“तपाईं शुषमा ?”, आगन्तुकले मेरो छेउको खाली कुर्सीमा बस्दै सोध्यो ।
“हो ।” – नियालेर हेरेँ । खैरो कपाल र सेतो टिसर्ट लगाएको ऊ मेरा लागि सर्वथा अपरिचित थियो ।
“ए ल, मेरो अनुमान ठीक रहेछ ।” ऊ चिउँडो सुम्सुम्याउँदै हाँस्यो ।
पहिलो भेटमै ऊ मसँग एकदमै स्वाभाविक र अनौपचारिक भएर कुरा गरिरहेको थियो । उसको हाउभाउ, सोच्दा आँखा चिम्लिने र चिउँडो सुम्सुम्याउने बानी कतै देखेको जस्तो लाग्यो । जति कोसिस गरे पनि सम्झिन भने सकिनँ ।
कार्यक्रम शुरु भयो । उद्घोषकको आवाज हलभरि गुन्जियो । सबैको ध्यान मञ्चतिर तानियो । मेरो दृष्टि भने बारम्बार छेउमै फर्किरह्यो ।
उसले मतिर झुक्दै सोध्यो— “अचेल तपाईं के गर्दै हुनुहुन्छ ? कार्यक्रमतिर कत्तिको निस्कनुहुन्छ… ? अनि घरमा आमालाई कस्तो छ ?”
निकै नजिकबाट चिनेको मान्छेले गरेको जस्तै प्रश्न !
“माफ गर्नुहोला,” मैले सानो स्वरमा सोधेँ, “हामी यसअघि कतै भेटेका थियौँ र ?”
एकैछिन आँखा चिम्म गर्यो उसले, र मुस्कायो – “थियौँ… तर तपाईं सम्झनुहुन्न।”
“कहाँ ?”
उसले उत्तर दिएन । मञ्चतिरै हेर्दै भन्यो— “तपाईं अझै अधुरा कथा लेख्नुहुन्छ है ?”
मलाई थप आश्चर्यमा पार्दै उसले सोध्यो, “अनि…तपाईं अझै पनि त्यो नोटबुक बोकेर हिँड्नुहुन्छ ?”
मेरो हात अनायासै ब्यागभित्र गयो । सानो नोटबुक त्यहीँ थियो— जहाँ म कथाका शुरुवाती प्लट र विचारहरू टिप्ने गर्थें । तीमध्ये धेरै कहिल्यै पूरा हुँदैनथे ।
अचम्म मान्दै मैले उसलाई हेरेँ । ऊ शान्त थियो मञ्चतिर हेरिरहेको— मानौँ उसले केही पनि भनेकै थिएन ।
कार्यक्रम सकिएपछि म हतारिँदै बाहिर निस्किन खोजेँ । ऊ त्यहीँ थियो— मेरो छेउमै ।
“कफी ?” उसले सहज प्रस्ताव राख्यो ।
“म अलि हतारमा छु ।”
मेरो आशय बुझेर ऊ हल्का हाँस्यो – “टार्नु पर्यो भने तपाईं सधैँ यही भन्नुहुन्छ ।”
मेरो बानीसँग समेत परिचित उसको कुराले रोकिन बाध्य भएँ ।
– “के तपाईं मलाई चिन्नुहुन्छ ?”
ऊ केही बेर चुप रह्यो । त्यसपछि मेरो आँखामा हेर्दै ढुक्कसँग भन्यो— “हो, म तपाईंलाई, तपाईं आफैँले भन्दा बढी चिन्छु ।”
उसको गम्भीर आवाजमा त्यो ठट्टा हैन भन्ने प्रष्ट थियो । डर लाग्यो । त्यो डरले ऊप्रति शंका पनि जगायो— कतै ऊ मेरो हरेक गतिविधिमा नजर राखिरहेको त थिएन ?
त्यो कार्यक्रममा भेटेदेखि उसले मलाई पछ्याउँदै गरेको अनुभूति हुन थाल्यो । कहिलेकाहीँ—एकाएक बाटोतिर देखिन्थ्यो ऊ । बिहान मन्दिरको प्राङ्गणमा, घण्टीको आवाजबीच भीडमा मिसिएको । कहिले सडकछेउको सानो चिया पसलअगाडि—उदास आँखाले मतिर हेर्दै । त्यो नजरमा मप्रति एउटा अव्यक्त गुनासो झल्किन्थ्यो—मानौं मेरै कारण ऊ कतै अड्किएको थियो । फेरि हेर्दाहेर्दै—ऊ भीडमै हराउँथ्यो ।
पहिला त्यसलाई संयोग ठानेँ— शायद भ्रम पनि हुन सक्थ्यो । तर उसको त्यो अनौठो, निरन्तर उपस्थिति—मेरो वरिपरि रही नै रह्यो ।
एक दिन कार्यक्रममा भेट्दा उसले भन्यो— “तपाईं पात्रहरूलाई अन्त्य दिन डराउनुहुन्छ ।”
“भन्न के खोज्नुभयो ?” अभिप्राय नबुझेर सोधेँ ।
“तपाईंका कथाका पात्रहरू… अधुरा हुन्छन्,” उसले शान्त स्वरमा भन्यो, “किनकि अन्त्य लेख्नु भनेको उनीहरूलाई छोड्नु हो । शायद तपाईं त्यसो गर्न चाहनुहुन्न ।”
त्यो उसको गुनासो थियो कि आरोप— बुझ्न गाह्रो पर्यो ।
ती शब्दहरूले निकै रातिसम्म पनि सुत्न दिएनन् । उठेँ र ल्यापटप खोलेँ । फोल्डरभित्र एउटा पुरानो फाइल थियो— “कथाको पात्र” । लेखेर धेरै समयदेखि अपुरो छोडिएको । फाइलमा क्लिक गरेँ ।
पहिलो लाइन पढ्ने बित्तिकै झसङ्ग भएँ । शरीर एक्कासि चिसो भयो— “एक दिन, ऊ अगाडि आएर बस्नेछ… र सोध्नेछ— तपाईं शुषमा ?”
त्यो दृश्य, त्यो संवाद— सबै घटित भएसरि नै थिए । आश्चर्य लाग्दो संयोगमा मेरो दिमाग शून्य भयो ।
करिब एक हप्तासम्म ऊ देखा परेन । अचानक एकदिन उसले मलाई पत्रिका पसलअगाडि रोक्यो । ऊ खुशी देखिन्थ्यो ।
– “तपाईंलाई एउटा किताब दिन चाहन्छु । कथाको— तपाईंलाई मन पर्नेछ ।”
उसले झोलाबाट निकालेर मेरो हातमा राख्यो । आवरणमा ठूलो अक्षरमा लेखिएको थियो— “कथाको पात्र ”।
मुटु ढक्क फुल्यो । काँपेका औँलाहरूले पहिलो पाना पल्टाएँ । शब्दहरूमाथि आँखाले विश्वासै गर्न सकेनन् । ती भाषा, लय… सबै ठ्याक्कै मेरो जस्तो ।
“यो कथा कुनै कल्पना होइन,” उसले भन्यो, “यो एउटा पात्रको यात्रा हो— जो आफ्नो कथाबाट बाहिर निस्कन खोज्छ ।”
उसको नजर ममाथि अडियो – “र त्यो पात्र अहिले यहीं उभिएको छ ।”
पात्र— ऊ कि म ? – मुटुको चाल बढ्यो ।
“यो सब के हो ?”, मेरो स्वर काँपिरहेको थियो, “यो मैले लेखेको जस्तो किन छ ?”
ऊ मुस्कायो—विना कुनै डर र आवेश ।
– “किनकि यो तपाईंले नै लेख्नु भएको हो ।”
– “तर मैले पूरा गरेकी छैन !”
“तपाईंले शुरु गर्नुभयो,” उसले भन्यो, “बाँकी कथा… आफैँ लेखिँदै गयो ।”
“तपाईं को हुनुहुन्छ ?”
ऊ अलि नजिकियो ।
“म त तपाईंको कथाको पात्र मात्र हुँ,” उसले भन्यो, “तर सोच्नुस्— तपाईं आफैँ कुन कथामा हुनुहुन्छ ?”
केही बोल्न सकिनँ ।
यसपटक उसको स्वर भारी थियो ।
“सिर्जना भएपछि पात्रहरू बाँच्न चाहन्छन्, शुषमा… तर तपाईंले मलाई बीचमै छोड्नुभयो ।”
ऊ एकछिन रोकियो ।
“म त्यहीँ अड्किरहेँ— तपाईंको अधुरो कथाभित्र । म जस्तै अरू पनि छन्…।”
“सबैजना चाहेर पनि स्वतन्त्र हुँदैनन्,” मैले कमजोर आवाजमा भनेँ ।
“शायद,” उसले भन्यो, “तपाईंलाई ती अधुरा पात्रहरू छोड्न गाह्रो हुन्छ ।”
“होइन,” मैले प्रतिवाद गर्न खोजें, “यो सत्य होइन ।”
“तपाईंका लागि मात्र कथा थियो, मेरा लागि—त्यो जीवन थियो ।”
ऊ केही बेर चुप लाग्यो । मैले नजर उठाउन पनि सकिनँ ।
“तपाईंलाई थाहा छ,” उसले बिस्तारै भन्यो, “अधुरो हुनु भनेको के हो ? शायद, नटुङ्गिने पर्खाइ । जबदेखि तपाईंले लेख्न छोड्नुभयो, त्यही क्षणदेखि म अन्तहीन पर्खाइभित्र कैद भएँ ।”
उसको स्वरमा गहिरो वेदना थियो । उसका उदास आँखामा लुकेको पीडाले मलाई नराम्ररी चिमोट्यो । त्यो क्षण मलाई लाग्यो— म लेखक होइन, बरु कसैको जीवन अधुरै छोड्ने मान्छे रहेछु ।
घर फर्केपछि सिधै ल्यापटपअगाडि बसेँ ।
स्क्रिनमा उही फाइल खुला थियो— “कथाको पात्र” । पहिलोपटक— मलाई लेख्न डर लाग्यो । मानौँ हरेक शब्दले कसैको जीवन तय गर्नेछ ।
धेरै बेरपछि— मैले टाइप गर्न शुरु गरेँ—“ मैले बुझें— म लेखक मात्र होइन… एउटा पात्र पनि रहेछु तर पात्र हुनु अन्त्य होइन । कथाभित्र हुनु भनेको हराउनु पनि होइन— त्यो पनि एउटा यात्रा नै हो । …”
किबोर्डमाथि औंलाहरू निरन्तर दौडिरहे – “… यदि कसैले मलाई लेखिरहेको छ भने— म पनि आफूलाई लेख्न सक्छु ।”
मैले अन्तिम लाइन टाइप गरें— “अन्त्य खोज्न होइन— अगाडि बढ्न ।”
लामो सास फेरें । अब मन शान्त भयो । धेरै दिनपछि—एउटा अधुरो कथा टुंगियो ।
यसपटक भने, पात्र अधुरै रहेन ।

