रात आफ्नो अन्तिम प्रहरमा यात्रारत रहँदा उज्यालो र अँध्यारोबिच सङ्घर्ष चलिरहेको थियो—एकअर्कालाई निषेध गर्दै, आफ्नो प्रभाव बिस्तारका खातिर । बेलाबेला सुनिने चराहरूको चिरबिरले एकातिर गुँडबाट निस्केर आहरा खोज्ने व्यग्रता दर्शाइरहेको थियो भने अर्कातिर उज्यालोको पर्खाइ अन्यत्र पनि भइरहेको सङ्केत गरिरहेको थियो । पारी कतै खोलाको सुस्केरा मन्द हुँदै जाँदा एक नौजवानको अनिदो रात करिब समाप्ति उन्मुख थियो ।
एउटा लगभग निर्जन गाउँको सुनसान घरमा त्यो नौजवान अत्यन्तै ऐंठनपूर्ण रात काटिरहेको थियो । अनिश्चित भविष्य, एक्लोपनको सन्नाटा र भित्र कतै मनमा जमेको भयले उसलाई रातभर निदाउन अनुमति दिएको थिएन । झण्डै डेढ बित्ताको दूरीमा रहेको उसको आफ्नै कानले आफ्नै मुटु धड्किएको यति प्रष्टसँग शायद यसभन्दा अघि कहिल्यै सुनेका थिएनन् । घरी ऊ बिछ्यौनाबाटै टाउको उठाई “उज्यालो भयो कि ?” भनी खुला आँखीझ्यालतिर बाहिर नियाल्थ्यो, त घरी मैलो सिरकभित्र पुरै टाउको लुकाउँथ्यो ।
नौजवानले आँखीझ्याल बाहिरको अँध्यारो र सिरकभित्रको अँध्यारोमा समान गुण पहिल्यायो । रातको निष्पट्ट अन्धकारलाई चिर्दै केहीबेरमा भोरले उज्यालोको स्वागत गर्ने त निश्चित थियो, तर निशासमान उसको जीवनमा कहिल्यै प्रवेश नगरेको उज्यालो अब आउला–नआउला—कुनै निश्चितता थिएन, छैन ।
“रात पनि कहिले जाला ?”— आफैँसँग संवाद गर्दै नौजवानले यो रातको अन्तिम कोल्टे फेर्यो ।
नाम—कृष्णबहादुर । उमेर—२० वर्ष । ठेगाना—नेपालको दुर्गम पहाडी भेग । शिक्षा—८ कक्षासम्म । स्मृतिमा समेत नआउने गरी आमाको पेटमै छँदा हराएका बाबु, दुई महिना अघि सामान्य स्वास्थ्य–चिकित्सा सेवाको अभावमा बितेकी आमा, थाहा पाएदेखि भोक–अभावको अनुभव र कहिल्यै नसकिएको दुःखको लामो शृङ्खला—नागरिकताले खुलाउने र नखुलाउने दुवै परिचय समष्टिमा यति हो जुँगाको रेखी राम्ररी बसिसकेको नौजवानको । आज ऊ सदाका लागि आफू जन्मिएको ठाउँ छोडी शहर प्रस्थान गर्दैछ । उसको मुटुको गति यही कारणले परिवर्तन भएको थियो ।
“अब म पनि गाउँ छोड्छु ।”— उसले पन्ध्र दिनजति अघि आठ दशक पार गरी एक्लै जीवन डोर्याइरहेका हजुरबा साइनो पर्ने गाउँका वृद्धलाई भनेको थियो ।
“तँ पनि गइस् भने त अब यो गाउँमा को बाँकी रहला र अरू? मेरो लास उठाउने कोही नभएर अगति पो पर्छु कि के हो !”— हजुरबाले चिन्ता र निराशा मिश्रित भावमा भनेका थिए ।
जीवनदेखि थकित र कान्तिविहीन ती हजुरबुबाको चेहरा सम्झँदै रातभरि कृष्णबहादुरका आँखा बन्द भएनन् । निदाउन नसकेपछि दुई घुँडामाथि हात बाँधी, त्यसमाथि चिउँडो राखी बस्यो ।
सबैभन्दा पहिले उसको मानसपटलमा आइन्—आमा । यो धरतीमा उसले सबैभन्दा पहिले, सबैभन्दा राम्ररी र सबैभन्दा नजिकबाट चिनेको मान्छे । माया, ममता र भगवान्—यी सबै शब्दहरूको पर्याय नै आमा हुन् जस्तो उसलाई लाग्थ्यो । केही दिनअघि अन्तिम सास फेर्दै गर्दा पनि उनी उसैको चिन्तामा थिइन् । जीवनभर छातीमा दुःखको पहाड उठाएर पनि आफू मर्ने भएँ भन्ने दुःख उनमा पटक्कै थिएन। चिन्ता थियो त केवल छोराको।
“म नभए पनि नरुनू, नआत्तिनू । अब तँ गरिखाने भइसकिस् ।” — आमा हौसला दिँदै भन्थिन् ।
एकल र अबला महिला भएर पनि आफूलाई हुर्काउन आमाले गरेका दुःख र उनको मायालु अनुहार झलझली सम्झी उसका आँखा भक्कानिएर आए । भीरपाखा खोस्री, बाख्रा–कुखुरा पाली र ज्याला–मजदुरी गरी जोडेका तिलहरी, मुन्द्री, ढुङ्ग्री, फुली र औँठी गरी पुगनपुग दुई तोला सुन हातमा दिँदै आमाले भनेकी थिइन्—“जोगाएर राख्नू, दुःखमा काम लाग्छ ।”
जीवनपर्यन्त र मृत्युपश्चात् पनि कुनै लोकबाट उसलाई आमाको अनुग्रह प्राप्त भइरहेझैँ भयो ।
आमाले कृष्णबहादुरलाई बताएअनुसार उसका बुवालाई एक हुल मान्छेले, तिनकै शब्दमा “देश परिवर्तन गर्ने युद्ध” मा समाहित गराउन जबर्जस्ती लिएर गएका थिए, उतिबेला; जतिबेला ऊ सात महिनाको गर्भ थियो । गरीब र निमुखाका जीवनमा परिवर्तन ल्याउन सामन्ती र जहाँनियाको अन्त्य गर्न भनी हिँडेका बुवा कहाँ पुगे कुन्नि ! आफैं अन्त्य भए या कतै छन्—थाहा छैन । युद्धमा लिएर जानेहरू बरु भोट माग्न पटकपटक फर्किएर आए, तर बुवा आएनन् ।
देशमा परिवर्तन भएको कुरा कृष्णबहादुरले धेरैपटक शिक्षक, रेडियो र नेताहरूका मुखारविन्दबाट सुन्यो । तर त्यो कस्तो परिवर्तन थियो खै कुन्नि, जसले उसको गाउँ र जीवनलाई कहिल्यै छोएन । “शहरमा पो कतै आफ्नो बुवाले पनि लडेर ल्याएको परिवर्तनको आभास पाउँछु कि !” भनेर उसले शहर जाने निधो गरेको थियो ।
“झन् अहिलेको चुनावबाट त पुराना र बुढाहरूले खत्तम पारे, अब हामी रामराज्य बनाउँछौँ” भन्नेहरू सत्तामा पुगेका छन् । “केही राम्रो गर्लान् कि ! राम्रो गरे त आखिर जसले गरे पनि के थियो र—नयाँ होस् या पुरानो । तर सबै नयाँ चिज राम्रा नहुन पनि त सक्छन् ।”— मनमनै सोच्यो ।
जुरुक्क उठेर तखतामा राखिएको अम्खोराको एक घुट्को पानी खाई कृष्णबहादुर आसनमा अघिझैँ यन्त्रवत् बस्यो ।
“मेरा बुवा पनि यस्तै थिए होलान्” भनी उसले प्रतिविम्बित गरेका एक चरित्र थिए—उसका काका । दाजुझैँ अनिच्छामा युद्धमा उतारिएका उनी युद्ध सकिएपछि भने—“अब हाम्रा पनि दिन खुल्छन्” भन्दै विजयभावमा गाउँ फर्किएका थिए रे । तर दुई वर्षअघि काकी र चार छोरीसहित गाउँ छोडी मधेस झर्न बाध्य भए ।
काका बसाइँ जाँदा कान्छी छोरी सात महिनाकी हुँदी हो र जेठी सात वर्षकी । चार बहिनीहरूमध्ये माइली, जो उसकी सबैभन्दा प्रिय थिई, उसका आँखा ठूल्ठूला थिए । रोएकै बेलामा पनि कृष्णबहादुरलाई देखी भने रुन छोडेर हाँस्न थाल्थी । त्यस दिन पनि माइलीले उसलाई पर नपुगुन्जेल साबिकभन्दा अझ ठूला आँखाले हेरिरहेकी थिई । शायद त्यो अबोध पनि सोच्दै थिई—“यो जुनीमा अब भेट होला कि नाई ?”
पहिलोपल्ट त्यसदिन कृष्णबहादुरलाई घर र गाउँ नै शून्य लागेको थियो ।
आमा भन्थिन्—“तेरा पनि त अहिले तीनवटा दिदीहरू हुन्थे नि, अकालमै नमरेका भए । बाउ र काकाबाउले कति गर्दा नि बचाउन सकेनन् । काकाले त झन् कहाँ टाढा गएर जडीबुटी पनि ल्याएका रे !”
ती काका किन त्यसरी बसाइँ नै गएका होलान् भनी त्यतिबेला बुझ्न नसकेको ऊ अहिले आफ्नै परिस्थितिबाट छर्लङ्ग भएको छ । शायद कति कुरा आफैंलाई नपरी नबुझिने रहेछ ।
बहिनीहरू बोलेको, खेलेको, कराएको, चिच्याएको, रोएको, तिहारमा भाइटीका लगाएको—सबै दृश्यहरू सम्झँदै उसका आँखा एक निमेषलाई हाँसे । लगत्तै अहिले बिरान भएको काकाको निर्जीव घर उसको मानसपटलमा आयो । आँगन, पिँढी र मझेरी ढाकेका आफूभन्दा अग्ला घाँस सम्झियो । गाउँका बहुसंख्यक घरहरूको सोही गति सम्झियो र कल्पना गर्यो केही महिना वा वर्षपछिको आफ्नो घरको दुर्दशा । अघि एक निमेष हाँसेका उसका आँखा अब फेरि निराश भए ।
औपचारिकताका लागि या आफ्नो थातथलोको जगेर्ना होओस् भन्ने आशातीत भावले हो, छुट्टिने बेला काकाले लाचार तर आदेशात्मक शैलीमा भनेका थिए—“घरबारी अब तेरो जिम्मा भो है, कृष्णे ।”
उसले पनि मन्द र भावविहीन स्वरमा भनेको थियो—“हस् ।”
“काकाले त उसलाई जिम्मा लगाए, उसले पो कसलाई जिम्मा लाउने ?”
“एकाघर परिवार सुखदुःख साट्दै एकै ठाउँ बस्न नसकिने, सामान्य ओखतीमुलोको अभावमा मर्नुपर्ने, एउटा देशको नागरिक देशभित्रै बेपत्ता हुने, शारीरिक परिश्रम गरी माटोबाटै जीवन चलाउँछु भन्दा पनि सम्भव नहुने—यो कस्तो व्यवस्था ? यो कस्तो नियति ? यो कस्तो, कसले र केका लागि ल्याएको परिवर्तन ? अनि धेरै पटक भएका परिवर्तन नयाँ बोतलका पुरानै रक्सीभन्दा कसरी भिन्न ?”— कृष्णबहादुरका मनमा लगातार प्रश्नहरूको वर्षा भइरहे ।
झ्यालबाहिर अँध्यारोले अझै हार मानेको थिएन । कृष्णबहादुर आजसम्म भोगेको जीवनलाई टेलिचलचित्रको पूर्वदृश्यझैँ स्मरण गरिरहेको थियो ।
आमाको स्नेहबाहेक उसको हृदयलाई पुलकित पार्ने अर्को चिज थियो—सरिताप्रतिको अनुराग । उसलाई यस्तो लाग्थ्यो, सरिताले आफ्नो नामको शाब्दिक अर्थ आफैं बोकेर हिँडेकी छे—चञ्चल, निश्चल अनि सौम्य ।
सरिता ऊसँगै एउटै स्कुलमा चार कक्षासम्म पढेकी थिई । त्यसपछि छोरी हुनुका कारण नै अध्ययनलाई तिलाञ्जली दिएर घरायसी धन्दामा अभ्यस्त भई । बुवाआमा दुवैले परमधामको यात्रा तय गरेपछि उसका जेठा दाइ शहरबाट आई उसलाई लिएर गएका थिए । दाजु अलिक वर्षदेखि नै शहरमा बस्थे र मान्छे विदेश निर्यात गर्ने व्यवसायमा सहयोगीको काम गर्थे।
सरितालाई सम्झने बित्तिकै कृष्णबहादुरलाई आफ्नो धड्कनको गतिमा परिवर्तन आएको महसुस भयो । उसको गम्भीर मुहार र काला गहिरा आँखा मनमस्तिष्कमा विचरण गर्न थाले । सुनिरहुँझैँ लाग्ने उसको आवाज कानमा गुञ्जिन थाल्यो । अनि याद आए ऊ सम्मुख भएका पलहरू ।
सरितालाई एक झलक हेर्नका लागि कृष्णबहादुर छोटो बाटो नहिँडी उसको घरअगाडिको लामो बाटो रोज्थ्यो । भेट वा देखादेख हुन सक्ने सम्भावित ठाउँहरूमा समय अगावै पुग्थ्यो । ऐना हेरीहेरी, कपाल कोरीकोरी “म पनि कम्तीको छैन” भन्ने भाव बुन्थ्यो । सरितासँग एक–दुई वाक्य विनिमय भएको दिन उसलाई निन्द्रै पर्दैनथ्यो ।
गाउँभरिका वृद्धदेखि बनितासम्म उसलाई “कृष्णे, कृष्णे” भन्थे, तर सरिताले मायाले नै त होला, अरु कसैले नभन्ने लवजमा “कृष्ण” भन्दा उसका शरीरका सबै नसा एकसाथ तरङ्गित हुन्थे । कहिल्यै उसले “तिमीलाई प्रेम गर्छु” भनी जानकारी दिएन । एक–दुईपल्ट कोसिस नगरेको भने होइन । अप्रसारित र अव्यक्त प्रेमले दिएको रोमाञ्चले हो या अस्वीकृत हुने भयले हो, ऊ प्रेम–प्रस्ताव लिएर कहिल्यै प्रस्तुत हुन सकेन ।
सरिता शहर गएपछि पनि दूरी बढ्दा आकर्षण घट्ने विज्ञानको नियम उसको प्रेममा लागू भएन । उल्टो, उसको माया झन् प्रगाढ हुँदै गयो । शहरमा सरिता छे भन्ने कुराले गाउँ, घर, पाखा, पखेरा सदाका लागि छोडी शहर हिँड्नै लाग्दा उसको मनमा उब्जिएका असीम पीडाभित्र पनि खुशीका धर्काहरू कोरेको थियो । अथवा भनौँ, शहर जाने निर्णयमा खुशी हुनुपर्ने एकमात्र कारण बनेकी थिई—सरिता ।
गत साल सरितालाई लिन गाउँ आएका बखत मानव–निर्यातक दाइले उसलाई भनेका थिए—“बुझिस् कृष्णे, यहाँ बसेर अब केही काम छैन । राहदानी बनाउनू, एक–डेढ लाख जम्मा गर्नू अनि शहर आई मलाई यो ठेगानामा भेट्नू ।”
यसो भनी उसका हातमा एउटा पर्ची थमाएका थिए ।
“मिहिनेत र खट्न सकेअनुसार जति पनि पैसा कमिने भएकाले दस वर्ष विदेशमा पसिना बगाइस् भने काठमाडौंमा घर बनाएर आनन्दको जिन्दगी बाँच्लास् ।”— भन्दै लोभ्याएका थिए । “छिटो गरी आइहाल्नू है” भन्दै विदेश गई गाउँकै बले, कमले, हरी र पञ्चमान लगायतले गरेको प्रगतिको उदाहरण प्रस्तुत गर्न समेत भ्याएका थिए ।
तर हरेक दिन औषतमा चारओटा बाकसमा लास बनेर फर्कने रामे, श्यामे, हर्के र धनेहरूका कुरा उनले गरेनन् ।
सँगै रहेकी सरितालाई जाने बेला उसले अरूले नसुन्ने गरी सोधेको थियो—“अब कहिले आउँछ्यौ गाउँ ?”
अन्यमनस्क विद्यार्थी शिक्षकले तेर्स्याएको गाह्रो प्रश्नमा रनभुल्ल परेजस्तै गरी उसले यति मात्र भनी—“खोइ !”
“माया नमार है, म पर्खनेछु । म पनि शहर आउनेछु तिमीलाई भेट्न ।” — एकसाथ कृष्णको मनमा धेरै वाक्य अन्तिम बनेर आए, तर जिब्रोसम्मको यात्रा तय गर्न सकेनन् । आँखाले धेरै कुरा बोलिरहे, तर सुन्नुपर्ने कानले सुने–सुनेनन् ? उसले मेसो पाएन ।
लामो उफ्SSS गर्दै कृष्णबहादुर, बसेको ठाउँदेखि जुरुक्क उठ्यो । सलाइको सहायताले टुकी सल्कायो र हिजो राति नै झोलाको भित्री भागमा एकसरो लुगामुनि राखिएको नागरिकता र राहदानी निकाल्यो । त्यहाँ भएको आफ्नो फोटो, ठेगाना र मातृ–पितृ विवरणमा नजर डुलायो । फेरि झोलालाई जस्ताको तस्तै मिलाई उहीँ ठाउँमा राखेर टाउकै निकाली झ्यालबाट बाहिर हेर्यो । अँध्यारो अझै डेग नचली विराजमान थियो ।
“आज किन उज्यालो हुँदैन ?”
सूर्यको पनि आयु हुन्छ भनी उहिले कहिले रेडियोमा सुनेको थियो । “कतै सूर्यको आयु आजै सकिएको त होइन ?”— उसको मनमा यस्तो सम्म संशय आयो ।
“उज्यालो हुने बित्तिकै हिँड्नलाई तयार हुन्छु ।”— भन्ने सोच्दै ऊ शौच गर्न भनी घरबाहिर निस्कियो । आँगनमै जोडिएको धारोमा एकसरो जीउ खलल्ल पखाल्यो । लुगा लगाई तयार भई, झोला लिई, त्यसपछि अगेनामा आगो फुकी कालो चिया पकायो र पियो । यति गरुन्जेल उसका मनमा कुनै भाव आएन, छाती भने झन् भारी भइरह्यो ।
अन्ततः बाहिर उज्यालोले आफ्नो पराक्रम देखाइसकेको थियो ।
कृष्णबहादुरले चियादानी, चियाछान्नी र चिया पिएको गिलास धारामा पखाली पिँढीमा घोप्ट्यायो । ढोकालाई प्वालबाट हात छिराई बाहिरैबाट आग्लो लायो । ताल्चा मार्न उसले आवश्यक ठानेन, किनकि केही नभएर आफैंले छोडेको घरमा को पस्ने डर र ?
यति गरी आँगनमा आई चारैतिर एक दृष्टि लगाएर कृष्णबहादुर “परिवर्तन” को खोजीमा फटाफट शहर जाने बाटोतिर लम्कियो ।

