काठमाडौं । नेपाली कथा साहित्यमा पुनर्जागरण ल्याउने उद्देश्यसहित सञ्चालन हुँदै आएको मासिक कथावाचन कार्यक्रमको ३१औँ शृङ्खला सम्पन्न भएको छ ।
२०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौंमा आयोजना हुँदै आएको कार्यक्रमअन्तर्गत यसपटक जेठ २९ गते कथाकार बालकृष्ण सम्शेरको स्मृतिमा उहाँको कथा ‘पराइघर’ वाचन गरेर कार्यक्रम शुरू गरिएको थियो । १९९२ सालमा प्रकाशित ऐतिहासिक साहित्यिक पत्रिका ‘शारदा’ मासिकबाट उक्त कथा कथाकार शैलेन्द्र साकारले वाचन गर्नुभएको थियो ।
त्यसपछि कथाकार गोविन्द गिरी प्रेरणा र माया ठकुरीले चालिसको दशकमा प्रकाशित आफ्ना कथा वाचन गर्नुभएको थियो । गोविन्द गिरी प्रेरणाले २०४४ सालमा ‘गरिमा’ पत्रिकामा प्रकाशित तथा पछि ‘यात्राः अनन्त’ कथासङ्ग्रहमा समावेश ‘निगार’ कथा प्रस्तुत गर्नुभयो । माया ठकुरीले आफ्नो कथासङ्ग्रह ‘माया ठकुरीका कथाहरू’ मा सङ्गृहीत ‘पचास वर्षपछि’ शीर्षकको कथा वाचन गर्नुभयो ।
कार्यक्रमको शुरुवातमा अभियानका परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले सहभागीहरूको स्वागत गर्दै कथाकारद्वयको परिचय गराउनुभएको थियो । उहाँले हालसम्म २०२० को दशकदेखि २०७० को दशकसम्म प्रकाशित विभिन्न कथाहरू कथाकार स्वयंले वाचन गरिसकेको जानकारी दिनुभयो । पुराना र नयाँ पुस्ताका कथाकारलाई एउटै मञ्चमा जोड्ने अभियानले सकारात्मक परिणाम दिएको उहाँको भनाइ थियो ।
कथा वाचनपछि श्रोताहरूले राखेकाे जिज्ञासाको जवाफ दिँदै माया ठकुरीले आफ्नो कथा ‘पचास वर्षपछि’ कल्पनाभन्दा यथार्थ घटनामा आधारित रहेको बताउनुभयो । गोविन्द गिरी प्रेरणाले लेखकले समय र जीवनलाई केन्द्रमा राखेर लेख्ने उल्लेख गर्दै ‘निगार’ कथा भोजपुर यात्राका क्रममा देखेका र भोगेका यथार्थ अनुभवबाट जन्मिएको बताउनुभयो ।
कार्यक्रमको समापनमा अभियानका अर्का परिकल्पनाकार पुष्कर लोहनीले नेपाली कथा साहित्यमा पुनर्जागरण ल्याउने उद्देश्यले शुरू गरिएको अभियान कथाकार र पाठकमाझ लोकप्रिय बन्दै गएको बताउनुभयो । उहाँले पुराना र नयाँ पुस्ताका कथाकारलाई एउटै मञ्चमा उभ्याएर पुस्ताबीच संवाद र आत्मीयता विस्तार गर्न कार्यक्रम सफल भएको धारणा राख्नुभयो ।
कार्यक्रममा कथाकारका अतिरिक्त कथा विधाप्रति रुचि राख्ने पाठक तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
शुकदेव उपाध्यायले सञ्चालन गर्नुभएको कार्यक्रम साहित्यकार पुष्कर लोहनीको निवासस्थित सभाकक्ष, डिल्लीबजार–घट्टेकुलोमा सम्पन्न भएको थियो ।

