अस्पताल परिसरमा म पैसा बुझाउने लाइनमा बसिरहेकी थिएँ । त्यहाँ निक्कै घुइँचो हुन्छ भन्ने हल्ला त सुनिएकै हो तर त्यहाँको नियम के के हो ? भन्ने कुरामा म अनभिज्ञ नै थिएँ ।
हाम्रो ठाउँको अस्पतालको नियम पनि बदलिरहने रहेछ । शुरुमा अलिक पछाडि टोकन लिने ठाउँमा नै उभिएकी थिएँ तर हल्ला सुनेँ, “वृद्धहरू उ…पल्लो लाइनमा भनेको । यसो हेरेँ, त्यो लाईनमा सत्तरी कटेकाहरू हुनुपर्ने अरे ! आफू परिएछ बिचको उमेरको ।
पहिलो पटक सामना गर्नु परेको आफ्नो ठाउँको अस्पतालको चेकजाँच र नियम ।
जतिसुकै अरू कुरामा जान्ने हुँ भन्नेहरू पनि आफूले नजानेको र अनुभव नपाएको ठाउँ साधरण नै भए पनि, त्यहाँको नियमसँग अपरिचित भएपछि कठिन नै लाग्दो रहेछ सबैकुरा पत्तो लाउन ।
त्यहाँको माहौल र मान्छेहरूको अन्योलता अनि आफू पनि उही भुंग्रोमा परेको अवस्था सम्झिँदा ।
अँ….मैले पनि त्यस्तै समस्याको सामना गर्नुपर्ने भयो । कहिले उता बस्नू भन्छन् । कहिले उता होइन त्यता भन्छन् । बल्ल एउटालाई सोध्दा पो “तपाईंले यसरी लाइनमा बस्नु पर्दैन, तपाईंको त पैसा बुझाउनु मात्र रहेछ । पहिला नै दर्ता भई सकेको रहेछ । टोकन नम्बर पाइहाल्नु हुन्छ ।” भनेपछि आफ्नो नम्बर लिएर बिलिंग काउण्टरअगाडि गएर बसेँ । मेरो छेउमा एक वृद्ध महिला बसिरहनु भएको थियो । अन्जान, अनपढ त्यो सब नियमदेखि बेखबर । एक्लै चुपचाप बसिरहेको देखेर मैले सोधें,-“तपाईं के जचाउन आउनुभा’को ? कोसँग आउनुभो ?” उनले निन्याउरो मुख लाएर “एक्लै” भनिन् । त्यो पनि टाढा एक/डेढ घण्टाको बाटो हिँडेर आएकी अरे ! त्यही टोकन नम्बरको चिट् देखाउँदै ती वृद्धाले भनिन्, “यी यो टिकट दिएको छ । खै ! कहाँ के गर्नुपर्ने थाहा छैन ।”
नम्बर पनि १७६ जना पछि आउने रहेछ । मैले “अरू कागजपत्र खोई त ?”भनेर सोध्दा केही छैन ।” भन्ने जवाफ आयो । हामी दुईबिचको वार्तालाप सुनिरहेकी महिलाले भनिन्, “तपाईं त वृद्धमा गनिनुहुन्छ । यसरी यहाँ कुरिरहनु पर्दैन । अर्को नम्बर माग्नुहोस् । तपाईंको त दर्ता गर्न नै बाँकी रहेछ ।” भनेर ती महिलाले सुझाइन् । अनि मैले पनि भनेँ, “यो त पैसा तिर्ने ठाउँ हो । तपाईं दर्ताफाँट अगाडि बस्नुहोस् । दर्ता भएर डाक्टरलाई आफ्नो रोगबारे भनेपछि केके टेस्ट गर्ने भनेर लेखिदिनुहुन्छ अनि मात्र पैसा तिर्नुपर्छ ।” त्यति सम्झाएपछि तिनी अर्को टोकन नम्बर लिएर दर्ताफाँटअगाडि बसिन् । त्यति भएपछि अलि ढुक्क लाग्यो तर भरेसम्म पनि के भयो होला, के कसो गरिन् भन्ने पीर रहिरह्यो मनमा ।
अलिक एक छिनमा फेरि अर्की उस्तै वृद्ध देखिने महिला आएर त्यही ठाउँमा बसिन् । मैले सोधेँ, तपाईं के देखाउन आउनु भा’को ?” भनेर । उनले अझ रून्चे स्वर पार्दै भनिन् । “थाइराइडले साह्रो पारेर देखाउन आकी ।” मैले फेरि सोधें, “एक्लै आउनु भा’को ?” “कसले साथ दिन्छ र ? छोराहरू कता कता !” त्यती भनिसक्दा नसक्दा अर्की महिला आएर फेरि तिनलाई भनिन्, “तपाईं त वृद्धहरूको लाइनमा गएर बस्नू न ! छिटो पालो आउँछ ।” मैले पनि सही थपें । “हो त ! जानुहोस् ।” तिनले इमानदारीसाथ भनिन्, “होइन म यहीं बस्छु । त्यहाँ बस्ने मेरो उमेर भा’कै छैन ।”
मैले अचम्म मान्दै भनेँ, “अनि ७० कटेकाहरूले छिटो पालो पाउँछन् अरे नि ! जानू त्यहीं गएर बस्नू ।”
“अनि म त सत्तरी पुगेकै छुइनँ भर्खर साठी कट्दैछु ”, भनिन् ।
म छक्क परें । हेर्दा सत्तरी, पचहत्तर देखिने ती महिला सत्तरी पनि पुगेकी छुइनँ भनेर इमान्दार भइ पालो कुरेरै बसेको देख्दा ।
मलाई मनमा कता कता नमिठो लाग्यो र भनें “तपाईं त हेर्दा निक्कै वृद्ध देखिनुहुन्छ । साठी मात्र पुग्दैछु भन्नुहुन्छ तर किन यति चाँडो बुढी देखिनुभयो ? म सँगैको हुनुहुँदो रहेछ । मलाई पनि मेरो सही उमेर भन्दा पत्याउँदैनन् तर मलाई त अझ कम उमेरकी भन्छन् ।”
मेरो कुरा सुनेर तिनले भक्कानिँदै भनिन् । ”के गर्नु बहिनी ! मनको पीर पखालेर नजाँदो रहेछ । धुँदा जाने भए, पैसा तिर्दा कसैले लिने भए म त्यसै गर्थें ।”
तिनको कुरा सुनेर मैले सहजै भनें, “हत् ! पीर लिनु हुँदैन । पीर जति लियो उति दु:ख पाइन्छ । कस्तो पिर हो त मान्छेको उमेरै नपुगी देखाउने ?”मलाई आश्चर्य लाग्यो । पक्का बाहुनी देखिने जसको घरमा जाँडरक्सी चल्दैन । त्यति वृद्ध भएकी स्वास्नीको श्रीमान पनि वृद्ध नै होला । बाहिरी रंगरलिया मनाउँदै, मादक पदार्थ खाएर श्रीमतीलाई पीडा दिने पनि पक्कै होइन होला ! मैले फेरि सोधेँ, “केको पिर हो त ! कि रक्सी खाएर कुट्छन् ? भन्न मिल्छ ?” तिनले भनिन्, “पिर त बुढाकै हो । मलाई टर्चर दिन्छन् रातदिन ।”अनि जाँडरक्सी पनि खाँदैनन् भने किन टर्चर दिनु त ? केका लागि दु:ख दिनु त ?” भनेर केर्दा, “मैले पेवापात गरेको सबै उसैलाई दिनु भन्छन् । नदिँदा टर्चर गर्छन् । ” मैले यो कुरा पुरै पत्याइनँ ।
मलाई लाग्यो तिनका श्रीमान पक्कै जँड्याहा होलान् । जाँड खानलाई पैसा माग्दो हो । नदिँदा रँडाको मच्चाउँदो हो वा अरू केही कारण हुनुपर्छ ।
आज म लैङ्गिक हिंसाविरूद्धको कार्यक्रममा छु । लैंगिक हिंसाविरूद्ध महिला पुरुषहरू सबैले आ-आफ्ना विचार प्रस्तुत गरिरहेका छन् चर्को चर्को आवाजमा ।
म सोचिरहेछु – मेरै केही आफन्त, साथीहरू जो धनाढ्य र शिक्षित पनि छन् । श्रीमान् श्रीमती दुवैको नाम छ, शान छ । उनीहरू बाहिरी दुनियाँमा ठिक छन् तर भित्री रूपमा भने पीडित छन् श्रीमानको बाहिरी संसर्ग र सम्बन्धको कारणले ।
म सोच्ने गर्छु, हामी नारीहरूले आफ्नो श्रीमान र परिवारबाट जति पनि पीडा भोग्छौँ नि, केवल आफ्नो श्रीमान घर परिवारको इज्जतका लागि नै हुन्छ । समाजमा परिवारको जुन इज्जत, मान, सम्मान छ त्यसमा कलंक नलागोस् भनेर मात्र । साँच्चै भन्ने हो भने गाउँघरका अनपढ, अशिक्षित परिवारका महिलाहरूले भन्दा पढेलेखेका शिक्षित र सम्पन्न परिवारका महिलाहरूले नै ज्यादा पीडा भोग्न बाध्य हुन्छन् । त्यसो हुनुको मुख्य कारण घर परिवार र आफ्नो पारिवारिक साख जोगाउनलाई पनि पीडाको आँसु पिउँदै कतिपय नारीहरूले अपमान र अन्याय सहन विवश छन् । म यसरी सोचमग्न बन्न पुगेछु कि कार्यक्रम समाप्त भएको घोषणाको आवाजले मात्र झस्किएँ र बाहिरिएँ ।

