साहित्यपोस्ट डट कम

कथा: नलगाढका प्रेतात्मा

कथा: नलगाढका प्रेतात्मा

“दलबहादुरको छोरो नलबहादुर परार साल ठुलीभेरीमा खसेर मरेको हो नि ! त्यति गहिरो खोलामा खसेपछि ऊ कसरी ज्यूँदो रहन्छ त ?”

“ ल ! मेरै कानले सुन्या हुन् उसको स्वर । मान्छे नचिनिने अँध्यारो भा’थ्यो र मैले ठिम्याउन सकिनँ । अर्को कोहीसँग उसको अधुरो सपना कहन्थ्यो ।”

भोटेखोल्साको डिलमा बाली रुङ्न बसेका दुई प्राणी मुढाको आगो ताप्दै मान्छे र प्रेतका कुरा गर्छन् ।

“भुत आगो देखेर डराउँछन्, हगि ” एउटाले आफू नडराएको भान पार्यो ।

“मलाई डराउँछन् जस्तो लाग्दैन । मैले भदौको औँसीमा यही खोल्सापारी लस्करै राँकेभुत देखेको । आफैँ आगो लिएर हिँड्छन् ।” अर्कोको अपत्यारिलो जवाफ ।

सूर्य दक्षिणायन लागेपछिको कृष्णपक्ष रात । आकाश बादलले डम्म ढाकेको, घरी घरी खोल्सै खोल्सा बतासको बेग हुइकिन्छ, पाखाको खरबारीमा सर्याङ् सर्याङ् आवाज आउँदै बिसाउँदै गर्छ । निस्पट्ट अँध्यारो र कटकट जाडो दुवै छिप्पेका । टारबारीको तल्लो छेउमा मैनाको रुखबाट बेला बेला लाटोकोसेरोको घुक.. घुक आवाज आइरहेको छ ।

याक्साको माथ्लो तलामा पराल र मकैका खोस्टाको गोदाम छ । यही हो उनीहरूको रात गुजार्ने बिस्तारा ।

“अब त जन्तु बाली खान पस्दैनन् होला । एकछिन बिझाएका आँखालाई लोलिन दिनुपर्छ ।” घडीले बाह्र नाघेको सूचना दिएको छ ।

आँखालाई ढकनीले छोप्नै लाग्दा भेरीले जमिन काटेर बनेको घुम्ती बगरतिरबाट चर्को आवाज आयो- आज राती नै मारेर घिसार्नुपर्छ; छाला तान्नुपर्छ; रगत पिउनुपर्छ । नत्र हाम्रो आत्माले मुक्ति पाउँदैन ।

“यो नलबहादुरकै स्वर जस्तो लाग्छ” एउटाले भन्यो ।

“चुडेल नलबहादुर होला “, अर्कोले थप्यो ।

“तर केही गरी ऊ ज्यूँदो रे’छ भने ?”

” यो गाउँमा ऊ किन फर्केर आउँथ्यो होला र ?”

फेरि चकमन्न, सन्नाटा । खोला किनारको मैना रूखबाट लाटोकोसेरोको घु..क….घुक आवाज आइरह्यो । भर्खर उदाएको जूनलाई बादलको लतपत लिपाइले मधुरो टाटो मात्र देखाएको थियो, साउनको हिलोमा परेको छाया जस्तो । ती दुई प्राणीले एउटा खास्टोलाई बाँडेर ओढे र निदाउन खोजे ।

गाउँ सिरानको पहिरोले पिल्स्याएको जगाते भिरबाट अर्को चित्कार सुनियो -पख तिमीहरूलाई ! बदला नलिई छोड्दिन !

दलबहादुर सुनारको घरमा उल्का हुने गरेको वर्ष दिन जति भयो । कहिले ग्वालीका गाई फ़ुकाइदिने, घरभित्र राखेका भाँडाबर्तन जुठेल्नुमा फ्याँकिएका हुने, कहिले बाँसका तामा भाँचिदिने अथवा ढुङ्ग्रोमा राखेको दुध पोखिने जस्ता अचम्मका घटना भैरहेका थिए । गोले झाँक्रीले यसलाई उचित तन्त्र-मन्त्र गरेर उसको मान-भाउ बुझाउनुपर्छ भनेको छ ।

दमन्ती बिहे गरेर अर्कै गाउँ पुगेकी छ । माइत आएको बेला आमाले भनेको- गाउँमा उल्का घटना हुँदैछन् । पुर्णेको छेउ आमाले एउटा धमिलो आकृति गोठ ओरपर हिँडेको देखेको रे । कहिलेकाहीँ केरा घारीमा सर्लाङ्ग सर्लाङ्ग के हिँडेको जस्तो वा केराका थाम भाँचेको जस्तो आवाज सुनिन्छ रे ।

दमन्तीले एकदुईपल्ट पानी धारो छेउको चौतारोमा केही गुनगुन सुनेकी हो । मसिनो गरी मान्छेहरू बोलेको आवाज । पीपल छायामा ओझेल परेर बिहानको झिसमिसेमा कोही वरपर हिँडेको जस्तो लागेको हो । खास के हो ठम्याउन सकिन उसले । आमाको कुरासँग उसको अनुभव मिलेजस्तो लाग्यो । अब भने उसलाई थोरै चिसो पस्यो- कतै नलबहादुरको प्रेत आत्माले उसलाई पछ्याएको पो हो कि ?

माइतघरबाट फर्केपछि उसले रातै पिच्छे जसो सपनामा नलबहादुरसँग साबिकको प्रेमालाप भएको दृश्य देखिरहेकी छ । उता नलगाढमा धामी झाँक्रीले रात बिसाएका छैनन्- कहिले कुलको भाकल पुरा गर्ने, कहिले देवी देउरालीको थानमा बलि गर्ने त कहिले शनिदशा पन्छाउने । दलबहादुरको घरमा त देवाली गर्नुपर्ने नै भयो ।

जगाते भिरकै फेदमा थान बनाइयो र त्यहीँबाट सबै प्रेतहरूलाई गाउँ नपस्ने छेकबार लगाइने छ भने धामी झाँक्रीले ।

सामुदायिक देवाली गोले झाँक्रीको नेतृत्वमा गरियो । खुब जोखाना हेरे धामीहरूले । केही युवामा नलबहादुर र उसका साथीको प्रेत जगाए धामीले र ती युवा एक से एक बके :

युवा एक- “मनुवाले हाम्लाई खेदी खेदी खोलामा हालेको हो । यो गाउँको भलाद्मीले हामीलाई आक्रमण गर्न लगायो र ऊ भाग्यो । हामी त हाम्रो साथीलाई बिहे गर्न सघाउन गएका हौँ । हामी चुडेल, किचकन्या, राँके भुत भएर हिँडिरहेका छौँ । हामी तड्पिरहेका छौँ ।”

अर्को शरीर कमाउदै जोडले उफ्रिँदै करायो, “मेरो त्यस केटीसँग जीवन बिताउने सपना अधुरो छ । अर्को जुनी भए नि म उसलाई छोड्न सक्दिनँ । म आउँछु, आइरहन्छु, अपराध गर्ने माथि बदला लिएर छोड्छु । मेरो पवित्र आत्मामाथि यिनले धावा गरे….. म मान्छे भएर बाँच्न पाइनँ । यो प्रेतआत्मा लिएर बाँचेको छु तर म बदला……अँ बदला लिएर छाड्ने छु । उसलाई लिएर जान्छु ….एक न एक दिन ….स्वर्गमा आनन्दले भोग गर्छु ।” यस्तै यस्तै दु:ख भोगेको कुरा, आत्मा असन्तुष्टीको कुरा ।

सबैको मानभाउ पुगोस् भनेर बेग्लाबेग्लै थानमा काला कुखुराको भोग लाग्यो । गाईको शुद्ध घिउको धुप लगाए धुपौरेले र मागेको कुरा पुर्याउने छौँ भन्ने वाचा पनि गरे । यसको खातिर जगाते भिर फेदमा महिनाको कृष्णपक्ष चतुर्दशीको दिन फूल अक्षतासहित, खाने परिकार र केही कपडा यहाँ लगेर पूजा गरिने भयो ।

शास्त्रीय मेलो पनि गर्नुपर्छ भनेर भागवत पुराण र स्वस्तिशान्ति यज्ञ गर्न पुरेतहरूको टोली बन्यो । सात दिनको भागवत वाचन गर्न लीलाकृष्ण महाराजलाई ल्याउने निधो भयो ।

नलगाढ गाउँको सिरानमा रहेको देवी पाञ्चयन मन्दिरमा सप्ताह लाग्यो चैतको राम नवमी छेउ ।

आमाले दमन्तीलाई प्रेतदोष मेटाउन यथाशक्य दान गर्न भनिन् । दमन्तीले केही कपडा, पाँच पाथी चामल, दुई पाथी पिठो, छाता, झर्को थाल, करुवा दानका लागि बोकेर नलगाढ माइती गाउँ आई । सप्ताहको अन्त दिन विशेष अभिषेक मागेर उसले ती वस्तु दानमा सुम्पिई ।

जेठको मध्य मकैका बोट गोड्ने बेला छ गाउँमा । बाली रुङ्ने बेला आयो फेरि- रातभर दुम्सीको र मृर्गको गोठालो बस्नुपर्छ ।

याक्सामा पिलपिले आगो बालेर ती दुई प्राणी मसिनो गफमा मस्त थिए, जुन बेला उनीहरूले जूनको धमिलो उज्यालोमा एउटा भालुजस्तो आकृति देखे खोलापट्टिको डिलमा ।

प्राणी एक : त्यो जनावर के हो ? भुत हो कि साँच्चैको भालु ?

प्राणी दुई : त्यो त भुत नै हो । शायद सबै अरू चुडेल र राँके भुत एउटा भालुका रूपमा बदलिए ।

पहिलो प्राणी – शायद बाख्रा, सुँगुरको बलि खान आएको होला । देवालीमा दिएको रगतले नपुगेर होला ।

दोश्रो प्राणी- दमन्तीले शायद यसकै कुरा गरेकी होला । उसका घरको एउटा भैँसी गोठबाट अलिक पर आधा चिथोरेर छोडेको थियो रे ।

भालु आकृति याक्सातिर लम्केको देखेर, दुई प्राणी हतार हतार माथ्लो तलामा उक्ले । नजिकै आएर भालु आकृतिले गर्जनसँग बोल्यो, ” कहाँ छ मेरो शिकार ?”

सास दबाएर बसे, लुकेर । डर लागिरहे पनि दुई प्राणीले त्यसको चियो गरे । त्यो भालु आकृति भोटे खोल्सातिर लागेपछि एउटाले खरानी टिप्यो र के के फलाकेर त्यस आकृति गएपट्टि फ्याँक्यो । अर्को रातदेखि त्यो आएको देखेनन् उनीहरूले ।

अर्को हप्ता दमन्तीको माइत घरमा खबर आयो – दमन्ती अकस्मात् बिरामी परेर इन्तु न चिन्तु लडेकी छ । खुन छादेकी रे ।

शायद उसलाई त्यो प्रेतले दु:ख दिएको हुनुपर्छ- नलबहादुरको भालु आकृतिले ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.