साहित्यपोस्ट डट कम

कथा : माइतीदेखि गिरजाघरसम्म

कथा : माइतीदेखि गिरजाघरसम्म

आफ्नो कमी-कमजोरी सार्वजनिक गर्नु शरममर्दो कुरा हो तापनि साँच्चो कुरा भन्न त पछाडि सर्नु भएन नि । हो, म धेरै सोझी, लाटी छु; बचपनदेखि अहिलेसम्म । कसैले मजाले मनमा लाग्ने गरी कुरा बुझायो भने त्यसलाई गाँठो बाँधेर राख्थेँ ।

उदाहरणका लागि– बाबाले म सानै हुँदा भन्नुहुन्थ्यो, ‘छोरा-छोरी हो! जीवनमा सधैँ साँचो बोल्नु, इमानदार हुनु अनि कहिल्यै धैर्य नछोड्नु, दिगोसँग काम गर्नु ।’

बाबाका यी कुराहरूलाई गाँठो बाँधेर अझै हिँडिरहेकी छु ।

म कुरा गर्दै थिएँ, मेरो सोझोपनको । सोझा मान्छे हृदयका स्वच्छ हुन्छन्, अरूलाई पीर पर्ने काम भरसक गर्दैनन् । म पनि यही श्रेणीमा पर्ने प्राणी हुँ ।

मलाई लाग्छ, यही स्वभावले गर्दा होला मेरो जीवनको रूपरेखा नै यसरी फेरियो, जसरी पहेँलो धानको खेती उठाएपछि अर्को बाली लगाउन खेतीको रूप फेरिन्छ ।

मेरो जीवनको रूपरेखा परिवर्तन हुनु भनेको मैले हिन्दू धर्मदेखि क्रिस्चियन धर्मलाई स्वीकार्नु हो । परिवर्तनको बाटोमा निकै घतलाग्दो कथाले आकार लिँदोरहेछ ।

मेरो कथा आरम्भ हुन्छ मेरो विवाहपछि ।

विवाहको सम्झना आउँदा अझै पनि मेरो दिमागका पुर्जाहरू हल्लिन्छन् । मेरो समयमा पनि गाउँघरमा, भनौँ नेपालीभाषी समुदायमा, भागी-बिहे प्रचलित थियो, जो अहिले पनि चलिरहेको छ । तर शिक्षाको हस्तक्षेप बढ्न थालेपछि आजभोलि भागीबिहे अलिक पातलिएको देखिन्छ ।

मेरी ठूली दिदी फुलमाया, भिनाजु र दुइटा नानीसँग इम्फाल एयरपोर्टको छेउमा बस्थिन् । खेती, जङ्गल, घाँस-दाउराबाट फुर्सद पाउँदा दिदीकोमा जान औधी मन लाग्थ्यो । गाउँको धुलोबाट शहर पस्दाको रमाइलो यति प्रिय लाग्थ्यो कि खुशीले आङ् नै जिरिङ्ग हुन्थ्यो ।

गरम महिनाको अन्त हुन लागेको थियो । मेरो साइँलो भाइको स्कूलमा टिचर्स-डे को अवसरमा छुट्टी हुँदा भाइले ठूली दिदीको घर जान जोड गर्‍यो । पचास रुपैयाँ पैसा पनि गाउँघरमा कसैको बारी जोतेर तयार पारेछ ।

दिदी-भाइ इम्फाल गइयो । दिदी-भिनाजुहरू खुशीले रमाए । दुई-तीन दिन बस्ने दिदीभाइको योजना बन्यो ।

म सोह्र वर्षकी, तरुणावस्थामा सवारिएकी थिएँ । चार-पाँच महिना अघि कैथेलमाम्बीका कृष्णसँग मेरो राम्रो परिचय भएको थियो । इम्फाल गएको बेला मनमा के कौतूहल जागृत भयो, भिनाजुलाई भनेँ, ‘भेना, कृष्णलाई बोलाउनु न यहाँ!’

इम्फालबाट कैथेलमाम्बीको बाटो त्यही एक घण्टाको दूरीमा थियो । कृष्ण भिनाजुका आफन्त थिए । भिनाजुले केही नाइँनास्ती नगरी कृष्णलाई लिन जानुभयो ।

त्यस बेला फोनको चलन शून्य बराबर थियो ।

नभन्दै दुई घण्टाभित्र भिनाजुले कृष्णलाई लिएर टुप्लुक्क आइपुग्नुभयो । चिया-चमेना गरेपछि म, भिनाजु अनि कृष्ण एयरपोर्टतिर घुम्न जाने योजना बन्यो । तीनैजना गयौँ ।

एयरपोर्ट पुगेपछि भिनाजुले, ‘तिमीहरू घुमेर आउनु, म जाँदै गर्छु’ भन्नुभयो ।

अब हामीलाई एकान्तमा चिनजान गर्ने अवसर दिनुभएको होला भनी न मैले भिनाजुलाई रोक्न जोड गरेँ, न कृष्णले ।

केही समयपछि कृष्णले भने, ‘आरती, मेरो घर नजिकै हो । जाऔँ मेरो घर, तिमीलाई देखाएर ल्याउँछु ।’

मलाई डर-डर लाग्यो । उसको कुरालाई अस्वीकारेँ पनि, तर दुई-तीन पटक ढिप्पी गरेपछि जान राजी भएँ । बाटोभरि कुरा गर्दै गयौँ ।

घण्टाभरमा कैथेलमाम्बी पुग्यौँ । अपराह्नको तीन बज्न लागेको थियो । घरमा कृष्णकी आमा र उनकी बहिनी रहेछन् । हामी परैबाट आएको देखेर उनीहरूको अनुहार खुशीले उज्यालिएको देखेँ । उनीहरूबीच कानाफुसी भएको अड्कल काटेँ ।

‘पक्कै कृष्णले केटी ल्याएछ’ भनेका थिए होलान् ।

नभन्दै घरको पिँढीमा पुगेपछि कृष्णकी आमाले पूजाको थाल लिएर दैलोमा उभिनुभयो । म त हस्याङ्फस्याङ् परेँ । मुटु भकभक् गर्दै मुखमै आइपुग्ला जस्तो भयो । हात र निधारमा चिटचिट पसिना आयो ।

मैले कोमल स्वरमा सिधै भनेँ, ‘के गर्नुभएको ? कृष्णले मलाई घुमाउन मात्र ल्याउनुभएको हो । म कृष्णसँग भागेर आएकी होइन ।’

उनले पनि मेरो कुरामा सहमति जनाए, तर कृष्णकी आमालाई हामी दुवैको कुरा रुचेन । निकैबेर नाइँनास्ती गरेपछि पूजाको थाल भने भित्र लिएर जानुभयो ।

कृष्णको पछि-पछि म घरभित्र पसेँ । मेरो मुटु भने अझै बल्किरहेकै थियो ।

कृष्णलाई खुसुक्क भनेँ, ‘मलाई यहाँ बस्न अप्ठ्यारो लाग्दै छ, मलाई दिदीकोमा छिटो पु‍र्‍याइदिनु ।’

उनले भने, ‘ल, ल! नआत्तिऊ, एकछिनमा लगिदिन्छु ।’

आमाले पानी पिउन दिनुभयो । एकपटक त पानी घाँटीमै गाँठो परेर अड्कियो ।

केहीबेरमा आमाले त्यही कुरा फलाक्न थाल्नुभयो, ‘नानी, तिमी छोरी जाति हौ । यसरी कुनै लोग्नेमान्छेसँग आएपछि फेरि घर जाँदा गाउँ-समाजले कुरा काट्छ । केटासँग भागेर गएकी थिई, फेरि फर्केर आइछे भन्नेछन् । छोरीको इज्जत भनेको केशजस्तै झिनो हुन्छ । एकचोटि मन पराएको केटाको घरमा आएपछि फर्केर जान पटक्कै मिल्दैन!’

हेनतेन, केके हो केके हो भन्नुभयो । मैले निकै तर्क गर्न खोजेँ, तर मेरा तर्कहरू सबै विफल भए । कृष्णलाई आमाले बोल्न दिनुभएन ।

पछि बुझ्दा कृष्णले मलाई मन पराएका रहेनछन् । अर्कै केटी हेरेका थिए’रे । आमाको ढिप्पीले गर्दा मलाई भेट्न गएका रहेछन् ।

उनकी आमाले एकचोटि मेरो गाउँ आउँदा मलाई देखेकी रहिछिन् । सारै मन परेको थियो’रे । मैले भेट्न बोलाएको सुन्दा काममा भएको छोरालाई छुट्टी गराएर पठाएकी रहिछिन् ।

गर्दागर्दै रात प‍र्‍यो । मेरो मनमा कति अँध्यारो छाएको थियो, त्यसको कालोपन बेला-बेला अझै पनि अनुभव गर्छु । पाँच बजेपछि बस नपाइने भएकाले साँझपछि जान्छु भन्न पनि पाइनँ ।

साँझ विलिन भएपछि कृष्णका बाबा र दुई भाइ पनि कामबाट आए । परिवारका सबै सदस्य गिरिपमा मजदुरी गर्दा रहेछन् । बहिनी असन्चो रहिछिन् ।

कान्छा भाइले खाना पकाए । एउटा कोठा र सानो पाकघर थियो । सात बजे खाना खान सबैसँग बसेँ । घिरौलाको तरकारी, मलाई पटक्कै मन नपर्ने त्यसमाथि पकाउन नजान्ने केटाले बनाएको भान्सा । मन पिरोलिएको बेला घिरौलासँग भात कसरी रुच्नु ? माछाको कोक्ताको झोल पनि पकाएको थियो, त्यसैसँग जसोतसो गरेर केही गाँस खाएँ ।

कृष्णकी कान्छी बहिनीसँग मलाई सुताइयो । निद्रा परेन ।

कान्छी बहिनीको नाम सीमा! ऊ पेट दुखेर अहःअहः गरिरहेकी थिइन्, म यता मन पोलेर छट्पटाइरहेकी थिएँ ।

सम्झेँ, बाबा-आमा, ससाना भल्ट्याङ्-भुल्टुङ् छ जना भाइबहिनी । म आमाको दाहिने हात थिएँ ।

सोचेँ, ला ! मलाई यतै राखे भने आमाको बिजोग हुने भयो! के दशा लागेर यहाँ आइछु । सम्झना आयो साइँलो भाइको, जसलाई साथी बनाएर इम्फाल दिदीकोमा आएकी थिएँ । उसलाई केहीबेरमा आउँछु भनेर आएकी, यतै फसेँ । बिचारा भाइ कति आत्तियो होला, डरायो होला । दिदीलाई झन् कति पिर पर्‍यो होला । सोचेकी होली, ‘मेरै घरबाट बहिनी पोइला भागी । मलाई घरमा कराउँछन् अब ।’

सबै कुरा सोचीसोची भक्कानो छुट्यो । खुलेर रुन पनि सकिनँ । मुटु गाँठो परेर बेस्सरी दुखिरह्यो ।

जसोतसो रात बित्यो । सूर्यदेव प्रकट हुनु अगाडि नै बिस्तारा छोडेँ । दिदीकोमा जान तयार भएँ ।

कृष्णकी आमाले त्यही राग अलाप्न थालिन्, ‘यसरी जानु हुँदैन, नानी! एकचोटि घर छोडेर पराई केटाको घर आएपछि जाँदा गाउँ-समाज हाँस्छ, आमा-बाबा र परिवारको नाक काटिन्छ । छोरीको इज्जत एकचोटि गयो त गयो, फेरि फर्केर आउँदैन । आफ्नो लागि नसोचे पनि बाबा-आमाको इज्जतको सोच । तिमी बिहे गर्ने उमेरकी पनि भएकी रहिछ्यौ । कृष्ण राम्रो अनि सिधा केटा छ । तिमीलाई मजाले पाल्न सक्छ । अब यहीँ बस । हामी भोलि नै तिम्रो घरमा खबर गरेर चाँडै बिहे गरिदिन्छौँ ।’

म अबरमा परेँ । मेरो सोझो दिमागले केही सही-गलत सोच्ने स्थितिमा रहेन । गाउँ-समाज, बाबा-आमाको नाक काटिन्छ भन्ने कुरालाई तर्क दिन सकिनँ । उनैको कुरा साँच्चो र तर्कपूर्ण लाग्यो ।

सोचेँ, ‘म हिजो दिदीकोमा नगएको देखेर भिनाजुबाट घरमा थाहा पाए होलान् । अब म कुन मुख देखाएर घर जानु ? उल्टै बाबा-आमाको बदनामी हुन्छ, फेरि मलाई कसले स्वीकार्छ ? लाग्यो, अब मेरो घर फर्किने बाटो सकिएछ ।’ यस्ता धेरै कुरा मनमा गुजुल्टिएर अइँअइँ भएँ ।

सोह्र वर्ष बिताएको घर अब मेरा लागि माइत हुन लागेको थियो । अब मसँग केही तर्क गर्ने विकल्प रहेन । मेरो मौनतालाई उनीहरूले मैले यहीँ बस्न स्वीकारेको बुझे ।

बिहान सात बजे मलाई पुनः पूजाको थालीले नियमपूर्वक भित्र्र्‍याए ।

मैले त्यहीँ घरलाई आफ्नो बनाउने सोच निर्माण गर्न थालेँ ।

केही दिनमा चोर-को-सोर बुझाए । महिना दिनमै टिकोटालो गर्ने निधो भयो ।

मेरो आमाको इच्छा मलाई बाजा बजाएर बिहेदान गर्ने थियो । आमाको यो इच्छा मलाई सुनाइरहनुहुन्थ्यो । आमाको इच्छा पूरा नहुने कुराले मेरो मुटु पटकपटक चिरिरह्यो ।

मेरो परिवार गरीब थियो । खेतीपाती गर्थे । घरभरि जन थियौँ, तर परिवारमा शान्ति थियो, आनन्द थियो, एकअर्काको सम्मान थियो । झैझगडा शून्य बराबर थियो । आमाबाबा कहिल्यै बाजेको वा रिसाएको बुझिएन । घरमा कसैले पनि नमीठो र अभद्र भाषाको प्रयोग गर्दैनथ्यो ।

तर मैले स्वीकारेको नयाँ घरको वातावरण मेरो माइतको विपरीत पाएँ । भनौँ, मेरा लागि नयाँ संसार थियो जहाँको वातावरणले मलाई सास फेर्न पनि गाह्रो बनाएको थियो ।

पहिल्यै बाध्यतावश यहाँ बस्नुपर्दा लागेको मुटुको घाउ अझै भरिएको थिएन । यस्तै अवस्थामा यो पारिवारिक माहोलले मलाई सास फेर्न पनि गाह्रो भएको महसूस हुन थाल्यो ।

घरिघरि सोच्दासोच्दै आँसु बररर खस्ने गर्थे । कृष्ण सोझा थिए । उनी यी कुराबाट अनभिज्ञ थिए । उनी यसै घरका जेठा छोरा, परिवारको माहोलमा बानी परेका । उनलाई मेरो पीडा थाहा हुन्थ्यो भने पनि उनका लागि ठूलो कुरा थिएन । यसै पनि मेरा जस्ता छोरीमान्छेका पीडालाई समाजले सामान्य ठान्ने गर्छ ।

चोर-को-सोर बुझाए । म गएको महिनामा दिन हुन लागेपछि लगन निस्कियो । कब्रुलैखा मन्दिरमा बिहे हुने भयो ।

बिहेको तीन दिनअघि म घर आएँ । अब घर भन्न कहाँ मिल्यो र ? माइत आएँ ।

मेरी आमाको इच्छाको कसैले वास्ता गरेनन् । आमाले भागे पनि बाजा बजाएर बिहे गरिदिऔँ भनेर घरमा सल्लाह पनि दिनुभएको रहेछ, तर केटा पक्षकाले चाँडै बिहे गरिदिने प्रस्ताव राखेपछि माइतीबाट ढिप्पी भएनछ ।

आमाको मन भाँचियो । बिहेमा जान मान्नुभएन । बिहेको खुशी मेरालागि अभिशाप समान भयो । आमाको आशीर्वाद बिना एउटी छोरीको मन कति दुख्यो होला, सोचेर पनि अहिले मन चर्किन्छ ।

मन्दिरमा बिहे भयो । मेरो गोत्रदेखि लिएर सबै परिवर्तन भयो । कैथेलमाम्बीबाट बसमा आएका जन्तीले मलाई पनि त्यही बसमा लिएर जाने भए ।

जाँदा मैले आमालाई भेट्ने इच्छा राखेँ । आमालाई नभेटी जान मेरो मनले कहाँ मान्थ्यो होला र ? कैथेलमाम्बीको बाटो मेरो माइतीघर हुँदै जान्थ्यो । सोह्र वर्ष आमाको काखमा, आमाको मायामा बसेकी छोरी, मलाई बिहेको जोडामा नहेरी जाँदा आमालाई पनि जीवनभर पछुतो हुने थियो ।

नभन्दै घरअगाडि मेनरोडमा बस रोकियो । आमा आउनुभयो । आमाका आँखा र अनुहार हेर्दा रोएर बस्नुभएको बुझेँ । आमा-छोरी केहीबेर अँगालो मारेर रोयौँ । अहिले पनि सम्झिँदा मन त्यसै गाँठो पर्छ । बस अगाडि आमासँग फोटो खिचेँ ।

आमाले बिदा दिनुभयो । म रुँदैरुँदै गाडीमा चढेँ । गाडी मेरो नयाँ घरका लागि आफ्नो बाटो लाग्यो । बस हिँडेपछि उता आमा त्यहीँ चउरमा लडेर रुन थाल्नुभयो । त्यसबेलाको पीडाको कल्पना एउटा छोरीले मात्र गर्न सक्छे ।

‍= = =

समय बित्दै गयो । नयाँ परिवारको व्यावहारिक माहोलले मलाई अइँअइँ बनाइरह्यो । बिहे गरेको खुशी, नयाँ जीवनको नयाँ स्वाद, नौलो जीवनको उत्साह, भविष्यको कल्पना कस्तो हुन्छ भन्ने मैले केही अनुभव गर्न पाइनँ । खुशी मनले एक दिन पनि मैले काटिनँ ।

नयाँ परिवारमा मेरा लागि अप्रिय वातावरण त छँदै थियो, तर बहिनी सीमाको बिमारले परिवारलाई झन् चिन्तामा डुबाएको थियो । बहिनीले पिएको पानी पनि अडिँदैनथ्यो । जे खायो, तुरुन्तै छाँदिहाल्थिन् । सुन्निएर समडुल्ल भएकी, पेट फुलेर चार-पाँच महिनाकी जिउकी जस्ती देखिन्थिन् । छाला पहेँलो, बेसार दलेको जस्तो । डाक्टरले दिएको दबाइले बिसको उन्नाइस पनि भएन । धामी दिनै लगाउँथे, तर केही असर देखिएन । बिरामी जाती नभएको देखेर परिवार पीरले शोकग्रस्त थियो ।

कैथेलमाम्बीकै माथि डाँडामा एउटा बेजोड धामीको खबर परिवारले पाए । धामीलाई डाकियो । धामीले जोखाना हेरे ।

जोखानामा भने, ‘नानीलाई जङ्गली लागेको छ । भोलि मेरो घरमा लिएर आउनु । चिन्ता बस्नुपर्छ । आउँदा घुङ्रिङ् सेउली, अण्डा अनि कालो कुखुरो लिएर आउनु ।’

भोलिपल्ट सबै परिवारका सदस्य धामीले तोकेको सामान लिएर हिँडियो । मैले पनि जाने इच्छा राखेँ । मलाई पनि जोखाना हेराउने मन थियो ।

बिरामीलाई दाजुभाइले बोकेर लगे । धामीको घरमा पुगियो । पुग्दा झमक्क साँझ परिसकेको थियो । त्यहाँ पुग्दा थाहा लाग्यो, घरमा धामी रहेनछन् । घरकाले पनि ठ्याक्कै धामी कता गए भनेर भन्न सकेनन्, वा भन्न चाहेनन् ।

निकैबेर धामीलाई कुरियो, तर धामीले उपस्थिति दिएनन् । साथमा लगेको कालो कुखुरो, अण्डा, घुङ्रि-सेउली त्यहीँ छोडेर आइयो ।

परिवारको धामीप्रतिको विश्वास पनि भाँचियो ।

पछि बुझ्दा थाहा लाग्यो, धामीले बिरामीको गम्भीर अवस्था देखेर भागेका रहेछन् । कतै निको बनाउन सकिएन भने बदनाम मात्र हुइन्छ भन्ने लागेछ ।

निराशा, चिन्ता, पीर र दुःख बोकेर घर आइयो । परिवारले अब चाहिँ छोरी बचाउन नसकिने रहेछ भन्ने कुरा गर्न थालिसकेका थिए ।

भोलिपल्ट होला, ससुराबाले भन्नुभयो । ससुराबाको कुरा भन्नुअघि उहाँबारे दुई कुरा भन्न आवश्यक छ । उहाँ धर्मकर्म निकै पालना गर्ने व्यक्ति हुनुहुन्थ्यो । दिनैपिच्छे पूजापाठ गर्ने, जिजुबाजे-पुर्खाको नियम मजाले पालना गर्नुहुन्थ्यो ।

अँ, ससुराबाले भन्नुभयो, ‘अब धामी, दबाइ केहीले भेटेन । छोरी हो, बचाउन मन लाग्छ । यसरी छोरी पीडामा भएको हेर्न सकिँदैन । जे-जसो भए पनि एकचोटि क्रिस्चियन नागाको धामी लगाऔँ । के थाहा, त्यसले गरेको लाग्छ कि ?’

अब घरको प्रमुखले भनेको कुरा कसले काट्ने र ? यसै पनि बिरामी जाति होस् भन्ने सबैलाई लागिरहेको थियो ।

नागा पास्टरलाई भनियो, आएन । नेपाली पास्टरलाई भनियो, आएन । सबै डराए ।

कुरा बुझ्दा जानियो, ‘यस्ती मर्न आँटेकीलाई क्रिस्चियन लगाएर प्रार्थना गर्दा पछि मरी भने क्रिस्चियन प्रतिको अरूको विश्वास उठ्छ । यस्तो बिरामीसँग जोखिम लिनुहुँदैन ।’ भन्ने उनीहरूको ठम्याइ रहेछ ।

यहाँबाट पनि निराशा हात लाग्यो । बिरामीको अवस्था अझ तल झर्दै गयो । बिरामीको मनोबल दिनप्रतिदिन कमजोर हुँदै थियो । जुनसुकै बेला पनि ‘म मर्छु, म मर्छु’ भन्दै गनगन गरिरहन्थिन् । कतिचोटि त ‘मलाई विष दिनु, मैले यो पीडा खप्न सकिनँ’ पनि भन्थिन् । उनको पीडा देखेर म पनि तड्पिन्थेँ । बिचरी सीमा बहिनी । रोगले उनलाई साह्रै कष्ट दिएको थियो ।

निराशाको साथमा सधैँ एउटा आशाको किरण हिँडिरहँदो रहेछ । ससुराबाहरूसँग काम गर्ने एउटा राँची, झारखण्ड प्रदेशको मजदुर रहेछ । ऊ पनि क्रिस्चियन थियो । सबै पास्टरले बिरामीका लागि प्रार्थना गर्न नमानेको कुरा उसले ससुराबाबाट सुनेछ ।

उसले निर्धक्क भएर भनेछ, ‘प्रभु ईशुले के पास्टरले प्रार्थना गरेको मात्र सुन्नुहुन्छ र ? हामीले साँच्चो मनले प्रार्थना गरेको र पुकारेको पनि अवश्य सुन्नुहुन्छ!’

नभन्दै भोलिपल्ट राँचीवाला घर पोइलाएर आयो । पचास वर्ष पुग्न लागेको राँचीवाला कालो वर्णको थियो । कालो ब्याग भिरेर आएको रहेछ । ब्यागमा के थियो, मलाई थाहा भएन । उसलाई सबैले ‘राँचीवाला’ नै भनेर बोलाउँदा रहेछन् ।

आएपछि केहीबेर घरपरिवारबारे सामान्य कुरा भयो । ससुराबाले बिरामीको सबै वृत्तान्त भन्नुभयो ।

ससुराबाको कुरा सुनेपछि राँचीवालाले कालो ब्यागबाट बाइबल निकाल्यो अनि निधारमा लगाएर भन्यो, ‘हलेलुहिया !’ त्यसपछि पन्ना पल्टाएर करिब पाँच मिनेटजति पढ्यो । मैले केही बुझिनँ । मैले बाइबल देखेको त्यो पहिलो चोटि थियो ।

पढिसकेर बाइबल बन्द गर्‍यो । अनि बन्द बाइबल सीमा बहिनीको निधारमा छुवाएर आँखा बन्द ग‍र्‍यो र प्रार्थना गर्न थाल्यो । मैले ध्यान लगाएर सुनेँ ।

‘हे परमपिता परमेश्वर! हामी तपाईंका सन्तान, तपाईंको आशीर्वाद, माया, दया र तपाईंकै इच्छाअनुसार बाँचिरहेका छौँ । तपाईंले तपाईंको यो सेवक हरिराम मेहतोलाई सधैँ दया, दृष्टि र आशीर्वाद दिनुभएको छ । मेरो प्रार्थना सधैँ स्वीकार गर्नुभएको छ । म धन्य छु प्रभु, म धन्य छु । तपाईंको सन्तान हुनुमा मलाई सधैँ गर्व लागेको छ ।

प्रभु, आज तपाईंको अगाडि एकजना बहिनी छिन्, जो अन्धकारमा छिन् । तपाईंको महिमा, तपाईंको शक्ति, तपाईंको माया, दया र दृष्टिबारे जान्दिनन् । ऊ अहिले अत्यन्त कष्टमा छिन् । पिशाचहरूले उनलाई घेरेका छना्, कष्टमा राखेका छना् । तपाईंको दयाको पात्र छिन् । अहिले ऊ तपाईंको शरणमा छिन् । यी बहिनीप्रति दया गर्नुहोस् प्रभु, दया गर्नुहोस् । यी बहिनीलाई आफ्नो शरणमा लिएर यिनको कष्ट मिटाइदिनुहोस् । मेरो प्रार्थना स्वीकारेर यी बहिनीलाई उज्यालो संसारमा ल्याइदिनुहोस् प्रभु… आमेन!!’

मैले क्रिस्चियनले गरेको प्रार्थना सुनेको पहिलो पटक थियो । मलाई त अर्कै संसारमा आएजस्तो लाग्यो । अप्ठ्यारो हो कि, डर हो कि, कस्तो ठाउँमा आएको हो कि, म फसेको हो कि, के हो, के हो जस्तो लागेर म त उकुसमुकुस भएँ ।

राँचीवालाले ‘आमेन’ भनिसकेर बाइबल कालो ब्यागमा राख्यो । अनि सासूआमातिर हेरेर, ‘पानी पिलाइदिनुहोस्’ भन्यो । आमाले छेउमा राखेको लोटाबाट सीमा बहिनीलाई पानी पिलाइदिनुभयो । सधैँ पानी पिएको केहीबेरमै छाद्ने मान्छे, आज छादिनन् ।

सीमा बहिनीले नछाद्नु सबैका लागि आश्चर्यको कुरा थियो ।

राँचीवालाले हौसला दिँदै भन्यो, ‘तपाईंहरू चिन्ता नगर्नुहोस् । अब प्रभु ईशुले सबै ठीक गर्नुहुन्छ । बस्, हामी विश्वाससाथ उहाँको शरणमा जानुपर्छ । तपाईंहरू ढुक्क भएर बस्नुहोस् ।’

राँचीवाला गएपछि परिवारमा निकैबेर चर्चा भयो । यत्रो दिन दबाइ अनि धामीझाँक्रीले केही गर्न नसकेको, आज क्रिस्चियनले यसो प्रार्थना गर्दा पानी अडियो । यस्तै-उस्तै अनेकौँ आश्चर्यचकित पार्ने कुरा भए ।

मैले सुनि मात्र रहेँ । मेरो मन पिरोलिएको मात्र थियो । मनमा शङ्का-आशङ्काका बादल मात्र मडारिरहेका थिए । कतै सबै क्रिस्चियन लागे भने के गर्नु ? म माइतीबाट अलग्गै हुन्छु होला ! होइन, म पटक्कै क्रिस्चियन लाग्दिनँ !

मैले सोचेर केही हुनेवाला थिएन । समयले नै सबै निर्णय गरिसकेको थियो । समयको साथमा हिँड्नु नै मेरो एक मात्र विकल्प रहेको थियो ।

राँचीवाला प्रतिदिन साँझपख आएर प्रार्थना गर्न थाल्यो । सीमा बहिनी बीसको उन्नाइस भइन् । यो सबैका लागि खुशी र क्रिस्चियन प्रतिको विश्वासको पहिलो सिँढी थियो । खाएको-पिएको अडिन थाल्यो । अनुहारमा केही परिवर्तन देखिन लाग्यो ।

हप्तादिनपछि नेपाली क्रिस्चियन पास्टर पनि आए । उनको नाम प्रेम नारायण पौडेल थियो । उनले पनि अझ मजाले सीमा बहिनीका लागि प्रार्थना गरिदिए । बाइबलका वचन पढेर सुनाए ।

बहिनीलाई प्रार्थना गरेको दश दिनपछि पास्टरले नयाँ प्रस्ताव राखे;

‘हेर्नुहोस्, बहिनीलाई प्रभु ईशुले दया गर्न लाग्नुभएको छ । जाती पनि हुन लागिन्, तर पूर्ण रूपमा जाती हुन र साँच्चो प्रभुको सेवक हुनका लागि क्रिस्चियन धर्म अपनाउनुपर्छ । बप्टिस् गर्नुपर्छ । अनि मात्र पूर्ण रूपमा प्रभु ईशुले दया र प्रेम गर्नुहुन्छ ।’

ससुराबाले पास्टरको प्रस्तावमा भन्नुभयो, ‘हजुर, छोरी बिरामी भएकी हुन् । कतै उपाय नलाग्दा तपाईंहरूको शरणमा आएकी हुन् । अहिले ऊ सन्चो पनि हुँदै छिन् । यसमा हामी खुशी छौँ । छोरीलाई बप्टिस् गराइदिनुहोस् । हाम्रा पुर्खाले मान्दै आएको हिन्दू धर्म हामी छोड्न सक्दैनौँ ।’

पास्टरले तर्क राखे, ‘तपाईंले कस्तो कुरा गर्नुभएको ? छोराछोरीलाई आफ्नो साथमा डोर्‍याएर हिँड्ने हो, न कि एक्लै पठाउने । सबैजना साथमा क्रिस्चियन भएपछि मात्र छोरीसँगै परिवारको उद्धार हुन्छ, खुशी आउँछ, प्रभुको दया आउँछ ।’

पास्टरले यस प्रकारका निकै कुरा फलाकेर गए । पास्टर गएपछि परिवारमा निकैबेर छलफल भयो । अब छोराछोरीले त बाबुआमाले जे-जसो गरे त्यही गर्नुपर्ने थियो । बाबुआमा चाहिँ छोरीलाई मात्र क्रिस्चियन लगाउने कुरामा जोड दिनुभयो ।

पास्टरको कुरा सुनेपछि मेरो मनको अवस्था व्यथा लागेकी महिलाको समान भएको थियो । तर ससुराबाको यति कुरा सुनेर मेरो मन केही ढुक्क भयो ।

पास्टर अन्य क्रिस्चियनहरूलाई लिएर प्रतिदिन हाम्रो घर धाउन थाले । दिनै प्रार्थना र धर्मका कुरा हुन थाले । पास्टरका दिनैपिच्छेका प्रवचन र चर्चाले सिधासोझा परिवारलाई प्रभावित हुनबाट बचाउन सकेन ।

केही दिनपछि हिन्दू धर्मका नराम्रा पक्षका कुरा पास्टरहरूले फलाक्न थाले । मलाई नै पनि आफ्नो धर्मबारे त्यति ज्ञान थिएन । दशैँ, तिहार, होली, औँसी-पूर्णिमा यत्ति मात्र थाहा थियो । न रामायण, न महाभारत, न गीता, न वेद, न शास्त्रको जानकारी । पास्टरले जे-जे भन्थे, ‘ए! यस्तो पनि हुँदो रहेछ’ भन्ने लागिरहन्थ्यो ।

पास्टरले भन्थे, ‘तपाईंहरू अन्धकारमा हुनुहुन्छ । संसारमा एउटै मात्र भगवान हुनुहुन्छ, जसले स्वर्ग पु‍र्‍याउनुहुन्छ । ती परमपिता परमेश्वर मात्र हुनुहुन्छ । हिन्दू धर्ममा एउटा समस्या प‍र्‍यो भने कुन देवताको शरणमा गएर समस्या सुनाउनु ? शिवलाई सुनाउँदा ब्रह्मा रिसाउँछन्, ब्रह्मालाई सुनाउँदा विष्णु रिसाउँछन्, विष्णुलाई सुनाउँदा देवी रिसाउँछिन् । हिन्दू धर्ममा देवता खोज्दाखोज्दै मर्ने दिन आउँछ अनि नर्क गइन्छ । कुनै पनि देवताले स्वर्ग लैजान सक्दैनन् । यहाँ एकजना मात्र परमपिता परमेश्वरका सन्तान ईशु हुनुहुन्छ । उहाँको हात समातेर हिँडेपछि जीवनको उद्धार हुन्छ, स्वर्ग गइन्छ!’

यसरी दिनै केही न केही हिन्दू धर्मको खोट देखाउने अनि स्वर्ग जाने उपाय बताएर परिवारलाई एकोहोर्‍याउन थाले ।

एक दिन भने, ‘हिन्दू धर्ममा भगवान् मानिएका जति सबै व्यभिचारी र कुकर्म गर्ने मात्र छना् । रामले आफ्नी सती पत्नीलाई छोडे, कृष्णका सोह्र हजार गोपिनी थिए, जोसँग इत्रिन्थे । भगवान भएर नुहाउँदै गरेका गोपिनीका कपडा लुकाउँथे । देवताका राजा इन्द्रले छल गरेर अहिल्या देवीको पतिधर्म नष्ट गरे । हिन्दूका देवता खाली संहार, मारकाट र रगत मात्रै बगाउने छना् । शान्ति र प्रेमको कुरा गर्दैनन् । यहाँ प्रभु ईशुले दुष्ट र पापीबाट मुक्तिका लागि आफ्नो रगत बगाएर संसारलाई मुक्ति दिनुभयो ।’

एक दिनको चर्चाले मेरो दिमागमा पनि प्रश्नैप्रश्नको बाढी लिएर आयो ।

पास्टरले भने;

‘तपाईंहरू सानो जातिमा पर्नुहुन्छ । के बाहुन-क्षेत्रीले तपाईंहरूलाई उनीहरूको घरभित्र पस्न दिन्छन् ?’

‘दिँदैनन् ।’

‘छोएको खान्छन् ?’

‘खाँदैनन् ।’

‘के मन्दिरको मुख्य पूजास्थलमा पूजा गर्न दिन्छन् ?’

‘दिँदैनन् ।’

‘के शास्त्र, वेद पढ्न दिन्छन् ?’

‘दिँदैनन् ।’

‘यस्तो व्यवस्था छ हिन्दू धर्ममा । हामीलाई सधैँ तल दबाएर राख्छन् । तर क्रिस्चियन धर्ममा यस्तो छैन । सबैजना प्रभुका एकै समान सन्तान हौँ । प्रभुले सबैलाई एकैसमान प्रेम गर्नुहुन्छ ।’

यस्ता चर्चा दिनैपिच्छे हुन्थे र सबै अँमा-अँ मिलाउँथे । म केही सोच्ने स्थितिमा थिइनँ । मलाई माइतीबाट टाढा हुने पीर मात्र थियो । धर्म-अधर्मको कुराले मलाई केही सोच्न बाध्य पारेको थिएन । तर पास्टरले भनेका कुरा मेरा लागि नयाँ र अनौठा थिए ।

यसरी पास्टर र अन्य क्रिस्चियनहरूले परिवारलाई महिनादिनसम्म फलाकिरहे । सीमा बहिनीलाई कष्ट कम भएको अनि नयाँ धर्मका नयाँ कुरा र हिन्दू धर्मका नराम्रा कुराको बखान सुनेर अन्ततः सबै परिवारले पास्टरलाई बप्टिस् गर्ने सहमति दिए ।

पास्टरलाई सहमति दिँदा ससुराबाले भन्नुभयो, ‘छोराको बिहे भएको दुई महिना मात्र हुँदै छ । बुहारी सानै छिन्, बल्ल जीवन शुरू गर्दै छिन् । माइतीमा खबर पनि दिएको छैन । छोराबुहारीलाई सोच्ने समय दिऔँ । इच्छा हुँदा पछि लाग्छन् ।’

ससुराबाका कुराले मेरो टुक्राटुक्रा हुँदै गरेको मनमा मलहमको काम ग‍र्‍यो ।

सीमा बहिनीदेखि लिएर सासू-ससुरा, देवरहरू सबैले आइतबारका दिन खोलामा गएर बप्टिस् गरे । नयाँ धर्म, नयाँ जीवनशैली र नयाँ सोचका साथ नयाँ जीवन शुरू गरे ।

पास्टरले घरमा देवी-देवताका तस्बिर र मूर्ति राख्नुहुँदैन भनिसकेका थिए । बप्टिस् गर्न जानुभन्दा अघिल्लो दिन देवरले देवताथानबाट मूर्ति र भगवानका तस्बिर सबै निकालेर घर पछाडि फ्याँकिदिए ।

घर सिन्दूर पुछिएकी महिलाको अनुहारजस्तो देखियो । जहाँ देवताथानमा भगवान हँसिलो अनुहारमा आशीर्वाद दिने मुद्रामा बस्थे, आज त्यो ठाउँ खाली र बिस्मतको अनुहार लिएर बसेको थियो । कुनै बिरानो, अनौठो ठाउँजस्तो लागेर मन त्यसै आत्तियो । मलाई पाप गरेको समान लाग्यो । यत्रो समयदेखि जुन भगवानले यस परिवारलाई सुख-दुःखमा विश्वास, माया र दयाको उज्यालो छर्दै आएका थिए, त्यही भगवानलाई यही परिवारले लावारिस झैँ फ्याँकिदियो ।

मेरो मनले मानेन । भोलिपल्ट सबै बप्टिस् गर्न गएको बेला सबै भगवानका तस्बिर भेला पारेर पछाडिको स्टोररूममा आदरसाथ राखेँ ।

परिवार क्रिस्चियन भयो । म र मेरा श्रीमान मात्र हिन्दूमा थियौँ । दिनै ईशुचर्चा, बाइबलचर्चा, वचन र प्रार्थना हुन थाल्यो । त्यही घरमा हुने भएकाले कान बन्द गरेर बस्न मिलेन । मैले पनि सुनिरहेँ, तर क्रिस्चियन लाग्ने कुरा मनको एउटा कुनामा पनि आएन । मलाई क्रिस्चियन लाग्न पटक्कै मन थिएन ।

केही दिनमा श्रीमानले पनि ‘क्रिस्चियन हुनुपर्छ । परिवार सबै क्रिस्चियन भए, हामी मात्र हिन्दूमा बस्न मिल्दैन । म परिवार छोड्न सक्दिनँ’ भन्न थाल्नुभयो । मेरो एउटै जवाफ थियो, ‘म जे भए पनि क्रिस्चियन लाग्दिनँ ।’

मेरो स्पष्ट जवाफ भए तापनि अब मेरो आफ्नै लागि परीक्षा शुरू भएको थियो ।

क्रिस्चियन लाग्ने कुरा पतिपत्नीबीच झैझगडाको कारण बन्न पुग्यो । दिनै यही विषयलाई लिएर झगडा हुन थाल्यो । यसै पनि यो घरमा आएको दिनदेखि मेरो मनमा जुन पीडा थियो, त्यसमा अझ बोझ थपियो ।

मनमनै सोच्थेँ, ‘कुन दिन यो घरमा आएछु ! ठूली दिदीको घरबाट कृष्णसँग घर आउनु मेरो कालो दिन रहेछ ।’

एक दिन श्रीमानसँग निकैबेर क्रिस्चियन लाग्ने कुरामा चर्काचर्की भयो । मैले रिसले माइत जाने कुरा गरेँ ।

सिधै भनेँ, ‘म माइतबाट तब आउँछु, जब छुट्टिने निधो गरेर लिन आउनुहुन्छ ।’

म माइत आएँ । घरमा परिवार क्रिस्चियन लागेको कथा सुनाएँ ।

मेरा आमाबाबा सोझा हुनुहुन्थ्यो । धर्मकर्मबारे विशेष जानकारी पनि थिएन । भाइहरू मसिना थिए । मलाई राम्रोसँग सम्झाउने कोही भएन । धर्मको अर्थ, धर्म परिवर्तन के हो, किन गरिन्छ, यसरी परिवर्तन हुने क्रमका पछाडि को हुन्छन् मलाई केही थाहा थिएन ।

आमाबाबाले भन्नुभयो, ‘छोरी, अब राम्रोसँग खानू । जे गर्दा ठीक हुन्छ त्यही गर्नू । परिवार छोडेर एक्लै जीवन काट्न मिल्दैन । अब ज्वाइँको जे इच्छा छ, त्यहीअनुसार हेर । भरिसक्के ज्वाइँलाई मनाउनू । मान्नु भएन भने जसो गर्दा सही हुन्छ, त्यही गर्नू ।’

आमाबाबाको सोझो मनले दिएको अर्ती मैले पाइसकेँ ।

दुई महिनापछि श्रीमान आए । साथमा ‘छुट्टिएर बस्ने’ निर्णय पनि लिएर आए ।

म खुशी भएँ । आएको पर्सिपल्ट श्रीमानसँग घर गएँ ।

त्यहीँ कैथेलमाम्बीमा मूल घरको छेउमा भाडाको घर लिएर बस्न थालियो ।

पेटमा सात महिनाको नानी खेल्दै थियो । श्रीमानले सानो पान पसल पनि खोलिदिनुभयो । उहाँ गिरिपमा काममा जानुहुन्थ्यो, म घर र पान पसल सम्हाल्थेँ ।

केही दिनमा फेरि श्रीमानले क्रिस्चियन लाग्ने कुरा अलाप्न थाले । फेरि मनमा तनाव हुन थाल्यो । उहाँ कामबाट आएपछि धेरैजसो उतै घरमा जानुहुन्थ्यो । प्रार्थना, वचन र चर्चा सुनिरहनुहुन्थ्यो ।

श्रीमानलाई परिवारले मलाई क्रिस्चियन हुनका लागि फकाउने हिदायत दिएका रहेछन् । उहाँले परिवारको आदेशलाई मजाले पालना गर्न थाल्नुभयो । परिवारको आदेश फेरि घरमा झगडाको कारण बन्न थाल्यो ।

श्रीमान दिनैपिच्छे मातेर आउन थाले । भन्थे, ‘म यसरी नै सधैँ मात्ने हो । हिन्दूमा रक्सी खान मिल्छ । क्रिस्चियन लाग्दा रक्सी खान मिल्दैन रहेछ । तिमी क्रिस्चियन लाग्न मान्दिनौ । लाग्यौ भने रक्सी छोडिन्छ अनि राम्रो जीवन बिताइन्छ, नभए यस्तै हो मेरो पारा ।’

श्रीमानका कुराले मनलाई सिस्नाले हानेजस्तो हुन्थ्यो ।

केही महिनामा छोरीलाई जन्म दिएँ । नरन कसले गरिदिने ?

छोरीलाई सासू-ससुराले लिएर गिरजाघर गए । मैले केही बोल्न मिलेन । बोल्ने न ज्ञान थियो, न हिम्मत थियो, न त अधिकार । अधिकार थियो भने पनि मलाई आफ्नो अधिकारको ज्ञान थिएन ।

छोरीको नाम ‘मेरी’ राखिदिए । पछि माइत आउँदा माइतीले ‘हामी त क्रिस्चियनको नाम नभन्ने’ भनेर यता बोलाउने नाम ‘सिमरन’ राखिदिए । मेरी एउटी छोरीका दुईवटा नाम भए ।

मेरो र श्रीमानको क्रिस्चियन लाग्ने गन्थनले बिराम दिएन । दिनैपिच्छे रक्सी र गनगनले मेरो घरमा बास लियो ।

मलाई पनि वाक्क लाग्न थाल्यो । श्रीमानलाई छोडेर जाऊँ भने कहाँ जाऊँ! काखमा छोरी थिई, कसले पाल्ने ? कसको नाम दिने ? यस्तै कुराले म असहाय हुन्थेँ ।

एक दिन यही विषयमा श्रीमानसँग निकै चर्को भनाभन भयो । दुई दिनदेखि बत्ती आएको थिएन । छेउमा एकजना क्रिस्चियन परिवार थियो । उनीहरूसँग ब्याट्रीले चल्ने क्यासेट र बत्ती दुवै काम गर्ने टेप थियो । दिनमा मागेर लिएर आएकी थिएँ ।

श्रीमान साँझपख झगडा गरेर बाबुआमाको घरतिर लाग्नुभयो । मेरो मन व्यथित थियो । मन भुल्याउन टेप अन गरेँ । संयोगवश टेपमा क्रिस्चियन भजन रहेछ । सुनेँ । भजनले मेरो मनमा शान्ति दियो । भजनका शब्द, प्रभुको पुकार र प्रभुको शक्तिको महिमा सुनेर मेरो मनलाई के भयो, के भयो! मैले नै बुझ्न सकिनँ । सबै क्यासेट सुनिसकेँ ।

मनमा चल्दै गरेको व्यथाको पोको, जीवनमा चल्दै गरेको उथलपुथल, परिवारबाट पाउँदै गरेको हेला, सबै सम्झिँदा अनि भजनले दिएको शान्तिलाई मनन् गर्दा अब क्रिस्चियन लाग्नु नै मेरा लागि ठीक विकल्प होलाजस्तो लाग्यो ।

त्यो टेप दुई दिनसम्म घरमा हुँदा भजन सुनिरहेँ । पीडामा मलहम लगाएझैँ मन हलुका र चङ्गा भयो ।

हप्तादिनपछि मैले श्रीमानलाई क्रिस्चियनमा लाग्ने निर्णय सुनाएँ ।

मेरो निर्णय सुनेर श्रीमानसहित सबै खुसी भए । राति खानापछि हुने प्रार्थनामा सबैले खुशीका शब्द बटुलेर प्रभु ईशुलाई मुरिमुरि धन्यवाद दिए ।

मैले खोलामा डुब्की लगाएर क्रिस्चियन धर्ममा प्रवेश गरेँ । यही मेरो नियति रहेछ । अब मेरो मागमा सिन्दूर थिएन, घरबाट देवी-देवता रहेनन् । मेरा लागि दशैँ, तिहार, होली, प्रसाद, मन्दिर, मूर्ति सबै अछुतका वस्तु भए ।

म क्रिस्चियन लाग्नु नै समस्यासँग सम्झौता गर्नु रहेछ, जीवनको पीडा कम गर्ने विकल्प रहेछ । यसलाई मैले तितो सत्य मानेर स्वीकारेँ ।

गिरजाघर जान, वचन सुन्न, भजन गाउन र चर्चामा सामेल हुनु मेरो दैनिकी कार्य भयो ।

लामो समयसम्म यो दिनचर्या पालना गर्दा पनि कता-कता मन थुक्क हुन्थ्यो, किन बिहे गरेर क्रिस्चियन लागेछु!

एकचोटि माइतबाट आउँदा टीको लगाएर आएको थिएँ । घर आउँदा सासूले सात्तो खानुभयो ।

दशैँ-तिहारमा एक-दुईचोटि गएँ, मन पोलेर खपिसक्नु भएन । ती बेला धर्मका कुरा, बाइबलका कुरा रूखा र शून्यसमान लाग्थे ।

दशैँ, तिहार, तीजमा जान छोडेँ । घरबाट जान पनि दिएनन् । गएर पीडामा पर्नुभन्दा नगएकै ठीक आफैँलाई पनि लाग्न थाल्यो ।

माइतीप्रति औधी माया हुँदाहुँदै पनि समयले कस्तो स्थितिमा पृथक् र पराया बनायो । माइतमा घरकी हजुरआमा बित्दा न हजुरआमालाई छोएर रुन सकेँ, न त घरको पेटी छुन पाएँ । मेरो उपस्थिति नै परिवार र समाजका लागि पापको कारण बन्न पुग्यो । त्यो समय मलाई बाइबलका वचन र धर्म मिथ्या तथा पीडाका कारणजस्ता लाग्थे ।

क्रिस्चियन लागेपछि मेरो धर्म परिवर्तन भयो, तर जाति कहाँ परिवर्तन हुँदोरहेछ र ! मलाई समाजले कहाँ स्वीकार ग‍र्‍यो ? छुवाछुत, माथिल्लो जातको घरमा प्रवेश गर्न नपाउनेजस्ता सबै यथावत् रहे ।

घरमा दिनै बाइबल चर्चा, वचन पाठन हुन्थ्यो । म ध्यान लगाएर सुन्थेँ । वचनभन्दा पनि हिन्दू धर्मका नराम्रा कुरा गर्दा चाहिँ कता-कता लाग्थ्यो यो क्रिस्चियन धर्म हिन्दूको खिल्ली उडाउन मात्र आएको हो क्या हो ? तर सोझी र भर्खरै क्रिस्चियन धर्ममा लागेकी मलाई के थाहा, यसका पछाडिका कारण र उद्देश्य के हुन्, जो मलाई अहिले पनि थाहा छैन ।

एउटा कुरा त झन्डै भन्न बिर्सिएछु । के मेरी सीमा नन्द क्रिस्चियन लागेपछि निको भइन्? यो प्रश्न पाठकलाई आउँदै होला ।

म क्रिस्चियन लागेपछि लैमाखोङ आर्मी क्याम्प छेउमा बसाइँ सरेर आइयो । सीमा बहिनीलाई बीसको उन्नाइस मात्र भएको थियो । आर्मी क्याम्पभित्र पास्टरको चिनजान डाक्टरसँग रहेछ । पास्टरको सुझावमा त्यहीँ आर्मी क्याम्पमा सीमा बहिनीलाई देखाइयो । डाक्टरले पेटमा ठूलो ट्युमर भएको जानकारी दिँदै चाँडै अपरेसन गर्ने सल्लाह दिए ।

केही दिनमा आर्मी क्याम्पमा बहिनीको अपरेसन भयो । दुई किलोको मासु डाक्टरले निकालेर फ्याँक्यो । सबैले प्रभुको आशीर्वादले बहिनी ठीक भएको भनेर गिरजाघरमा टेबल ठोकीठोकी प्रार्थना गरेर प्रभुलाई धन्यवाद दिए । मैले पनि प्रभुलाई पुकारी-पुकारी धन्यवाद दिएँ ।

बहिनीलाई डाक्टरले ठीक पारेको हो कि धर्म परिवर्तन गरेर हो ? धर्मले नै बिरामी ठीक गर्थ्यो भने संसारभरिका क्रिस्चियन धर्मावलम्बी देशहरूमा आँखाले नभ्याउने अस्पताल किन छन् ? यति सोच्ने बुद्धिमत्ता त्यो समय ममा थिएन । सोझो मनले सबैको अँमा-अँ मिलाउँदै गएँ ।

तीनवटा छोराछोरीकी आमा भइसकेकी थिएँ, तर अझै पनि मलाई नयाँ धर्मप्रति दृढ विश्वास पलाइसकेको थिएन ।

कान्छो छोरो पाँच वर्षको जति भएपछि गरिखान चुराचाँदपुरतिर लागियो । छोराछोरीलाई सासू-ससुरासँग राखेँ । पतिपत्नी उतै बसेर कमाउनतिर लाग्यौँ ।

त्यहाँ नेपाली गिरजाघर थियो । त्यहाँ मलाई महिलाहरूको प्रमुख बनाइयो । चर्चामा बोल्न लगाइयो, स्टेजमा गएर भजन गाउन थालेँ, भजन सिकाउन थालेँ । सबैको अगाडि बोल्न थालेपछि मेरो आत्मविश्वास बढ्न थाल्यो । नेपाली पढ्न सिक्न थालेँ । केही महिनामै बाइबल पढ्न जान्ने भएँ । स्वयम् अध्ययन गर्न थालेपछि मेरो जानकारी र ज्ञान निकै बढ्यो । जब आफैँ पढेर चिन्तन्-मनन् गर्न थालेँ, त्यसपछि मेरो क्रिस्चियन धर्मप्रतिको विश्वास पनि बढ्दै गयो ।

मेरो मनमा सकारात्मक कुराहरू उब्जिन थाले । अब क्रिस्चियन धर्ममै जिउने हो भने किन संशयमा बस्नु ?

अब उपरान्त क्रिस्चियन धर्ममै पूर्ण विश्वास गरेर ढुक्कसँग जीवन जिउने हो भनी मनमनै निर्णय लिएँ । यसै पनि विश्वास नै धर्मको मूल प्राण रहेछ ।

यसरी म क्रिस्चियन धर्मकी अनुरागी भएँ । जीवनमा समयको प्रवाह, अनुभव, जीवनका ओराली-उकाली र दुःख-सुखले धेरै अध्याय सिकायो ।

अब त लाग्न थाल्यो, गीता, बाइबल, कुरान र शास्त्रहरू जीवन जिउनका लागि लेखिएका संविधान रहेछन् । हामी किन एकअर्कासँग मुखामुख, बाजाबाज र साना-ठूलाजस्ता कुरामा अड्किराखेका छौँ ? यी मनका आवेग कतिचोटि गिरजाघरमा सोध्न मन लाग्छ, तर के गर्ने ! यस्ता प्रश्नहरू केवल दार्शनिक कुराका लागि उपयुक्त हुँदा रहेछन्, यथार्थका लागि होइनन् कि ?

म आमा हुँ । छोराछोरीलाई कहिल्यै पनि छोड्न सकिँदैन । म कल्पनामा पनि छोड्न सक्दिनँ । मैले छोराछोरीलाई दिने प्रेम, संस्कार र कर्तव्य नै मेरो संसार लाग्छ ।

कल्पनातीत अवस्थामा पनि प्रभु र छोराछोरीमध्ये एकलाई रोज्नुपर्ने अवस्था आयो भने पक्कै मैले छोराछोरीलाई नै रोज्नेछु, न कि बाइबलका वचन, बप्टिस्पछिको फल वा स्वर्गलाई ।

कर्म, कर्तव्य र प्रेमभन्दा ठूलो धर्म संसारमा अरू के होला र ?

तर यी प्रश्नहरू मैले आफ्नै लागि मात्र सोचेकी हुँ । अब जुन धर्ममा छु, त्यसकै प्रवाहमा बग्दै जानु, शान्ति र खुशीसँग जीवन जिउनु नै सत्य र प्रमाणित लाग्छ । यही धर्म लाग्छ । यही बाइबल लाग्छ । यही स्वर्ग लाग्छ ।

कहिलेकाहीँ मनमा यसै विचार आउँछ; ‘समयले फेरि धर्म परिवर्तन गर्न लगाउला ?’

आफैँ जवाफ दिन्छु, ‘ हैन यसलाई समयमाथि छाडिदिऔँ !’

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.