साहित्यपोस्ट डट कम

कथा : नपल्टिएको पात्रो

कथा : नपल्टिएको पात्रो

अचानक निद्राबाट ब्युँझियाे हरि । हतपत मोबाइलमा हात पुर्याएर बत्ती बाल्यो । बिहानको साढे दुई मात्र भएको रहेछ । एक बोतल पानी घटघट पिएरै रित्यायो । मोबाइलको टर्च लाइट बलि नै रहेको थियो । ओछ्यानको सीधा भित्तामा झुण्डिरहेको भित्तेपात्रो (क्यालेण्डर)मा आँखा ठोक्कियो उसको ।

‘चैत्र २०७५’ …….उसको आँखाले पढ्न थालिहाल्यो ।

‘आज फागुन ७ गते २०८२ को । ओहो ! झण्डै सात वर्ष, न त पात्रो फेरिएको रहेछ न त महिना नै पल्टिएको रहेछ…।” मनमनै सोच्यो उसले । निद्रा त पूरै भागिसकेको थियो उसको आँखाबाट । सपनासरी पुराना दिनहरू आउन थाले उसका आँखाअगाडि । चलचित्रका दृश्यझैं स्पष्ट थिए ती, सपाट अनि सत्य ।

चैत्र ७, २०७५; उसको छोरो (अझ एक मात्र सन्तान), रविले घर छोडेर गएको दिन । त्यो दिन पछि त उसका लागि सबै दिन उस्तै, उही दिनचर्या, एक्लो ज्यान । जे गरे पनि, जसरी हुन्छ दिन कटाउने मेलो मात्र । कत्ति दुःखका साथ हुर्काएको थियो त्यो छोरोलाई उसले !

झण्डै आधा शताब्दी अगाडिको कुरो । रमिलासित परिवारको अस्वीकृति अनि विरोधका बावजुद प्रेम विवाह गरेको थियो हरिले १८ वर्षको उमेरमा नै । तीन पटकसम्म नै लगातार एस.एल.सी फेल भएपछि ‘पढ्न सक्दिनँ’ भनेर हार मानेको थियो उसले । घरमै हल्लिएर दिन बिताउन थालेपछि बुवा अनि दाजुहरूले धेरै सम्झाए, बुझाए, गाली गरे उसलाई । अत्ति नै भयो भन्ने ठानेछ क्यारे, अनि घर नजिकैको गलैंचा कारखानामा मजदुरी गर्न थाल्यो । त्यहीं काम गर्ने रमिलासित उसको किशोर प्रेम झाँगिंदै गयो । जवानीको जोशमा ती दुई काम छाडेर डुल्ने, घुम्ने, रमाइलो गर्ने गरेर नै समय बिताउन थाले । अन्ततः कामबाट दुवै निकालिए ।

हरिले रमिलासँग बिहे नगरी नछाड्ने जिद्दी गर्न थाल्यो । “उमेर भइनसकेको, कमाइ नभएको, जात नमिल्ने” जस्ता अनेकौं कारण देखाएर उसको परिवारले त्यो बिहे रोक्न खोज्यो, सबैले सम्झाइ—बुझाइ गरे । रमिलाको परिवार पनि त्यत्ति खुशी थिएन त्यो प्रेम—विवाहको कुरामा तर दुवै फिल्ममा देखाए जस्तो ‘आशिकी’मा मग्न थिए ।

एक दिन १८ वर्षे हरि अनि १७ वर्षे रमिलाले आ—आफ्ना घर—परिवारलाई सुटुक्कै छाडिदिए । आफ्नो घरबाट भागेर, अनि पोखरा शहरलाई नै छोडेर दुवै काठमाडौं आए । हरिले घरबाट चोरेर ल्याएको दश हजार रुपैंयाले केही समय त धान्यो उनीहरूलाई । असनमा छिँडीको कोठा भाडामा लिएर बस्न थालेका थिए दुवै । रमिलाले चकलेट, चुरोट, सुपारी, तितौरा, बिस्कुट आदिको नाङ्ले पसल थापी असन बजारमा । हरिले भने भारी बोक्ने काम गर्न थाल्यो ।

दुवैले यस्तो फिल्मी शैलीको प्रेमकथालाई चालू नै राखिरहेका थिए । यसैबीच रमिला गर्भवती भई । अब उनीहरूको आवश्यकता झनै बढ्ने अवस्थामा पुग्यो । २० वर्ष लागेको हरिमा केही मात्रामा यथार्थताको झस्को पस्न थालेको थियो । तर के गर्ने ? घर—परिवार त्यागेर बिरानो शहरमा आएका उनीहरूको त्यहाँ आफ्ना—भन्ने कोही पनि त थिएनन् । न त उनीहरूमा पढाइलेखाइ, कामको सीप, दक्षता या योग्यता नै थियो । उमेरको जोश त थियो तर परिपक्वता भने अलिकति पनि थिएन ।

तत्कालीन समयमा घटित भएको अभाव, चिन्ता, गरिबीको चरम अवस्थाले उनीहरूको प्रेमलाई उही पुरानै गति या अवस्थामा कायम राखिरहने कुरै भएन । बिस्तारै उनीहरूबीच झगडा, चिच्याहट, रिसराग देखिन थाल्यो । हाँस्ने, रमाउने, गीत गाउने जोडी अब त निहुँ खोज्ने, नबोल्ने, रुने—कराउने गर्न थालेका थिए ।

काठमाडौंका अरु घरबेटीले भए यस्तो अशान्तिलाई सहिरहन सक्ने थिएनन् । तर भाग्यवश, उनीहरूका घरबेटी भने अलिक फरक प्रवृत्तिका भए । त्यस घरकी आमा दयालु प्रकृतिकी थिइन् । उनका छोरा म्यानपावर कम्पनी चलाएर बसेका रहेछन् । एक दिन ती आमा—छोरा आएर हरि—रमिला दम्पत्तीलाई सम्झाए । जीवनरुपी संघर्षका पाटाहरूका बारेमा, उकाली–ओरालीका बारेमा पनि अवगत गराए । घरबेटीका छोरा रमेशले हरिलाई खाडी मुलुकमा केही वर्ष काम गरेर पैसा कमाउने सल्लाह दिए । त्यसका लागि आफ्नो कम्पनीमार्फत् सहयोग गर्ने वचन पनि दिए । घरबेटी आमाले हरि बाहिर रहुञ्जेल रमिलालाई आफ्नो घरमा काम गर्ने मान्छेका रुपमा राख्ने भइन् । अझै उदार भएर उनले रमिलाको हेरविचार गर्ने, पेटको बच्चाको गर्भमा अनि जन्मपछि पनि स्याहारसुसारको व्यवस्था मिलाउने आश्वासन समेत दिइन् ।

सबै चाँजोपाँजो मिलाएर, दुई महिनाकी गर्भवती रमिलालाई घरबेटी आमाको जिम्मामा छोडेर, रमेशसित केही रकम सापटी लिएर, केही हप्तापछि नै हरि दुबई प्रस्थान गर्यो । त्यहाँको एयरपोर्टमा सफाइ कर्मचारीको जागीर पनि पाएको थियो उसले । कमाइ राम्रै थियो । केही महिनाको पैसा जम्मा गरेर रमिलालाई पठायो । रमेशको ऋण पनि चुक्ता गर्यो । सात महिनापछि आफ्नो छोरो जन्मिएको खबर पाएपछि खुशी भएर झनै जोशका साथ काम गर्न थाल्यो हरि । एक वर्ष अझै काम गरेर, पैसा जम्मा गरी, नेपालमा आफ्नै घर बनाएर सानो व्यवसाय शुरु गर्ने सपना पनि देख्न थालिरहेको थियो । रमिलालाई मासिक रुपमा पैसा पनि पठाई नै रहेको थियो । तर जीवन आफूले सोचेजस्तो कहाँ हुन्छ र ? खुशी अनि सुख त कहिल्यै स्थायी हुँदै—हुँदैन ।

एक दिन बिहानै हरिले खबर पायो— “छ महिनाको छोरालाई कोठामै सुतिरहेको अवस्थामा नै छोडेर, भएभरको पैसा लिएर रमिला त भागिछ ।” ऊ छााँगाबाट खसेझैं भयो, होसहवाश ठेगानमा रहेन ।

घरबेटी आमाले त, “ चिन्ता नगर । तिम्रो बच्चालाई म आफ्नै नातिलाई झैँ पाल्छु । त्यस्तो राम्रो जागीर नछाड । अलि महिना/वर्ष काम गरेर राम्रो पैसा कमाएर आउनू” भनेकै थिइन् । तर हरिको मन मानेन । अलिकति जम्मा भएको पैसा लिएर, अनि त्यहाँको काम छोडेर ऊ काठमाडौं नै फर्कियो । घरबेटी दाइ रमेशले सानो होटेल खोलेको थियो रत्नपार्कमा, हरिले त्यहीं काम गर्न थाल्यो । घरबेटी आमाले बच्चाको राम्रो हेरविचार गर्दथिइन्, हरि फर्केर आएपछि झनै सजिलो भयो उनलाई । उनले हरिलाई बच्चाको लागि भए पनि अर्को बिहे गर्न सुझाएकी थिइन्, केटी पनि देखाएकी थिइन् तर हरिले मानेन । आफ्नो छोरालाई आफैले दुःख गरेर हुर्काउने अड्डी लियो ।

अलिकति पैसा जम्मा भएपछि हरिले आफ्नो डेरा नजिकै एउटा पुरानो दुई कोठा भएको एक तल्ले घर किन्यो । दिनभरि घरबेटी आमाकै जिम्मामा छोरालाई छोडेर ऊ काममा जान्थ्यो । राति फर्किएर आएपछि छोरालाई लिएर घरमा गएर सुत्थ्यो । छोराको खाने लाउने सब घरबेटीकै घरमा, अनि आफ्नो खाने लाउने आफूले काम गरिरहेकै होटेलमा, यसरी नै उनीहरूका दिन बितिरहेका थिए । अत्यन्तै सहृदयी घरबेटी पाएका थिए उनीहरूले । छोरा पनि अब त पाँच वर्ष पुगिसकेको थियो । त्यति बेलासम्म हरिले न त आफ्नो पोखरा घरपट्टिको, न त रमिलाको, न त उसको घरतिरकाको नै कुनै खोजखबर गरेको थियोे । न त त्यतातिरबाट नै केही सोधखोज भइरहेको थियो । समय एकनास बगिरहेको थियो, अनि उनीहरूको जीवन पनि त्यसैको रफ्तारमा चल्दै थियो ।

छोराको नाम रवि । छोरालाई स्कुल भर्ना गर्ने समय आएको थियो । घरबेटी आमा अनि रमेश दाइसँग सल्लाह गरेर घरनजिकैको स्कुलमा रविलाई भर्ना गरिदियो हरिले । हरि अफिस गएका बेलामा रविको देखभाल, खानपान सबैको जिम्मा मानौं घरबेटी आमाले नै लिइदिएको जस्तै नै थियो । रवि पढाइमा राम्रै थियो । नियमित रुपमा कक्षा चढ्दै गइरहेको थियो ।

बाह्र वर्ष बित्न कति नै लाग्थ्यो र ? रविले एस.एल.सी. प्रथम श्रेणीमा पास गर्यो । बाबुले गर्न नसकेको काम आमा नभएको टुहुरो रविले गरेर देखायो । हरिको खुशीको सीमा नै थिएन तर खुशी साट्न उनीहरूकी सहारा घरबेटी आमा थिइनन् । उनको मृत्यु भइसकेको थियो । रमेश दाइले पनि त्यो होटेल हरिलाई नै बेचेर अर्को व्यवसाय गर्न थालिसकेका थिए । अब बाबुछोरा त्यही होटेलमा नै बस्न थालिसकेका थिए ।

यसो हेर्दा ती बाबुछोराको राम्रो दिन आइरहेको प्रतीत भइरहेको थियो । तर समयको चाहना या खेल भने अर्कै नै थियो । ११ कक्षामा पढ्न थालेको रविको साथीहरूको दायरा फराकिलो हुँदै गइरहेको थियो । हरि चाहन्थ्यो, आफूले त्यस्तो दुःख गरेर, आफै बाबु अनि आमा पनि, दुवैको भूमिका निभाएर, आफ्ना जवानी, इच्छा–आकांक्षाको तिलाञ्जली दिएर, हुर्काएको छोरो रवि सधैं ऊसँगै रहोस्, उसको होटेल व्यवसाय सम्हालोस् । तर १८ वर्षे किशोर अवस्थाको, जवानीको हल्का रङ्ग चढेको रविलाई ती कुराको केही पनि मतलब नै थिएन । ऊ बेलुका मात्र घरमा देखा पर्दथ्यो । मन लागे बाबुसँग कुराकानी गर्दथ्यो, प्रायः बोल्दैनथ्यो । बाबुले खाना कुरेर बसिरहेको हुन्थ्यो छोरासँगै खानका लागि, तर ऊ भने खान मन नलागेको भन्दै आफ्नो कोठातिर गएर ढोका लगाएर बसिदिन्थ्यो । हरि त्यसै टोलाइरहन्थ्यो, अनि भोकै सुत्थ्यो । यसरी नै दिनरात–हप्ता–महिना–वर्ष बित्दै गइरहेका थिए ।

इतिहास कसोकसो दोहोरिन पुगेझैं भइरहेको थियो । रवि आफ्नै कक्षामा पढ्ने एउटी केटीको पछि लाग्न थालेको थियो । प्रेमरोगले ती दुईलाई छोएझैं भान भइरहेको थियो । बाह्र कक्षा उतीर्ण भएका थिए दुवै ।

हरि रविलाई अझै सानो बालक नै ठान्दथ्यो, यसलाई बाबुको एकोहोरो माया भन्ने कि के भन्ने ? तर रवि भने बाबुको छायामा बसिरहन चाहँदैनथ्यो, ऊ आफूलाई स्वतन्त्र अनि निर्धक्क कहलाउन चाहन्थ्यो । रवि घर त बस्दै–बस्दैनथियो । घरभित्र पनि ऊ कोठामा ढोका लगाएर, मोबाइलमा नै झुण्डिएर बसिरहन्थ्यो । बाबु हरिले केही गरी बोलायो भने झर्किएर जवाफ दिन्थ्यो । बि.ए. पढ्नका लागि कलेज भर्ना भयो रवि । उसकी साथी शान्ति पनि कलेज जान थाली । हरि अब त छोराले आफ्नो व्यवसाय–होटेल हेरिदेओस् भन्ने चाहन्थ्यो तर रविलाई त्यसको मतलब नै थिएन । नजिकैको स्कुलमा एकाउण्टेण्टको जागीर खान थाल्यो उसले । शान्ति त्यही स्कूलमा शिक्षिका थिइन् ।

जागीर खाएर कमाएको पैसा रवि आफूखुशी नै खर्च गर्ने गर्दथ्यो । बाबुलाई पैसा दिने या केही सरसल्लाह गर्ने उसको बानी नै थिएन । केही वर्ष पछि रविले शान्तिसित बिहे गर्ने निर्णय गर्यो । एकतर्फी रुपमा बाबुलाई आफ्नो निर्णय सुनायो । एक दिन मन्दिरमा गएर माला साटासाट गरेर बिहे गरे उनीहरूले । बाबुको केही भूमिका खोजेनन् दुवैले । शान्तिलाई लिएर घर आयो, अनि सरासर कोठाभित्र लाग्यो । आफ्नो एक मात्र छोराको धुमधामसित विवाह गर्ने हरिको इच्छा अधुरै रह्यो । ऊ हेरेको हेर्यै भयो । आफ्नो भाग्यलाई सराप्न बाहेक ऊ अरु के नै पो गर्न सक्दथ्यो र ? चुपचाप नै रह्यो ऊ ।

हरिको घरमा बुहारीका रुपमा शान्तिले प्रवेश गरेपछि त झनै कोलाहलविहीन अशान्ति छायो घरमा । तीन जनाको सानो परिवारभित्र पनि हरि एक्लै भइसकेको थियो । छोराबुहारी कहिल्यै घरमा खाँदैनथे । बाहिर नै खाएर आउँथे । कहिलेकाहीं त दुवै रक्सी खाएर मात्तिएर हल्ला गर्दै आउँथे । यो उमेरसम्म त्यत्ति लामो होटेल व्यवसाय गरेको अनि विदेशमा झण्डै एक वर्ष काम गरेको भएतापनि हरिको मुखमा अझसम्म रक्सी परेको थिएन । तर छोराबुहारी ?

यसरी नै दिन—हप्ता—महिना—वर्ष बित्दै गए ।

छोराबुहारी जस्ता भए पनि नातिनातिना आएपछि त ठीक होला भन्ने हरिको सपना समेत पूरा हुने छाँट देखिएको थिएन ।

एक दिन हरिले उसका छोराबुहारी विदेश जाने तरखरमा लागिरहेको कुरा अरु कसैबाट सुन्यो । जे जस्तो भए पनि आफ्नो छोरो आफ्नै घरमा भइदिएकोमा सन्तोष मानिरहेका हरिले अब त त्यही छोरो पनि बाहिर जाने भयो भनेर चिन्ता गर्न थाले । भरे बेलुका छोरालाई सम्झाउँछु भनेर मुस्किलसित दिन कटायो उसले । त्यो दिन बेलुकी छोराबुहारी घर आएनन् । अर्को दिन, अर्को दिन गरेर चार—पाँच दिन नै घर आएनन् उसका छोराबुहारी । “आफूलाई एक वचन नसोधी विदेश गयो छोरो” भन्ने मानेर चित्त दुखाइरहेको थियो हरि ।

त्यो दिन अर्थात् चैत्र ६, २०७५ को बेलुकी छोराबुहारी घर आए । उनीहरूले उसको मुख नै हेरिरहेका थिएनन्, आफ्नै धूनमा थिए दुवै । साहस बटुलेर हरिले भन्यो, “बाबु ! यत्तिका दिन तिमीहरू कहाँ थियौ ? फेरि तिमीहरू विदेश जान लागेका रे भनेर पनि सुनें । गइसक्यौ कि भन्ने ठानेर चिन्ता गरिरहेको थिएँ । आज आयौ, खुशी लाग्यो । यहाँ के कमी छ र तिमीहरूलाई ? म बूढोलाई यसरी एक्लै छोडेर विदेश नजाऊ बाबु ।”

यत्ति कुरा भनेर भ्याएको पनि थिएन हरिले, बुहारीले आँखा तरी । अनि रवि चर्किन थाल्यो । “शान्तिलाई अमेरिकाको डिभी पर्यो । मैले पनि डिपेण्डेण्ट भिसा पाएँ । यस्तो मौका मिल्दा पनि तपाईं भनेर म किन यहाँ बस्ने ? तपाईं बस्नु न होटेल चलाएर यहीं आनन्दसँग । भोलि बिहानकै फ्लाइट छ हाम्रो ।”

यत्ति भनि नसक्दै कोठाको ढोका ढ्याम्म लगायो रविले । हरि हेरेको हेर्यै भयो । आँखाभरि आँसु लिएर कोठामा आएर पल्टियो । भोलिपल्ट बिहानै ट्याक्सी बोलाएर बाबुलाई एक वचन नसोधेरै उनीहरू गए । हरिले हत्तपत्त उनीहरूको कोठातिर गएर हेर्न खोज्यो । उनीहरूको कोठाको ढोकामा ठूलो ताल्चा लागेको थियो ।

त्यो दिन २०७५ चैत्र ७ को दिन थियो । त्यो दिनदेखि नै त्यो भित्तेपात्रो फेरिएको रहेनछ, न त उनीहरूको कोठाको ताल्चा नै खोलिएको थियो । छोराबुहारीको आजसम्म केही खबर पाएको छैन हरिले तर उसका दिन भने एकतमासले यसरी नै बितिरहेको छ ।

आँखामा दृश्यहरू आउन बन्द भए अब ।

जुरुक्क उठेर घडी हेर्यो हरिले । बिहानको साढे छ बजिसकेको थियो । बाहिर उज्यालो भइसकेको थियो ।

ऊ सरासर भित्तातिर अघि बढ्यो । २०७५ को क्यालेण्डर झिकेर फालिदियो । अनि बाहिरतिर हिंड्यो ।

दश मिनेटपछि ऊ फर्किएर आयो । हातमा लिएर आएको २०८२ को पात्रोलाई फागुन महिनामा पल्टायो, अनि भित्तामा झुण्ड्याइदियो । त्यसपछि भने लामो सुस्केरा फेर्यो उसले ।

साझा गर्नुहोस्:
प्रा.डा. अजय रिसाल

लेखकको बारेमा

प्रा.डा. अजय रिसाल

काठमाडौं विश्वविद्यालयअन्तर्गत धुलिखेल अस्पताल, मनोचिकित्सा विभागमा प्रध्यापनरत् मनोचिकित्यक प्रा.डा. अजय रिसल साहित्यपोस्टका स्तम्भकार हुन् । उनको गैरआख्यान विधामा मनोपचार सम्बन्धी कृति 'गीतामा मनका कुरा' प्रकाशित छ ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.