साहित्यपोस्ट डट कम

कथा: जंगबहादुरको अफ्रिकी पुनर्जन्म

कथा: जंगबहादुरको अफ्रिकी पुनर्जन्म

अध्याय एकः चित्कारको आरोहण

पृथ्वीको कुनै एकान्त कुनाबाट हिमालयको काखमा युगौँदेखि लमतन्न परेर सुतेको एउटा प्राचीन देश, नेपालबाट केही चित्कारहरू ब्रह्माण्डको शून्यमा उक्लिरहेका थिए । ती चित्कारहरू कुनै रकेट वा स्याटेलाइटको धातुनिर्मित देहमा सवार थिएनन्; ती केवल पीडा, निराशा र विक्षोभको अदृश्य यानमा सवार थिए । ती ध्वनिहरू यति तिखा थिए कि तिनले समयको बाक्लो पर्दालाई समेत छेड्न सक्थे ।

पहिलो चित्कार अरबको मरुभूमिबाट आएको थियो । पसिनाले निथ्रुक्क भिजेको एकजना युवाको अन्तिम सुस्केरा थियो, जसले भर्खरै ५० डिग्री सेल्सियसको तापमा अग्लो भवनको सिसा सफा गर्दा लडेर ज्यान गुमाएको थियो । उसको आवाजमा हजारौँ हत्केलाको जलन थियो, जो आफ्नै उर्वर भूमि, आफ्नै कोदोबारी र धानको खेत बाँझो राखेर अर्काको मरुभूमिलाई सिञ्चित गर्न अभिशप्त थिए । त्यो चित्कारले सोधिरहेको थियो— “आफ्नो उर्वर भूमि बाँझो राखेर कहिलेसम्म यो मरुभूमिको बालुवालाई पसिनाले सिञ्चित गर्ने ?” यो आवाजमा रेमिट्यान्सको चम्किलो तथ्याङ्कमा नदेखिने आँसुको नुनिलो स्वाद थियो; यो आवाजमा आफ्ना बालबच्चाको तस्बिर हेर्दै तातो क्याम्पमा सुस्ताउने बाबुको विवशता थियो ।

दोस्रो चित्कार मध्यपूर्वको द्वन्द्वभूमिबाट आयो । यो चित्कार एउटी आमाको थियो, जसको छोरो ’कृषि पढ्न’ भनी इजरायल गएको थियो र हमासको आक्रमणमा पराइको माटोमा, पराइको आस्थाको लडाइँमा मारिएको थियो । उसको चित्कारमा कुनै राजनीतिक सिद्धान्त थिएन, केवल आफ्नो सन्तानको छिन्नभिन्न शरीरको कल्पनाले पैदा गरेको आर्तनाद थियो । “इजरायल र हमासको युद्धमा मेरो निर्दोष छोरो किन शहीद हुने ?” यो प्रश्नमा पराइको बन्दुकले, पराइको झण्डाको लागि रगत बगाउनु परेको एउटा गरिब देशको नियतिको उपहास थियो ।

तेस्रो चित्कार अझै चर्को, अझै भयावह थियो । यो साइबेरियाको चिसोमा जमेको सपनाको आवाज थियो । यो आवाज रुसी सेनाको बङ्करभित्रबाट आएको थियो, जहाँ एकजना नेपाली ठिटो युक्रेनी ड्रोनको निशाना पर्खिरहेको थियो । “दुई विशाल हात्तीको जुधाइमा यो कमिला किन मिचिनु ?” यो आवाजमा आफ्नै देशमा भविष्य नदेखेर, ज्यान हत्केलामा राखेर विदेशी सेनामा भर्ती हुन पुगेको युवाको भ्रम–टुटाइ थियो । “रुस र युक्रेनको लडाइँमा हामी किन भाग लिनु ?”

यी तीन चित्कारहरू, फरक भूगोलबाट आए पनि, तिनको स्रोत एउटै थियो— एउटा सुन्दर राज्य तर त्यसले आफ्ना नागरिकलाई दिन नसकेको सुरक्षा र भविष्यको ग्यारेन्टी ।

अध्याय दुईः देवलोकको कम्पन र आत्मा–अभिलेखागार

जब यी चित्कारहरूको तिखो लहरले अन्तरिक्ष यात्रा तय गर्दै देवलोकको सिमाना छोयो, त्यहाँको शाश्वत शान्तिमा एउटा अनौठो र अप्रत्याशित कम्पन पैदा भयो । इन्द्रको सभामा अप्सराहरूको नृत्य अकस्मात् रोकियो, वायुदेवको गतिमा अवरोध आयो र स्वयम् ब्रह्म, जो सृष्टिको अर्को अध्याय लेख्नमा तल्लीन थिए, उनको कलम रोकियो ।

आफ्नो दिव्य आसनमा ध्यानमग्न देवताहरू एकैसाथ झस्किए । यो कस्तो मानवीय पीडा हो, जसले स्वर्गको जग नै हल्लाइदियो ?

उनीहरूको तेस्रो नेत्र, जो भूत, वर्तमान र भविष्यको ’कस्मिक सिसीटिभी’ थियो, त्यो एकैसाथ पृथ्वीको त्यो सानो भूगोल, नेपालतर्फ सोझियो । उनीहरूले के देखे ?

उनीहरूले देखे— समयको गतिलाई आफ्नो थोत्रो कुर्सीको खुट्टामा बाँध्न खोज्ने जडवत् वृद्धहरूको एउटा झुण्ड ।

उनीहरूले देखे— सत्ताको उन्मादमा र्याल काढेर बसेका, देशको ढुकुटीलाई आफ्नो निजी पेवा सम्झने शासकहरू ।

उनीहरूले देखे— आफ्ना कलिला छोराछोरीलाई विदेशको रणभूमिमा मर्न पठाएर, यहाँ सिंहदरबारको वातानुकूलित कक्षमा बसेर राष्ट्रवादको खोक्रो र वाकवाकी लाग्दो भाषण गर्ने ’देशभक्त’हरू ।

उनीहरूले देखे— हजारौँ ‘जंगबहादुर’ बन्न सक्ने सम्भावना बोकेका युवाहरू, जो कि त त्रिभुवन विमानस्थलको ‘डिपार्चर’ कक्षमा आफ्नो पालो कुरिरहेका थिए, कि त ’सिस्टम’ भनिने अदृश्य जाँतोमा घुनझैँ पिसिएका थिए ।

यो दृश्यले देवताहरूलाई विचलित मात्र बनाएन, क्रोधित पनि तुल्यायो । सृष्टिको यो सुन्दर बगैँचा, ऋषिमुनिहरूको यो तपोभूमि, यस्तो झारपात र विषाक्त लताले कसरी जेलियो ? तत्काल देवसभा बस्यो । विष्णुले गम्भीर हुँदै भने, “हे देवगण, स्थिति नियन्त्रणबाहिर छ । त्यो पुण्यभूमि रसातलमा भाँसिदैछ । अब त्यहाँ कुनै सामान्य, लोकतान्त्रिक वा ‘सिस्टम’मा चल्ने आत्मा पठाएर हुँदैन । त्यहाँका मानिसहरूले लोकतन्त्रको फल चाखिसके, तर त्यसलाई पचाउन सकेनन् । उनीहरूलाई अब ‘अङ्कुश’ चाहिन्छ ।”

शङ्करले आफ्नो डमरु बजाउँदै सहमति जनाए, “सत्य हो, प्रभु । अब नेपाललाई चाहिएको छ एउटा यस्तो आत्मा, जसमा निर्णय लिने अदम्य क्षमता होस् । जसमा क्रूरताको हदसम्मको अनुशासन होस् । जसमा राष्ट्रको सिमाना र आफ्नो शक्तिको परिभाषा आफैँ कोर्ने आँट होस् । हामीलाई अब ‘सिस्टम’ होइन, एउटा ‘मान्छे’ पठाउनु पर्यो ।” ब्रह्मले आँखा खोले । “त्यसोभए इतिहासका पाना पल्टाएर हुँदैन । हामीले आत्माहरूको महा–अभिलेखागार नै खोल्नु पर्छ ।”

त्यो महा–अभिलेखागार, जहाँ प्रत्येक आत्माको ‘डेटा’ सुरक्षित थियो— उसको कर्म, आवेग, शक्ति र उसको कमजोरी । देवताहरूले त्यो अभिलेखागार खोले । लाखौँ, करोडौँ आत्माहरूका फाइल पल्टाइए । बिस्मार्क ? अहँ, बढी नै युरोपेली । नेपोलियन ? बढी नै महत्त्वाकाङ्क्षी, उसले नेपाललाई भन्दा बढी आफैँलाई प्रेम गर्छ । चाणक्य ? उनको कूटनीति बुझ्न सक्ने बौद्धिक वर्ग नै नेपालमा बाँकी छैन । त्यहीँ एउटा अँध्यारो कुनामा, आफ्नो कर्मको फल भोगिसकेर अर्को पालो कुरिरहेको एउटा आत्मामा उनीहरूको नजर पर्यो । त्यो आत्मा शान्त थिएन । त्यो अझै पनि बलिरहेको थियो, सल्किरहेको थियो ।

त्यो आत्मा थियो— जंगबहादुर कुँवर राणाको ।

उसको आत्माको ‘बायोडाटा’ पढियो ।

विशेषता- अदम्य आँट, शून्यबाट शक्ति सिर्जना गर्ने क्षमता ।

प्रमुख कार्यः भारदारहरूको अराजकताबीच कोतपर्वको रगतको गलैँचामा टेकेर सत्ता स्थापित गरेको । ‘मुलुकी ऐन’ लेखेर कानूनको जग बसालेको । भोट (तिब्बत) र बेलायतजस्ता शक्तिलाई आफ्नो हैसियत बुझाएको ।

कमजोरी- चरम व्यक्तिवाद, पारिवारिक मोह, क्रूरता ।

उसको आत्मामा कोतपर्व रगतको आलो गन्ध अझै थियो । बेलायती महारानी भिक्टोरियासँग हात मिलाउँदाको अहम् थियो । उसले लेखेको ‘मुलुकी ऐन’ को मसी अझै सुकेको थिएन । “हो ! यही आत्मा हो नेपाललाई चाहिने !” देवताहरू एकमत भए । “यसको क्रूरताले मात्रै त्यहाँका सत्ता–वृद्धहरूलाई गलहत्याउन सक्छ । यसको अहमले मात्रै विदेशी शक्तिका अगाडि शिर ठाडो पार्न सक्छ । यसको ‘मुलुकी ऐन’को चेतनाले मात्रै देशलाई फेरि एकपटक कानूनमा बाँध्न सक्छ ।”

आदेश जारी भयो । जंगबहादुरको आत्मालाई तत्काल ‘रिलिज’ गरियोस् । गन्तव्यः नेपाल ।

अध्याय तीनः आत्माको ‘मिस–डेलिभरी’

तर, नियतिको खेल भनौँ वा देवलोकको प्रशासनिक भुल !

जुन कनिष्ठ देवता, ‘प्रवाह’लाई त्यो आत्मा पृथ्वीमा ‘डेलिभर’ गर्ने जिम्मा दिइएको थियो, शायद उनी अघिल्लो रात सोमरसको नशामा थिए । वा, इन्द्रसभामा उर्वशीको नृत्यमा यति मोहित भए कि उनको ध्यानै भङ्ग भयो ।

जंगबहादुरको त्यो उग्र आत्मा–गोलीलाई उनले आफ्नो दिव्य प्रक्षेपण–यन्त्रमा राखे । गन्तव्य ‘लक’ गरे— काठमाडौँ, नेपाल । तर प्रक्षेपण गर्ने अन्तिम बटन थिच्नै लाग्दा, नजिकैबाट मेनका हाँस्दै हिँडिन् । प्रवाहको हात एक पलका लागि काँप्यो ।

मात्र एक पल ।

ब्रह्माण्डीय समयमा एक पलको गल्तीले युगौँको दूरी सिर्जना गर्दछ ।

त्यो आत्माको पिण्ड कुनै उल्काजसरी समय र स्थानको अनन्त सागरमा हुत्तियो । सगरमाथाको आकाशमा चम्किनुपर्ने त्यो तारा, आफ्नो ‘जी.पी.एस.’ बाट भड्किएर, उछिट्टिएर अफ्रिकाको तातो, शुष्क हावामा बिलाउन पुग्यो ।

त्यो आत्मा, जुन नेपालको चित्कार सुनेर पठाइएको थियो, त्यो भुलबस यताको उता, पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोको मरुभूमि–ग्रस्त आकाशमा पुग्यो ।

त्यो आत्माको यात्रा कस्तो रह्यो होला ?

के उसले बाटोमा नक्षत्रहरूलाई सोध्यो होला, “हनुमानढोका जाने बाटो यतै हो ?” के उसले आकाशगंगामा भौँतारिँदा आफ्नो श्रीपेच हराएको झोँकमा कुनै ग्रहलाई सराप्यो होला ? के उसले मिल्की–वेको धुलोलाई ‘सदरजङ्ग’ वा ’बमबहादुर’ भनेर बोलायो होला ?

त्यो आत्मा, जो बाग्मतीको किनारमा जल्दै गर्दा नेपालको भविष्यबारे सोचिरहेको थियो, त्यो अहिले भोल्टा नदीको किनारमा, एउटा गरिब झुपडीमा, एक बर्को ओढेको बालकको शरीरमा ब्युँझियो ।

उसले पहिलो पटक आँखा खोल्दा हरियो, शीतले भिजेको काठमाडौँ उपत्यकाको साटो, पहेँलो, तातो र धुलाम्मे सवाना घाँसे मैदान देख्यो । उसले माटोको घर र पर–पर देखिने बाओबाबका रूखहरू देख्यो । शायद ऊ आफैँ पनि छक्क पर्यो होला— “यो कुन देश हो ? मेरा भारदारहरू खोइ ? मेरो सेतो घोडा खोइ ? र… र यो घाम यति चर्को किन छ ?”

उसको बालसुलभ रुवाइमा पनि एउटा अनौठो सत्ताको हठ र आदेशको ध्वनि थियो ।

अध्याय चारः अफ्रिकी संस्करण – ‘क्याप्टेन जंगे’

अनि शुरु भयो जंगबहादुरको अफ्रिकी संस्करण । नामः इब्राहिम त्राओरे ।

शरीर र वर्ण फरक । छालाको रङ कालो, भाषा फ्रेन्च र स्थानीय मोसी । तर भित्रको ‘सफ्टवेयर’… त्यो त उही जंगबहादुरकै थियो । त्यही जवानीको आवेग, त्यही सैन्य अनुशासन, त्यही सत्ता कब्जा गर्ने अदम्य इच्छा ।

उसको बाल्यकाल अनौठो थियो । ऊ अरू केटाकेटीजस्तो खेल्दैनथ्यो । ऊ साथीहरूलाई जम्मा गर्थ्यो, उनीहरूलाई ‘पल्टन’मा विभाजन गर्थ्यो र काठको बन्दुक बोकाएर ‘परेड’ खेलाउँथ्यो । ऊ नक्सा कोर्नमा माहिर थियो । उसले आफ्नो गाउँको नक्सामा अनौठा नामहरू लेख्थ्यो— कतै ‘थापाथली’ त कतै ‘टुँडिखेल’ । उसका बाबुआमाले सोचे, छोरोलाई युद्धको भूत चढेछ । तिनले छोरालाई सेनामा भर्ना गरिदिए । सेनामा, त्यो ’सफ्टवेयर’ सक्रिय भयो ।

जसरी १९औँ शताब्दीको नेपाल भारदारहरूको अविश्वास, हत्या, हिंसा र षड्यन्त्रको तुवाँलोले ढाकिएको थियो, त्यसरी नै २१औँ शताब्दीको बुर्किना फासो जिहादी आतंकले थलिएको थियो । राजनीतिक अस्थिरताले देश मक्किइसकेको थियो । फ्रान्सको नव–उपनिवेशको छायाले देशको निर्णय क्षमतालाई पंगु बनाएको थियो ।

जसरी जंगबहादुरले त्यो अराजकताका बीचमा, कोतको आँगनमा रगतको गलैँचा ओछ्याएर शक्ति आफ्नो हातमा लिए, त्यसरी नै त्राओरेले पनि ३४ वर्षको कलिलो उमेरमा, एक गुमनाम सैन्य क्याप्टेनको रूपबाट एकाएक देखा परे । उनले एकै रातमा, बन्दुकको नालले पुरानो सत्ताको निधारमा पूर्णविराम कोरिदिए ।

समानान्तरहरू अचम्मलाग्दा थिएः

जंगबहादुर बेलायती साम्राज्यको दबदबालाई सन्तुलनमा राख्न चाहन्थे । उनी झुकेनन्, बरु बराबरीको हैसियतमा हात मिलाए । त्राओरे फ्रान्सको औपनिवेशिक छायालाई लात हान्दै आफ्नो देशको सार्वभौमिकताको नयाँ परिभाषा लेखिरहेका छन् । उनले फ्रान्सेली सेनालाई देश निकाला गरे र रुसतिर हात बढाए— यो शुद्ध ’जंगे’ कूटनीति थियोः “दुश्मनको दुश्मन, मेरो साथी ।” जंगबहादुरले ‘जंगे पिलर’ गाडेर आफ्नो सिमानाको हेक्का राख्थे ।

त्राओरे आफ्नो देशको प्राकृतिक स्रोत (सुन, युरेनियम) माथि विदेशी नियन्त्रण समाप्त पार्दै आर्थिक सिमानाको हेक्का राखिरहेका छन् । दुवैको रगतमा पराइको थिचोमिचो सहनै नसक्ने एउटै आगो दन्किरहेको छ । दुवैको अनुहारमा एउटा अनौठो आत्मविश्वास र आवश्यक पर्दा प्रयोग गरिने क्रूरताको स्पष्ट छाया देखिन्छ । लाग्छ, त्राओरे जब राति सुत्छन्, उनको सपनामा फ्रान्सेली भाषाको साटो खस–नेपाली भाषामा कुनै भारदारले रिपोर्ट सुनाइरहेको हुन्छः “सरकार ! ल्हासामा हाम्रो बेइज्जत भयो । भोटले हाम्रो मान्छे लुट्यो सरकार !”

उनी झसङ्ग ब्युँझिन्छन् । उनको मुटु ढुकढुक हुन्छ । उनी आफ्नो ओछ्यानमा भोट वा बेलायतको नक्सा खोज्न थाल्छन्, तर उनको हातमा बुर्किना फासोको नक्सा मात्र पर्छ । उनलाई लाग्छ, “भोट ? त्यो कहाँ छ ?”

शायद उनलाई कहिलेकाहीँ अचानक ‘दाल–भात–तरकारी’ खान मन लाग्दो हो, तर उनको भान्छामा त्यो सब पाक्दैनथ्यो । कहिलेकाहीँ भाषण दिँदादिँदै उनको मुखबाट “के छ तँलाई ?” वा “चुप लाग् !” जस्ता कडा खस शब्द फुत्किन खोज्दा उनी जिब्रो टोक्छन् । ऐना हेर्दा आफ्नै अनुहारमा जुँगाको धमिलो आकृति देख्दा उनी आफैँ तर्सिंदा हुन् ! उनलाई लाग्दो हो, “मेरो यो रातो बर्को (जुन उनी प्रायः लगाउँछन्) को सट्टामा मेरो त्यो सुनौलो श्रीपेच खोइ ?”

अध्याय पाँचः ‘कस्मिक’ ठट्टा र देवलोकको आपत्कालीन बैठक

यो नियतिको एउटा ’कस्मिक’ ठट्टा हो । एउटा गल्तीले दुई फरक महादेश, दुई फरक शताब्दी र दुई फरक संस्कृतिलाई एउटै धागोमा बाँधिदिएको छ । हामी यहाँ पृथ्वीमा बसेर ‘ग्रेट रिसेट’ र ‘नयाँ विश्व व्यवस्था’ को गम्भीर कुरा गर्छौं, तर माथि देवलोकमा बसेका कुनै ‘बटरफिङ्गर’ देवताले आत्माको एउटा सानो डल्लो यताउता पार्दा इतिहास कसरी दोहोरिन्छ भन्ने यो एउटा जीवन्त, अतियथार्थवादी उदाहरण हो ।

जंगबहादुरको आत्माको यो ‘मिस–डेलिभरी’ले देवलोकमा भने ठूलै हल्लीखल्ली मच्चाएको छ । सृष्टिको सफ्टवेयरमा आएको यो ‘बिग बग’ सुधार्न देवताहरूको आपत्कालीन बैठक बसिरहेको छ । त्यो कनिष्ठ देवता ‘प्रवाह’को त जागिरै धरापमा परेको छ । उनीहरूको अगाडि अहिले एउटा नयाँ र झनै पेचिलो प्रश्न छः “जंगेको आत्मा त अफ्रिका पुगिहाल्यो, अब नेपालमा कसलाई पठाउने ?” नेपालको भूमिबाट आइरहेको त्यो चित्कार अझै मत्थर भएको छैन, बरु झन् चर्को हुँदै गएको छ । सभामा गम्भीर बहस चलिरहेको छ । एकजना कनिष्ठ, तर क्रान्तिकारी सोचका देवताले हच्किँदै प्रस्ताव राख्छन्, “प्रभु ! एउटा आँट गरौँ कि ?… त्यो हिटलरको आत्मालाई ‘एन्टी–सेप्टिक’ झोलमा डुबाएर, उसको जातीय घृणाको भाइरसलाई ‘डिसइन्फेक्ट’ गरेर, शुद्धीकरण गरेर पठाइदिऊँ कि ? उसको एकदलीय, तानाशाही आवेगले शायद यहाँका कुर्सी–मोहमा अल्झेका सत्ता–वृद्धहरूलाई गलहत्याएर बाहिर निकाल्न सक्थ्यो कि !”

सभामा एकछिन सन्नाटा छाउँछ । शङ्कर, जो विनाशका देवता हुन्, उनी मुस्कुराए । “विचार नराम्रो होइन । कहिलेकाहीँ सिर्जनाका लागि पहिला पूर्ण विनाश आवश्यक हुन्छ ।” विष्णुले तत्काल प्रतिवाद गरे । “हुँदैन,” उनले गम्भीर हुँदै भने, “हिटलरको ‘डीएनए’मा रहेको जातीय घृणा र नरसंहारको भाइरस पूर्ण रूपमा शुद्धीकरण हुन सक्दैन । त्यो भाइरसले नयाँ नेपाल बनाउनुको साटो झन् भस्मासुर पो जन्माउला । हामीलाई ‘डिस्ट्रोयर’ मात्र होइन, ‘क्रिएटर’ पनि चाहिएको छ ।”

तेस्रो देवता, जो प्रविधि र व्यवस्थापनमा दखल राख्छन्, (शायद विश्वकर्मा स्वयम्) बोल्छन्, “त्यसोभए सिंगापुर बनाउने ली क्वान यूको आत्मा कस्तो होला ? विकास र अनुशासनका पर्याय हुन् उनी ।”

ब्रह्मले दाह्री मुसार्दै भने, “ली क्वान यू हुनसक्छ । तर उनको आत्मामा प्रजातन्त्रप्रति अलि बढी नै वितृष्णा छ । उनको ‘सिङ्गल–पार्टी’ मोडलले नेपालको भर्खरैको गणतन्त्र नै धरापमा पार्ला । फेरि, नेपालीहरू अनुशासनमा बस्न होइन, गफ गर्नमा बढी रुचि राख्छन् । ली क्वान यूको आत्मा त्यहाँ पुग्नासाथ ’डिप्रेसन’मा जानेछ ।” बहस लम्बिँदै जान्छ । उनीहरू लेनिन, चर्चिलदेखि लिएर स्टिभ जब्ससम्मका आत्माहरूको ‘बायोडाटा’ पल्टाइरहेका छन् । कोही भन्छन्, “भ्लादिमिर लेनिनलाई पठाऔँ ! वर्ग–संघर्षको अन्त्य गर्लान् ! त्यहाँ धनी र गरिबबीचको खाडल ठूलो छ ।” अर्काले प्रतिवाद गर्छन्, “अहँ, हुँदैन । नेपालले भर्खरै एउटा गृहयुद्ध भोगेको छ । लेनिनको आत्माले अर्को दशक लामो गृहयुद्ध मात्रै निम्त्याउला । फेरि, उनले सबैको सम्पत्ति राष्ट्रियकरण गर्दा त्यहाँका ‘दलाल पुँजीपति’हरूले उनलाई नै सिध्याइदिनेछन् ।”

“विन्स्टन चर्चिल नि ?” अर्को प्रस्ताव आउँछ । “वाकपटुतामा अब्बल । दोस्रो विश्वयुद्ध जिताएका नेता हुन् ।” “झन् हुँदैन !” विष्णु झर्किए । “चर्चिल अतिशय पश्चिमा–परस्त छन् । उनले नेपाललाई सिधै लगेर ‘नेटो’ वा ‘अकस’मा भर्ना गरिदिनेछन्, जसले गर्दा उत्तर र दक्षिणका दुवै छिमेकी एकैसाथ चिढिनेछन् । नेपालको भूगोलले त्यो धान्न सक्दैन ।” “लौ, त्यसो भए स्टिभ जब्सको आत्मा पठाऔँ”, प्रविधि–देवताले फेरि भने । “उनले देशलाई ‘इनोभेट’ गर्छन् । नेपाललाई ‘एप्पल’ जस्तै सफल ब्रान्ड बनाइदिन्छन् ।” यसमा त ब्रह्म नै हाँसे । “जब्सले देश त बनाउलान्, तर त्यो देश ‘युजर–फ्रेन्ड्ली’ हुने छैन । उनले सबै पुराना संरचनालाई ‘आउटडेटेड’ भन्दै भत्काइदिनेछन् तर नयाँ ‘अपरेटिङ सिस्टम’ यति महँगो हुनेछ कि सर्वसाधारणले किन्नै सक्ने छैनन् । उनले सिंहदरबारलाई ‘ग्लास हाउस’ बनाउलान् तर भित्रको ‘सफ्टवेयर’मा उही ‘बग’ रहिरहनेछ ।”

देवसभा अहिले पनि जारी छ । उनीहरूले अझै कुनै निर्णय लिन सकेका छैनन् । कोही ‘चाणक्य’ पठाउने भन्छन्, कोही ‘बिस्मार्क’ ।

प्रतीक्षाको अनन्त घडी ! र यता पृथ्वीको यो सानो कुनामा, हामी नेपालीहरू । हामी कहिले खाडीको तातो हावामा, कहिले युक्रेनको चिसो बङ्करमा, त कहिले काठमाडौँको धुलाम्मे सडकमा दिक्क भएर आकाशतिर हेर्दै सोच्छौँ— हाम्रो भागको त्यो ‘राइट डेलिभरी’ चाहिँ कहिले आइपुग्ला ? वा… कतै देवताहरूले हाम्रो देशको ठेगाना नै आफ्नो ‘कस्मिक म्याप’ बाट सधैँका लागि हटाइसके कि ? कतै हाम्रो भाग्यमा ‘डेलिभरी’ नै नलेखिएको पो हो कि ? यसैबीच, पश्चिम अफ्रिकाबाट खबर आइरहेको छ— “क्याप्टेन इब्राहिम त्राओरेले आफ्नो देशको सुन खानीहरूलाई राष्ट्रियकरण गर्ने घोषणा गरेका छन् ।” यो खबर सुन्दा, काठमाडौँको कुनै चियापसलमा बसेको एक इतिहासको विद्यार्थीले अनायासै भन्छ, “गजब ! यो त ठ्याक्कै जंगेले बेलायतीलाई थर्काएजस्तै भयो नि !”

उसलाई के थाहा, यो संयोग होइन, यो त देवलोकको एउटा सानो भुलबस सिर्जित ‘अतियथार्थवादी चिन्तन’को वास्तविक प्रतिफल हो । जंगबहादुरको आत्माले आफ्नो गन्तव्य त भेट्टाएको छ तर गलत ठेगानामा । हामीचाहिँ सही ठेगानामा, गलत मानिसहरूको भीडमा, सही ‘डेलिभरी’को अनन्त प्रतीक्षामा छौँ ।

ट्याग: कथा
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.