साहित्यपोस्ट डट कम

‘कथा घेरा’ले सम्झाएको सडक नाटकको इतिहास

‘कथा घेरा’ले सम्झाएको सडक नाटकको इतिहास

अहिले फेसबुकमा ‘कथा घेरा’को नाममा मञ्चन भइरहेकाे सडक नाटकको प्रस्तुतिका दृश्यहरू भाइरल नै भएका छन् । अझ त्यसको विरोधका शब्दहरू पनि पोखिन थालेका छन् । कर्म गर्नु–परिणाम नकुर्नु भन्ने जानकारी हामी नेपालीहरूले सानैदेखि पाउँदै आएका छौँ । त्यसैले विरोध नै सफलताको मापक हो भन्दा अत्युक्ति नहोला । महिलाहरूको अधिकार र पहुँचका खुला आकाश देखाउँदै मञ्चन भएको नाटकले मलाई चालीसको दशकमा पुर्‍याइदिएको छ । मैले कथा घेरा र कौंसी थिएटरका बारेमा सुन्दै र पढ्दै आएको थिएँ । केही वर्षअगाडि कथा घेराको ‘योनीको कथा’को प्रस्तुतिका बारेमा पढेको थिएँ ।

न्युयोर्कका ईभ एन्सलरले सन् १९९६ मा ‘दी भजाईन मानोलग्स’ शीर्षकमा नाटक मञ्चन गराएर विश्व रङ्गमञ्च समुदायका बीच तहल्का नै मच्चाइदिएकी थिइन् । सन् १९९७ मा नर्वेको बर्गनमा भएको आई.डि.ई.ए. (अन्तर्राष्ट्रिय नाटक-थिएटर तथा शिक्षा संघ० को अन्तर्राष्ट्रिय सम्मेलनमा ‘प्लेब्याक थिएटर’ का संस्थापक जोनाथक फक्ससँग भेट्ने मौका पाएको थिए । हामीबीच रङ्गमञ्चका बारेमा छलफलको क्रममा उनले नै ईभको नाटकका बारेमा बताएका थिए । ईभले रङ्गमञ्चमा देखाएको नौलो र आँटिलो प्रस्तुतिको चर्चा सन् १९९३ देखि २००२ सम्म म सहभागी भएका नाटकका विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा चर्चाको विषय बन्दै आएको थियो । नाटकको कार्यशाला गोष्ठीदेखि कार्यपत्र प्रस्तुतिमा समेत ईभाको साहसिक कामको चर्चा हुने गर्थ्यो । यही चर्चा अहिले कथा घरको हुँदैछ ।

आकाङ्क्षा कार्की र गुञ्जन कार्कीको साहसिक फैसलाले सङ्कीर्ण समुदाय भएको हाम्रो नेपाली समुदायमा ईभाको ‘दी भजाईन मानोलग्स’ नाटकको नेपाली रूपान्तरण ‘योनीको कथा’ को मञ्चन भयो । महिला यौनिकतासँग सम्बन्धित नसुनेका कथाहरूको नाट्य रूपान्तरणको प्रस्तुतिले प्रायः कलङ्कित र मौन पारिएका महिलाहरूका आवाजहरूलाई उजागर गर्न मद्दत गरेको हुनुपर्छ । कथा घेराको आफ्नै कथा छ । यो संस्था एक आत्मनिर्भर नाट्य समूहका रूपमा परिचित छ । जसमा कथाहरू सुन्ने, प्रस्तुत गर्ने र तिनसँग काम गर्ने गहिरो लगाव रहेको छ। यही कथा घेराले आज मानव अधिकारका कुराहरूलाई मुखरित गर्दै समानताको सन्देश बोकेर समाजमा महिलाको वास्तविक पहिचान प्रतिष्ठापित गर्न नेपालको पश्चिमी जिल्लाको भ्रमण सडक नाटकको मञ्चन गर्दै आएको छ ।

यसै क्रममा ‘नुक्कड नाटक’ भन्ने चलचित्रका बारेमा धेरै समाचार पढ्न र सुन्ने-देख्ने अवसर पाएँ । यो चलचित्र बनाउने सबैजना सडक नाटकसँग आबद्ध रहेको र चलचित्र निर्माणपछि प्रदर्शन गर्नका लागि भएगरिएका झन्झट झमेलाका बारेमा पढ्दै गएको थिए । त्यसपछि अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गरेर ख्याति पाएपछि यस चलचित्रले भर्खर ओ.टी.टी. मा प्रदर्शन हुने अवसर पाएपछि मैले पनि हेर्ने मौका पाए । यस चलचित्रले सडक नाटकको शक्तीलाई देखाएको छ । सडक नाटकको प्रदर्शनमा चाहिने आवश्यक तत्त्वहरूमाथि प्रकाश पार्दै अन्त्यमा नुक्कड नाटक देखाएर सडक नाटकले समाजको समस्यामाथि प्रकाश पारेर त्यसको समाधान देखाउने गर्छ भन्ने सडक नाटकको व्याकरण रहेको प्रमाणित गरेको छ । यहीँ सडक नाटकसँगको मेरो विगतको सामीप्यलाई कथा घेरा र नुक्कड नाटकले व्युँत्याई दिएपछि सडक नाटकको कथा लेख्न मन लाग्यो ।

२०४२ सालमा सर्वनामबाट सडक नाटकको थालनी गर्दा यसको भविष्य यसरी देख्न पाइन्छ भन्ने हामी कसैले सोचेका पनि थिएनौं । मलाई सम्झना छ भारतको शिलाङमा अध्ययनरत रहँदा सन् १९७५ को ईमार्जेन्सीका विरुद्ध तत्कालीन सरकारको विरोधमा सुरु भएको आन्दोलनको क्रममा सडकमा मञ्चन गरिएको ‘गरिबी हटाओ’ नुक्कड नाटकमा अभिनय गरेको थिए । सन् १९७९ (२०३७ साल) मा ‘सर्वनाम’ नाट्य समूहको थालनीपछि अभिनय गर्ने कीडाले टोक्न थाल्यो । प्रज्ञाको नाटक महोत्सवपछि सभागृह र नाचघरमा चाहेको बेलामा टिकट बेचेर नाटक मञ्चन गराउन गाहे साहे पर्न थाल्यो । शिलाङ्गको नुक्कड नाटकको अनुभव सर्वनाममा राखेपछि सडक नाटकको अवधारणा बाहिर आयो । अनि २०४२ सालमा पहिलो पटक कीर्तिपुरमा सडक नाटक ‘हामी वसन्त खोजिरहेछौँ’ र ‘समाप्त असमाप्त’ मञ्चन गर्‍यौँ । अनि सुरु भयो सडक नाटक मञ्चन र अध्ययनको यात्रा । सडक नाटकका बारे बुझ्न ईण्डियन पिपुल्स थिएटर एशोसिएसन (ईप्टा) को बारेमा पढ्न थाले । सफदर हास्मीको जनम (जन नाट्य मञ्च)समाचार खोजेर पढ्न थाले । जनवरी १, १९८९ मा, दिल्लीको बाहिरी इलाकामा रहेको औद्योगिक क्षेत्रमा सडक नाटक प्रस्तुति दिइरहेको बेला चलेको गोलीबाट एकजना कामदार मारिनुका साथै सफदर हाशमी पनि घाइते भएर अस्पताल भर्ना गरेको भोलीपल्ट मृत्यु भएको थियो ।

त्यस बेला सडक नाटकलाई अझ सशक्त बनाउन सर्वनामबाट सडक नाटकसम्बन्धी कार्यशाला गोष्ठीहरूको आयोजना गर्दै जान थाल्यौँ । नाटकमा आबद्ध भएर मैले दक्षिण कोरिया, हङकङ्ग, ताईवान, थाइल्याण्ड, भारत, पाकिस्तान, बेलायत, नर्वे, बाङ्लादेशमा रङ्गगोष्ठीहरुमा सहभागी हुने मौका पाएपछि सडक नाटकका बारेमा अझ धेरै अध्ययन र अनुभव गर्ने मौका पाउँदै गए । सर्वनामबाट सडक नाटकलाई सामुदायिक विकासका कुराहरु जनमानसका बीच राख्ने माध्यम बनाएर परिवार नियोजन, रेड बार्ना, स्वीस सहयोग निकाय, मानव अधिकार समुह आदि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घसंस्थाका लागि काम गर्न थालियो । चिउरा खाएर परालमा सुतेर सडक नाटक गर्दै पूर्वमेचिदेखि पश्चिम महाकालीसम्मको यात्रा गर्ने मौका पायौं । छियालिस सालमा नेपालमा प्रजातन्त्रको पूर्नस्थापनापछि सडक नाटक प्रस्तुतिमा अन्य नाट्य संस्थाहरूको संलग्नता पनि हुन थाल्यो । त्यसपछि रङ्गमञ्चको व्याकरण समेत नबुझेकाहरुले सडक नाटकलाई सोझै सामग्री प्रचारको नाटक बनाएर सडक गली र चउरहरुमा मञ्चन भएको देख्न थाल्यौँ । यहीँ सडक नाटकको अङ्कगणित बुझ्न क्यानडा पुगेर विद्यावारिधि गर्ने अवसर पनि पाए । रत्न पुस्तकबाट ‘विश्व रङ्गमञ्चमा सडक नाटक अनुसन्धानको पुस्तक प्रकाशित पनि भयो । तर सडक नाटक हेर्न, गर्न र लेख्ने इच्छा भने अझै मरेको छैन ।

सडक नाटकलाई सर्वसुलभ तरिकाबाट जहाँ पनि सजिलै देखाउन सकिने मञ्चनको एउटा माध्यमका रूपमा स्विकारिएको छ । नाटककै तत्त्वहरूको प्रयोगबाट सडक नाटक बन्ने गर्दछ । तर खुला ठाउँमा देखाइने नाटक भएकाले सडक नाटकमा यी तत्त्वहरूलाई स्थान र दर्शकका आधारमा प्रयोग गरिन्छ । रोस किडले पपुलर थिएटर: पिपुल्स् थिएटर पुस्तिकामा सडक नाटकलाई जनप्रिय नाटकका रूपमा परिभाषित गर्दै यसले समाजलाई समयानुरूप परिवर्तन गराउने बाटो देखाउने कुरा गरेका छन् । यसको प्रयोग जनतालाई अधिकारका लागि सुसूचित गराउने जनचेतना जगाउने, जनपरिचालन गर्ने र अधिकारका लागि जनताको आवाजलाई हतियारका रूपमा प्रयोग गर्न सिकाउने माध्यम माध्यम मानिन्छ । अगस्तो बोलले सडक नाटकलाई जनक्रान्तिका लागि जनतालाई जागृत गराउने माध्यम मानेका छन् । भारतमा सडक नाटकका पिता भनेर चिनिएका रङ्गकर्मी बादल सरकारले सडक नाटकलाई सरल तरिकाबाट दर्शकसँग आत्मीयता गाँस्दै काल्पनिक वेशभूषा र मञ्च सामग्रीका माध्यमबाट सर्वसाधारणका समस्या तथा समाधानका कुराहरूलाई सजिलै प्रस्तुत गरिने माध्यम मानेका छन् । रङ्गकर्मी सफदर हास्मीका विचारमा सडक नाटक विरोधको लागि प्रस्तुत गरिने राजनैतिक प्रवृत्ति भएको नाटक हो । रुसका भेस्भोलोड मेयरहोल्डले जनताको हकहितकालागि प्रयोग गर्ने एउटा साधन सडक नाटक भएकोले यसबाट कामदारहरूको आवाज मालिकहरू समक्ष पुर्याउने सशक्त माध्यमका रूपमा चर्चा गरेका छन् ।

सडक नाटकको प्रस्तुतिमा संयमता चाहिन्छ । सडक, गल्ली, चौक, चौतारी जस्तो खुल्ला ठाउँमा मञ्चन गरिनुभएकोले दर्शक जुटाउन र आकर्षित पार्न सडक नाटकको प्रारम्भमा अति नाटकीयताको आवश्यकतालाई सबैले मान्ने गर्दछन् अर्थात् नाटकको सुरूमा गीत नृत्य वा त्यस्तै हाँस्य अभियानात्मक प्रस्तुतिबाट दर्शकलाई मनोरञ्जन दिँदै नाटकतर्फ आकर्षित पार्दै मूल कथातिर छोटो संवाद, सरल भाषासँगै नाटकीय गतिमा तीव्रता ल्याउँदै जानु पर्दछ । भाषागत संवादभन्दा शारीरिक संवादको बढी प्रयोग सडक नाटकमा हुने गर्दछ । आवाज नै सडक नाटकको पहिचान भएकोले मादल, झ्याली, बाँसुरी र तालीजस्ता ठूलो आवाज सृजना गर्ने वाद्यवादनको प्रयोगसँगै गीत र नृत्य सडक नाटकको आवश्यक तत्त्व हो ।

गीत सडक नाटकमा प्राणत्वका रूपमा आउने गर्दछ र कतिपय प्रसङ्गमा कथालाई अगाडि बढाउन सूत्रधारको सट्टा गीतलाई माध्यम बनाइन्छ । गीतले कथावस्तुलाई गति दिँदै असम्भव दृश्य र परिस्थितिलाई सहज बनाउँदै जान्छ । गीत कहिलेकाहीँ संवादकै रूपमा आउने हुनाले गीतको लयमा कुनै चर्चित धुनको प्रयोगलाई राम्रो मानिन्छ । नाटक मञ्चन गर्दा कोरस संवाद र एउटा पात्रको संवादलाई अर्को पात्रले प्रश्नात्मक शैलीमा दोहोर्याएर नाटकले भन्न र दिन खोजेको कुराहरू दर्शकसम्म पुर्याउने गरिन्छ । यसको प्रस्तुतिमा कलाकारहरूको अभिनयमा अतिरञ्जित हाउभाउको प्रयोग हुनु अनिवार्य मानिन्छ, किनभने सडक नाटकका पात्र मञ्च नाटकमा जस्तै एकै ठाउँमा उभिएर सहपात्रसँग कुरा गरिएझैँ हुँदैनन् ।

सडक नाटकमा अति अभिनय नीतिलाई स्वीकारेर चलायमान अभिनयद्वारा नाटकमा गति प्रदान गरिन्छ । सडक नाटकमा वेशभूषाको प्रयोगलाई त्यति महत्त्वपूर्ण मानिँदैन । साधारण वेशभूषाको प्रयोग गर्नु र सबै कलाकारको पहिरनमा एकरूपता हुनु पर्दछ । त्यसबाहेक विभिन्न चरित्रको अनुभूति दिन लुगाको प्रयोगमा कालो टोपी र गलबन्दीबाट अभिजात्यवर्ग वा नेताकोे, टोपी र डन्डाले प्रहरीको, टाईले बुद्धिजीवीको, च्यातिएका लुगाले गरिबवर्गको, कालो चस्माले खलपात्र आदि । वेशभूषामा एकरूपता ल्याएर प्रस्तुतिमा सरलीकरण गर्दै पातलो पछ्यौरा वा दुपट्टाको प्रयोगलाई प्रत्येक कलाकारले अनिवार्य लिनु पर्ने र त्यही पछ्यौरा वा दुपट्टालाई विभिन्न प्रतीकात्मक अनुभूति दिन प्रयोग गरिदै जानु पर्दछ । यसका अतिरिक्त सडक नाटकमा पोस्टर र ब्यानरको प्रयोगलाई पनि अत्यधिक मात्रामा प्रयोग गरिन थालिएको पाइन्छ । पोस्टर बनाएर वस्तुस्थितिको जानकारी दिने, ब्यानर बनाएर नाटकले भन्न खोजेको कुरालाई देखाउने गरिन्छ । जनयुद्धताका माओवादी दलको जन साँस्कृतिक मञ्चले सडक नाटक मञ्चन गर्दा पार्टीको झण्डा र ब्यानर मञ्च स्थलमा राख्ने गरेको देखिन्थ्यो । गैरसरकारी सङ्घसंस्थाका लागि गरिने सामुदायिक विकासको सडक नाटकमा आफूले प्रतिनिधित्व गर्ने संस्थाको ब्यानर राख्ने चलन पनि सुरु भएको पाइन्छ ।

सडक नाटकमा सहभागी कलाकारहरूको आवाजमा शुद्धता हुनुपर्छ । किनभने सडक नाटक सन्देशमूलक नाटक हो र कलाकारले दर्शकलाई कुनै कुरा बुझाइराखेको हुन्छ । दर्शकको सम्पूर्ण ध्यान कलाकारमा केन्द्रित हुने गर्दछ । तसर्थ आवाजको स्पष्टता र संवादमा शुद्धताका साथै समयानुरूप संवाद बनाउने क्षमता हुनु पर्दछ । किनभने खुला आकाशमा प्रस्तुति दिँदा सबै तह र वर्गका दर्शक हुने गर्छन् र अभिनय गर्दा कुनै पनि बेला नचिताएको स्थिति सिर्जना हुन सक्ने र दर्शकले कराएर बाधा पुर्याउन सक्ने वा कलाकारको संवादको प्रतिक्रिया दिन सक्ने हुनाले त्यसका लागि कलाकार हरदम तयार बस्नका साथै परिस्थिति अनुसारको संवाद कलाकारले बनाउन सक्ने क्षमता हुनु पर्दछ । सडक नाटक मञ्चन गर्ने स्थलको स्थिति राम्ररी बुझेर कलाकारले दर्शक र मञ्चको स्थिति बुझी अभिनय गर्नुपर्छ । अभिनय गर्दा कहाँसम्म मञ्चीय स्थल फैलिएको छ त्यसको विशेष ख्याल राख्नु पर्दछ । गीत–संगीतपछि सडक नाटकमा सूत्रधारको भूमिका महत्त्वपूर्ण मानिन्छ । सडक नाटकमा सूत्रधार नै यस्तो पात्र हो, जसले नाटकलाई प्रारम्भदेखि अन्त्यसम्म डोर्याउँदै लिएर जान्छ । त्यसैले सूत्रधारलाई सडक नाटकको मेरुदण्ड पनि भनिन्छ ।

सडक नाटकलाई ‘चेतनामूलक’ नाटक पनि भनिन्छ । सडक नाटक जन्मनको कारण नै जनमानसमा चेतनाको अभिवृद्धि गर्नु रहेकाले प्रारम्भदेखि नै यसले सन्देश प्रवाह गरेको पाइन्छ । पहिला चर्चबाहिर खुला आकाशमा नाटक देखाएर धार्मिक सन्देश दिने काम गरिन्थ्यो भने पछि गएर शासकहरूको शोषण नीतिका विरुद्ध जनसमर्थन बटुल्न सडकमा नाटक गरेर समानताको सन्देश दिने काम गर्न थालियो । आज आएर सडक नाटकले सामाजिक एवम् राजनैतिक सन्देश दिने काम गरेको पाइन्छ भने सामाजिक समस्याहरूलाई पहिचान गरेर त्यसको समाधानका उपायहरू पनि पहिल्याउने गरेको पाइन्छ । यसरी स्थानीय रूपमा पहिचान गरिएका समस्याहरू दर्शाएर समाधानका उपायहरू बताउन सडक नाटकलाई माध्यम बनाएर विभिन्न प्रकारका सन्देशहरू दिने गरिन्छ ।

खुलामञ्च नाटक प्रस्तुतिको ऐतिहासिक सन्दर्भलाई हेर्ने हो भने प्रारम्भमा चर्चभित्र धार्मिक अनुष्ठान गर्दा यिसुको महिमामा आधारित नाटकीय प्रस्तुतिहरू हुने गरेकामा बाह्रौं शताब्दीको अन्त्यतिर चर्चभित्र देखाइने धार्मिक प्रस्तुतिका लिटोर्जिकल नाटकका रूपमा लिइन्छ । यसमा बाइबलमा आधारित कथावाचन प्रस्तुतिहरू हुने गरेको र यहीँबाट धार्मिक नाटकले गति पाएको मानिन्छ । सन् ११७० मा फ्रान्समा Mystede d’ Adam बाइबलमा आधारित नाटकलाई चर्चबाहिर खुला ठाउँमा देखाएर नाटकलाई बन्द कोठाबाट खुला ठाउँमा ल्याएको र नाटकमा आदम र इभ (बाइबल अनुसारको सृष्टिका पहिलो पुरुष र महिला) को कथामा सैतानद्वारा उनीहरूमाथि गरिएको अत्याचार र यिसुद्वारा गरिएका उद्धारको कथालाई प्रस्तुत गरिएको देखिन्छ । चर्चबाहिर नाटक देखाउने परम्पराले दर्शक सहभागितामा वृद्धि गराई नाटकका माध्यमबाट नैतिक शिक्षा दिने काम अझ भनौँ सामुदायिक उत्थानका कुराहरू पनि यसै चरणदेखि नाटकमा देखा पर्न थालेको मानिन्छ ।

नाटक परम्पराको थालनी खुला रङ्गमञ्चीय प्रस्तुतिबाट भएको मानिन्छ । पूर्वको संस्कृत एवं लोकनाटक परम्परा वा पश्चिमको डायोनिसस् नाट्यपरम्परा सबै नै खुला रङ्मञ्चीय प्रस्तुतिका रूपमा विकसित हुँदै आएको पाइन्छ । थेस्पिसले इस्वीपूर्व ५३४ मा कथावाचन गर्दै विभिन्न हाउभाउ र अभिनयात्मक प्रस्तुति गरेर नाटकमा गीत र नृत्यसँगै अभिनयकलालाई पनि भित्र्याएका र इजिप्टको ओसिरिसको धार्मिक कार्यक्रमबाट प्रभावित भएर ग्रिसमा पनि डायोनिसस्को सम्मानमा नाटक देखाउने प्रचलन सुरू भएको मानिन्छ । अङ्गुरकी देवी डायोनिसस्को सम्मानमा खुला स्थलमा कोरसका माध्यमबाट गीत र नृत्यसँगै बिस्तारै संवादको थालनी गरेर आजको नाटकको जन्म भएको

मानिन्छ ।

खुला रङ्गमञ्चीय प्रस्तुतिको थालनी ग्रिसको एथेन्स नाट्य सभ्यतासँग जोडेर विश्वको पहिलो कलाकार एवं नाटककार थेस्पिसले एथेन्सको सहर बजारमा समेत आफ्नो कलाकारिता खुलामञ्चमा देखाएर खुलामञ्च नाटक परम्पराको थालनी गराएको मानिन्छ । राजनैतिक विषयवस्तुलाई सर्वसाधारण जनतासमक्ष प्रस्तुत गर्ने चलनको थालनी पन्ध्रौँ शताब्दीदेखि नै भएको थियो । हेनरी आठौँको शासनकालमा उनले शत्रुलाई उनको शासन व्यवस्थामाथि कुदृष्टि राख्नेलाई सर्वसाधारण जनताको अगाडि मृत्युदण्ड दिन खुला स्थलमा मञ्च निर्माण गर्न लगाएर सहरका सम्पूर्ण जनतालाई दर्शकका रूपमा उपस्थित गराएर मञ्चमा न्यायाधीश तथा उच्चपदस्थ सैनिकहरूलाई राखेर शत्रुमाथि उसले गरेको राज्यमाथिको अपराधविरुद्ध मृत्यदण्ड सुनाएर सबैको अगाडि झुन्ड्याएर मार्ने चलन सुरु गराएर राजनैतिक आतङ्कमूलक खुला प्रस्तुतिको बीजारोपण गराएको मानिन्छ । यसैलाई आधार बनाएर तत्कालीन राजतन्त्र विरोधीहरूले पनि हेनरी आठौँ जस्तै यसरी नै खुला ठाँउलाई माध्यम साँस्कृतिक मनोरञ्जनका लागि प्रस्तुत गरिने विभिन्न प्रकारका खुला रङ्गमञ्चीय प्रस्तुतिहरूमा सामाजिक एवम् राजनैतिक कुराहरू पनि राखेर सर्वसाधारण जनतालाई देशको वस्तुस्थितिका बारेमा जानकारी दिन थाले ।

रसियाली नाटककार भास्भोलोड मेयरहोल्ड (सन् १८७४—१९४०) ले डिसम्बर १९०६ मा प्रतीकात्मक तथा प्रकृतिवाद प्रवृत्तिका माध्यमबाट नाट्य प्रवृत्तिका प्रयोगहरूसँगै क्यारेट, इटालीको कमेडिया डेल आर्टे मुखुन्डो र सर्कसका जोकरहरूलाई समावेश गराएर नाटक प्रदर्शन गराएका थिए । यसैलाई आधार बनाएर मेयर होल्डले परम्परागत नाट्य प्रवृत्तिलाई आत्मसात् गरेर नवनाट्य प्रस्तुति गर्ने तर्फ अग्रसर हुन थालेको पाइन्छ । भट्टीमा जाँड खाँदै क्यारे नृत्यहरू हेर्न पल्केका दर्शकहरूलाई स्वच्छ मनोरञ्जन दिनलाई मेयर होल्डले भ्लादमिर मायाकोभ्स्कीको क्रान्तिकारी कविता मिस्ट्री बफेलाई मञ्चीय रूपमा प्रस्तुत गर्न खुलामञ्च नाटकको स्वरूप दिन थाले । मायाकोभ्स्की कवि र सर्कसमा काम गर्ने कलाकार पनि भएकाले उनले ‘मिस्ट्री बफे’ कवितात्मक नाटकलाई मञ्चमा सर्कसको कलाकारिता र जोकरको उपहाँस्यात्मक चरित्रलाई पनि यस नाटकमा प्रयोग गरेर रुसमा जनक्रान्तिको पहिलो वार्षिकोत्सवलाई भव्यताका साथ मनाउन बाम सरकारको अनुरोध अनुरूप मायाको भ्स्की र मेयर होल्डले कवितालाई नाटकीय रूपमा प्रस्तुत गर्ने विचार फलस्वरूप दुवै रङ्गकर्मीले खुला रङ्गमञ्चीय प्रस्तुतिका माध्यमबाट जनसमुदायमा अधिकार बोध गराउने जमर्को गरे । भारतीय रङ्गकर्मी सफदर हास्मीले अक्टोबर क्रान्तिको पहिलो वार्षिकोत्सवमा प्रस्तुत यसै खुला रङ्गमञ्चीय प्रस्तुतिलाई सडक नाटकको थालनीका रूपमा लिएका छन् । कवितात्मक प्रस्तुतिमा मुखुन्डोको प्रयोग एवम् संवादात्मक प्रस्तुति राखेर दर्शकसँग कलाकारको सोझै सम्बन्ध स्थापना गराएका थिए ।

यसरी सडक नाटकमा दर्शकहरूसँग सोझो संवाद राखेर दर्शक सहभागीताको थालनी भएको थियो । सामाजिक असमानतालाई विषयवस्तु बनाएर काल्पनिक कथावस्तुमा राजनीतिक विरोधाभास प्रवृत्ति अँगालेर खुल्ला रङ्गमञ्चीय प्रस्तुतिका रूपमा प्रस्तुत गरिएको यस नाटकमा मजदुर किसान वर्ग तथा रुसका लालसेनालाई विशेष दर्शकका रूपमा निम्त्याइएको थियो । नाटकमा पात्रहरूका माध्यमबाट एकातिर बुर्जुवा वर्ग र अर्कोतिर श्रमजीवी वर्गबीचको असमानतालाई देखाइएको थियो । यस नाटकमा मायाकोभ्स्कीले मजदूरहरूलाई नै कलकारखानाको मालिक बनाएर मजदुरहरूको जित देखाउँदै नाटकको अन्त्यमा दर्शकहरूलाई पनि नाटकको पात्र बनाएर जुलुसमा सामेल गराएर मजदुर र मालिक बीचको दासताको पर्खाल भत्काई समानताको सन्देश दिएको देखिन्छ ।

नेपालको सन्दर्भमा खुला (सडक) नाटकको थालनीमा डबलीको महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ । डबली शब्द नेवारी भाषाको ‘दबु’ शब्दबाट ‘दुबली’ हुँदै ‘डबली’ भएको देखिन्छ । देवीदेवताका प्राचीन नाच नचाउन सहरका विभिन्न स्थानमा जमिनबाट केही उठाई बनाइएको चौतारा जस्तो स्थललाई डबली भनिन्छ । त्यसबेला नृत्यादि उत्सव गर्ने मञ्चका रूपमा प्रयोग गरिने डबलीको निर्माण लिच्छविकलाबाट सुरु भएर मल्लकालसम्म निरन्तरता पाएको थियो । डबली निर्माणको इतिहासलाई हेर्दा यसको निर्माणको थालनी मल्लकालभन्दा धेरै अघि सूर्यवंशीहरूको शासन कालमा भएको मानिन्छ । लिच्छविकालमा जयदेव द्वितीय (वि.सं. ७७०—७९०) का शासनकालमा नक्सालको नारायणचौरमा राखिएको शिलापत्रमा त्यहाँको जग्गाको चार किल्लाको वर्णन गर्ने क्रममा पोण्डिमण्डपिका र प्रेक्षण मण्डपी रहेको तथ्य पाइन्छ । यसैलाई रङ्ग समीक्षकहरूले लिच्छविकालमा डबली रहेको भनी चर्चा गरेका छन् । यही मण्डपिका र मण्डप शब्दको प्रयोग मार्गोट बर्थोल्डको पुस्तकमा पनि भएको पाइन्छ । मार्गोटले भारतीय रङगमञ्चको अध्ययन गर्ने क्रममा मण्डपिका शब्दले त्यस बेला नृत्यादि प्रस्तुत गर्ने मञ्चलाई बुझाउने गरेको कुरा बताएका छन् । यसबाट जयदेव द्वितीयको पालामा प्राप्त शिलापत्रमा उल्लेख गरिएको पोन्डिमण्डपिका र प्रेक्षण मण्डपी डबलीजस्तै खुलामञ्च रहेको बुझिन्छ । मल्लकालमा डबलीको बढी मात्रामा प्रयोग भएको देखिन्छ ।

नेपालमा सडक नाटक २०३४ साल ताका जन सांस्कृतिक मञ्चले दिल्लीबाट तालिम र अभ्यास गरेर ‘खाल्डो’ नुक्कड नाटक पहिलो पटक काठमाडौंमा प्रदर्शन गर्ने जमर्को गरेता पनि प्रहरी प्रशासनले त्यसलाई सफल हुन दिएनन् । त्यसपछि २०४२ सालमा सर्वनामले सडक नाटकको थालनी गराएर निरन्तरता दिँदै आएको छ । प्रारम्भिक चरणमा धर्मप्रचारका लागि सुरु भएको खुला रङ्गमञ्चीय प्रस्तुति (सडक नाटक) बिस्तारै जनविरोधी शासकविरुद्ध जनमानसमा चेतना फैलाउने सशक्त माध्यमका रूपमा विकसित भएर देखापरेपछि सामाजिक उत्थानका कुराहरू सर्वसाधारणसमक्ष पुर्याएर जनचेतना जगाउने प्रस्तुति बनेर समाजमा बेग्लै प्रभाव छोड्न सफल भएको छ । त्यसैले सामाजिक उत्थानका कुराहरू जनमानसका बीच प्रभावकारी तरिकाबाट पुर्याउन आज विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूले रङ्गसंस्थाका माध्यमबाट सडक नाटक प्रयोग गर्दै आएको दखिन्छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.