साहित्यपोस्ट डट कम

कथा: सपनाका पाङ्ग्राहरू

कथा: सपनाका पाङ्ग्राहरू

“कति दु:ख दिन सक्छे हो यो केटी, दिनभरि कता कता डुलेर फेरि कति सताएको हो के ?” आँगनमा झाडु लगाउँदै मंगली फतफताइरही ।

मंगलीकी नौ वर्षकी छोरी सलिना घरि आमाको अगाडि पछाडि घरि दायाँबायाँ गरिरही ।

“होइन कति यता उता गरेको, राम्रोसँग काम पनि गर्न नदिने भई, साँझ पर्न आँटिसक्यो ।” झिझ्याँट माने जस्तो गरेर हातले पर पन्छाउन खोजी ।

तर सलिनाले टेरिन र आमाको अगाडि गएर भनी, “आज भन है बाबालाई ।”

“भन्न त भन्छु तर के भन्छु मलाई मात्र थाहा छ, आज बिदाको दिन, दिनभरि डुलेर पनि यसरी सताउन लाज छैन है, सघाउनु त कता हो कता झन् दु:ख दिने ।” मंगली भुतभुताउँदै झाडु लगाइरही ।

आमैले आफ्नो कुराको टेरपुच्छर लगाउने छाँट नदेखेपछि सलिना घर भित्र पसी र खाजा खोजी ।

“आमै, खाजा के छ ? भोक लाग्यो ।”

“ए ! अब भोक लाग्यो, दिनभर कतै खान पाइनस् !” आमाले ओठे जवाफ फर्काई ।

“के हुनु छ र अहिले, अलि बेलामा आउनु पर्छ नि, अब बा आएसि भात खाने ।” यो पटक अलि मिठो आवाजमा सम्झाई मंगलीले ।

“आमै, आज जसरी पनि भन्देऊ है बालाई ।” मंगलीको आवाजको मिठास र बाको प्रसंगले फेरि फकाउने शैलीमा सलिनाले त्यही कुरा दोहोर्याई ।

“कति एउटै कुरा गरेको यसले, भन्दिनँ है म, बालाई कति गाह्रो छ भन्नेचाहिँ कहिले सोच्नु छैन, कहिले के मागेको छ, कहिले के मागेको छ ।” कुरा टुंगाउने भावमा बोली मंगली ।

“मन लागे आफैँ भन, म त सक्दिनँ । अहिलेसम्म आइपुग्नुपर्ने आइपुगेकै छैनन्, उसलाई आफ्नै धुन छ ।”

यति भनेर आँगनमा यसो ढाड सोफ्याएर पश्चिमतिर हेरी । मंगलीले अस्ताउन लागेको घाम हेरी कि आफ्नो लोग्ने आउने बाटो, सलिनाले मेसो पाइन ।

दिनभरि डुल्दा याद गरिन, साँझपख भोकले पेट बटार्दै ल्याएपछि घर आएकी हो सलिना तर आँगनमा बढारिरहेकी आमालाई देखेपछि फेरि आफ्नो कुरा सुनाउन मन लाग्यो । बाबा नभएको बेलामा आमालाई फकाउन पाए आफ्नो काम बन्छ कि भन्ने भएर होला भोक पनि बिर्सेर आमाको अगाडि आएकी ।

आफ्नो कुराको सुनुवाई नभएपछि सलिनालाई भोकले फेरि सतायो ।

“आमा, भोक लाग्यो के ।” झण्डै रुँला जस्तो गरेर सलिना बोली ।

“बेलामा आउनुपर्छ नि, अब भात खाने बेला भइसक्यो, भित्र बट्टामा भुटेको मकै होला, त्यही खा”, मायाले भनी । सलिना भित्र जाने बेलामा “धेरै नखा है अहिले भात पनि खानुपर्छ ।”

बेलुकीपख बढार्नु पर्ने त होइन तर चैत बैशाखको महिना हावाले आँगनभरि पत्कर सोहोरेर ल्याएपछि मंगलीले धरै पाइन । आँगन बढारिसकेर झाडु कुनोमा घुसारेर मंगली पनि भित्र पसी ।

दोलखा जिल्लाको उत्तरी भेगमा पर्ने एउटा सुन्दर गाँउ सुरीमा एउटा जोडी र नौ वर्षकी छोरी बस्थे । करिब १२ वर्ष अगाडि लालीवन र मंगली तराईबाट यहाँ आएर बसेका थिए । आएदेखि अहिलेसम्म पनि उनीहरू कहिल्यै तराई फर्केर गएनन् । जो जसले उनीहरूलाई तराईको बारेमा सोध्थे, कसैले पनि स्पष्ट उत्तर पाउँदैनथे । उनीहरू सकेसम्म पुराना कुराहरू गर्न खोज्दैनथे । यिनीहरू भागेर आएका होलान् भनेर गाउँलेहरू अड्कल काट्थे तर यकिनका साथ कसैले केही भन्न सक्दैनथे । यहाँ आएर दुवै जनाले ज्याला मजदुरी गरेर जीवन गुजारा गरिरहेका थिए । दुवैजना लेखपढ गर्न सके पनि कतिसम्म पढेका थिए भनेर कसैलाई थाहा थिएन । यतिका वर्षमा पनि कहिल्यै कसैसँग नराम्रो सुनिएको थिएन, सबैसँग राम्रो व्यवहार भएका कारण पनि कसैले उनीहरूको धेरै खोजीनीति गरेनन् । आउनासाथ आफूसँग भएको पैसाले एउटा सानो जग्गा किनेर झुप्रोमा बस्न शुरु गरे अनि अलि अलि बचेको र कमाएको पैसाले तीन वर्षपछि, अगाडि आँगन राखेर भान्सा सहितको तीन कोठाको एउटा सानो घर बनाए । छिर्ने बित्तिकै फराकिलो भान्छा, देब्रेतिर सामान राख्ने कोठा अनि दाहिनेतिर सुत्नको लागि देब्रे र दाहिने कुनामा ओछ्यान भएको कोठा थियो । घर बनाएकै वर्ष सलिना जन्मिई । अहिलेसम्म दुवैले मिलेर ज्याला मजदुरी गर्दै गृहस्थी चलाइरहेका थिए । सलिना गाउँकै स्कुलमा कक्षा तीनमा पढ्दै थिई । अघिल्ला वर्षमा राम्रो पढेकी सलिना यो वर्ष तीनमा आइसकेपछि भने पढाईमा मन गरेकी छैन भन्दै थिए सरहरू । घरमा पनि पहिले जस्तो ज्ञानी थिइन । घरमा बस्न नखोज्ने, जिद्दी हुँदै गएकी थिई । समयसँगै ठीक होला, भनेर मन बुझाउँथे थिए मंगली र लालीवन ।

“आज किन ढिलो भयो त,” घर भित्र छिर्दै गरेको लालीवनलाई मंगलीले सोधी ।

“त्यही त हो नि काम नसकिएर, २,४ घण्टामा सकिन्छ भनेर गाको, दाउराको चाङ नै धेरै रै’छ, अझै सकिएको छैन, आज रात पर्यो भोलि सबेरै आउँछु भनेर आएको म त,” लालीवनले जवाफ दियो ।

“खाना पाक्यो त ?” लालीवनले सोध्यो ।

“भात पाक्नै लागेको छ, बस ।” मंगलीले उत्तर दिई ।

“अनि के छ त, मेरी छोरीको खबर, आज पढेर पो बसेकी छौ त, कति ज्ञानी भैछिन् नि,” लालीवन बोल्यो ।

सलिनाले चिमबत्तीको मधुरो उज्यालोमा बालाई हेरी र फेरि किताबमा फर्किई, किताबमा हेर्नु पहिले आमालाई आँखाको शानले फर्काई ।

मंगलीले देखि कि देखिन कुन्नि तर लगत्तै भनी, “छ नि ज्ञानी तिम्री छोरी, आज बिहान भात खाएदेखि घरमा बास छैन, दिनभर भोक पनि नलाग्ने, खै के हो कुन्नि, अघि भर्खर आइपुगेकी हो ।” यति भनेर छोरीतर्फ हेरी । छोरी मलिनो भई । आफ्नो कुरा भन्देलिन् भनेको, उल्टै कुरा लगाइदिएपछि ठुस्स परी ।

“बिदा भनेर होला, बिदा भए पनि, खेल्न गए पनि, खाने पढ्ने समय त मिलाउनुपर्छ छोरी, राम्रोसँग पढेन भने त हामीले जस्तो दु:ख पाइन्छ ।” लालीवन एक्कासी उदास देखियो ।

सलिना किताब छोडेर बाबासँग काखमा आई, मंगली चुलोमा बलेको आगो हेरिरही । आमा र बा एक्कासी उदास देखेर सलिना झन् सानी भई ।

“बाबा, यो हाम्रो घर होइन र ?” सलिनाले सोधी ।

“हो नि छोरी, कसले के भन्यो ?”

“हामी त यहाँको होइन रे, अनि त्यस्तो पनि घर हुन्छ भन्छन् सबै साथीहरू ।”

यस्तो कुराले लालीवन अधेँरियो ।

चिमको उज्यालोमा उसको अनुहारको औँसी झन् प्रष्ट देखियो । लालीवनसँगै मंगली पनि अँधेरिई ।

“कसले भन्छ छोरी यस्तो कुरा ?” लालीवनले सोध्यो ।

“सबै साथीहरूले जिस्काउँछन् ।”

“सबैले होइन छोरी, दुईचार जनाले भने होला । दुई चार जनाले नराम्रो भने भन्दैमा हामीले पनि मन दुखाएको भए हामी यहाँ यतिका वर्ष कसरी बस्न सक्थ्यौँ त ?”

“अनि सबैले यस्तो पनि घर हुन्छ भन्छन् ।”

लालीवन दु:खका साथ मुसुक्क हाँस्यो ।

“छोरी, घर भनेको ढुंगा र माटो मात्र होइन नि, घर त मन जहाँ छ, त्यहीँ पो हुन्छ । आफूलाई मनपर्ने आफ्ना मान्छेहरू जहाँ छन् त्यहीँ घर हुन्छ । ढुंगा र माटोको घर त आ-आफ्नो भाग्यको कुरा हो ।”

मंगलीले छोरीलाई सम्झाउन खोजी ।

“तिमीले चराको गुँड देखेकी छैनौ ? ती पनि त घर हुन् नि । मान्छेहरूको जस्तै जनावर र चराचुरुङ्गीहरूको पनि आ–आफ्नै घर हुन्छ । सबैको घर फरक फरक हुन्छ । जस्तो भए पनि सबैलाई आफ्नै घर मन पर्छ । तिम्री आमाले भनेजस्तै जसको मन जहाँ बस्छ त्यही उसको घर हो । अब हाम्रो मन यहीँ छ, यही हो हाम्रो घर । सानो भए पनि, ठूलो भए पनि, रात पर्न लाग्दा डर लागेपछि, टाढा पुगेपछि जहाँ फर्किन पाए हुन्थ्यो जस्तो लाग्छ नि, हो त्यही हो घर ।” खै के सम्झेर हो, लालीवन भावुक भयो ।

“कहाँ त्यस्तो भनेर हुन्छ बाबा, मसँग कोही पनि साथी बन्न खोज्दैनन् । सबैले जिस्काउँछन् ।

“दुई चारजना त जहाँ पनि हुन्छन् नि जिस्काउने, नराम्रो भन्ने तर आफूलाई माया गर्ने, सहयोग गर्नेको आश र भरोसामा पो बस्ने हो त ।”

“भयो भयो आजलाई, अब भात खाने, अघि नै भोक लाग्यो भनेको होइन दुइटैले ।” मंगलीले कुरा टुंगाई ।

सबैजना खाना खाएर भात भान्सा गरेर ओछ्यानमा गए । एकातिर सलिना होमवर्क गर्दै थिई । अर्कोतिर दुईजना ढल्किए ।

होमवर्क सकेर सलिना ओछ्यानमा पल्टिई । दिनभर डुलेर थाकेको ज्यान एकछिनमै भुसुक्क भई ।

बत्ती बन्द गरे पनि फ्यालको खापाबाट जुनेली कोठामा सुस्ताइरहेको छ, लालीवनको जोडीसँगै ।

“साइकल चाहियो भनेर सताएको सतायै छ ।” मंगलीले सलिना सुतेको थाहा पाएर कुरा निकाली ।

“साइकल ? किन चाहियो रे यस्तो पहाडमा,” लालीवन अचम्म पर्यो ।

“खै, मलाई के थाहा ? चाहियो मात्र भन्छे, २–३ दिन भयो बाबालाई भन्देऊ भनेर हैरान छ । कसैको देखी भनम भने पनि यहाँ कसैको छैन ।”

“यति सानोमै के के आउँछ हो यिनीहरूको दिमागमा, कसैको घरको टि.भि.मा देखी कि ?” लालीवन अकमक्क पर्यो ।

“हामीले पनि कहिले कुरा गरे जस्तो लाग्दैन ।”

“पढाईमा पनि ध्यान दिन छोडी, दुईमा पढ्ने बेलामा त जति बेला पनि किताब समातेर बस्थी ।” मंगलीले खुईय गरी ।

“अब चलाउन मिल्ने ठाउँ भाको भए पनि जसरी पनि किन्दिम भन्नु ।” लालीवनले भन्यो ।

“किन्नलाई हैसियत पनि त हुनुपर्यो नि, उसले भन्ने बित्तिकै हुन्छ त ? अब सुत ।” मंगलीले कुरा सक्काई ।

आकाशमा बादल ओढेको जुनसँगै मंगलीका परिवार पनि निदाए ।

एउटा सानो रातो साइकल चढेर सलिना गाउँभरि उडिरहेकी छ । साइकलमा उडेर स्कुल पुग्छे, घरि तल बजार पुग्छे, एक निमेषमै बजारबाट घर आइपुग्छे । जहाँ जान्छे साइकलमा उडेर जान्छे । उसका साथीहरू सबैजना उसको पछि लाग्छन् । उसको साइकल छुन सबैजना ऊसँग बिन्ती गर्छन् । साथी नजिक आउनासाथ, ऊ उडेर गाँउको अर्को कुना पुग्छे तर उसका साथीहरू पहिल्यै त्यहाँ पुगेर साइकल कुरेर बसेका हुन्छन् । सलिना सपनासँगै मुस्कुराइरहेकी छ । मुस्कुराइरहेकी सलिना हेर्न जुन थोरै बादल पन्छाएर भर्खर सलिनाको ओछ्यान पसेको छ र आफू पनि मुस्कुराइरहेको छ ।

भोलिपल्ट सलिना उठ्दा घाम उठिसकेको थियो । घामसँगै बा काममा गइसकेका थिए । बालाई नदेखेपछि सलिनाले बाको बारेमा सोधी । मेरो कुरा गर्यौ त ?” “उठ्न पाको छैन, के भाको यो केटी । धेरै नसता है नानी आज म पनि तँसँगै निस्कने हो, तल पण्डितनी आमैले बोलाउनुभा’को छ ।”, मंगलीले झर्किंदै भनी ।

ठुस्स परेरै सलिना आमासँगै भातभान्सा गरेर घरबाट निस्किई । अलि पर पुगेर आमा तलतिर झरिन् अनि सलिना स्कुलको लागि माथि उक्लिई । त्यो दिन सलिनाको कतै मन लागेन, स्कुल जाँदा, कक्षामा पढ्दा, स्कुलबाट फर्किँदासम्म पनि सलिनालाई सपनाको रातो साइकलले छोडेन ।

सपना त पहिले पनि देख्ने हो झल्याकझुलुक मात्र, तर हिजो राति सपनामा पाएको माया र साथीहरू सम्झिँदा ऊ भुतुक्क भएकी थिई । सलिनाले धेरै पटक आमालाई भनी तर बालाई भन्ने आँट गरिन । बिहान बेलुकीको जोहो त ज्याला मजदुरीबाट गर्ने परिवारले यस्तो माग पूरा गर्नु सम्भव पनि थिएन । आफ्नो कुरा नसुनेपछि सलिना झन् झन् जिद्दी, झन् झन् अटेरी हुन थालेकी थिई । स्कुलमा पनि रिसाउने, पढ्न नखोज्ने भनेर सर मिसहरूले भेटेको बेलामा भन्थे । छोरीमा आएको परिवर्तनले बा आमा चिन्तित थिए तर समयसँगै ठीक होला भनेर चित्त बुझाउँदै थिए ।

यस्तैमा एक दिन सलिना स्कुलबाट घर आइन । कामबाट फर्केर आउँदासम्म पनि मंगलीले छोरी घरमा नदेखेपछि उसका साथीहरूलाई सोधी । तिनले छुट्टी भएपछि सलिनालाई बजार जाने बाटोतिर गएको देखेको बताए । मंगली झन् आत्तिई, मनमा धेरै कुरा खेलाई । छोरीलाई खोज्न जान लागेको बेला लालीवन टुप्लुक्क आइपुग्यो । मंगली आत्तिएको देखेर लालीवन पनि आत्तियो । मंगलीले सबै कुरा बताई । लालीवन असमञ्जसमा पर्यो । के गरुँ कसो गरुँ कसलाई भनुँको दोधारमा तल बाटोमा जान खोज्यो । त्यही समयमा बडो अप्ठ्यारोसँग एउटा सानो साइकल घिसार्दै सलिना घरतर्फ आउँदै गरेको तिनले देखे ।

एक मन दुइटैलाई रिस नउठेको होइन, तर केही भनेनन् ।

सलिना डराइ डराइ घर आई । घरको एक छेउमा साइकल अड्याई ।

बांगिएको हेण्डल, फुस्किएको चेन, बिना स्ट्याण्डको साइकल घरमा अडिरहेको थियो र सलिना साइकल समातेर उभिरहेकी थिई ।

लालीवन र मंगली सलिनाको नजिक गए । सलिना डराई ।

“कता गाको छोरी अनि यो कताबाट लिएर आको ?” मंगली बोली ।

“बाटोमा भेटेको,” सलिनाले डराएरै उत्तर फर्काई ।

“कुन बाटोमा भेटेको ?” लालीवनले सोध्यो।

“आज स्कुलबाट तल्लो बाटो फर्किदै थिएँ, पण्डित बाको घर तलको खोल्सो छ नि, हो त्यहीँ भेटेको ।” सलिनाले प्रष्टिकरण दिई ।

लालीवन र मंगली मुखामुख गरे ।

दुवैले साइकल हेरे, “यो गाउँमा त कसैको साइकल थिएन, कसको होला त” मंगलीले सोधी लालीवनलाई ।

“खै, हेर्दा त बिग्रेर फालेजस्तो छ, यस्तो हालत छ, चल्ने त के राम्रोसँग डोर्याउन पनि नमिल्ने । पारि गाउँको हो कि ? त्यहाँ त छ नि चलाउने ठाउँ ।”

“पारि गाउँबाट कसरी आयो त यहाँ सम्म” मंगलीले शंका गरी ।

“कसैको घरबाट ल्याएको त होइन नि” मंगली अलि कठोर देखिई ।

“होइन, कसैको घरबाट पनि, साँच्चिकै खोल्सोमा थियो ।” सलिना रुँलाझैँ गरी ।

लालीवनले साइकल हेर्यो, साइकल देखेर लालीवनलाई साइकल र सलिना दुवैको माया लागेर आयो ।

“छोरी, हेर त यो साइकलको हालत, केही काम छैन यसको । कसको हो पनि थाहा छैन, तिमीलाई राम्रोसँग डोर्याउन पनि आउँदैन । चलाउनका लागि पनि स्कुलको चौर मात्र छ । एउटा काम गरौँ, जहाँ भेटेको हो त्यहीँ छोडेर आऔँ ।”

यो सुनेर उसले झन् बलियो गरेर साइकल समाई । उसका आँखा बिस्तारै रसाए । अनुहार सोहोरियो । कुनै पनि बेला रोली जस्तो देखिई । यो देखेर आमा बा दुवै अवाक् भए । के भन्नु के भन्नु भयो दुवैलाई । यसै बीचमा लालीवन बोल्यो ।

“ल ल अहिलेलाई यहीँ राख, कोही खोज्दै आए भने फिर्ता गर्नुपर्छ नि फेरि ।”

“जे सुकै गर तिमी बाबु छोरी, म भात बसाल्न गएँ ।” मंगली जुरुक्क उठेर भित्र गई ।

यति सुनेर सलिनाको अनुहारको बादल फाट्यो । अलिकति उज्यालिई । साइकल घरको भित्तोमै अडाएर आफ्नो काम गर्न लागी ।

छोरीको अनुहारको उज्यालोमा लालीवन र मंगलीले धेरै कुरा बिर्सिए । यसै पनि त्यो साइकल आफ्नो अस्तित्वको लागि लड्दै थियो ।

लालीवनले आफूले सक्नेजति गरेर साइकलको हालत, डोर्याउन मिल्नेसम्म बनाइदियो । हेण्डल सोझ्याएर, चेन मिलाएपछि साइकल जस्तो त देखियो पनि ।

त्यो साइकल पाइसकेपछि सलिनाको व्यवहारमा धेरै परिवर्तन देखिन थाल्यो । सधैँ झर्कने सलिना हसिँली हुन थाली । बाबा आमाले भनेको मान्ने, स्कुलमा पनि मन लगाउने गर्न थाली । जतिबेला पनि जहाँपनि ऊ साइकल डोर्याएर हिन्थी । उकालो ओरालो सकी नसकी जताततै पुग्थी । ऊसँग साइकल देखेर उसका साथीहरू पनि उसलाई घेरेर बस्न थाल्थे । साइकल समात्न बिन्ती गर्न थाले । त्यसले गर्दा उसमा साइकल प्रतिको मोह बढ्दै गयो । घरमा पनि आमालाई सघाउन थाली । एक दिन बाटोमा भेटेको अंग्रेजी सरले सलिनाको गुणगान गाएपछि लालीवन पनि फुरुक्क पर्न थाल्यो ।

घर पुगेर सबै कुरा मंगलीलाई सुनायो, मंगली पनि खुशीले हुरुक्क भई । बा आमालाई खुशी हुन केही चाहिँदैन, कसैले सन्तानको बारेमा एउटा राम्रो कुरा सुनाए पुग्छ ।

“भोलि बिदा पनि छ, तल सिंगटी बजार पुगेर आउनुपर्यो । केही ल्याउन छ भने भन है ।” लालीवनले मंगलीलाई भन्यो ।

“तिमी त भोलि बिहानै लाहुरे दाइकोमा जाने भन्दै थियौ त,” मंगलीले सम्झाई ।

“एक हप्ता पछिको कार्जे हो मिलाएर आइज भनेका छन्, पर्सि गए पनि हुन्छ ।”

“त्यस्तो हालतको साइकल पनि मरिहत्ते गरेकी छ, अलि अलि खर्च गर्न सके त चल्छ जस्तो लाग्छ मलाई, त्यो बनाइदिनु पर्यो, अब के गर्नु ? छोड् भनेको पनि मानिन ।”

“अर्काको सामानमा किन खर्च गर्नु भन त, खोज्दै आए फिर्ता गर्नु पर्छ । नआए पनि त्यो बनाएर कहाँ चलाउनु, न यसलाई चलाउन आउँछ, आए पनि चलाउने ठाउँ छैन ।”मंगलीले सम्झाउन खोजी ।

“एक हप्ता भैसक्यो, कोही लिन आएका छैनन् ।” लालीवनले भन्यो ।

“चलाउन त स्कुलको चौरमा मिलिहाल्छ नि,” मुसुक्क हाँस्दै सलिनाले थपी ।

“तिमी बाउ छोरीले मन लागेको गर ।”

“छोरीले पनि बा आमाले भनेको सबै मान्नुपर्छ है ?” लालीवनले छोरीलाई फकाउन खोज्यो ।

“भोलि बिहानै निस्क्यो भने त, तल बजारमा २, ४ वटा भारीको काम पनि पाइन सक्छ, साइकल बन्ने बेलासम्म त २, ४ सय कमाइ पनि हुन्छ ।” मंगलीलाई पनि सुनाउन अलि चर्को स्वरमा बोल्यो लालीवन ।

“हुन्छ हुन्छ,” मंगली भान्साबाट बोली ।

बाउ छोरी दुवै भित्र छिरे ।

भोलिपल्ट बिहानै लालीवन साइकल बोकेर तल बजार झर्यो । आज सुब्बिनी काकीले बोलाएकी थिइन् मंगलीलाई । खाना खाएर सलिना पनि आमाको पछि पछि लागी । यसरी बिदाको दिन पनि डुल्न छोडेर आफूसँग आएको देखेर मंगली दंग परी । बिहान पनि केही नभनी आमालाई सबै काम सघाई । सुब्बिनी काकीकोमा पनि सकेको सघाई । त्यो देखेर मंगली सिमलको भुवा जस्तै हलुंगो भई । छोराछोरीहरू आफूसँग हुँदा बा आमा हलुंगा हुन्छन् । छोराछोरीले छोडेका बा आमाहरू पिँढीको जाँतो जस्तै गह्रुंगा भएर समयसँगै एकै ठाउँमा रिंगिरहन्छन् तर सर्न सक्दैनन् र सर्न मान्दैनन् । एउटा बोझ, ग्लानी र पश्चाताप बोकेर आनो हातोमा सन्तानको हातको आश गर्दै त्यही पिंढीमा गाडिइरहन्छन् ।

सुब्बिनी काकीकोमा खाजा खाएर आमा छोरी ३ बजेतिर घर फर्के ।

“आज मौसम त्यति राम्रो छैन, बिहानदेखि बदली भैरहेको छ,” बिहान सुब्बिनी काकीले धुने कपडा दिँदा भन्दै थिइन् ।

“ठूलो हावाहुरी आउला जस्तो छ,” घरको आँगनबाट पश्चिमतिर हेरेर मंगली बोली ।

एकैछिनमा ठूलो हुरी आयो । हुरीको आवाज त्यसमा जस्ताको थर्काई, आमाछोरी एउटै ज्यान भए ।

लगत्तै मुसलधारे पानी पर्यो । मंगलीलाई लोग्नेको चिन्ताले सताउन लाग्यो ।

“गाँउ छिरेको भए त ओत लाग्ने ठाँउ भेट्थे नि, जंगलमा त कतै ओत लाग्ने ठाउँ पनि छैन ।”

छोरी आमाको काखमा डरले डल्लो परेर बसी ।

बाहिरको हावाहुरी र पानीले मंगली भित्रबाटै रुझी, लोग्नेको चिन्ताले हुरुक्क भई । लोग्नेको असाध्यै माया लागेर आयो । कता पुगे होलान् ? के भयो होला ? बज्न त भर्खर ४ बज्दै होला तर बाहिरको अन्धकारले आमाछोरी दुवैलाई खर्लप्प निल्यो । आमाको अनुहारमा देखिएको छटपटी सलिनाले बुझी । छातीबाट सबै महसुस गरी । सलिना झन् डराई । छोराछोरीले आफ्ना रंग, घाम जुनका लुकामारी, वर्षा र इन्द्रेणी, मौसम सबै सबै आफ्नै बा आमामा देखिरहन्छन् ।

“मंगली ढोका खोल त ।”

मंगलीले सुन्ने बित्तिकै छामछुम गर्दै ढोका खोली । बाहिर बिजुलीको प्रकाशमा साइकल बोकेर निथ्रुक्क भिजेको लालीवन देखी मंगलीले । एक्कासी लालीवनलाई देखेर अंगाली र एक झर्को रोई । लालीवनको भिजेको छातीमा केही नुनिला पानी मिसिए । बाहिरको पानीसँगै मंगली पनि मत्थर हुँदै गई ।

दुवैजना भित्र छिरे । लालीवनले अध्याँरोमा नै साइकल यसो बिसायो । बिजुलीको प्रकाशमा अलि अलि साइकल देखी सलिनाले ।

“यो बेमौसमी झरीले दिनु दु:ख दियो नि, भर्खर ५ जति बजेको होला” लालीवन फतफतायो ।

“धन्न आइपुगेछौ, यसरी भिज्नु भन्दा त कतै ओत लागेको भए पनि त हुन्थ्यो ।”

“हावा मात्र होला भनेर हिँडेको, पानीमा भिजिहालियो, अब भिजेपछि भिजिरहन के को डर भनेर हिँडेँ खुरुखुरु ।”

आमा, बाको गफमा भुल्दै गर्दा सलिना भने साइकल राखेको ठाउँमा आँखा अड्याइराखेकी थिई ।

कपडा फेरेर मंगलीले टुकी बाली, अनि लगत्तै आगो पारी ।

“आगो सेक, चिसो लाग्ला ।”

टुकी र आगाको उज्यालोले घर धपक्क बल्यो । सँगसँगै सलिना पनि उज्याली भई । बाले राखेको साइकललाई उसले एक टक हेरिरही । हिजोको बेरुप र बेढंगको साइकल आज नयाँ सिट, नयाँ स्ट्याण्ड, चेन हालेर झल्लर भिरेर झिल्के देखिएको थियो । त्यो देखेर सलिना बाबाको काखमा गएर बसी । अनुहारमा खुशीसँगै एउटा सन्तुष्टि थियो सबैजनामा ।

”भारी पायौ त आज ?”मंगलीले सोधी ।

“बजार भनेको बजार नै हो, कामचाहिँ पाइने । पहिले पो बजार पनि सानो थियो, अहिले बढेर आफैँ हराइएला जस्तो, घरि घरि त बजारमा नै झर्न पर्छ जस्तो लाग्छ मलाई त मंगली ।”

“तिमी पनि के के कुरा गर्छौ गर्छौ, छोड यस्ता कुरा जे जे सकिन्छ गरौँला ।”

भोलिबाट सलिना झन् फुरुक्क भई । चलाउन नजाने पनि साइकल पहिलेभन्दा सजिलो भयो र हेर्दा पनि राम्रो देखियो । स्कुल जाँदा, आउँदा अनि स्कुलमा पनि सबैजना सलिनासँगै हिँड्ने खेल्ने गर्न थाले । सलिना जहाँ गए पनि साइकल लिएर जान्थी । सलिना पहिले भन्दा झन् ज्ञानी र सहज हुन थाली । घरमा, स्कुलमा अनि साथीहरूमा सबैको प्यारो हुन थाली । त्यो देखेर लालीवन र मंगली झन् खुशी हुन्थे ।

सलिनाको त्यस्तो साइकलमोह देखेर एक दिन साँझमा लालीवनले मंगलीलाई भन्यो ।

“मंगली, हाम्री छोरी यो साइकल पाएपछि त कति फरुङ्ग भई है !”

“के गरोस् त, उसको साथी भनेकै त्यही साइकल त भयो । त्यो नहुने बेलासम्म कोही साथी छैनन् भन्थी, अहिले कसैले छोड्दैन सलिनालाई ।”

“त्यो त उसलाई भन्दा पनि उसको साइकललाई होला नछोडेको, साइकल नभएको दिन फेरि उस्तै त होला ।”

“अब घरमा भाइ बैनी भैदिएको भए त्यस्तो एक्लो हुन्थिन होला ।” मंगली उदास भई । कता कता मंगलीको आँखाको चेप रसाए ।

“फेरि त्यही कुरा, अर्को त कसरी हुन्छ त, सलिनाकै बेलामा झण्डै ज्यान गाको थियो । के भन्नुभा’को थियो डाक्टरले थाहा छ नि, अर्को बच्चा पाउने त सोच पनि नराख्नू ।”

“त्यही त गाह्रो भयो नि हामीलाई, अर्को छैन, जे भने पनि यही एउटी त भई ।” मंगली दु:खी भई ।

“यो दुनियाँमा कसलाई दु:ख छैन, हामी आफूसँग नभएको खोज्ने र पाउन नसकिने कुराको लोभले गर्दा सधैँ दु:खी हुन्छौँ । कसलाई सबै पुगेको होला र, धन हुनेहरूसँग चैन नहोला । चैन छ भन्नेहरू धनी नहोलान् । एउटै सन्तान नहुनेहरूका अगाडि त हामीलाई स्वर्ग छ नि ।” लालीवन मंगलीलाई बुझाउन खोज्यो ।

“अब त्यही साइकल साथी भो सलिनालाई पनि,” लालीवनले थप्यो ।

यत्तिकैमा असिन पसिन भएर हँसिलो मुहारमा सलिना घर आउँछे ।

“मेरी छोरीलाई अब त साइकल चलाउन पनि आइसक्यो होला है, अब बाबालाई कहिले सिकाउने त ?”

“कसले सिकाइदिन्छ र आउनु, तिमी जहिले पछि पछि भन्छौ, साथीहरू जतिबेला पनि मलाई देऊ भनेर हैरान बनाउँछन् ।” बनावटी रिस मिसाएर सलिना बोली ।

“पछि सिकाइदिन्छु नि, तर सधैँ साइकल चलाएर मात्र त हुँदैन है, पढ्नु पनि पर्छ ।”

“हवस्” भन्दै सलिना भित्र गई । लालीवन र मंगली मुसुमुसु हाँसिरहे ।

शुक्रबारको दिन बिहानै लाहुरे दाइको सामान लिन भनेर लालीवन तल सिंगटी बजार झर्यो । स्कुल जाने बेलामा साइकल निकाल्न लागेकी सलिनालाई मंगलीले भनी, “सधैँ त लैजान पर्दैन भो साइकल, चलाउन जान्नु छैन किन तल माथि गर्नु त्यो पनि आज टिफिनमा छुट्टि हुने दिन ।”

”सधैं त लगेको छैन भो, अस्ति मंगलबार पनि तिमी घरमा हुँदा छोडेर गाको हैन ?”

“आज पनि म कतै जान्न, पर्दैन लैजान ।”

आमासँग धेरै नबोली साइकल छोडेर सलिना स्कुल गई । स्कुल जाँदा, पढ्दासम्म पनि सलिना छट्पटिई । सलिनाको साइकल उसको एउटा महत्त्वपूर्ण अङ्ग बनिसकेको थियो । एउटा बानी बनिसकेको थियो । जिन्दगी पनि समय समयमा बस्ने बानीहरूको एउटा सिलसिला त रहेछ ।

छुट्टि हुने बित्तिकै सलिना सबै साथीहरूलाई छोडेर घर फर्की । घर पुग्नै लाग्दा सलिनाले आफ्नो घरको आँगनमा छिमेकीहरू जम्मा भएको देखी । ऊ भित्रै बाट आत्तिई र घरको ढोका छेउ अढेस लगाएर बसेकी आमा छेउ पुगी । आमा अधेँरो मुख लगाएर बसिरहेकी थिई । छोरीलाई आफ्नो छेउमा देखेपछि मंगली रुदैं सबै कुरा भनी ।

”हाम्रोमा साइकल छ भन्ने थाहा पाएर आएका रहेछन्, उनीहरूकै साइकल रहेछ छोरी, उनीहरूले तेरो साइकल लिएर गए ।”

कुरा बुझेपछि बिस्तारै जम्मा भएका छिमेकी आ–आफ्नो घरतिर लागे ।

तर साइकल लिएर गएको कुराले सलिनालाई भित्रैबाट चिरा चिरा बनायो । ऊ जडवत् भई, आमासँगै बसी तर केही बोलिन, कत्ति पनि रोइन । लाग्यो कसैले उसको आफ्नै ज्यानको केही अंश लतारेर गइरहेको छ । तर, अँह केही गरिन । भित्री गहिरो चोटले बाहिरी पीडा कम दिने रहेछ । लालीवन घर फर्क्यो, मंगलीले सबै सुनाई । लालीवनले लामो सुस्केरा हाल्यो ।

“अर्काको सामानमा, हामीले पनि लोभ नगर्नुपर्ने ” मंगली हताश भावमा बोली ।

”पन्ध्र दिन जति भैसक्यो, यतिका दिन पछि पनि आउँछन् भनेर कसलाई थाहा थियो त” लालीवनले चित्त बुझायो ।

“कसरी थाहा पाएछन् त, हाम्रोमा छ भन्ने ”थप्यो लालीवनले ।

“हिजो सिंगटी बजारमा थाहा पाएम भन्थे, पल्लो गाउँका हुन् रे, मैले पनि चिनिनँ, साइकल लैजाने कुरा गरेपछि केही बोल्न मन लागेन, छोरी स्कुलबाट आउन लागेकी छ, मन दुखाउँछे ऊ आउने बेलासम्म बसेर लैजानुहोला नि भनेको, हतार छ भनेर मानेनन् ।” मंगलीले रुन्चे हुँदै भनी ।

“आजसम्म भएको साइकल भोलि नहुँदा के भन्छन् होला गाउँलेले, अब भेट्टाएको भन्दा पनि पत्याउँदैनन्” लालीवन चिन्तित भयो ।

संगै बसेकी सलिनाले सबै बेलिविस्तार सुनी, केही पनि नभनि घर भित्र गई । साइकल गएको भन्दा पनि छोरीको शून्यताले दुवैलाई पोलिरह्यो । नबोलेरै, नरोएरै सलिनाले सबै पीडा लुकाई । उनीहरू महसुस गर्न सक्थे उसको एकाकीपन । त्यो साँझ, घरमा शोकको माहोल थियो । सधैँ देखिने जून पनि आज सलिनाको पीडा हेर्न परेको दु:खमा बादलले मुख छोपेर बसेको थियो ।

भोलिपल्टदेखि लालीवन र मंगलीको दैनिकी त केही सहज भयो । मनमा केही दु:ख भए पनि जिन्दगी त चलाउनै पर्यो तर सलिनाका दिन सहज भएनन् । पहिलो कुरा त उसको दैनिकीको सबैभन्दा नजिकको साथी हराएको थियो र ऊसँगै हराएका थिए उसका गाउँका साथीहरू पनि । हरेक साथीको हेराईमा आफूमाथि एउटा प्रश्न पाउँथी तर त्यसको ऊसँग केही उत्तर थिएनन् । त्यसैले कसैसँग बोल्दिनथी । घर आउन नखोज्ने सलिना आजभोलि घरबाट बाहिर निस्किन खोज्दिनथी । यो देखेर मंगली र लालीवन झन् चिन्तित हुन्थे । घरमा हुँदा घर नै उज्यालो हुने एउटै मात्र सन्तानको आज यो हालत देखेर झन् दु:खी हुन्थे । बाहिरबाट हेर्दा सबै सामान्य देखिन्थी तर भित्रभित्रैबाट ऊ गलिसकेकी थिई । यो कुरा दुवैले बुझेका थिए ।

“हेर त, यो घर कस्तो थियो कस्तो भयो, हामीले नै भनेको होइन मन बस्ने ठाउँ घर भनेर, सलिनाको मन नै यहाँ छैन,” एक रात मंगलीले रुञ्चे स्वरमा लालीवनलाई भनी ।

लालीवन फ्यालको चेपबाट आएको जुनेली हेरेर टोलाइरह्यो । मंगलीको आँखाको डिल भत्काउँदै झरेको आँसुले लालीवनलाई कोषौं पर पुर्यायो । मंगली थाकेर निदाएको धेरै बेरपछि टोलाइरहेको लालीवन निदायो । जून पनि बादल भित्रै निदायो ।

भोलिपल्ट, पण्डित बाको घरमा हुन लागेको पूजाका लागि सामान बोक्न लालीवन बजार झर्यो । बिहानैदेखि मंगली अलिनो देखिई । सधैँभन्दा ढिलो उठी । सलिनाले आमालाई सञ्चो नभएको मेसो पाई । बाबा पनि बिहानै बजार गएको थाहा पाएर सलिना आज स्कुल नगई घरै बस्ने जिद्दी गरी । आमाले केही भनिन । आमालाई भान्सामा सघाई । आमासँगै बसी । औषधी खोजेर ल्याइदिई । बेलुकी मंगली अलि तंग्रिई । छोरीको मायाले निको बनायो कि औषधिले मंगलीले थाहा पाइन । बेलुका भैसकेको थियो, लालीवन आइपुगेन । छोरीले बाको न्यास्रो मानी ।

“आमै, बा कति बेला आउँछन् ?”

“आउलान् नि अब, काम धेरै भयो होला । भोक लागेको होला, तँ भात खाएर पढ्न बस् ।”

“म बा आएसि खान्छु, बरु पढेर बस्छु ।”

ओछ्यानमा ढल्किएर पढेकी सलिना एकछिनमा भुसुक्क भई ।

भुसुक्क भएकी सलिनाले धेरै पछि साइकलमा गाउँ डुलेको, तल बजार झरेको सपना देखी । सपनामा साइकल चलाउँदा चलाउँदै सुनेको कल्याङबल्याङले सलिनाले आँखा खोली । आँखा खोल्दा भान्सामा बा आमा गफ गरेको देखी । बाबा भन्दै काखमा गएर लालीवनलाई अंगाली । बाबाको अंगालोबाट जब उसले आँखा खोली, चिमको मधुरो उज्यालोमा ढोकाछेउमा एउटा रातो साइकल देखी । साइकल देखेर झन् अंगालो कसेर पानीको भार थाम्न नसकेको कालो बादल वर्षिए जस्तो रोई सलिना, मनको बाँध फुटाएर आफूलाई हलुंगो बनाई ।

सलिना रोएको देखेर लालीवन र मंगली अचम्ममा परे । उसको आँसु कस्तो हो ? पुरानो साइकल गुमाउनु पर्दाको दु:खको कि नयाँ साइकल पाउँदाको खुशीको ?

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.