समयका हिसाबले मलाई यो गोधूलि अलिक प्रिय लाग्ने हुँदै हो । यो समयलाई म अध्ययनमा सदूपयोग गर्न चाहन्थेँ । तर आज भने अध्ययनको क्रममा रहेको थिइनँ । म कतै गइरहेको छु ।
===
यो साँझ उस्तै भइरहेन । आजभन्दा पहिलेका साँझहरू सामान्य बितेका हुन् । यो पनि हैन कि यो साँझ असामान्य थियो । सामान्य र असामान्यबीचको भेद के हो ? यो प्रश्नले मलाई सताइरहन्छ । यो साँझ अलिक फरक घटना भयो ।
पश्चिमी क्षितिजबाट सूर्य फुत्किएर भागेको केही समय भइसकेको थियो । रमरम अँध्यारो थियो । वास्तविक अँध्यारो के हो ? यो बारे म अझै जिज्ञासु छु । बाहिरी अँध्यारो कति वास्तविक अँध्यारो हो र मनको अँध्यारो पो बढी अँध्यारो होइन र ? मैले केही क्लासिक कविका कवितामा अँध्यारोलाई नकारात्मक प्रतीक बनाइएको विषय बारम्बार पढेको छु । निरन्तर अस्तित्वमा रहेको र सत्य स्थापित अँध्यारो कसरी आफैँमा नकारात्मक छ ? यो प्रश्नले सधैँ मलाई हिर्काइरहेको हुन्छ । तर उत्तर खोज्दा मैले अपेक्षित स्वरुपको पाएको छैन । मन यही प्रश्नमा कहिलेकाहीँ रुमल्लिरहन्छ ।
यो गोधूलि समय मलाई अत्यन्त मनपर्छ । प्रायजसो म पुस्तक अध्ययनको समय यही छान्ने गर्छु । घाम अस्ताइसकेको तर अँध्यारोको प्रारूप भने पूरै खडा भइसकेको छैन । यस क्षण पुस्तकका पानामा अक्षरका गहिराइ नाप्नु मेरा निम्ति सर्वप्रिय विषय बन्छ ।
मैले जीवनका केही रहस्यहरू सम्भवत: यही समयको छेउछाउ पत्ता लगाएँ भन्ने मेरो अनुमान हो, र जीवन रहस्यमयी छैन भने यो कुरा झुठ पनि हुन सक्छ । तर मचाहिँ जीवनलाई अलिक रहस्यमयी नै सम्झिन्छु । जीवन किन अस्तित्वमा छ ? जीवन के हो ? विज्ञानका नियमहरूले गर्ने तर्कलाई सम्मान त गर्छु तर ती आफैँमा पूर्ण छन् र ? यी प्रश्नहरूले म पटकपटक हिर्काइन्छु ।
समयका हिसाबले मलाई यो गोधूलि अलिक प्रिय लाग्ने हुँदै हो । यो समयलाई म अध्ययनमा सदूपयोग गर्न चाहन्थेँ । तर आज भने अध्ययनको क्रममा रहेको थिइनँ । म कतै गइरहेको छु । यो गइरहनु कुनै एउटा दिशा ताकेर हिँडिरहनु थियो । यी दिशाहरूसँग भने मेरा उद्देश्य, सोच, परिकल्पना वा गन्तव्य गाँसिएर आउँथे । गइरहनुकै बीचतिर एक प्रश्नले मेरा कानका प्वाल हुँदै मष्तिष्क छिचोलेको अनुभव भएको कुरा सत्य हो । यो आवाज केही फरक थियो । कुनै पत्ता नलागेको ग्रहको वा हामीले थाहा नपाएको मान्छेको आवाज हो कि झैँ लाग्थ्यो । यो मेरो अनुभव त्यस किसिमको थियो या समय त्यस्तो घटित थियो ? तर आवाजलाई महसुस गरेर म उत्तर फर्काउन सफल भइरहेथेँ ।
“तपाईंको खबर के छ ?”
“मैले तपाईंलाई चिनिनँ ।”
‘तपाईंले कसलाई चिन्न सक्नुहुन्छ ? वा मैले भन्न खोजेको कसले कसलाई चिन्न सक्ने क्षमता राख्छ र ? संसारमा जो कोही एकअर्कासँग अपरिचित छन् । तपाईंले आफूलाई पनि शायदै चिन्नुभएको छ ।”
“यो पनि हुन सक्छ कि म आफूलाई चिन्छु ।”
“असम्भव ।”
“यो असम्भव पनि त आफैँमा असम्भव हुन सक्छ नि ?”
“असम्भव, असम्भव छ भने त्यो पनि फेरि असम्भव हुन सक्छ ।”
“असम्भव नै असम्भवको शृङ्खलाको परिणाम, सम्भव पनि त हुन सक्छ ।”
“हुनसक्छ मात्रै त हो नि, हो भन्न त सक्नु भएन नि ।”
“यो हो पनि आफैँमा हुन सक्छ मात्रै हो ।”
म यो वार्तालापलाई लम्ब्याउन चाहन्थेँ । रहस्यमयी अनुभव भइरहेथ्यो तर यसको क्रम यहीँ टुङ्गियो । यतिखेरसम्म मैले वार्ता गरिरहेको व्यक्तिको स्वरूपसँग खास महत्त्व राख्दै थिइनँ । अब भने ममा त्यो उत्सुकता बढ्दै गयो । मैले पछाडि फर्केर हेरेँ । यहाँ कुनै शारीरिक बनावटको स्वरूप थिएन । अब भने मैले तीन छक्क खाएँ ।
केही क्षण प्रकृतिले दिएको हावा निस्तो निल्दै आँखा मिच्दै रहेँ । मेरा आँखामा समस्या पक्कै थिएन । अब मसँग सम्भाव्यताका केही अड्कलहरू बाँकी थिए ।
१. यो सब भ्रम थियो ।
२. कोही अरूले भन्ने गरेजस्तो अशान्त आत्माको आवाज थियो ।
३. वा बाँकी अरू कुनै अज्ञात सम्भाव्य अवस्था थियो ।
मलाई जिन्दगी, सोचेभन्दा अर्को कुनै अज्ञात सम्भाव्य अवस्था जस्तो मात्र लाग्ने गर्दछ । तर यो जीवन सोचको कुरा छाडौँ, म अर्को समस्याबाट पीडित भएको पो अनुभव हुँदै थियो ।
मलाई साँझले विस्मयका केही प्रश्न छोडेर गयो । अब म त्यस्तै अर्को साँझ पर्खन थालेँ । म यो रहस्यको पटाक्षेपकै निम्ति बढी अग्रसर रहेँ । अर्को दिन उही समय उही दिशामा र उही तरिकाले मेरो यात्राको थालनी भयो ।
तरिका उही थियो । यो आवाज अब मेरा लागि परिचित छ । हावाको मसिनो झोक्का आयो र फेरि शान्त भयो । यही हावाकै वेगजस्तो मेरा कानका नसाहरूले आवाजको ज्ञान प्राप्त गर्यो ।
“तपाईंमा भोक जाग्यो कि के हो ?”
“हैन म त अघाएकै छु ।”
“फेरि तपाईंले कुरा बुझ्नु भएन ।”
“नबुझ्नुको मतलब तपाईंले कुरा बुझाउन नसक्नु भएको पनि हुन सक्छ ।”
“हो हो, यो हुन सक्छ पनि हुन सक्छ ।”
“तपाईंले भन्नुभएको भोक अर्कै प्रकारको होला भन्ने मैले अनुभव गरेँ, अर्थात् भोजनसम्बन्धी भोक हैन ।”
“हो तपाईं एकदमै सही अनुमान गर्दै हुनुहुन्छ । तपाईंले मलाई चिन्न वा भेट्न तपाईंमा भोक जाग्यो कि भन्ने मेरो जिज्ञासा हो ।”
“यस्तो भएको हो कि भन्ने ममा पनि अनुभूति भइरहेको छ ।”
यसरी केही साँझ बित्दै गए । यस्तो वार्तालाप पनि हुँदै गयो ।
“मेरै कारणबाट तपाईं बेचैन बन्नु ठीक होइन ।”
“यो त स्वभाविक छ नि हैन र ? कुनै मुठ्ठी बन्द गरेर अर्को मानिसलाई देखाइयो भने उसमा त्यसभित्र के छ भन्ने जिज्ञासा जाग्न पाउँदैन र ?”
“जिज्ञासा जाग्न पाउनु शतप्रतिशत जायज हो । तर त्यसभित्रको कुरा कुनै पनि तरिकाले हेर्न पाउनुपर्छ भन्ने हठ राख्नु गलत हुनपुग्छ ।”
“यसलाई यसरी नै बुझौँ न यो जिज्ञासामात्र हो । हठ होइन ।”
आजको वार्तालाप पनि यहीँ टुङ्गिदियो । मैले जिज्ञासा मात्र भने पनि त्यो बेचैनीजस्तो वा चिन्ताजस्तो बनिसकेको थियो । म पुरानै प्रमाणभन्दा अघि बढ्न सकिनँ । यो वार्तालाप पुरानै शैलीमा भयो । जब मैले पहिलेजस्तै पछाडि फर्केर हेरेँ, त्यहाँ त्यस्तो मैले हुनुपर्ने ठानेको कुनै आकृति थिएन । ममा बितेका साँझहरू जस्तो आउने साँझहरू भने फरक अनुभूति दिलाउने अलिक हुने छैनन् । अब मेरो यो दैनन्दिन जस्तो भइसक्यो । भनूँ न एक खालको अभ्यस्तता । म मान्छेका समूहहरूबाट अलिक टाढा हुँदै थिएँ । साथीहरू मलाई, यो किन फरक भयो भन्दै हुन्थे । म सोच्थेँ – फरक त सबै छन् नै तर आजकाल ममा एक किसिमको बेचैनी पैदा भएको छ । म केहीको खोजमा रहेको अनुभूति गर्थेँ ।
अर्को साँझ –
“यो आवाज नै होइन कि भन्ने तपाईं अर्को भ्रममा पर्न सक्नुहुन्छ ।”
“हैन मैले आवाज त ठम्याइरहेको छु । तर यो सङ्गीतको सुरझैँ मोहक रहेको आवाजको साकार स्वरूप फेला पार्न सकिरहेको छैन ।”
“आवाजको ज्यामितीय आकार र ठोस स्वरूप भने हुँदैन । तर यो सर्वसत्य आवाज हो ।”
“सत्य हुन त प्रमाण हुनुपर्ला नि ।”
“अब सबैभन्दा धेरै समस्या यहीँनिर भइदियो । यो प्रमाण के हो ? यो आफैँमा विरोधाभाषपूर्ण छ । तपाईंलाई प्रमाण लागेका कुरा अर्को कसैलाई लाग्नैपर्छ भन्ने छैन । फेरि अर्को कुरा, सत्य हुन प्रमाणको आवश्यक पर्ने भए असत्यका निम्तिचाहिँ हुनु पर्दैन ? वा सबै सत्यहरूका पुष्टि गर्न मिल्ने प्रमाण हुन्छन् र ?”
“सत्य हुन प्रमाण आवश्यक छ भने असत्य हुन पनि त आवश्यक पर्ला नै ।”
घरमा म एक्लै हुन्थेँ र रहन चाहन्थेँ । यो क्रमले परिवारका सदस्यहरू सम्भवत: दिक्क भइरहेथे । हुन त म पनि दिक्क थिएँ । तर ममा एकखालको उत्सुकताले गाँजेको थियो, म उही आवाजको नजिक हुन चाहन्थेँ र जिज्ञासाका केही पोकाहरू फुकाउन चाहन्थेँ ।
फेरि अर्को साँझ ।
“मलाई लाग्यो, तपाईं कुनै फकीरझैँ हुनुहुँदो रहेछ । नत्र तपाईंको मप्रतिको आकर्षण यति धेरै रहन्न थियो होला ।”
“खै यो तपाईंको अनुमान हो । त्यसले तपाईंकै विश्वासलाई प्रकट गर्दछ । यसमा मेरो भन्नु केही छैन ।”
“यो पनि हुन सक्छ कि तपाईंमा आफूसङ्गत केही अनुमान त पक्कै छ ।”
“यो त पक्कै छ, तर म यो अनुभव गर्दैछु कि मैले आफूसम्मत जे अनुमान गर्दैछु, त्यही सत्य हो वा होइन ।”
“तपाईं बल्ल विचारको सही किनारामा आउँदै हुनुहुन्छ ।”
“तर म यो सही भन्ने कुरा नै चिन्न नसक्ने भएको छु ।”
“चिन्न नसक्नु पनि अर्को चिन्नु हो ।”
वार्ता लामो हुने गर्दैन । अलिक अनौठो र जटिल किसिमको मात्र हुने गर्दछ । मलाई यो कुरा अरूलाई सुनाउन पनि मन छैन । साथीहरूलाई सुनाएमा हावा गफ भन्दै उडाउनेछन् । परिवारलाई सुनाएमा परिवारको मप्रतिको चिन्ता झन् बढ्नेछ । परिस्थिति खास जटिल होइन । त्यो आवाजले मलाई खोज्दै आएको पनि छैन । उल्टो म बरू त्यस आवाजलाई पछ्याउँदै हिँडिरहेछु । यदि म नै उक्त आवाजदेखि टाढिने हो भने सबै समस्याको समाधान त्यहीँ छ । यो समस्या पनि होइन । म सो आवाजको पछि लागेर हिँडे पनि त्यसलाई सामान्य सोचिदिने हो भने कतै केही अप्ठेरो नै छैन । मलाई यो रहस्यको पछि लाग्न नै मन छ ।
उसैगरी ।
“कतै तपाईंलाई, म को हुँ जानकारी पाउन मन छ होला ।”
“यो त तपाईंले मेरो मनकै कुरा भनिदिनुभयो । यही कुरा त मेरो मनमा बालहठ जस्तो बनेको छ । र म यो आवाजलाई पछ्याइरहेको छु ।”
“तर मैले यो बताउन जरूरी नै ठान्दिनँ । यो तपाईंले आफैँ निकै सहजसँग पत्ता लगाउनु हुनेछ ।”
“सबभन्दा अप्ठेरो कुरा त कति सम्मलाई सहज भन्ने नै पत्ता लगाउन सक्दिनँ म । असहज जहाँदेखि सोचिदिए पनि त भयो नि हैन र ?”
“अब यही त मूल कुरा छ । यदि कुनै कुरा निकै कठिनताका साथ प्राप्त भयो भने पनि त्यसबेला प्राप्त नहुनु भन्दा सहज त हो नि, होइन र ? मानिसले गर्न सक्ने अन्तिम प्रयाससम्मको अवस्था, सहज हो भन्ने मलाई लाग्दछ । यस कारण तपाईं प्रयासमा नै रहिरहनुहुनेछ भन्ने मेरो अनुमान हो ।”
“तपाईंको अनुमानलाई मेरो सलाम छ, तर ममा बेचैनी भने बढिरहेछ । तपाईं कुन रहस्य हो मलाई छुट्याउन गाह्रो भइरहेछ ।”
“म रहस्य मात्र भने पटक्कै होइन । तर तपाईंले मलाई रहस्यमयी मात्र फेला पार्नुभएको हुनसक्छ ।’
म यो साँझ अलिक धेरै आशावादी रहेँ । मैले यो प्रश्नको उत्तर पाउन सक्छु भन्ने कुरा बुझेँ । यो बुझाइले मलाई अर्कै राहत दियो । मैले परिवारमा त्यस दिन पछिल्ला साँझहरू मध्ये धेरै कुराकानी गरेँ । यसले परिवारका सदस्यहरूको खुशीमा अनौठो तरङ्ग थपिदियो । मेरो बालखा छोरो पनि फर्कीफर्की आएर मेरो काखमा बस्दै रह्यो । अघिल्ला केही दिन । ऊ पनि टाढाबाट कोही अपरिचितलाई हेरेझैँ मलाई हेर्थ्यो । गुरुर्र कुदेर उसकै आमाको काखमा गएर बस्थ्यो । यो साँझ म निकै खुशी हुन पुगेको पक्कै हो ।
“म तपाईंभित्रै छु ।”
“मेरो म आफूसँगै वार्ता !? मैले दङ्ग खाएँ । के मेरो आत्माले पखेटा हाल्यो ? कि यो हावामा उड्दै छ ? र मसँग नै वार्ता गर्दै छ ।”
“तपाईंको कल्पनाशीलता अलिक ठोस किसिमको रहेन, यो तरल छ र जतासुकै जसोगरि पनि बग्न खोज्छ ।”
“ठोस हुनुको आवश्यकता किन छ ? भन्ने नै मैले बुझ्न सकिन ।”
“यो आवश्यकता खड्किएको भने पक्कै हो । यसमा तपाईंको कुरा नै मुख्य रहन्छ । कसैले यस्तो भइदिनुपर्छ भन्नु उसको आशाको विषय मात्र हो ।”
“तपाईं सही हुनुहुन्छ । यसमा मैले टिप्पणी गर्नुपर्ने खास अवस्था महसुस गरिनँ ।”
“यो पनि हुन सक्छ मात्रै हो । हरेक ‘हो’ हरू हुनसक्छ मात्रै हो ।”
फेरि अर्को साँझ र अर्को साँझ गरी केही साँझहरू यस्तै बितेको कुरा गलत होइन । एक साँझ भने वार्तालापहरू मध्ये लामो वार्तालाप हुन गयो ।
“मलाई एउटा चिन्ता भइरहेछ, तपाईं किन यति धेरै मप्रति सम्मोहित हुनुहुन्छ ?”
“यो सम्मोहन भन्ने शब्द यहाँ गलत प्रयोग भयोझैँ लाग्छ ।”
“तपाईंको दृष्टिमा गलत भएको मान्न सकिन्छ । सत्य त सत्य हो । हरेक गलतहरू पनि गलतका लागि नै त आफैँमा निर्मम सत्य हुन् ।”
“अब यहाँ केही समस्या छ भन्ने मेरो कुरा हो । यो पनि त भन्न सकिएला हरेक सत्यहरू पनि आफैँमा गलत हुन् । हेर्ने कोणले निर्धारण गर्ला कि ?”
“मैले भनिसकेँ, हुन सक्दैन पनि हुन सक्छ र हुन सक्छ पनि हुन सक्छ । दृष्टिकोणहरूमा भर पर्दछन् । संसार सम्भाव्यताहरूमा अडेको छ ।”
“मानौँ तपाईं हुनुहुन्छ ? के भनेर चिनौँ, तपाईंलाई सत्यको अर्को नाम भनौँ ?”
“सत्य त विशाल छ । मेरो स्वरूपले त्यसको आकारअघि कुनै ठूलो प्रभाव राख्न सक्दैन । जे होस् तपाईंको मप्रतिको जिज्ञासाका निम्ति धन्यवाद ।”
“तपाईं समयको अर्को नाम ?”
‘तपाईंको यो अनुमान हो भने, यसलाई स्वागत छ । तर म समयजत्तिको साहसी र बलवान छैन । अर्थात् म सबैलाई आफ्नो कठघरामा समयलेझैँ उसैगरि उभ्याउन सक्दिनँ । तर फेरि यो समयको कहीँ न कहीँ एक हिस्सा मेरो भागमा पर्न आउँछ भन्नेचाहिँ मेरो विश्वास हो ।”
“अब म तपाईंलाई चिन्न असमर्थ छु । मैले निकै कठिनतम प्रयासहरू भने गरेकै हुँ ।’
“मैले यो विश्वास गर्दै थिएँ कि तपाईं हार्नु हुने छैन । सबै प्राय: मानिस जिउनुको नाममा अनेक सम्झौताहरू गर्छन् । ती सम्झौताहरू मार्फत नै पराजित हुँदै जान्छन् । जे होस् यो मानवीय स्वभावको कुरा छोडिदिऊँ, अब म तपाईंलाई जानकारी दिन्छु, म तपाईंले मान्ने गरेको जीवनको अस्तित्व झैँ अर्को रुप हुँ । म प्रति–स्वत्व हुँ । पक्षको प्रतिपक्ष भएझैँ । जसरी तपाईंमा आफ्नो निजत्व हुन्छ । त्यसलाई तपाईं स्वत्व भन्नुहुन्छ । त्यसको प्रतिस्वरुप प्रति–स्वत्व हुने गर्छ । जसरी आकारको अस्तित्वसँगै निराकार पनि हुन्छ । उज्यालो भएपछि अन्धकार हुन्छ । स्वैरकाल्पनिक दुनियाँमा मात्र सबै समआकार र समरुप अभ्यासका कुरा होलान् । तर यथार्थमा प्रतिरुपहरू सजीव उत्पन्न हुने गर्दछन् ।”
“तपाईंले अर्को एकजना मानिस सम्झिनुस् । ऊसँग आफ्नो ‘स्वत्व’ हुन्छ । अब तपाईंलाई आफूदेखि कुनै अचम्म लाग्न सक्छ । तर सामान्यकृत छ, अस्तित्व मान्छेको अहमको सबैभन्दा पहिलो प्रश्न हो । यसको आविष्कार चराचर जगतको उत्पत्ति पछि लगत्तै भएको हुनुपर्छ । तपाईंको स्वत्वझैँ अर्को अस्तित्व सम्भवत: तपाईंसँग प्रश्न गर्दै थियो । तपाईंले मलाई प्रतिस्वत्वको स्वरुपमा चिन्न सक्नुहुनेछ ।’
मलाई केही प्राप्त भएझैँ भयो ।
बल्ल मैले बुझेँ । यतिका प्रश्नहरू मलाई गरिरहने अरु कोही पनि मभित्र नै रहेछ । म केही हुँ भन्ने बोध गराउनका लागि आफैँभित्र केही तर्कहरू निर्माण गरिरहने एउटा स्वरुप पनि त मसँगै हुने रहेछ । कहिलेकाहीँ हामी आफैँलाई नचिनेर भड्किने तहमा पुग्छौँ । बेचैन बन्छौँ । आफ्नो सुगन्ध बिर्सेर बाहिर अर्कै शक्तिको स्वरुप खोज्दै हिँड्छौँ । आफूलाई आफू सम्झाउने केही हामीसँग हुन्छ भने त्यो हाम्रो प्रति–स्वत्व रहेछ । यही स्वरुपले उल्टा प्रश्नहरू गरेर म आफूलाई आफैँलाई भित्र प्रवेश गर्न आग्रह गरिरहेको रहेछ ।
म झसङ्ग भएँ । मबाट हरेक कुरा विलुप भइसक्दा पनि मलाई पछ्याइरहने त यही रहेछ– मेरो अस्तित्व अर्थात् ‘स्वत्व’ । सोही स्वत्वको उल्टो स्वरुप अस्तित्वमा रहने प्रति–स्वत्वसँगको कुनै वार्तालापमा रहेछु म । यतिखेर म थप रोमञ्चित हुँदै थिएँ । मानव जीवन हुनुको एउटा छुट्टै मीठासको अनुभूति गर्दै थिएँ । मेरा जिज्ञासाहरूको एउटा पन्तुरो फुकेकोमा म निकै हलुका महसुस गर्दै थिएँ ।

