साहित्यपोस्ट-नपढी सुखै छैन...

कथा मंगलवाडीको: दशरथियाको सपना

कथा मंगलवाडीको: दशरथियाको सपना

दशरथिया आज  चार  दिनपछि  फेरि  कामको  खोजीमा  घरबाट  निस्कियो । ठिक चार दिन अघि उसले काशिचंदको घरमा गइ दिन भर काम गरेको थियो । चार दिनसम्म खान पुग्ने कमाएर केही अन्न घर ल्याई अर्धांगिनीलाई वर्षाइनपूरवाली दिएको थियो । तीन सदस्यको परिवारमा ऊ मात्रै कमाउने हो । श्रीमती शुरूमा खुब काम गर्थी, पछि बिरामी भएपछि प्राय घरमै बसिरहन्थी । उसले कमाएर ल्याएको पकाएर बाउ छोरालाई खान दिन्थी । अनि त्यसै दिनभर झोक्राएर बस्थी । दशरथियाले मंगलवाडीको हेल्थ पोस्टमा देखाएको थियो । डाक्टरले एक दुईवटा गोटी दिएका थिए, खाउञ्जेल ठिकै हुन्थ्यो, त्यसपछि फेरि उस्तै । उसको छोरा राघबवा भने बाबुले गरेको काममा खासै ध्यान दिँदैनथ्यो । बरु मौका मिले आफूसरहका केटाकेटीलाई स्कुल जाने बाटोमा बसेर हेरिरहन्थ्यो । आफू जस्ता केटाकेटीहरू खेलेको ठाउँमा गएर हेर्थ्यो, तर उसलाई कसैले पनि खेल्न बोलाउँदैनथे । दशरथियाको पुस्तैनी काम भनेको माटोको लेभल मिलाएर काट्नु र काटेको माटो कुनै होचो भागमा लगेर उसको पुस्तैनी खर्पनको सहयोगले मिलाएर फ्याक्नु पर्थ्यो । यो काममा ऊ पोख्त थियो । उसको बाबुले उसलाई सानैमा सिकाएका थिए । उसका बाबु मगनवा करीब चौध वा पन्ध्र वर्षको हुँदो हो, छिमेकि बदरिया, श्रीमती समस्तीपुरवाली र उसको परिवार सँगै घरमा खबरै नगरी समस्तीपुरबाट भागेर पेटभरि खान पाइन्छ भन्ने आशले मंगलवाडी आएको थियो । पछि, बदरियाकै छोरी सुखनीलाई आफ्नी जीवनसाथी बनाएको थियो । उमेरमा छ सात वर्षको फरक भए पनि, दुवैले एक अर्कालाई मन पराएकाले बदरियाले केही नबोली बिहे गरिदिएको थियो ।

मंगल प्रताप सिंहले मंगलवाडी स्थापना गरेपछि छिमेकी मुलुकबाट कशिचंदलाई घुम्न बोलाएको थियो । मंगलवाडी देखेपछि उसलाई त्यहीँ बस्न मन लग्यो । उसका बाबु हजुरबाहरू उद्योग व्यापार गर्ने भएकाले उसलाई पनि व्यपारमै रुचि थियो । आफ्नो देशमा धर्मको नाममा सधैँ मारकाट झैझगडा हुन्थ्यो । एक दिन त देशै दुई टुक्रा हुन पग्यो । त्यो दंगा फसादले धेरै अरु पनि मगलवाडी आइबसेका थिए । तीमध्ये अलि हुने खानेलाई मंगल प्रतापले मंगलवाडी बजारमा व्यापार गर्ने प्रबन्ध मिलाइदिएको  थियो । त्यो सुन्दर शान्त मंगलवाडी कशिचंदलाई पनि मनपर्यो । घरजम गर्ने व्यवस्था मंगल प्रतापले गरिदिए । केही वर्षमै ऊ सफल व्यापारी भएर सयौं मंगलवाडीबासीलाई रोजगारी पनि दियो । मंगलवाडीमा कशिचंद एक प्रसिद्ध व्यापारी तथा उद्योगपतिका रूपमा परिचित व्यक्ति भैसकेको थियो । उनको राइस मीलमा सयौं मानिस काम गर्दथे । बदरियाले मगनावालाई त्यही मीलमा काम गर्न लग्यो । उमेर कम भए पनि, मगनावा बलियो देखिन्थ्यो । चौडा छाती, मोटा मोटा पाखुरा र करिब छ फुट अग्लो ज्यान, अरु के नै चाहियो र मीलमा काम गर्न ? मीलको म्यानेजरले उसलाई हेर्नेबित्तिकै काम दिइहाल्यो, तर बदरियालाई धेरै केरकार गरेपछि मात्र भोलि देखि काममा आउन भन्यो ।

कशिचंदको राइसमीलले मंगलवाडीका बासिन्दाका लागि घडीको काम गर्थ्यो । मंगलवाडीमा मंगल प्रताप, कशिचंद जस्ता केही सीमित मानिससँग मात्र समयको सुविधा थियो, काम गर्ने र अरु सर्वसाधारणसँग हुने कुरै भएन । सबैको समय सूचक त्यै मील थियो जसले बिहान छ बजे साइरन बजाउँथ्यो र कामगर्ने सबैलाई काम गर्न आऊ भनी बोलाउँथ्यो । त्यो साइरन सबैलाई बिहान जगाउने घन्टी जस्तो थियो । दिउँसो बाह्र बजे सबै कामदारलाई खान जाऊ भनी बज्दथ्यो अनि फेरि दुई बजे काम गर्न आऊ भनी बज्दथ्यो, अन्तमा फेरि छ बजे बज्थ्यो जुन खासै आवश्यक हुँदैनथ्यो किनभने साँझको छ बजे सबैले आफैँ अन्दाज गरिहाल्दथे । यी शुरूका तिन साइरन सबैका लागि ठूलो समय सूचक थिए र आम मानिसलाई घडीको जरुरत पछिसम्म पनि भएन । मगनवा र बदरियाका लागि त्यो मील वरदान साबित भयो । हलुका बोरा बदरिया आफैँ पनि बोकी हाल्थ्यो तर असि सय किलोका बोराका लागि उसको ज्वाइँ छँदै थिए ।

मीलमा काम शुरू गरेको ठीक एक वर्षपछि सुखनीले उसलाई चौधैवर्षको उमेरमा एउटा छोरा उपहार दिई । मगनवालाई अब अरु के नै चाहियो र ? कशिचंदले ऊजस्ता बाहिरबाट आएकालाई धान्ध्रे खोलाको बगरमा झोपडी बनाउने सुविधा दिएको थियो, धान्ध्रे खोलामा बाह्र महिनामा नौ दस महिना पानी बग्थ्यो जुन उनीहरूका लागि ठूलो वरदान थियो । बिहान उठेदेखि राति सुत्ने बेलासम्म त्यो पानी उनीहरूको साथी नै थियो । त्योबाहेक मंगल प्रतापको पोखरी पनि थियो, त्यस पोखरीका बुहारी माछा उसलाई र उसका पाहुनालाई उत्कृष्ट लाग्थ्यो । कामदारलाई नुवाई धुवाई गर्ने एउटा अर्को गन्तव्य हुन्थ्यो । गाउँलेले त्यस पोखरीलाई आदमखोर भनी नाम दिएका थिए किनभने जो कोहीले त्यसलाई पौडेर पार गर्न खोजे, त्यो कहिले फर्किएर आएको थिएन । त्यसैले मानिस त्यहाँ जान डराउँथे । तैपनि धान्द्रेखोलाको विकल्प थियो । मगनवाले पनि त्यही बगरमा ससुराली छेउमै सानो झुपडी बनाएको थियो । श्रीमती सुत्केरी भए पनि उसलाई कुनै चिन्ता थिएन, सासु र अरु छेउछाउका महिलाहरूले आफूले गर्ने नित्य काम सकेपछि उसकी श्रीमती र बच्चाको हेरचाह गरिहाल्थे । त्यहाँ बस्ने सबै महिलाहरूले मंगल प्रतापको खेतमा गई काम गर्नुपर्थ्यो र उनीहरूले पनि आफ्ना श्रीमानलाई केही आर्थिक सहयोग गर्दथे ।

मगनवा र बदरियाको अधिकतम समय मीलमा नै बित्थ्यो, साँझमा थाकेर घर आएपछि मीनाक्षीको भट्टी थियो अन्तिम गन्तव्य । उनीहरूका लागि मीनाक्षीले राम्रै खोयाबिर्के बनाएकी हुन्थी र अरु पाहुनाभन्दा छुटै बाहिर पालले घेरेको सानो कोठामा पटटेरको दुई तिनवटा गुन्द्री बिछ्याएको हुन्थ्यो, त्यहीँ उनीहरू आफ्नो थकाई, बिस्मात, दु:ख, कष्ट आदि सबै तीनपाने संग साट्ने कोशिश गर्दथे । कशिचंदले दिएको पारिश्रमिक र मिनाक्षीको मुस्कानको समान मूल्य थियो, तैपनि उनीहरूको जिन्दगी रमाइलो थियो । अरु कुनै द्वेष, ईर्ष्या, दुश्मनी केही पनि थिएन ।

धांद्रे खोला पनि गजबकै थियो, जहाँ जमिन्दारको जमिन थियो, त्यहाँ साँघुरिएर बग्दथ्यो, तर जहाँ साना किसानको जग्गा थियो, त्यहाँचाहिँ अलि फैलिन खोज्दथ्यो र मौका मिले दुई चार कोला आफ्नु वेगमा मिलाइहाल्थ्यो । कुनै साल जतिसुकै ठूलो पानी परे पनि बाढी खोलाको बगर नाघ्दैनथ्यो, तर सानो तिनो पानी पर्दा पनि ठूलो बाढी आइ छेउकुना केही नराखी आफूसँगै लैजान्थ्यो । त्यही छेउकुनामा मगनवा, बदरिया र अरु कामदारका झोपडीहरू थिए जसले धांद्रे खोलालाई नै साथ दिए र अरुले धेरै गुमाउँदा मगनवाले पनि घर र श्रीमती गुमायो ।

श्रीमतीको अनुपस्थितिमा मगनवालाई अब कसरी घर खर्च चलाउने भन्ने कुराले खड्काएको थियो, किनकि सुखनीले कमाएर ल्याएको बनीले घर खर्च चल्दथ्यो । बाँकी उसले कमाएको त मीनाक्षीको स्रिङ्गारको एक अंशलाई पनि हुँदैन थियो होला । भनिन्छ, भगवानले एउटा हात भाँचे पनि हजारौँ हातहरू अघि बढाउँछन् । आमाको ठाउँ हजुरआमा समस्तीपुरवालीले लिइन् र बच्चाको नाम भगवान श्रीरामको बाबु दशरथ राखिदिइन् । सबैले उसलाई बडो माया गरेर दशरथिया भन्न थाले । आफ्ना छ जना बाल बच्चा भए पनि उसले खुब मन लगाएर नातिको सेवा गर्थी । त्यो देखेर उसकी छिमेकी रघुनाथपुरवाली भन्थी, “छोरा छोरीलाई भन्दा नातिलाई धेरै माया गर्दा, आफ्नाले नराम्रो मान्न सक्छन्, खयाल गर है, नाति त कुटुम्ब हो ।”

यो मेरो नाति होइन, यो त सुखनी नै हो, सुखनी पेटमा हुँदा, ज्योतिषीले छोरा हुन्छ भनेका थिए, मैले पनि छोराकै आश गरेकी थिएँ, पछि छोरी भई, हाम्रा लागि लच्छिन पनि भो । यहाँ आयौं, काम पायौं, पेट भर खान पाएका छौं, अरु के चाहियो र ? ऊ गई तर मेरो सपना पुरा गरेर गई । अरु त ठीकै छ, तर ज्वाईंको चिन्ता लाग्छ, यो कलिलै उमेरमा राण मसुमत भयो, यति लामो जिन्दगी कसरि बिताउने हो ? फेरि बिहे गरे त हुने हो, हाम्रो समाजमा यो हुँदैन ।

दिन बित्दै गयो, दशरथिया पनि चार वर्षको भयो । मगनवा बिहानै उठेर मील जान्थ्यो, खाना खान दिउँसो घर आउँथ्यो, फेरि मिनाक्षीलाई दान दक्षिणा चढाएर राति अबेर आउँथ्यो र सुत्थ्यो, भोलिपल्ट त्यही रुटिन चल्थ्यो ।

धान्ध्रे खोलामा यो साल पानी राम्रै परे पनि बाढी आएन, सबैका लागि सरसफाइको अन्तिम गन्तव्य आदम्खोर पोखरी मात्र थियो । सबै गाउँलेहरू त्यहीं जान थाले ।

एक दिन, अबेर राति जब मगनवा कामबाट घर आयो, दशरथिया रोइरहेको थियो, अरु साना बच्चाहरू पनि सुक्क सुक्क गर्दै थिए । चुलोमा केही थिएन, सबै भोकै थिए । खाने कुरा खोजिरहेका थिए । बदरिया पनि भर्खर आइपुगेको थियो । घरमा सबै थिए, समस्तीपुरवाली थिइन । बदरिया घरबाट बाहिर गयो । मगनवा छक्क परेर भुइँमा थचक्क बस्यो । बाहिर आँगनको छेउको चुलोमा आगो सल्काउन थाल्यो । चुल्हो चिसो भएकाले आगो सल्किन मानेन । उसलाई झ्वाँक चलेर सलाई भुइँमा हुँइकाइदियो । ठिक त्यसैबेला हातमा केही लिएर बदरिया आइपुग्यो र केटा केटीको भोक मेटाउन कोशिश गर्दै भन्न थाल्यो,  “आज खाना खाइसकेपछि, समस्तीपुरवाली दशरथियालाई लिई आदमखोरमा नुहाई धुवाई गर्न गएको सबैले देखेका रहेछन् । पछि, दशरथियालाई रोएको सुनी धनिया आदमखोरमा गएर हेर्दा, ऊ बलिन्द्र धारा खसाली रोइरहेको देखिछ । यहाँ ल्याइछ, आदमखोरमा समस्तीपुरवाली थिइन अरे, लुगाहरू त त्यहीँ थियो अरे । पहिले अरु मानिस पनि हराएका थिए, तर ती त पौडी खेल्ने क्रममा हराएका थिए । यसलाई त पौडी खेल्न पनि आउँदैन थियो । कहाँ गई होला ? भरे भोलि आउली कि !  केटाकेटीले खाइहाले, तिमी पनि जाऊ सुत, म पनि सुत्छु ।”

भोलिपल्ट समस्तीपुरवालीको लास आदम्खोरमा तैरिरहेको अवस्थामा थियो । उसको अनुहारमा केही चोट देखिन्थ्यो । कसैले पनि पानीभित्र गई लास निकाल्ने हिम्मत गर्न सकेन । सबै पोखरीको माहरमा बसी रमिता हेरे । पछि, पुलिस आई लास निकाले अनि पोस्टमार्टम गर्नुपर्छ भनी जिल्लाको सदरमुकाम देवीपुरम लगे । अर्को दिन मगनवालाई बोलाई लास जिम्मा दिइयो । दुवै ज्वाईं, ससुरा र अरु छिमेकी जम्मा भएर छेउको नदीमा लगी आफ्नु सामाजिक परम्पराअनुसार अन्तेस्ष्टि गरे । सुखनीका छ जना भाइ बहिनी थिए । ऊ लगत्तैका दुई बहिनी थिए । दुवैको विवाह भई समस्तीपुरतिरै घर खान गएका थिए । त्यसपछि तीन जना भाइ र सबैभन्दा सानी बहिनी थिई जो दशरथिया भन्दा छ महिना कान्छी थिई । अब बदरियालाई केटाकेटी हुर्काउन गाह्रो हुन थाल्यो । पालो गरी ज्वाईं ससुरा काम गर्न मील जान्थे । मिनाक्षीलाई बिस्तारै बिर्सँदै गए । एक दिन, बदरियाकी माहिली छोरी पवनी बाबु, भिनाजु, भाइ र बहिनीहरूलाई भेट्न आई । अब ऊ सबैकी आमा भई, एक हफ्ता बसी, भाइ बहिनी, भतिज सबैले उसलाई घेरेर राखे । उसले पनि सबैलाई समय समयमा खान दिई । नुहाउन खोलामा लगी । धान्ध्रेमा पानी आउन थालेको थियो ।

बदरियाले केही भन्न सकेन । बिहे भएकी छोरीलाई घर नजा, भाइ बहिनी हेरेर यहीं बस कसरी भन्नु ? घर जा पनि कसरी भन्नु, छोरा छोरीहरूको अनुहार हेरेर आँखाभरि आँशु हुन्थ्यो । अझ नातिलाई हेर्दा त ऊ थाम्न पनि सक्दैनथ्यो ।

आजकल मगनवा, मिनाक्षीलाई भेट्न जानु नपर्दा घर चाँडै आउँथ्यो । पवनीले सबैलाई खान दिएर, सबै केटा केटीलाई लिई, झोपडीमा सुत्न गई । दुवै ज्वाईं ससुरा, झोपडी अघिको आपको गाछी मुनि चारपाईमा पल्टिए। बदरिया बेचैन देखिन्थ्यो, तर मगनवालाई निन्द्रा लागेको थियो । ऊ सुत्न खोज्यो तर बदरिया बढबडाउन थाल्यो । 

“निद्रा लाग्यो ? मलाई त कति दिनदेखि लागेकै छैन । सुत्न खोज्छु,आँखा बन्द गर्छु, समस्तीपुरवालीले चिच्याई चिच्याई बोलाइरहेको जस्तो लाग्छ । उसलाई मारेर बुहारी माछालाई खान अदाम्खोरमा फालेजस्तो लाग्छ । कसले मार्यो होला ? हामी सानो मान्छे, कसरी कसैलाई आरोप लगाउने ? मेरो खप्परै यस्तै रहेछ, के लाग्छ र ! छोरीलाई खोलाले बगायो, बुढीलाई माछाको शिकार बनाइयो । मेरो त यो ठाउँदेखि मन मर्यो । हिँड जाऔं आफ्नै गाउँ, अब त उता शान्त भयो । बटवारा भइसक्यो । उनीहरू आफ्नु देश गए, अब हामी मात्रै आफ्नु देशमा हुन्छौं । बरु यता, प्रधानमन्त्रीलाई राजाले जेल हालेछन् । अब प्रधानमन्त्रीका मान्छेहरू राजासँग लडाइँ गर्छन् अरे । यता गडबड छ, जाऊँ उतै । आफ्नु पुरानो ठाउँ छँदैछ । अब काम पनि पाइन्छ अरे, पवनीको बुढोले राम्रो काम पाएछ । हामीपनि सँगै काम गरौँला । पुरानै ठाउँमा  गएर बसौंला ।”

“तपाईंहरू गए जानुस् । म त जान्न, यहीँ बस्छु । एक पटक त्यो ठाउँ छोडेर, बाउआमालाई नभनी भागेर आएँ । अब कसरी जानु ? सुखनी यहीँ मरी । म पनि यहीँ मर्छु, दशरथियालाई यहीं हुर्काउँछु । तपाईंहरू जानुस्, म यहीँ बस्छु ।” 

बदरियाले सबै परिवार लिएर गएपछि, मगनवाको जीवन पुरै फरक हुन पुग्यो । दशरथियालाई एक्लै छाडेर कहीँ जान पनि मिलेन, मील जाने कुरै भएन । अन्त दिनभरि बनिमा काम गर्न पनि मिल्दैन थियो । आफू र त्यो नाबालकलाई बचाउन त केही गर्नु पर्दथ्यो । त्यहाँ सम्म त ठिकै थियो, अब उसलाई सुखनीलाई निल्ने धान्ध्रे खोलाको किनारमा बस्न पनि मन लागेन । ‘अब कहाँ बस्ने, के गर्ने ?’ भन्ने सोचिरहेको थियो । बाउ छोरालाई पुग्ने खाने कुरा केही दिनलाई थियो । चुप लागेर दिन भर छोरासँग खेलेर दिन बिताउँथ्यो । एक दिन साँझ सिपाहीको चिया दोकान सर्वोदय चोकमा गएको थियो । गाउँका धनिमनि, स्कुलका शिक्षक, मंगलवाडीका कार्यालयका कर्मचारी र अरु सुकिला मुकिला पसलभित्र बसेर चिया पिइरहेका थिए । ऊजस्तै अरु केही बाहिर बसेका थिए ।  उसले कशिचंदलाई पनि त्यहीँ चिया पिउँदै गरेको देख्यो । ऊ कति खेर बाहिर आउँछ भनेर पर्खिएर बस्यो । आएको देख्ने बित्तिकै ‘मालिक प्रणाम’ भनी दुवै हात जोडी ठिंग उभियो, उसले पनि पुलुक्क हेर्यो र भन्यो, “म्यानेजर भन्दै थियो, आजकल काममा आउन छाडिस् अरे ! ठिकै हो, श्रीमती, सासु दुवै मरी गए । अरु आफन्त पनि गएछन् । बाउ छोरा मात्रै छौ अरे, छोरा कसलाई छोडेर काममा जानु ? ठिकै हो, त्यहाँ एक्लै नबस्, मेरो घर पछाडिको बगैँचाको छेउमा तँजस्ता अरु मजदुर बस्छन् । त्यहीँ एउटा झोपडी बनाएर बस् । पश्चिमतिर बस्नु, तँसँगै जात मिल्ने अरु पनि बस्छन् । केही काम परे गर्नु, तँलाई बोलाउँछन् । काम गरेको बनी दिई हाल्छन् ।  त्यति भएपछि बाउ छोरा पालिन्छौ, के गर्नु दैवलीला यस्तै रहेछ ।”

त्यति भनेर याक चुरोटलाई सलाई कोरेर सल्कायो, पुलिस चौकीको थानेदारसँग कुरा गर्दै बजारतिर कशिचंद लग्यो, ऊ भने छोरालाई काँधमा राखेर कशिचंदलाई दुवै हात जोडी उभिइरह्यो । मन मनै ‘मालिकको जय होस्’ भनिरह्यो ।

कशिचंदको कामतमा उसलाई हप्ताको एक वा दुईपल्ट उसको जात अनुसारको काम दिन्थे । सानो झोपडी बनाएकै थियो, हप्तामा दुई पल्ट काम गरेर बाउ छोरालाई खान पुगिहाल्थ्यो । माटो काट्न जाँदा, छोरालाई एक्लै छाड्न भएन । संगै लिएर जान्थ्यो, आलीको डिलमा बोराको टुक्रो बिछ्याएर सिलिबरको सानो थालमा मुरी राखिदिन्थ्यो र आफ्नो काम गर्थ्यो । दशरथियाको सानो दिमागले उसको बाबुभन्दा परको संसार देखेन । मगनवाले गरेको कामको पारखी, खुब ध्यान दिएर हेर्दथ्यो, मन मनै सोच्दथ्यो, “ठूलो भएर म पनि यसरी नै काम गर्छु ।”

दशरथियालाई एक्लै घोरिएर खर्पन बोकेर हिँडेको देखी । सर्वोदय चोकमा केही मानिससँग गफ गरिरहेको पिताम्बरचन्द्रले देखे, र बोलाए । “म तेरै घर आउँदै थिएँ, आज दिनभरको काम छ । मेरोमा हिँड्, एक पसेरी धान दिन्छु । जल्खै र दिउँसो खान दिइहाल्छु ।” हुन्छ भनी पिताम्बरचन्द्रको पछि लाग्यो । घरपछाडिको अग्लो माटो काटी, अलि पर होचोमा पुर्याउनुपर्थ्यो । कम्मरमा बाँधेको गम्छा, टाउकोमा बाँध्यो । लुंगी र कमिज खोली आलिमा राख्यो । कट्टु लगाएर चिलिममा कंकड भरि आगो सल्काई पाँच छ चोटी स्वाँठ पार्यो र  काम गर्न थाल्यो । अलिबेरमा पिताम्बरचन्द्रकी श्रीमतीले जल्खै खान बोलाइन् । घरअगाडि आँगनको छेउमा नरिवलको गाछीमुनि हात खुट्टा धोएर थचक्क बस्यो । भान्सेले सिलिबरको थालमा मडुवाको दुईवटा मोटा बाक्ला रोटी र खट्टाई, एउटा प्याज र दुईवटा राता खोर्सानी उसको अगाडी फ्यात्त राखिदिए । उसले प्याजलाई हातले थिच्यो, खट्टाईमा मिलायो, थोरै पानीले भिजायो । दुवै खोर्सानी त्यसमा मिचेर, रोटी चिमट्दै खट्टाईको चटनीमा चोब्दै खान थाल्यो । पिताम्बरचन्द्रका तीन छोराहरू माथि बार्दलीमा बसेर एक चित्तले पढेको देख्यो । आज कति खेर उसले खाइसक्यो, उसले थाहै पाएन । तिनै केटाहरूले पढिरहेको मात्र हेरी रह्यो । दिमागमा के के कुरा खेलाएर दिन बितायो । साँझमा घर गएन, वर्षाइनपुर्वालीले दिउँसै उसले पाउने बनी  लगिसकेकी थिई । कुटाई केलाई गरिसकेकी थिई । अब फेरि तीन चार दिनलाई उसले काम खोज्न जानुपर्दैन थियो ।

साँझ परिसकेको थियो, सर्वोदय चोकमा आयो । सिपाहीको चिया दोकानबाहिर बसेर भित्र चिया खाने मानिसको कुरा सुनिरह्यो, पर्वतीयाले रेडियो ल्याएको थियो । सात बजिसकेकाले उनीहरू समाचार सुनिरहेका थिए । समाचार सुनिसकेपछि, पर्वतीया बोल्यो;

 "फेरि झगडा हुने भो, बाउ भए सबैलाई ठेगान लगाउने थिए, छोरा सोझा छन्, श्रीमतीको बोलवाला छ । बिपीले नछोड्ने भए, जनमत घोषणा गरेछन् । राजाकै राम्रो छ, बिपिहरू आए भने हामीजस्तालाई जे पनि हुन सक्छ ।” 

उसले केही बुझ्न सकेन, को हो बिपी, को हो बाउ, छोरा, के को झगडा ? आदि आदि, कसैसँग केही कुरा गरौँ कि नगरौं ठेगान गर्न सकेन । आठभन्दा बढी बजिसकेको थियो । सबै आ-आफ्ना घरतिर लागे । उसलाई घर जान मन लागेन । बाटै बाटो बजारतिर लाग्यो, सोच्यो, “हेरौं, बजारमा कोही भेटिन्छन् कि !” बजार पुग्नुभन्दाअघि मंगलोदय माध्यमिक विद्यालय आउँथ्यो । मंगल प्रतापले आफैँले खोलेको स्कुल, उसको दिमागमा झट्ट एउटा कुरा आयो, “म पनि राघबवालाई पठाउँछु । यही स्कुलमा, हेड सर विश्वनाथ प्रसादको घरमा धेरैचोटी काम गरेको छु । मलाई चिन्छन् । एकचोटी कुरा गरेर के हुन्छ र ?”

सोझै स्कुलपछाडि रहेको उनको घरमा गयो । केही विद्यार्थीहरूलाई पढाउँदै थिए । एकछिन पर्खिनु पर्यो । सबै गएपछि, दुई हात जोडी, आँखाभरि आँशु पारी बडबडाउन थाल्यो;

“सर, म अनपढ, कालो अक्षर भैंसी बराबर, न बाले पढे न हजुरबाले, न मेरो जातको कसैले । मेरो बाउ खर्पन बोकेरै मर्यो । धेरै पिउँथ्यो पनि, मलाई पनि खर्पन बोक्न सिकायो, अरु केही सिकाएन । मैले पनि केही सिक्न खोजिनँ तर मेरो छोरोलाई केही अरु सिकाउन मन छ । उसलाई पढाउन मन छ । म गरीब, मसँग पैसा छैन । यो ज्यान बाहेक केही छैन । अरु केही जान्दिनँ पनि । छोरालाई हजुरहरूजस्तै ठूलो मान्छे बनाउन मन छ । ऊ काँचो माटो हो, हजुर डकर्मी । जसरी जे गरेर भए पनि यो दुःखी, गरीब, अनपढ बाबुको सपना पुरा गरिदिनू । मसँग बुद्धि छैन, तर बल छ । जे पनि गर्न सक्छु । चोरी डकैती जे पनि गर्न सक्छु तर आफ्नो सन्तानलाई यो खर्पनबाट मुक्ति दिलाउँछु ।” भन्दै उसको खुट्टामा लम्पसार परी घोप्टियो । 

“ल ल, नरो ! उठ्, ठिक छ ! मैले गर्ने म गर्छु, एकचोटी मंगल काजीसाबलाई सोध्नुपर्छ, उहाँले मान्नु हुन्छ । यो सबैका लागि खोलेको स्कुल हो, सबैले पढनु पर्छ, धनी गरीब सबैले । तिमीहरू जस्ताले पढाईको बारेमा अझ बढी बुझ्नु पर्छ । आज तँ आइस, भोलि तँजस्ता अरु पनि आउँछन् । चोरी डकैती केही उटपट्याङ्ग काम गर्नुपर्दैन । काजी साबलाई सोधेर यही स्कुलमा केही काम मिलाइदिन्छु । स्कुलपछाडि पिउनहरू बस्ने ठाउँ छ, त्यहीँ बस्नू ! स्कुलमा आइपरेका बलका काम गर्नू  र छोरालाई आफ्नु निगरानीमा राखी पढाउनू, बाँकी म सम्हाल्छु ।”

ऊ केही बोल्न सकेन, उसको मनको सबै गाँठो विश्वनाथ प्रसादले खोलिदिए । ऊ अवाक भइ टोलाइरह्यो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.