साहित्यपोस्ट डट कम

कथा: राई सरको इन्साफ

कथा: राई सरको इन्साफ

३० वर्षे प्रहरीको जागिर अवधिका धेरै क्षण यादगार रहे । धेरै हाकिमहरूको मातहतमा बसेर काम गर्ने मौका पाइयो, तीमध्ये एकजना सहीसाबको प्राय सम्झना आइरहन्छ र उनीसँग सम्बन्धित एउटा घटनाले मलाई सधैँ रोमाञ्चित र सोच्न बाध्य बनाउँछ । माओवादी द्वन्द्व काल शुरु हुनु भन्दा अलिक अगाडिको कुरो हो, मेरो पोस्टिङ्ग सर्लाही जिल्लाको हरिवनमा भएको थियो । म हवल्दार थिएँ । चौकी इन्चार्ज खोटाङ् जिल्लाका एकजना राई थिए सही । रातोपिरो हल्का चिम्से आँखा अनि रसिक मिजासका थिए सहीसाब । गाउँको चौकी राजमार्ग छेउका जम्मा हामी १२ जना स्टाफ थियौँ । चौकी इन्चार्ज सहीसाबको कार्यशैली अलिक फरक र नौलो थियो । सिधासाधा, आँटिला र कविता साहित्यतिर पनि रुचि राख्ने सहीसाब प्रायः किताब पढिरहन्थे ।

“फाल्तु नलेज पनि चाहिन्छ केटा हो” उनले प्राय यसो भनिरहन्थे । आफ्नो निष्पक्ष, सरल र मिजासिलो र कडा स्वभावका कारण स्थानीय जनताहरूको नजरमा उनी निकै लोकप्रिय भएका थिए, उनको कार्यकालमा गाउँको शान्तिसुरक्षा एकदमै राम्रो र व्यवस्थित थियो, जसको प्रभाव पछिसम्म पनि रह्यो । निडर र हकी स्वभावका सहीसाबले एक से एक गुण्डागर्दी गर्ने स्थानीय दादाहरू, तस्करहरू र राजनैतिक पहुँचको धम्की दिनेहरूलाई तह लगाएर वाहवाही कमाएका थिए ।

एक दिन पुष महिनाको बिहान ९ बजेतिर एउटी महिला रुँदै रुँदै चौकी आइन् । मधेशी समुदायकी, नाम निधी यादव बताउने उनी हेर्दा त्यस्तै २०,२२ की देखिन्थिन् ।

“मेरो मागी विवाह भएको हो । विवाह भएको ६ महिना भयो । मेरा श्रीमान् सासू, ससुरा, नन्द, देवर सबैले दाइजोको निहुँमा मलाई बिहे भएर आएको ३ महिनादेखि नै गाली, बेइज्जती गर्न थालेको र पटकपटक कुटपिट पनि गर्दै आएकाले उनीहरूलाई कारवाही गरिपाऊँ भनेर उजुरी दर्ता गर्न आएको सर….” रुँलाझैँ गर्दै उनले भनिन् । सहीसाबले तत्काल उजुरी दर्ता गरी निजको परिवारबाट आरोपितहरूलाई पक्राऊ गरी ल्याउने आदेश दिए । एकैछिनमा सबैलाई उपस्थित गराइयो । सहीसाबले निधीको ससुरा र श्रीमानलाई निकैबेर सम्झाइबुझाई गरे । उनीहरूले अबदेखि त्यस्तो हिंसा नगर्ने कागजमा सहीछाप गरे ।

लगभग १ महिनापछि तिनै महिला फेरि उस्तै खाले उजुरी लिएर आइन् । यसपालि उनका साथमा आएका दुईजना उनका मामा र भाइ रहेछन् । यसपालि भने निधीको श्रीमानलाई १ रात हिरासतमा राखेपछि मिलापत्र गराएर छोडियो ।

करीब ३ महिनापछि फेरि पनि निधीकी आमा र भाइ आफ्नी छोरीलाई दाइजोको निहुँमा कुटपिट भएकाले न्याय पाऊँ भन्दै उजुरी दिन आए । यसपल्ट भने निधीका श्रीमान र देवरलाई ३ दिन थुनामा राखेर हल्का मर्मत गरेर अनि कागज गराएर छोडियो । सहीसाबले अन्तिम चेतावनी दिँदै दुवैलाई भने – “यो अन्तिम चोटी हो ! फेरि पनि यस्तो घटना दोहोरियो भने म के गर्छु त्यै बेला थाहा पाउँछस् …यत्रो शिक्षित परिवार भएर दाइजोको नाममा कुटपिट गर्न लाज लाग्दैन तिमरलाई ?” राई सर निकै रिसाएका थिए ।

निधीले एसएलसीसम्म गरेको र उनको मागी बिहे भएको रहेछ । उनका श्रीमान् कमलेशचाहीँ अलिक सम्पन्न जमिनदार परिवारको भएको र ओभरसियरसम्म पढेको अनि ठेकेदार कम्पनीमा काम गर्ने रहेछन् । ससुराचाहिँ गाउँकै पुरानो स्कुलको हेडमास्टर रहेको बुझियो । निधीको रूप रंग र सिधा सादा चरित्रले मागी बिहेसम्म कुरा पुगेको रहेछ । दाइजोमा मोटरसाइकल र १ लाख रुपैयाँ मागिएको रहेछ, निधीका बुबाले जसोतसो जुटाएर नगद ८० हजार दाइजो दिएका रहेछन् । त्यसबेला नयाँ मोटरसाइकलको करीब डेढ लाख जति पर्थ्यो ।

लगभग ६ महिनापछि, “अब त्योसँग बस्न नसक्ने” भन्दै निधी माइतीपट्टीका मान्छेहरूको दलबलसहित चौकीमा आइन् । यसपटक घटनाले अर्कै मोड लिएको रहेछ । छोरीलाई अत्याचार भएपछि माइतीपट्टिकाले गाउँका केही केटाहरू लिएर गई उतापट्टिकालाई सामान्य हात मिसामिस गरेछन् र निधीलाई माइत लिएर फर्किन खोज्दा सानोतिनो भीडन्त नै भएछ र गाउँभरिका धुरिएर निधीसहित आएका सबैलाई कुटपिट र गाली बेइज्जती गरेर भगाएछन् !

उनीहरू चौकी आएको आधा घन्टामा अर्को जत्था उजुरी हाल्न दलबलसहित चौकी आयो । गुण्डाहरू ल्याएर आफ्नो गल्तीबिना आक्रमण गराएको र कुटपिटले ३ जना गम्भीर घाइते भएको फर्जी टाइपको उजुरी थियो । दुवै पक्षको उजुरी दर्ता भयो ।

यसपल्ट सहीसाबले निधीको घरपट्टिका सबैलाई उठाएर ल्याउन आदेश दिए । निधीको सासू, ससुरा, नन्द, देवर र श्रीमानसहित ५ जनालाई हिरासतमा थुनियो । महिलापट्टिकालाई १,२ दिनको समय दिन अनुरोध गरेर बिदा गरियो ।

बेलुका करीब ६ बजेतिर सहीसाबले एक्कासी हामीलाई भेला पारेर आदेशात्मक पाराले आक्रोशित मुद्रामा भने– “तिमेरुमध्ये अलिक दह्रो मुटु हुने को छ अगाडि आइज…” यो अचम्मको आदेश सुनेपछि कोही बोलेन !

“ए बाले ! यिनारु सब आँट नभाको रैछ गधाहरू, लु तँ नै रेडी हु….”.मतिर देखाएर सहीसाबले भने ! प्रहरी सेवामा प्रायः घुलमिल भइसकेपछि नाम वा थरले नै बोलाउने चलन हुन्छ, सहीसाबले पनि मलाई प्रायः बाले नै भन्थे अनि यदाकदा सिनियर अफिसरहरू वा पब्लिकसँगको बैठकहरूमा हल्साब पनि भन्थे ।

“ओई खड्का ! ऊ त्यो पाइप १ मिटरजति काट्…” प्रहरी जवान रमेश खड्कालाई कार्यालय परिसरको बगैँचामा पानी हाल्ने पाइपतिर देखाएर सहीसाबले आदेश दिए ।

सबैजना अलमल्ल जस्तो परियो ! रमेशले काटेर ल्याएको पाइप मलाई दिँदै सहीसाबले आदेश दिए – “यिनर्लाई जहाँ जहाँ भेट्छ त्यहीँ त्यहीँ हान्”

“माया नगरी यिनार्को सास मात्रै बाँकी राखेर हान् …..साला मान्छेलाई जतिचोटि सम्झाउँदा पनि नलाग्ने ?”

मैले निधीको श्रीमानलाई २ चोटी खुट्टामा पाइपले हानेँ ।

निधीको ससुराले धम्कीको भाषामा सहीसाबलाई चेतावनी दिए – “हेर्नू सहीसाब ! तपाईं ठूलो गल्ती गरिरहनुभएछ । हाम्रो पावर कहाँसम्म छ थाहा छ ? जागिरको माया छैन कि कसो ? मान्छे चिन्नुहोला तपाईं !”

“तेरीमा झ्याँक्ने फटाहा, तेरो पावर लु देखा….” यति भनेपछि मेरो हातबाट पाइप खोसेर सहीसाबले गोरुचुटाई शुरु गरिहाले ।

सहीसाबले पाइपले सबैलाई निर्मम र क्रूरतापूर्वक कुट्न थाले । उनले भनेजस्तै जहाँ जहाँ भेट्छ त्यहीँ त्यहीँ हिर्काउन थाले…रुवाबासी चल्यो हिरासतमा, कसैलाई छाडेनन् सहीसाबले ! लगभग अर्धमुर्छा जस्तो भए सबै । खुट्टाको छाला पट्पटी फुट्यो, रगतपच्छे भए । मैले त्यस्तो कुटाई पहिलोचोटी देखेको थिएँ । ससुराचैंले खुट्टा समात्यो सहीसाबको । सबैले हात जोडे अनि आइन्दा कुनै हालतमा त्यस्तो गल्ती नदोहोर्याउने भन्दै अनुनय विनय गरे तर सबैजना लगभग अर्धबेहोस हुञ्जेल कुटाइ जारी रह्यो ।

भोलिपल्ट बिहान ८ बजेतिर सहीसाबले कुर्सीमा बस्दै कम्प्युटर अपरेटर सन्तोष थापातिर हेरेर आदेश दिए– “कागज बना ए थापा…”

अनि मतिर हेर्दै भने – “बाले टोली लिएर त्यो बैनीलाई लिएर आइज”

कम्प्युटर अपरेटर जवान सन्तोष थापालाई मिलापत्रको कागज बनाउन लगाएर सहीसाब आफ्नो कोठातिर लागे । करीब आधा घण्टा पछि निधीलाई लिएर म चौकी पुग्दा कागज तयार भैसकेको थियो । मिलापत्रमा सही गराइयो निधी र कमलेशलाई ।

चुपचाप सबैलाई छोड्ने आदेश दिए बुढाले । अनुहार, खुट्टा र जिउभरी कुटाइको डामसहित सबैलाई गाडीमा हालेर घर छोड्दिने आदेश भो !

सहीसाब बढुवा भएर सिन्धुली सरुवा भएर गए । म त्यो चौकीमा ५ वर्षसम्म कार्यरत रहेँ, त्यतिञ्जेल र पछि बुझ्दा पनि निधी फेरि उजुरी लिएर कहिल्यै चौकी आइनन्…निधीको घरबार अचम्मसँग सुध्रियो ।

सर्लाहीबाट बढुवा भएर सरुवा भएको करीब ६ वर्ष पछि म अचानक कामको सिलसिलामा सर्लाही पुग्दा निधीको घर पनि निस्केर जानुपर्यो भन्ने विचार आयो र उनको घर पुगेँ । निधीले अत्यन्त श्रद्धाले स्वागत गरिन् ।

“म त बिर्सिनुभयो होला भन्ठानेको थिएँ तपाईंले”

“हजुरहरूलाई म जिन्दगीमा कहिले बिर्सन सक्दिनँ सर…हजुरहरूले त मेरो बिग्रेको घरबार फेरि बसाइदिनुभएको” उनले अतीतमा डुबेझैँ गरी गम्भीर भएर बोलिन् । कमलेश चैं कामको शिलशिलामा बाहिर गएकाले भेट भएन ।

ससुरा अलिक बुढो भएछन्…उनले पनि अत्यन्तै राम्रोसँग व्यवहार गरे अनि आफैँले कुरा कोट्याउँदै भने– “अब के भन्ने बाबु..त्योबेला हाम्रो साला दिमाग पुगेन…यो दाइजोको चाहिँ प्रथाले हामीलाई धेरै बदनाम गराएको छ, अहिले त चाहिँ अलिक कम भएछ…त्योबेला हामिले पनि यस्तो चाहिँ सोझी सिधा बुहारीलाई दाइजोको निहुँमा धेरै दु:ख दिएको…ऐले पछुतो लाग्छ चाहिँ सम्झिँदा बाबु….” मैले बुढालाई बीचैमा रोकेर भनेँ– “पुरानो कुरा बिर्सिनुपर्छ चाचा..अब सबै राम्रो छ, मलाई खुशी लाग्यो तपाईंहरूको परिवार देखेर”

मैले हतार भएकाले उनीहरूको खाना खाएर जाने आग्रह स्वीकार गरिनँ र करिब आधा घण्टा बसेर फर्केँ । उनीहरू दुवैले राई सहीसाबलाई पनि भेट भएमा धेरै धेरै सम्झना सुनाइदिन आग्रह गरे ।

उनको पारिवारिक वातावरण अत्यन्त सुमधुर रहेको र उनको परिवारले त्यो घटनापछि दाइजोको कुरा कहिल्यै ननिकालेको बुझियो । निधीकी सासू बितिसकेकी थिइन् त्योबेला । कमलेशले इन्जिनियर पास गरेर जिल्ला प्राविधिक कार्यालयमा कार्यरत रहेको र उनीहरूको दुईजना छोरा समेत स्कुल जाने भैसकेका थिए ।

पछि भेटघाटको क्रममाः मैले त्यो घटनाको प्रसङ्ग निकाल्दा राई सरले मज्जाले हाँसेर भने –“हेर बाले…..लातो का भुत बातो से नही मान्ता भनेको त्यै हो….कति केश त्यसरी पनि ह्यान्डल गर्नुपर्छ….बेलाबेला त्यस्तो आइडिया पनि लाउनुपर्छ बुझिस् नि…त्यति गर्दा एउटा सिधासादा औरत मान्छेको जिन्दगी सुध्रियो कि सुध्रिएन भन् त ! सबै कुरामा कानुन अनुसार मात्रै गरेर हुँदैन हाम्रो समाज मिलेर बसेको भन्दा पनि सहेर बसेको समाज हो केटा !” यति भनेर राई सर मज्जाले हाँसे ।

राई सहीसाबले त्यो बेला निधीप्रति गरेको “इन्साफ” सही थियो या गलत मैले कहिल्यै छुट्याउन सकिनँ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.