साहित्यपोस्ट-नपढी सुखै छैन...

कथा: पूर्वस्मृति

कथा: पूर्वस्मृति

कुन कुराले तानिरहेको छ मनको लहरो ? झनझन् किन सम्झना गाढा भइरहन्छ ? किन यादको पत्थरले हिर्काइरहन्छ, बारम्बार ? मनको एउटा कुनामा किन बल्झिरहन्छ सम्झनाको त्यो घाउ ? किन ताजा बनिरहन्छ सधैं सम्झनाका छाल ? किन पछ्याइरहन्छ अतीतले हरदम ? किन धिपधिप गरेर पनि बलिरहन्छ सम्झनाको दियो ?

हो, यिनै प्रश्नहरूले घेरिएको छ ऊ । हरेकपल्ट घोत्लिन्छ । गम खान्छ ।  नसम्झु भने पनि किन आइरहन्छ, सम्झनाको लामो श्रृङखला ? मनको कुनामा पत्रैपत्र बनेर खाँदिएको यादको गोदाम किन खाली हुँदैन अब ?

हर्पन खोलामा अहिलेसम्म कति पानी बग्यो होला ? त्यो पानीले कति माटो बगाएर फेवातालको गहिराई छोप्यो होला ? हर्पन खोलाले कति ढुङ्गा, बालुवा र गिट्टी बगाएर फेवातालमा थुपार्यो होला ? फेवातालमा जम्मा भएको कति पानी डेबिड फल्सबाट बग्यो होला ? यसको नाप जाँच कसरी गर्ने ? हो यस्तै यस्तै रहेछ सम्झनाको नापजाँच पनि । कसरी कुन कोणबाट नाप जाँच गर्दा उपयुक्त हुँदो हो सम्झनाको ?

आजभन्दा ठीक ४९ वर्ष अगाडि आदर्श माछापुच्छ्रे माध्यमिक विद्यालय ढिकुरपोखरीमा कक्षा आठमा भर्ना भएको थियो । कास्कीकोटमा हाइस्कुल थिएन । ढिकुरपोखरीमा रहेको माछापुच्छ्रे माध्यमिक विद्यालयमा कास्कीकोट, लुम्ले, घान्द्रुक, बिरेठाटी धम्पुस, चन्द्रकोट लगायतका धेरै स्थानका विद्यार्थीहरूलाई पायक पर्ने हुनाले पोखरा गएर पढ्न सम्भव नहुनेहरू ढिकुरपोखरीमा पढन जान्थे ।

विद्यार्थीहरूको बाक्लो चाप हुन्थ्यो । स्कुलभरी भरीभराउ थिए विद्यार्थी । कास्कीकोटबाट पनि धेरैजना केटाहरू पढ्न जान्थे । तर केटीहरू माछापुच्छ्रे पढ्न पायक पर्ने वा शुरूवातबाटै चार कक्षादेखि पढन जानेहरूमात्र पढ्न जान्थे त्यहाँ । आदर्श नौ कक्षामा पढ्दै थियो । स्कुलबाट अन्तिम पिरियड छोडेर हिँड्नेहरू पनि धेरै हुन्थे ।

ऊ अन्तिम पिरियड पढेर साथीहरूसँग घरतर्फ आइरहेको थियो । तीनजना केटीहरू कास्कीकोटको वनपाले नजिकै बसेर केटाहरूलाई कुरिरहेका थिए । आदर्श साथीसँग त्यहाँ पुग्ने बित्तिकै, “तपाईंहरूले बाटोमा लेख्दै हिँडेका केटाहरूको अक्षर चिन्नुहुन्छ ?” रेश्माले सोधेकी थिइन् । हामीले अक्षर चिनेनौँ । कुनै बदमास केटाहरूले रेश्माका बारेमा केही नराम्रा शब्दहरू लेखेका थिए । रेश्मासँगको कुरा यत्ति हो । यहीँबाट पहिलोपटक बोल्न शुरू भएको हो रेश्मासँग ।

त्यसपछि बाटामा भेट हुन्थ्यो । कहिले उनीहरूका अगाडि कहिले उनीहरूका पछाडि हिँड्थ्यो आदर्श साथीसँग । त्यो चञ्चल उमेर केटीहरूसँग बोल्न पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो तर डर लाग्ने उमेर, बोल्न सक्ने आँट कहाँबाट आओस् र ? रेश्मा सारै राम्री थिइन् । केटाहरू बोल्न मन भए पनि लाजले डर मान्थे ।

आदर्श दश कक्षामा पुग्यो । रेश्मा नौ कक्षामा थिइन् । रेश्मा स्काउटको ड्रेसमा हदभन्दा पनि राम्री देखिन्थिन् । स्कुल जाँदा र आउँदा कहिलेकाहीँ मौका परेमात्र बोल्न पाउँथ्यो उसले । रेश्मासँग बोल्न पाउँदा संसारै आफ्नै जस्तो लाग्थ्यो त्यो बेला आदर्शलाई ।

एकदिन उसले रेश्मालाई पहिलो प्रेमपत्र लेख्ने कुचेष्टा गर्यो । तर हातमा दिने कसरी ? सबै केटाहरूका आँखा छल्न पर्थ्यो । कसैले थाहा पाए भने हल्ला हुन्थ्यो । त्यो हल्ला स्कुल गाउँघर चारैतिर फैलिनसक्ने खतरा हुन्थ्यो । स्कुलबाट घर आउँदै गर्दा चप्पलको तुना फुत्केको बहाना बनाइ रेश्माको साथी पछाडिबाट एक्लै आएको देखेर खुसुक्क चिठी दियो, रेश्मालाई दिनु भनेर । चिठी दिएपछि पहिलोपटक त्यति धेरै खुशी भएको थियो आदर्श । 

आदर्श चिठी दिएको साँझ गोठमा गयो । गोठमा गाई भैँसी बाधेर गुन्द्रुकको झोलसँग भात खायो । उसको मन चङ्गा थियो । त्यो बेला केटीलाई चिठी लेख्नु सानो कुरा थिएन । कुनै कारणवश गोप्यता भंग भयो भने बर्बाद हुन्थ्यो । यिनै कुरा सम्झेर जति जति रात छिप्पिँदै जान्थ्यो, उतिउति निद्रा भाग्दै जान्थ्यो आदर्शको । आँखा झिमिक्क नगरी उज्यालो भयो ।

आदर्शको मनमा अनायासै डरको मात्रा बढ्दै गयो । “रेश्माले चिठी हेडसर र आफ्नी आमालाई देखाई भने के हुन्छ ? स्कुल पठाएको छोराले केटीलाई चिठी लेख्दा हेडसरले स्कुलबाट रेस्टिकट गरे भने बाको इज्जत के होला ?” यिनै कुरा सोचेर रातभर निद्रा लागेन । 

आदर्शलाई एकहप्तासम्म रेश्माको अगाडि पर्ने आँट आएन । बिहान स्कुल ढिला पुग्ने र बेलुका अन्तिम पिरियड छोडेर भाग्ने गर्दथ्यो आदर्श । एक हप्तासम्म कुनै खतराको महसूस नभएपछि सहज हन थाल्यो । आफ्नै केटीसाथी मार्फत रेश्माले पनि चिठीको जवाफ फर्काएकी थिइन् । 

“ किन डराएको ?”

“ को म ? छैन, डराएको ”

“ भो झुटो नबोल ”

“ किन झुटो बोल्थेँ र ?” 

“ अनुहारले त्यही भन्छ ”

“ हाम्रो भेट कति समयपछि भयो ?”

“ धेरै लामो समय, लगभग पैँतालिस वर्षपछि ”

“ तिमीलाई मेरो सम्झना आएन ? ”

“ आयो नि कति हो कति ?”

“ अलि नजिक आऊ न ?”

“ कसैले देखे भने ?”

“ के हुन्छ देखेर ? ”

“ लाज हुँदैन ?”

“ केको लाज ?”

“ के गर्दै छौ अहिले ?”

“ रिटायर लाइफ बिताउँदै छु”

“ के के रिटायरलाइफ हो ?” 

“ जिन्दगीको ”

“ म त जवान नै देख्छु अहिलेपनि ”

“ त्यो त तिम्रो भ्रम हो ” 

“ तिमीलाई पनि उस्तै देख्छु म ”

“ त्यो तिम्रो नजर राम्रो भएर हो ”

“ तिमीले मलाई लाने आँट गर्न सकेनौ है ?”

“ सकिनँ, डर लाग्यो । माया त उल्कै गर्थेँ”

“ क्षेत्रीको छोरो पनि कस्तो डरपोक हो ?”

“ हो म डराएकै हो !”

“रेश्माको कपाल पुरै सेतो थियो । दातका बङ्गारा सबै झरेछन् । अनुहार चाउरी परेको । पेट भ्यात्त बढेको । खुम्चिएको अनुहार । हाइस्कुल पढ्दा एउटी हिरोइनी जस्तो देखिने त्यो अनुहारको चमक र आभा अहिले कहाँ गयो होला ? सामान्य साधारण पहिरन । मेकअप हराएको । अनुहारमा खतैखत । आँखामा पावरवाला चस्मा लगाएकी, कठै चन्द्रमाको मुहारमा ग्रहण लागेजस्तै देखिएकी थिइन् रेश्मा । 

प्रेसर र सुगरको दबाई नटुटाई खानुपर्ने भएछ । घुँडा दुख्ने । बसेपछि उठ्न नसक्ने । टाउको दुखिरहने अनेक समस्यासँग आफैँ लडिरहेकी रेश्मालाई देखेर झन् अतीतको सम्झनाले छपक्कै छोप्यो । दुःखका कुरा, सुखका कुरा, घरव्यवहारका कुरा, छोराछोरीका कुरा र लोग्नेका कुरा गर्दा एक्कासी रेश्माको आँखाबाट मूल फुटेर भल बग्न थाले । आदर्शलाई नरमाइलो लागिरहेको थियो ।”

अचानक जोड जोडले कुकुर भुक्यो । त्यही समयमा गेटमा कसैले ड्वाङ्ग लात्ती हान्यो । आदर्श झल्यास्स ब्यूँझियो । निधारमा पसिनै पसिना थिए । उठेर बाथरुम गयो र मुख धोयो । मोबाइल खोलेर हेर्यो । बिहानको ३ बजेर ३३ मिनेट गएको थियो ।

रेश्मा र आदर्श कास्कीकोटको गुप्त कालिका मन्दिर प्राङ्गणको पर्खालमा बसी दक्षिण फर्केर कुराकानी गर्दै थिए । हर्पनखोलो अझैपनि धमिलो थियो । मौसम सफा थियो । माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण लगायतका हिमशृंखला सफा थिए । माछापुच्छ्रेले एकटक निर्निमेष उनीहरूलाई नियालिरहेको थियो । फेवा फाँटमा धान पहेँलपुर हुँदै थियो । खोला खोल्सा सङ्ला हुँदै थिए । कास्कीकोटबाट देखिने प्रकृतिको अनुपम छटाहरूलाई नियालेपछि आदर्श र रेश्मा आफ्ना व्यवहारिक कुराकानीमा व्यस्त भएका थिए ।

मौलोमा रहेको झण्डै तीनसय वर्ष पुरानो चापको रुखले सयौँ वर्षको घामपानी खाएर पनि आफ्ना पातहरू हल्लाई ठिङ्ग उभिएको थियो । धुपीचौर र ठुलीपोखरीले पनि आ-आफ्नो इतिहास बोकेका थिए ।

वि.सं. २०३७ सालको चैत्र दशैँको मेलामा कास्कीकोटको मौलोमा भेट भएर रेश्मासँग छोटो कुराकानी भएको थियो उसको । त्यसपछि कहिल्यै भेट भएन । तर झण्डै ४५ वर्षपछि रेश्मासँग अप्रत्यासित रुपमा सपनामा भेट भयो । किन भेट भयो ? केका लागि भेट भयो सपनामा ? के रेश्मा अहिलसम्म सञ्चै छन् त ? के छ उनको खबर ? प्रश्नहरू उठिरहन्छन् यादहरू बल्झिरहन्छन् ।

जिन्दगी के रहेछ र आखिरी त्यहीँ जन्म र मृत्युबिचको एउटा पातलो डोरी मात्र । त्यही पातलो डोरी पनि कतिबेला चुडिन्छ कसैलाई थाहा छैन ।

रेश्मा घरकी कान्छी छोरी । बुबाको पेन्सन खाएर हुर्केकी, आमाको लाडप्यारमा । खान दुःख थिएन, कुनै कुराको कमी पनि थिएन । उमेर बढ्यो छोरीमान्छे माइत बस्न मिलेन । 

भारतिय सेनाको जवान खुशीरामसँग विवाह भयो । दुईवटा छोरा र दुईवटी छोरी भए । श्रीमानको पेन्सन पाक्न लागेको समयमा काश्मीरमा आतङ्ककारीको हमला भयो । सानो टुकुडीमा अलगअलग युनिटमा खटिएका उनीहरूमाथि विद्रोहीले धावा बोले । लड्दा लड्दै दुश्मनको पनि क्षति भयो । खुशीराम लगायत अन्य पाँच जवानहरू काश्मीरमा शहीद भए ।

रेश्माको जिन्दगीमा ठूलो वज्रपात आयो । कहर काटेर छोराछोरी हुर्काइन्, पढाइन् । छोराहरू पढ्दै गर्दा देशमा माओवादी जनयुद्ध शुरू भयो । हट्टाकट्टा ठुलो छोरो रुपेश छापामारको नजरमा पर्यो । पढ्न गएको समयमा स्कुलबाटै अपहरणमा परेर छापामार विद्रोही भयो । घरसँगको उसको सम्पर्क टुट्यो ।

दश वर्ष जनयुद्ध भयो । शान्ति प्रक्रियाको पनि थालनी भयो । नयाँ संविधान बन्यो । देशमा गणतन्त्र आयो । तर रुपेश मरेको बाँचेको अहिलेसम्म अत्तोपत्तो छैन । न मानवअधिकार आयोगले अवस्थाको जानकारी दिन्छ, न सरकारले, न तत्कालिन विद्रोहीले । 

एउटी आमाको होनहार छोरो हरायो, त्यो पनि बिनाकारण । न लास न सासको टुंगो लाग्यो । आफ्नै देशमा आमाको काख रित्तो भयो । मरे बाँचेको जानकारी दिनेहरू कोहीपनि जिम्मेवार बनेनन् । आमाका आँखामा सन्तानको मायाले जीवनभर आँशु बगिरहेको छ ।

कान्छो मंगल पनि नेपालमा काम गरेर खाने वातावरण छैन भनेर पिरोलिन्थ्यो । कामको खोजीमा छटपटिन्थ्यो । भनेजस्तो काम कतै पाएन उसले पनि । न सोर्स न फोर्स । न लगानी गर्न सक्ने हैसियत नै थियो । बरु बाहिर जान्छु भनेर अड्डि कस्न थाल्यो ।

साथीहरूको लहैलहैमा लागेर घरलाई बैंकमा धितो राखेर साठी लाख ऋण लिएर दलालमार्फत अमेरिका जान्छु भनेर गाउँका पाँचजना साथीहरूसँगै हिंडेका थियो । कहिले जहाजमा, कहिले ट्रकमा, कहिले पैदल, कहिले समुद्रमा डुङ्गामा, कहिले जंगलैजंगल निकारागुवा ग्वाटेमाल हुँदै मेक्सीको जंगलमा पुग्दा ट्रकमा निसास्सिएर दश जनाको मृत्यु हुँदा मंगल पनि त्यही घटनामा परेको रहेछ ।

कठै जिन्दगी ! मान्छेको भाग्यमा के लेखेको छ ? सबै परिआउने घटना परिघटनालाई सामना गर्नु पर्नेरहेछ । बाँचुन्जेल यही एकमुठी सासको पनि मूल्य ठूलो हुँदो रहेछ । 

रेश्माका ती दिन कति उज्याला थिए । कति चञ्चल थिए । रेश्मासँग एकपल्ट बोल्दा संसारै जितेझैँ लाग्थ्यो । उनको अनुहारको एकझुल्को देख्दा पनि दुःखका सबै भारी बिसाएर थकाई मारेझैँ लाग्थ्यो ।

त्यो सुन्दर चेहरा, त्यो हाँसो, त्यो स्काउटको ड्रेसमा सजिएकी एउटी सुन्दर सुकुमार चन्द्रमुखी युवतीको अनुहार किन आइरहन्छ मनमा पटकपटक ? किन उनको सम्झनाको झ-झल्कोले घरी घरी सताइरहन्छ ।

अब जिन्दगीको कुनै पनि बहीखातामा उनीसँग कुनैपनि हिसाबकिताब लिन वा दिन बाँकी छैन । तर पनि फेरि एउटा पूर्वस्मृतिले पटकपटक किन झस्काइरहन्छ ? किन पछ्याइरहन्छ ?

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.