हर्के सार्की र उसकी स्वास्नी सुन्तली आज पनि वरबोटेमै छन् । हिल्याउने काम सकी आली आउने पनि सकिएको छ । भोलिको रोपाईंको लागि आज बीउ काढ्न धमाधम छ उनीहरूलाई । पहिले जस्तो घोक्सिला खोला कहाँ छ र ? प्रत्येक वर्ष घट्तो पानीले गर्दा रोपाईंका लागि पनि पालो कुर्नुपर्ने । त्यो दिन ऊ र अरु छेउछाउका छिमेकका लागि पानी पाउने पालो रे । त्यो छोप्न नसके उनीहरूको पालो गुम्छ, मुहानका वा पुछार खोलाका खेततर्फ पालो आफसेआफ सर्छ । त्यस्तो भइदियो भने त यो वर्ष रोपाईं नै नहुने डर सम्म छ । रोपाईंको काम कहाँ सजिलो छ र? त्यो ढुंग्याने खेतको १० मुरी माटो एकल परिवारले रोपिसक्ने कुरा पनि भएन । बाउसे र रोपाहार पाइसक्नु छैन । धेरै त खाडी मुलुकको तातो खाँदै भेडा खेद्दै वा सेफ्टी हेल्मेट लगाएर त्यहाँको गगनचुम्बी घर बनाउन लेबरको काममा तल्लीन होलान् । बचे खुचेका पनि कि त सिन्धुली बजार कि त राजधानी काठमाडौँतिर भाग्य अजमाउँदै होलान् । गनिमत कि हर्के र सुन्तलीले पर्ममा मानिस पाएका छन् । यता उनीहरूको रोपाईं सकेपछि क्रमिक रूपमा छिमेकीको रोपाईं हुन्छ, जहाँ उनीहरूले पर्म तिर्दा हुन्छ ।
दिनको एक बज्यो होला तर प्रचण्ड घामको रापचाहिँ किन्चित कम भएझैँ देखिएको छैन । खुसीको कुरा के भने, धेरै बीउ काडी सकियो । अब एक कुना मात्र बाँकी छ । उनीहरू दुवै, छेवैको आँपको छहारीमा सुस्ताउन पुगे । सुन्तलीले पछ्यौरामा बाँधिल्याएको वाइवाइ चाउचाउको पोको खोली । प्याकेट बाहिरबाटै कर्याककुरुक पारी अनि एक हर्केतर्फ बढाई र अर्को आफ्नै हातमा खन्याइ खाने सुर कसी । हर्केले हात बढाउँदै भन्यो, “किन यस्तो फजुल खर्च गरेकी ?” थप्यो, “यो भन्दा त मकै भटमास नै ल्याएको भए हुन्थ्यो नि ! हेर् सुन्तली, हामीले अलिक खर्चको जोहो गर्नुपर्छ । जेठो गोपेलाई एसएलसीभन्दा पढाउन सकिएन । कान्छो पुर्नेको रिजल्ट छिट्टै आउँछ रे । स्कूल पास भैहाल्यो भने उसलाईचाहिँ सिन्धुली वा काठमाडौँ पढ्न पठाउनु पर्ला । बिचराले औधी मन गरेको छ ।” सुन्तलीले हाँस्दै भनी, “ठिकै भन्यौ तिमीले, गोपेको बा तर दुई प्याकेट चाउचाउले उसको पढाई खर्च धान्ने पनि त होइन नि !” एकै छिनमा उनीहरू फुको चाउचाउ मर्काउन थाले । राजसी नास्ता गरेको भावमा सुन्तलीको मुख उजेलिएको भान हुन्थ्यो ।
बरबोटे किन्न चाहेर पनि धोका भएको कुरा पनि अनायासै निस्क्यो । त्यो खेत खासमा उनीहरूको गिरहतको हो रे । उनीहरूकामा हर्के र उसका बा पुस्तौनीदेखि हली थिए । अहिले तराईतर्फ बसाइँ सराइ गरेर गएकाले मात्र उनीहरूले ठेक्कामा लिएका थिए, त्यो जमीन । किन्नका लागि पैसा समेत सरसापटमा जोडजाम गरेका हुन् तर अन्त्यमा अचाक्ली मोल लगाइदिए रे । वर्षौं उनीहरूकामा हलो जोतेको थोरै गुन पनि सम्झिएनन् भन्ने गुनासो निस्किरहेको थियो, उनीहरुका मुखबाट । सापट लिइसकेको पैसा समेत फिर्ता गर्नु परेकोमा उनीहरूले एकछिन थकथक साटासाट गरे ।
नास्ता सकेर जोडी ब्याडमा फर्के । बीउ काडी, हातगोडा धोइपखाली मात्र के गरेका थिए, छोरो पूर्ने अकस्मात् झुल्क्यो । परैबाट चिच्यायो, “सेकेन्ड डिभिजन !” जोडीको हर्षको सीमा रहेन । छोरालाई पालैपालो अंकमाल गरे । सोधे, “तेरा साथीहरूचाहिँ को को पास भएछन् त ?” पूर्नेले आफ्नो स्कूलबाट आफू मात्र पास भएको कुरा खोल्यो । जोडी गद्गद भए । दलित भएर के गर्नु ? हर्के अलिक चनाखो छ । स्कुलको गिर्दो शिक्षा स्तर उँभो लागिहाल्छ कि भनी ऊ बराबर त्यहाँ जान्छ । हेडमास्टर अनि सञ्चालक समितिका अध्यक्षसँग बारम्बार अनुरोध गर्छ । वर्षौंदेखि खालि रहेको म्याथ, साइन्स अनि अंग्रेजी शिक्षकको तुरुन्त पदपूर्ति होस् भनी अनुनय विनय गर्छ तर उसले हरेस खायो । हेडमास्टर स्वयंले आफ्ना छोराछोरीलाई त्यस स्कुलबाट झिकेर सिन्धुलीको कुनै खर्चिलो बोर्डिंग स्कुलमा हाले । स्कुलको अत्यन्त कमजोर पृष्ठभूमि सम्झिएर ऊ आफ्नो छोरोको सफलतासँग नतमस्तक हुन्छ । दुवैको हर्षको आँसु बग्छ ।
अब पूर्नेलाई पढाउनुपर्छ भन्ने कुरामा उनीहरू अझ दृढ छन् । पूर्नेका साथी धने, रामे र टुल्के मुखैमा आएको परीक्षा छोडी अरबतिर हानिएको पूर्नेलाई थाहा छ र उसका बाबुआमालाई समेत । पूर्नेलाई समेत जाऊँ भनी उद्धुम गरेका थिए रे तर पूर्नेको पढ्ने हठ र हर्के अनि सुन्तलीको उसलाई पढाउने अठोटका अघि ती तिनजनाको जोडबल कमजोर भएको थियो । उनीहरू ए-एउटै त्यतैतिर हानिए ।
हर्के अनि सुन्तलीको छोरालाई पढाउने अभिलाषा ज्युकात्यूँ छ तर गाँठी कुरा त खर्चबर्चको कुरा पो हो त ! सार्की जोडी त्यसकुरामा दिनरात मथिंगल गर्न थाले । काठमाडौँमा पढाउने चौपट्टै सौख थियो । त्यो पनि विज्ञान विषय । विज्ञान पढेमा डाक्टर, इन्जिनियर सम्मका लागि ढोका खुला रहन्छ भन्ने कुरा उनीहरूले आफ्नै बराल अनि पोखरेल थरका बाहुन क्षेत्रीबाट सुनेका हुन् । तर सौख भएर मात्र पनि के गर्नु ? हैसियत पनि त हुनु पर्यो नि । गाउँकै पुराना गिरहतका छोराले काठमाडौँमा निकै लब्धप्रतिष्ठित विज्ञान कलेज खोलेका छन् रे । त्यहाँ भर्ना भए आधा शुल्क मिनाहा गरिदिने पनि भनेका रहेछन् तर त्यो आधा समेत उनीहरूले कसरी जुटाउने ? काठमाडौँको त्यो महँगो डेरा भाडा अनि खानपीनको खर्च ! हर्केले सुनेको छ आजभोलि सिन्धुली माढीमै पनि केही राम्रै कलेजहरू खुलेका छन् रे । त्यहाँ भए त डेरा भाडा र खानपीन खर्च पनि त कम होला । फेरि अर्को कुरा, आइजाइ गर्न पनि त सजिलो छ ।
ooo
रोपो गोड्ने बेला भएको छैन । घरमा खास काम पनि छैन । थाकेको गाई, बाछी, सुंगुरका पाठा र एक जोडी कुखरालाई त गोपेले हेरचाह गर्न सकिहाल्छ । बारीकान्लामा घाँस पाउला भएको बेला हुनाले पनि उनीहरूले धेरै सुर्ता लिनुपर्ने कुरा भएन । रिजल्ट हात परेको केही दिनमै हर्के, सुन्तली अनि पूर्ने सदरमुकाम माढीका लागि निस्कने भए । गोपे भने भाइको पढाइप्रति खासै उत्साहित छैन । भन्दै थियो, “खै तैँले मबाट सिकेको ? पाँच सालअघि मैले एसएलसी पास गरेर के भो ? अहिलेसम्म बेरोजगार छु । घुस नख्वाई यो देशमा कसैले जागिर पाउँदैन ।”
उसको कुराले एकोहोरिइसकेका उसका बाबुआमा र भाइको मन फर्काउन सकेन । अत्यधिक रक्सी सेवनको बानीले पनि होला, उनीहरू उसको कुरा खासै सुन्दैनन् । पूर्नेले आफ्नो सर्टिफिकेट प्लास्टिकमा बाँधीवरी सुरक्षाका साथ छड्के झोलामा बोकेको छ । सुंगुरको पाठा बेचेको रु ३२०० अनि बिष्ट साहुसँग सापटी लिएको रु १८०० चाहिँ हर्केकै इष्टकोटको भित्री गोजीमा टाँक लाइओरि सुरक्षित छ । वस्तुभाउको राम्रो ख्याल गरे है भनी गोपेलाई अर्थ्याउँदै उनीहरू बाटो लाग्छन् । सबैभन्दा अघि हर्के लागेको छ भने पूर्ने अनि सुन्तली पछिपछि । सुन्तलीको टाउकोमा एक कुम्लो देखिन्थ्यो । खाजा सामल बोकेकी हुनुपर्छ । पल्लो दोबाटो नपुग्दै बाहुन गाउँको कालो बिरालोले बाटो काट्छ । अलिक अमिलो मन बनाउँदै हर्केले थु थु गर्छ । उनीहरू अघि बढ्छन् ।
अर्को एक/डेढ घन्टामा काठमाडौँबाट आउने सुमो सेवाबाट उनीहरू सदरमुकाम माढी पुगिसकेका हुन्छन् । सुन्तलीले सुमोबाट ओर्लंदै भन्छे, “कस्तो जमाना आयो ! १९/२० वर्षअघि उसको बिहा हुँदा सम्म त्यहाँ पुग्न एक दिन जस्तै मरिकुच्चे हिँड्नु पर्थ्यो ।” उनीहरू अब सोध्दै खोज्दै ‘इच्छा बोर्डिंग स्कूल’ तिर लाग्छन् । त्यहाँको पढाइ अब्बल छ भन्ने हर्के अनि पूर्ने समेतले सुनेका छन् । अनि सुनेका छन्, गरीब विद्यार्थीलाई सहुलियत समेत हुन्छ भन्ने । हेडमास्टरसँग भेट हुन्छ अनि हर्केले आफ्नो छोराले विज्ञान पढ्न चाहेको आशय व्यक्त गर्छ । हेडमास्टरले मार्कसिट नियाल्दै व्यक्त धारणा सँगै पूर्नेको विज्ञान पढ्ने सपनामा तुषारापात भैसकेको हुन्छ । गणित र विज्ञानमा सारै कम नम्बर रहेछ रे । ऊ मानविकी संकायमा १०+२ का लागि मात्र योग्य छ रे । उसको भर्ना हुन्छ र नामचाहिँ सर्टिफिकेट अनुसारकै हुन्छ: ‘पूर्ण अछामी ।’ हतारिँदै हर्केले शुल्क सहुलियतको आशय पनि व्यक्त गर्छ तर दुर्भाग्य ! वार्षिक सहुलियतका दुई कोटा मध्ये आधा घण्टा अघि मात्र दुवै कोटामा विद्यार्थी भर्ना भैसके रे । छेवैमा बसेकी सुन्तलीको दोषारोपण कालो बिरालोमा पर्छ । भनी: “असत्तिले बाटो काटेपछि के साहित बन्थ्यो ? ” जे होस् पूर्नेचाहिँ खुसी छ । अब ऊ त्यसै स्कूलबाट १०+२ सक्ने सपना बुन्न लागेको छ ।
भोकाएका उनीहरू खाजा सामलको कुम्लो फुकाउन मात्र के लागेका थिए, बजार मुखैमा एक अधबैँसे आइमाई चर्को घाममा मकै पोल्दै थिई । पूर्नेले मकै खाने इच्छा गर्यो । बिहानको भात नखाएकाले अलिक आडिलो कुरा पेटमा हुल्नुपर्छ भन्ने उसको तर्क रह्यो । पुत्पुताइरहेको धुवाँ छेउ गइ पूर्नेले मकै किनी ल्यायो । तीन घोगाको ठ्याक्कै साठी रुपियाँ तिरेछ । सुन्तलीले जिज्ञासा राखी, “इ जाबो मकैको यत्रो औधी पैसा ! यसमा त थुप्रै आम्दानी हुन्छ कि कसो ?” थपी, “खेतीबारी छोडेर यस्तै पेशा पो गर्नुपर्छ कि क्या हो, गोपेका बा ?” हर्के हाँसी मात्र रह्यो ।
अब उनीहरू दाहाल टोलतिर सोझिन्छन् । हर्केले सुनेको छ, त्यतैतिर पूर्नेलाई बस्न अलिक सस्तो डेरा पाइन्छ । स्कुल आउन जान ४५ मिनेट जति हिँड्नुपरे के भो त । उनीहरू बाटोभरि खाली कोठाबारेमा खोजखबर गर्दै अघि बढ्छन् । कसैले दाहाल माइलोको घरमा कोठा खाली रहेको सूचना दिन्छ । सानो कोठा छ रे, कोरोना संक्रमणदेखि नै खाली छ रे । सस्तोमा पाइनेवाला रे । हतारहतार उनीहरूका पाइला त्यसतर्फ बढ्छ । दाहाल माइलोकी जेठी छोरी काठे बार्दलीबाट नियाल्दै थिई । उनीहरूले कोठाको बारे सोधखोज गरे । सकारात्मक भावमा टाउको हल्लिएको देखेपछि खुशी भए । एकैछिनमा घरबेटी स्वयम् तल झरिन्, लगाएको ताल्चा खोलिन् र ढोका धकेलिन् । कोठा सानो भए पनि उज्यालोचाहिँ रहेछ । मासिक रु ५०० मा भाडा तय भयो । हिँड्नै लाग्दा उनीहरूको थातठेगाना अनि नाम-नमेसी सोधियो । हर्केले छोराको पूरा नाम, थर बताइदियो । घरबेटी बज्यैको मुख अलिक बिग्रिएको छनक आयो । “पर्खनुस् है त” भन्दै उनी चोटातिर लागिन् । एकैछिनपछि तल ओर्लिन् र अलिक बनावटी स्वरले भनिन्, “भर्खर उनको लोग्नेको फोन आयो रे । कोठा भर्खरैमात्र अरुले नै बुक गरिसके रे ।” कालो बिरालोले फेरि दोष पायो। “असत्ति !” भन्दै उनीहरू खिन्न हुँदै अघि बढे । सोध्दै जाँदा कसैले सार्की टोलमा एक कोठा खाली भएको जनाउ दियो ।
हतार गर्दै उनीहरू त्यहाँ पुगे । अँ, अब चाहिँ कालो बिरालोको दोष मेटिएछ क्यारे । ४५० रुपियाँमै पहिलेको भन्दा पनि सेखै ठूलो अनि उज्यालो कोठा भेटियो । उनीहरूलाई कोठा जच्यो । पेस्की पनि दिइहाले । जातपात समेत मिल्ने भएकाले पनि हो कि कसो, तीनै जना आफूलाई अलिक हल्का भएको महसुस गर्दै थिए । आज रातिदेखि नै हर्केका तीनै जना त्यस कोठामा बस्नेछन् । कोठामा रहेको सानो खाट एक छेउ लगाइन्छ । भुइँमा बिछ्याएको मान्द्रो तीन जनाका लागि काफी छँदैछ । थकाइले होला, ९ बज्दा नबज्दै पूर्वतिर सुतेको छोरो पूर्ने घुर्न थालिसकेको थियो । हर्के जोडीलाई भने निदाइहाल्ने सहुलियत भएन । उनीहरू अबको मार्ग पहिल्याउन लागे ।
कसैले भनिदिएको थियो, सबै खर्च जोड्दा पूर्नेको माढी बसाइँका लागि वार्षिक ६०,००० भन्दा कमले पुग्नेवाला छैन । हर्के जोडीको चिन्ता आकासियो । साथमा भएको ५,००० रुपियाँमा आधाउधि त सुमो खर्च, भर्ना अनि डेरा बहालमा सिद्धिइसकेको छ । सुँगुर, कुखुरा बेच्दा मुस्किलले वार्षिक २५/३०,००० हजारको जोहो होला । बाँकी खर्च कसरी जुटाउने ? लामो मथिंगलपछि उनीहरू निष्कर्षमा पुगेका थिए कि घरव्यवहारको पूरा काम अब आइन्दा बाबु-छोरा अर्थात् हर्के र जेठो गोपेले नै समाल्नुपर्छ । सुन्तली अब पूर्ने सँगै माढीमै बस्नेछे र थप आम्दानीको स्रोत खोज्नेछे । सुन्तलीको आँट देखेर हर्के दंग पर्यो । आगामी एक-दुई दिनमा सुन्तलीले आम्दानीको थुप्रै विकल्प केलाई तर उसलाई सबैभन्दा आकर्षक विकल्पचाहिँ पोलेको मकै नै लागेको थियो । हर्के थोरै खिन्नताका साथ गाउँ फर्क्यो । अब सुन्तली र पूर्नेसँग बेला मौकामा मात्र भेट होला । दैनिक भेट हुने छैन ।
पूर्नेको स्कूल शुरु भयो । यता सुन्तलीचाहिँ मकै बेच्ने सुहाउँदो डहर खोज्न थाली । बजारको मुखमा पीपलको बोट फेदमा उसको आँखा गयो । त्यस ठाउँको आफ्नै फाइदा उसलाई सुझ्न गएको थियो । बजार, स्कुल अनि थुप्रै सरकारी कार्यालय जाने आउने नाका भएकोले बिक्रीको सम्भावना बढी नै थियो । अर्को कुरा पीपलको फेद भएकाले त्यो गर्मीमा थोरै भए पनि राहत हुने देखियो । उसले पर गड्यांग खोलाबाट किनी ल्याएको मकै अनि कोइलाको डोको बिसाई । डेराबाट पिसी ल्याएको कागती र टिम्मुर हालेको नुन, खुर्सानी समेत तनक्क पारी बिछ्याइएको त्रिपालमाथि फिँजाई । त्रिपालको चार सुर ढुंगाले थिचिन् । कोइला सल्काउनै लाग्दा छेवैबाट विरोधको आवाज आयो । त्यहाँ उसले व्यापार गर्दा अर्काको व्यापार बिग्रिन्छ रे । नयाँ मान्छे न परी ऊ ! प्रतिवाद गर्न चाहिन उसले । चुपचाप झन्डै सय कदम पश्चिमपट्टि सर्न पुगी । त्रिपाल बिछ्याउने र सामग्री फिँजाउने काम दोहोरियो । थोरै व्यापार कम हुने कुरामा उसलाई खासै चिन्ता छैन । बरु प्रचण्ड गर्मीप्रति चाहिँ उसलाई चिन्ता छ । उता पीपलको रुखको छहारी थियो, यता प्रचण्ड घाम मुनिको नीलो आकाश नै छहारी !
दिनभर हरिया मकैसँग पौठाजोरी खेल्दा खेल्दा ऊ लखतरान थिई । जीउ पसिनाले निथ्रुक्क थियो । उता गाउँमा पनि दिनभर चर्को घाममुनि त खेतबारीमा काम गरेकै हो तर यता भने चर्को घामलाई नजिकैबाट सघाइदिने अर्को तत्त्व थपिएको छ: कोइलाको राप ! जे होस्, साँझ डेरा फर्कंदा ऊ दंग छे । कति आम्दानी भयो भन्ने ठ्याक्कै भन्न नसके तापनि थैलीको आकार र तौल हेरेरै ऊ दंग थिई । डेरामा छोरो पूर्ने पनि स्कुलबाट घर आइसकेछ । सुन्तलीले बाँसे मान्द्रोमा दिनको सारा आम्दानी बिस्कुन सुकाएझैं फैलाई । पूर्नेले पूरापुर गन्यो । ठ्याक्कै ५२५ रुपियाँ ! सुन्तलीका आँखा चम्किएका थिए । पूर्नेको मुखमा चमक आयो: अब भने उसको १०+२ पूरा भै छाड्नेछ ।
३ हप्ता चानचुन मात्र के बितेको थियो, सुन्तलीको आम्दानी खुम्चिन थाल्यो । उसकोमा मकै किन्ने ग्राहकहरू नजिकैको अर्को छिमेकी कहाँ सर्न लागे । किन यस्तो भयो भनी उसलाई जिज्ञासा अनि चिन्ता लाग्ने नै भयो । एक जना ग्राहकले मकै किन्न जेबबाट निकालिसकेको पैसा समेत जेब भित्रै राखेर अघि बढ्यो । “ए, यो त कोइलामा पोलेको मकै पो रहेछ ।” उसको मुखबाट जाँदा-जाँदै निस्केको अभिव्यक्तिलाई सुन्तलीले गौर गरी सुनिरहेकी थिई । उसमा जिज्ञासा थपिनु स्वाभाविकै भयो । पछि कसैले बल्ल भेद खोलिदियो, “कोइलाको मकै यहाँ बिक्दैन, बरु दाउराले पोल्ने गर्नुस् ।” सदासयता भावबाट दिइएको सुझावले सुन्तली अलि झस्किई । उसको सोधपुछ जारी रहेको थियो । थाहा भयो, कोइलामा पोलिएको मकैप्रति मानिसहरू ससंकित हुन्छन् । मसानघाटको कोइला जम्मा गरी मकै पोलिन्छ भन्ने हल्ला बजारभरि कसैले फिँजाइदिएको रहेछ ।
सुन्तली विकल्प खोज्न बाध्य भई । अर्को दिनदेखि नै कोइलाको ठाउँ दाउराले लिइसकेको थियो । त्यो भित्री मधेशको प्रचण्ड गर्मीमा दाउराको प्रयोगले सुन्तलीको परेसानी हदैसम्म चुल्याइदिएको थियो तर बाध्यताका अगाडि उसले के पो गरोस् ? पुनः बिक्री बढ्न थालेपछि परेसानी मत्थर भएको उसलाई लाग्न थाल्यो । पूर्नेको तीन महिनाको पढाइ सकिएको छ । समय समयमा हुने जाँचमा पनि उसले राम्रै गरेको छ । स्कुलमा उसको कुनै बक्यौता समेत छैन । हालै छोरो भेट्न माढी आएको हर्केसमेतमा यो खुसखबरी साझा भैसकेको छ । परिवार अत्यन्त दंग छ ।
एक दिन अकस्मात् एक जना सुन्तलीकै छेउमा टुप्लुकियो । उसले त्यसलाई गौर गरी नियाली । आफ्नै गाउँका चिनजानका पो रहेछन् । जातले भने बाहुन । मर्यादा खातिर समस्त सार्की, दमाई, कामी लगायतका दलितले उनीहरूलाई मान स्वरूप विष्ट भनी सम्बोधन गर्थे । सुन्तली खंग्रंग भई । उसलाई थाहा छ, गाउँमा सार्की, दमाई अनि कामीको पानी चल्दैन । छोईछिटो गर्छन् । ऊ तर्सिई । हल्ला हुने पो हो कि भनी मनमा व्यापक डर पलायो । विष्टले गरुङ्गो भावमा भने, “सुन्तली, तँ यहाँ ? तैँले पोलेको मकै खान्छन् यहाँकाले ?” सुन्तली अझै खुम्चिन पुगी । आफ्ना सबै बाध्यताको नालीबेली लगाई । विष्ट मुख बिच्क्याउँदै अघि बढ्न थाले । सुन्तलीले उनलाई एकछिन रोक्ने जमर्को गरी । भनी, “हजुर, यो मेरो रहर होइन, बाध्यता हो । यो कुरालाई चाहिँ आफूभित्रै राखिदिनुस् है ?’ उनी चुपचाप अघि बढे । जाँदा उनको बिच्किएको अनुहार देखि सुन्तली खिन्न भएकी थिई ।
खै के भएर हो कुन्नि, सुन्तलीको व्यापार एक हप्ता पुग्दा नपुग्दै फेरि खस्किन थाल्यो । मकै किन्न पैसा निकालिसकेकाझैं लाग्ने मानिससमेत उपहासको हाँसो छर्दै अघि बढेको उसलाई भान हुन्थ्यो । दुई हप्ता पुग्दा नपुग्दै डोका भरीका मकै यसै डेरा फिर्ता हुन थाले । उसले आफैँलाई धिक्कारी । गरिबी माथिको दलित हुनुको दोहोरो पीडा छचल्कियो । भनी, “बरु यो पेशा काठमाडौँतिर भैदिएको भए अलिक टिक्दो हो ! त्यो भवसागरमा कसले कुन पेशा अपनाइरहेछ भन्ने चियोचर्चो कसले पो गर्दो हो ? तर के गर्नु, निर्णय लिन ढिलो भैसकेको थियो । यो घटनासँगै उसको त्यो काम अनि कमाइमा अनायासै पूर्णविराम लागिसकेको थियो ।
पूर्णेले आफ्नो पढाइ छोड्यो । अब ऊ पनि काठमाडौँमा म्यानपावर कम्पनी धाउन थालेको छ । छोरोलाई साउदी पठाउन हर्केले कसैसँग चर्को ब्याजमा ऋण लिइसकेको छ । खासमा पूर्णेलाई लेबर काममा विदेसिन मरिगए पनि इच्छा छैन तर म्यानपावर कम्पनीका दलालहरूले भन्छन्, “१०+२ पनि नगरेको मानिसले कहाँ राम्रो काम पाउँछ ? अहिलेका लागि लेबरमै जाऊ, पछि अलिक राम्रो काम पाइन्छ ।” कतार एयरको उडानबाट साउदी जान लागेको उसले आफ्ना विदेसिइसकेका स्कुले साथी धने, रामे र टुल्केलाई सम्झन्छ । सोच्छ, “उनीहरू साउदीमा राम्रै कमाइ गरिरहेका होलान् ।” अनि उसले आफैँलाई पीडादायक प्रश्न गर्छ, “उनीहरूको निर्णय सही थियो कि मेरो ?” उसलाई एयरपोर्टसम्म छोड्न आएका हर्के र सुन्तलीका गहभरी आँसु छन् । साहुबाट लिएको ऋण चुक्ता गर्न अब उनीहरू पूर्णेकै विदेशी कमाइको पर्खाइमा बस्नुपर्नेछ । पैसा अलिकति जम्मा हुनासाथ घर पठाइदिने वाचा गर्दै पूर्ने बिदा हुन्छ । टर्मिनलभित्र पस्दा उसले बाहिर फर्केर हात हल्लाउन खोज्यो । सुन्तली सुँक्कसुँक्क गर्दै आफ्नो चेहरा छुपाउँदै थिई भने हर्के उसलाई सम्झाउन उद्द्यत थियो । एकै छिनमा उनीहरू कोटेश्वर पुगिसकेका छन् अनि सोध्दै छन्, “कुन सुमो सिन्धुली जान्छ हँ ?”

