घरका लागि आवश्यक सामान खरिद गर्न सहर पुगेको लक्ष्यवान् गोरखापत्रको पुछारमा आफ्नो छोरा मुक्तवानको आई.ए. पासको नम्बर देख्दा खुब हर्षित भयो । हर्षित बन्नु पनि स्वाभाविकै थियो किनभने घरमा जेठोबाठो छोरो नै त्यही थियो । “आफ्नो पढाइ पूरा गरेपछि त एउटा जागिर गर्ला, सो आम्दानीबाट म व्यवहार चलाउँला र आर्थिक उन्नतिमा केही बल पुग्ला’ भन्ने ठुलै अपेक्षा लक्ष्यवानको थियो ।
अन्य साथीहरूलाई बजारमा नै छोडेर लक्ष्यवान् घरमा आयो र घर नजिकै पुगेर छोरालाई बोलायो । लक्ष्यवानले छोरो मुक्तवानको पिठ्युँमा धाप दिँदै भन्यो, “स्याबास छोरा ! तेरो आई.ए. पासको नम्बर गोरखापत्रमा रहेछ । मैले हेरेँ । खबर गरौँ भनी तुरुन्त आएको । एक पटक तँ पनि हेरेर आइज न ! आफ्नो नम्बर कतै भुल पो भयो कि ?
मुक्तवानलाई आफ्नो परीक्षा नम्बर कण्ठस्थ भए तापनि पुनः एक पटक बाकसबाट प्रवेशपत्र निकाल्यो र परीक्षाफल हेर्न सहरतिर दौडियो । उसले हतारहतार प्रवेशपत्र फुकायो र गोरखापत्रको नम्बरसँग आफ्नो नम्बर जुधायो । उसले डिभिजन हेर्यो, पास डिभिजनको पुछारमा उसको नम्बर रहेछ । जे होस्, पास मात्र भएकोमा पनि उसमा हर्षको कमी भएन । ऊ खुसीले फुरुङ्ङ हुँदै घर फर्कियो ।
बेलुकीको खानापछि लक्ष्यवानले छोरो मुक्तवानलाई बोलाएर भन्यो– “छोरा ! यस घरमा जेठोबाठो छोरो नै तैँ होस् । आजभन्दा पाँच वर्षअगाडि बल्लतल्ल एस.एल.सी. पास गरिस् । ‘आई.ए. पढ्छु बुबा’ भनिस् । जेठा छोराको वचन हार्न सकिएन र आई.ए. पास गरायौँ । मेरो क्षमताले यहाँभन्दा बढी भ्याउँदैन । अब एउटा राम्रो जागिर गर्नुपर्छ । परिवारलाई थोरै भए पनि सहयोग गर्नुपर्छ । अब यी तीनओटा भाइबहिनी पढाउने जिम्मेवारी पनि तेरै भयो । खेतीपाती, पशुपालनजस्तो अधुरो पेसाबाट दिन गुजार्न मलाई कठिन भयो । राम्रो जागिरमा खुट्टा नअड्याएसम्म विवाह गर्न पनि सकिँदैन । मेरा दिन त यस्तै दुःखको सागरमा ड्बुल्किएर बिते । तिमीहरूका दिन सहज तरिकाले बिताउनु पर्छ । रोदन र आँसु, दुःख र कष्ट सहेर जिउन कठिन छ, वर्तमान जुगमा । आई.ए. पास भएको छोरालाई बढी के भनौँ ?”
आई.ए. उत्तीर्ण भएको केही दिनमा नै आफूले हासिल गरेका प्रमाणपत्रहरू झोलामा खाँदेर मुक्तवान् जागिरको खोजीमा निस्कियो । सर्वप्रथम प्रहरीमा जागिर गर्ने विचारले ऊ प्रहरी छनोट केन्द्रतिर लाग्यो ।
संयोगवश मुक्तवान् प्रहरीमा छनोट भयो । तालिममा खटाइयो । बिहानदेखि बेलुकासम्म खटेर तालिम गर्नुपर्ने, त्यस क्रममा नियमित दौडाइ, उफ्राइ, लोटाइ, ठोकाइ तथा बोकाइजस्ता क्रियाकलाप गर्नुपर्ने । विचरा ! घरमा ढलेको सिन्को नउठाएको मुक्तवान् प्रहरीको जस्तो कठोर तालिममा कसरी सफल होओस् ?
एक दिन मुक्तवान् राति नै भागेर घरमा पुग्यो र बुबासँग सम्पूर्ण बेलिविस्तार लगायो । बाबुले छोराको अल्छी बानी देखेर खुब हपार्यो ।
मुक्तवानले मनमनै सोच्यो, “जागिर त निजामती सेवातिर खानुपर्ने भयो । तालिम गर्न पनि नपर्ने र लठ्ठी खान पनि नपर्ने । फर्म बिछ्याएको कुर्सीमा बसेर यसो एक हातले कलम घुमाए त आफ्नो तलब पाक्यो ।” यही सोचेर मुक्तवान् कर्मचारी प्रशासन केन्द्रतिर लाग्यो । केन्द्राध्यक्षसँग कुराकानी मिलाएर मुक्तवानले जनस्वास्थ्य कार्यालयको मुखिया पदमा जागिर गर्यो । सो खबर तुरुन्त घरमा पनि पठायो ।
कार्यालयमा जागिर गर्ने दिनको भोलिपल्ट मुक्तवानको टेबुलमा एउटा पत्र आयो । पत्रमा लेखिएको रहेछ :
मुखिया मुक्तवानजी !
अब उपरान्त सम्पूर्ण अस्थायी कर्मचारीहरूलाई निष्काशन गरेर स्थायी कर्मचारी भर्ना गर्ने भन्ने मन्त्रालयको आदेशअनुसार तपाईंले आजका मितिदेखि सो पद छोड्नु पर्यो । पाकेको पैसा लिन भोलि दिनको ठिक दश बजे यस कार्यालयको आर्थिक शाखामा सम्पर्क राख्नुहोला ।
कार्यालय प्रमुख,
जनस्वास्थ्य कार्यालय
पत्र पढेपछि मुक्तवानको झनक्क रिस उठ्यो । उसले पत्र च्यात्यो र विचार गर्यो, “अब यो मुख परेको जागिरको भाग पनि खोसियो । घरमै जान्छु । जसोतसो गर्नुपर्ला । के गर्ने ? हाम्रो देशको पढाइ नै यस्तै । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैँ पढाइमा कति लगानी भयो, यो घोकन्ते र दिशाहीन पढाइले यो देशमा के जागिर पाइन्छ र !”
कार्यालयमा जागिर गरेको छोरो एक्कासि घरमा आउँदा बाबुआमा झसङ्ङ भए । बाबुआमाका अगाडि उसले स्पष्टीकरण दियो । मुक्तवानले सोच्यो, “अब के गर्ने त ? विदेशमा पसौँ भने यति ठुलो रकम लगानी गरेको के काम ? नेपालमा नै बसौँ भने जागिर पाउनको यो समस्या । अब एकपटक शिक्षा कार्यालयमा धाउँछु र शिक्षक जागिर खान्छु ।”
मुक्तवान् जि.शि.का.मा गयो । जि.शि.अ. समक्ष अभिवादन टक्र्यायो र झोलाबाट एउटा कुम्लो निकालेर जि.शि.अ.की श्रीमतीको हातैमा दियो अनि बिन्ती गर्यो, “सर ! मलाई कुनै विद्यालयमा जागिरे बनाइदिनुहोस् । मेरो त बाँच्ने आशा नै भएन । आई.ए. पास गरेको छु तर जागिर पाइएन । दया गर्नुहोस् । “हेर बाबु ! जागिर खान कठिन छ । बरु साथीहरूसँग म सल्लाह गर्छु । साथीहरूलाई चियापानी खुवाउनुपर्छ । तिमीले यसका लागि रु.दश हजार दिनुपर्छ । अनि जागिर गरेको केही दिनमा नै स्थायी शिक्षक आएमा सो पद पनि छाड्नु पर्छ नि । आफैँ विचार गर ।”
मुक्तवान् टोलायो । ऊ अनुत्तरित भयो । जि.शि.अ. सँग पुनः भेट्ने सर्तमा आफ्नो बुबासँग निर्णय र सल्लाहका लागि घर फर्कियो । बाबुछोरा सल्लाह गरे । लक्ष्यवानको टाउको तात्यो र टाउको समात्दै टोपी झिकेर भन्यो, “हरे भगवान् ! छोरालाई पढाउँदै त्यो समस्या भयो, अब जागिर खान पनि पैसा तिर्नु पर्ने रे । अझ दशदश हजार ! अनि स्थायी शिक्षक भोलि बिहानै आयो भने पनि जागिर छोड्नु पर्ने रे ! के दशा हो यस्तो ? यो देशमा पढेर के काम ?”
लक्ष्यवान भर्खर पानी दर्कन लागेको बादलझैँ गर्जियो । लक्ष्यवान् बिस्तारै केही शान्त भयो र छोरासँग भन्यो– “छोरा ! जीवनमा आइपर्ने विविध समस्यासँग पलायन भएर भएन, आखिर सङ्घर्ष त गर्नै पर्यो नि ! अन्यथा यो अव्यवस्थित जिन्दगीको पलपलमा धिपधिपाउँदो बत्ती बालेर जिउनुको के अर्थ रहयो र ? अब यो देशमा जागिर पाउनु भनेको ‘सुँगुरले सगर देख्नु जस्तै’ हो । आफूले उपलब्ध गरेका प्रमाणपत्रहरूको केवल बाकस सजाउने कागजका पन्नाभन्दा बढी मूल्य रहेनछ ।
जागिर पाउने आशाको त्यान्द्रोमा अब धेरै दिन बाँधिन हुँदैन किनभने समय त एक मिनेटको पनि महत्त्व हुन्छ । बरु वर्तमान युगको जल्दोबल्दो पेसा भनेकै व्यापार हो । व्यापारबाट मानिस कति हो कति माथि लागे । अब एक पटक व्यापारमा जाने कि ! “बुबा ! हामीले कुन उपायले व्यापार गरौँ र ? वर्तमान महङ्गी युगमा सानोतिनो व्यापारको थालनी गर्दा पनि लगभग एक लाख नभए व्यापारको आकार नै आउँदैन । रहर मात्रै पो हुन्छ कि !” मुक्तवानले तर्क गर्यो ।
“हामीसँग भएको जग्गाको लालपुर्जा बैङ्कमा एक वर्षका लागि धितो राखेर ऋण निकालौँ । सोही ऋणबाट व्यापार गरौँ र छिटो नै व्यापारबाट आएको आम्दानीले सो ऋण चुक्ता गरौँला ।” लक्ष्यवानले स्पष्ट पार्यो ।
बाबुछोरा र घरपरिवारको सहमतिअनुसार बैङ्कबाट निकालेको रु. एक लाख बोकेर मुक्तवान् लाग्यो सहरतिर व्यापार गर्न । “यति धेरै रकम भए पछि त व्यापार राम्रै चल्छ क्यारे” भनेर मुक्तवान् प्रफुल्ल थियो । उसले व्यापार राम्रै चल्ने ठाउँ हेरेर एउटा सटर (व्यापार कोठा) लियो । भाडा मासिक पाँचहजार रहेछ । सामानका लागि त्यही सहरको थोक बिक्रेतासँग सम्पर्क गर्यो । त्यस साहुले पनि आधा पैसा लिएर आधा सामान केही समयका लागि सहयोगका रूपमा उपलब्ध गराउने सर्त राख्यो ।
मुक्तवान् अब सहरमा नयाँ साहुजी बनेर बस्न पाएकोमा मख्ख थियो । गाउँबाट जानेहरूले यसो कहिलेकाहीँ ढोगभेट र नमोनमस्तेका अमूल्य कोसेली पनि पस्कन्थे । मुक्तवान् मुसुक्क हाँस्दै पसलको काम गर्न छोडेर भए पनि दुवै हात जोडी नमस्ते फर्काउँथ्यो र भन्थ्यो– “तपाईँंहरूलाई केही चाहिन्छ कि ? चाहिए जति सामान लानुस् है, म मिलाएर दिन्छु, आफ्ना मान्छेलाई ! ”तब उपरान्त बढीजसो ग्राहकहरू मुक्तवान् साहुका पसलमा जान्थे र यथेष्ट सामान खरिद गर्थे साहुको बिल हेरेर । फर्कने क्रममा कूल मूल्यको एक चौथाइ पैसा टक्र्याएर बाँकीको खाता खोलेर बिदा हुन्थे, पुनः फर्कने कबोल गर्दै ।
मुक्तवानले व्यापार थालेको एक महिना बित्यो । उसले एकदिन बाकसको दाम गन्न थाल्यो । जम्मा केही हजार रुपियाँ भएछ । एक हजार खाना खर्च र पाँच हजार कोठा भाडा तिर्दा सो पैसा सकियो । साहुलाई पठाइदिने दाम भएन । यही सिलसिलामा नव साहु मुक्तवानका बाह्र मास बिते । व्यापार गर्न गएको मुक्तवानले यता घरमा दुईचार पैसा पनि पठाएन । उता बैङ्कको साँवाब्याज सात दिनभित्रमा भुक्तान नगरेमा घरखेत नै उठ्ने पत्र आयो । लक्ष्यवान् ऋण सम्झेर छोराको उन्नतिको प्रतीक्षामा ‘हाँडीको मकै´झैं दिनरात छट्पटिन्थ्यो ।
मुक्तवानको पसलमा अब सामान रित्तियो । मुक्तवान् पुनः सामान खरिद गर्न साहुको पसलमा पुग्यो । पहिलाको बाँकी रकम यथावतै छ, थप सामानको माग भई आएकामा आगोझैँ रन्केर साहुले मुक्तवानलाई पुनः हपार्यो । सामान नपाएकामा बादलको मुस्लोजस्तो अनुहार लिएर मुक्तवान् पसलमा फर्कियो । मुक्तवानले बाँकी रकमको खाता पल्टायो । टाउकोलाई हातले अड्यायो र कपाल कन्यायो । कुल बाँकी रकम रु. सत्तरी हजार पुगेको रहेछ । सामान पसलमा नहुँदा पुराना ग्राहक त अब फर्कने कुरै भएन, नगद माल लानेहरू पनि मुक्तवानको पसलमा आउन छाडे ।
उसलाई व्यापार पूरै विदेशीको हातमा गएको, विदेशीको टक्करमा पुग्न नसक्दा व्यापार सेलाएको यथार्थ बोध भयो । ठुला व्यापारीको प्रतिस्पर्धामा पुग्न नसक्ने आफूजस्ता साना व्यापारीको अस्तित्व हराएको छर्लङ्ङ भयो । तत्पश्चात् ढोका बन्द गरेर मुक्तवान् निस्कियो, बाँकी रकम उठाउन ।
दिनभर गाउँघर, सहरबजार, भौँतारिएर भोकभोकै घरदैलो चहार्दा पनि जम्मा पाँचसय रुपियाँ भन्दा बढी हात लागेन । भोलिपल्ट पसलमा बाँकी रहेको केही सामान पनि अन्य व्यापारीलाई लिलाम बढाबढ गरी टाकटुक पाँच हजार रुपियाँ घर धनीलाई बुझाएर आफ्नो रित्तो झोला र गाउँबाट लगाएर गएका पुरानै कपडाको साथमा मुन्टो झुकाउँदै मुक्तवान् घर फर्कियो ।
२०५० सालतिर नेपालमा प्रजातन्त्र आइसकेको थियो । नयाँ दल खोल्ने, नयाँ दलमा सदस्य बन्ने, पार्टी परिवर्तन गर्ने, लाभको पद लिने गरेका समाचार मुक्तवानले सुनेको थियो । मुक्तवानले विचार गर्यो – “ला ! म पनि अब नयाँ दल खोल्छु र मन्त्री बन्छु ।”
नभन्दै मुक्तवानले बेरोजगारीहरू जम्मा गरेर ‘नेपाल हराभरा पार्टी’ गठन गर्यो । सरकारले जेठ चार गते चुनावको घोषणा गर्यो । मुक्तवानको दल पनि विभिन्न आकर्षक नारासहित चुनावमा ओर्लियो । फलस्वरूप केन्द्रीय र स्थानीय निर्वाचनमा धेरै स्थान हात पार्यो ।
अब मुक्तवान् सांसद बन्यो । त्यसको दुई महिनामा मन्त्री बन्यो । उसले मन्त्री परिषदबाट आफ्नै सुविधा बढायो । अहिले सबैतिर उसैको पहुँच पुग्छ, उसैको भनाइ बिक्छ । त्यसैले ऊ अहिले मुक्तवानबाट श्रीमान् बनेको छ ।
(प्रतिबिम्बन कथासङ्ग्रहबाट)

