साहित्यपोस्ट डट कम

कथा: माछाको आत्मकथा

कथा: माछाको आत्मकथा

बुढ्यौलीमाथि मुखैमा घाउ थपिएपछि आहाराले पनि हेरेको हेर्यै बनाउन थाल्यो । पेटलाई चलेछ झोँक, क्वालक्वाल्ती कराउन थाल्यो । यस्तो दयनीय अवस्थाले मुखको घाउ हौसिएछ, मोटाउँदै गएर श्वासनलीमै खुट्टो तेर्स्यायो । सासै फेर्न कठिन हुँदा जीउले निष्क्रियताको बाटो अँगाल्यो । अब आएर घोप्टो पर्न र ठीकठाकै छु भन्नसम्म सकिरहेको छैन । दृष्टि नै जलाउला जस्तो तेजिलो सूर्यतर्फ निर्निमेष हेर्न बाध्य भएको छु । शायद कालको बाटो हेरिरहेछु ।

छिटै उठाए हुने नि कालले ! शरीर सुकेर खोइलो बनिसकेपछि अनुभव र अनुभूति पेटमा उब्जेको ग्याँसजस्तै हुँदो रहेछ । जति सम्झ्यो उति थकथक्याउँदै मुख डल्ल्याउने काम ।

शायद मसँग केही क्षण बाँकी छ । मेरो छेवैमा बसेर त्यही क्षण पर्खिरहेको हुन सक्छ कालले । त्यतिन्जेल त्यसैलाई साक्षी राखेर म मेरो विगत पल्टाउन चाहन्छु ।

म ससानो कुवामा जन्मिएको भुरो ! मेरा भाइबहिनी थुप्रै जन्मे । परिवार बढेपछि बुवाले हाम्रो बसाइँ खोलामा सारे । खोलामा थुप्रै सँगी भेटिए । घुम्ने ठाउँ पनि प्रशस्तै । खोरी खेल्ने र लुक्ने ठाउँ पनि उस्तै । समयसँगै खुशी बढ्दै थियो, साथै साथीहरू पनि ।

मान्छेले खोलाको तीरको जङ्गल फाँडेर बारी बनाए । नजिकै गोठ बनाएर पशु पाले ।

त्यसपछि अब अकाल आउँछ भन्ने त्रासले आमा छटपटाउन थालिन् ।

आमाको बेचैनी देखेर बुवा दिक्दारिन्थे ।

तर आमालाई त्यस सुर्ताले छोडेन, बेलाबखत भावावेशमा आउँथिन् ।

एक दिन मान्छेरूपी त्यही अकाल आएर खोलो थुन्यो । सारा पानी बारीमा पसाल्यो ।

“ज्यान जोगाओ ।” भन्ने सङ्केत दिँदै आमा कहालिइन् । तत्कालै हाम्रो बिचल्ली शुरु भइहाल्यो । केही पानीसँगै धानको बारीमा त केही सुक्खा खोलामा छटपटाउन थाल्यौँ । त्यस अकालले कालको रूप धर्यो । अनि छोप्दै, आगोमा पोल्दै फु…फु… फुक्दै, तात्तातै मुखमा ढुस्दै, आत्थु गर्दै, पिरो झोल बनाउँदै, पिउँदै जिब्रो पट्काउँदै गरेको झलझली सम्झन्छु । मेरा पन्ध्र जना भाइ, एक्काइस जना बहिनी, केही सहकर्मी र नातेदार त्यसको मुखमा गए । ती सबैको नाम लिऊँ भने भावुकता जागेर मेरो गला भारी हुनेछ । हामीलाई नै खान जन्मेजस्तो । भुराभुरीका काँडा चपाएर पेटकै जिम्मा लगाइदिन्थ्यो । ठूलाका काँडा छुट्ट्याउनलाई हातको खाँचै नपर्ने त्यसलाई । मुखैले केलाएर थुक्थ्यो । त्यस सम्झनाले पनि मेरो जीउ लगलगाउँछ ।

अकालको अतिवादले प्रकृति मातालाई चलेछ झोँक । घनघोर बादलले मडारियो आकाश ! त्यस कालो न कालो बादलले दिनमै पार्यो रात । अभिभावकको सुर्ता र सतर्कताले हामीलाई झस्कायो । हामी एक ठाउँमा डल्लिएर सम्भावित चिन्ताले छोपियौँ । जति डराए पनि जसरी डल्लिए पनि वातावरण झन् भयावह बन्दै गयो । मेघ बम्केर, बिजुली चम्केर, चट्याङ चट्केर हाम्रो सातो उडाउन थाल्यो ।

अब सब नासिन्छ भन्ने सुर्ताले पिरोलिएकी आमाले कतै कुर खोजेर लुक्ने सङ्केत गरिन् ।

आमालाई आँखा तरेर बुवाले आकाशतर्फ हेरे । आकाशको कालो बादल झिल्का उठ्ने गरी जोतिएर आइस फुटाल्दै थियो, पानी बर्साउनलाई ।

आमाले डराइ–डराइ आकाशतिर हेरेर थरथर काँपिन् ।

आमाको चेष्टा देखेर बुवा अँधेरिए ।

आमा गम्भीर प्रवृत्तिकी थिइन् । उनको सङ्केतजति सचेतपूर्ण हुन्थ्यो । हामी भुराभुरीहरू तिनको विचारलाई बेकामी ठान्थ्यौँ । पानी बर्सेको भए खोलो बढ्थ्यो र धेरै पानीमा खेल्न पाइन्थ्यो भन्ने आशामा थिएँ म ।

कति रमाइलो हुन्थ्यो होला धेरै पानीमा उफ्रिन । म बुवासँग योभन्दा ठूलो खोलातिर बसाइँसराइको विचार जनाउने तरखरमा थिएँ । त्यतिखेरै आकाशबाट मुसलधारे पानी झर्यो ।

हुरी चल्ने, असिनापानी झर्ने गरेर उत्पात हुन थाल्यो । त्यो देखेर अब बाढीपहिरो आउँछ भन्ने शङ्का लागेछ आमालाई । हामीलाई कुरमा गएर लुक्ने सङ्केत दिँदै आफू अरू छोराछोरी खोज्न हानिइन् ।

चट्याङ र असिनापानीले भित्ता नै लडाएछ । जमिनै डगमगाउने गरी पहिरो आयो । पहिरोसँगै ढुङ्गामुढा आए । आउँदै गरे । त्यसले खोलो थुनिएर ताल पर्यो । पर्दै गयो । तर, बाढीको पानी पूरै नजाती थियो । धमिलो र फोहोर । वरपर हेर्न र सास फेर्न पनि कठिन भइरहेको थियो । कुनै अनर्थ हुने हो कि भन्ने भयले कुर खोज्न थालेँ । कुर भेटिएन । बाटो बिराएँ कि ! कतै टाउको पो ठोक्किने हो कि ! डरले बिस्तारो–बिस्तारो कुनाकाप्चा खोज्न थालेँ । कोही भेटिन्छन् कि ! कतैबाट कुनै सङ्केत मिल्छ कि भन्ने आशा गर्न थालेँ । त्यस्तो धमिलो पानीमा पनि बिजुलीको तेजिलो प्रकाश मलाई खोज्दै आइपुग्थ्यो तर्साउन । पानी भरिँदा–भरिँदा पहिरोले बनाएको बाँध फुटेछ । निकै जोरसँग हुत्तियो पानी । म अनियन्त्रित भएँ । बाढीको वेगले मलाई ढुङ्गामा लगेर पछार्यो । फेरि भित्तामा पुर्याएर बजार्यो । चोटको पीडा पनि थपिएपछि आफैँदेखि हराएँ । शायद बेहोस भएछु ।

जीउको पीडासँगै मेरो होस खुल्यो । दुखाइले इन्तु न चिन्तु बनाइरहेको थियो । त्यही पीडाले आफ्नो प्रभाव देखाउन मलाई होसमा ल्याएको हुन सक्थ्यो । एकातर्फ जीउको दुखाइ त अर्कातिर आफन्तको बिछोड । दोहोरो पीडाको खिचातानीमा परेँ । कुनै बेला जीउ सुमसुम्याउँथेँ त कुनै बेला आफन्तको सम्झनाले भावविभोर हुन्थेँ । आफन्त खोज्नलाई भएभरको सामर्थ्य लगाएँ । तर, भाग्यमा निराशाबाहेक केही बचेको रहेनछ ।

बाढीले मलाई अर्कौ ठाउँ पुर्याइदिएको थियो । न आफन्त थिए न त आफ्नो थातथलो । फेरि पनि जीवनको त्यो अँधेरो पाटो ओझेलमा पर्दै गएर एक दिन सामान्य भयो । यस पटक अलि ठूलो ठाउँमा थिएँ । बिस्तारै नयाँ साथीहरू बन्दै गए, बढ्दै गए । सचेत बनाउने र आशीर्वाद दिने बूढापाका पनि भेटिन्थे । नयाँ–नयाँ साथीसँगी बनाउने, नयाँ–नयाँ खेल देखाउने र नयाँ–नयाँ अनुभव बटुल्ने काम हुँदै गइरहेको थियो ।

एक दिन अकाल आएर खोलामै लगायो करेन्ट । त्यसको झट्काले उछिट्टिएर पर खाल्टोमा पुगेछु । करेन्टले थुप्रै जलचरको सत्यानाश भएछ । जब होस आयो, आफूलाई एक्लै पाएँ । पानी पनि एक्लैजस्तो थोरै थियो । केवल सास फेर्न र लुक्नलाई पुग्ने । पशुपक्षीले टिप्लान् भन्ने भयले चारो खोज्न पनि निस्कन्नथेँ । भोकभोकै लुकिरहन्थेँ । कतिखेर उज्यालो होला ? कति बेला रात पर्ला ? अब के होला ? योभन्दा बढी सोच्ने अवस्थै थिएन त्यहाँ । त्यस्तैमा एक दिन उज्यालिन पाएको थिएन अचानक अँधेरियो । बिजुली चम्काउँदै गर्जिन थाल्यो बादल । बाहिर चियाएको त, बर्सात हुनलाई ठिक्क परेको देखियो ।

यस पटक बाँच्दिन भन्ने अनुमान मात्र हैन, विश्वस्त भएर टाउको पनि हल्लाएँ । अन्धाधुन्ध पानी बर्सियो । म थरथरी काँप्दै रहेँ । जाडोले हैन, डरले । खोलो बढेर म भएको खाल्टोमै आइपुग्यो । मलाई त्यस खाल्टोबाट घोक्य्राउँदै निकाल्यो । अब कहाँ लिएर पछार्छ भन्ने भयले गाँजिरह्यो मलाई । थाकेझैँ गरेर बर्सात थामियो । बिस्तारै वरपर हेरेँ । न ठूलो बाढी आयो न त मलाई पछार्यो । मैले आफूलाई ठुलै तालमा पाएँ । तालमा मजस्ता थुप्रै माछा खेलिरहेका थिए । कोही चारो टिप्दै थिए । मलाई सपनाजस्तो लाग्यो । साँच्चै भनूँ भने त्यस बर्सातले मेरो उद्धार गरेको थियो । सम्भव हुन्थ्यो त ठुलै ढुङ्गामा चढेर त्यस आकाशलाई, त्यस बादललाई र त्यस वर्षालाई धन्यवाद टक्य्राउँथेँ ।

समयले फेरि नयाँ–नयाँ परिस्थितिसँग जुधाउन थाल्यो । केही समय पेटले खान्थ्यो त केही समय निद्राले । केही समय रमाइलोमा कट्थ्यो त केही समय सोचाइमा । पातलिँदै गइरहेको थियो विगत । विगतसँगै विगतका पीडालाई खुशीले थिच्दै गइरहेको थियो । मलाई जीवनको उज्यालो पक्षसँग झुम्न थालेको ठानेछ, फेरि आयो अकाल । यस पटक मेटासिट बोकेको रहेछ । पानीमा घोलेर खोलामै खन्याइदियो । मेटासिटले मेरा थुप्रै साथी मार्यो । मार्यो कसरी भन्नु, अकालको कर्तुतको सिकार भए । मेटासिटले मलाई पनि छोइहालेछ, हप्तौँसम्म रिँगायो । त्यस बिखले खोलामा देखाएको जात्रा झलझली नाचिरहन्छ आँखामा ।

कहिलेकाहीँ करुणाको मूर्तिजस्तो देखिन्थ्यो मान्छे । हामी खोरी खेल्न थाल्थ्यौँ । हेरेर पुलकित हुन्थ्यो । सुसेली हाल्दै गीत गाउँथ्यो । जब त्यसको कुनियत जाग्थ्यो तब क्रूर बन्दै आएर अकालमा परिणत हुन्थ्यो । ढु्ङ्गाले, भालाले हानेर पनि हामीलाई मार्ने प्रयत्न गर्थ्यो । त्यस्तै विषालु झारपात कुटेर पानीमा मिलाइदिन्थ्यो । मान्छे करुणाको मूर्तिदेखि हिंस्रक प्राणी बन्न सक्छ । दुःखका काँडा टेक्दै पालनपोषणमा रमाउन सक्छ । कुनै दिन त्यसैको वध गरेर उत्सव मनाउन सक्छ । वनस्पति र अरू प्राणीजस्तै मान्छेको स्वभाव र प्रवृत्ति चिन्न सकिने भए यो संसार कति राम्रो हुन्थ्यो होला ।

म थुप्रै पटक अकालको आक्रमणमा परेर बेहोस भएको छु । होसमा आउँदा कुनै नयाँ ठाउँमा हुन्थेँ । फुत्किँदै भाग्दै, धेरधेरै पानीमा रमाउँदै म नदीमा पुगेछु । त्यहाँ मैले आफ्नै प्रजातिका माछा पनि देखेँ । ती रहरलाग्दो गरी खेलिरहेका थिए । त्यो देखेर आफूलाई थाम्नै सकिनँ, मिसिएँ । निकै रमाइलो हुँदै गइरहेको थियो । खेल्नमा यति धेरै निमग्न हुन्थ्यौँ कि दिन बितेको थाहै हुन्नथ्यो । हाम्रो बेवास्ता समयलाई मन परेनछ । अविस्मरणीय बन्न अकाल लिएर आयो । अकालसँग बम रहेछ । त्यसले बम पट्काउँदा प्रलय आएजस्तो भयो । विस्फोटले तालमा ताण्डव मच्चायो । म साथीसँगै घुम्दै पर पुगेको थिएँ, त्यसको कम्पनले हामीलाई पनि भेट्टायो । तालमा भएका प्रायः सबै जीव सेल्टिए । सेतै देखियो दह । हामीले कुलेलम ठोक्यौँ । हाम्रो भाग्ने क्रम जारी नै थियो । बाटोमा ढडिया थापेका रहेछन् । साथी अगाडि थियो त्यसैमा जाकियो । त्यो देख्नेबित्तिकै बुरुक्कै उफ्रेर म अर्कोतिर हाम्फालेँ ।

त्यसपछि मलाई त्रासले पनि घोच्न थाल्यो । अगाडि बढ्ने क्रम झनै तेज भयो मेरो । नयाँ–नयाँ परिवेशले पीडा पन्छाउने र उमङ्ग थप्ने काम गर्दै थियो । झुम्दै गइरहेको थिएँ । मछुवाको जालमा परेँ । फुत्कने प्रयासमा उफ्रँदाउफ्रँदै लखतरान परेँ । माझीले पानीबाट बाहिर निकाल्यो । जाल पन्छाएर मेरो टाउको अँठ्याउँदै थियो, बुरुक्कै उफ्रेको त ढुङ्गोमा पछारिएँ । ढुङ्गो तातो थियो । माझी मलाई छोप्न कस्सियो । म तातो बालुवामा खसेँ । मेरो जात्रा शुरु भयो । घामले तातिएर भुङ्ग्रो बनेको बगर पनि माझीभन्दा कम थिएन । गङ्गामातालाई सम्झिँदै उफ्रिँदै थिएँ, नदीमै पुगेछु । गङ्गामाताको अनुकम्पाले बौरिएँ । बालुवाको रापले मेरो जीउमा लालमोहर लगाइदिएको थियो । मेरी आमाले देखेकी भए सहानुभूतिको मलम लगाउँथिन् । प्रिया भइदिए मालिस गरिमाग्थेँ । शुभचिन्तक हुन्थे त डाहा मर्नेगरी फुकी माग्थेँ । मलाई एक्लो पाएर पीडाले जब नानी देखाउँथ्यो तब चिसो बालुवामा घुस्रिन्थेँ । यस पीडालाई कालले छिट्टै लैजाओस् भन्ने कामना गर्दै महासागरको कल्पनामा डुब्थेँ ।

सेकेन्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना, वर्ष… सबैको काम प्रायः अकालसँग मुठभेड गराउनु र कालतर्फ धकेल्नु नै रहेछ । मसँग सम्बन्धित सुख, दुःखको पनि काल आउने गर्थ्यो । ती पनि मेटिएर जान्थे । जीवनले अनेकार्थ सोच्न, अतीतलाई भुल्न र नयाँ कुरासँग जुध्न बाध्य बनाउँदै थियो । अनेक प्रकारका साथी बन्ने र छुट्ने काम पनि भइरहेकै थियो । जति अगाडि बढ्दै थिएँ उति धेरै पानी भेटिँदै थियो । पानीकै संसारमा पुग्ने लहड चुलिँदै थियो ।

निरन्तर यात्राले एक दिन यात्रा नै टुङ्गिएजस्तो भयो । माझतिर जाँदा पानीमै हराउँछु कि भन्ने पीर पो पर्न थाल्यो । धरमरले छेउछाउ भएरै तैरिन थालेँ । मेरो लक्ष्य पूरा भएकै हो कि अझै अगाडि छ भन्ने खुलदुली मेट्न चाहन्थेँ । तर, भुराभुरीलाई थाहै छैन कि भन्ने लाग्ने, ठूलाका सामु जाने आँटै नआउने । एक ठाउँमा विभिन्न जातिप्रजातिका माछाहरू झुम्मिएर चारो खाँदै थिए । त्यहाँ आफ्नो नस्लको कोही देखिनँ, तैपनि आहारा गुमाउन चाहिनँ । छेउतिरबाट चारो टिप्दै थिएँ, मलाई देख्नेहरू अर्घेलो ठान्न थाले । आँखा तर्न थाले । मानौँ त्यहाँ क्षेत्रीय गुटबन्दी थियो । यत्तिकैमा एउटा लिखुरे रोकटोक गर्न आइपुग्यो ।

त्यसको व्यवहारले मेरो भोक झोँकमा परिणत भयो । तर, आफू परियो एक्लो फिरन्ते ! फिरन्तेलाई कुन समूहले स्वागत गर्थ्यो र ! त्यो पनि भोजन गरिरहेका बेला । आफ्नो चित्त सँभाल्दै अगाडि बढेँ । मेरो त्यस अगाडि बढाइले पानीकै संसारमा पुर्याइदियो । त्यहाँको पानी नुनिलो थियो साथै अजङ्गका प्राणी पनि देखिन थाले ।

अहो… यही हो त सागर ! म सागरमै आइपुगेँ त ! अनेकार्थ जीवसँग लुकिछिपी खेल्दै, आश्चर्यमा डुब्दै, अगाडि बढ्दै रहेँ । पुतलीजस्ता रङ्गीचङ्गी माछा देखेर मेरो ध्यान आफूतिर फर्कियो । तिनका सामुन्ने आफूलाई जोकरजस्तो पाएँ । नमज्जा लाग्यो । अमिलिँदै अगाडि बढेँ । घाम अस्ताउँदाको किरण पानीको सतहमा आएर चिप्लेटी खेल्न थाल्यो । मजस्तै थुप्रै माछा उफ्रिँदै त्यसलाई म्वाइँ खाँदै रमाउन थाले । त्यस दृश्यले कुतकुत्याएर मेरो हाँसो जगायो । फुरुङ्ग बनायो । उचालिँदै अगाडि बढेँ । रमिते आउँदा नाचेर वा खुशी प्रकट गरेर मनोरञ्जन गराउन जानेका माछा पनि भेटिए । कोही तालिम पाएजस्तो गरेर खेल देखाउँथे । त्यो सबै देखेर, बुझेर मेरो छाती गर्वले फुल्न भ्यायो । हेरिरहूँजस्तो हेर्दाहेर्दै नअघाऊँजस्तो हुन भ्यायो । तिनको रूप, तिनको खुशी, तिनको खेल देखेर अकाल पनि हेरेको हेर्यै हुँदो हो । शायद काल पनि दङ्ग परेर आफ्नो कामै बिर्सिदिँदो हो ।

हाम्रो दूरदराजतिरका भाग्यविधाता पनि मक्खीचुस हुँदा रहेछन् । नानीहरूलाई टीका लगाएर नयाँ पैसा र चकलेट थमाउँदै, चुट्की बजाउँदै, आँखा सन्क्याउँदै फुर्क्याउन जान्ने जस्तो । मेरो रनभुल्याइ बढ्दै गइरहेको थियो ।

कति सुन्दर रहेछ सागरमा भएका जीवको जीवन । आ-आफ्नो रूपरङ, बुद्धिविवेक र शारीरिक क्षमताअनुसारको क्षेत्र ओगटेका देखिन्थे । सागरमा प्रायः मान्छेहरू रमिते बनेर आउँथे भने हाम्रा खोलामा अकाल बनेर । हाम्रोतिर पानीको सङ्कट देखिन्थ्यो भने सागरमा जमिनको । सागरका प्रायः माछाहरू मान्छेतर्फ आकर्षित हुन्थे भने हाम्रोतिर मान्छेको छाया देख्दैमा कुलेलम ठोक्थ्यौँ ।

वरपरको दृश्यले ममा कौतूहल जगाउँदै अगाडि बढाउँदै थियो । धन्नै ह्वेल सार्कको मुखमा छिरेको ! गुफाजस्तो मुख चियाएर पो घुमिरहेको रहेछ । त्यसका घना र कठोर दाँतमा ठोकिँदा झस्केर छेउतिर हाम्फालेँ । अनि, सुटुक्क त्यसको पिठ्युँमा गएर लुकेँ । मुखभित्रको चारो फुत्किएको चाल पाएर निकै रन्थनियो ऊ । मलाई पाउन धुइँपताल गर्यो तर भेट्टाएन । अन्ततः मलाई बिर्सिदिँदै अगाडि बढ्यो ।

विकराल जीव दैनिक हजारौँको सङ्ख्यामा भुराभुरीको आहारा गर्थे, तैपनि अनिकाल पर्ला जस्तो देखिन्नथ्यो त्यहाँ । भुराहरू पानी नै कम पर्ला जस्तो बथानका बथान दौडिरहेका देखिन्थे । विनासङ्घर्ष आफ्नो पेट भरेर फर्किसकेको हुन्थ्यो सिकारी । दुई–चार हजार हराएको पनि बथानका बाँकीले चालै पाउँदैनथे । भुराभुरीको मूलै फुट्थ्यो जस्तो । विचित्रको संसार… !

मेरो इच्छाले महासागरमै पुर्याइदियो । त्यहाँ कल्पना गरेभन्दा विशाल जीव देखिन थाले । म जन्मेको कुवाबाट देखेको आकाशजस्तै । आकाशमा हवाईजहाज उडेको देखेर छक्क परिन्थ्यो । महासागरमा त्योभन्दा अजङ्गका जीव भौँतारिरहेका भेटिन्थे । ती मैले जस्तो चारो खोजेर, चाटेर बस्दैनथे । आफूभन्दा सानालाई नै आहारा बनाउँथे । तिनलाई देखेर अकालले पनि मार्ग बदल्थ्यो होला ।

कहीँकतै कहालीलाग्दो स्थान पनि भेटिन्थ्यो । गहिराइमा गए पानीले नै थिच्ने, एक्लै भए सन्नाटाले टोक्ने, कुनै जीवको नजिक गए त्यसैको आहारा भइएला भन्ने लाग्ने…यस्तो विचारले मलाई ठिङ्ग्याइदिएको थियो । आफैँमा सिङ्गो संसार । आफैँमा जमिन र आकाशजस्तो । त्यहाँको वातावरण जतिखेरै निस्तब्ध भएर सुतिरहन्थ्यो । समय चिप्लेको थाहै नहुने भएर हो कि त्यहाँका केही जीव चार सय वर्षसम्म बाँच्ने ।

हामी माछाको इतिहास धेरै लामो र निकै ठुलो रहेछ । जलमण्डलमा भएको थोरै खोजअनुसार तेत्तीस हजारभन्दा बढी प्रजातिका माछा उपलब्ध रहेछौँ । लगभग दुई महिनादेखि चार सय वर्षसम्मको आयु भएका । महासागरमा ढुङ्गाजस्ता आकारप्रकारका प्राणी पनि रहेछन्, ओत लाग्न आउनेलाई नै खाइदिने । जीउबाट करेन्ट फालेर एकै झट्कामा परलोक पुर्याइदिने जीव पनि देखिए । बिरुवाका लहराजस्ता देखेर पिङ खेल्न गएको त धन्नै अक्टोपसको आहारा भएको थिएँ । मेरो कमालको उफ्रिने कला नै काम आयो । आखिर पहाडमा जन्मेहुर्केको न परेँ । मेरो फुर्ती देखेर अक्टोपस पनि चित खायो ।

अकल्पित वरदानका स्वामीहरू भेटिन्थे त्यहाँ । तिनै जीवसँग आफूलाई तुलना गर्दैगर्दा आफन्त र आफ्नो जन्मथलो सम्झेँ । आफूलाई अर्घेलो ठानेरै मेरा पुर्खाहरू पहाडका कुनाकन्दरा पुगेछन् क्यार ! अन्यथा महासागरका खतरनाक जीवले हामी बबुराको वंश मेटाइदिन सक्थे ।

आश्चर्यमा डुब्दै, वरपर हेर्दै, अगाडि बढ्दै थिएँ । अकस्मातको झम्ट्याइले तिलमिलाउँदै पर पुगेँ । मेरो स्मृति बत्ती निभेझैँ भयो । विचारशून्य ! मानौँ केही क्षणसम्म मेरो चेतना नै जाम भएको हो । जब चेतना सक्रिय भयो तब साला सार्क देखियो । त्यसैले आक्रमण गर्दा त पानीसँगै हुत्तिएको थिएँ म । त्यस दुर्घटनाले मलाई कायल बनायो । नौला दृश्यमा बहकिनु हुन्थेन मैले । यस मानेमा मेरो लापर्बाही पनि कम हास्यास्पद थिएन । मलाई बिर्सुवा भन्दा पनि फरक नपर्ला, किनभने दृश्यसँगैको मेरो बहकाउ घातकसिद्ध हुँदै गइरहेको थियो ।

वृद्धावस्थाको असर देखिन थालेको हो कि ! त्यस घटनाले मेरो चिन्ता बढायो । पूरा जीवन सपनाजस्तै बनायो । कुन शक्तिले कहिलेसम्म बचाइराख्ने हो भन्ने भ्रम जगायो । निकैबेर गम खाएपछि आफ्नो सामर्थ्यमा अटाउने इच्छा थाती राख्न बेकार हो भन्ने निचोड निकालेँ । सबैभन्दा ठूलो जीव ब्लूह्वेल भन्ने सुनेको थिएँ । त्यसैलाई हेर्ने र भेट्ने इच्छा मेटाउन तत्काल महासागरको गहिराइतर्फ लागेँ ।

ब्लूह्वेलको क्षेत्रमा पुग्न मलाई निकै परिश्रम उठाउनुपर्यो । जब त्यसलाई देख्न पाएँ जिवै सिरिङ्ग भयो । मेरो दृष्टि त्यसको पुछारसम्म पुगेन । सिङ्गै पहाडजत्रो पो थियो त्यो ! त्यसैका लागि महासागर बनेको हो जस्तो । त्यसले के खान्छ होला, कति खान्छ होला । सोच्दासोच्दै, हेर्दाहेर्दै मलाई त्यसको टाउकादेखि पुछारसम्म पुग्ने रहर जाग्यो । मेरो रहर जाग्ने मात्रै हैन, त्यसले तान्न थालिहाल्थ्यो । म तन्किहालेँ ।

जब ब्लूह्वेलको टाउकोनिर पुगेँ तब त्यसको चारो बन्ने पो हुँ कि भन्ने भय जाग्यो । बिस्तारै त्यसका आँखा हेर्न गएँ । आँखामा आफ्नो छाया देखिए भाग्ने, नदेखिए मरेको जान्ने । मेरो यस अक्कलले काम पाउला जस्तो लाग्दै थियो । तर, त्यसले कुनै चालचुल गरेन । निदाएको पो हो कि ! जे होस् बेसै भयो । म त्यसको टाउकोदेखि पुछारसम्मको यात्रामा लागेँ । मुस्किलले ढाडसम्म पुगेको मात्रै के थिएँ त्यतिखेरै जागेछ । पूरा जलराशि काँप्ने गरी जीउ हल्लाएर मेरो सातो उडाइदियो । लगत्तै सतहतर्फ हान्नियो ऊ । माथि पुगेर मजस्तालाई उडाउला–तर्साउलाझैँ गरेर सास फेर्यो । त्यो जीव मैले जस्तो झर्को लाग्ने गरी निरन्तर पानीमै अक्सिजन छाँट्दो रहेनछ । दुई घण्टासम्म सास थामेरै बस्न सक्दो रहेछ । त्यसले अक्सिजन लिएर कार्बनडाइअक्साइड फाल्दा पानीको फोहोरा माथि–माथिसम्म पुग्यो । त्यत्रो विशाल जीव हाम्रै प्रजातिमा पर्दो रहेछ भनेर गर्व गर्न सक्दिनँ, किनभने ठूला जीव हृदयविहीन हुँदा रहेछन् । मजस्तालाई प्राणी नै ठान्दैनथे, कप्लक्कै पार्थे । पेटै भरिएन भनेर चित्त पनि दुखाउँथे ।

असङ्ख्य जीवको संसार रहेछ महासागर । घामको उज्यालो पुग्नै नसक्ने गहिराइमा बत्ती बालेर हिँड्ने जीव हुँदा रहेछन् । त्यस्तो गहिराइमा बस्ने प्राणीले जमिन र आकाशको अत्तोपत्तो पाउँदैनन् होला । मध्यभागतिर जाँदा जलचरकै सिकार भइएला भन्ने डर, छेउमा बस्दा जलेवाजस्ता पन्छीको मुखमा गइएला भन्ने डर । डरैडरको कुवा पनि रहेछ महासागर । पूरै भगवान् भरोसाको जीवन ।

जीवन खोज्दाखोज्दै, बुझ्दाबुझ्दै बुढेसकाल पो आइलाग्यो । मैले त जीवन भन्ने चिज देख्नु र बुझ्नु मात्रै थियो जस्तो । शरीर जीर्ण भएपछि जीवन के हो र कस्तो हुनुपर्थ्यो भन्ने बुझेँ । त्यही बुझाइले जन्मदातामाथि नै शङ्का उब्जायो । त्यही शङ्काले गाँजिएर आफैँ जस्तो समुदाय खोज्दै थिएँ, आँखैअगाडि चारो आइपुग्यो नाच्दै । चारो पनि खोज्दै र नाच्दै आउन पो थाल्यो ! महासागरमा यस्तो पनि हुँदो रहेछ ! मलाई आश्चर्यले छोप्दै थियो । तर, पेटका कीराले आहारातिरै हुत्त्याए । सकेजति मुख चियाएर क्वाप्पै पारेको त अङ्कुशले ख्याप्पै खोप्यो । म छटपटिँदै थिएँ, अङ्कुशले पिङ खेलाउँदै आकाशमा पुर्यायो । त्यो चारो हाल्ने कर्तुत अकालकै रहेछ । त्यसले मेरो पिछा कहिल्यै छोडेन । मेरो मुखबाट बल्छी निकाल्न मात्रै के पाएथ्यो, बुरुक्कै उफ्रेर फेरि पानीमै पुगेँ । तर, मुखमा गाडिएको बल्छीले घाउ बनाइदियो । बुढेसकालको साथ पाएर होला त्यस घाउले छोड्दै छोडेन मलाई । घाउ बढ्दै गयो र मलाई थला पार्दै गयो । सानो कुवादेखि शुरु भएको मेरो जीवनयात्रा, नानार्थ सङ्कट छिचोल्दै महासागरमा पुगेर थन्कियो । थकाइले, गलाइले, बुढ्याइँले र थपिएको घाउले ।

अब जीउले जे चाहन्छ मान्न र त्यही गर्न विवश भएको छु । शायद कालको पालो आयो । मुखको घाउ त्यसैको निहुँ हुन सक्छ ।

आजसम्म कालदेखि नै भागिरहेको थिएँ त ! भाग्नैलाई बाँचिरहेको थिएँ त ! मार्गमा अकालको रूपमा आएर त्यही कालले घचेट्थ्यो त ! अनेक सङ्कटदेखि जोगिँदै र भाग्दै कालकै मुखमा आइपुगेँ त ! काललाई सम्झँदा पनि जीउमा काँडा उम्रिन्थे । अब स्थितिले कोल्टे फेर्यो । मार्गमा टाङ अड्याउने सङ्कट र अकालदेखि कसरी बाँचेँ भनी सोच्दैछु । पटक–पटक बेहोसै भएको छु । होसमा आउँदा जिउँदै पो छु भन्ने आश्चर्यमा डुब्थेँ । त्यही भएर त यो जीवन कुनै अदृश्य शक्तिको अधीनमा छ जस्तो पनि लाग्थ्यो । शायद त्यो शक्ति अन्तिम सत्य कालै हुनुपर्छ ।

पटक–पटक कालैले जोगायो त मलाई ! आफैँ खाउँला भनेर । जे होस्, यतिका दिन बचायो । यति ठूलो संसार घुमायो । नानाथरी अनुभव बोकायो । अब आफ्नै जीउ र घाउले गर्दा बेचैनी बढ्दै गएको छ । यस्तै निहुँमार्फत मेरो हौसला टुटाएर, आफूप्रतिको तिरस्कारलाई मैत्रीभावमा बदल्न चाहन्थ्यो त काल ! मेरो रिसरागमा करुणा भर्दै, झर्केर हैन फर्केर डाक्ने अवस्था जुराउँदै थियो त ! ब्लूह्वेलले जस्तो ह्वाँ… ह्वाँ… गर्न सक्ने भए एकोहोरो कराएर वाक्कदिक्क बनाउँथेँ । बिचरो म, त्यही कालकै आशाभरोसामा देखिन्छु अब, त्यसले अँठ्याएपछि शायद सेल्टिएको सेल्टियै रहनेछु ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.