साँढे दुई तलाको मेरो घर र मेरो परिवारमा म, मेरी श्रीमती र छोरी । खासै ठूलो घर नभए पनि परिवारका लागि सबै कोठा प्रयोग नहुने । झन् भुइँतलाका कोठा त कहिल्यै नखोलिने । त्यसैले सोच्थ्यौँ, यदि कुनै सानो, सभ्य परिवार भाडामा बस्न आए भने दिन हुन्थ्यो । यसो कहिलेकाहीँ बोल्ने मान्छे पनि हुन्थे । सपरिवार लामो समय कतै बाहिर जान पर्यो भने घरको सुरक्षा र संरक्षण पनि हुन्थ्यो । श्रीमतीलाई यसो घरखर्चमा सानो आम्दानी थपिन्थ्यो । घर पनि अलि जिउँदो हुन्थ्यो, मान्छेको आवाजले घरका भित्ता अलिकति न्यानो हुन्थ्यो । तर खोजेजस्तो मिल्दो परिवार भेट्टाउन सजिलो रहेनछ । कसैको परिवार धेरै ठूलो, कसैको चालढाल अलि अप्ठ्यारो, कसैमा कुनै न कुनै कमजोरी । यसरी धेरै महिना बिते । अन्ततः करिब नौ महिना अघि एउटा सानो परिवार आयो । करिब सड्तीस–अठतीस वर्षको श्रीमान्, त्यस्तै पैँतीस–छत्तीस वर्षकी श्रीमती र दश–बाह्र वर्षकी छोरी । हाम्रो जस्तै उनीहरूको पनि तीन जनाको सानो संसार । हामीलाई त्यो परिवार सन्तुलित र मिलेको जस्तो लाग्यो, त्यसैले घरको भुइँतला उनीहरूलाई सुम्पियौँ । त्यस दिनदेखि उनीहरू हाम्रो घरको नि:स्तब्धता चिर्न थाले र बिस्तारै हाम्रो दैनिकीको हिस्सा बने ।
मेरो एउटा नराम्रो बानी छ, शायद अलि बढी नै नराम्रो ! आवश्यकता भन्दा बढी अरूको जीवनको चासो राख्ने । घर तलमाथि गर्दा, सिँढी उक्लिँदा–ओर्लिंदा, झ्यालको छेउमा उभिँदा, वा कहिलेकाहीँ घाम ताप्न घरअगाडिको खाली भागमा बस्दा म त्यो परिवारलाई चुपचाप नियालिरहन्थेँ । बिस्तारै उनीहरू को–कस्ता छन् सबै मेसो पाइसकेको थिएँ । बाहिरबाट हेर्दा उनीहरूको संसार साधारण देखिन्थ्यो । सामान्य दैनिकी, सामान्य बोलीचाली तर नजिकबाट नियाल्दा भित्र कतै सानो रहस्यको छाया लुकेको जस्तो अनुभूति हुन्थ्यो । छोरी त उमेरले बच्चै भई, आँगनमा खेल्दा खुला हाँसो छोड्थी र त्यो हाँसोले घर नै क्षणभर उज्यालो पारिदिन्थ्यो तर उसकी आमा भने अनौठी थिई । अलिकति होची कदकी, शरीरमा हल्का भरिएको गोलाइ, गोरो अनुहारमा केही रसिलो आकर्षण, आँखामा कहिलेकाहीँ नशालु चमक । बोल्न मन पराउने, हाँस्न जान्ने, कहिलेकाहीँ खुलेर गफिने स्वभाव तर श्रीमानसँग भने कहिलेकाहीँ अचम्मैसँग रिसाएर चुप लाग्ने बानी । बाहिरबाट हेर्दा ऊ जीवन्त देखिन्थी, तर उसको अनुहारमा सधैँ हल्का डरको छाया टाँसिएको हुन्थ्यो । मानौँ ऊ जहाँ बसे पनि कसैले अदृश्य नजरले पछ्याइरहेको छ भन्ने अनुभूतिले उसलाई छोड्दैनथ्यो ।
मेरी श्रीमतीले उसका कुरा बारम्बार सुनाउँथी । “त्यो बहिनी त साह्रै डरपोक रहिछे,” ऊ भन्थी, “दिनको उज्यालोमा पनि एक्लै कतै निस्कन सक्दिन रे ।” साँझको घाम ढल्न थालेपछि त झन् ऊ घरको ढोकाबाहिर पाइला टेक्नै सक्दिनथी । कतै जानै परे आमा–छोरी सँगै निस्कन्थे, हात समाएर, छिटोछिटो पाइला चाल्दै, मानौँ अँध्यारोले उनीहरूलाई पछ्याइरहेको होस् । मेरी श्रीमतीलाई त्यो बानी अचम्म लाग्थ्यो; कहिलेकाहीँ हल्का खिज्याउँदै उनीहरूका कुरा काट्थी पनि । तर म भने चुपचाप सुन्थेँ । किनकि मलाई लाग्थ्यो: कुनै मानिस यति डरपोक केवल स्वभावले मात्र हुँदैन । डरको पनि आफ्नै इतिहास हुन्छ; कहिलेकाहीँ त्यो शरीरमा लुकेको हुन्छ । कहिलेकाहीँ पुरानो स्मृतिको गहिरो तहमा गाडिएको । मानिसको चाल, आँखा र मौनतामा त्यो इतिहास कहिलेकाहीँ झल्किन थाल्छ ।
श्रीमान् भने बिल्कुलै फरक किसिमको मान्छे थियो । पढाइले उसलाई धेरै टाढासम्म पुर्याएको थिएन, प्रमाणपत्र तह नै पार गर्न सकेको थिएन क्यारे । बोल्ने कला भने ऊसँग अचम्मको थियो । गोंगबुमा एउटा रेष्टुरेण्ट र बार चलाउँथ्यो । रेष्टुरेण्टका लागि चार–पाँच जना काम गर्ने मान्छेहरू राखिएको थिए । काम उनीहरूले गर्थे, ऊ भने ग्राहकसँग बस्ने, हाँस्ने, गफ गर्ने र सम्बन्ध गाँस्ने मान्छे । जग्गा व्यापारी, स्थानीय व्यापारी, गाडीधनी, खर्चिला ग्राहक सबैसँग उसको चिनजान थियो । ऊ तिनलाई आफ्नो रेष्टुरेण्टमा ल्याउँथ्यो, गफको मिठासले बसाल्थ्यो, र रात ढल्दै जाँदा त्यो गफ व्यापारको नाफामा परिणत हुन्थ्यो । कागजको शिक्षा ऊसँग कम थियो, तर मान्छेको मन पढ्ने शिक्षा उसले जीवनबाट सिकेको थियो । उसलाई हेर्दा कहिलेकाहीँ लाग्थ्यो: ऊ जीवनलाई खेलजस्तै खेलिरहेको छ; काम अरूले गर्छन्, ऊ सम्बन्ध बनाउँछ; सम्बन्धले ग्राहक ल्याउँछ, ग्राहकले पैसा र पैसाको अभाव उसलाई कहिल्यै देखिएन ।
त्यो चम्किलो बाहिरी जीवनको ठीक उल्टो उसको घरभित्रको दैनिकी थियो । ऊ स्वभावैले ढिला घर फर्कन्थ्यो, अक्सर राति एघार बजेतिर । उसकी श्रीमती भने साँझ सात बज्दा नबज्दै गेटमा ताला लगाइदिन्थी, ढोकामा चुकुल कसेर भित्र बस्थी । कहिलेकाहीँ म आफैँ ढिलो घर फर्किँदा ऊ गेट खोल्न डराउँथी; मेरी श्रीमती नै तल झरेर गेट खोलिदिनुपर्थ्यो । आफ्नै श्रीमान् आउँदा भने ऊ मोबाइलमा कुराकानी गर्दै–गर्दै गेटतिर निस्कन्थी, अक्सर छोरीलाई पनि सँगै लिएर, जस्तो रातको अँध्यारो एक्लै सामना गर्न उसले अझै साहस पाएकी छैन । कहिलेकाहीँ भने ऊ निदाएर फोनको घण्टी सुन्नै नसक्ने रहेछ, अनि तल गएर गेट खोल्ने काम मेरै भागमा पर्थ्यो । त्यस्तो बेला मलाई खुबै झर्को लाग्थ्यो, ऊ भित्रको डरको घरले मेरो आफ्नै रातको शान्तिलाई पनि हल्का खल्बल्याइरहेको थियो । त्यही झर्कोसँगै मनको अर्को कुनामा एउटा जिज्ञासा पनि पलाइरहेको थियो, किनकि ती महिलाको डर जति सामान्य देखिन्थ्यो, त्यति नै गहिरो र अनकन्टार जस्तो लाग्न थालेको थियो । म कहिलेकाहीँ सोच्थें, डर पनि मान्छेको शरीरसँगै बस्ने प्राणी हो कि क्या हो ? केही मानिसको शरीरमा त्यो छायाझैँ टाँसिएर बस्छ । ती महिलाको चालढाल, बोल्ने तरिका, झ्यालबाट बाहिर हेर्ने तरिका, सबैमा त्यो डरको हल्का कँपाइ देखिन्थ्यो । कहिलेकाहीँ उसले मलाई देख्दा हल्का मुस्कुराउँथी, तर त्यो मुस्कान पनि तुरुन्तै हराइहाल्थ्यो, जस्तो कसैले उसलाई भित्रैबाट सम्झाइरहेको होस्, “सावधान रह ।”
एकदिन बेलुका भान्साको काम सकिएपछि मेरी श्रीमतीले अर्को रहस्य खोलिन् । “त्यो बहिनीलाई शंका रहेछ,” उसले बिस्तारै भनिन्, “उसको लोग्ने अरू कुनै केटीसँग लागेको जस्तो छ रे ।” मैले चुपचाप सुनेँ । मेरी श्रीमतीका अनुसार, उसले एकदिन आफ्नो श्रीमानको मोबाइलमा कुनै केटीसँग भएको निकै घनिष्ठ च्याट देखेकी रहिछ । त्यस्तो किसिमको, जसले शब्दभन्दा धेरै अर्थ बोकेको हुन्छ । त्यसयता उसलाई आफ्नो घर, आफ्नै ओछ्यान र आफ्नै सम्बन्ध सबैमा अलिकति अनिश्चितता देखिन थालेको रहेछ । उसले गुनासो पनि गरिछे । आजकल घर आएपछि श्रीमान् पहिलेजस्तो उति धेरै सम्बन्धको चाह राख्दैनन् रे, बोलचालमा पनि त्यो पुरानो आत्मीयता हराउँदै गएको जस्तो लाग्छ रे । अस्ति एक दिन त घरै आएनन् रे । मेरी श्रीमतीले उसलाई आफ्नै ढंगले सम्झाएकी रहिछिन् । “अब छोरी पनि ठूली भइसकी, अलग्गै कोठामा सुताउने गर, त्यसले पनि केही सहजता ल्याउला ।” अनि अर्को उपाय पनि सुझाएकी रहिछन् “तिम्रो रेष्टुरेण्टको कुनै विश्वासिलो कामदारसँग सोधखोज गर्ने गर । ऊ कस–कससँग उठबस गर्छ, कहाँ–कहाँ जान्छ, अलि बुझ्ने गर ।”
यो कुरा सुन्दा म केहीबेर चुप लागेँ । मान्छेको सम्बन्ध कहिलेकाहीँ यस्तै सानो शंकाबाट भित्रैभित्रै मक्किन थाल्छ, पहिला विश्वासको सतहमा हल्का रेखा देखिन्छ, त्यसपछि त्यो रेखा बिस्तारै गहिरिँदै जान्छ र अन्तत: कहिल्यै नजोडिने गरी दुई चिरा पर्न सक्छ । ती महिलाको अनुहारमा मैले देख्ने डर शायद केवल अँध्यारोको डर थिएन; त्यसमा आफ्नै सम्बन्ध हराउने भय, आफ्नै शरीर र आत्मीयतामाथि अधिकार गुम्ने आशंका पनि मिसिएको हुन सक्छ । त्यो कुरा सम्झँदा मलाई लाग्यो: कहिलेकाहीँ मानिसको वास्तविक डर बाहिरको संसारसँग होइन, आफ्नै घरभित्र पलाउन थालेको शंकासँग हुन्छ । यस्ता कुराले मेरो ध्यान उसको व्यक्तिगत जीवनको गतिविधिमा अझै तानिएको थियो । डरमा पनि एक किसिमको आकर्षण हुन्छ, मान्छे त्यसलाई बुझ्न चाहन्छ, त्यसको जरा खोज्न चाहन्छ । उसको दैनिक जीवनचर्या मलाई अब बिस्तारै एउटा सिरियलको कथा जस्तो लाग्न थालेको थियो । म उसको डरको कथा सिरियलको अर्को एपिसोडका लागि व्यग्र रहन्थेँ ।
चैत अन्तिमतिरको समय थियो । विद्यालयको सत्र सकिएको मौका छोपेर मेरी श्रीमती, छोरीलाई साथ लिएर माइत गएकी थिइन् । घर अचानक धेरै ठूलो र रित्तो अनुभव भएको थियो । उता मेरी श्रीमतीले सिकाएकै सल्लाहमा ती महिलाले पनि आफ्नी छोरीलाई मामाघर पठाएकी रहिछे । यसरी हेर्दा, घरका दुई तला भित्र हामी दुईजना मात्र बाँकी थियौँ, आ–आफ्नो कोठामा । म दिनभर अफिसमा हुन्थेँ, कहिलेकाहीँ साथीभाइसँग अल्झिन्थेँ । साँझ पर्न लागेपछि भने एक किसिमको हतारले मलाई घरतिर तान्थ्यो । कारण पनि अचम्मकै थियो । यदि ती महिलाले गेट खोलिनन् भने आफ्नै घरभित्र पस्न नपाई बाहिरै रात बिताउनु पर्ने त होइन भन्ने ‘डर’ । त्यसैले, अँध्यारो गहिरिन नपाउँदै म घर आइपुग्थेँ । म भित्रैभित्र सतर्क पनि थिएँ । घरमा श्रीमती नभएको समय, उता ती महिलाको श्रीमान् पनि प्रायः राति ढिलासम्म बाहिर । यस्तो अवस्थामा मान्छेको मनले अनावश्यक कुरा सोच्न सक्छ, अरूले पनि अनावश्यक कुरा बनाउन सक्छन् । त्यसैले, मैले पहिलेजस्तो भुइँतलातिर चासो दिएर हेर्ने, झ्यालबाट चियाउने बानी छोडेको थिएँ । आफ्नो नजरलाई अनुशासनमा राखेको थिएँ ।
आजको रात, करिब साँढे बाह्र बजेतिर, मेरी श्रीमतीको फोन आयो । निद्रा लपक्कै लागेको बेला फोनको घण्टीले झस्कायो । “ती महिला गोंगबुको रेष्टुरेण्टमा एक्लै छे,” मेरी श्रीमतीले छिटोछिटो भनिन्, “लिन गैदिनुपर्यो रे ।” म झर्किएँ । “उसको लोग्ने छैन ? ट्याक्सी लिएर आउन सक्दिन ? म के उसको ड्राइभर हो ?” म कराएँ । तर उता श्रीमतीको स्वर नम्र र आग्रहपूर्ण थियो, “अप्ठेरो परेर हो रे, एक्लै ट्याक्सीमा आउन पनि डर लाग्यो रे । आज एक चोटि गइदिनु न ।” म केहीबेर मौन भएँ, अनि केही शान्त हुँदै गाडीको चाबी उठाएँ । गोंगबु पुगेर मैले थाहा पाएँ, कुरा त्यति साधारण रहेनछ । ती महिलाले शंका गर्दै आएकी केटी साँझदेखि नै रेष्टुरेन्टमा बसेकी रहिछे । रेष्टुरेण्ट बन्द भएपछि कामदारहरूलाई घर पठाएर ती दुईजना सँगै निस्केछन् । सबै निस्केपछि ती दुईजना भने फेरि फर्किएर त्यही रेष्टुरेण्टको साँचो खोलेर भित्र पसेर बसेछन्, शायद आजको रात त्यही सँगै गुजार्ने इरादा लिएर । एउटा विश्वासिलो वेटरले साँझदेखि नै शंका लागेर चुपचाप चियोचर्चो गरेकी रहिछे । ऊ घर गएजस्तो गरेर केहीबेर नजिकै छेलिएर बसेकी रहिछे र सब देखेपछि फोन गरेर महिलालाई खबर गरेकी रहिछे ।
खबर पाएपछि महिला हतारिँदै त्यहाँ पुगेकी रहिछन् । रातको करिब सवा एघार बजेको समय । केही मान्छे जम्मा गरेर, प्रहरीसमेत बोलाएर ठूलै हंगामा मच्चाइछन् । प्रहरीले उनका श्रीमान् र त्यो केटी दुवैलाई नियन्त्रणमा लिएको थियो । पछि उनले आफ्नै श्रीमानलाई छोडिदिन अनुरोध गरिछन्, तर प्रहरीले भोलिपल्ट बिहानसम्म राख्नैपर्ने भन्दै मानेनछ । त्यसपछि उनलाई आशा लागेछ, म आएँ भने जमानी बसेर छोडाउन सकिन्छ कि भनेर । त्यसैले, आउन अनुरोध गरेकी रहिछन् । म प्रहरीचौकीमा केहीबेर उभिएँ । उनले मेरोतिर आशाले हेरेकी थिइन् । मानौँ मैले केही भनेपछि परिस्थिति बदलिन सक्छ । मैले प्रयास गरेँ पनि । भोलि आफैँ बुझाउन ल्याउने वाचा पनि गरेँ । तर प्रहरी टसमस भएन । “भोलि बिहान आउनुस्,” उनीहरूले छोटो जवाफ दिए । अन्ततः हामी फर्कनु पर्यो, म गाडी चलाउँदै, उनी सिटमा चुपचाप बसेर ।
“अघि आउँदा ट्याक्सीमा आएको हो ?” मैले बोल्ने बाहनाको लागि सोधेँ । उनी टाउको हल्लाइन् “होइन, हिँडेरै ।” मलाई पत्यार लागेन । हाम्रो घरबाट गोंगबु पुग्न कम्तीमा आधा घन्टा त लाग्छ–लाग्छ । “त्यति टाढा, त्यो पनि राति ?” मैले फेरि सोधेँ । उनी बिस्तारै बोलिन्, “कुरा सुन्नेबित्तिकै मैले त रिसले आँखै देखिनँ । के गर्दैछु, कहाँ जाँदैछु भन्ने सोच्ने फुर्सद नै भएन । दौडिँदै, हस्याङ–फस्याङ गर्दै पुगेँ । ट्याक्सी लिने ख्यालसम्म आएन ।” मैले फेरि उनलाई हेरेँ । “तर तपाईं त साँझ परेपछि गेट खोल्न निस्कन पनि डराउनुहुन्थ्यो,” मैले आधा आश्चर्य, आधा जिज्ञासाले सोधेँ, “यत्रो बाटो एक्लै हिँड्दा डर लागेन ?” उनी केहीबेर मौन रहिन् । “डर त खै कता भाग्यो–भाग्यो ?” त्यसपछि लामो सुस्केरा हाल्दै बिस्तारै भनिन् , “ठूलो डर आँखा अगाडि आएपछि सानातिना डर हराउँदा रहेछन् ।” उनको स्वर निकै तल थियो र शब्दहरू गहिरा थिए । “मान्छेको जीवनमा सबैभन्दा ठूलो डर बाहिरको अँध्यारो होइन,” उनले थपिन्, “आफ्नै विश्वास टुटेको क्षण हुँदो रहेछ ।”
त्यो वाक्य बोल्दा उनका ओठ हल्का काँपिरहेका थिए । हातका मुठी कस्सिएका थिए, उनी आफ्नो क्रोधलाई कसैले देख्न नदिन खोजिरहेकी हुन् जस्तो लाग्यो । मैले उनको अनुहारतिर एकछिन हेरेँ, त्यहाँ मैले पहिले देख्ने डरको छाया थिएन; बरु आँखाभित्र एक किसिमको आक्रोश दन्किरहेको थियो, दबिएको तर तातो । रात गहिरो भइसकेको थियो । शहरका सडकहरू लगभग सुनसान थिए । गाडीको हेडलाइटले मात्रै कालो सडकलाई काट्दै अगाडि बढिरहेको थियो । उनी झ्यालबाहिरको अँध्यारो हेर्दै आफ्नै श्रीमानलाई गाली गरिरहेकी थिइन्, कहिले रिसले, कहिले पीडाले । “कसरी यस्तो गर्न सकेको होला,” उनी बड्बडाइरहेकी थिइन्, “यति वर्षको विश्वास…।” तर त्यही गालीको बीचमा अचानक उनी मेरो प्रशंसा गर्न थालिन् । “तपाईं त फरक हुनुहुन्छ,” उनले भनिन्, “तपाईं आफ्नी श्रीमतीलाई धेरै माया गर्नुहुन्छ, बफादार हुनुहुन्छ, सहयोगी पनि ।” म चुप लागेर गाडी चलाइरहेँ । सडकको उज्यालो–अँध्यारो गाडीको सिसामा खेलिरहेको थियो । उनका शब्दहरू कानमा बजिरहे, प्रशंसा, पीडा र आक्रोश मिसिएको स्वर ।
मैले उनलाई उनको कोठाको ढोकासम्म पुर्याएँ । ढोका खोल्दा हल्का चर्रको आवाज आयो, जस्तो रातको निस्तब्धताले पनि त्यो सानो आवाजलाई ध्यान दिएर सुनेको होस् । म फर्केर माथिल्लो तलातिर उक्लिन लाग्दै थिएँ । त्यत्तिकैमा हठात् उनले मेरो हात समाइन् । म झसङ्ग भएँ । “एकैछिन बस्नु न…” उनले बिस्तारै भनिन् । स्वरमा हल्का थरथराहट थियो, आँखामा अनौठो भाव थियो । “किन ?” मैले सहज हुन खोज्दै सोधेँ । उनी केहीबेर मौन रहिन्, अनि थोरै मुस्कुराउँदै भनिन्: “उहाँ पनि हुनुहुन्न, छोरी पनि छैन… राति एक्लै त मलाई असाध्यै डर लाग्छ ।”
त्यो क्षण उनका हाउभाउ केही अनौठा लागे, जस्तो उनी डर र थकानको बीच कतै अड्किएकी हुन् । म उनीसँगै कोठाभित्र पसेँ । रातको निस्तब्धता झ्यालबाट भित्र पसिरहेको थियो । उनी अझै पनि आफ्नो श्रीमानलाई गाली र श्राप बर्साइरहेकी थिइन् । शब्दहरूमा रिस थियो, पीडा पनि । त्यही रिस र पीडाको बीचमा उनी मलाई बारम्बार प्रशंसा पनि गर्दै थिइन् । मेरो उपस्थितिले उनलाई केही आधार दिएझैँ लाग्थ्यो । उनी बिस्तारै मेरो नजिक सरिरहेकी थिइन् । बेस्सरी मलाई आफूतिर खिचिरहेकी थिइन् । एक समय आयो । उनका शब्दहरू बिस्तारै शान्त हुँदै गए । उनी मेरो दायाँ हातलाई सिरानी बनाउँदै निर्धक्क निदाइन् । उनको सासको ताल क्रमशः स्थिर हुँदै गयो । अब उनमा न त डर बाँकी थियो, न त आक्रोश । उनको अनुहारमा एउटा गहिरो शान्ति झरेको थियो, जस्तो थाकेको मनले अन्ततः विश्राम पाएको होस् ।
म भने अव सर्वाङ्ग छ्वाङ्ग भइसकेको छु । “भित्ताको पनि आँखा र कान हुन्छ रे…” कसैले कहिल्यै भनेको वाक्य अचानक मेरो कानमा बजिरहेको छ । मेरो भित्र अजीब हलचल सु? भएको छ । म उठ्न खोजिरहेको छु तर शरीर यति हल्का महसुस गरिरहेको छु कि मेरा खुट्टा सिधा उभिन पनि सक्ने अवस्थामा छैनन् । मैले मेरो घनत्व अर्थात् मणि गुमाइसकेको छु । त्यो हल्कोपनसँगै अर्को भाव पनि उठिरहेको छ – ‘डर’ । बायाँपट्टिको भित्ता मलाई “पख्लास्” भनेझैँ गरेर हाँसिरहेको छ । अगाडिको भित्ताबाट बा–आमाले घृणा भावले हेरेको जस्तो देखिरहेको छु । मलाई भान भइरहेको छ, उनका दाजु–भाइहरू प्रहरीको पोशाकमा, हातमा मोटा लठ्ठी लिएर, मलाई धुलोपिठो पारेर कुट्न ढोका फोड्दै भित्र पस्न लागेका छन् । मेरी छोरीको आँखा उदास र सुख्खा छन्, मैले ती आँखाका नानीमा पहिले जस्तो आफ्नो प्रतिविम्व देखिरहेको छैन ।
म आँखा खोल्न सकिरहेको छैन किनकि खोलेँ भने ती सबै दृश्य साँच्चिकै देखिएलान् जस्तो लागिरहेको छ । आँखा बन्द गर्दैगर्दा मेरो आँखाको नजिकै मेरी श्रीमती मौन उभिइरहेकी देखिन्छिन् । उनमा आक्रोश छैन, उनका हातका मुठी कसिएका छैनन्, उनले दाह्रा किटेकी पनि छैनन् । उनका मौन आँखाले फगत यति भनिरहेको जस्तो लाग्दैछ “लौ तिमी माथिको मेरो विश्वास खण्डित भयो, यसैले म तिमीलाई छोडेर जाँदैछु ।” अब भने म आँखा बन्द गर्न पनि सकिरहेको छैन, किनकि आँखा बन्द गर्दैगर्दा झुल्किहाल्ने मेरी श्रीमतीको प्रतिरूपको सामना गर्न सकिरहेको छैन म । यो रात, यो कोठा, त्यो मौनता सबै एउटा काल कोठरी बनेको छ । ती महिला अझै पनि मेरो काँधमा शान्त निदाइरहेकी छन् तर म भने भयानक ‘डर’ले सताइएको छु । शरीर शीताङ्ग भएको छ । मैले पहिलोपटक गहिरो गरी महसुस गरिरहेको छु, साँच्चै डर त आफूले असाध्यै माया गरको मान्छेले छोडेर जान सक्ने आशंकामा हुँदो रहेछ ।

