धेरै दिनदेखि नबजेको ल्याण्डलाइन फोन अचानक बज्यो ।
पुरानो भइसकेको त्यो फोनको अब खासै प्रयोग हुँदैनथ्यो— तर हटाइहाल्न मनले मानेको थिएन । महीनामा दुई–चारवटा कल आउँथे त्यसमा । अरु बेला चुपचाप बैठक कोठाको कुनामा पर्खिरहन्थ्यो ।
मेरो ध्यान भङ्ग गर्दै घन्टी फेरि बज्यो । घडीतिर हेरेँ— रातको नौ बजिसकेको थियो । पढ्दै गरेको किताब सिरानीमाथि राखेर उठेँ ।
यतिबेला को हुन सक्छ ?
“हेलो !”, अल्छी मान्दै फोन उठाएँ ।
“मैले त झन्डै फोन राखिसकेको,” उताबाट आवाज आयो, “यति चाँडै सुतिसकेकी थिएनौ नि ?”
मीठो, नरम, अपनत्वले भरिएको त्यो आवाज— तर चिन्न सकिनँ ।
“अहँ, छैन ।”
“स्वर त निदाउन लागिसकेको जस्तो सुनिन्छ…”, ऊ हाँस्यो । त्यो हाँसोमा हल्का जिस्काइ थियो, “मैले डिस्टर्ब त गरिनँ ?”
ऊ बोलिरहँदा म ध्यान दिएर सुनिरहेकी थिएँ । जति सुने पनि त्यो आवाज परिचित लागेन ।
एकातिर मेरो पढाइ भङ्ग भएको थियो, अर्कोतिर उसको त्यो सहज प्रश्न— मैले ‘रङ्ग नम्बर’ भनेर फोन राखिदिनुपर्ने थियो, तर राखिनँ ।
मेरो जवाफ नै नपर्खी उसले सोध्यो— “तिमीले निलेशको ‘पर्खाल’ किनिसक्यौ ?”
“छैन ।”
“नकिन्नु है । मसँग छ— भोलि दिन्छु ।”
म हाँसें ।
कति निश्चिन्त भएर कुरा गरिरहेको थियो ऊ । कुनै अपरिचितसँग कुरा गर्दै छु भन्ने थोरै भान पनि थिएन उसलाई ।
“तपाईंले शायद रङ्ग नम्बर डायल गर्नुभयो,” मैले सुस्तरी भनेँ ।
ऊ छक्क पर्यो, “तिमी दीपा हैनौ र ?”
“होइन नि ।”
फोनमा एकैछिन मौनता छायो— मानौं ऊ यकीन हुन खोजिरहेको थियो । लाइन काटिएको थिएन; उताबाट सानो स्वरमा गीत बजिरहेको सुनिन्थ्यो ।
“सरी… डिस्टर्ब गरें,” उसले अप्ठ्यारो मान्दै फोन राख्यो ।
मैले किताब फेरि उठाएँ— तर अक्षरहरू अर्थ बनेर मनसम्म आइपुग्न सकेनन् ।
उसको नरम, सुमधुर आवाज कानभित्र गुन्जिरह्यो । किन फोन राखिनँ मैले ? किन त्यो आवाज अलि धेरै बेर सुन्न मन लाग्यो ? शायद धेरै दिनपछि कसैले यसरी सहजै कुरा गरेको थियो मसँग— बिन्दास, आफ्नैजस्तो गरी । अपरिचितको आवाज यति आफ्नैजस्तो लाग्नु— के यो सामान्य हो ?
उचित हो कि होइन— मसँग कुनै स्पष्ट जवाफ थिएन ।
दिन बित्दै गए । अफिस, काम, मान्छेहरू— सबै पहिलेजस्तै । एक साँझ, साथीसँग फिल्म हेरेर घर फर्किएकी मात्र थिएँ— ल्याण्डलाइन फोन बज्यो ।
पहिले आफन्तको— भोजको निम्तो । फोन राखेपछि फेरि घन्टी बज्यो, तर केही सेकेन्डमै रोकियो ।
मैले हाँस्दै सोचेँ— “शायद फेरि कसैको रङ्ग नम्बर होला…”
फोन फेरि बजेन ।
खाना खाएपछि टहलिन म कौसीमा निस्किएँ । दिउँसो तातो बढ्न थाले पनि रात अझै चिसो नै थियो । सडकछेउका रुखहरू उँघिरहेका थिए । टाढासम्म फैलिएको बत्तीको उज्यालोमा शहर सुस्ताएको जस्तो देखिन्थ्यो ।
आकाशमा जून थिएन— मात्र साना–ठूला तारा टिल्पिलाइरहेका थिए ।
वरिपरिको शान्तिलाई चिर्दै भित्र कोठामा फोन बज्यो ।
फोन उठाएँ— “हेलो ।”
उताबाट केही आवाज आएन ।
“हेलो ?” मैले फेरि भनेँ ।
“म… रङ्ग नम्बर ।”, आवाज अलि नर्भस थियो ।
मैले हाँस्दै सोधेँ— “को रङ्ग नम्बर ?”
“अस्ति फोन गरेको थिएँ नि… किताबको कुरा गर्दै,” उसले सम्झायो ।
“दीपालाई भनेर ?”
“हो… नम्बर गलत परेको रहेछ ।”
“अनि आज ?”
“आज नम्बर सही डायल गरेको छु… एउटा कुरा सोध्न ।”
“सोध्नुस् न ।”
ऊ केही क्षण चुप रह्यो— मानौं सोधूँ कि नसोधूँ भन्ने दोधारमा ।
“तपाईंले त्यो दिन रङ्ग नम्बर भनेर बीचैमा फोन किन काट्नु भएन ?”
प्रश्न सरल थियो, तर जवाफ त्यति सजिलो थिएन ।
“त्यो बेला फोन राखिहाल्न उचित लागेन,” मैले भनेँ, “फेरि तपाईंले कुनै नराम्रो कुरा पनि त गर्नुभएको थिएन ।”
ऊ केहीबेर चुप रह्यो ।
“धन्यवाद… शुभरात्रि ।” उसले फोन राख्यो ।
त्यसपछि पनि उसको फोन आइरह्यो । दुई–चार दिन बिराएर । कहिले छोटो, कहिले लामो ।
हामीले न नाम सोध्यौँ, न परिचय खोज्यौँ । बिना भूमिका— सिर्फ आवाजले नै सम्बन्धलाई अगाडि बढाइरहेको थियो ।
ऊ आवाज पढ्न निकै माहिर थियो । म कम बोलेको दिन ऊ तुरुन्तै बुझ्थ्यो— “आज तपाईंलाई पक्कै केही भएको छ है ?”
खै ऊ कसरी बुझ्थ्यो यो !
समयसँगै संवादहरू बदलिँदै गए । नाम, ठेगाना, अनुहार— यी सबै अझै पनि मेरा लागि अपरिचित थिए तर उसको मीठो आवाज परिचय बनेर मभित्र गहिरिंदै थियो । कहिलेकाहीँ सोच्दा हाँसो उठ्थ्यो– र त्यो सँगै मिसिएर अव्यक्त डर पनि लाग्थ्यो ।
एक दिन मौसम एक्कासि बिग्रियो । बिहानदेखि कालो बादल मडारिरह्यो, हावाहुरी चलिरह्यो । साँझ पर्न नपाउँदै आँधीले झरीसँगै विकराल रूप लिन थाल्यो । बाहिर बहिरहेको हावाको वेगले झ्यालका काँच काँपिरहेका थिए । भित्रको डर, बाहिरको अँध्यारोसँग मिसिएर अझ गहिरिँदै थियो ।
कतै कापबाट छिरेको हुरीको तीखो आवाज साँची नै भयानक थियो, मानौं कुनै डरलाग्दो फिल्मको दृश्य चलिरह्यो । म सोफामा चिन्तित बसिरहेकी थिएँ । दृष्टि भने बारम्बार फोनतिर गइरहेको थियो ।
म प्रतीक्षा गरिरहेकी थिएँ— एउटा रङ्ग नम्बरको ।
अचानक— घन्टी बज्यो । पहिला त त्यो आवाज वास्तविक हो कि भ्रम— छुट्याउन गाह्रो पर्यो ।
फेरि घन्टी बज्यो । फोन उठाएँ ।
“म… रङ्ग नम्बर,” केही भन्नु अघि उसैले पहिले बोल्यो ।
“आज ढिलो भएन र ?” मैले सोधेँ । घडीमा दश नाघिसकेको थियो ।
ऊ हाँस्यो— तर त्यो हाँसो पहिलेको जस्तो थिएन ।
“यदि फेरि…”, उसको आवाज बीचैमा टुट्यो ।
“फेरि के ?” मैले हतारिँदै सोधेँ ।
हुरीको आवाजबीच बोली प्रस्ट थिएन । लाइन पनि चिर्चिर गर्दै थियो ।
“यदि फेरि फोन…”, ठूलो चट्याङको आवाजसँगै वाक्य अधुरै रह्यो ।
“हेलो ? हेलो !”
कानमा मेरो आफ्नै आवाज मात्र फर्कियो । शायद उताको लाइन काटियो । एकैछिनमा मेरो फोनमा पनि कुनै आवाज आएन । बाँकी रह्यो— बस् एउटा गहिरो शान्ति ।
त्यसपछि फोन कहिल्यै बजेन । पछि थाहा भयो, आँधीले धेरै लाइनहरू बिगारेछ ।
एक दिन आमाले भन्नुभयो— “यो फोन हटाइदिऊँ अब ।”
मैले केही भनिनँ ।
ल्याण्डलाइन फोन हटेको पनि धेरै भइसक्यो । त्यो कुनामा अब केवल रिक्तता बाँकी थियो– बेनाम रिक्तता ।
“त्यो केवल एउटा रङ्ग नम्बर थियो,” मैले आफूलाई सम्झाउन खोजेँ, “शायद केही सम्बन्ध अधुरा हुन लेखिएका हुन्छन् ।”
झरिपछि घाम, हिउँदपछि गर्मी– समय बगाइसँग दिनहरू महीनामा, महीना वर्षमा बदलियो ।
जीवन आफ्नै लयमा अघि बढिरह्यो— तर कहिलेकाहीँ अनायास त्यो आवाज सम्झनामा गुन्जिन आइपुग्थ्यो— अधुरो वाक्यजस्तो गरी ।
एक दिन एउटा किताब पसलमा थिएँ । नयाँ–पुराना किताबहरूको ठूलो प्रदर्शनी लागेको थियो ।
भीडभित्र सबै आफ्ना मनपर्ने किताबका पाना पल्टाइरहेका थिए । कागजको गन्ध र हल्का कोलाहलमा त्यहाँ छुट्टै संसार देखिन्थ्यो ।
मैले एउटा किताब उठाएँ— “पर्खाल” ।
औँलाले छोइएको त्यो आवरणको नाममा पुरानो सम्झना थियो ।
“त्यो किताब… राम्रो छ,” छेउबाट आवाज आयो ।
परिचितझैँ लाग्यो । आवाजतिर फर्किएँ । अपरिचित अनुहारभित्रको परिचित पहिचान— त्यो उही आवाज थियो ।
केही बेर हामी दुबै बोलेनौँ ।
“रङ्ग नम्बर ?”, मैले मुस्काउँदै सोधेँ ।
ऊ पनि हाँस्यो— उसको उही चिरपरिचित शैली, स्वाभाविक हाँसो । सम्झनाहरू जोड्न त्यहाँ हामीलाई कुनै परिचय आवश्यक परेन । बस्, त्यो पुरानो आवाजको कडी नै पर्याप्त थियो ।
“यत्तिका वर्षपछि पनि चिनिहाल्नुभयो ?”
“कुनै कुनै आवाज सम्झनामा रहिरहन्छन् ।” मैले जवाफ दिएँ ।
“तपाईंलाई थाहा छ ?” उसले फेरि भन्यो, “त्यो आँधीपछि धेरै दिनसम्म मैले त्यही नम्बरमा फोन गर्ने कोशिश गरिरहेँ ।”
मन हल्का काँप्यो । “तर त्यो फोन त हटिसक्यो ।” मैले बिस्तारै भनें ।
“शायद त्यसैले— केही कुरा खोज्दा पनि भेटिँदैनन्,” ऊ मुस्कायो ।
जानुअघि उसले त्यही किताब किन्यो र मेरो हातमा दियो, “यसपटक तपाईंलाई किताब दिन ढिला भएन ।”
पाना पल्टाएँ । भित्र लेखिएको थियो, “सप्रेम सम्झना सहित — रङ्ग नम्बर”
परसम्म नजर दौडाएँ- ऊ भीडभित्र हराइसकेको थियो । यसपटक भने केही पनि अधुरो लागेन ।
ती अक्षरहरूमाथि बसेको उसको उपस्थिति— एउटा आवाज बनेर रहिरह्यो ।
मलाई लाग्यो— सबै रङ्ग नम्बर गलत कहाँ हुन्छन् र ? बस् आशय गलत हुनु हुँदैन । त्यसैले त— ती सम्झनामा मात्रै बाँच्दा पनि निकै मीठा हुन्छन् ।

