दोबाटोमा उभिएर तृतीय पुरुष
साधु : मन्दिर जाने बाटो कतातिर छ ?
बौलाहा : मेरो घर पनि एकदिन मन्दिर थियो ।
साधु : मन्दिरको मूर्ति कस्तो छ ?
बौलाहा : कुनै स्वरूप छैन ईश्वरको, जस्तो खोज्यो उस्तै पाइन्छ । मभन्दा अग्लो त छैन ईश्वर, निश्चय पनि ।
साधु : हे ईश्वर ! यो मान्छेलाई सुमति देऊ । तिम्रै लीला हो प्रभू !
बौलाहा : लीला र म दौँतरी हौँ । कहाँ छे होली यसबेला ऊ । तपाईँ लीलालाई जान्नुहुन्छ ?
साधु : के फसाद् ! बौलाहा रहेछ यो मान्छे त ।
बौलाहा : ईश्वर पनि बौलाहा हो । नभए, तपाईँ जस्ता मानिसहरू उसले सिर्जना गर्न थिएन होला । कस्तो बेलामा जन्म भएको हो तपाईँको कुन्नि !
साधु : जन्म र मृत्यु त उसैको हातमा छ । यो पृथिवी क्षणभङ्गुर हो, हामी मात्र कठपुतली हौँ, नाचिरहने ।
बौलाहा : जन्मिहाल्नु भयो जब केही राम्रो काम गरेर जानुहोस् । नभए, अन्ततः राम्रो कुरो सोच्ने त गर्नुहोस् । मर्ने कुरो किन गर्नुहुन्छ ? छिः ।
साधु : भयो, अब म सोद्धिनँ मन्दिर जाने बाटो ।
बौलाहा : यहाँ मन्दिर कहाँ छ र ! यी सबै ढुङ्गा, बालुवाले बनाएका पर्खाल हुन् । कत्ति निस्सासिएको छ त्यो पत्थरको मूर्ति पनि । बिचरा !
साधु: तपाईँ चैं को हो नि ?
बौलाहा : म ईश्वरको अनिष्ट चाहन्नँ ।
...
दोस्रो पुरुषमा प्रेमको परिणति
- हजारौं युगको साक्षी राखेर मैले तिमीलाई दिएको वचन राख्न भरसक प्रयास गरेँ । तर त्यो मेरो कस्तो भूल थियो । साँचो मनको स्वच्छ प्रेमको परिभाषालाई तिमीले निमेषमा नै च्यातिदियौ । म के भनूँ ? एउटा रागात्मक द्वन्द्वलाई केन्द्रित पारेर टुक्रिएको सपनालाई के फेरि हामी त्यसरी नै सजाएर राख्नसक्छौ होला, अनुभव ?
- त्यो मेरो भूल थिएन । शायद ईश्वरले नै चाहेको थिएन, हाम्रो प्रेमको अपूर्व क्षणलाई । बहाना मात्र थियो त्यो । भयो, तिमी जुन बाटो भएर आनन्दको खोजीमा हिँडिरहेकी छ्यौ, म पनि अघि बढेको थिएँ त्यसरी नै, आफ्नो सुकिलो गोरेटो भएर । बस्, शुभकामना छ तिमीलाई, तिम्रो अनागत समयलाई । अपराजिता, म फेरि आउँनेछु फर्केर, तिमी हरेश नखाऊ ।
- तिम्रो सम्झनाले बिथोलिएकी छु म । किन भन्यौ त्यसरी ? ईश्वरको कसम, मेरो भूल थिएन । तिमीले पनि भूल गरेनौ । दोष कसलाई दिनु र ! के हुनु पर्ने थियो, के भयो ।
- बाँच्नु पर्दछ मानिसले, प्रत्येक सङ्घर्षभित्र । यसको नाम पनि जिन्दगी हो । यति वर्षको अन्तरङ्गतालाई तिमीले नभुल्नु, त्यो भन्दा सुख अरु के छ र ?
- सुखको कुरो कसरी भन्नु ! दुक्खमा पो मानिसले होश पाउँदो रहेछ । फेरि भएन हामी मनले त एकै हो, युगौंसम्म । ईश्वरको साक्षी राखेर नदीको किनारमा...
- भयो, मन दुख्छ मेरो । त्यो नदी, पहाड-पखेरा अब त सबै बिराना भइसके ।
- समयले हुत्त्याएका हामी त्यो नदीको दुई किनारा भइसक्यौँ । हाम्रो आशाको आकाशमा अब कहाँ फुल्छ र फेरि जूनको सुवास... लौ त, फेरि भेट होला कि नहोला !
...
ईश्वरको नजिकमा पहिलो पुरुष
म बसेको डेराबाट त्यो मन्दिर त्यति टाढा थिएन । सानो झुप्रे घरको बाँसको झ्यालबाट मन्दिरको पछिल्लो भाग स्पष्टसित देखिन्थ्यो । दिनौं भक्तहरूको समागम, मन्दिरको शङ्खध्वनि र आरतिको आवाजसित मेरो अव्यस्त समय घनिष्ठ भइसकेको थियो । पीरलो समयको अन्तरालमा मैले अनेकौं दु:खान्त क्षणहरू त्यसबेला बिताइरहेको थिएँ । आफ्नो घरबाट टाढा रहेर स्वजनको मायालु अनुहारले कसरी अनवरत पछ्याइरहन्छ - त्यो भोगेको मानिसबाहेक अरु कसलाई थाहा हुन्छ र ! तर पनि मनलाई भने अनन्त सान्त्वना दिन सकेको थिएँ, अन्ततः मैले दोस्रो जन्म त पाएँ । त्यो ईश्वरको कृपाले हो कि होइन, म जान्दिनँ । तर, मेरा लागि त्यसबेला डाक्टरहरू नै एकेक जना साक्षात् ईश्वर जस्ता भएर मेरो सामु उभिएका हुन्थे ।
बिहानीपखको परिवेशमा मन्दिरले मलाई अनेक सहारा र सान्त्वनाको स्पर्श दिन्थ्यो भने बेलुकीपख भक्तहरूको समागमले धेरै विरक्ति थुपारिदिन्थ्यो । मेरो अघि त्यस्तो परिवेशलाई अनिवार्य रूपले स्वीकार्नु बाहेक कुनै विकल्प थिएन । पिँढीमा चुपचाप बसेर टुलुटुलु हेरिरहन्थेँ, कसैले बोलाए पनि नसुने जसरी ।
मन्दिरमा धेरै मानिस आउँदथ्ये, ईश्वर पनि दानव पनि । कसरी चिन्नु र ? मुखौटो लगाएका मानिसलाई चिन्न साह्रो पर्दछ । भयो, कति सहन गर्नु... ?
म फुत्त निस्किएर छेउको जङ्गलको बाटोतिर लाग्छु । सियाल र कुकुरहरूको डरलाग्दो भुकाइले मनलाई तर्साइदिएको हुन्छ । माथि आकाशतर्फ हेरि पठाउँछु । साँझपछिको सेतो जून सिँगारिएर मुसुक्क हाँसिरहेकी हुन्छे- मेट्रोपलिटान शहरकी कुनै अनाम वेश्या जसरी ।
मन बहुतै अस्थिर छ । कसले विश्वास गर्दछ कि ईश्वरलाई मैले हत्या गरेको होइन ?
...
पाठक-लेखक वार्तालाप
'तपाईँले अपराजिता र अनुभवको प्रेमलाई किन दुःखान्त वर्णना दिनुभयो ?'
'त्यहाँ प्रेम होइन अनुभूति मात्रै छ । प्रेम सँधै सफल कहाँ हुन्छ र ? तपाईँले त्यहाँ प्रेम देख्नुभएन र ?'
'जे होस्, कथा अलिक वियोगान्त भयो, राम्रो लागेन ।'
'अरू केही ?'
'साधु र बौलाहालाई केन्द्रित गरेर लेखिएको वार्तालापमा नयाँपन केही छैन । एउटा स्केच मात्र भयो । पछि के गर्नुहुन्छ ती दुवै बौलाहालाई ?'
'लेख्दै जाऊँ, अन्त्य के हुन्छ म पनि जान्दिनँ । चरित्रहरू हिँड्ने बाटोमा म तगारो हाल्न पुग्दिनँ ।'
'तपाईँ फर्मका लागि मात्रै लेख्नुहुन्छ, एउटा ठोस् सिद्धान्त किन हुँदैन तपाईँको कथामा ?'
'म को हुँ र ठोस् सिद्धान्त दिने ? हजारौं छन् बाटाहरू । आ-आफ्नो रोज्ने तरिका बेग्ला बेग्लै छन्, खुल्ला छन् सबै नै । के तपाईँ मेरो सिद्धान्त मान्नु हुन्छ र ?'
'त्यो त मान्दिनँ । तर पनि कथाको समाप्ति हुँदैन तपाईँका कथाहरूमा । कथाको बीचमा तपाईँ किन पस्नुभयो ?'
'जीवन र जगतको समाप्ति नै सृष्टिको समाप्ति हो । अन्त्यमा कथाभित्र म स्वयं पसेको होइन । ईश्वरले समात्दै लगेको म एउटा पात्र मात्रै हुँ ।'
'त्यसो भए मृत्यु ?'
'त्यो चिरन्तन वस्तु हो । त्यसलाई कस्ले रोक्न सक्छ र ! न तपाईँले न मैले, न ईश्वरले ।'
...
तृतीय पुरुषमा एउटा हत्या वा मृत्यु
उसलाई कसरी र किन हत्या गरियो, त्यो आजसम्म पनि थाहा लागेको छैन । शहरको एकजना व्यवसायी युवकलाई कसैले पनि हत्या गर्नसक्छ - पैसाका लागि, प्रेमका लागि वा अन्य कुनै घृणाका लागि । मूल कुरो त्यो होइन । कसले हत्या गऱ्यो ? स्पष्ट नभए पछि विचरा कानूनले एक जनालाई जबर्जस्ती पक्रेर जेलमा थुनिदियो । त्यो मानिसले निक्कै जोडसित प्रतिवाद गऱ्यो, तर कसैले पनि सुनेनन् । कानून बहिरो थियो, शायद अन्धो पनि । त्यसैले, कानूनको बलियो पञ्जाबाट उसले सजिलै मुक्ति पाउन सकेन । कानूनलाई पाल्नेहरूले पनि के गरून् ! दुई-चार दिन छानबिन भयो, एउटालाई पक्रिएर त्यो हत्याकाण्डको कथाको परिसमाप्ति गराए ।
त्यो साधारण मानिसलाई थुनुवा पारेपछि छिमेकीले पनि नदेखे जस्तो गरे, कत्तिले त नचिनेको मान्छे पनि भनिदिए । व्यर्थैको आपतमा को फस्ने । उसले त आफ्नो निर्दोषीको प्रतिष्ठा गराउने भरसक प्रयास गऱ्यो । तर उसित केही प्रमाणपत्र थिएन, जसले गर्दा उसको मित्रको हत्याको अपवादबाट ऊ मुक्त हुन सकोस् ।
यन्त्रणाले उसलाई जन्मेको दिनबाट पछ्याउन छोडेको छैन । गरिबीपन, बेकारी अवस्था आदि सबै नकारात्मक दिशाहरू उसको शिरमाथि नै केन्द्रित भएका छन् । त्यसमाथि साथीको एउटा दुर्नाम । उग्रवादी, हत्याकारी आदिले सजाएर डोरीले बाँधेर तान्दै लगेको आफ्नो सम्पूर्ण शरीरलाई उसले सकेसम्म घृणा गऱ्यो । उसको अनुहारभरि उम्रिएर आएका थिए त्यसबेला विधवा आमाको न्यानो मुख, बैनीको मायालु अनुहार र एउटा भावालु परिचित छविको क्लोजअप् ।
चिच्याएर के गर्नु र ! अब ऊ निर्वाक हिँडिरह्यो, जता तान्छन्, उतैतिर हिँड्छ । उसले सोच्यो, अब केही सोच्न छोडिदिनेछ । तर यो भने बारम्बार सोच्न छोडेन कि आखिर ईश्वरलाई कसले र किन यसरी हत्या गऱ्यो ।
...
द्वितीय पुरूषमा ईश्वरको खोजी
- तपाईँलाई धेरै दिनपछि फेरि भेटेँ, राम्रो लाग्यो ।
- किन राम्रो लाग्यो ? मैले बुझिनँ ।
- मैले आज ईश्वरलाई भेटेर आएँ, यो जनाउन पाउँदा ।
- बकवास् कुरो । ईश्वरको अस्तित्व नै कहाँ छ ? धेरै दिन भयो उसको मृत्यु भएको ।
- मैले उनको साक्षात् दर्शन पाएँ । मेरो जन्म सफल भयो ।
- केही प्रमाण छ कि तपाईँसित ? केही कागत, फोटो ?
- ईश्वरको कुनै रूप छैन । जसले जसरी चिताउँछ, उनी त्यही रूपमा देखिन्छन् । पानी, वायु, आकाश, रूख इत्यादि ।
- अनि मानिसको स्वरूपमा ?
- हुन सक्छन्, त्यो अनिवार्य होइन । मनको सोचाइको गहिराईले छुन सक्नुपर्दछ ।
- बीस साल भयो मैले ईश्वरको हत्या गरेको । चौध सालको काराबन्दी हुँ म ।
- तपाईँलाई बिमारीले अझै छोडेको रहेनछ ।
- हो, म एउटा बिमारी पृथिवीको बासिन्दा हुँ ।
- राम्ररी हेर्न सके, यो पृथिवी त केही होइन, मिथ्या हो । निमित्त मात्र हौँ हामी पनि ।
- निमित्तमा नै म हत्याकारी हुनपुगेको थिएँ । त्यसदिन मैले ईश्वरको हत्या गरेको थिएँ, त्यसको प्रमाण छ मसित ।
- धत्त् ! कस्तो बौलाहा जस्तो कुरो गर्नुभएको... ।
- तपाईँलाई भेटेर म ढुक्क भएँ । अन्ततः हामी दुई जना भयौँ ।
...
पहिलो पुरुषमा अनुभव र अपराजिता
'उनीहरू फेरि त्यसरी नै खुल्ला आकाशतलको शान्त परिवेशमा बसेर अनेकौं आत्मीय क्षण बिताउन सक्छन् के ?', यस्तै सोचाइमा निमग्न छ अनुभव । अपराजितासितको अन्तिम भेट भएको मुहूर्त्तमा उसका दुई आँखाभरि उत्रिएका आँशुका थोपाले पनि बिदा दिएका थिए । अब त सम्झना मात्र रह्यो मुटुमा ।
अनुभवको मायामा कुनै आशङ्का कित सन्देहको अवकाश अलिकति पनि थिएन । अपराजिता पनि चाहन्थी त्यसरी नै । क्रूर समयको निमोठ्याइमा अकाल मृत्यु भयो एउटा निर्दोष प्रेमको । अनि सीमाहीन यन्त्रणाले दुवैलाई आमृत्यु पिरोलि रह्यो । जिन्दगीले साथ दिइरहने अनुमति दिएन, अधुरो रह्यो । नियतिले शायद यस्तै चाहन्थ्यो । मानिसको प्रत्येक यन्त्रणाको नेपथ्यमा रहेको कुसमयको प्रभावले उनीहरूलाई पनि निचोरी दिन बिर्सिएन ।
अपराजिता यसबेला कहाँ होली ? अझै रूँदै छे, कि सुकिसके उसका आँशुका थोपा ? आमा, बहिनी, साथी, छिमेकी... उफ् !


