साहित्यपोस्ट डट कम

कथा- जिन्दगी फूल सम्झे फूलै हो

कथा- जिन्दगी फूल सम्झे फूलै हो

प्रायः जोडीको पहिला प्रेम, त्यसपछि इङ्गेजमेन्ट अनि विवाह हुन्छ तर उनीहरूको जीवनमा पहिले इङ्गेजमेन्ट भयो, त्यसपछि प्रेम पलायो, अनि मात्र वैवाहिक गाँठोमा बाँधिएका थिए ।

===

लण्डनको त्यो बिहान अरू दिनजस्तै धुम्म थियो । झ्यालको सिसामा पानीका फिसफिस थोपा ठोक्किँदै झरिरहेका थिए । भित्रको एउटा कोठा अस्पतालको वार्डजस्तै भान हुन्थ्यो । बेडमा निश्चेत पल्टिरहेको एउटा ज्यान । उसको आँखा कोठाको झ्यालजस्तै बन्द थिए । संभवत: ती आँखाले विगतमा बिताएका उज्याला दिनहरूलाई कैद गरेर राखेका हुँदा हुन् ।

सुमायाले सावधानीपूर्वक सिरानी मिलाइदिइन् । साइड टेबलमा यत्रतत्र छरिएर रहेका दबाईका प्याकेटलाई सम्हालेर राखिन् । अनि उनको निधारलाई सुमसुमाउँदै भनिन्,

“हिमालय सर, हजुरलाई चिसो त भा..छैन नि ?”

उत्तर आएन । आउने कुरै भएन । न मुन्टो नै हल्लियो । हिमालय सरको निर्दोष अनुहारले त्यस्तो असजिलो केही नभएको संकेत गरिरहेको थियो ।

वर्षौं भैसकेको थियो पति पत्नीबिच दोहोरो संवाद हुन नसकेको ।

अब त बानी लागिसकेको थियो सुमायालाई । भगवानको मूर्तिसँग पनि कहाँ संवाद चल्छ र ?! वर माग्ने, प्राथना गर्ने, भजन गाउने त भक्तालुले मात्र न हो ।

सुमायाले झ्यालतिर फर्केर हेरिन् । उनको मन एक्कासि झ्यालबाट हाम फालेर हजारौं माइल टाढा- धरानको घोपा क्याम्प पुग्छ ।

त्यो दिन घामको उज्यालोले छाइएको थियो धरानको बृटिश क्याम्प । इङ्गेजमेन्ट भरखरै भएको थियो दुइजनाको । फेमिली दर्ता गराएर क्लार्कको अफिसबाट बाहिरिँदै गर्दा उनले पहिलोपटक हिमालय सरलाई राम्ररी हेरेकी थिइन् । मझौला कद, गोरो अनुहार, सुसंगठीत लाहुरे ज्यान र अनुशासित व्यक्तित्व । उनको मनभित्र अचानक प्रेमको कोपिला अंकुराएर आयो ।

“कस्तो हेन्डसम् !” ,उनले मनमै भनेकी थिइन् ।

प्रायः जोडीको पहिला प्रेम, त्यसपछि इङ्गेजमेन्ट अनि विवाह हुन्छ तर उनीहरूको जीवनमा पहिले इङ्गेजमेन्ट भयो, त्यसपछि प्रेम पलायो, अनि मात्र वैवाहिक गाँठोमा बाँधिएका थिए ।

फुस्किँदै गरेको मुस्कानसित सुमायाले आफ्नो नजर झ्यालबाट भित्र तानिन् । नि:शब्द हिमालय सरको शरीर ओछ्यानमा लडिरहेको थियो । क्षणिक त्यो उनको मुस्कान आँशुका थोपामा परिणत भए ।

हिमालय सरको हातका रेखा हेर्दै उनले बिस्तारै भनिन्, “तपाईंलाई सम्झना छ सर ? धरानमा पहिलोचोटी चाउमिन खाँदा मैले गड्यौला जस्तो लाग्यो भनेर खानै मानेकी थिइनँ ।”

हिमालय सर नबोले पनि उनका बन्द आँखाभित्रका नानी सलबलाए जस्ता गरे । सुमायाले त्यहीलाई उत्तर ठानिन् ।

उनको बेवारिसे मन पुन: विगततिरै फर्कियो ।

सिनेमा हलको अँध्यारोपना । कुम सटाएर बसेका रोमान्टिक एक जोडी । तर चुरोटको गन्ध । उनलाई त्यो गन्ध पटक्कै मन पर्दैनथ्यो । असहजता दर्साइन् होला तर त्यसको बिरुद्दमा बोल्ने साहस गरिनन् ।

छुट्टिमा आएका हिमालय सर केही दिनपछि पल्टन फर्के । उता पुग्नसाथ चिठी पठाए । चिठीमा सुमायालाई- अचाक्ली मिस गरेको र चुरोट पिउन छोडेको- कुरा लेखेका थिए ।

चिठी पढेर सुमाया अति नै भावुक बनेकी थिइन् । हिमालय सर- लव र अन्डरस्टान्डिङ्- को सागर नै भएको उनले पहिलोपटक बोध गरेकी थिइन् ।

तर जीवन भन्नु लटरम्म फूलै फूलको डाली मात्रै पनि हैन नि । फूलको हाँगामा काँडा पनि पलाउँछन् ।

केही वर्ष पछि, हिमालय सर टिचिङ् हस्पिटलमा बिमार परेर भर्ना भएछन् । बैनीले भन्दा पो थाहा पाइन् सुमायाले । सुमायालाई थाहै नदिई पल्टनबाट छुट्टिमा आउँदा त्यस्तो भएको ।

एकदिन हिमालय सरले गम्भीर बनेर भनेका थिए, “म दीर्घ रोगी हुन थालेँ सुमाया, तिमी आफ्नो बाटो लाग है ।”

त्यतिबेला उनीहरूको इङ्गेजमेन्ट भैसकेको थियो ।

सुमायाले हिमालय सरको आँखामा हेरेर भनेकी थिइन्, “यदि यही अवस्थामा म भएको भए, तपाईं के गर्नुहुन्थ्यो ?”

त्यसपछि हिमालय सर अक्क न बक्क परेका थिए । शायद त्यही मौनताभित्र उनीहरूको विवाहको लगनगाँठो लुकेको थियो ।

अचानक हिमालय सरले ख्वाक्क खोके । सुमाया झस्किइन् । कम्बल तानेर छातीसम्म पुर्‍याइन् ।

“हजुरलाई थाहा छ सर… दस वर्ष भयो तपाईंले मुखबाट अन्न खानुभएको छैन । मैले पनि मीठा मीठा परिकार बनाउन छोडेँ ।”

उनको आवाजमा एक किसमको मधूर कम्पन थियो ।

उनी फेरि सम्झनामा हराइन् ।

गाईघाटको घर । दाउराको चुलो । लोडसेडिङ । स्वर्गेबास भैसकेका ससुरा र बिमारी सासू । उता माइतमा मट्टितेलको स्टोभ । यता घरमा धुवाँले आँखा पोल्ने अगेना । तर उनले कहिल्यै गुनासो गरिनन् ।

हिमालय सर कहिले हङकङ, कहिले बहराइन । अक्सर खबरै नगरी घर आइपुग्ने । “सरप्राइज” दिन मनपर्ने मान्छे । तर सुमायालाई त्यो सरप्राइजभन्दा एक्लोपन धेरै भारी लाग्थ्यो । गर्भ तुहिँदा, बच्चा जन्मिँदा र बच्चाहरूलाई हुर्काउँदाका एकल र न्यास्रा पलहरूलाई सम्झिइन् ।

त्यो एक्लोपनले आफूलाई कदापि दुर्बल हुन दिइनन् । आशावादी र सकारात्मक सोच लिएर जीवनरुपी गरुङ्गो भारी बोक्दै अघि बढिरहिन् ।

पढिन् । जागिर खाइन् । सामाजिक संगठनको नेतृत्व गरिन् । प्राध्यापक बनिन् । पीएचडी गरिन् ।

तर भावीले अर्को परीक्षा लिएको रहेछ । सासूको बिमारी बढ्दै गयो । हिमालय सर बिमार आमालाई सेवा प्रदान गर्ने उद्देश्यले नोकरी त्यागेर घर आए ।

भूकम्पपछिको विद्यालय पुनर्निर्माण परियोजनामा हिमालय सर काम गर्दा एक स्टाफले सुमायालाई अनुरोध गरेका थिए, “तपाईंका कर्मचारीलाई कमिसन खान दिनुस् भनेर भनिदिनुस् न हिमालय सरलाई ।”

सुमायाले त्यो कुरा साँझ सुत्नेबेलामा हिमालय सरलाई सुनाएकी थिइन् ।

अर्को दिनदेखि हिमालय सर झन् कडा भएर उत्रिए । भ्रष्ट कर्मचारीमाथि कारबाही गर्न शुरु गरे । कर्मठ र निष्ठावान् बनेर देशको सेवा गर्ने अठोट लिए ।

त्यही दिनदेखि उनले आफ्नो पतिलाई “हिमालय सर” भनेर सम्बोधन गर्न थालेकी थिइन् । प्रेमभन्दा माथिको सम्मानले जन्माएको सम्बोधन ।

बाहिर वर्षाको स्वरुप सिमसिमबाट झरझरमा परिणत हुँदै थियो ।

सुमाया उठेर झ्याल बन्द गर्न गइन् । फर्केर आउँदा हिमालय सरको मुन्टो सुमायातिर फर्केला फर्केलाजस्तो थियो । प्राणभन्दा पनि प्यारी पत्नी आफूलाई छाडेर बाहिरिइन् कि भनेर होला । त्यो मायालु अनुहार देखेर सुमायालाई हिमालय सरले पनि आफूले जस्तै आफ्ना विगत सम्झिरहनुभएको छ कि जस्तो लाग्यो ।

छेउमा बसेर बिस्तारै कपाल सुमसुमाउन थालिन् ।

“हिमालय सर… तपाईंले भनेको याद छ ? मलाई हातमा सिसाकलम थमाउँदै- आँखा चिम्म गर र यो कागजमा कोरिएको वृतभित्र एउटा बिन्दु कोर ।”

“मैले त्यो बिन्दु गोलाकारको बाहिर कोरेकी थिएँ । तिमी निष्ठाको परीक्षामा पास भयौ भनेर तपाईंले भन्नुभएको थियो मलाई ।”

आँखिभौं अलिकति हल्लिएको जस्तो बाहेक हिमालय सरको कुनै प्रतिक्रिया आएन । उनी यस्ता दिनचर्यादेखि थाकिसकेकी थिइन् । तर हारेकी भने थिइनन् ।

त्यतिनैखेर छोरा प्रणय र छोरी ज्योत्सना कोठामा प्रवेश गर्छन् । सुमायाको नोस्टाल्जिया भंग हुन्छ । तर छोराछोरीलाई देखेपछि उनको हृदयबाट सबै पीडा विलीन हुन्छ र अनुहारमा एक किसिमको शान्ति छाउँछ ।

यति विघ्न काँडै काँडाबीच पनि आफ्नो पारिवारिक जीवनमा प्रेमभावका फूलहरू फुलाएर बसिरहेकी सुमाया ।

जिन्दगी फूल सम्झे फूलै हो !

(डा. सुमाया राईको प्रकाशित आत्मकथा ‘जिन्दगी फूल सम्झै फूलै हो’मा आधारित)

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.