरकारी व्यापारतिर मोडियो । ऊ पनि कालीमाटी तरकारी बजारको चौथाइ साहु भयो । 

तरकारी व्यवसायमा खड्काजीसितको दोस्ती राम्रै थियो । अरू नै कारणले लीलाधर बाफलबाट कलङ्की बसाइ सर्यो । कलङ्की सरेको केही दिनपछि उसले छिमेकी पाएको थियो नेपाल दम्पति । नेपालका पतिपत्नी मायालु थिए । उनीहरूका बिचमा त माया थियो नै छिमेकीलाई समेत माया गर्न जान्दथे । छोटै समयमा नेपाल परिवारसँग लीलाधरको मैत्रीपूर्ण सम्बन्ध कायम भयो । लीलाधर एक्लो ज्यान भए पनि अल्छी थिएन । खाना बनाउन, खान, लुगा धुन उसको लगनशीलता खोट लाउनुपर्ने खालको थिएन । यति हुँदाहुँदै पनि दुर्गादेवी हप्तामा एकदुई छाक भोजनका लागि लीलाधरलाई निम्ता दिने गर्थिन् । उसलाई पनि ठूलो मान्छे हुन मन लाग्दैन थियो । लीलाधरसित मित्रता भएदेखि नेपाल दम्पतिले तरकारी किनेको थिएन । तरकारी गोदाम नै लिएर बसेको लीलाधरलाई उनीहरूले आफ्नो मान्छे बनाएकै थिए । 

एक दिन दुर्गादेवीले भनिन्,“लीला भाइ, मेरी बहिनी आउँदै छे । कि तपाइँले नानी हेरिदिनुपर्यो कि बहिनी लिन जानुपर्यो ।” 

काम दुईटै सजिला थिएनन् । “बहिनी को हो कस्ती छे ? कसरी चिन्ने ? नानी हेरेर बसूँ नानीको के भर ? कुन बेला सु गर्ने हो कुन बेला आची ?” केही बेर सोचेर बहिनी नै लिन जाने निर्णय सुनायो । 

“तपाईं बाठो हुनुहुँदो रहेछ तर मेरी बहिनी त्यति राम्री छैन नि ।” दुर्गादेवीले जिस्क्याइन् । आवश्यक जानकारी लिएर लीलाधर दुर्गाकी बहिनी लिन गयो । 

धादिङतिरबाट आउने बसमा दृष्टिपात गर्दै जाँदा दुर्गाकै बहिनी हो कि जस्तो नाकमुख भएकी युवती देखा परी । युवतीलाई देखेर लीलाधरको विचार एकछिन अवरुद्ध भयो । “न होइन कि ? अरू जेसुकै होस्, यो चाहिँ दुर्गाकै बहिनी होस् ।” उसले मनमनै यही प्रार्थना गर्यो । 

“तपाईं दुर्गादिदीकी बहिनी हो ?” लीलाधरका प्रश्न सुनेर युवतीले इत्ति हाँसेर भनी, “हो ।”  काम सकियो । 

“ल हिँड्नोस् जाऔँ ।” एउटो झोला बोकेर लीलाधर अघि लाग्यो । युवतीले पछ्याई । बाटामा कुनै कुरा गर्न उनीहरूले आवश्यकता बोध गरेनन् । 

बहिनी आएको खुशीयालीमा दुर्गादेवीले लीलालाई पनि भान्छा तयार गरिन् । “तपाईंले दिउँसो ल्याउनुभएको मान्छे मेरी आफ्नै बहिनी शोभा हो । अब यहीँ बसेर पढ्न आएकी ।” दुर्गादेवीले औपचारिक रूपमा परिचय गराइन् । शोभाले मुस्कान थपेर पुष्टि गरिदिई । शोभाले ल्याएको कुरौनी र केराले लीलाधरको पनि जिब्रो बाक्लो भयो । 

लीलाधर मध्यरातमै उठेर कालीमाटी तरकारी बजार पुग्थ्यो । केही दिन अघि मात्र उसले साइकल बेचेर थोत्रै भए पनि मोटरसाइकल किनेको थियो । मध्याह्नपछि कोठामा फर्किन्थ्यो र रातीको निद्रा पुर्याउँथ्यो । दुर्गाकी बहिनी शोभा आएपछि भने उसको निद्रा बिथोलिन थालेको थियो । झोला बोक्न गएको दिन नै उसलाई जिन्दगी महोत्सव लागेको थियो । “यत्तिको मान्छेको झोला त जिन्दगीभर बोक्न पाए नि हुन्थ्यो ।” उसको मनमा यस्तै राजसी विचार प्रकट भएको थियो । 

शोभाको सेवा गर्ने मौका लीलाधरले पाइरह्यो । जगदीश नेपाल मा.वि. शिक्षक थिए । बिदाको दिनभन्दा अरू दिनलाई बेफुर्सदिला । शोभाका समस्याका समाधान लीलामार्फत खोज्ने गर्थिन् दुर्गादेवी ।

शोभालाई ताहाचल क्याम्पसमा भर्ना गरिदिनुस् लीला बाबु । 

शोभालाई पशुपति घुमाइदिनुस् लीला बाबु । 

दुर्गादेवीले आफ्नी बहिनीको जिम्मेवारी लीलालाई सुम्पिदिइन् । यसमा न शोभालाई अप्ठ्यारो थियो न लीलालाई बेमज्जा । 

बिस्तारै शोभा आफ्नो समस्या आफैँ भन्न सक्ने अवस्थामा पुगी । लीलाधर शोभालाई समस्या परिरहोस् भन्ने स्थितिमा पुग्यो । यस स्थितिलाई पिरती बसेको भनेर औपचारिक घोषणा गर्नुपर्ने भयो । पिरतीको मीठो तिर्सनाले दुवै प्याकप्याकती भए । मुखले तिमीलाई माया गर्छु नभने पनि व्यवहारले यही कुरालाई पुष्टि गरिरहेको थियो । 

लीलाधर निरन्तर शोभाको हुकुमतमा अल्झिन थालेको थियो । शोभा बिहान कलेज जान्थी । लीलाधर राती नै तरकारी बजार जाने हुनाले काममा प्रत्यक्ष असर देखिएको थिएन । कालीमाटीतिरको एउटा फाइनान्समा दिउँसोको जागिर खोजिदियो लीलाले शोभालाई । यसरी शोभाको जिम्मेवारी लीलाले काँधमा लिएको देख्दा सबैभन्दा खुशी भइन् दुर्गादेवी । उनी तत्काल लीला र बहिनीको सम्बन्धलाई प्रेम करार गर्न तयार थिइनन् । “एकै घरमा बसेपछि एकअर्कालाई सहयोग गर्नु स्वाभाविक हो ।” यस्तै सोचिन् उनले । 

लीलाधर शोभालाई माया गर्थ्यो नै । शोभा जत्तिकी मायालु भई भने जाबो दुई दिनको जिन्दगी रसैरसमा काट्न सकिन्छ भन्नेमा ऊ ढुक्क थियो । शोभाको लगाव पनि लीलाधरमाथि उपल्लै स्तरको थियो । 

दुर्गादेवी बखत बखत गाउँ गइरहन्थिन् । काठमाडौँबाट कोल्पुटार खासै टाढा होइन पनि । तिथिश्राद्ध, चाडपर्व, खेतीबालीका बेला दुईचार दिन गाउँ बसेर आउने उनको चलन थियो । दुर्गादेवी भए पनि नभए पनि उनको भान्छा सदैव लीलाधरका लागि स्वागतमा रहन्थ्यो । आएदेखि नै महिनाका चार दिनबाहेकका अरू दिन भोजनालयको प्रबन्धक शोभा नै थिई । शोभाका सुनौला हातको स्वादबाट लीला धेरै समयदेखि लाभान्वित भएको थियो । 

एक दिन माइतबाट फर्केपछि दुर्गादेवीले भोजनको अवसर पारेर  चित्ताकर्षक समाचार सुनाई, “ल लीला बाबु, तपाईं र बहिनीको बिहेको कुरा मैले आमाबासित गरेर आएँ । यो कुरा उहाँहरूलाई ठीकै लाग्यो । तपाईंले नि घरमा कुरा राख्नुपर्यो र एकपटक परिवार परिवार भेट्नुपर्यो । तपाईंहरूले त एक अर्कालाई राम्रैसित चिन्नुहुन्छ । कुनै समस्या छ र ?” अहँ दुवै बोलेनन् । 

“यसमा समस्याको के कुरा छ र हैन लीला भाइ ? बिहे त गर्ने नै होला । गर्ने नै भएपछि यत्तिको चिनजानको मानिससित गर्नु नै उपयुक्त हो नि ।” खासै नबोल्ने दुर्गाका पतिले पनि थोरै फूलपाती थपे । दुवै नबोले पनि मौनं स्वीकृतिलक्षणमको न्यायले प्रस्ताव पारित भयो । 

भोलिपल्टको घाम अर्कै न्यानो लिएर उदायो । हावा अर्कै सुगन्ध बोकेर आयो । दुई बजे राती बाइक स्टार्ट गरेर कालीमाटी जाँदा पनि मिर्मिरे उज्यालो भएझैँ लाग्यो । यो मायाको कुत्कुती हो कि बिहेको ? लीलाधर निर्णयमा पुग्न सकेन । बेलुका शोभासित भेट भयो । शोभा झन् लाजले रातो भई । लीलाधरको घाँटीमा के अड्किएजस्तो भयो । यत्रा वर्ष केही नलागेको मान्छे अब लाजै मात्र लाग्ने परिस्थिति भयो । यो के भयो ? 

लीलाधर एउटा शङ्काको खडालमा जाकिएको थियो । त्यो शङ्का अरूलाई भन्दा लाजमर्दाे थियो । तर ऊ त्यही शङ्कापङ्ककलङ्कले कलुषित भइरहेको थियो । उसको अन्तस्करण त्यस शङ्कालाई निराकरण नगरी शोभाको पाणिग्रहण नगर्ने टुङ्गोमा पुगेको थियो । 

लीलाधर बिहानको खाना तरकारी बजारतिरै खान्थ्यो । बेलुकाको खाना महिनाको बिस दिन जति दुर्गादेवीकै भान्छामा पाक्थ्यो । शोभा भान्छे छँदै थिई । शोभा भात पकाउँथी । ऊ शोभाको ओच्छ्यानमा बसेर गफ चुट्थ्यो । दुर्गादेवी पनि भएका बेलामा गफले झनै उचाइ लिन्थ्यो । श्रीमान् नेपाललाई लामो कुरामा रुचि थिएन । उनी टिभी हेरेर व्यस्त रहन्थे । 

दुर्गादेवी गाउँ गएकी थिइन् । पुषको अन्तिम हप्ता घरको र माघको पहिलो हप्ता माइतको बसाइ तय भएको थियो उनको । लीलाधरको शङ्कानिवारणका लागि यही नै सुवर्ण अवसर थियो । शोभा चुलामा फर्याकफुरुक गर्दै थिई । लीलाधर सधैँको शैलीमा सिरकमा अडेस लागेर लर्केको थियो । शोभा एक कप चिया लीलाधरलाई दिएर अर्काे कप भिनाजुलाई पुर्याउन गई । त्यही बेला पचास रुपैयाँको नोट पट्याएर राखिएको शोभाको सिरकमा लीलाधरले घुसारिदियो । 

तीनै जना मिलेर भोजन उदरस्थ गरे । शोभाले भाँडा माझुन्जेल गफ गरेर लीलाधर आफ्नो कोठातिर सर्यो । बाहिर शान्त देखिए तापनि भित्र ऊ उद्विग्न थियो नै । बडो चिन्तामग्न भएर भोलिपल्टको दिन बितायो । कालीमाटीबाट फर्किने बेला केही घण्टा कुरेर शोभालाई पनि साथै लिएर आयो । बेलुका पनि भयो । शोभा खाना बनाउन लागी । लीलाधर खाटमा ढल्केर गफको भाका हाल्न थाल्यो । गफमा भन्दा पनि उसको ध्यान हिजो सिरकमा राखेको  नोटमा थियो । उपयुक्त मौकामा उसले सिरकभित्र हात घुसारेर छामछाम छुमछुम गर्यो । हिजो जुन ठाउँमा जसरी नोट राखेको हो दुरुस्तै त्यहीँ भेटियो । नोट जहाँको त्यहीँ राखिदियो । मनभित्र उठेको रिस र घृणाको आँधीबेहरीलाई मनमै रोकेर बाहिर शान्त र सौम्य देखिन उसले कुनै कसर बाँकी राखेन । 

भोलिपल्ट लीलाधरले चरचर भएको चित्त बोकेर व्यवहार चलायो । फर्किने बेलामा शोभाको अफिसमा पस्यो । शोभा अफिसबाट दिउँसै फर्किसकिछे । ऊ डेरामा आयो । शोभा अर्काे कोठाको लो बेडमा पल्टिएकी थिई । निधारमा सल बाँधेकी थिई । आँखाका डिल सुन्निएका थिए । टाउको अति नै दुखेपछि आधादिनमै अफिस छोडेर आएकी रहिछे ।  लीलाधर अचानक कर्तव्यबोधले थिचियो । भान्छामा गएर पानी तताइवरी ल्याएर दियो । चिया बसाल्यो । चिया पाक्दै गर्दा शोभाको सिरकमा हात घुसार्न पनि भ्यायो । पचासको नोट जस्ताको तस्तै थियो । “दुई दिनदेखि सिरक जस्ताको तस्तै छ । शोभाले राती कुन सिरक ओढी त ? दिदी हुँदाको बेलालाई मात्र हो यो ओच्छ्यान ?” लीलाधरले आफ्नो शङ्कालाई सत्य साबित गर्यो । शोभालाई चिया पाउरोटी दियो । त्यस दिन अन्तै पाहुना लाग्न जानुपर्ने बताएर निस्कियो । 

अर्काे दिन अफिसबाट फर्किँदा शोभाले लीलाधरको कोठामा बाहिरबाट छेस्किन लागेको देखी । ताला लागेको थिएन । उसले ढोका खोली । कोठाबाट ढ्वाङ्ग आबाज घुमेर आयो किनभने कोठा खाली थियो । 

(प्रिय पाठक ! खाली कोठा शीर्षकको मेरो यो कथा अनलाइनमा छापिएको केही हप्तामा सेभ नभएको नम्बरबाट फोन आयो ।

म: हेलो नमस्कार । 

उताबाट: नमस्कार, हजुर कथाकार रूपक अलङ्कार बोल्नुभएको हो ? कुनै नारीको कोमल स्वरले मेरा कान झन्झनाए । 

म: तपाईंले पुकार्नुभएको नामको एउटा मान्छे म नै हो । 

उताबाट: हजुरसित भेटेर एउटा कुरा गर्न मन लागेको थियो । के मैले त्यस्तो अवसर पाउन सक्छु ? 

म: त्यो अवसर तपाईंकै जिम्मामा भयो । 

त्यसै हप्ताको बिहिबार फोन आयो । शनिबार भेट्ने स्थानकाल उसैले निश्चित गरी । मैले अतिरिक्त जिज्ञासा राखिनँ । 

शनिबार उसैले दिएको ठेगाना पछ्याउँदै म सीतापाइला पुगेँ । कफी सपको काउन्टर निकट पुगेर फोन गर्दा पर कुनाको सोफामा बसेकी भद्र महिलाले हात उठाई । हासूँ कि नहासूँको द्विविधामा हात जोड्दै म उसको सम्मुख उपस्थित भएँ । 

“बस्नुस् न ।” मलाई आग्रह गरेर उसले एक गिलास पानी मगाई । उसका अगाडि पहिले नै पानीले भरिएको गिलास मौजुद भएकाले नयाँ पानी मेरा लागि हो भन्ने मैले बुझेँ ।  

म भने असमञ्जसताको महागर्तमा फस्दै गइरहेको थिएँ । यहाँ के हुन लागिरहेछ ? के ममाथि भयानक परीक्षण हुन लागिरहेको त छैन ? म सम्मुखवर्तिनी नारीको वदनसौन्दर्यको मूल्याङ्कन गर्ने मनसायमा किमार्थ थिइनँ । तर यिनले मलाई भेटेर गर्न खोजेको चाहिँ के होला ? भन्ने चिन्ताको ज्वरोले रापिएको भने थिएँ । कुनै कुरा शुरू गर्न रोमाञ्चक विषय मसँग थिएन । केही भन्न मैले उसलाई निम्त्याएको पनि होइन । उसैको निमन्त्रणालाई हृदयङ्गम गरी म हाजिर भएको थिएँ । 

“कफी कस्तो लिनुहुन्छ ?” उसले कुनै असहजता नराखी सोधी । यति बेरसम्ममा यो मान्छेले मैलेभन्दा केही भोटा बढी नै फटाएकी छे भन्ने निष्कर्षमा म पुगिसकेको थिएँ । 

“दुध हालेको चिनी नहालेको ।” मैले आफ्नै पारामा भने । उसले मध्यम स्वरमा खित्का छोडी र वेटरलाई बोलाई । 

मूलभूत कुरा त शुरू नै भएन । यही कफीसफीमै अलमल हुने त होइन ? भन्ने त्रासमा पर्नै लाग्दा उसले मुख खोली, “तपाईंले लेखेको खाली कोठा शीर्षकको कथा मैले पढेँ । म त्यस्तो पढन्ते त होइन तर संयोगवश पढेँ । कथा रोचक लाग्यो । कस्तो कथा राम्रो र कस्तो नराम्रो भन्ने बोध मलाई छैन । मा.वि.मा सामाजिक पढाएरै आधा जुनी बितिगयो । तर तपाईंको कथाको विषयले मलाई भित्रैसम्म हल्लायो । म द्रविभूत भएँ ।” उसले एक घुट्की पानी ग्रहण गरी । उसको कुरा गर्ने तरिका सही लाग्यो । उसका शब्द छनोटले उसको बौद्धिकताको पारो माथि छ भन्ने प्रष्ट भयो । ऊ मा.वि.मा सामाजिक पढाउँछे र उसको झन्डै आधा जुनी जान लाग्यो भन्ने सूचना मैलै नसोधेरै थाहा पाएँ । 

“तपाईंले यत्ति भन्नका खातिर मलाई यहाँ बोलाउनु भएको त अवश्यै होइन ।” मैले आफू खास कुराका लागि व्यग्र भएको स्थिति स्मरण गराएँ । 

टेबलमा कफी आयो । “खाजा के खानुहुन्छ ? म:म: खाऊँ है ? एक छिन है ।” भनेर नभ्याउँदै ऊ उठेर हिँडिगई । 

“कहाँ फसिगएँ म ? अघोषित बन्धनमा परेँ । गरूँ त म के गरूँ ?” म हृदयको खैलाबैलामा हराउन लागेँ ।  

ऊ फर्केर आएर आसनमा पूर्ववत् बसी । “ठिकै भन्नुभएको हो तपाईंले । कथा राम्रो लाग्यो भन्नका लागि भेट्न खोजेको होइन । तपाईंको कथा चित्त नबुझेर भेट्न खोजेको हो । कथामा इत्ति पनि सहमत हुन नसकेर भेट्न खोजेको हो । दुनियाँ आजका दिनसम्म आइपुग्दा पनि यस्तो पछ्यौटे सोच पालेर कथा लेख्ने मान्छेको अनुहार कस्तो हुँदो रहेछ भनेर हेर्न खोजेको हो ।” 

अघिसम्मको त्यो सौम्य शालीन अनुहारमा असन्तुष्टि मात्र हैन झन्डै झन्डै घृणा नै टल्किन थाल्यो । जसले गर्दा मेरो सातोले मलाई नै धोका दिने हो कि भन्ने त्रासले म खुम्चिएँ । “मैले त्यस्तो खतरनाक कथा पो लेखेछु ?” मनमनै म खुशी र दु:खी एकै पटक भएँ । 

“तपाईंले भन्न खोजेको कुरो मैले फिटिक्कै बुझिनँ नि ।” बुझेको थिइनँ त्यही भनेँ । 

“तपाईंले त्यसो भन्न पाउनुहुन्छ ? लेख्ने बेलामा दुनियाँको कुरा मैले जत्तिको अरूले बुझेको छैन भने जसरी लेख्ने । अहिले बुझिनँ भन्ने ? उसले मलाई काँचै खाउँला जस्तो गरेर हप्काई । 

मसँग बोल्नका लागि शब्द थिएनन् म ट्वाँ परेँ । 

“तपाईंले त्यस कथामा के साबित गर्न खोज्नुभएको हो ? यही कि केटी मान्छे चरित्रहीन हुन बेर लाउन्नन् । गुन्द्रुक पकाउनुपर्दैन साली फकाउनुपर्दैन । यही पुष्टि गर्न खोज्नुभएको होइन ?” उसले आँखा र चोरीऔँला मतिर सोझ्याई । 

“त्यस्तो त होइन ।” मलाई कफीले भन्दा उसका प्रश्नले बढी डामिरहेका थिए । 

“आखिर तपाईं पनि परम्परागत पुरुषवादी सोच बोकेर परिवर्तनकारी लेखकको परिचय बोक्ने मान्छे हुनुहुँदो रहेछ हैन ?” यो आरोप मेरो मर्ममाथि गरिएको भीषण हमला थियो । म आफूलाई प्रगतिशील लेखक भनेर चिनाउँदै हिँड्थेँ । 

“यो त तपाईंले ममाथि निकै घटिया तूच्छ आरोप लगाउनुभयो त । कथाकारका पनि बाध्यता हुन्छन्, सीमा हुन्छन्, सामाजिक सत्य हुन्छ ।” म गलेँ ।

“यस्ता आदर्शका कुरा गर्नलाई १९७१ मा जन्मिनुपर्थ्यो । अब यस्ता विचारले रूपान्तरणकारी भइँदैन । शङ्काकै भरमा एउटी नारीलाई कुचरित्रको बिल्ला भिराएर पुरुषलाई जोगाउनुभएको छ तपाईंले । सिक्काका दुईओटा पाटा हुन्छन् भन्ने थाहा छ नि हैन तपाईंलाई ? थाहा छ भने अर्काे पाटाको बारेमा खोज्नुपर्दैन ? आफ्नै प्रेमीबाट लाञ्छित भएकी शोभाप्रति सहानुभूतिको एक शब्द पनि खर्च गर्नुभएको छैन । के उसले लाञ्छित भएरै जीवन बिताउनुपर्ने ? अहिल्या जस्तै ढुङ्गो भएर बस्नुपर्ने ? उसले आफ्नो तर्फबाट सफाइसमेत दिन नपाउने ? तपाईंले मुख थुनिदिनुभयो शोभाको । यो कुरो चित्त बुझेन मलाई ।” उसमा इतिहास र दर्शनको आत्मा सवार भएको छर्लङ्गै देखेँ । 

मौजुदा नारीको वैचारिक हैसियत माथिसम्मै छ भन्नेमा अब संशय रहेन मलाई । यससित वाक्युद्धमा आफूले धुलो चाट्नुपर्ने सम्भावित भविष्य मेरा आँखामा ढोल बजाएर नाच्न थाल्यो । मैले आफ्नो सुरक्षित अवतरणलाई ध्यान दिनुपर्ने भयो । 

“शायद तपाईं उच्च विचार भएको लेखक हुनुहोला तर यस कथामा तपाईंले आफ्नो विवेकको इत्ति पनि उपयोग गर्नुभएको छैन । पात्रको नाम फेर्नेभन्दा अरू केही गर्नुभएको छ त ?” उसको प्रश्नलाई मैले अलिकति हाँसेर टारिदिएँ । 

“तपाईंको कथाको पात्र लीलाधर आचार्य होइन । शोभाकान्त आचार्य हो । अरू जीवनवृत्त ठीक छ । अनि अर्काे कुरा त्यो शोभाकान्त भन्ने मान्छे तपाईंको मामाको छोरो हो । आफन्तलाई सज्जन देख्नुभयो । अरूलाई चरित्रहीन हैन त ?” उसले मेरो र कथाको पात्रको वास्तविक सम्बन्धको पोयोसमेत गाँसेर आएकी रहिछे । सानो चोटले मान्छेलाई यस्तो अनुसन्धाता बनाउँदैन । यस्तो लाग्यो ऊ मेरो छातीमा बसेर घाँटी थिचिरहेकी छे । भारी सभामा सारी तानिँदै गरेकी द्रौपदी म हो र ऊ सारी तान्ने दुःशासन ।

“तपाईंले कथामा लेख्नुभएको शोभा खासमा लीलावती पाठक हो । लीलावती शोभाकान्तलाई मन पराउँथी निःस्वार्थ रूपमा । कुनै सर्तविना उसमा समाहित हुन चाहन्थी । विधिवत हिसाबले शोभाकान्तकी भान्छे हुने उत्कट अभिलाषा थियो उसलाई । पहिलो झलक कलङ्कीमा देखे तापनि शोभाकान्तको गुण र मिजास दिदीको मुखबाट धेरै सुनेकी थिई । त्यति मात्र हैन जति सुने पनि नअघाउने बानी बसिसकेको थियो । मान्छे नदेखे तापनि रूपाकृति कल्पना गर्न सक्ने भएकी थिई । दिदीले माइत आउँदा कुरा गरेकै आधारमा बसभित्रैबाट शोभाकान्तलाई चिनेकी थिई ।” यसपटक उसको मन्तव्य लामै समय जाने देखेँ मैले  । 

शोभाकान्तबाहेकका पुरुष पुरुषजस्ता लाग्दैन थिए लीलावतीलाई । ऊ राम्री बनी शोभाकान्तकै लागि । उसले पढी शोभाकान्तकै लागि । मीठो पकाई शोभाकान्तकै लागि । ऊ निदाई शोभाकान्तलाई सपनीमा देख्नका लागि । ऊ ब्युँझी शोभाकान्तलाई बिपनीमा भेट्नका लागि । बाआमा वा दिदीले बिहे नगरिदिए पनि शोभाकान्तका लागि अरूलाई त्यागिदिने आँट लीलावतीमा थियो । पिरतीको डुङ्गामा संसार सारा बिर्सेर सयर गर्न न शोभाकान्तलाई बाधा थियो न लीलावतीलाई । जिस्किन, हाँस्न, घुम्न, हातै हालेर चल्नसमम्मका हदहरू उनीहरूका लागि बेहद थिए । एकअर्काको इच्छा बुझेर काम गर्न उनीहरूले जानिसकेका थिए । 

एकदिन स्वयम्भूको सिँढी चढ्दै गर्दा जबर्जस्ती प्रसङ्ग निकालेर शोभाकान्तले भन्यो, “थाहा छ लीला ? हाम्रो गाउँमा एक जना काकाका तिन्टी श्रीमती छन् ?”

“मैले कसरी थाहा पाउनु तपाईंको गाउँको कुरा ? बल्ल त भन्दै हुनुहुन्छ । जे होस् ती काका जखमले रहेछन् ।” लीलाले आँखा झिम्क्याएर भनी । 

“ती तीनै ओटी श्रीमती एकै घरका दिदीबहिनी हुन् । दिदी सुत्केरी हुँदा स्याहार्न बहिनी आई । भिनाजुले बढी नै माया गरिदिए । अर्काे वर्ष माहिली दिदी स्याहार्न कान्छी बहिनी आई उसलाई पनि भिनाजुले आफ्नो मायाले बाँधिदिए । यसरी काका ती तीन पत्नीका पतिदेव भए ।” शोभाकान्तले लामो कथा छोटो समयमा सुनाएर सास फेर्यो । लीलावतीले शोभाकान्तको मुखमा विकृत हास्य र कपटपूर्ण व्यङ्ग्य अनुभूत गरी । 

“यस्ता जाबा कथा प्रत्येक गाउँ गाउँमा हुन्छन् । के नौलो कुरा हो र ? मैले नसुनेको हुँला र ? यस्तो तूच्छ कथा सुनाएर शोभाकान्त दिदीभिनाजुसितको मेरो बसाइप्रति क्रूर आक्षेप त लगाइरहेको छैन ?” लीलावती यस्तो शङ्कास्पद दलदलमा भासिन थाली । चन्द्रागिरी डाँडाको टुप्पामा माया लाग्दो, निर्बल, क्षीण अनि अन्धकारको गर्तमा खस्दै गरेको घामलाई देखी । घामभित्र आफ्नो अनुहार । घाम अस्ताएपछिको कालो उपत्यका जस्तै देखी उसले आफ्नो हृदय । 

जसलाई जीवन सुम्पिन तयार भएको उही आफूमाथि शङ्काको बल्छी बोकेर हिँडेको त छैन ?” लीलावतीले आउँदै गरेको भविष्य त्यति समुज्ज्वल देखिनँ । गाउँले काकाले साली जम्मा गरेको देखेर निर्माण भएको उसको मनोविज्ञान भिनाजुको आश्रयमा बस्ने आफूजस्ता सालीप्रति सकारात्मक छैन भन्ने कुरा लीलावतीले स्वाभाविक अनुमान लगाई ।  

“हुन सक्छ यो मेरो शङ्का मात्र हो । शोभाकान्त जस्तो निश्छल मान्छेमाथि नबुझीकन बाह्रसत्ताइस कल्पना गर्नु मेरो नादानी मात्र हुने हो कि ।” लीलावतीले आफूलाई सम्झाउने प्रयास पनि गरी । 

केही दिनपछि दिदी दुर्गादेवी घर गइन् । बेलुकाको भोजनको जिम्मा लीलावतीकै थियो । लीलावती पल्लोकोठामा पकाउने वल्लो कोठामा शोभाकान्त भोकै बस्ने त सम्भावनै थिएन । लीलावतीलाई कामले नसघाए पनि कुराले सघाउन ऊ आइपुग्यो । लीलावतीको पलङमा ढल्कियो । लीलावतीले चिया बनाएर दिई । अर्काे कप लिएर भिनाजु भएका कोठातिर लागी । फर्केर तरकारी पकाउन लागी । जुन काम गरे पनि आधा मन त उसको शोभाकान्ततिरै हुन्थ्यो घरमा होस् कि अफिसमा । 

त्यस दिन लीलावतीलाई शोभाकान्तको बसाइ त्यति सहज र स्वाभाविक लागिरहेको थिएन । वार्तालापमा पनि खासै शृङ्खला मिलेजस्तो थिएन । खाना खाएर सबै आफ्नो आफ्नो ठेगानातिर लागे । सुत्ने बेलामा सिरक फिजाउँदै गर्दा लीलावतीले एक सय रुपैयाँको नोट भेटी । (तपाईंले पचासको नोट लेख्नुभएको छ तर पचास हैन सय नै हो ।) उसले विश्वासका साथ ठोकुवा गरी र एक घुट्को कफी घुट्क्याई । 

बिहान आफैँले पट्याएको सिरकभित्र एकाएक सय रुपैयाँ उत्पत्ति हुनु निश्चित पनि शङ्कारहित विषय थिएन । उत्पत्तिसितै विपत्ति पनि मिसिएको थियो । रातभर जति बोलाए पनि लीलावतीका नयनद्वारमा निद्राले ढकढक गरेन । सयको नोट र शोभाकान्तको कुरूप अनुहारले पटक पटक तर्साइरहे । बिहान उसले सिरक पट्याई र त्यही ठाउँमा त्यही नोट घुसारिदिई । 

यसै पनि लीलावतीको मन भारी थियो । जेनतेन दिन कटाई । उसलाई शोभाकान्तको दर्शनको कुनै उत्सुकता थिएन । शोभाकान्तको मुख हेर्नुपर्ला भनेर अफिसबाट डेरामा जानसमेत मन लागेन तर नजानुको विकल्प पनि थिएन । बेलुका उही हँसिलो र रसिलो मुद्रा लिएर शोभाकान्त आइपुग्यो । लीलावतीले पनि आफ्नो व्यवहारलाई उही अवस्थामा कायम राख्न प्रयास गरी । चिया बनाएर शोभाकान्तलाई दिई अर्काे कप बोकेर भिनाजुका कोठातिर लागि । हताररिएर आउनुभन्दा अलमलिएर आउनु उसलाई उपयुक्त लाग्यो । 

आउँदा शोभाकान्तले चिया बुत्याइसकेको थियो । केही सम्झिए जसरी भन्यो, “ओहो, रविभवनमा एक जनालाई भेटेर पैसा लिनुथियो । भुसुक्कै बिर्सेछु । गएर आउँछु है ?” लीलावतीको हुन्छलाई नपर्खी उसले कोठाको द्वार पार गर्यो । लीलावतीले बुझिहाली शोभाकान्तले आफ्नो शङ्कालाई सिरकमा नोट छामेर सत्य साबित गर्यो । खाने बेलामा सालीभेनाले एक छिन प्रतीक्षा गरे । शोभाकान्त आएन । शोभाकान्त आउँदैन भन्ने त लीलावतीलाई लागिसकेको थियो ।  

भोलिपल्ट लीलावती अफिसबाट फर्किँदा शोभाकान्तको कोठा खाली भइसकेको थियो । यहाँनेर एक दिन थपेर शोभा बिरामी भएको, शोभाकान्तले चियापाउरोटी दिएको फिल्मी दृश्य जोडेर लीलाधरमाथि तपाईंले जुन नायकत्वको लेप दल्नुभएको छ त्यो सरासर बकवास हो । शोभाकान्त लीलावतीलाई बिरामी हुने समय पनि नदिएर भाग्ने पामर पलायनवादी हो । 

अब भन्नुहोस् तपाईंले कथामा सत्य देखाउन सक्नुभएको छ ? मान्छेमाथि न्याय गर्नुभएको छ ? शोभाकान्तको जस्तो शङ्कालु मनलाई हुबहु किन स्वीकार्नुभएको ? यसरी एक पाखे भएर कथा लेख्दा मलाई लीलावतीको आत्माले सराप्छ जस्तो लागेन तपाईंलाई ? म उसका प्रश्नका कठघराभित्र निसास्सिरहेकै बेला पत्रकार मित्र जिज्ञासाको फोन आयो । अनुमति लिएर उठाएँ । 

“हेलो अलङ्कारजी एक जना लीलावती नाम बताउने नारीले तपाईंको नम्बर मागेकी थिइन् एक हप्ता अगाडि । मैले नम्बर दिएकी थिएँ । तपाईंलाई चाहिँ जानकारी गराउन भुलेछु । कुरा भयो उहाँसँग ? 

मैले कुनै उत्तर दिएबिनै फोन काटिदिएँ । त्यस बेला लीलावती मेरै अगाडि म:म:लाई अचारमा चोप्दै रहिछे । 

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.