साहित्यपोस्ट डट कम

कथा : नयाँ शुरूवात

कथा : नयाँ शुरूवात

रिटायर्ड जीवनको पहिलो दिन– ध्रुवराजको उत्साह उत्कर्षमा थियो । “अब त म स्वतन्त्र छु… अब त म आफ्नै ढंगले बाँच्न सक्छु” आफ्नै मनको शब्द तरंगमा आरामले तैरिरहेका थिए उनी पहिलो दिन ।

तर …

तर स्वतन्त्रता पनि कहिलेकाहीँ अनौठो बोझजस्तै लाग्दोरहेछ– कसैले केही भन्नु नपर्ने, कसैले रोक्न नपाउने, तर आफैँले आफैँलाई गतिशील बनाउन बल गरिरहनु पर्ने ! लगातार दुई हप्ता बितिसक्दा पनि ध्रुवराजले आफूलाई कुनै निश्चित ताल र लयमा बसाल्न सकेका थिएनन् । बिहान उठ्थे, चिया पिउँथे, बार्दलीमा राखिएको पुरानो काठको कुर्सीमा बसेर आकाशतिर हेर्थे– तर केही पनि शुरू गर्न सकिरहेका थिएनन् उनी ।

त्यस बिहान पनि ध्रुवराज कुर्सीमै बसेर बादलको फाटोबाट छिरेको हल्का घाम हेर्दै थिए । बगैंचामा रातभर परेको पानीका थोपा अझै पातका टुप्पामा टल्किरहेका थिए । हावाले पात हल्लाउँदा ती थोपा झर्दै जमीनमा बिलाउँथे– जसरी उनको मनमा उठेका अधुरा विचारहरू फाटेर हराइरहेका थिए ।

“आज केही त गर्नैपर्छ,” मनमनै बडबडाए ध्रुवराज ।

“तर के गर्ने ? उपन्यास लेख्ने सपना त थियो, तर कहाँबाट शुरू गर्ने ? कसरी शुरू गर्ने ?” लेख्ने कुरा सोच्दा मनमा एउटा हल्का डर, केही उत्साह र अलमल मिसिएको अनुभूति उठ्ने गर्थ्यो जसलाई उनले कुनै अनुभूतिजन्य शब्दमा नाम दिन सकेका थिएनन् । सोचे– “शायद यो अनुभूतिबारे पनि केही लेख्न सकिन्छ ।”

धेरै बेरसम्म कुर्सीमा बसिरहेपछि उनी भित्र पसे । पुरानो काठको आलमारी खोलेर केही किताबहरू छान्न थाले । एउटा पुरानो पहेंलो कभरमा उनको ध्यान पर्‍यो– तरुण तपसी ।

कभरको पहेंलोपनमा उनको बाल्यकालको धुलो मिसिएको जस्तो लाग्यो । आठ कक्षामा हुँदा, चौध वर्षको उमेरमा, उनले त्यो पुस्तकका हरेक पंक्ति छन्दमा लय मिलाएर गाउँदै पढेर सिध्याएका थिए ।

पुस्तक हातमा लिएर उनले पाना पल्टाए । पानाबाट हल्का गन्ध उठ्यो– पुरानो कागजको, पुरानो समयको, पुरानो ढुकढुकीको । “कति वर्षपछि हातमा समाउँदै छु म यो पुस्तक !” मनमनै मुस्कुराए ध्रुवराज । किताबका अक्षरहरू उनलाई आफ्नै बाल्यकालका साथीहरूजस्तै लाग्यो जसलाई उनले धेरै वर्षपछि भेटेका थिए । एकछिन मन उज्यालियो ध्रुवराजको ।

अर्को किताब निकाले– म्याक्सिम गोर्कीको आमा ।

कभर छुँदा युवावस्थाको एउटा झिल्को मनमा चम्कियो– उही उमेर, उही जोश, उही विद्रोहीपन । “कति प्रभाव पारेको थियो यस किताबले,” बिस्तारै बडबडाए ध्रुवराज । “मानिसले आफ्नो जीवन मात्रै होइन, सिङ्गै समाज समेत बदल्न सक्छ भन्ने विश्वास मेरो मनमा यिनै पानाबाट त आएको थियो” सोच्दै मुसुक्क हाँसे उनी ।

किताब हातमा लिएर केही क्षण उनी मौन उभिरहे जसरी कुनै पुरानो मित्रसँग भेट हुँदा केही क्षण शब्दहरू हराउँछन् ।

दुई किताबहरू हातमा लिएपछि उनको मनमा अचानक एउटा विचार चम्कियो– धरान जाऊँ कि आज ? विजयपुर डाँडामा बसेर केही लेख्ने प्रयास किन नगरूँ ?

ध्रुवराजले झोलामा तरुण तपसी, आमा, एउटा डायरी, दुईवटा पेन र पढ्दा लाउने चश्मा राखे । चीजबीज बटुल्दै जाँदा, आलमारीको कुनामा एउटा क्यालकुलेटर पनि भेटे उनले । त्यसलाई पनि झोलामा घुसार्दै हल्का हाँसे ध्रुवराज– “अब त रिटायर भइसकियो– अफिसको हिसाबकिताबको काम छैन; तर पनि आदत परेछ । जीवनका हिसाबकिताब त अझै बाँकी नै छन् शायद ।”

झोला काँधमा भिरेर ढोकाबाहिर निस्किए उनी । बिहानको हावा अलि चिसोचिसो थियो, तर मनमा एउटा अनौठो न्यानोपन महसूस गर्दै थिए– एउटा नयाँ शुरूवातको तातो स्वास फेर्दै थिए उनी ।

बसमा उनी झ्यालछेउको सिटमा बसे । बाटोभरी पानीले भिजेको सडक चम्किरहेको थियो । बसका भित्री भित्तामा लेखिएका अक्षरहरू– कृपया आफ्नो सामानको सुरक्षा आफैँ गर्नुहोला, सामान हराए बस जिम्मेवार हुनेछैन इत्यादि, अनि ड्राइभरको अगाडि झुन्डिएका झिल्के झालर, र यात्रुहरूको हल्का गफगाफ– सबै कुरा परिचित नै थिए, तर आज ती सबैमा उनले नयाँ अर्थ खोजिरहेका थिए ।

बस इटहरीतिर पुग्दै थियो । उनले झोलाबाट तरुण तपसी निकालेर पाना पल्टाए । अक्षरहरू आँखामा परे, तर मनमा टिकेनन् ।

उनको मन कतै अर्कै दिशातिर बगिरहेको थियो– जीवन, उपन्यास र अधुरो सपना ।

धरानबाट पैदल हिंड्दै उनी विजयपुर डाँडातिर लागे । डाँडाको हावा अझै चिसो थियो । निकै बेरसम्म हिँडिरहे उनी । बस्ती छिचोलेर एकान्त खोज्दै धेरै बेर भौंतारिरहे उनी । कहाँ पुगे उनलाई थाहा भएन ।

ध्रुवराजले धेरै ठाउँ खोजे– रूखमुनि, बाटोको छेउमा, पाखामा– तर कुनै पनि ठाउँ उनलाई उपयुक्त लागेन ।

अन्ततः उनी एउटा ठूलो बरको रूखमुनि बसे । झोलाबाट तरुण तपसी निकाले र उनका प्रिय हरफहरू पढे– “म खाउँ मै लाउँ सुखसयल वा मोज म गरूँ … ”

फेरि डायरी खोले । पेन हातमा लिएर केही लेख्न खोजे– तर मनमा कुनै वाक्य आएन । “के लेखूँ ? कसरी शुरू गरूँ?” निकै बेर घोरिए ध्रुवराज ।

अनि फेरि अचानक उनको मनमा एकाएक एउटा पुरानो अनुहार उदायो– मीनाक्षीको अनुहार ।

मीनाक्षी… ध्रुवराजको युवावस्थाको एकतर्फी प्रेम । कहिल्यै भन्न सकेनन् । कहिल्यै व्यक्त गर्न सकेनन्– कहिल्यै !

बरु बेनाम प्रेमपत्रहरू लेखे । कहिलेकाहीँ त रातभर जाग्राम बसेर लेख्थे उनी– मनका भावनालाई शब्दमा पोखेर । अनि फेरि बिहानपख ती शब्दहरूलाई हेर्दै आफैं अचम्म मान्थे– “यति धेरै साहित्य मभित्र लुकेको रहेछ ?”

तर ती पत्रहरू कहिल्यै मीनाक्षीको हातमा पुगेनन् ।

मीनाक्षीको विवाह भयो ।

अनि एकदिन बराहक्षेत्र जाँदा कोशीको बगिरहेको पानीमा बगाइदिएका थिए उनले ती पत्रहरूलाई ।

त्यो दिनको सम्झना अझै ताजा छ उनको मनमा । कोशीको पानी त्यसदिन केही चढेको थियो जसरी उनको मन पनि चढेको थियो त्यस बेला । उनले ती पत्रहरू झोलाबाट निकाले– सुरक्षित पट्याइएका कागजका पानाहरू एक–एक गर्दै खोले । हावाले पाना हल्लाउँदा अक्षरहरू पनि हल्लिए, अनि उनको मन पनि हल्लियो । त्यसपछि उनले ती एक–एक पत्र पानीमा छोडे । पानीमा पर्नासाथ ती पानाहरूलाई नदीले सहज स्वीकार गरी आफ्नै ठानेर बगाउँदै पर पर लग्यो ।

पैंतीस वर्षअघि त्यस दिन उनले ती पत्रहरू बग्दै गरेको हेरेको उनलाई हिजै जस्तो लाग्छ । र, अहिले यो वटवृक्षमुनि बसेर, हातमा तरुण तपसी समाएर, टोलाएका आँखाले आफू अगाडिको शून्यतालाई हेर्दै उनी फेरि पनि कोशीको त्यो पुरानो पानीमा आफ्नो अधुरो सपना बग्दै गएको देखिरहेका छन् ।

“कहाँसम्म पुगे होलान् ती पत्रहरू ?” उनी अहिले पनि सोच्छन् । “कुनै त छिट्टै डुबेर हराए होलान्, कुनै सतहमै बग्दै केही समय त टिके होलान् ।”

केही वर्षपछि ध्रुवराजको पनि विवाह भयो– शारदासँग ।

शारदा उनको जीवनसाथी बनिन्, घर बनिन्, परिवार बनिन् । तर मीनाक्षी भने उनको मनको कुनामा अझै कतै बसेकी थिइन्– काठको आलमारीको एक कुनामा एउटा पुरानो, मक्किएको पुस्तक वर्षौं बसे जसरी– शान्त, मौन, तर जीवित स्वरुपमा ।

“मीनाक्षीबारे पनि एउटा उपन्यास लेख्न सकिन्छ,” सोचे उनले ।

“र शारदाबारे पनि अर्को ।”

“दुवैमा म आफूलाई अर्कै अर्कै पात्रको रूपमा राखूँला– आफ्नै नाममा होइन ।”

“के दुवै जनालाई एउटै उपन्यासमा राख्न सकिंदैन ?” आफैंलाई प्रश्न गरे उनले ।

“अहँ, सकिंदैन !” निश्चित स्वरको उत्तर गुञ्जियो उनको मनभित्र– “यी दुई छुट्टाछुट्टै संसारका अलग अलग प्राणी हुन्– यिनलाई एउटै संसारमा अटाउन सकिंदैन ।”

“तर लेख्ने कि नलेख्ने ?” त्यसमा चाहिँ निश्चित छु त म ?

“निर्णय लिन अझै समय बाँकी छ । त्यस्तो केही बितिसकेको हतार छैन ।”

बरको फेदमा यसरी सोचमग्न भएर बसेको बेला एकजना बटुवा आएर ध्रुवराजको छेउमा उभियो ।

“तपाईंको घर कहाँ ? के थरी ?”

प्रश्नहरूको ओइरोले ध्रुवराज दिक्क भए । तर नम्रता गुमाएनन् । “विराटनगर,” छोटो उत्तर दिए उनले ।

“ओहो, विराटनगर ! म पनि त्यतैबाट आएको,” बटुवा हाँस्यो ।

ध्रुवराजले मुस्कुराएर मात्र टारे ।

कुराकानी छोट्याएर उठे उनी र फर्कने बाटो समाते ।

बसमा चढेपछि फेरि अर्को मान्छेले त्यही प्रश्न सोध्यो– “तपाईं कहाँको ? के थरी हुनुहुन्छ ?”

ध्रुवराजले फेरि छोटो उत्तरले टार्न खोजे । तर अपरिचित मान्छे आफ्नो गाउँठाउँबारे एकोहोरो लामो बेलिविस्तार लाउनमा तल्लीन भयो । उसले सुनाएको कैरन सुनेको जस्तो गर्दै ध्रुवराज आफ्नै विगतमा हराइरहे ।

इटहरीमा त्यो मान्छे ओर्लिएपछि मीनाक्षीको स्वरुप अझ प्रष्ट भएर उनको आँखा अगाडि उत्रियो ।

“एकचोटि भेट्न पाए हुन्थ्यो,” सोचे उनले ।

“अब त भेट्न मात्रैको लागि त्यति कठिन पनि छैन । पहिला पो मान्छेले धेरै शंका गर्थे । अब त बुढो भइयो । जे भनेपनि भयो !”

कुनै बहानाले मीनाक्षीलाई भेटेर हालखबर, परिवार, जीवन, अनि पुराना दिनबारे खुलेर गफ गर्न मन लाग्यो उनलाई । भेटेको कल्पनाले मनमा एउटा अचम्मको झन्कार सहित एक किसिमको गहिरो प्रसन्नता छायो ।

बस विराटनगरतिर झर्दै थियो । ध्रुवराजले झोलामा हात घुसारेर छामे– तरुण तपसी, आमा, डायरी, पेन… सबै त्यहीं थिए । तर मनमा भने एउटा नयाँ कथा जन्मिँदै थियो– अधुरो, अस्पष्ट, तर जीवित ।

“लेखक जीवनको शुरूवात त आजै भयो जस्तो छ,” मनमनै मुस्कुराए ध्रुवराज ।

त्यस साँझ ध्रुवराजले आफ्नो पहिलो उपन्यास लेख्न शुरू गरे ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.