साहित्यपोस्ट डट कम

कथा : हाक्‍के बाजे

कथा : हाक्‍के बाजे

युमा देवीको साङबिका लागि माटोको ढिस्को उठाइएको छ । माटोको डिलमा तीनवटा ढुङ्‍गाहरू ठड्याएर राखिएका छन् । सात जोडी केराका पातहरू दोहोर्‍याएर बिछ्याइएका छन् । टाँकीको पातले बुनेका टपरीहरूमा विभिन्न प्रकारका अनाजहरू राखिएका छन् । चढाउनका लागि फलफूलहरू, तितेपातीको मुठो, धुप, बात्तीहरू तयारी गरिएका छन् । हाक्‍के बाजे बाँसको चोया काँप्दै छन् । बाजेले चोयाको सानो थुन्छे बुन्दैछन् । त्यस थुन्छेमा युमा देवीलाई चढाउने कुराहरू लगाउनु छ । हाक्‍के बाजे एकसुरले काम गरिरहेका बेला उनको नोकिया एक्स मोबाइलमा रिङटोन बज्छ । … ट्रिङङङङङङङ । बाजेले नसुनेकाले टाँडमुनि बसेको नातिले ठूलो स्वरमा भन्छ, “बाजे तपाईंको फोन आयो ।”

बाजेले सुन्दैनन् । “ओ बाजे फोन आयो भनेको ।”, नातिले फेरि जोडले कराउँछ ।

“ए, फोन आयो भनेको ? मेरो मोबाइल यता ल्याइदे त नाति ।”, हाक्‍के बाजे चोया बटार्दै भन्छन् । “हत्तेरीका हउ, मोबाइल तपाईंकै गोजीमा बज्दै छ क्या बाजे ।”, नातिले रिसाउँदै भन्छ, “आफूलाई यहाँ डिस्टर्ब भैराखेको छ । यो बाजेले कुरै बुझ्दैन ।”

“ए गाँठे मोबाइल त मेरै गोजीमा रैछ ।”, हाक्‍के बाजेले इस्टकोटको दाहिने गोजीमा हात घुसाएर सानो किप्याड भएको मोबाइल निकाल्छन् । चोया उधार्न छोडेर कर्द भुइँमा राख्छन् । देब्रे हातले मोबाइल समाउँछन् । दाहिने हातले चस्मा मिलाउँछन् । मोबाइलको किप्याड थिच्न खोज्दा बाजेको हात थरथर काँपेकाले मोबाइल उठ्दैन । मोबाइलको कल टोन बज्न रोकिन्छ, “हत्तेरीका फोन कटिगो । कसले फोन गरेको थ्यो कुन्नि ?” बाजेले निधार खुम्च्याएर मोबाइलमा हेर्न खोज्छन् । तर आँखाले भेउ पाउँदैनन् ।

“ए, नाति कसले गरेको रैछ फोन ? यहाँ आएर हेरिदेन हाउ ।”, नातिलाई बोलाउँदै भन्छन् ।

“म ग्याम खेल्दैछु बाजे, भ्याउँदिनँ । अर्जेन्ट भए फेरि कल गर्छ । चुपचाप काम गर्नु न बाजे ।”, नाति टाडमुनिबाट कराउँछ ।

“मोबाइलमा काति झुन्डेको हौ यो केटा पनि, जतिखेर मोबाइल । मेरो मोबाइल हेर्न पनि भ्याउँदैन ।”, बाजे गनगनाउँदै मोबाइल इस्टकोटको गोजीमा घुसार्छन् । फेरि मोबाइलको रिङटोन बज्छ । “ए, गाँठे ! कोपो रैछ फेरि फोन गर्‍यो ।”, बाजेले हतार गर्दै फोन निकालेर हेर्छन् । अननोन नम्बरबाट आएको कल देखेर हात थरथराउँदै रिसिव गर्ने किप्याडमाथि थिच्छन् । बाजे यसपटक फोन रिसिव गर्न सफल भएकोमा खुशी देखिन्छन् । हल्का मुस्कानकासाथ बोल्न शुरु गर्छन् ।

“हलो, को पो बोल्दै छ ? म आलिक कान सुन्दैन । बेसकन ठूलो स्वरमा बोलुम् है ।”, बाजेले यताबाट अनुरोध गर्छन् । अर्कोतर्फबाट लाउडस्पिकरमा लाउन भनेको कुरा बाजेले बुझ्नु नभएर भन्छन्, “हाउ लाखे ! यो लौड सपोक भनेको के हो म त्यति जान्दैन गाँठे । बोलुम् न । मेरो कानमा बहिरोले लाउने इअरफोन लाको छु तैपनि सुन्दैन । सुन्ने कोशिश गरुम्ला ।” बाजेले बोलेको एकतर्फी कुरा मात्र सुनिन्छ ।

“ए हाउ गाँठे को बोल्दै छ भनेको तँ पिर्तुङे होस् ? आनिगो के छ हाउ तेरो खबर पिर्तुङ ?”, हाक्‍के बाजेले प्रश्न गर्छन् । उतापटिको कुरा सुनेपछि हाक्‍के बाजे एकोहोरो बोल्छन्, “गाँठे हाउ… तँलाई आबो मैले पिर्तम भन्नु पर्‍यो । कि कसो रे पिर्तुङे ? अरूले भन्लान् तर मचाहिँ भन्दैनँ है केटा । एउटै भोटो साटेर लाको, एउटै थालमा ढिँडो खाको, साथीको अर्को नाम आउँदैन है मलाई ।” हाक्‍के बाजेको कुरा सुनेर पिर्तुङले सम्झाइबुझाइ गर्छन् । त्यसपछि बाजेले कुरा बुझेझैँ गरी बोल्छन्, “ए ल है त मलाई चाहिँ पिर्तुङ भन्न चानस दिइस् । तँ लाउरे भइगइस् आनि ठूलो पल्टेर हो कि सन्केको जस्तो लाग्यो तर सानोको जस्तै रैछस् । कुरा बुझिहाल्ने, माफ दिने आनि मिलिहाल्ने !”

हाक्‍के बाजे मोबाइल कानमा टाँसेर कुरा गर्दै हाँस्छन् । पिर्तुङले पनि केहीबेर कुरा गरेपछि हाक्‍के बाजेले भन्छन्, “हाउ पिर्तुङ, तँसँग लाउर जान पाको भए म के गर्थे भनेर नसोध न हाउ । त्यो नेप्टीलाई सम्झेर मेरो मुटु चस्किन्छ । म लाउरे भाको थे भने फस्ट छुट्टी आउँदा नै नेप्टीलाई भेहे गर्थें । के गर्नु भाग्यले ठग्यो । न लाउरे भएँ न नेप्टीकै भएँ ।”

हाक्‍के बाजे र पिर्तुङको बिचमा पन्ध्र मिनेट जति फोनमा कुराकानी हुन्छ । बोल्दाबोल्दै नेटवर्क टुटेकाले हाक्‍के बाजे यताबाट मात्र बोलिरहन्छन्, “ए हाउ, आफैँ मात्र बोल्दो रैछु । यो पिर्तुङेले फोन राखेँ है पनि नभनी गयो । कत्ति न मै हुँ भन्छ लाउरे भएर होला । हामी चाउरे भए पनि के कम; गरिखाकै छ यत्रै सित्तिको जिन्दाकीमा ।” हाक्‍के बाजे मोबाइल ध्यान दिएर हेर्छन् । सतत्तर वर्षदेखि देख्‍न सघाएका उनका चिम्सा आँखाहरूले प्रष्ट देख्दैनन् । उनले मोबाइल गोजीमा हाल्छन् र हतारहतार चोया कात्‍न थाल्छन् ।

“ए नाति, नाति”, हाक्‍के बाजेले तीन चारपल्ट नाति भनेर बोलाउँछन् । उसले सुन्दैन । “ए, भावुते के गर्दै छस् ?”, रिसले मुर्मुरिदै बाजेले बोलाउँछन्, “आज युमा हाङमाको पूजा छ । यी बाउ छोरालाई भने वास्तै छैन । दुइटै तेल्लासेहरू (केरा) मोबाइलमा भुलेका छन् ।”

ट्याब हातमा बोकेर आँखाहरू स्क्रिनमा नै गाडेर बिस्तारै हिँड्दै भावुते बाजे भएतर्फ आउँछ । “हान् हान् त्यो भाग्न आँट्यो । त्यसलाई सुट गर् न । बुलसिट ! लागेन । नाव गन लोड गर् छिटो ।” भावुते ट्याबमा गेम खेल्दै बाजेको छेउमा आइपुगिसकेको हुन्छ । बाजे, नातिको चालामाला देखेर छक्‍क पर्छन् । भावुतेका गोडाहरू अघि बढेर युमा हाङमाको साङबिमा पर्न खोज्छन् । बाजे अत्तालिँदै नातिलाई पछाडि तान्छन्, “हैट, आँखा देख्दैनस् भावुते ? झन्डै पूजाको थान बिगारी पठायो ।”

नातिको हातबाट ट्याब खस्छ । “कस्तो झट्काएर तान्नुभको बाजे ! ट्याब ड्यामेज भयो होला ।”, भावुतेले आत्तिएर ट्याब टिप्छ । धूलो टक्टक्याउँछ । स्क्रिनमा हेर्छ, “ए, दुइटा एनोमि मात्र भागेछन् । ओइ गाइज म एकछिन खेल्दिनँ है । बाजेले गिदी गर्दैछ । तँहरू खेल्दै गर् ।” भावुतेले ट्याब बन्द गर्छ । बाजेलाई रुष्ट आँखाले हेर्छ । झर्किँदै सोध्छ, “के भनेको आत्तुबा ?”, नातिको रूखो बोली सुनेर हाक्‍के बाजे अवाक् हुन्छन् । “तेस्रो पुस्ताको मान्छे यस्तै हुन्छ होला, मैले पो बुझ्न नसकेको हुनसक्छ” भन्ने सोचेर नातिलाई सम्झाउँदै भन्छन्, ” आल्लो मेन्छाए, आज हाम्रो घरपरिवारका लागि युमा हाङमाको पूजा कार्जे छ । सकेको काम सघाउन हाउ । केही नगरे पनि यहाँ आउने, हेर्ने, सुन्ने र बुझ्ने कोशिश गर न । यो कार्जे तिमारकै लागि गरेको हो । तिम्रो आपा अहिले आमा सोमिप्मालाई लिन गको छ । आबो त आइपुग्ने बेला भो ।” पेरूङ्‍गो बनाउन चोया बटार्दै नातिलाई सम्झाउँछन् हाक्‍के बाजे ।

भावुते एकटकले उभिएर एकसुरले सुनिरहन्छ । उसको हेराइ भने ट्याबमा हुन्छ । “हेर बाबु, यस्तो पेरूङ्‍गो बुन्न तिमारले पनि सिक्नुपर्छ । भविष्यमा काम लाग्छ ।”, बाजेको कुरा सुनेर भावुते खितित्त हाँस्छ । बाजेले पुलुक्‍क नातिलाई हेर्छन् । भावुते दाँत छोपेर हाँस्दै हुन्छ ।

“मेरो कुरा सुनेर हाँसेको होला भावुते ? हाउ, गाँठे के गरिखालास् पछि ? पेरूङ्‍गो, डोको, डालो, नाङ्लो बुन्न जानिनस् भने दु:ख पाउछस् नाति ।” भावुते नाति मुख खोलेर हाँस्छ, “हाँहाँ हाँहाँ बाजे यो जमाना चोया, खोयाको होइन । यो जमाना माइक्रोचिप्स्, च्याटजिपिटीको हो । यस्ता खाल्के बाँसका टोकरी, प्लाष्टिकका झोलाहरू एक क्लिकमा बन्छन् र एक कलमा होम डिलिभरी हुन्छ आत्तुबा आजकल ।”

एघार वर्षको नातिले गरेको कुरा बाजेले बुझे पनि मन बुझाउन सक्दैनन् । अन्तिममा पुस्ता परिवर्तनको असर ठानेर मौन रहन्छन् । ‘खुकुरी भन्दा कर्द लाग्ने जमाना आयो’ मनन गर्दै बाजेले धमाधम चोया खिप्दै पेरूङ्‍गो बुन्छन् । “भावुते लु अब फाकसेप्मा गर्नुपर्छ तेरो आपालाई बोला ।”, नाति प्रसन्न मुद्रामा बोल्छ, “बाजे म आज फाकसेप्मा सिक्छु है ।” नातिको आग्रह सुनेर हाक्‍के बाजे हर्षित देखिन्छन् । युमा हाङमाको लागि नातिले फाकसेक्मा सिक्यो भने आफ्नो बिँडो थाम्ला भन्ने लाग्यो शायद । सृष्टि कालदेखि चल्दै आएको उनको संस्कारले निरन्तरता पाउने अभिलाषाले हाक्‍के बाजे नातिको कुरामा मौन स्वीकृति जनाउँदछन् ।

भावुते उसको आपालाई बोलाउन घरको भर्‍याङमाथि चढ्छ । टाडमाथिको बरन्डा कोठामा सोनाहाङ स्मार्टफोन चलाउँदै बसेको छ । भावुतेले ढोका नउघारी बरन्डाबाट बोलाउँछ, “आपा, फाक सेप्मा गर्न आउनु रे ।” सोनाहाङ बाहिर निस्केर छोरालाई हकार्छ, “म अनलाइन बिजनेसको काममा बिजी छु । मलाई डिस्टर्ब नगर् । म एकछिनमा आउँछु । भन्दे तेरो बाजेलाई पनि, जा ।” भावुते लुरुक्‍क फर्कन्छ । सोनाहाङ फेरि अनलाइन काममा नै लाग्छ । च्याटिङ, इमेलिङ, स्टेटस पोस्टिङ, अपलोडिङ, भिडियो वाचिङ, कमेन्टिङ, इमोजिङ गर्ने कामहरूमा ऊ व्यस्त छ । अनलाइन काम गर्नेलाई कसैले डिस्टर्ब गर्नु भएन । इस्वी संवत् २०२५ को साइवरडेमिक युगमा बाँचेका मान्छेहरू हुन्; हाक्‍के बाजे, सोनाहाङ र भावुते । त्यसैले अनलाइनमा सोनाहाङको व्यस्तता स्वभाविक छ ।

एक घण्टा बित्छ । छोरा सोनाहाङ र नाति भावुते मोबाइल फोनमा नै निर्लिप्त डुबेका छन् । युमा हाङमाको साङबिमा हाक्‍के बाजे एक्लै छन् । उनी एक्लै सामाजिक मुन्धुम गाउँदै छन् । तितेपातीको गुच्छाले पानी चढाउँछन् । सालधुप बालेर धुवाँ पनि युमा देवीलाई चढाउँछन् । मुन्धुम जान्ने कापोबा हाक्‍के एक्ला याक्थुङ हुन् । त्यस गाउँमा उनलाई कसैले सघाउँदैन, उनकै छोरा बुहारी नातिले समेत । किनभने संस्कृति र प्रकृतिका कट्टर याक्थुङ्बा हुन् उनी । धेरै मानिसहरू सांस्कृतिक र प्राकृतिक विचलनमा परेर विकृत भैसकेका छन् । आफ्नो संस्कृति संस्कार र धर्म बिर्सेका छन् । प्रकृतिको दोहन गरी अप्राकृतिक बनेका छन् । भर्चुअल दुनियाँमा भुलेर यन्त्रवत् भएका छन् । यस्तो जमानामा तागेरा निङवाफुङमाङको प्राचीन संस्कार जान्ने र मान्ने हाक्‍के बाजे एक्लिएका छन् । उनको शेषपछि भने साँचै उनको भाषा, धर्म, संस्कार सकिने हो कि उनलाई चिन्ता लाग्छ । जानी नजानी भए पनि उनले मुन्धुम फलाक्छन् । आफ्ना इष्ट देवदेवीहरूको कर्मकाण्ड गर्छन् । धर्म संस्कारका कुराहरू पालना गर्छन् । उनीभन्दा मुनिका दुईवटा पुस्ताहरूलाई मुन्धुमी कुरा र कार्यहरू देखाउने सिकाउने चेष्टा गर्छन् ।

“ए, ठूले ! ठूले ! सोनाहाङ …”, हाक्‍के बाजे हातमा खुकुरी उठाउँदै कराउँछन् ।

“आउँदै छु होइ, आपा…”, सोनाहाङले एकतले काठको घरको बरन्डाबाट जवाफ दिन्छ ।

“आल्ले हउ तिमार्लाई कति कराउनु पर्ने ! गाँठे म त सिल्बिन्दाङ हुन आँटे ।”, हाक्‍के बाजे मुरमुराउँछन् । सोनाहाङ र भावुते हतारिँदै आइपुग्छन् ।

“के हो पारा तँहरूको ? बिहानदेखिन् मोबाइलमा झुन्डेको छ । दिनभरि रातभरि त्यही ठाँडो मोबाइल खेलायो तेल्लासेहरू ! के छ त्यसमा ज्याँठाहरू ? त्यसले फाक्सा दिन्छ कि वासा दिन्छ ? न युमा साम्माङलाई ढोगेको छ ! न केही गरेको छ ! साला केदुम्बाहरू कुटाइ खान्छस् ।”, हाक्‍के बाजेले छोरा नातिको अति नै लाचार व्यवहार देखेर गाली गर्छन् ।

“तिमार्लाई पितृको सराप लाग्नेछ । आहिले गालीसराप दिन्छु । अनि पछि गालीसराप बगाउनु बरू ।”

सोनाहाङ थान अगाडिको भुइँमा घुँडा टेक्छ । भावुतेलाई पनि त्यसै गर्न सङ्‍केत गर्छ । बाबु छोरा दुवैले धर्तीमाथि शिर राखेर युमा हाङमाको अनुष्ठानमा ढोग्दछन् । उनीहरूको शिरदेखि पैतालासम्म तितेपातीको सेउला पानीमा चोबेर हाक्‍के बाजेले उनीहरूलाई पानीले छम्काउँछन् । उनीहरूले तीन पल्ट भुइँ सोरी शिरले धरती छोई सेवारो गर्छन् । तीन पटक नै हाक्‍के बाजेले दुईजनाकै जिउमा तितेपातीको मुठोले झ्याम्झ्याम्म हान्छन् । “साङ साङ साङ, ओत युमा साममाङ आसेवारो” भन्दै बाजेले छोरा नातिलाई पवित्र बनाउने क्रिया गर्छन् । तन्द्राबाट ब्युँझे जसरी बाबुछोरा झसङ्‍ग हुँदै थानको अगाडिबाट उठ्छन् । तितेपातीमा दुवो चिराइतो घोलेको जल सानो करूवाबाट तुर्क्याउँदै पिउन भन्छन् । सोनाहाङले अन्जुली थापेर पिउँछ । भावुतेले भने तितो हुन्छ बाजे भन्दै पिउन मानेको हुँदैन । हाक्‍के बाजेले जबर्जस्ती मुख खोल्न लाएर तुरूक पिलाइदिन्छन् । तितो पानीले मुख बिगार्दै भए पनि निल्छ भावुतेले । बाजेले थुकेर फाल्नु हुँदैन भनेपछि वाक्‍क मानेर भएनि भावुतेले पिउँछ साम्याङच्वा (शुद्ध जल)।

“लु आबो ढिला नगरौँ । खेनवा लिएर आओ ।”, डोकोमा छोपिराखेको रातोभाले सोनाहाङले निकाल्छ ।

“आरे बाजे फाक सेप्पा भन्नुभएको होइन ?”

“पहिले वासेप्मा गर्नुपर्छ हाउ नाति ।”, बाजेले थोरै हाँस्दै नातिलाई आश देखाउँछन्, “ल भालेको टाउको समा नाति । आपाले खुट्टा पकडेर घिचुकमा हिर्का यो फेजाले ।” बाजेले आदेश दिँदै भन्छन् । सोनाहाङले भालेको दुवै खुट्टा एकै मुठीमा समेटेर दर्‍हो गरी पकड्छ । भालेका दुवै पखेटाहरू खैँचेर उसको मुठीमा नै अल्झाएको छ । दाहिने हातले खुकुरी समाएर भाले काट्न तयार हुन्छ । भावुतेले भालेको टाउको समाउन खोज्छ तर भालेले ठुङ्न खोज्छ । भावुते डरले पर भाग्छ । सोनाहाङले एउटा भाले मार्न पनि दुईजना चाहिँदैन भनेपछि भावुते छेउ पर्दैन । हाक्‍के बाजे भने नातिलाई पनि वा सेप्माको संस्कारमा सहभागी गराउन चाहन्थे । बाजेले तितेपातीको जल भालेको टाउको जिउभरि छर्कन्छन् । भालेले पनि भुत्ला फट्काउँदै फिम्मा गर्दै देवीका लागि बलि हुन तयार भएको अमुक सहमति दिन्छ । सोनाहाङले खुकुरी उज्याएर काट्न खोज्दै गर्दा हाक्‍के बाजेले रोक्छन्, “धार पट्टिबाट होइन हाउ गाँठे । उल्टो खुकुरीले भ्वाक्‍क हान्नुपर्छ । काट्ने होइन ठोक्ने हो, अलिकति खुन चढाउनुपर्छ तर एकै प्रहारमा बलि हुनुपर्छ है ।” भालेको ढाडको घिच्चुक देखाइदिँदै हाक्‍के बाजेले कुखुरा मार्ने तरिका छोरालाई सिकाउँछन् । आपाले भनेअनुसार सोनाहाङले खुकुरीको बिट घुमाउँछ । धार नभएको भागले भ्वाक्‍क हिर्काउन खुकुरी माथि उचाल्छ ।

“मोजुगुन ! रोक ।”, कुखुरालाई हान्न नपाउँदै कसैले फेरि उसलाई रोक्छ । बाजे, बाउ र बाबु तीनैजना मूर्तिवत् भई टक्‍क रोकिन्छन् । उनीहरूको पछाडिबाट निङ्वामा आइपुगेकी हुन्छिन् ।

“ए ममी आउनुभएछ ।”, भावुते रमाएझैँ देखिन्छ ।

निङ्वामासँग सेतो मेख्ली लाएकी अर्की एकजना सावामा पनि आएकी छिन् । निङ्वाको हातमा बाँसको सानो पूजा थाली छ । त्यस थालीमा फूल, पात, स्याउ सुन्तला, मेवा बेल र धुपबात्ती छन् । एउटा दुनोमा खरानीको विभूति छ । तामाको सानो कलश पनि छ । खेतमा निर्माण गरेको थान नजिक आउँदै निङ्वामाले भन्छिन्, “युमा साममाङ कि जय होस् । ओत माङे सेवारो । मलाई माफ गर्नुस् नाहाङमा, ताम्भुङमा वारोक्मा ओवामा । तागेरा निङ्वा फुङ्‍माङका सन्तान सबै हाम्रो साम फुङ्‍माङ गर्दिनुहोला । अबदेखि हामी रगत होइन शुद्ध जल चढाउँछौँ । अन्डाको फुल होइन फुलेको फूल चढाउँछौँ । हाम्रो सेवा साम्योलाई बुझिदिनुहोला ।”

निङ्वामा र सावामा दुवैजना खाली भुइँमा वज्रासनमा बस्छन् । “स…ओम् स…ओम् ओत माङे सेवारो” भन्दै ढोग्न थाल्छन् । ती दुईजना सत्यहाङ्‍माहरूको सेवाढोग, प्रार्थना केहीबेर चल्छ । उनीहरूको सामुन्नेमा तीन पुस्ताहरू स्तब्ध छन् । भाले अठ्याएर सोनाहाङ उभिरहन्छ । भालेले ककक् काँकाँक् ककक्… गर्दै उम्किन बल गर्छ । ऊ झनै कसेर समाउँछ । एक हातमा खुकुरी पकडेकैछ उसले । हाक्‍के बाजेको एक हातमा तितेपातीको सेउला छ भने अर्को हातमा उध्रेर टालेटुले देखिने ढाकाटोपी छ । गर्मी बढेकाले त्यही टोपीले हम्किँदै हावा लिँदै छन् । भावुतेलाई भने रमिता भएको छ । युमा हाङ्‍माको पूजामा के गर्ने होला ऊ रनभुल्ल छ । दुईजना सत्यहाङ्‍माहरूले पूजा सकेर उठ्छन् ।

“यो भालेलाई जान देऊ सोनाहाङ ।”, निङ्वामाले आदेशात्मक पाराले भन्छिन् । सोनाहाङले उसको आपालाई प्रश्नात्मक नजरले हेर्छ । “मैले भनेपछि मान क्या !”, निङ्वाले भनेपछि सोनाहाङले भाले छोडिदिन्छ । भाले बुरुक्‍क उफ्रिँदै कुद्छ । परतिर गएर लामो स्वरमा कुखुरी काँ… भन्दै बास्छ । निङ्वाले उनको ससुराबुबालाई सम्झाउने हेतुले भन्छिन्, “संस्कारको नाउँमा पाप नगरौँ, आपा ।”

“हाम्री इष्टदेवी युमा साममाङको पूजा गर्दा कसरी पाप हुन्छ, पालिङे । यो के वाधा आइलाग्यो, ओ माङ ।”, हाक्‍के बाजेले आफ्नो कुरा राख्छन् ।

“अब हामीले नराम्रो संस्कारलाई सुधार्नुपर्छ आपा । यो निहत्था प्राणीलाई बलि दिएर संसारकी जननी सृष्टिकर्ता युमा खुशी हुने छैनन् । बरु दु:खी हुन्छिन् ।”, बुहारी निङ्वाको कुरा सुन्दै गर्दा हाक्‍के बाजे शान्त हुन्छन् ।

सोनाहाङ रिसले मुर्मिरिँदै बोल्छ, “आपाले गरिरहेको काममा भाँजो हाल्ने तिमी को हौ ? पूजा सकिनै लागेको थियो । कोकोमाले पो यस्तो विघ्नवाधा हाल्छ । यो के गरेको निङ्वा ?”

“मुख सम्हालेर बोल, सोनाहाङ । म कोकोमा होइन । म निङ्वा हो, तागेरा निङ्वा फुङ्‍माङ हुँ, उनकी सन्तान हुँ ।”, निङ्वामाले कड्किँदै भन्छिन् ।

“लु खा, आनिगेन, यसको खुस्के जस्तो छ ।”, सोनाहाङ रिसमा हाँसो मिसाएर बोल्छ । लोग्नेस्वास्नीको वादविवाद चर्किने अवस्था आउने लागेर सँगै आएकी सत्यहाङ्‍माले सम्झाउँछिन्, “युमाथेबाका लागि भए पनि कृपया शान्त भइदिनुहोला, नानीबाबु । माङको थान अगाडि यस्तो गर्नु राम्रो होइन ।”

“सरी है सत्यहाङमा । आज यो मान्छेसँग छिनोफानो गर्नु छ । माङको पनि यही छ चाहना । साङबि सधैँ पवित्र हुन्छ किनभने यस्ता बेविचारीहरूको सफाया गर्ने काम माङले साङबिमा नै गर्नुहुन्छ । सोनाहाङ, एकछिन् पर्ख, म तिम्रो हरकत देखाइदिन्छु ।”, निङ्वामाले के देखाउन आँटिन् भनेर सबैजनाको आँखाका पुतलीहरू ठूला हुन्छन् । उनले काँधमा बोकेको झोलामा हात छिराएर केही खोज्दछिन् । हाक्‍के बाजे, सोनाहाङ, भावुते, सत्यहाङ्‍मा सशङ्‍कित भएर हेर्दछन् । “हत्तेरीका, कता राखेँ, ए, यता रैछ” भन्दै निङ्वाले स्मार्टफोन निकाल्छिन् । हाक्‍के बाजेको बन्द मुखबाट थोरै हाँसो फुस्किन्छ । यिनी पनि मोबाइलमै लिप्त भएको भान बाजेलाई हुन्छ त्यसबेला । निङ्वाले स्मार्टफोनको लक खोल्छिन् । मेसेन्जर एपमा क्लिक गर्छिन् ।

“आज दूधको दूध, पानीको पानी यहीँ युमाको थान अगाडि छुट्टिन्छ । सत्य के हो ? पाप के हो ? साम्योले छर्लङ्ग पार्छ, जोखाना हेर्नु पर्दैन ।”, निङ्वाले मेसेन्जरको पोस्टहरू स्क्रोल गर्दै जान्छिन् । “सनमति लाउती….” उनको बोलीबाट नाम काडिन्छ । सोनाहाङको अनुहारको ताप सेलाउँछ, प्रताप ओइलाउँछ । ऊ घरतिर फर्कन खोज्छ । निङ्वाले उसको हातमा तान्दै सोध्छिन्, “कता जाने ? जान पाउन्न । भन पहिले, यो केटीसँग तिम्रो के सम्बन्ध छ ? तिम्रा सबै मेसेजहरू पढेर सुनाइदिऊँ ?”

“मोबाइल बन्द गर । बेला न कुबेला यस्तो कुरा नगर न ।”, सोनाहाङको स्वर द्रवित हुन्छ ।

“ए, बेला चाहियो ? यहीबेला हो युमा देवीले आफ्नो रूप देखाउने । थान छ पूजाआजा हुँदैछ ।”, सोनाहाङको आँखाको सामुन्ने राखेर मेसेन्जरमा केटीसँगको च्याटिङ निङ्वाले देखाउँछिन् । सोनाहाङ केही विनम्र हुन्छ, “फेसबुक साथी मात्र हो । प्लिज, यहाँ फेसबुक मेसेन्जरको कुराहरू नगरौँ न, निङ्वा । प्लिज, ट्राइ टु अन्डरस्टेन्ड ।”

“अहिले यहीँ नै सत्यहाङ्‍मा, आपा र युमा साम्माङको अगाडि तिमीले रिएलाइज गर्नुपर्छ ।”, निङ्वा दृढ देखिन्छिन् ।

“मलाई रिस नउठा है निङ्वा । लिम्बूको ख्यालख्यालको रिस देखाम् कि ?” सोनाहाङ खुकुरी हल्लाउँदै गर्जिन्छ । निङ्वाको क्रोधले गाला राता हुन्छन् । आँखा फुकालेर सोनाहाङलाई हेर्छिन् । घरी सोनाहाङको आँखामा घरी उसको हातको खुकुरीमा क्रोधित नजरले हेर्छिन् । उनको हेराइको भाषा बुझे झैँ गरी सोनाहाङले खुकुरी थानको छेउमा खसाल्छ ।

“अहिले यसले मैले च्याटिङ गरेकै छैन भन्छ होला । आज बिहान भ्वाइस रेकर्ड सेन्ड गरेको रहेछ । त्यो पनि मेरो फेला परेको छ । ल सुन्नुस् ।”, निङ्वाले भ्वाइस रेकर्ड प्ले गर्नै लाग्दा सोनाहाङले उनको मोबाइल स्वाट्ट थुत्न खोज्छ । निङ्वाले हात झट्काएर पन्छाउँछिन् । “यस्तो गर्‍यो भने सोनाहाङ म अहिले पुलिस बोलाउँछु ।”

“ल भैगो नि त निङ्वा । मैले त्यो केटीसँग मेन्जो टाइम पास गरेको मात्र हो क्या । आइ एम भेरी सरी । भ्वाइस् रेकर्डिङ प्ले नगरदेऊ न प्लिज ।”, सोनाहाङ क्षमादानको याचना गर्दै खेतको आलीमा थचक्‍क बस्छ । त्यहाँको पारिवारिक माहोल खराब हुनुअगावै केही गर्ने सोचेर सत्यहाङ्‍माले संयमित हुँदै भन्छिन्, “निङ्वा नानी तिमी त आल्लो साम्योमा शब्दी लिइसकेकी छौ । हिंसा गर्नु र गर्नेबाट बच्नुपर्छ । श्रीमानको अपमान गर्दा उनको शिर खस्छ । हामीलाई पनि राम्रो लाग्दैन । सोनाहाङ भाइले पनि गल्ती महसुस गर्नुभयो । एकपटकलाई माफ देऊ युमा साममाङको नाममा ।” निङ्वाले त्यहाँ आउनुभएको सत्यहाङ्‍माको कुरा सुनेर हातको मोबाइल अफ गर्छिन् । सोनाहाङ रोउँला झैँ गरी फुस्रो अनुहार पारेर सिन्काले भुइँ कोट्याउँदै बसेको छ । भावुते भने त्यतिन्जेलसम्म ममीड्याडीको बिचमा आएको क्रस लवस्टोरी टुलुटुलु हेरेर बसेको छ । उसलाई हर्ष न विस्मात् तर अकस्मात् सोच्छ कि यो ममीले कसरी आपाले सेन्ड गरेको गोप्य मेसेज पत्ता लाउनुभयो ? यो अचम्मको गुथी खोल्ने उपाय के होला भनी सोच्दासोच्दै ऊ झस्किन पुग्छ ।

“भावुते, यहाँ आइज ।”, निङ्वाले कडा आवाजमा बोलाउँछिन् ।

“हुन्छ, ममी ।”, टाँडमुनि बसेको भावुते लुरुलुरु ममीतर्फ आउँछ ।

“जस्तो बाउ त्यस्तै छोरा ।”, छोराले के गरेछ भनेर सबै जनाका कान ठाडा हुन्छन् । भावुते नर्भस् भएर ममीको छेउमा जान्छ । बाटोको फलैँचातिर फर्केर निङ्वाले ‘सुम्निमा’ भनेर बोलाउँछिन् । भावुते डरले नीलोकालो हुन्छ । नौ वर्षकी सुम्निमा खेतको आलीमा कुद्‍दैकुद्‍दै आउँछिन् ।

“तेरो ट्याब खोइ भावुते ?”, ममीको बोली झिनिन्न भएर उसको कानमा ठोकिन्छ ।

“घर- घरमा छ ममी ।”, भावुतेले अक्मकाउँदै उत्तर दिन्छ ।

“उम्रिँदै तीनपाते भनेको यही हो । तैँले सुम्निमालाई फेसबुकमा जिस्क्याउँछस् रे नि ?”

“जि….. स्क्या.. को होइन ।” भावुते हड्बडाउँछ ।

निङ्वा गम्भीर हुँदै भन्छिन्, “जिस्क्याको होइन भने साँच्चै भनेको हो ?” सामुन्नेमा उभिएकी सानी सुम्निमा केही लजाए जस्तै गर्छिन् ।

“साँच्चै प-पनि होइन…”, भावुते झनै डराउँछ ।

“साँचो पनि होइन । आनि के हो त ?”, भावुते चुप लाग्छ । उसका आँखाहरू जमिनतिर लत्रिन्छन् । त्यो बालापनको बिझ्याइँ भन्ठानेर निङ्वाले त्यसलाई त्यहीँ टुङ्‍गो लाउने विचार गर्छिन् ।

“हेर् भावुते, सोसल मिडियामा यसरी कसैलाई जिस्क्याउनु, नराम्रो मेसेज गर्नु भनेको साइबर क्राइम हो । त्यस्तो गर्नु हुँदैन, बुझिस् भावुते ?”, भावुतेले आज्ञाकारी भएर टाउको हल्लाउँछ ।

“सुम्निमासँग माफ माग् ।”, निङ्वाले भावुतेको कपाल मुसार्दै भन्छिन् । भावुतेले सुम्निमालाई हेर्दै “सरी नेप्टी” भन्छ । “भरै च्याटमा पनि सरी भन् ल, भावुते” सुम्निमाले प्याच्च भन्छिन् । उनको कुराले हाक्‍के बाजे, सत्यहाङमा र निङ्वा गललल हाँस्छन् । सोनाहाङ पनि खिसिक्‍क हाँस्छ ।

“तँलाई फेसबुकमा ब्लक हान्दिन्छु ।”, भावुतेले घुर्क्याउँदै सुम्निमालाई आँखा तर्छ ।

“आरे किन, भावु ?”, सुम्निमा नरम प्रश्न गर्छिन् ।

“ममीलाई किन हाम्रो च्याटिङ्‍को बारेमा सुनाइस् त ?”

“मैले सुनाको होइन, भावुते ।”, सुम्निमाको बोलीमा निर्दोष भाव देखिन्छ ।

“अनि ममीलाई कसरी थाहा भयो त ?”, भावुते अचम्मित हुन्छ । ती बालक र बालिकाको कुरा काट्दै निङ्वामाले भन्छिन्, “मैले आफैँ थाहा पाको हो भावुते । तेरो र तेरो आपाको गोप्य मेसेज । किनभने म युमा साम्माङकी चेली हुँ । म सर्वज्ञानी, सर्वव्यापी अन्तर्यामी तागेरा निङ्वा फुङ्माङको सेवासामा हुँ ।” निङ्वामा अलिकति मुस्कुराउँछिन् । भावुते र सुम्निमालाई आइन्दा धेरै मोबाइल नखेलाउन सम्झाइबुझाइ गर्छिन् । त्यति बेलासम्म मूकदर्शक भएर उभिएको हाक्‍के बाजेले मुख खोल्छन्, “आल्लो, छोरा, बुहारी, नाति, बाजे सबैको माङगेना गर्नुपर्ने भयो । यसरी शिर खसेपछि माङगेना गर्नैपर्‍यो ।”

“कुन तरिकाले गर्ने होला, हाक्‍के सोल्टीले फेरि ?”, सत्यहाङ्‍माले ठट्यौलीमा सोध्छिन् । हाक्‍के सोल्टी भनेको सुनेर हाक्‍के बाजेले गोजीबाट चस्मा निकाल्छन् । मेरो नाम जान्ने, सोल्टी भन्ने को महिला होला भन्ने सोच्दै चस्माका पयरहरू कानमा घुसार्छन् । चस्माको लेन्सबाट नियालेर हेर्छन् हाक्‍के बाजेले ।

“अब पनि चिनेनौ मलाई हाक्‍के सोल्टी ? ठिकै छ, भरे बेलुकी सबैजनाको शिर उठाइदिन्छु । अबदेखि सोल्टीले पनि बलि दिने विधिले होइन, फूलफलेदो जलपत्र चढाएर माङको पूजा गर्ने गर्नुपर्छ है ।”

“कुरा सही हो, सोल्टिनी हजुर । म बूढो भैगएँ, पुर्खाको रीतिथिति थाम्ने यिनै हुन् ।”, हाक्‍के बाजेले छोराबुहारीतिर इङ्‍गित गर्दै भन्छन्, “तर अझै पनि मइले चिन्न सकेनँ, हाउ हजुर ।”

हाक्‍के बाजेले सत्यहाङमालाई प्रश्नात्मक सङ्‍केतले परिचय माग्छन् । “म पान्थरकी हाउ, हाक्‍के सोल्टी । बैँसमा त खुप् धाउँथ्यौ नि हाउ मोलाई हेर्न, तमोरमा पौडिँदै तरेर पनि आउँथ्यौ ।”

“आल्लोगो हाउ, यासोकेनी नेप्टी …!”

हाक्‍के बाजेले पान्थर यासोककी नेप्टीलाई चिनेको देखेर सत्यहाङमा खुसी हुँदै हाँस्छिन् । उनलाई चिन्न गार्‍हो भएकोमा गर्व गर्छिन् । किनकि उनी अहिले नेप्टी रहिनन् । मुन्धुमी साम्योको युमा भएकी छिन् । अहिले उनको नाम सत्यहाङ्‍मा भएको छ । हाक्‍के बाजे खुशी हुँदै निङ्वामाले ल्याएको फूलपातहरू, जल र फलहरू उनी आफैँले बनाइराखेको साङबिमा चढाउन थाल्छन् । हात जोडी सेवा गर्दै माङलाई पुकार गर्छन्, “स…ओम् । ओत माङे सेवारो ……” उनको पुकारा एकल हुँदैन । तीनवटै पुस्ताका स्वरहरूले त्यहाँको लाजे गुन्जन्छ, ” स…ओम् । स…ओम् । स…ओम् । ओत माङे सेवारो ! ओत माङे सेवारो !! ओत माङे सेवारो !!!

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.