साहित्यपोस्ट डट कम

कथा: जब घमण्ड चुक्यो

कथा: जब घमण्ड चुक्यो

असारको साँझ थियो । कालो बादलले आकाश गुम्सिएको थियो । दिनभरि परेको झरी केही रोकिएजस्तो लागे पनि सडक भिजेको थियो । बिजुलीका खम्बाबाट पानीका थोपा तपतप झरिरहेको थियो । पसलका साइनबोर्ड पानीमा चम्किरहेका थिए । सडकभरि गाडीका टायरले पानी उछिट्याउँदै हतारको आवाज निकालिरहेको थियो ।

रत्नपार्कको बस स्टप सधैँझैँ कोलाहलले भरिएको थियो । कोही छाता समातेर उभिएका थिए । कोही मोबाइल हेर्दै बस कुरिरहेका थिए । कोही चिया पसलमा ओत लागिरहेका थिए ।

त्यत्तिकैमा हाम्रो अगाडि एउटा पुरानो हरियो बस आएर रोकियो । बस रोकिएलगत्तै यात्रुहरूको भीड समुद्रको छालझैँ उर्लियो । ओर्लिने र चढ्ने यात्रुबीच तँछाडमछाड मच्चियो ।

त्यही भीडबीच एक महिला थिइन्— प्रणिता ।

उनको नामजस्तै अनुहारमा शान्त पूर्णता झल्किन्थ्यो । उनले हल्का गुलाबी कुर्ता लगाएकी थिइन् । काँधमा झोला थियो, अनि आँखामा दिनभरिको थकान । उनी एक निजी विद्यालयमा संगीत सिकाउँथिन् । स्वरले मानिसको मन छुन सक्ने ती महिला स्वभावले पनि अत्यन्त मृदुल थिइन् ।

मुश्किलले उनी बसभित्र छिरिन् । भित्र खुट्टा टेक्ने ठाउँसमेत थिएन । माथिको फलामे डन्डी समातेर उभिइन् । अरू यात्रुहरू पनि त्यसरी नै अडिएका थिए ।

बसभित्र पसिनाको गन्ध, भिजेका कपडाको चिसोपन र मानिसहरूको गुनगुनाहट मिसिएको थियो । बाहिर पानी परिरहे पनि बसभित्र अधिकांश यात्रुले गर्मी महसूस गरिरहेका थिए ।

नजिकैको सिटमा दुई पुरुष बसेका थिए ।

एक थिए हाडजोर्नी विशेषज्ञ— डाक्टर सुगम । अर्का थिए अधिवक्ता— निश्चल ।

दुवै अपरिचित थिए । बसको यात्रामा कहाँ सबै चिनेजानेका हुन्छन् र !

सुगम अस्पतालबाट ड्युटी सकेर फर्किरहेका थिए भने निश्चल अदालतको बहस सकेर घरतिर लागेका थिए ।

बस चल्न नपाउँदै फेरि बाहिरबाट यात्रुहरू हतारिँदै चढ्न थाले। आजकल ठूलो शहरमा भीड अत्यधिक बढ्दै गएको थियो ।

त्यही भीडसँगै एक युवक यात्रुलाई धकेल्दै बसभित्र पस्यो ।

उसको नाम थियो—प्रबल । उसको शरीर बलिष्ठ थियो । कालो टिसर्टभित्र मांसपेशी स्पष्ट देखिन्थे । पाखुरामा ठूलो ट्याटु थियो । आँखा कठोर थिए, अनुहारमा उद्दण्डता झल्किन्थ्यो ।

“ए, साइड ! साइड !” भन्दै ऊ अघि बढ्न खोज्यो । कुहिनो र काँधले यात्रुहरूलाई बेसरी धकेलिरह्यो ।

अचानक उसको बलियो धक्का प्रणितामाथि पर्‍यो ।

“आऽह !”

प्रणिताको शरीर नियन्त्रणबाहिर हुत्तियो । उनी लड्न लागेकी थिइन्, तर उनको कम्मर बसको फलामे सिटको हत्थामा जोडले ठोक्कियो ।

टन्न आवाज आयो ।

उनको अनुहार क्षणभरमै फुस्रो भयो । हातको पकड छुट्नै लागेको थियो ।

डाक्टर सुगम झसङ्ग भए । उनी तुरुन्त उठे ।

“सावधान !” भन्दै उनले प्रणितालाई समातेर आफू बसेको सिटमा बसाए ।

प्रणिता सिटमा बसिन्, तर पीडाले उनको अनुहार खुम्चिएको थियो ।

उता निश्चलले प्रबललाई तीखा आँखाले हेरे ।

“तपाईं आँखा खोलेर हिँड्न सक्नुहुन्न ?”

प्रबल झर्कियो ।

“भीडमा यस्तै हुन्छ !” उसको स्वर अहंकारले भरिएको थियो ।

“भीडमा मान्छेलाई घाइते बनाउन पाइन्छ ?” निश्चलको स्वर कठोर भयो ।

बसभित्र केहीबेर मौनता छायो । यात्रुहरू उत्सुकताका साथ त्यतैतिर हेरिरहेका थिए ।

सुगमले प्रणिताको अवस्था हेर्दै सोधे, “दुखाइ धेरै छ ?”

“कम्मर… धेरै पोलिरहेको छ ।”

सुगमको अनुभवले संकेत दिइरहेको थियो—यो सामान्य चोट थिएन ।

“उभिन सक्नुहुन्छ ?”

प्रणिताले प्रयास गरिन्, तर फेरि पीडाले कराइन् ।

सुगम गम्भीर भए ।

“हड्डीमा चिरा परेको हुन सक्छ ।”

यो सुन्नेबित्तिकै केही यात्रुहरूले प्रबलतिर घुरेर हेर्न थाले ।

प्रबल अझै जिद्दी मुद्रामै थियो ।

“मैले जानाजान गरेको होइन ।”

निश्चलले शान्त तर धारिलो स्वरमा भने, “जानाजान नभए पनि जिम्मेवारीबाट भाग्न पाइँदैन ।”

बाहिर झन् जोडले पानी परिरहेको थियो । बिजुली चम्कँदा बसका झ्यालहरू क्षणभर सेता भएर टल्किन्थे ।

सुगमले चालकलाई भने, “भाइ, नजिकको अस्पतालमा रोक्नुस् । बिरामीको अवस्था ठीक छैन ।”

केही मिनेटपछि बस ट्रमा सेन्टरअगाडि रोकियो । अझै झमझम पानी परिरहेको थियो । सडकबत्तीको उज्यालो पानीमा टुक्रिएर चम्किरहेको थियो ।

सुगम र निश्चलले मिलेर प्रणितालाई सावधानीपूर्वक बसबाट ओराले । प्रणिताका खुट्टा थर्थर काँपिरहेका थिए ।

प्रबल पनि बसबाट ओर्लियो । यसपटक उसको अनुहारमा पहिलेको उग्रता थिएन ।

“म पनि आउँछु,” उसले बिस्तारै भन्यो ।

निश्चलले उसलाई हेरे ।

“आउनै पर्छ, नत्र प्रहरीद्वारा झिकाउन सकिन्छ ।”

अस्पतालको आकस्मिक कक्ष भीडले भरिएको थियो । घाइतेहरूको कराहट, स्ट्रेचर गुडेको आवाज र नर्सहरूको दौडधूपले वातावरण तनावपूर्ण देखिन्थ्यो ।

सुगम डाक्टर भएकाले अस्पतालका कर्मचारी र चिकित्सकहरूले उनलाई चिन्थे । उनलाई देख्नासाथ स्टाफहरूले तुरुन्त सहयोग गरे ।

प्रणितालाई एक्स–रे कक्षमा लगियो ।

बाहिर कुर्दै गर्दा निश्चलले प्रबललाई सोधे, “के गर्नुहुन्छ तपाईं ?”

“व्यायाम प्रशिक्षक,” उसले छोटो उत्तर दियो ।

“शरीर बलियो बनाउनु राम्रो कुरा हो,” निश्चलले भने, “तर बलले अरूलाई चोट दिन थालेपछि त्यो शक्ति होइन, आफ्नै लागि घातक बन्न सक्छ ।”

प्रबल चुप रह्यो ।

शायद पहिलोपटक कसैले उसको शक्तिलाई प्रशंसा होइन, जिम्मेवारीको दृष्टिले हेरेको थियो ।

उसले टाउको झुकायो । उसको घमण्ड भित्रैबाट चर्किन थाल्यो ।

उसको मन अनायासै विगततिर फर्कियो । सानैमा ऊ आफ्नी दिदीसँग निकै नजिक थियो । दिदीसँग खेल्दै, रमाउँदै बित्ने बाल्यकाल अचानक उनको मृत्यु भएपछि सुनसान बनेको थियो । त्यसपछि ऊ बिस्तारै झर्किने, रिसाउने र साथीहरूसँग झगडा गर्ने स्वभावतिर ढल्किँदै गयो । समय बित्दै जाँदा उसले कठोर बन्नुलाई नै शक्ति सम्झिन थाल्यो । त्यही रुखोपनले आज उसलाई यो अवस्थामा पुर्‍याएको थियो ।

केहीबेरपछि रिपोर्ट आयो ।

सुगमको अनुहार गम्भीर भयो ।

“कम्मरको हड्डीमा सामान्य चिरा परेको छ । फ्र्याक्चर होइन, तर सावधानी अपनाउनुपर्छ ।”

प्रणिताको आँखामा डर झल्कियो ।

“निको हुन्छ ?”

“हुन्छ,” सुगमले आश्वस्त पार्दै भने, “तर केही हप्ता आराम गर्नुपर्छ ।”

निश्चलले प्रबलतिर हेरे ।

“अब बुझ्नुभयो ?”

प्रबलको अनुहार मलिन भयो ।

“म… मैले यति ठूलो चोट लाग्ला भनेर सोचेकै थिइनँ ।”

“गल्तीको आकार नियतले होइन, परिणामले देखाउँछ,” निश्चलले भने ।

प्रबलको शिर निहुरियो । पछुतो मानिरहेको थियो शायद ।

★★★

उपचार शुरु भयो । औषधि, एक्स–रे, बेल्ट र जाँच—सबै गर्दा खर्च बढ्दै गयो ।

प्रणिताले झोलाभित्रको पर्स समातिन् ।

उनको स्वर कमजोर थियो ।

“मसँग त्यति पैसा छैन…”

त्यसैबेला प्रबल अघि बढ्यो ।

“सबै खर्च म तिर्छु ।”

सुगम र निश्चल दुवैले उसलाई हेरे ।

निश्चलले सोधे, “दबाबले हो कि जिम्मेवारीबोधले ?”

प्रबल केही क्षण मौन रह्यो ।

“जिम्मेवारी महसूस भएर,” उसले बिस्तारै भन्यो ।

“आज मैले बुझेँ,” उसले आँखाभरि आँशु लिएर बिस्तारै भन्यो, “बलियो हुनु भनेको अरूलाई दबाउनु होइन, जोगाउनु रहेछ ।”

उसले आफ्नो एटीएम कार्ड निकाल्यो । सबै उपचार खर्च उसैले तिर्‍यो ।

त्यसैबेला प्रणिताको मोबाइल बज्यो ।

फोन उनकी आमाको थियो ।

“छोरी, कहाँ छस् ?”

प्रणिताले कमजोर स्वरमा सबै घटना सुनाइन् ।

करिब आधा घण्टापछि अस्पतालमा उनका बुबा, आमा र सानो भाइ आइपुगे ।

आमा आतुर हुँदै छोरीतिर दौडिइन् ।

“कस्तो भयो, नानी ?”

बुबाको अनुहार चिन्ताले भरिएको थियो ।

सुगमले शान्त स्वरमा सबै अवस्था बुझाए ।

“डराउनुपर्ने अवस्था छैन, तर केही समय आराम गर्नुपर्छ ।”

प्रणिताका बुबाले हात जोड्दै भने, “डाक्टर साब, वकिल साब ! तपाईंहरू नभएको भए के हुन्थ्यो कुन्नि…”

निश्चलले मुस्कुराउँदै भने, “हामीले गर्नुपर्ने कर्तव्य मात्र गरेका हौँ ।”

त्यतिबेला प्रबल केही पर उभिएको थियो । उसको टाउको झुकेको थियो ।

प्रणिताकी आमाले उसलाई देखेर सोधिन्, “यिनै हुन् ?”

प्रबलको अनुहार झन् मलिन भयो ।

उसले अघि बढेर बिस्तारै भन्यो, “माफ गर्नुहोस्, अंकल, आमा… मेरो कारणले यस्तो भयो । तपाईंहरूले मलाई जे सजाय दिए पनि म स्वीकार्छु ।”

कोठाभित्र केही क्षण मौनता छायो । प्रबलको त्यो वाक्यले शायद सबैको मन छोयो ।

प्रणिताका बुबाले उसलाई ध्यानपूर्वक हेरे ।

उनी रिसाउन खोजिरहेका थिए, तर युवकको अनुहारमा देखिएको पश्चातापले उनको क्रोध बिस्तारै पग्लिँदै गयो ।

“गल्ती ठूलो भयो, बाबु । तर गल्ती स्वीकार गर्ने साहस सबैसँग हुँदैन । तिमीले त्यो साहस देखायौ । त्यो तिमीभित्रको सुधारयोग्य गुण हो । अब तिमीमा नम्रताको शुरुवात भइसकेको छ । मलाई विश्वास छ— अब तिमीबाट यस्ता गल्ती दोहोरिने छैनन् ।”

प्रबलका आँखामा आँशु टिलपिलाए ।

शायद जीवनमा पहिलोपटक उसले आफूलाई साँच्चिकै कमजोर महसूस गरिरहेको थियो ।

प्रणिताले प्रबललाई हेरिन् ।

हिजो बसभित्र देखिएको उद्दण्ड युवक अहिले बिल्कुलै फरक देखिएको थियो ।

“तपाईंको घरमा दिदीबहिनी छैनन् ?”, उनले सोधिन् ।

प्रबल केहीबेर मौन रह्यो ।

“दिदी थिइन्… सानैमा बितिन् । त्यसपछि म कठोर बन्दै गएँ । मलाई लाग्थ्यो, नरम हुनु भनेको कमजोर हुनु हो ।”

प्रणिताको आँखामा करुणा भरियो ।

उनले बिस्तारै आफ्नो हात अगाडि बढाइन् ।

“आजदेखि म तिम्री दिदी ।”

प्रबल झसङ्ग भयो ।

“दिदी ?”

“हो,” प्रणिताले हल्का मुस्कुराउँदै भनिन्, “तर एउटा सर्तमा । अब तिमीले कसैलाई चोट पुर्‍याउन होइन, जोगाउन आफ्नो शक्तिको प्रयोग गर्नुपर्नेछ ।”

प्रबलका आँखाबाट आँशु झर्‍यो ।

उसले काँपिरहेको हातले प्रणिताको हात समात्यो ।

“वाचा गर्छु, दिदी ! अब म आफूलाई सुधार्नेछु । विश्वास गर्नुहोस्, यो मेरो प्रतिज्ञा भयो ।”

कोठाभित्र अनौठो शान्ति फैलियो ।

सुगमले मुस्कुराउँदै निश्चलतिर हेरेर भने— “कानूनले सजाय दिन सक्ला, तर सम्बन्धले पनि मान्छे बदल्न सक्छ ।”

भारी वर्षा बिस्तारै थामिँदै थियो । आकाशमा बादल फाट्दै थिए ।

बिहानको हल्का घाम अस्पतालको झ्यालबाट भित्र पस्यो । प्रणिताको बेडछेउ उज्यालो भयो ।

त्यो उज्यालो केवल कोठाभित्र मात्र सीमित थिएन । त्यो एउटा उद्दण्ड युवकको चेतनाभित्र पनि बिस्तारै फैलँदै थियो ।

प्रणिताले सुगम, निश्चल र प्रबलतिर हेरेर भनिन्— “भाइहरू हो ! तिमीहरू एकजुट भएर काम गर्‍यौ भने यो समाजलाई उन्नत बनाउन एउटा इँटा थप्न सक्छौ ।”

तिनै जनाले एकैसाथ भने— “तपाईंको यो आशीर्वाद हामीलाई लागोस्, दिदी !”

अस्पतालको कोठाभित्र आत्मीयता र खुशी फैलियो । प्रणिताका आमाबुबा र भाइ पनि मुस्कुराइरहेका थिए । मानौँ पूरै कोठा मुस्कानले उज्यालिएको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.