साहित्यपोस्ट-नपढी सुखै छैन...

कथा: मनुष्यगन्ध

कथा: मनुष्यगन्ध

अलकत्राको कालो लेदो जस्तो अँध्यारो रातमा सुत्ने कोठामा, टुकीको उज्यालोलाई बिदा दिनु भन्दा अगाडि आमाले केही न केही ज्ञानवर्धक कुरा सुनाउनुहुन्थ्यो । विश्वलाई बाँड्न लागेको मनन र अनुसन्धान योग्य आमाको कथाको मुख्य धेरै दशक पछि म सुनाउँदै छु । “मन्त्र गर्दै तिम्रो ठूलोबाले माटाका दुई घ्याम्पा आप्समा जुधाउनुहुन्थ्यो । यसरी जुधाउँदै आगोको झिल्का निकाल्नुहुन्थ्यो । तर यो कार्य गर्न कसैले पनि शरीरको कुनै अंग वा कुनै बाह्य वस्तुले घ्याम्पोलाई छोएको हुँदैन । दर्शकहरू अचम्म मान्थे ।“

यसको अर्थ ठूलोबासँग विशेष शक्ति छ । के कस्तो शक्ति हो, यो रहस्यमय छ । यही शक्ति बुझेर छिमेकीहरू उपचार गर्नका निमित्त ठूलोबाको घरमा आउँथे । उहाँले उपचार गर्ने सिलसिलामा कुचोले हिर्काउनुहुन्थ्यो । यसरी झारफुक गरेर उहाँले रोग निको पार्नुहुन्थ्यो भौतिक वा रासायनिक वस्तुबाट बनेको औषधि सेवन नगराई । मेरा ठूलोबा कसैलाई जानकारी नदिई काठमाडौंको आफ्नो बासस्थान नगिचको मसानघाटमा पनि जानुहुन्थ्यो । उहाँले मृत आत्मालाई जगाउनुहुन्थ्यो । भौतिकवाद र वैज्ञानिक युगमा ठूलोबाको वास्तविक कुरा फ्यान्टासी हो जस्तो लाग्छ । कथा आश्चर्यजनक छ । त्यसो भए तापनि कुरो दन्त्य कथा होइन । यो सत्य कथा सय वर्ष पुरानो पनि होइन । 

मलाई लाग्छ, मेरा ठूलोबाले आफ्नो खुबी देखाउन वैज्ञानिक तरिकाले कहिले पनि कार्यपत्र प्रस्तुत गर्नु भएन किनभने उहाँ केवल साक्षर मात्र हुनुहुन्थ्यो । तर मन्त्रको माध्यमद्वारा यस्तो कसरी सम्भव हुन्छ वा हुँदैन कुनै पनि वैज्ञानिकले आजसम्म अनुसन्धान नै गरेर जनमानस वा पत्रपत्रिकामा आएको सुन्न वा देख्न पाएको छैन । 

ठूलोबाको समयमा अधिकांश मानिसहरू ईश्वरप्रति आस्था गर्थे, ईश्वरले नै मानिसको सृष्टि गरेको हो, मानिसमा आत्मा छ र मानिसको मृत्यु भए पनि उसको आत्मा बाँचेको हुन्छ भनी विश्वास गर्थे । हुन त यस वैज्ञानिक युगमा पनि ईश्वर, अमर आत्मामा आस्था र विश्वास गर्ने मानिस छन् । तर त्यतिखेर नेपालमा अनुसन्धान गर्ने पद्धतिको विकास कमजोर थियो । विडम्बना ! मानिसहरूले ईश्वरबारे अनुसन्धान गरेर पत्ता लगाउन आजसम्म पनि प्रयास नै गरेन । विश्वमा लाखौं डाक्टरहरूको जमात हुँदा पनि उनीहरूका लागि मानिसको ईश्वर र आत्माको बुझाइलाई के पान के पक्वान्न जस्तै भइरहेको छ । 

मेरो पेशा ठूलोबाको जस्तो पनि होइन । म वैज्ञानिक पनि होइन । तर म ईश्वरप्रति, सबै धर्ममा आस्था राख्ने र मानिसको आत्मा विश्वास गर्ने पक्कै हो । त्यसैले, सामाजिक-वैज्ञानिक दृष्टिकोणले ईश्वरबारे अनुसन्धान गर्नेछु । यही अनुसन्धानका आधारमा जर्नलमा अनुसन्धान लेख प्रकाशन गर्नेछु । सामाजिक संजालमा धर्म र विज्ञानको सम्बन्ध, समन्वय, यस युगमा यसको महत्त्वबारे पनि पक्कै लेख्नेछु । यसबाट विश्वका मानिसहरूलाई चेतना आउनेमा विश्वास गर्दछु र उनीहरूलाई सुसूचित गर्नाले मैले कर्तव्य पुरा गरेको ठान्नेछु । 

आज नेपालमा सूर्यको किरण छताछुल्ल पोखिनु संगसंगै ईश्वरको अस्तित्वको सम्बन्धमा विश्व सम्मेलन हुँदैछ । यस सम्मेलन स्थलमा म सामाजिक संजालको पत्रकार र अनुसन्धानकर्ताको रूपमा उपस्थित हुँदैछु । 

परापूर्वकालदेखि ईश्वर, देवीदेवतामा विश्वास गर्ने प्रख्यात ऋषि मुनिहरूको नेपाल खानी हो । हिन्दू धर्म अनुसार ३३ करोड देवीदेवताहरू भएको विश्वास गरिन्छ । यसकारण यो सम्मेलनको केन्द्र विन्दु नेपालको राजधानी छनौटमा परेको छ । 

कचौरा आकार जस्तो राजधानी काठमाण्डौं उपत्यकाको वरिपरिको डाँडाहरू शान्त छन् । आज यस सम्मेलनमा विश्वका वैज्ञानिकहरू जुटेका छन् । सम्मेलन स्थल चन्द्रागिरिको डाँडा हो । अहिले सहभागीहरू यार्सागुम्बाको चुस्की लिँदै छन् । कसैले जडिबुटी चियाको नयाँ नयाँ स्वाद चाखिरहेका छन् । सम्मेलनमा वैज्ञानिक प्रविधिको नवीनतम तौर तरिका पनि अपनाइरहेका छन् । 

भौतिक रूपमा थोरै वैज्ञानिकहरू चन्द्रागिरिको सम्मेलन हलमा छन् । सत्यकुरो त यो सम्मेलन विश्वको सबभन्दा पूर्वको देश टुभालु देश, सबभन्दा पश्चिमी मुलुक टोन्गा, दुवै पूर्व र पश्चिमी गोलार्ध छुने शून्य डिग्रीको देश संयुक्त अधिराज्यका वैज्ञानिकहरू भौतिकरूपमा उपस्थित छन् । वास्तवमा, संचार र प्रविधिको विकासको कारण यो सम्मेलन सबै महादेशको अधिकांश देशहरूमा  नै भइरहेको छ । अझै गहिरो कुरो त पृथ्वीमाथिको हावारहित आकाशमा पनि यो सम्मेलन संचालन भइरहेको छ । 

नेपालको युवा ग्रह वैज्ञानिक डा.चन्दाले आफ्नो केही प्रस्तुत गर्दा पृथ्वीका आठै दिशाका, सबै महादेश, एकसय त्रियानन्बे देशका वैज्ञानिकहरूले आ-आफ्ना देशहरूको आफ्नै घरहरूबाट काठमाडौंको मनोरम प्राकृतिक दृश्यहरूको रस स्वाद लिइरहेका छन् । नेपालकै विभिन्न मठ मन्दिर र देवताहरू देखेर विश्वका वैज्ञानिकहरू मन्त्रमुग्ध  छन् । संचार र प्रविधिका विभिन्न औजार प्रयोग भएका कारण यी सबै नेपालका दृश्यहरू सबै वैज्ञानिकहरूको आ-आफ्नो कोठामा देखिन्छ । सबै नेपालको भएका प्रकृतिको वरदान देखेर वैज्ञानिकहरू लोभिएर र्याल चुहाइरहेका छन् । 

सबै दृश्य, श्रव्यको मिश्रण गरी एकीकृतरूपमा आदन प्रदान गर्ने काम पृथ्वीभन्दा माथि स्पेस स्टेशन, स्याटेलाइट, आदिको सहयोगबाट भइरहेको छ । यसको नियन्त्रण स्थानमा पृथ्वी माथिको अन्तर्राष्ट्रिय स्पेस स्टेशनबाट भइरहेको छ । 

चन्द्रागिरिको डाँडादेखि वरपरको दृश्य ड्रोनको माध्यमद्वारा भिडिओ खिची स्याटेलाइट मार्फत विश्वमा प्रसारण भइरहेको छ । हेलिकप्टरको उडान र भिडिओ क्यामराबाट अन्नपूर्ण हिमालयदेखि सगरमाथा र वरपरका दृश्यहरू कैद गरिरहेका छन् । त्यस्तैगरी, महालङ्गुर-खुम्बु हिमाल क्षेत्रमा यतीको पाइलाहरू विश्वभरि फैलिरहेका छन् । आजसम्म पत्ता लगाउन नसकेको यतीलाई, यतीसँग जम्काभेट गर्ने नेपाली लोकगायक र साहसी कुमार बस्नेत, बेलायती डन व्हिलयन र जापानी तैजो ओकावाको यतीको पाइला फोटो र अनुसन्धानलाई सहभागीहरूले स्याबासी दिइरहेका छन् । अब यतीलाई पत्ता लगाउनुपर्ने मनसाय न्यूजीलैण्डको एक वैज्ञानिकले डा. लुजेन्द्र गरे । 

डा.चन्दाको प्रस्तुति अघि बढ्यो । क्यामराले कैद गरिरहेको छ । स्वर्गद्वारी मन्दिरदेखि प्रख्यात मुगु ताल-निर्मल ताल, राष्ट्रिय निकुञ्जहरू हेरर विश्वको मानिसहरूले घर घरमा बसी आनन्द लिइरहेका छन् । 

यसगरी क्यामराले विश्वको उच्च हिमशिखर सगरमाथा पनि कैद गर्न सफल भए । साथी करोड वर्ष पुरानो समरमाथा तथा वरपरका अन्य हिमशिखरहरूको वातावरण प्रतिकूल भएको कारण सबै हिमशिखरहरूले रोइ कराइ गरे ।  स्वच्छ वातावरण बनाउन असमर्थ भएपछि उनीहरूका आँखाका मुहान सुकिसकेका छन् । हिमशिखरमा काला चट्टान मात्र देखिन्छ । यी हिमशीखरहरू लाज नमानी विश्व सामू नाङ्गै उभिरहेका छन् । 

हजारौं वर्ष पहिला काठमाण्डौं उपत्यका पानीको दह थियो । यो कुरा वैज्ञानिकहरूले पनि स्वीकार गरिसकेका छन् । तालको बिच भागमा कमलको फूलको उत्पति भएको थियो । बोधिसत्त्व मञ्जुश्रीले चोभारको डाँडा चत्मकारीपूर्ण ढंगमा काट्नुभयो । काटिएको डाँडा पनि क्यामराले कैद गर्दै प्रसारण भयो । तर डाँडा काट्न सफल हुन सक्नु वैज्ञानिकहरूले वैज्ञानिक कारणहरू खोजिरहेका छन् । 

त्यसपछि उपत्यकामा बसोबास शुरू भयो । ई.स. ४६० भन्दाअघि स्वयम्भूनाथको स्टुपको निर्माण भएको जनविश्वास छ । यसरी सो स्थानलाई ‘स्वयम्भू’ नामाकरण गरियो । बौद्ध स्टुपको पनि क्यामराले कैद गर्दै विश्वलाई परिचय गराउने शुरू गरे । 

नेपाली युवा वैज्ञानिक रोशाले मनमोहक र आश्चर्यजनक भौतिक र अभौतिक विषयहरू प्रस्तुत गरिरहँदा विश्वका कतिपय वैज्ञानिकहरूले पत्याएनन्, पचाएनन् । एकछिन त दन्त्यकथा जस्तो भन्न पनि थाल्नुभयो । यसबाट सम्मेलनको माहोल नै अर्कै हुन गयो !

पृथ्वीको सृष्टिको इतिहास हेर्ने हो भने वैज्ञानिकहरू भन्छन् पृथ्वीको आयु ४.५ अरब वर्ष पुरानो हो ।  वास्तवमा सौर्यमण्डलको जन्म भइरहँदा पृथ्वी लगायत अन्य ग्रहहरू पनि क्रमिकरूपमा सिर्जना भएको थियो । साथ साथै, गुरुत्वाकर्षण, चुम्बकीय क्षेत्र, ऊर्जा, आदिले सौर्यमण्डलमा एक प्रणालीको निर्माण भएको छ । फलस्वरूप, पृथ्वीमा मात्र जीवका निमित्त उपयुक्त आवश्यक हर प्रकारको वातावरणको व्यवस्थाको सिर्जना भएको छ । 

हाम्रा पुराना धार्मिक ग्रन्थ र सो अन्तर्गत विभिन्न विधाहरू करिब पाँच छ हजार वर्ष अघि विकास भएका थिए । लिखित ग्रन्थहरू नै तीन हजार वर्ष मात्र पुराना हुन् । यो अवधिमा पूर्वीय  धार्मिक तथा दर्शन शास्त्रअनुसार हाम्रो सौर्य मण्डल र यसको नौ ग्रहबारे हाम्रो पुर्खाहरूले सयौं वर्ष अगाडि नै पत्ता लगाइसकेका थिए । नेपालीका लागि यो खुशीको कुरा हो । नेपाली वैज्ञानिकको यो यथार्थ प्रस्तुतिले विश्वका वैज्ञानिकहरूको घैँटोमा बल्ल घाम लाग्यो । उनीहरूको मनमस्तिष्कले यतिखेर बुझेको कुरा, उनीहरूको हाउभाउले बुझ्न सकिन्छ । 

एक्काइसौं शताब्दीमा पश्चिमी मूलुकका वैज्ञानिकहरू नेपालका पाँच हजार वर्ष अगाडिका पूर्वीय वैज्ञानिकहरूभन्दा अग्र छन् । यसकारण उनीहरूले खोज तथा अनुसन्धान कार्यमा ब्रह्माण्ड र सौर्यमण्डल बारेमा मात्र होइन अन्य धेरै विषयहरूमा नयाँ नयाँ आविष्कार गरेका छन् । 

नेपालीको पालोपछि अमेरेकी एस्ट्रोफिजिक्स वैज्ञानिक पल हर्ट्जले आफ्नो पालोलाई अगाडि बढाए । यसरी अमेरिकी वैज्ञानिकहरूले अन्य देशका वैज्ञानिकहरूको टिममा सहकार्य गरिरहेका छन् । कतिपय अवस्थामा नेतृत्व पनि लिइरहेका छन् । यसरी ती वैज्ञानिकहरूले एकपछि अर्को नयाँ आविष्कार गरिरहेका छन् । मानवजाति बसोबास गरिरहेको सौर्यमण्डलभन्दा बाहिरको सौर प्रणाली एक्सप्लानेट (एक्स्ट्रासोलर ग्रह) उनीहरूले पत्ता लगाएका छन् । यस्ता ग्रहहरूको सङ्ख्याले चार हजार नाघिसकेको छ । नगिचको एक्सप्लानेटको दूरी हाम्रो सूर्यबाट दश पर्सेकण्ड(३२.६ प्रकाश वर्ष) छ । यो एक्स्ट्रासोलर ग्रहलाई बेलायतको शक्तिशाली टेलिस्कोपबाट स्याटेलाइटको माध्यमले सबैको घर घरको पर्दामा देखाइयो ।  यो हामी सबै मानिसका लागि अभूतपूर्व सफलता हो । आ-आफ्नो पर्दामा हेर्दै विकासोन्मुख देशका वैज्ञानिकहरू वाह वाही दिँदै छन् । उनीहरूको आश्चर्य प्रकटले यो अभूतपूर्व एवं विश्वास गर्न गाह्रो भएको आभास भइरहेको छ । 

चीनका वैज्ञानिकहरू गम्भीर भएर भन्छन् । बिचैमा उनीहरू भन्छन् कि नयाँ सौर्यमण्डलको पत्ता लागेका कारण उनीहरूका निमित्त चुनौति र अवसर दुवै हुन् । नयाँ नयाँ खोजको सम्बन्धमा उनीहरूले कत्ति विषयहरूको प्रश्नहरूको उत्तर पाएका छैनन् । यसकारण अझ पनि उनीहरूका निमित्त हाम्रो सौर्यमण्डल र नयाँ सौर्यमण्डलमा रहस्यमय विषयहरू थुप्रै छन् । 

यतिकैमा फेरि, नेपालका वैज्ञानिक डा. जगतदेवीले प्रस्तुति थप्नुभयो । स्वयम्भू, बुढानीलकण्ठ, पशुपति, बुंगमतीको रातो मच्छिन्द्रनाथ देवताको भौतिक अभौतिक कथा, विशेषताहरूबारे सुनेपछि अष्ट्रेलिया तथा ल्याटिन अमेरिकाका वैज्ञानिकहरूको र्याल चुहियो । विश्वका धर्महरूमध्ये सबभन्दा पुरानो धर्म सनातन धर्म हो । यही धर्मअनुसार करोडौं देवीदेवताहरूको पूजा गर्ने प्रचलन आजसम्म चलिरहेको छ । तर गहिरो अध्ययन गरेमा हिन्दू वा सनातन धर्मअनुसार नै  एक मात्र ईश्वरको विश्वास गर्नेहरू पनि लाखौं छन् । 

चलनचल्तीका सम्मेलनहरूमा जुन किसिमको प्रस्तुति गरिन्छ, त्यस्तै प्रकारको प्रस्तुति यस विश्व सम्मेलनमा भएको दर्शक तथा श्रोताहरूले पाउन सक्छन् । 

यहाँनिर भारतको वैज्ञानिक योगी रामदेवले आफ्नो प्रस्तुतिमा भन्नुभयो । भारत वर्षंमा हिन्दू धर्मका करोडौँ देवीदेवताहरूलाई पूजा आराधना गर्ने चलन आजसम्म छ । यसको अर्थ हरेक देवी देवताको कुनै न कुनै विशेष गुणको आधारमा पूजा, आराधना र सम्मान गरिन्छ । प्रस्तुतकर्ताले उदाहरणहरू दिंदै थप्नुभयो, मानिसलाई नभई नहुने रुख तथा बोटबाट हावा तथा फल प्राप्त गर्दछ, सूर्यबाट प्रकाश तथा ताप प्राप्त गर्दछ । तिनीहरूलाई पूजा गर्ने प्रचलन शुरू भयो । यसरी पानीदेखि, ढुङ्गाका मूर्तिहरू लक्ष्मी(धन), सरस्वती(विद्या) आदिलाई पनि पूजा गर्न शुरू गरे । पछि वैज्ञानिकहरूले तिनीहरूको फाइदाका बारे धेरै व्याख्या र विश्लेषण गरिसकेका छन् र ती ढुङ्गाका मूर्ति, पानी, रुखहरू ईश्वर होइन भन्दै पुस्तकहरू छाप्न थाले । 

वर्तमान समयमा धर्मको बारेमा पनि धेरै सिद्धान्तहरूको प्रतिपादन भइसकेका छन् । तर जतिसुकै जे नयाँ नयाँ उपदेश, सिद्धान्तहरू मानिसहरूको समक्ष आए पनि सबैलाई चित्त बुझ्दो सर्व मान्य उपदेश, ज्ञान र सिद्धान्तबारे सम्पूर्ण मानवजातिलाई पूर्णरूपमा चेतना तथा ज्ञान दिन सकेको छैन । यही अनुसार धेरै वैज्ञानिकहरूले ईश्वरप्रति विश्वास गर्न सकेका छैनन् । 

भारतको वैज्ञानिक जिना सराब्जीले गम्भिर हुँदै थप जानकारी दिनुभयो । भारतको नयाँ दिल्लीस्थित लोटस टेम्पल(कमल आकारको मन्दिर)को उद्देश्य नै सम्पूर्ण मानवजातिलाई एउटै विश्वव्यापी धर्म र साझा आस्थामा एकजुट गर्नु हो । यो धर्मको नाम हो-बहाई (ईश्वरको प्रकाश) । ईश्वरले बृहत् योजना निर्माण गर्नुभएको छ । यसलाई प्रगतिशील धर्म भनिन्छ । यसको सिद्धान्तअनुसार हरेक पाँच सय वर्षदेखि हजार वर्षको बिचमा ईश्वरले अवतार पठाउनुहुन्छ । ती अवतारहरू मानिसको रूपमा हुन्छ तर सामान्य मानिसहरूभन्दा यी अवतार महा विद्वान, ज्ञानी, साहसी आदि हुन्छन् । व्यवहारमा मानिसहरूले आ-आफ्नो पृष्ठभूमि, धर्म, संस्कार, भाषा, परिस्थिति, स्थानअनुसार ती अवतारहरूलाई देवदूत वा भगवान वा ईश्वर आदिले पुकार गर्दछन् । उदाहरणार्थ कृष्ण, बुद्ध, यशु, मोहमद, बाब, र बहाउल्लाह अवतार वा भगवान हुन् । उहाँहरूले मानवजातिलाई युग सुहाउँदो उपदेश वा शिक्षा दिनुहुन्छ । विश्वविद्यालयको पाठ्यक्रम अध्ययन गरिरहँदा कक्षा एकको शिक्षा बेठीक भन्नु उपयुक्त पक्कै होइन । तर मानवजाति आफूलाई सर्वश्रेष्ठ ठानेर आ-आफ्नै किसिमले व्याख्या गर्ने, आफ्नो कुरा थप्ने, कतिपयले नकरात्मक रूपमा लिने आदि पनि गर्दछन् । 

इजरायलको धार्मिक विद्वान  अलि असहज मानी भन्नुहुन्छ, केवल भौतिक सिद्धान्तको आधारमा धर्मलाई भौतिक विज्ञानले जस्तै ईश्वरको प्रमाण दिन सकिँदैन । ईश्वर सर्वज्ञाता, सर्वव्यापी, सर्वशक्तिमान, न शुरू न अन्त हुन् । ईश्वरको कर्तव्य र जिम्मेवारी बृहत् छ । वैज्ञानिकहरूले हवाइजहाजको आविष्कार गरे । तिनको आविष्कारलाई हामी सामान्य मानिसहरूले विश्वास र आस्था गर्दछौं । त्यस्तैगरी ईश्वरले हामी मानिसको लागि आफू भएको प्रमाण गर्न हाम्रा अगाडि कुनै आविष्कार त गर्नु भएको छैन र त्यसो गरिरहन पर्दैन पनि । तर मानिसले पत्ता लगाउन नसकेको र आविष्कार गर्न नसकेको भौतिक वस्तुहरू त ईश्वरले सृष्टि गर्नुभएको छ । यो हो ब्रह्माण्ड । दुःख लाक्दो कुरा, सम्पूर्ण मानिसहरूले यो भनाइलाई पचाउन सकिरहेका छैनन् । 

युरोपका वैज्ञानिकहरूले साधारण ब्रेकफास्ट खाए । युरोपका कतिपय वैज्ञानिकहरूले आफ्नो विश्वास र आस्थाबारे प्रकट गरेका छन् । उता इरानको डा. मासिद वैज्ञानिक नाम गरेका वैज्ञानिकले जोड दिएर भन्छन्, “ईश्वर र धर्म भनेको विश्वास र आस्था हो । अर्थात् आस्थालाई भौतिक विज्ञान शास्त्रले जस्तो भौतिकरूपमा प्रमाण मिल्ने छैन । वास्तवमा मानिसको जीवन तथा शरीर भौतिक रूप मात्र होइन, यसमा आध्यात्मिकता पनि छ । मानिसको शरीर र आत्माको गहिरो सम्बन्ध छ । “

तिनले फेरि थपिन्- बुज्रुग शरीर विज्ञानका प्रोफ्रसर तथा प्राध्यापकहरूले औषधि विज्ञानको शिक्षण पढाइमा स्वास्थ्य सम्बन्धी डाक्टरहरूलाई मानिसको आत्माबारे धेरै देशहरूमा शिक्षा नै दिँदैन । जसले गर्दा औषधि विज्ञान क्षेत्रमा ठूलो खाडल छ । फलस्वरूप मानिसहरूले अनाहक दुःख पाइरहेका छन् । शरीर विज्ञानका वैज्ञानिकहरूले धेरै आविष्कार गरिसके र गरिरहेका छन् । तर मानव शरीर भित्रको सेल, किटाणु, रगत, आदिबारे आविष्कार गर्न वैज्ञानिकहरू सफल भएका छैनन् । आखिर एक मानव शरीरभित्र वा कुनै पनि भुसुना जस्तो सानो र हात्ती जस्तो ठूलो जनावरको सम्पूर्ण शरीर र उनीहरूको अङ्गप्रत्यङ्ग कसरी संचालन भइरहेको छ वैज्ञानिकहरूको निमित्त आजसम्म आश्चर्य नै छ । त्यस्तै, सम्पूर्ण ब्रह्माण्ड एवं यहाँका ग्रहहरू संचालन गर्न कसरी र कहाँबाट इनर्जी प्राप्त हुन्छ सो व्याख्या तथा आविष्कार गर्न आजसम्म सकेको छैन । पृथ्वी कसले आविष्कार वा सृजना गरे ? इन्टलिजेन्स रोबोटको आविष्कार गरेजस्तै मानव शरीर कसरी आविष्कार हुन सक्छ ? प्रस्तुकर्ताले प्रश्न गर्नुभयो विश्वका सम्पूर्ण विद्वानवर्ग र मानवजातिलाई । जवाफ इमेलबाट पठाउन सकिन्छ भनेर सबैलाई जानकारी दिनुभयो !

क्युबा, चीन, कोरिया आदि देशहरूका केही वैज्ञानिकहरूले एकै स्वरमा ईश्वरको अस्तित्वबारे र ईश्वरले ब्रह्माण्डको सृष्टि सम्बन्धमा ‘नो‘ भन्दै विरोध गरे । साथै, कतिपय पश्चिम मुलुकका वैज्ञानिकहरूले पनि ‘नो‘ भन्दै चिच्याइरहेका थिए । यहाँनिर हरेक स्मरणयोग्य कुरा यो छ कि सम्मेलनमा जुनसुकै भाषामा प्रस्तुत भए पनि सोही देशको प्रमुख भाषामा अनुवाद तुरुन्तातुरुन्तै पनि भइरहेको छ । 

क्यानडाका भौतिक विशेषज्ञ फ्रायक आलेनप्रति प्रश्न गर्नुभयो । यो विश्व पराभूतमा बनेको छ । सर्वप्रथम, पृथ्वी आकाशमा स्वतन्त्र रूपले राखिएको गोल पदार्थ छ । अर्थात ईश्वरले शून्यमा पृथ्वीलाई अडाए । त्यसपछि, दिन र रातको व्यवस्था गरियो । अनि एक वर्षमा सूर्यको वरिपरि घुम्ने तुल्यायो । यसरी अन्तरालमा घुम्ने र उत्तर दक्षिण कक्षमा २३ डिग्रीमा पालैपालो झुक्ने तुल्यायो । सूर्यलाई वार्षिक गतिका साथ बाटुलो पथमा घुमाइयो । यसैबाट ऋतुहरूको पनि निरन्तरता दिइयो । अर्थात् कुनै मानवले यो सबै सिर्जना गरेको होइन । 

यो व्याख्या गरेपछि, वैज्ञानिकहरू कोही नतमस्तक भए भने, कोही नाजवाफ भए । कसैले कुनै प्रतिक्रिया जनाउन सकेन । 

चाँजो मिलाउँदै अमेरिकाका वैज्ञानिक पाउल क्लियरेन्सले भने, “यस ब्रह्माण्डको सबभन्दा बढी बुद्धि र विवेक भएको प्राणी मानिस हो । तैपनि ऊ आफैँमा पूर्ण कहिल्यै छैन । किनभने यस पृथ्वी तथा ब्रह्माण्डमा यति विशाल विषयहरू छन् सबै विषयहरूमा पूर्णता प्राप्त गर्न सकिँदैन । मानिसको बुद्धिको क्षेत्र सीमित छ, सर्वज्ञाता र सर्वशक्तिमान ईश्वरको बुद्धि व्यापक छ । उसको महान चैतन्य सर्वव्यापी छ । ईश्वर र मानवबिच सूक्ष्म सम्बन्ध छ । भौतिक, आध्यात्मिक र आत्मीय ज्ञानको मन्थनबाट मानिसले ईश्वरको अनुभूति गर्दछ । ईश्वर महिमा पराभूत गर्छन् । यस्ता पराभूत तथ्य तथा अनुभूति विभिन्न खालका छन्  र सबै अनुभूति एकै खालको र एउटै समयमा हुँदैन ।”

यो कुराले फेरि एकपटक विश्वका सम्मेलनको सहभागी सबै दर्शकहरूलाई मन्त्रमुग्ध बनायो र शान्त माहोल सिर्जना भयो । सबैलाई प्रश्नहीन बनायो । टेलिभिजनबाट कुनै पनि आवाज एकछिन आएन । 

अनि अष्ट्रेलियाको रसायन शास्त्र वैज्ञानिकले थपे, “यस विश्वमा भएका कुनै पनि क्षेत्र र विषय एकांगिरूपमा हेरेमा अपुरो हुन्छ । मानिसको जीवन एउटै वस्तुमा भर परेको हुँदैन । यसैले, धर्म र विज्ञानबिच समन्वय हुनुपर्दछ । हामी मानिसहरूले आफ्नो जीवनमा समन्वय गर्ने अभ्यास गर्नुपर्दछ ।”

चिलीको वैज्ञानिकले यसमा थपे, “ईश्वरले भौतिक रूपमा आफूलाई प्रस्तुत गर्दैनन् । ईश्वरले आफू भौतिकरूपमा उपस्थित नभए पनि भौतिक वस्तु यस पृथ्वीलगायत ब्रह्माण्ड नै सिर्जना गरेर आफ्नो अस्तित्व प्रमाण गरिसकेका छन् ।  योभन्दा बढी प्रमाण के चाहिन्छ मानिसलाई ? विवेकशील प्राणीले विश्वास गर्ने वा नगर्ने उसको हातमा छ । मानिसलाई यही नै वरदान छ । यहाँ कोही बाध्य छैनन् र कसैलाई पारिँदैन पनि !

ईश्वरले पृथ्वी लगायत सम्पूर्ण ब्रह्माण्डको बृहत् व्यवस्था गरिसकेका छन् । अब मानिसले ईश्वरले गरेको सृष्टिको कामभन्दा सानो काम गर्न जरुरी भइसकेको छ । अब सम्पूर्ण मानिस, विशेष गरी राजनैतिक कार्यकर्ता, धन्याढ्य व्यक्ति, वैज्ञानिक आदिले यस पृथ्वी चिरकालसम्म बस्न लायकको बनाउनु छ ।  यस पृथ्वीमा राजनैतिक, आर्थिक, सामाजिक, वातावरणीय विकास गरी दिगो प्रणालीको अभ्यासमा लाग्नुपर्दछ । 

प्रस्तुति सकिएपछि, माथि अन्तर्राष्ट्रिय स्पेस स्टेसनबाट सबै प्रस्तुतिको छोटकरीमा लेख्ने काम पनि सम्मेलन सकिने बित्तिकै पुरा भयो । युवा युवतीहरूले नै विश्वलाई सकरात्मक परिवर्तन गर्न सक्छन् । ईश्वर, आत्मा र मानिसको कर्तव्यबारे नयाँ पिंढीलाई प्रशिक्षण दिन सिफारिश गर्यो । 

“एक कानले सुन्नु अर्को कानले उडाउनु” भन्ने उखानलाई सबैले उल्टाउने आशा गर्दै सम्मेलनको सभापतिले सम्मेलन समापन भएको घोषणा गर्नुभयो । 

सम्मेलनमा विश्व सहभागिता र पारदर्शिता भएको सन्तुष्टि जनाएर समापनका लागि सबैले ताली बजाए । यार्सागुम्बाको चिया पनि सबैले अन्तिम चुस्की लगाए ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.