बाजेले पाठ पढिसकेछन् । सबै पालैपालो तिलक-पाती लाउन थाले । घरका र आफन्तहरूले सकेपछि गाउँका आउनेहरू पनि लाउन थाले । हूलमुलमा रमेशलाई पनि तिलक-पाती लगाइदिए बाजेले । त्यो सबैले देखे । हल्ला भयो । खासखुस कुरा हुन थाल्यो ।
0000
चैतको खडेरीले सबै सुकेको थियो । कता कतै खोल्सा खाल्सी चिसेनीतिर मात्र अलिलि हरियो झ्यालहरू थिए । भएभरको पातहरू झरेर रूखहरू नाङ्गै थिए । पहिले जस्तो रूखहरू पनि थिएनन् । मान्छेले खाएर निखायो । खोल्साहरू पानी सुकेर उराठ लाग्दो भएको थियो । पानी खलल बगेको सुन्न पाइँदैन, देख्न पाइँदैन । कस्तो समय आयो । अझै के हुने होला । रमेश वनचरनमा छोडी अघि गएर गौंडामा बस्यो । ऊ एउटा रूखको फेदमा बसेर बाँसुरी फुक्न मस्त भयो ।
खाती बाजेको नाती रमेश एउटै मात्र हो । टुहुरो, खाती बाजेले नै हुर्काएर जवान पारेको । ऊ बाँसुरी राम्रो बजाउँछ । रमेश सत्र/अठार हिउँदहरू उक्लेको हुनुपर्छ । बासुरी बजाएर कहिलेकाहीँ ऊ आफै हाँस्थ्यो । चराहरूको जोडी देखे ऊ एकसुर भएर हेर्थ्यो । नेहुल र ढुकुरको जोडी हेर्न पाए समय बितेको पत्तो गर्दैनथ्यो । कुन्नि के मन हुँदा फूलहरू टिपेर तिखो उठेको ढुङ्गामा चडाउने गर्थ्यो देवता मानेर ।
हरिभक्त पोख्रेल गाउँभरिका पुरोहित थिए । जजमान सबैले ‘पुरेत बाजे’ भन्थे । रमेशको गोठाला गर्ने साथी ! पुरेत बाजे र रमेश हिउँद बर्खा भनौँ बाह्रैमास सँगै बस्तु टहल गर्थे । जातको तलमाथि परेपनि मनका सफा थिए दुवै ।
बाजे रमेशको बाँसुरी धुन सुन्दै डिलमाथिको झ्याल छाँसेर बस्तुलाई दिँदै थिए । बाजे बुढै भएपनि कराँतिलो थिए । उहिलेको पानी खाएर होला । निकै बेरपछि रमेश बाँसुरी बजाउन छोडेर उठ्यो । तलतिर बस्तुहरू मनग्गे घाँस खाँदै थिए । बाजेले झारेको । रमेशले यत्ता उत्ता हेर्यो बाजेलाई देखेन । कतै गयो कि भनी सम्झेर रमेश एकछिन त्यसै बस्यो ।
“होइन कतै जान परे भनेर जाने,” रमेश करायो, “बाजे, ए… बाजे ।”
अहँ कतैबाट उत्तर आएन । ऊ हतारहतार झ्याल फाँडेतिर लाग्यो । एउटा डाला आधा काट्दा काट्दै छोडेको थियो । उसले अलिक तलतिर आँखा लगायो एउटा गोहो सोहोरिएर उँधै छिरेको थियो । छिर्न नसकिने अलिक छाँगो परेको थियो । ऊ अलिक अत्तालियो अनि केही हत्तारिएर परबाट घुमेर त्यो सोहोरिएको सिधा मुनि पुग्यो । बाजे हल न चल लडिरहेका थिए । रमेशले अत्तालिएर बाजेलाई अङ्गाल्यो ।
“बाजे ! बाजे !”– भन्दै बोलायो । बाजे बोलेनन् । कानैमा सुइ..या पार्यो । बाजेले अलिकति आँखा खोले । रमेशले हत्तपत्त उठाएर समथर परेको ठाउँमा पुर्यायो ।
“के भयो ? बाजे ! कहाँ दुख्यो ?” भन्दै उसले चोटहरू हेर्न थाल्यो घुँडा, टाउको र आतिर चोट परेछ । गहिरो चोट त परेन छ, तर कम्मर भने थेचारिएर खँदारिएछ ।
“आयाया…!” गर्दै बाजेले रमेशलाई हेरे ।
“पानी !” भनेर बाजेले इशारा गरे ।
“एकै छिन है,” भनेर रमेश पानी लिन खोल्सातिर हानियो । उसले एउटा चोङ्गेमा पानी ल्यायो । खानुदियो । मुख धोइदियो । टाउको भिजाइदियो । चोटतिर झारपात दबाई माँडेर घसिदियो । खुन थामियो । बाजेको पूरै होश आयो ।
“रमेश ! मलाई घरमा पुराइदे ! आ…या…या ।”
रमेशले एउटा दह्रो लठ्ठी काटेर बाजेको हातमा थमाइदियो । उठ्न सघायो । बाजे उठ्न त उठे तर घुँडा दुखेर टेक्नै भएन । रमेश बलियो थियो । बाजेलाई आङमा बोकेर खुरुरु कुदायो ।
===
“रुघा मार्गी नलागोस्, रोग कष्ट नहोस् ।” भन्दै पोहोर संसारी पूजा गर्ने धामी खड्का काइँला पूजा गरेको राती उछालपछालले लगेको थियो । कति छिटो वर्षदिन बितेछ । आज उसको वर्षदिन पछिको पूजा शुभ कार्य भइरहेछ । हरिभक्त बाजे पाठ गर्दैथिए । उसको टाउको र घुँडाको घाउ त पुरियो तर खँदारिएको कम्मर भने उत्तिकै थियो । लौरोको भरमा हिँड्नु पर्थ्यो । कम्मरै कोल्टे पारेर ।
आउने आफन्तहरूको निकै भीडभाड थियो । बुढा-बुढी र केटाकेटी सराबरी थिए । तरुनी तन्देरीहरू धन्दा गर्न व्यस्त थिए । हेराहेर र हाँसाहाँस गर्दै काम गर्नेहरूका तँछाड र मँछाड थिए । हलुइ पकाउने, रोटी पोल्ने, खीर पकाउने, चिया बनाउने, सब्जी, दाल, भात पकाउनेको भीड ।
बाजेले पढिसकेछन् । सबै पालैपालो तीलक-पाती लाउन थाले । घरका र आफन्तहरूले सकेपछि गाउँका आउनेहरू पनि लाउन थाले । हूलमुलमा रमेशलाई पनि तिलक-पाती लगाइदिए बाजेले । त्यो सबैले देखे । हल्ला भयो । खासखुस कुरा हुन थाल्यो । पूजा सबै बिटुलो भयो । खाना कसैले नखाने भए । रडाको मच्चियो । रमेश कता लाग्यो पत्तो भएन । बाजे पनि स्थिति बुझेर बाटो तताएछन् । साँझसम्म नै झ्याउला त्यतिकै थियो । गाउँमा सभा डाकिने भयो ।
सभापतिको घरमा पञ्च डाकियो । आँगनमा ग्राम्य भेला भएको थियो । सभापति (नामै सभापति) र गाउँका बुजुगहरू चौकीमा बसेका थिए । रमेश र खाती बुढो आँगनको एक कुनामा नजर झारेर बसेका थिए । अब के हुने हो भन्ने त्रासले खाती बुढोको मुटु निचोरेको थियो । पुरेत बाजे पनि अघि नै आएर एउटा टुलमा बसेको थियो ।
सभामा छलफल शुरू भयो । धेरै तर्क बितर्क चल्यो । पालै पालो बोले । लामो छलफल पछि अन्त्यमा सभापति बडाले निर्णय सुनाए । पूजामा छुत भएको खाना, भान्सा सबै कसैले नखाएर खेर गयो । घरको खर्च मात्र भयो । जुन खर्च भयो त्यो सबै खाती बुढोले बेहोर्नु पर्ने भयो । अनि पानीमाथिका बिष्ट, छेत्री-बाहुन समाजलाई पुरेत बाजेले खर्च गरेर प्रायश्चित गराउनुपर्ने भयो । नत्र अरू आफै चल्न परे पुरेत बाजे काडिने भए ।
निर्णय सुनाएपछि प्रतिक्रिया जान्नलाई सभापतिले खाती बुढोलाई उठाएर सोधे ।
“यो निर्णय बारे तिम्रो भन्नु के छ ?”
खाती बुढो जुरुक्क उठेर हात जोड्दै-
“छैन हजुर । ठूला-बडा, बिष्ट वेदका धनीहरूले बोलेको बोली नै कानून हुन्छ भने म जाबोको हुँ र यो निर्णय नमान्ने । शिरोधार्य छ हजुरको निर्णय ।”
यति भनेर थपक्क भुइँमा बसे ।
“ल त ठीकै छ तिम्रो कुरा” – भनेर सभापति फेरि पुरेत हरिभक्त पोखरेलपट्टि फर्किए ।
“अँ, पुरेत बाजेको नि केही छ भन्नु यो पञ्चको निर्णयमाथि ?”
भनेर खुबै सङ्गले जुङ्गा मुसार्दै प्रश्न गरे । उपस्थित सबै पुरेत बाजेको अनुहार ताक्न थाले । पुरेत बाजे जुरुक्क उठेर सबैलाई नजर घुमाएर हेरेपछि सभापतिपट्टि फर्किएर खुबै गम्भीर मुद्रामा बोले-
“यो निर्णय मलाई मान्य छैन ।”
यो कुरा सुनेर मान्छेहरूमा खासक-खुसुक हुन थाल्यो ।
बाजे फेरि बोले- “यो केटो जातको खाती सानो जात भएर के भो मनको ठूलो छ । जतिबेला म मर्न लागेको थिएँ यसले पानी खुवाएर मेरो प्राण बचायो । त्यति मात्र होइन यसले आफ्नो आङमा बोकेर घरसम्म पुराएर मानवताको कर्तव्य पूरा गरेको छ । मानिसमा जातको उच् र निचले केही हुँदैन । मानवताको भावना हुनुपर्छ। जो हुन पर्ने, यो केटोमा छ ।” भन्दै रमेशलाई देखाए ।
“त्यसैकारण, त्यो दिन मैले जानी बुझी नै यसलाई तिलक-पाती लगाइदिएको हुँ । यस्ताहरू भनेका हाम्रा समाजका सम्पत्ति हुन् । पढे, लेखे भएर, जातको ठूलो भएर मात्र कोही ठूलो बन्न सक्दैन । मानिस-मानिसमा विश्वास र सद्भावना छैन भने संसार उजाड हुन्छ । यति उच्चतामा उठेको यो रमेश नानीको व्यवहारलाई जातपातको निहुँमा तल झार्न म चाहन्न । यसकारण, आजको दुईवटै मलाई मान्य छैन । मेरो समाजले मलाई पानी काड्छ भने त्यो मलाई स्वीकार छ । तर, मानवताको खुड्किलो उक्लिएर फेरि जातको तल्लो स्तरमा झर्नु चाहन्न ।”
पञ्चहरू ट्वाल्ल परे । साँझ खसेर अँध्यारो बड्दै थियो । भेला भएका सबै एका एक गर्दै बाटो लाग्न थाले । सभापति चौकी छोडेर अघि नै भित्र पसेछन् । अँध्यारो झन चुक घोप्टिए जस्तो भयो । वरपर देखिन छोड्यो । निकैमाथि पुरेत बाजे हरिभक्त पोखरेल, रमेश र खाती बूढो एउटा उज्यालो राँको बालेर जाँदै थिए ।
गोरुबथान, कालेबुङ भारत

