साहित्यपोस्ट डट कम

कथा: नदेखिएको रोग

कथा: नदेखिएको रोग

उनले कहिल्यै ठूलो रोगको गुनासो गरेकी थिइन । न त लामो समयसम्म खोकी लागेको थियो, न त ज्वरोले थला पारेको थियो । उनको शरीर बाहिरबाट हेर्दा स्वस्थ देखिन्थ्यो । जीवनमा एउटा अभाव थियो, जुन कुनै रिपोर्टमा देखिएको थिएन । हरेक दिन उनलाई भित्रभित्रै खाइरहेको थियो ।

मधेसको सानो गाउँबाट शहर छिरेकी झण्डै २८ वर्षकी सञ्जु, एक सामान्य महिला थिइन् । विवाह भएको ६ वर्ष बितिसकेको थियो । घरमा सबैकुरा पूरा थियो । आफ्नै सानो घर, खेत–बारी अनि परिवार चलाउन श्रीमानको सानो व्यापार । श्रीमानले असाध्यै माया गर्थे ।

तर एउटा कुरा थिएन, सन्तान ।

विवाहको पहिलो वर्षमा कसैले केही भनेनन् । दोस्रो वर्षमा घर परिवारले सल्लाह दिन शुरु गरे, “अलि ध्यान दिनुपर्छ ।”

तेस्रो वर्षमा के थियो र ? औषधि शुरु भयो । झोलाझार, जडिबुटी, देउता भाकल सबैले स्थान पायो ।

चौथो वर्षमा सासूको अनुहार बदलियो ।

पाँचौं वर्षमा छिमेकीहरूको स्वर बदलियो ।

छैटौं वर्ष पुग्दा त सञ्जुको आत्मा नै बदलिन थालिसकेको थियो ।

“तिमीमा नै केही समस्या छ ।” यो वाक्य उनले कति पटक सुनेकी थिई, उनलाई आफैंलाई थाहा थिएन । उनीहरू धेरै पटक अस्पताल पुगे । धेरै वटा अस्पताल पनि फेरे ।

रक्त परीक्षण भयो, हर्मोन जाँचियो, अल्ट्रासाउन्ड गरियो । तर रिपोर्टहरू बारम्बार एउटै कुरा भन्थे, “सबै ठीक छ ।”

तर यदि सबै ठीक थियो भने, किन उसको काख खाली थियो ? यो प्रश्नसँगै ऊ हरेक रात निदाउन खोज्थी । तर हरेक रात निद्राभन्दा पहिले आँशु आउँथ्यो ।

अस्पताल र डाक्टर फेर्ने क्रममा एक दिन उनी मेरो ओपीडीमा आइपुगिन् । सामान्य जाँचका लागि होइन, थाकेकी भएर । अनि उत्तर खोज्दै । उनको अनुहारमा थकानको भाव प्रष्ट थियो र आँखामा अझै एउटा सानो आशा बाँकी थियो ।

“डाक्टर साब… सबैले भनेको छ, म ठीक छु… तर किन…?” उनले वाक्य पूरा गर्न सकिनन् ।

त्यो “किन” मा नै उनको पूरै जीवन अड्किएको थियो ।

मैले बिस्तारै इतिहास लिन थालेँ ।

उनको महिनावारी—अनियमित ।

कहिलेकाहीँ दुखाइ—तर सहनसक्ने ।

पहिले कहिल्यै गम्भीर रोग—थाहा छैन ।

सबै कुरा सामान्य जस्तो लाग्थ्यो । तर कहिलेकाहीँ चिकित्सामा सबैभन्दा ठूलो संकेत त्यही “सामान्य जस्तो” हुने कुरा नै हुन्छ ।

मैले केही थप परीक्षण सिफारिस गरेँ ।

उनको श्रीमान् अलि असन्तुष्ट देखिए । “यत्रो जाँच त गरिसक्यौँ नि, फेरि किन ?”

तर सञ्जुले चुपचाप टाउको हल्लाइन् । शायद उनी अब उत्तर पाउन यति परिक्षण गर्न तयार थिइन् ।

केही दिनपछि रिपोर्ट आयो । त्यो रिपोर्ट हेर्दा म केही क्षण मौन भएँ । त्यो मौनता केवल चिकित्सकीय थिएन, त्यो मानवीय पनि थियो । उनको प्रजनन अङ्गमा क्षयरोग थियो ।

एउटा यस्तो रोग, जुन चुपचाप आएको थियो र सबैभन्दा मूल्यवान् चिज खोसेको थियो, उनको आशा ।

मैले उनलाई बोलाएँ । उनीसँगै उनका श्रीमान् पनि आएका थिए । फेरि त्यहि प्रश्न, “के भएको छ, डाक्टर ?” उनले सोधे ।

त्यो प्रश्नको उत्तर केवल शब्दमा दिन सकिँदैनथ्यो । त्यसमा सावधानी चाहिन्थ्यो, संवेदना चाहिन्थ्यो ।

“तपाईंलाई एउटा संक्रमण भएको रहेछ… क्षयरोगको एक प्रकार…” मैले बिस्तारै भनेँ ।

“क्षयरोग ? तर मलाई त खोकी पनि छैन…” उनको स्वरमा अचम्म थियो ।

“यो फोक्सोको होइन… प्रजनन अङ्गमा भएको हो…”

त्यो क्षण कोठाभित्र गहिरो मौनता छायो । उनका श्रीमान् पहिलो पटक गम्भीर भए । सञ्जुको अनुहारमा एउटा अजीव मिश्रण थियो । डर, राहत र पश्चाताप थियो ।

“ठीक हुन्छ ?” उनले सोधिन् ।

यो प्रश्न सजिलो थिएन । “रोगको उपचार हुन्छ… तर…” मैले वाक्य रोकेँ ।

कहिलेकाहीँ चिकित्सकले शब्दभन्दा बढी मौनताले कुरा बुझाउँछ ।

उनले बुझिन् ।

उनको आँखामा आँशु भरिन थाल्यो । “यदि पहिले थाहा भएको भए…?” उनको स्वर काँपिरहेको थियो ।

त्यो प्रश्नले मलाई पनि छेड्यो । किनकि यसको उत्तर मसँग थिएन वा थियो । तर त्यो उत्तर कसैलाई राहत दिने खालको थिएन ।

उपचार शुरु भयो । औषधि नियमित चल्न थाल्यो ।

उपचारका क्रममा सञ्जु कहिलेकाहीँ म कहाँ पनि आउँथिन् । तर अब उनी पहिले जस्तो प्रश्न लिएर होइन, स्वीकारोक्ति लिएर आउँथिन् । उनको शरीर बिस्तारै निको हुँदै गइरहेको थियो । तर उनको मनले अझै केही गुमाइसकेको थियो ।

एक दिन उनले भनिन्, “डाक्टर साब… अब बच्चा नहुने भए पनि…म बाँच्न त सक्छु है ?”

त्यो प्रश्नमा पीडा थिएन, त्यो प्रश्नमा स्वीकार थियो ।

मैले मुस्कुराएर टाउको हल्लाएँ ।

केही महिनापछि उनी फेरि आइन् । यसपटक उनको अनुहार अलि फरक थियो । हल्का र शान्त थिए ।

“हामीले एउटा बच्चा लिने सोचिरहेका छौँ…” उनले भनिन् ।

त्यो सुन्दा मलाई पहिलो पटक लाग्यो । शायद यो कथा पूर्णरूपमा दुखान्त होइन ।

उनी उठेर गइन् ।

ढोकाबाट निस्कँदा उनले एकपटक फर्केर हेरिन् र मुस्कुराइन् ।

त्यो मुस्कानमा आमा बन्ने सपना त थिएन होला । तर आमा बन्ने भावना भने बाँकी थियो ।

म एकछिन कुर्सीमा बसेँ र सोचिरहेँ ।

कति सञ्जुहरू अझै छन्, जसको रोग देखिँदैन । जसको पीडा रिपोर्टमा आउँदैन र जसको सपना चुपचाप हराउँदै जान्छ । क्षयरोग केवल खोकी र ज्वरो मात्र होइन । कहिलेकाहीँ यो एउटा मौन क्षति हो । जसले जीवनको सबैभन्दा गहिरो चाहनामाथि प्रहार गर्छ । जबसम्म हामी त्यो रोगलाई देख्न सिक्दैनौं, त्यतिबेलासम्म हामीले जितेको ठानिएको लडाइँ शायद अझै अधुरै रहन्छ ।

साझा गर्नुहोस्:
डा. बालकृष्ण साह

लेखकको बारेमा

डा. बालकृष्ण साह

वरिष्ठ चिकित्सक डा. बालकृष्ण साह स्त्री-रोग विशेषज्ञ हुन् । विगत १० वर्षदेखि स्वास्थ्यको क्षेत्रमा कलम चलाउँदै आएका साहका रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.