साहित्यपोस्ट डट कम

कथा : रङ्ग नम्बर

कथा : रङ्ग नम्बर

धेरै दिनदेखि नबजेको ल्याण्डलाइन फोन अचानक बज्यो ।

पुरानो भइसकेको त्यो फोनको अब खासै प्रयोग हुँदैनथ्यो— तर हटाइहाल्न मनले मानेको थिएन । महीनामा दुई–चारवटा कल आउँथे त्यसमा । अरु बेला चुपचाप बैठक कोठाको कुनामा पर्खिरहन्थ्यो ।

मेरो ध्यान भङ्ग गर्दै घन्टी फेरि बज्यो । घडीतिर हेरेँ— रातको नौ बजिसकेको थियो । पढ्दै गरेको किताब सिरानीमाथि राखेर उठेँ ।

यतिबेला को हुन सक्छ ?

“हेलो !”, अल्छी मान्दै फोन उठाएँ ।

“मैले त झन्डै फोन राखिसकेको,” उताबाट आवाज आयो, “यति चाँडै सुतिसकेकी थिएनौ नि ?”

मीठो, नरम, अपनत्वले भरिएको त्यो आवाज— तर चिन्न सकिनँ ।

“अहँ, छैन ।”

“स्वर त निदाउन लागिसकेको जस्तो सुनिन्छ…”, ऊ हाँस्यो । त्यो हाँसोमा हल्का जिस्काइ थियो, “मैले डिस्टर्ब त गरिनँ ?”

ऊ बोलिरहँदा म ध्यान दिएर सुनिरहेकी थिएँ । जति सुने पनि त्यो आवाज परिचित लागेन ।

एकातिर मेरो पढाइ भङ्ग भएको थियो, अर्कोतिर उसको त्यो सहज प्रश्न— मैले ‘रङ्ग नम्बर’ भनेर फोन राखिदिनुपर्ने थियो, तर राखिनँ ।

मेरो जवाफ नै नपर्खी उसले सोध्यो— “तिमीले निलेशको ‘पर्खाल’ किनिसक्यौ ?”

“छैन ।”

“नकिन्नु है । मसँग छ— भोलि दिन्छु ।”

म हाँसें ।

कति निश्चिन्त भएर कुरा गरिरहेको थियो ऊ । कुनै अपरिचितसँग कुरा गर्दै छु भन्ने थोरै भान पनि थिएन उसलाई ।

“तपाईंले शायद रङ्ग नम्बर डायल गर्नुभयो,” मैले सुस्तरी भनेँ ।

ऊ छक्क पर्‍यो, “तिमी दीपा हैनौ र ?”

“होइन नि ।”

फोनमा एकैछिन मौनता छायो— मानौं ऊ यकीन हुन खोजिरहेको थियो । लाइन काटिएको थिएन; उताबाट सानो स्वरमा गीत बजिरहेको सुनिन्थ्यो ।

“सरी… डिस्टर्ब गरें,” उसले अप्ठ्यारो मान्दै फोन राख्यो ।

मैले किताब फेरि उठाएँ— तर अक्षरहरू अर्थ बनेर मनसम्म आइपुग्न सकेनन् ।

उसको नरम, सुमधुर आवाज कानभित्र गुन्जिरह्यो । किन फोन राखिनँ मैले ? किन त्यो आवाज अलि धेरै बेर सुन्न मन लाग्यो ? शायद धेरै दिनपछि कसैले यसरी सहजै कुरा गरेको थियो मसँग— बिन्दास, आफ्नैजस्तो गरी । अपरिचितको आवाज यति आफ्नैजस्तो लाग्नु— के यो सामान्य हो ?

उचित हो कि होइन— मसँग कुनै स्पष्ट जवाफ थिएन ।

दिन बित्दै गए । अफिस, काम, मान्छेहरू— सबै पहिलेजस्तै । एक साँझ, साथीसँग फिल्म हेरेर घर फर्किएकी मात्र थिएँ— ल्याण्डलाइन फोन बज्यो ।

पहिले आफन्तको— भोजको निम्तो । फोन राखेपछि फेरि घन्टी बज्यो, तर केही सेकेन्डमै रोकियो ।

मैले हाँस्दै सोचेँ— “शायद फेरि कसैको रङ्ग नम्बर होला…”

फोन फेरि बजेन ।

खाना खाएपछि टहलिन म कौसीमा निस्किएँ । दिउँसो तातो बढ्न थाले पनि रात अझै चिसो नै थियो । सडकछेउका रुखहरू उँघिरहेका थिए । टाढासम्म फैलिएको बत्तीको उज्यालोमा शहर सुस्ताएको जस्तो देखिन्थ्यो ।

आकाशमा जून थिएन— मात्र साना–ठूला तारा टिल्पिलाइरहेका थिए ।

वरिपरिको शान्तिलाई चिर्दै भित्र कोठामा फोन बज्यो ।

फोन उठाएँ— “हेलो ।”

उताबाट केही आवाज आएन ।

“हेलो ?” मैले फेरि भनेँ ।

“म… रङ्ग नम्बर ।”, आवाज अलि नर्भस थियो ।

मैले हाँस्दै सोधेँ— “को रङ्ग नम्बर ?”

“अस्ति फोन गरेको थिएँ नि… किताबको कुरा गर्दै,” उसले सम्झायो ।

“दीपालाई भनेर ?”

“हो… नम्बर गलत परेको रहेछ ।”

“अनि आज ?”

“आज नम्बर सही डायल गरेको छु… एउटा कुरा सोध्न ।”

“सोध्नुस् न ।”

ऊ केही क्षण चुप रह्यो— मानौं सोधूँ कि नसोधूँ भन्ने दोधारमा ।

“तपाईंले त्यो दिन रङ्ग नम्बर भनेर बीचैमा फोन किन काट्नु भएन ?”

प्रश्न सरल थियो, तर जवाफ त्यति सजिलो थिएन ।

“त्यो बेला फोन राखिहाल्न उचित लागेन,” मैले भनेँ, “फेरि तपाईंले कुनै नराम्रो कुरा पनि त गर्नुभएको थिएन ।”

ऊ केहीबेर चुप रह्यो ।

“धन्यवाद… शुभरात्रि ।” उसले फोन राख्यो ।

त्यसपछि पनि उसको फोन आइरह्यो । दुई–चार दिन बिराएर । कहिले छोटो, कहिले लामो ।

हामीले न नाम सोध्यौँ, न परिचय खोज्यौँ । बिना भूमिका— सिर्फ आवाजले नै सम्बन्धलाई अगाडि बढाइरहेको थियो ।

ऊ आवाज पढ्न निकै माहिर थियो । म कम बोलेको दिन ऊ तुरुन्तै बुझ्थ्यो— “आज तपाईंलाई पक्कै केही भएको छ है ?”

खै ऊ कसरी बुझ्थ्यो यो !

समयसँगै संवादहरू बदलिँदै गए । नाम, ठेगाना, अनुहार— यी सबै अझै पनि मेरा लागि अपरिचित थिए तर उसको मीठो आवाज परिचय बनेर मभित्र गहिरिंदै थियो । कहिलेकाहीँ सोच्दा हाँसो उठ्थ्यो– र त्यो सँगै मिसिएर अव्यक्त डर पनि लाग्थ्यो ।

एक दिन मौसम एक्कासि बिग्रियो । बिहानदेखि कालो बादल मडारिरह्यो, हावाहुरी चलिरह्यो । साँझ पर्न नपाउँदै आँधीले झरीसँगै विकराल रूप लिन थाल्यो । बाहिर बहिरहेको हावाको वेगले झ्यालका काँच काँपिरहेका थिए । भित्रको डर, बाहिरको अँध्यारोसँग मिसिएर अझ गहिरिँदै थियो ।

कतै कापबाट छिरेको हुरीको तीखो आवाज साँची नै भयानक थियो, मानौं कुनै डरलाग्दो फिल्मको दृश्य चलिरह्यो । म सोफामा चिन्तित बसिरहेकी थिएँ । दृष्टि भने बारम्बार फोनतिर गइरहेको थियो ।

म प्रतीक्षा गरिरहेकी थिएँ— एउटा रङ्ग नम्बरको ।

अचानक— घन्टी बज्यो । पहिला त त्यो आवाज वास्तविक हो कि भ्रम— छुट्याउन गाह्रो पर्‍यो ।

फेरि घन्टी बज्यो । फोन उठाएँ ।

“म… रङ्ग नम्बर,” केही भन्नु अघि उसैले पहिले बोल्यो ।

“आज ढिलो भएन र ?” मैले सोधेँ । घडीमा दश नाघिसकेको थियो ।

ऊ हाँस्यो— तर त्यो हाँसो पहिलेको जस्तो थिएन ।

“यदि फेरि…”, उसको आवाज बीचैमा टुट्यो ।

“फेरि के ?” मैले हतारिँदै सोधेँ ।

हुरीको आवाजबीच बोली प्रस्ट थिएन । लाइन पनि चिर्चिर गर्दै थियो ।

“यदि फेरि फोन…”, ठूलो चट्याङको आवाजसँगै वाक्य अधुरै रह्यो ।

“हेलो ? हेलो !”

कानमा मेरो आफ्नै आवाज मात्र फर्कियो । शायद उताको लाइन काटियो । एकैछिनमा मेरो फोनमा पनि कुनै आवाज आएन । बाँकी रह्यो— बस् एउटा गहिरो शान्ति ।

त्यसपछि फोन कहिल्यै बजेन । पछि थाहा भयो, आँधीले धेरै लाइनहरू बिगारेछ ।

एक दिन आमाले भन्नुभयो— “यो फोन हटाइदिऊँ अब ।”

मैले केही भनिनँ ।

ल्याण्डलाइन फोन हटेको पनि धेरै भइसक्यो । त्यो कुनामा अब केवल रिक्तता बाँकी थियो– बेनाम रिक्तता ।

“त्यो केवल एउटा रङ्ग नम्बर थियो,” मैले आफूलाई सम्झाउन खोजेँ, “शायद केही सम्बन्ध अधुरा हुन लेखिएका हुन्छन् ।”

झरिपछि घाम, हिउँदपछि गर्मी– समय बगाइसँग दिनहरू महीनामा, महीना वर्षमा बदलियो ।

जीवन आफ्नै लयमा अघि बढिरह्यो— तर कहिलेकाहीँ अनायास त्यो आवाज सम्झनामा गुन्जिन आइपुग्थ्यो— अधुरो वाक्यजस्तो गरी ।

एक दिन एउटा किताब पसलमा थिएँ । नयाँ–पुराना किताबहरूको ठूलो प्रदर्शनी लागेको थियो ।

भीडभित्र सबै आफ्ना मनपर्ने किताबका पाना पल्टाइरहेका थिए । कागजको गन्ध र हल्का कोलाहलमा त्यहाँ छुट्टै संसार देखिन्थ्यो ।

मैले एउटा किताब उठाएँ— “पर्खाल” ।

औँलाले छोइएको त्यो आवरणको नाममा पुरानो सम्झना थियो ।

“त्यो किताब… राम्रो छ,” छेउबाट आवाज आयो ।

परिचितझैँ लाग्यो । आवाजतिर फर्किएँ । अपरिचित अनुहारभित्रको परिचित पहिचान— त्यो उही आवाज थियो ।

केही बेर हामी दुबै बोलेनौँ ।

“रङ्ग नम्बर ?”, मैले मुस्काउँदै सोधेँ ।

ऊ पनि हाँस्यो— उसको उही चिरपरिचित शैली, स्वाभाविक हाँसो । सम्झनाहरू जोड्न त्यहाँ हामीलाई कुनै परिचय आवश्यक परेन । बस्, त्यो पुरानो आवाजको कडी नै पर्याप्त थियो ।

“यत्तिका वर्षपछि पनि चिनिहाल्नुभयो ?”

“कुनै कुनै आवाज सम्झनामा रहिरहन्छन् ।” मैले जवाफ दिएँ ।

“तपाईंलाई थाहा छ ?” उसले फेरि भन्यो, “त्यो आँधीपछि धेरै दिनसम्म मैले त्यही नम्बरमा फोन गर्ने कोशिश गरिरहेँ ।”

मन हल्का काँप्यो । “तर त्यो फोन त हटिसक्यो ।” मैले बिस्तारै भनें ।

“शायद त्यसैले— केही कुरा खोज्दा पनि भेटिँदैनन्,” ऊ मुस्कायो ।

जानुअघि उसले त्यही किताब किन्यो र मेरो हातमा दियो, “यसपटक तपाईंलाई किताब दिन ढिला भएन ।”

पाना पल्टाएँ । भित्र लेखिएको थियो, “सप्रेम सम्झना सहित — रङ्ग नम्बर”

परसम्म नजर दौडाएँ- ऊ भीडभित्र हराइसकेको थियो । यसपटक भने केही पनि अधुरो लागेन ।

ती अक्षरहरूमाथि बसेको उसको उपस्थिति— एउटा आवाज बनेर रहिरह्यो ।

मलाई लाग्यो— सबै रङ्ग नम्बर गलत कहाँ हुन्छन् र ? बस् आशय गलत हुनु हुँदैन । त्यसैले त— ती सम्झनामा मात्रै बाँच्दा पनि निकै मीठा हुन्छन् ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.