“यसपालि तिहारमा टीका लगाउन आइज है”, भनेर ठाइँली दिदीले फोन गर्नुभयो, मैले मन्जुर गरें ।
बा आमा हुँदा सातैवटी दिदी तिहारमा माइत नै आउनुहुन्थ्यो ।
बा आमा बितेपछि तिहारको त्यो रमाइलो हाम्रो भागमा परेन । पहिले बा बित्नुभयो; त्यसपछि आमा । आमा बितेको पनि बीस वर्षभन्दा बढी भैसकेछ । आमा बितेपछि तिहार खासै रमाइलो भएन । दिदीहरूका छोराछोरी पनि ठूला भए । छोराछोरीकै लागि भए पनि तिहारको रठापट्ठा मिलाउन पनि दिदीहरू माइत आएर तिहार मनाउन पाउनुभएन । माइतीघर फेरि बाआमा भएजस्तो रमाइलो पनि भएन । त्यसो भएकाले हाम्रो तिहार एक किसिमले औपचारिकतामा सङ्कुचित हुन पुग्यो । जुन दिदी भौगोलिक दृष्टिबाट नजिक हुनुहुन्छ, म त्यहीँ गएर टीका लगाउन थालें । अरु दिदीहरूकोमा जान पनि नजिकको दिदीको घरको बाटो काटेर जान त्यति सजिलो भएन । तसर्थ, बीस वर्षदेखि निरन्तर नजिककी दिदीकोमा नै गएर तिहारमा टीका लाउने गर्दै आएको थिएँ । यसबारे अरु दिदीहरूले खासै नमीठो मान्नु पनि भएन ।
तर आज एकाएक ठाइँली दिदीले फोन गरेर बोलाउनु भयो ।
ठाइँली दिदीलाई सम्झिने बित्तिकै म उहाँ प्रतिको श्रद्धाभावले नतमस्तक हुन्छु । उहाँ अति नै सिधा र छलकपट केही नजान्ने र नबुझ्ने हुनुहुन्थ्यो । “दैवले देख्छ सोझाको दर्द भनेझैँ” उहाँले भोग्नुपरेका दुःखका दिनहरू बारे न कसैले सम्झिए न कसैले बोले । आज धेरै दिन पछि उहाँका अतीतका दिनहरू मेरो मानसपटलमा जागृत भएर आयो ।
ठाइँली दिदीको बिहेको सम्झना चाहिँ मलाई छैन, तर उहाँको पहिलोपालो सुत्केरी हुने महिनामा छोरी भेट्नका लागि सामानको जोरजाम गर्न आमाको सक्रियता म राम्रोसँग थाहा पाउँछु ।
म एकाएक आजभन्दा साठी वर्ष अगाडि, अर्थात दुईहजार बाइस साल वैशाखमा पुग्छु; जुन दिन ठाइँली दिदी पहिलोपालो सुत्केरी हुने महिना थियो ।
ooo
दुईचार दिन भयो; आमा अति प्रसन्न हुनुभएको थियो; काम गर्दागर्दै मनमा के सोच्नुहुन्थ्यो अनि मुसुक्क हाँस्नुहुन्थ्यो । बा तरकारी बारीमा सागपातको स्याहार गरिरहनुभएको थियो; आमाले बालाई घरमा बोलाउनुभयो ।
बा आएर खाटमा बसेपछि आमाले भन्नुभयो, “होइन तपाईंले थाहा पाउनुभएको छैन ? छोरी सुत्केरी हुने दिन आइसकेको !”
“किन थाहा नपाउने ! अस्ति पनि त्यही भन्थिस्, हिजो दिनभरिमा दुईतीनचोटि नै भनेकी होलीस् । आज पनि भनिरहेकी छेस् । यसरी दिनहुँ भनिरहँदा पनि थाहा हुँदैन त ! थाहा छ । हन तँलाई यो सुत्केरीको नसा लागेको हो कि के हो,सान्दुलही भर्खर चोखिएकी छ; उसलाई स्याहार गर्दै फुर्सद छैन; फेरि के को तातो लागेको ? छोरी त सुत्केरी भएकी छैन त अहिले ।” बाले भन्नुभयो ।
“त्यसो भनेर कहाँ हुन्छ सर्दाम ठीक पार्दै गर्नु परेन !” आमाले भन्नुभयो ।
“के सर्दाम ठीक गर्ने ?” बाले भन्नुभयो, “पाखनभेद, ठूलोओखती घरमा छँदैछ । इलाइची, दालचिनी, जाइफल, ज्वानु, सुकुमेल, मिश्री मधेसबाट आउँदा वर्षै दिनलाई पुग्नेगरी लिएरै आएको हो, अरु के चाहियो ?”
“त्यतिले हुन्छ ? ठूलो कुरो मह र गाइको घिउ चाहिएन ?” आमाले भन्नुभयो ।
घरमा दुईवटा लैना भैंसी थिए । टिनका टिन घरमा घिउ थियो, तर आमालाई भैँसीको घिउले हुन्नथ्यो गाइकै घिउ र मह पनि मौरीको होइन कठ्यौरीको मह चाहिन्थ्यो— सुत्केरी ओखती बनाउन ।
बाले भन्नुभयो, “त्यो क्यै ठूलो कुरो भएन, भोलि बिहानै ठूलो छोरालाई पठाउनू; दुलही सुत्केरी हुँदा ल्याएकै हो, कता कता पाइन्छ; उसलाई सबै थाहा छ । सबै घुमेर घिउ पनि ल्याइदिन्छ, मह पनि ल्याइदिन्छ । त्यो तैँले भनेजस्तो कण्टरभरी कठ्यौरीको महचाहिँ ल्याउन सक्दैन । कसैले यसो एक दुई माना ओखतीका लागि राखेको पायो भने ल्याउँछ । चाहिन्छ भने तोरी पनि ल्याइदिन्छ । त्यति भए भएन ?”
“त्यो त भयो”, आमाले भन्नुभयो,— “यसपालि छोरी र सम्धिनीलाई मात्र होइन; ज्वाइँलाई पनि एकसरो लुगा हालिदिन मन थियो ।” आमाले भन्नुभयो ।
“ज्वाइँलाई दिएपछि ज्वाइँका दाजुहरूलाई पनि दिनु पर्ला नि त !” बाले भन्नुभयो ।
“ज्वाइँका दाजुहरूलाई त एक एक जोर धोती दिँदा भैगयो नि ।” आमाले भन्नुभयो ।
“ल भैगयो; भोलि छाडी पर्सी म सिन्धुली गएर सबै कपडा ल्याइदिउँला ।” यति भनेर बा फेरि फूलबारीको स्याहार गर्न जानुभयो । दाज्युले केही दिन लगाएर गाईको घिउ, मह र दश पाथी तोरी बोकाएर ल्याउनुभयो ।
अब घरमा कामको चटारो भयो ।
सुत्केरी पुवामा हाल्ने जडिबुटी कुट्ने, भुट्ने, पिस्ने, छिन्कने, केलाउने, निफन्ने इत्यादि काम मात्र होइन; मालभोग धानको एकमुरी चामल, त्यति नै मालभोग धानकै चिउरा तयार गर्नुपर्ने भयो । त्यसमाथि दशपाथी जति तोरी समेत पेल्नुपर्ने भयो । घरका नियमित काममा यी काम थपिए । कामको चटारो बढ्यो ।
घरमा दुइटी भाउजू भए पनि सानीभाउजु सुत्केरी । एकजना घरमा कामगर्ने ठुलीदिदी हुनुहुन्थ्यो । उहाँहरूले मात्र काम गर्न नभ्याउने जस्तो लागेर आमाले दुइजाना कामगर्ने मान्छे समेत भर्ना गर्नुभयो ।
ढिकुटीबाट धान निकाल्ने, सुकाउने, निछोट्ने अनि बिहानै दुईबजे नै उठेर धान कुट्नुपर्ने, निफन्नुपर्ने र बोरामा थन्क्याउनुपर्ने काम पनि गाँसियो ।
चिउरा कुट्न झनै गाह्रो थियो । दुईजनाले एक एक माना गरेर भिजाएको धान भुट्नुपर्ने एकजनाले घान लगाउने र एकजनाले कुट्नुपर्ने । यसरी एक मुरी धानको चिउरा कुट्न निकै दिन लाग्ने भएर होला आमाले एकमुरी चिउरालाई दशपाथीमा झार्नुभयो ।
फेरि तेल पेल्न तेत्तिकै गाह्रो । पहिले तोरी सुकाउने अनि ढिकीमा कुटेर फुलो बनाउने; फुलोलाई कराइमा हालेर तताउने अनि थोरै थोरै गरेर छपनीमा हालेर चेपुवामा चेपेर तेल निकाल्नुपर्ने ।
केही दिनमा यी सबै सामान तयार भए । आमाको माग बमोजिम बाले कपडा पनि ल्याउनुभयो ।
अब भोटो र काने टोपी सिलाउन सुचिकारलाई बोलाइयो । भोटो, टोपी जस्ता शिशुका कपडा नयाँ लुगाको सिउनु नहुने भएकाले आमाका पुराना दोपट्टाका सारी काटेर दिइयो; साथै तोरीको सिरानी बनाउन पनि त्यै सारी प्रयोग गरियो ।
हाम्रो घरमा छोरा र छोरीमा खासै विभेद थिएन । आर्थिक सामाजिक क्षेत्रमा समान हैसियत थियो । कतिपय अवस्थामा त छोरालाई पर र छोरीलाई ओर गर्नुहुन्थ्यो— आमाले । बाआमा ‘छोरी घरका गहना हुन्’ भन्नुहुन्थ्यो । नभन्दै तीज, दशैं, तिहार जस्ता चाडबाडमा दिदीहरूले उधुमै रमाइलो गर्नुहुन्थ्यो । घरको आर्थिक हैसियत बढोत्तरीमा दिदिहरूको ठूलो हात थियो । तर हाम्रो घरको जस्तो छोरीलाई इज्जत गर्ने यो बेलाको जमाना थिएन, अन्यत्र छोरीलाई धेरै विभेद गरिन्थ्यो । ‘छोरीलाई बन्सोको बोट र छोरालाई सुन्तलाको बोट’सँग तुलना गरिन्थ्यो । छोरी मरिहाली भने पनि कुनै चिन्ता हुँदैनथ्यो । “छोरी मरी; बढाघर परी” भन्ने कहावत प्रचलतमा थियो । त्यो बेलाका गीतकारहरूले “हरे के गरूँ छोरीको जन्म पाएँ, अघि नै चुकी कर्ममा हारी आएँ” जस्ता गीत कथेर छोरीलाई गाउन सिकाउँथे । यस्तो बेलामा बुहारीले छोरो पाओस् भन्ने चाहना सबै सासुहरूमा हुनु स्वभाविकै मानिन्थ्यो । त्यसैगरी हाम्री ठाइँली दिदीकी सासुले पनि आफ्नो कान्छी बुहारीको पहिलो पालो छोरै होस् भन्ने चाहना राख्नुभएको रहेछ ।
‘नाति होस्’ भनेर सबै देवी देवतालाई भाकल पनि गर्नुभएको थियो । झाँक्रीलाई देखाउँदा उसले पनि छोरै हुन्छ भनेको थियो । गाउँमै थिए— नामी ज्योतिषी । उनले पनि त्यसै भनेका थिए । यी सबैले ठोकुवा गरेकाले कान्छी बुहारीले छोरो नै पाउँछे भन्नेमा दिदीकी सासू ढुक्क हुनुहुन्थ्यो रे ।
दिदीलाई व्यथा लाग्यो । गाउँबाट दुईवटी सुढेनी पनि झिकाइयो । बाहिर जोतिषी धुलौटो लिएर बसे । घरभित्र नानी जन्मिएपछि सुढेनीले थाल बजाउने, अनि थाल बजेको समय पारेर नानीको ग्रहदशा हेर्ने चलन थियो । झण्डै दुई घण्टाको प्रतीक्षापछि सुढेनीले ढ्वाङ्ग आवाज आउने गरी थाल बजाए । ज्योतिषीले त्यही समय पारेर धुलैटोमा के के लेखे । त्यसपछि ज्योतिषीले जोत्ने कि पोत्ने भनेर कराए; भित्रबाट आवाज आयो— ‘पोत्ने !’
“थुक्क मरिहालिछ नि !” ज्योतिषीले थुतुनु आँगनतिर फर्काएर थुके ।
दिदीले छोरी पाउनुभएको कुरा प्रकट भयो । घरका सबै छाँगाबाट खसेजस्ता भएछन् ।
जोतिषी अरु कोही थिएनन्; घरपरिवारकै एकजना सदस्य थिए । उनी एकछिन घोरिए, गम खाए र गोजीबाट पात्रो निकाले, पाना पल्टाएर निकैबेर हेरे, धुलौटोमा के के लेखे, अनि कराए— “सालनाल नकाट है अहिले ।” अनि सासुआमातर्फ हेरेर ज्योतिषीले भने– “बच्ची नराम्रो नक्षेत्र पारेर जन्मिछ ।”
एकछिन रोकिएर उनले फेरि भने– “मूल नक्षेत्र र काल जोग परेछ । यस्तो जोग परेर जन्मेकाहरूले बाउ, काका बडाबाउ पिर्छन् । यो बच्चीको अनुहार हेर्ने बित्तिकै बाउ, बडाबाउहरू ठाउँको ठाउँ रगत छादेर मर्न सक्छन् । अर्को कुरा यसलाई आमाको दूध पनि ख्वाउनु हुँदैन; आमाको दूध ख्वाए हजुरामा मर्छिन्; घरमा सालनाल काटे आमा मर्छिन् । मैले आफूले देखेजानेको भनेँ; त्यसो भएकाले, अब के गर्नुपर्ने हो चाडै गर्नू !”
ज्योतिषीको कुरा सुनेपछि परिवारमा सन्नाटा छायो, धेरै बेर कसैले केही बोल्न सकेनन् । धेरै बेर पछि ज्योतिषीले नै सालनालसहित माइत पठाउने विकल्प अघि सारे र त्यसैमा सबैको समर्थन जुट्यो ।
यता हाम्रो घरपरिवार काममा व्यस्त थियो । छोरी सुत्केरी भएको खबर आउने प्रतीक्षामा आमा बाटोभरी आँखा ओछ्याएर बसिरहनुभएको थियो । बच्चा जन्मिएपछि त्यो समाचार लिएर मान्छे आउला र माइतमा गर्नुपर्ने तयारी गर्नुपर्ला भन्ने बाआमाको सोच थियो । तर खबर गर्ने मान्छे आएन; दिदी नै पो बोकिएर आउनुभयो !
दिदीलाई यो अवस्थामा देखेर आमा “के भो मेरो बाबुलाई” भन्दै रुन थाल्नुभयो । आमासँगै दिदीका पनि बलिन्द्र धारा बगे ।
सँगै अन्तरी बज्यै पनि आउनुभएको थियो । उहाँले भन्नुभयो – “चुप लाग्नुस्; पहिले सुत्केरीलाई सुत्ने ठाउँको व्यवस्था गर्नुस्, यहाँ नानीको साल सर्किन आटिसक्यो ।”
अँगेनाको मूल ओछ्यानमा सुत्केरी सानी भाउजू सुत्नुभएको थियो । अर्को छेउमा दिदीलाई ओछ्यान लगाइयो । दिदीलाई सुत्ने व्यवस्था गरेर नानीको सालनाल काटी सकेर अन्तरी बज्यैले घरको नालीबेली सनै सुनाउनुभयो ।
दाज्युले प्रतिवाद गर्नुभयो र भन्नुभयो— “यस्तो पनि कतै हुन्छ ! भोली नै समाज राखेर त्यो ज्योतिषी भन्नेको उछितो काड्छु !”
आमाले भन्नुभयो– “हुन्दे बाबु ! यो छोरी यहीँ बस्छे । भैँसीलाई सिङ भारी हुँदैन । तेस्ता अधर्मी ज्योतिषी भएको घरमा म छोरी पठाउँदिन अब ।”
“पठाए पठाउनुस्; नपठाए नपठाउनुस् । तर बच्चीलाई आमाको दूध चाहिँ नखुवाउनू । आमा हजुरामा दुवैलाई पिर्छ भनेको छ ।” अन्तरी बज्यैले भन्नुभयो ।
“सान्दुलही सुत्केरी नभएकी भए ता मैले पनि जानेको थियो, कसको दूध ख्वाउने भन्ने ! अब सान्दुलही सुत्केरी छ, उसैको दूध ख्वाएर दुईवटै नातिनी बचाउनु पर्ला !’ आमाले भन्नुभयो ।
बेलुकादेखि ठाइँली दिदीलाई हन्हनी जरो आयो; केही समयपछि पेट पनि दुख्न थाल्यो । बा आमा, दाज्यु, दिदीहरू र ठुलीभाउज्यू रातभरी जागै रहेर सुत्केरी दिदीको स्याहारसुसार र औषधिमुलोमा लाग्नुभयो । दिदीलाई बिसन्चो घट्नुको साटो झन् बढदै गयो । भोलिपल्ट एकाबिहानै दाजु मुरलीधर कर्ण डाक्टरलाई लिन भलुवाही जानुभयो ।
भलुवाही निवासी मुरलीधर बिरामी उपचारका लागि त्यो भेगका एकमात्र विकल्प थिए ।
झम्केसाँझ परेपछि दाज्यु डाक्टर लिएर आइपुग्नुभयो ।
डाक्टरले प्राथमिक उपचार गरे । दिदीको शरीरमा रगतको मात्रा आवश्यकताभन्दा धेरै कम भएको रहेछ । पाठेघरको सङ्क्रमण पनि भएको रहेछ ।
डाक्टरले राति अबेरसम्म लगाएर उपचार गरे; औषधीहरू खान दिए, पानी चढाए । एकातिर दिदीको दूध गानिएर कष्ट भइरहेको थियो भने अर्कोतर्फ बच्चीले दुध खान न पाएर रोइरहेकी थिई । डाक्टरले हप्कीदप्की पारेर “जे पर्छ परेको म बेहोर्छु” भन्दै बच्चीलाई आमाको दूध ख्वाउन लगाए । रातिदेखि दिदीको बिमारी बीसको उन्नाइस हुँदै गयो । डाक्टरले दस बार दिन बसेर उपचार गरे । दिदीको अवस्थामा केही सुधार भयो । डाक्टर गए । दिदीको बिमार फेरि बल्झियो । फेरि डाक्टरलाई बोलाइयो । यसरी पाँच छ महिनासम्म निरन्तर उपचारपछि ठाइँली दिदी बिस्तारै खुट्टा टेक्नसक्ने हुनुभयो ।
यस बीच भिनाजु पनि आउनुभयो । उहाँले छोरीले आमाको दूध खाने अनुमति पाएकोलाई अनुमोदन मात्रै गर्नुभएन; छोरीलाई हेर्दा आफू नमर्ने भन्दै काखमा लिनु पनि भयो । भिनाजुको साहस र समर्थनले हाम्रो पूरै परिवार प्रफुल्ल भयो ।
भिनाजुले आमासँग, “हजुरकी छोरी घर लैजाऊँ भने मेरा दाज्यु भाउजू आमा सबै मरिहाल्छन्; त्यसो भएकाले सर्लाहीको जग्गामा लगेर राख्नु पर्यो । त्यहाँ घर छैन । घर बनाउन कम्तीमा पनि पाँच छ महिना जस्तो लाग्छ । त्यसपछि हजुरकी छोरी उतै लिएर जान्छु” भन्नुभयो ।
नभन्दै यता दिदी तङ्ग्रिदै हुनुहुन्थ्यो; खाना पनि खान थाल्नुभयो । मुसुक्क हाँसेर अबचाहिँ बाँच्छु जस्तो लागेको छ भन्न थाल्नुभएको थियो । भिनाजुले पनि दिदीलाई एकपटक राम्रै डाक्टरलाई देखाउनु पर्ने कुरा गर्नुभयो ।
आमाले भन्नुभयो, “मारे पाप; पाले पुन्य’ भनेर हजुरलाई जिम्मा लगाएको हो । अब हजुरले लाने भनेपछि हामीले हुँदैन भन्न मिलेन ।”
भोलिपल्टै भिनाजुले दिदीलाई सर्लाहीको खड्काटोलमा लिएर जानुभयो ।
आमा मनमनै दङ्ग पर्नुभयो र भन्नुभयो– “मेरो देउताजस्तो ज्वाइँ !”
त्यसपछि तीनचार वर्ष दिदीसँग भेटघाट भएन ।
पच्चीस सालतिर मैले र कान्छी दिदीले प्राइमरी स्कुल पास गर्यौं ।
जिल्लाभरीमा अरूठाउँमा स्कुल थिएनन्; एउटा हाइस्कुल सदरमुकाममा मात्र थियो । त्यही पनि स्कुलमा छात्रबास थिएन । डेरा गरेर बस्ने अनुकूल परिस्थिति भएन । छोरा छोरीलाई कहाँ लगेर पढाउने होला भनेर बा चिन्तित हुनुहुन्थ्यो । यसैबिच ठाइँली दिदीले “यहाँ हाईस्कुल नजिकै छ; भाइ बहिनी यहीँ पठाइदिनू” भन्ने खबर पठाउनुभएछ ।
सोही बमोजिम हामीलाई लिएर बा दिदीको घरतर्फ लाग्नुभयो ।
भोलिपल्ट हाम्रालागि आवश्यक चाँजोपाँजो मिलाएर बा फर्कनुहुने भयो ।
बा फर्कने बेला दिदी बलिन्द्र धारा बगाएर रुनुभयो । दिदी बिहेमा समेत यति रुनुभएको थिएन होला; रुँदै बासँगै पछि लागेर धेरै परसम्म जानुभयो । कुरा खुलेको थिएन; दिदी रोएको देखेर कान्छी दिदी र म पनि रुँदै पछि लाग्यौँ ।
बाले पटकपटक फर्किन आग्रह गर्दा पनि दिदी फर्किन नमानेर बालाई अँगालो मारेर रुनुभयो ।
दिदीको यस्तो व्यवहार देखेर बा अगाडि बढ्न सक्नुभएन र बाटोको छेउमा बसेर भन्नुभयो— “तैँले यसो गरे पछि मेरो पाइलो कसरी अगाडि बढछ ! भन् त, ठाइँली ! भाइ बैनी ल्याइदिएको छु, म आउने-जाने गरि नै रहन्छु, तैँले किन यति विघ्न चिन्ता गरेकी ?”
“ज्वाइँले तेत्रो गन्जागोल घर व्यवहारबाट यहाँ ल्याएर राख्नुभएको छ । त्यत्रो माया गर्नुभएको छ । अब छोरी पनि हुर्किसकी तँलाई केको दु:ख छ; भन् त !” बाले फेरि भन्नुभयो ।
बाका आँखा पनि रसाएर आए ।
“जा घर ! आज बर्दिबास पुग्न सकिनँ भने, भोलि घर पुग्न सक्दिनँ । बाटामा फेरि बिचाजो हुन्छ । मलाई जान दे भन्दै बाले पनि नदेखिने गरी आँशु पुछ्नुभयो ।
दिदी डाँको छोडेर रुँदै घर फर्किनुभयो । हामी पनि दिदीसँगै घर फर्केयौं ।
भएको के रहेछ भने भिनाजुले दिदीलाई सौता हाल्नुहुने भएको रहेछ । दिदीलाई लिएर जाँदै घरमा चौध पन्ध्र वर्षकी केटी घरमा थिई । दिदीले ‘यो केटी को हो’ भनेर सोध्दा भिनाजुले भन्नुभएको रहेछ— तँ रोगी भइस्; काम गर्न सक्दिनस् । तेसैले काम गर्न राखेको भन्नुभएको रहेछ । होला त नि भनेर पाँच सात महिना दिदीले केही वास्ता गर्नुभएनछ ।
तर भिनाजुको ननिको चाल नदेखेपछि दिदीको मनमा शंकाको बादल मडारिन थालेछ । पछि चियो गर्न थाल्नुभएछ । आफूले जे नहोस् भन्ने सोच्नुभएको थियो आखिर त्यै भयो । भिनाजुको नोकर्नी केटीसँगको लसपस थाहा पाएपछि दिदी छाँगाबाट खसेजस्तो हुनुभएको थियो । त्यसपछि ठाइँली दिदी धोका र विश्वासघातको जलनमा पिल्सिनुभएछ ।
दिदीले आफ्नो श्रीमानको घरमा राखेकी नोकर्नीसँगको अवैध सम्बन्ध छुटाउन हर सम्भव प्रयास गर्नुभएछ । “म बाँचेको के सार भयो र !” पक्काबाँधमा डुबेर मर्छु भनेर पनि जानुभएछ । दिदी रुनुभएछ, कराउनुभएछ; आफ्ना सा–सातवटी दिदी बहिनीले चाहिँ सौता नपाउने; मेरो मात्र कस्तो भाग्य रहेछ भनेर रातदिन निराशा र एक्लोपनमा पिल्सिनुभएछ ।
त्यस्तै दिदी र भिनाजुको तीव्र अन्तरसङ्घर्ष चलेकै अवस्थामा बाले हामीलाई त्यहाँ पुर्याउनुभएको थियो । तर त्यो बेला त्यो कामगर्ने भनिएकी केटी थिइनन् । बाले देख्नुहुन्छ भनेर चार दिनका लागि माइत पठाइएको रहेछ । बा घर फेर्किएपछि कामगर्ने भनिएकी केटी फर्केर आई । भिनाजुले आफू सुत्नेगरेको खाट कामगर्ने भनिएकी केटीको कोठामा सार्नुभयो ।
हामी दिदी सुत्ने कोठामा सुत्थ्यौँ । जतिखेर हामी बिउझँदा पनि दिदी रोइरहनुभएको देख्थ्यौं ।
लोग्नेमान्छेले आफ्नो यौन चाहना पूरा गर्न कसरी आफ्नो नैतिकता गुमाउँदछ भन्ने दिदीले पहिलोपल्ट अनुभव गर्नुभएको थियो । तर दिदीले सोचेको जस्तो त्यो बेलाको जमाना थिएन । जसले पत्नीमाथि उपपत्नीको क्रम बढाउँदै लान सक्छ; त्यो त्यतिकै समाजमा नैतिकवान् र पुरुषार्थी ठहरिन्थ्यो । ‘मर्दका दशवटी हुन्छन्’ भन्ने भनाई थियो त्योबेला । समाजमा बग्रेल्ती बलात्कारका घटना हुन्थे, तर यस्मा पनि महिलालाई नै दोषी ठानिन्थ्यो । यस्तो महिला पीडित सामाजिक परिस्थितिमा दिदीले के पो गर्न सक्नुहुन्थ्यो र,आफ्नो भाग्यलाई दोष दिनुभयो,आफैँले आफैँलाई सम्झाउनुभयो, चित्त बुझाउनुभयो । बरु, यस्तो सामाजिक परिस्थितिमा आफ्नी हुर्केकी बहिनी राख्न त्यति उचित ठान्नुभएन । अपगाल पो खेप्नुपर्ने हो कि भनेर पनि दिदी चिन्तित हुन थाल्नु भएको थियो । नभन्दै एकदिन सुन्नु पनि भयो ।
बाहिर दिदीका जेठाजु र एकजना नयाँ मान्छे थिए । उनीहरूले भिनाजुसँग कुरा गर्दै थिए– “छोरा नभएर अर्को बिहे गर्नुपरेको । के गर्नु, बुढीले छोरीमात्र पाउँछे !”
भिनाजुले भन्नुभयो— “अन्तै केटी खोज्नू । ससुरा बुढाले छोरी पढाउन राखेका हुन् । अहिले बिहा गर्दैनन् ।”
नयाँ मान्छेले भन्यो– “यस्तो भनेर कहाँ हुन्छ ! सल्लाहले हुँदैन भने हामी चोरेर पनि लान्छौँ ।”
त्यसपछि दिदीले केही सुन्न सक्नुभएन । गाउँमा गएर एकजना मान्छे खोजेर बालाई खबर गर्न छड्काउनुभयो ।
पर्सिपल्ट बा आइपुग्नुभयो ।
यसपालि काम गर्ने नोकर्नीलाई लुकाउने आवश्यकता ठानिएन ।
बाले स्थिति आकलन गरेर दिदीलाई भन्नुभयो– “तैँले काम गर्ने भनेर किन यी नानीलाई राखेकी ?”
यसपालि दिदी रुनुभएन, मानौँ उहाँको शरीरमा भएका सबै आँशु सकिसकेर हो वा श्रीमानको पुरुषार्थमा आत्मा समर्पण गर्नुभएर हो, उहाँले भन्नुभयो, “मैले सकिनँ बा ! हजुरकी छोरीले लाख कोसिस गर्दा पनि छुटाउन सकिनँ । यो नोकर्नी होइन; अब मेरी सौता भैसकी । दुईजिउकी छ ।”
बा छाँगाबाट खसेजस्तो हुनुभयो ।
बाले भन्नुभयो— “कस्ती अभागी रहिछ मेरी छोरी !”
यत्ति भनेर बाले रोदन रोक्न सक्नुभएन; ह्वा..ह्वा गरेर रुनुभयो ।
दिदीले रुँदै भन्नुभयो– ‘नरुनू बा ! मेरो कर्ममा यस्तै रहेछ । दैवले लेखेको टर्दो रहेनछ ।”
भिनाजु आउनुभयो र भन्नुभयो– “बाले चिन्ता लिनु पर्दैन म सुनलाई सुनकै दर्जामा र पित्तललाई पित्तलकै दर्जामा राख्छु ।” मानौँ समाजमा उपपत्नी ल्याउनु लोग्ने मान्छेको आफ्नु अधिकार हो तर व्यवस्थापनमा कुनै त्रुटि हुनदिन्न भन्ने भिनाजुको आशय थियो ।”
बाले केही बोल्न सक्नुभएन !
दिदीपट्टी हेरेर बाले भन्नुभयो– “सीता बाटोमा भोकाउँछे कि; चिउरा भए थोरै पोको बनाइदे त ।”
दिदीले आज नजानू भनेर लाख प्रयत्न गर्दा पनि मान्नुभएन, बा त्यही दिन कान्छी दिदीलाई लिएर फर्कनुभयो ।
ooo
घडी हेरेँ । बाह्र बजेर पैँतीस मिनेट गैसकेको रहेछ । ठाइँली दिदीको जीवनसँग जोडिएका विगतका घटना/प्रतिघटनाको चश्मदीद साक्षी मात्र थिए म । दिदीको पक्षमा म केही गर्न सक्दिनथेँ । तर दिदीमाथि भएका घात/प्रतिघात मैले सबै देखेको थिएँ ।
ती दिनको सम्झनामा हराएँछु; सिरानी लपक्कै भिजेछ । उठेर पानी पिएँ र पल्टिएँ । निदाउन प्रयत्न गरें । सकिनँ । ठाइँली दिदीको दुःखद कथा अझै सकिएको थिएन । भिनाजुलाई वंश परम्परा थाम्न छोरो चाहिने भूत चढेको थियो; फल स्वरूप दिदीले पन्ध्र वर्ष लगाएर बर्सेनी जस्तै तेह्रवटी छोरी जन्माउनु पर्यो । त्यसो त भिनाजुकी कान्छीले पनि चारवटी छोरी पाउनुभयो । त्यसपछि पाउनुभएन । उहाँले अब पाउँदिनँ भन्दा धर पाउनुभयो तर मेरी दिदीले धर पाउनुभएन । चौधौँ पालामा वंश परम्परा थाम्ने छोराको पदार्पण भएपछि मात्र सन्तान उत्पादन गर्ने कठिन र दर्दनाक प्रकियाको अन्त्य भयो ।
छोरी जन्मिने क्रममा दिदी अर्धबेहोस हुनुहुन्थ्यो । सुडेनीहरूले सालनाल सही र सुरक्षित तरिकाले काट्न अल्छी गरेर अत्याधिक रक्तस्रावका कारण कतिपय बच्चीहरू तुरुन्तै खेर पनि गए । कतिपय कुपोषणले र कतिपय यथोचित उपचार नअपाएर खेर गए ।
अहिले दिदीभिनाजु दुवै बिरामी हुनुहुन्छ । भिनाजुलाई मुटुको बिमारी छ । दुईपटक मुटुको अप्रेसन गर्नुपर्यो । उहाँ अति नै कमजोर हुनुहुन्छ । मुस्किलले मात्र हिँडडुल गर्नुहुन्छ । दिदीलाई दमको बिमारी छ । रात र कतिपय अवस्थामा दिनमा पनि नियमित अक्सिजन लगाएर राख्नुपर्छ । प्रेसर, थाइराइड, दम र सुगरको औषधि लिनुहुन्छ । छोरीहरूले दशदश दिनको पालो लगाएर बाआमाको स्याहार सुसार, औषधि मूलो गरिरहनु भएको छ ।
छोरीपछि जन्मिएका भान्जा बाबु घरमा छैनन्, क्यानडातिर बस्छन् ।
बिहान उठेपछि मन भारी भैरह्यो । दिदीलाई फोन गरेर मनलाई हल्का बनाउन खोजेँ ।
मैले दिदीलाई फोन गरेर यसपटक तिहारमा आउने प्रतिबद्धता दोहोर्याउँदै भनेँ, “तिहारमा पहिले जस्तो धेरै मिठाई र मसला नजुटाउनुहोला । म आफैँले पनि अनेक थरी ओखती खानुपर्छ । यसपटक म गाईतिहारकै दिन आइपुग्छु । हामी दुइवटै टुहुरा दिदीभाई आ-आफ्ना विगतलाई खोतलेर आँशु बगाउने धोको छ ।

