साहित्यपोस्ट डट कम

कथा: निलडाम

कथा: निलडाम

पूर्वेली आकाशमा बादलहरू एकअर्कासँग जुधिरहेका थिए । इटहरीको राजमार्गमा हेडलाइटको मधुरो प्रकाशमा डा. संकल्पको गाडी अघि बढिरहेको थियो । पुर्वाञ्चल विश्वविद्यालयको लामो प्राज्ञिक बैठक सकेर विराटनगर फर्किँदै गर्दा उनको मनमा घर पुगेर छोराछोरीसँग खेल्ने रहर थियो ।

ठ्याक्कै इटहरी चोक काट्नै लाग्दा उनको मोबाइल थर्कियो । इटहरीकै एउटा अस्पतालको नम्बर जहाँ उनी कहिलेकाहीँ सामान्य बिमारी परिक्षण गर्ने गर्थे । समय माग्थे र सम्भव भए पुग्ने गरेका थिए । तर यस पटक आवाजमा छटपटी थियो, जसले गुडिरहेको गाडीको चक्काझैँ संकल्पको मुटुलाई ’ब्रेक’ लगाइदियो ।

“डाक्टर साब ! छिटो आइदिनुस्, एउटी बहिनीको रगत थामिएन । ज्यानै जाने भो !”

डा. संकल्पले गाडी मोडे । अस्पतालको त्यो सानो वार्डमा पस्दा त्यहाँको सन्नाटाले नै मृत्युको गन्ध फैलाइरहेको थियो । बेड नम्बर २ मा सपना थिइन् । नाम सपना, तर विपनाको एउटा भयानक ऐँजेरु पालेर उनी छटपटाइरहेकी थिइन् । शायद गरिबी, लोकलाज, वा अज्ञानताको पहाडले थिचिएर होला, उनले एउटा फार्मेसीबाट ‘पाँचवटा चक्की’ किनेर खाएकी रहिछन् । ती चक्कीले उनको पेटको समस्या मात्र होइन, जीवनको ‘अप्ठ्यारो’ पनि पखालिदिनेछन्, भनेर सोचेकी थिइन् क्यारे ।

तर, ती चक्कीहरू त उनको रगत सुकाउने विष बनेर निस्किएछन् । संकल्पले जाँच गरे । सपनाको अनुहार पहेँलो भइसकेको थियो, नाडीको गति सुस्त थियो । मानौँ शरीरको सारा रगतले उनलाई बिदाइ गरिसकेको छ । पाठेघरको मुखमा अड्किएका ती गर्भका टुक्राहरूले उनको ढुकढुकीलाई अन्तिम चुनौती दिइरहेका थिए ।

“डाक्टर साब…मलाई बचाउनुस्…मेरा साना छोराछोरी छन्न् ।” सपनाको स्वर मसिनो मात्र थिएन, कमजोर र लाचार पनि थियो ।

संकल्प निर्विकल्प थिए । चिकित्सा धर्म र मानवताले उनलाई उपचारका लागि कम्मर कस्न भनिरहेका थिए । जटिलता र उनको आर्थिक अवस्थाले साथ नदिने हो कि भन्ने डर थियो । उपचार नगरे मृत्यु हुने निश्चित थियो । शायद त्यसैले उनले उपचार शुरु गरे । चिकित्सकीय भाषामा त्यसलाई पिएसी अर्थात् ‘पोष्ट एर्बोसन केयर’ भनिँदो रहेछ ।

केवल दश मिनेटमा उनले उनले पिएसी गरे । ती दश मिनेट संकल्पको जीवनका सबैभन्दा लामो दश वर्ष जस्ता थिए । जब अन्तिम टुक्रा सफा भयो र रगत थामियो, सपनाको ओठमा एउटा मधुरो मुस्कान खेल्यो । मृत्युलाई जितेर फर्किएको त्यो मुस्कान देख्दा संकल्पलाई लाग्यो, आज उनले साक्षात ईश्वरलाई भेटे । उनी एउटा ‘नायक’ बनेको उन्मादमा विराटनगर फर्किए ।

तर, नियतिले उनलाई आकाशबाट भुइँमा पछार्न एउटा जाल बुनिसकेको रहेछ । भोलिपल्टको घाम संकल्पका लागि उज्यालो होइन, एउटा कालो धब्बा बनेर झुल्कियो । प्रहरीको फोन आयो । आवाजमा रुखोपन थियो, “डाक्टर साब, तपाईं विरुद्ध ‘अवैध गर्भपतन’ को मुद्दा दर्ता भएको छ । पक्राउ पुर्जी लिएर टोली आउँदैछ ।”

संकल्पको खुट्टा मुनिको जमिन भासियो । हिजो राति उनले जुन ज्यान बचाएका थिए, आज त्यही ‘बचावट’लाई अपराधको प्रमाण बनाइएको थियो । उनी आफैँ इटहरी प्रहरी कार्यालय पुगे । त्यहाँ पुग्दा उनलाई एउटा सम्मानित चिकित्सक होइन, कुनै कसाईलाई जस्तो व्यवहार गरियो । हवल्दारको त्यो तिरस्कारपूर्ण नजर, मानिसहरूको कानेखुसी, र ती चिसो फलामे डन्डीहरू । उनी एकैक्षणमा नायकबाट अभियुक्त बनेर हिलोमा पछारिए ।

मुद्दा चल्न थाल्यो । अनुशन्धानका लागि ४ दिनको म्याद थपियो तर चिकित्सकहरूको आन्दोलन र दबाब पछि दोस्रो दिनमै थुनछेक बहस भयो । इजलासमा न्यायाधीशका अगाडि उभिँदा संकल्पलाई आफ्नो मेडिकल डिग्री होइन, आफ्नो चरित्रको ‘पोस्टमार्टम’ गराइरहेको महसुस भयो । अन्ततः ९ हजार धरौटी बुझाएर बाहिर निस्के । धरौटीमा पैसा मात्र होइन, उनको आत्मसम्मान पनि राखिएको थियो । पत्रपत्रिकाले अवैध गर्भपतन गराउने डाक्टरको पगरी लगाइसकेका थिए । समाजका नजर तिरस्कारको थियो ।

कुरा त्यहाँ सकिएन । त्यो मुद्दाको तारिख खेप्दाखेप्दा संकल्पका जुत्ताका तला मात्र होइन, उनको सेवा गर्ने उत्साह पनि खिइँदै गयो । एकातिर उनी विश्वविद्यालयमा विद्यार्थीलाई ‘मानवीय संवेदना’ पढाउँथे । अर्कोतिर आफैँ त्यही संवेदनाको अपराधी बनेर अदालतको छिँडीमा पालो पर्खिन्थे । चिकित्सकहरूको निर्वाचन आयो । साथीहरू उम्मेदवार बनेर भोट माग्दै हिँडे । तर उनी एउटा ‘विचाराधीन फौजदारी मुद्दा’ को कैदी भएर घरको कुनामा थन्किए ।

उनका छोराछोरीले सोध्थे, “बाबा, तपाईंले के गल्ती गर्नुभएको हो र अदालत गइरहनुपर्छ ?” संकल्पसँग केवल मौन आँशु थिए । कहिले काउन्सिलको पत्र, त कहिले संघको पत्र, कहिले वकिलको कार्यालय, त कहिले अदालतको फाँटमा हराउँथे ।

अन्ततः वर्षौंपछिको अदालतको फैसला आयो । “डाक्टर संकल्प निर्दोष छन् । उनले अपराध होइन, चिकित्सकीय धर्म निभाएर ज्यान बचाएका थिए ।” फैसला त आयो, तर त्यो जीतमा खुशीको रङ्ग थिएन । त्यो त केवल एउटा निलडाम थियो, जुन संकल्पको प्रतिष्ठाको आकाशमा सधैँका लागि रहिरहनेछ ।

आज पनि डा. संकल्प कुनै बिरामीको ज्यान जोगाउन हात अघि बढाउँदा उनको मुटु एकपटक ढक्क फुल्छ । उनी झ्यालबाट बाहिर हेर्छन् र सोच्छन्, “प्रजनन अधिकार र कानुनी दफाहरूको यो लडाइँमा एउटा डाक्टरको मुटु कति पटक फुट्नुपर्ने हो ? के यो समाजले जीवन जोगाउने हातहरूलाई कहिल्यै चिन्न सक्ला ?“

साझा गर्नुहोस्:
डा. बालकृष्ण साह

लेखकको बारेमा

डा. बालकृष्ण साह

वरिष्ठ चिकित्सक डा. बालकृष्ण साह स्त्री-रोग विशेषज्ञ हुन् । विगत १० वर्षदेखि स्वास्थ्यको क्षेत्रमा कलम चलाउँदै आएका साहका रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.