साहित्यपोस्ट डट कम

कथा: चिसो रात

कथा: चिसो रात

हिजोदेखि बालाई हल्का ज्वरो आएको थियो । बेलाबेला खोक्नुहुन्थ्यो र सास फेर्दा घाँटी पनि बज्न थालेको थियो । बा बिहान सधैँ नुहाएर पूजापाठ गर्नुहुन्थ्यो र खाना खाएर एकघण्टा करेसाबारीमा फूल र सागपात गोडमेल गर्नुहुन्थ्यो ।

तर आज खाना खाएर घाममा बस्नुभयो ।

म ‘सामुदायिक वन उपभोक्ता समूह’ मा काम गर्दथेँ । हिजोदेखि नै सामुदायिक वनमा “झाडी सफाई कार्यक्रम” संचालन भइरहेको थियो ।

सामुदायिक वनमा प्रमुख जिम्मेवारी मेरो भएकाले बेलैमा खाना खाएर निस्कने सुरसार गर्दै थिएँ । यस्तैमा आमाले भन्नुभयो, “तँ आज वन नजा ! बालाई सन्चो छैन, औषधी लिन जानुपर्छ ।”

“म नगए त कार्यक्रम नै संचालन हुँदैन त आमा !” मैले भनेँ ।

आमाले भन्नुभयो— “मैले होइन, बाले भन्नुभएको औषधी लिन जानुपर्छ भनेर !”

बासँग कुनै प्रश्न वा प्रतिवाद गर्ने चलन थिएन । बाको आज्ञा हामी सबै पालना गर्दथ्यौँ ।

तर पनि आज चैँ मैले वन जानु नै पर्ने थियो किनभने बसाइँ आएको छोटो समयमा नै सामुदायिक वनको मुख्य जिम्मेवारीमार्फत् यस नयाँ ठाउँ र समुदायमा मेरो पहिचान स्थापित भएको थियो ।

वन पैदावार उपयोग गर्न सरल नियम बनाइएको थियो । वनमा गस्ती गर्ने काममा होस् वा डढेलो निभाउने काममा होस् वा नर्सरी लगाउने अनि खाली जमिनमा वृक्षरोपण गर्ने काम होस्; सबै काममा मेरो अग्रणी भूमिका थियो । समुदायका सबैले मलाई सम्मानका दृष्टिले हेर्थे, माया गर्दथे । मलाई पनि उनीहरू आफ्ना दाजुभाइ जस्तै लाग्दथ्यो । म आफू जन्मेहुर्केको मेरो पुरानो गाउँमा जस्तै यहाँ पनि सबैसँग हाँस्ने, खेल्ने र रमाइलो गर्दथेँ ।

अब आज बाले भनेपछि वन जाने कुरो भएन । भिर्न आँटेको झोला भुइँमा राखेर म बा सुतिरहनुभएको ठाउँमा गएँ ।

बा घाममा सुतिरहनुभएको थियो, मैले गएर निधार र नाडी छामेँ ।

हल्का ज्वरो आएको रहेछ । सास फेर्दा घाँटी पनि बजेको थियो ।

बालाई रुघा, मर्की र ज्वरो आउँदा प्रायः सुन्तला, अमला वा कागतीको रस खान दिने गरिन्थ्यो, सन्चो हुन्थ्यो ।

आज पनि बजार गएर कागती ल्याएर मनतातो पानीमा एक दुई थोपा निचोरेर बालाई पिउन दिएँ ।

आमाले मलाई आफूनेर बोलाएर भन्नुभयो– “बालाई सारो पार्ला जस्तो छ । जचाउन जनकपुर लानुपर्छ क्यारे ! पैसा कतै सापटी पाइन्छ कि खोजखाज गर् जा !”

म गाउँतिर गएर दुईचार घरमा प्रयास गरेँ । कतै सफल भइनँ । सबैको केही न केही काम परेको समय रहेछ । ‘पैसा बचत गरेर कसले पो राख्छ र’ जस्तो लाग्यो ।

घरमा आएर आमालाई वस्तुस्थिति बोध गराएँ । आमाले अँध्यारो मुख लगाउनुभयो ।

अन्त्यमा केही सोचेजस्तो गरेर आमाले भन्नुभयो– “मेरो मंगलसुत्र र माडवारी बैंकमा राखेर पैसा निकाल् न त !”

अगाडि पनि अप्ठ्यारो पर्दा बुहारीका गहना धरौटी राखेर काम चलाइएको थियो । ती गहना उकास्न सकिएको थिएन । फेरि पैसाको आवश्यकता परेर आयो । आमाको मंगलसुत्र र माडवारी जस्तोसुकै अप्ठ्यारो पर्दा पनि धितो नराख्ने भनेको थिएँ । यसरी सोचिएकै थिएन । अब के गर्ने !

आफन्तहरूलाई सम्झेँ । यो हाम्रो नयाँ ठाउँ । आफन्त नातेदार कोही नजिक नभएको नितान्त एक्लो गाउँमा आइएको थियो ।

मैले आमासँग जिज्ञासा राखेँ, “आमा ! अरु केही बेचेर काम चलाऔँ न, हजुरको बुच्चो गला मैले कसरी हेर्नु !”

“अरुथोक के छ र बेच्ने ! मेरै गहना लैजा न । पछि उकासिहालिन्छ नि !” आमाले भन्नुभयो ।

म बढो दोधारमा परेँ । एकातिर बाको उपचार गर्नुपर्ने, अर्कोतिर आमाको गलाबाट मंगलसुत्र फुकाल्नुपर्ने ! के गर्ने, के नगर्ने; मैले कुनै निर्णय गर्न सकिरहेको थिइनँ । एक्कासी आमाले कानको माडवारी खोल्न लाग्नुभयो । त्यसपछि मंगलसुत्र पनि निकालेर मलाई दिनुभयो ।

मेरा आँखाबाट अनायास आँसु बग्न थालेछन् ।

आमाले नदेख्ने गरी आँसु पुछ्दै आमाका गहना गोजीमा हालेर म उठेँ ।

हाम्रो गाउँबाट सदरमुकाम पाँच किलोमिटर जति टाढा थियो ।

म पेटीबाट आँगनमा झरेपछि आमाले भन्नुभयो– “सुन् त, बैंकमा राख्दा पैसा थोरै दिन्छ । दुलहीको गहना राखेकै साहुकोमा राख्नू है ।”

घरबाट निस्केको दुई घण्टापछि तीन हजार रुपैयाँ र साहुले दिएको कागजको चिर्कटो मैले आमाको हातमा राखी दिएँ ।

आमाले भन्नुभयो, “यतिमात्र दियो ?”

“योभन्दा बढी आउँदैन भन्यो, आमा !” मैले भनेँ । र, बालाई औषधी खुवाएँ ।

भोलि बिहानै आमा र म बालाई लिएर जनकपुर जाने भयौँ ।

बाको घाँटी घ्यार घ्यार बजिरहेको थियो ।

बाले मलाई नजिकै बोलाउनुभयो र केही नबोली रुन थाल्नुभयो ।

मेरा आँखा पनि भिजे । मैले त्यतिबेला बाको हात आफ्नो हातमा राखेर, “हजुरलाई केही हुँदैन बा !” मात्र भन्न सकेँ ।

बाले पुलुक्क मपट्टि हेरेर भन्नुभयो, “मेरा कारणले तैँले दुःख पाइस्, बाबु !”

“होइन तेस्तो केही दुःख भएको छैन । त्यसो न भन्नुस् न बा !” मैले भनेँ ।

बा रुँदै अर्कोतिर फर्किनुभयो ।

आमा अलि पर बस्नुभएको थियो ।

मैले आमासँग गएर सोधेँ, “ मेरा कारणले दुःख पाइस् भनेर के भन्न खोज्नुभएको बाले ?”

आमाले भन्नुभयो, “’बसाइँ जाऔँ ‘ भनेर उहाँले भन्नुभएको हो नि त पहिले !”

मैले भनेँ, “बसाइँ त हामी सबैको सहमतिले हिँडेको हो नि त !”

“सहमतिमा हिँडेको भए पनि नयाँ ठाउँमा तैँले दुःख पाउँछस् भन्ने बाको सधैँ चिन्ता छ” आमाले भन्नुभयो ।

“मलाई केही दुःख हुँदैन आमा ! पुरानो गाउँमा जत्तिकै यहाँ पनि मेरा इष्टमित्र छन् । मर्दापर्दा उनीहरूले सधैँ साथ दिन्छन्” मैले भनेँ ।

बाले आमा र मलाई नजिक बोलाउनुभयो ।

हामी बाको नजिकै गयौँ ।

मपट्टि हेरेर बाले भन्नुभयो, “म अब धेरै दिन टिक्दिनँ हुँला !” फेरि केहीबेर रोकिएर बाले मपट्टि सङ्केत गरेर भन्नुभयो, “यो पानीबाट कसरी चोखिन्छस् भन्ने सारै चिन्ता लागेको छ ।”

मैले भने, “तेसो नभन्नु न बा ! भोलि औषधी गर्न डाक्टरकहाँ जानुपर्छ । हजुरलाई ठीक भै’हाल्छ नि !”

आमाले भन्नुभयो– “हजुरले के चिन्ता गर्नुभएको ? यहाँ धेरैलाई यसले आफ्ना मान्छे बनाएको छ । सो परि भएन; हजुरलाई अहिले केही हुँदैन ।”

“मलाई कतै नलानू, मेरो अन्तिम बेला भैसक्यो” बाले भन्नुभयो । केहीबेर रोकिएर फेरि भन्नुभयो, “मैलेजस्तो तैँले छोराछोरीलाई घर व्यवहारमा नअल्मल्याउनू, आफूले आधापेट खाएर भए पनि उनीहरूको पढाइ लेखाइमा बाधा नपुर्याउनू ।”

मैले घोसेमुन्टो लगाएर बाका कुरा सुनिरहेँ ।

बाको घाँटी जोडले बज्न थाल्यो ।

बा बोल्दाबोल्दै फुसुक्क जानुभयो ।

हामी सबै क्वाँ क्वाँ गरेर रुन थाल्यौँ ।

रुवाबासी सुनेर पल्ला घरका छिमेकी आए । उनैको सहायताले हामीले बालाई तुलसाको मोठमा सार्यौँ ।

एकैछिनमा गाउँभरिका मान्छे जम्मा भए । साँझको पाँच बजिसकेको थियो । भोलि मात्रै घाटमा लाने निधो भयो ।

“आँगनमा पाल टाँगेर रुग्नु पर्छ” भन्ने चर्चा चल्यो ।

तास खेलेर बस्ने कुरा पनि भयो । कतिपयले आगो बाल्ने ठाउँको तय गर्न थाले भने कसै-कसैले सुत्न खाटको बन्दोबस्त मिलाउने कुरा गरे । यस्ता कुराको प्रतिवाद गर्दै अर्काथरिले भने– “सुत्ने भए त घरमै सुते भैगयो नि ! यहाँ त रातभर जाग्राम गर्नुपर्छ ।”

वैशाखको पूर्वीया हावा चलिरहेको थियो । साँझ सात बजेसम्म मानिसहरूको कल्याङ्मल्याङ् चलिरह्यो । आमा पातलो सारीले मुख छोपेर अझै सुँक्क सुँक्क गर्दै हुनुहुन्थ्यो । छोराहरू घरमा थिएनन्; पढ्न जनकपुरमा गएका थिए । म असह्य पीडा र जिम्मेवारीको भारले थकित भएर घोप्टो परेको थिएँ ।

धेरैबेरपछि मानिसहरूको कल्याङ्मल्याङ् मथ्थर हुँदै गयो । मैले मुन्टो उठाएर हेरेँ । दुईचारजना मान्छे मात्र नजिकमा बाँकी रहेछन् । केही छिनपछि उनीहरू पनि तास लिन जाऔँ भनेर निस्किए । धेरै पछिसम्म पनि तिनीहरू फर्केर आएनन् ।

अब घरमा हामी चारजना मात्र बाँकी रह्यौँ ।

बाले बेला-बेला मलाई, “एक्लै बाँच्न सिक्नुपर्छ” भन्नुहुन्थ्यो । म उहाँको भनाइलाई मनमनै प्रतिवाद गर्दथेँ । म सोच्दथेँ, ‘समाजमा रहेर कसरी एक्लै बाँच्न सकिन्छ, समाजमा मान्छे कसरी एक्लै हुन्छ र !’ उहाँ भन्नुहुन्थ्यो “यहाँ सबैले सहयोगको नाटक मात्र गर्दछन्; स्वार्थ बेगर कसैले कसैको सहयोग गर्दैन । तँ केही गरी लडिस् भने तँ आफैँले प्रयत्न गरेर उठनुपर्छ; कोही उठाउन आउँदैन ।”

त्यतिबेला मलाई बाका कुरा पुराना कुरा जस्ता लाग्दथे । तर अहिले आएर बाका कुरा गला लागेर आयो ।

मैले निराश भएर आमातिर हेरेँ ।

आमा दुईवटै डिबियामा वर्तन थप्न लाग्नुभएको रहेछ ।

रातको नौ बजिसकेको थियो । बाको सिरानपटी आमा सुत्नुभयो; एकातिर छोरी लिएर बुहारी सुतिन् । अर्कातिर म सुतेँ ।

राति निद्रा परेन ।

बाले पटकपटक भन्नुभएको “एक्लै बाँच्न सिक्नुपर्छ; नि:स्वार्थ सहयोग गर्ने कोही हुँदैन” भन्ने वाक्यांश बारम्बार दिमागमा आइरह्यो ।

आफूले ‘मानिस सामाजिक प्राणी हो’ भन्ने वाक्य बाल्यकालदेखि सुन्दै र पढदै आएको हो । ‘समाज, परिवार, मित्रता यी सबै मानव जीवनका आधार स्तम्भ हुन्’ भन्ने सूत्र पनि घोक्दै आएको हो । तर जीवनको यात्रामा पर्दा पछाडिबाट एउटा कठोर यथार्थ बारम्बार प्रकट हुँदो रहेछ— संकटको घडीमा मानिस अन्ततः एक्लै हुँदोरहेछ । आफ्नो पीडा आफैँले बोकेर हिँड्नुपर्दो रहेछ । कोही अरुको पीडा बोक्न आउँदा रहेनछन् । आज यतिबेला मैले आफूलाई नितान्त एक्लो अन्नुभव गरेँ । खलखल चिसा पसिना आए, मुटु जोडले ढुकढुक गर्न लाग्यो ।

फेरि सम्हालिएँ । बाले ‘एक्लै बाँच्न सिक्नू’ भनेर एकलकाटेँ बन भनेको अवश्य होइन भन्ने लाग्यो ।

बाले ‘आत्मनिर्भर बन्’ भन्नुभएको होला । ‘अरूको सहानुभूतिमा होइन; आफ्नै साहसमा उभिन सिक्’ भन्नुभएको होला । ‘सहयोग आयो भने कृतज्ञ हुने, नआए पनि नढल्ने शक्ति आफैँभित्र विकास गर्नू’ भन्नुभएको होला जस्तो पनि लाग्यो ।

‘नि:स्वार्थ सहयोग नहुने यथार्थ स्वीकार गर्दा कठोरभन्दा परिपक्व, अपेक्षाभन्दा आत्मसम्मान र अरूले साथ नदिँदा पनि आँसु लुकाएर अघि बढ्ने क्षमता जन्मिनेतर्फ बाले संकेत गर्नुभएको होला । मनमा यस्तै तीव्र अन्तरद्वन्द्व चलिरहेको थियो । एक्कासी ‘आमा !’ भनेर कराएँछु ।

“हँ, बाबु ! अझै निदाएको छैनस् ? एकछिन भने पनि आँखाको बिख मार्नुपर्छ, तँ बिरामी पर्ने भइस् ।” –आमाले भन्नुभयो ।

यो अवस्थामा पनि आमाले मेरै चिन्ता गरिरहनुभएको रहेछ भन्ने थाहा पाउँदा आँखा फेरि रसाएर आए ।

एकदिन आमाले पनि मलाई छोडेर जानुहुन्छ भन्ने तर्कनाले मुटु काम्न थाल्यो । सुतिरहन सकिनँ, उठेर बसेँ ।

आमा कुक्रुक्क परेर सुत्नुभएको रहेछ; छोरीले आमा सम्झेर बाको मृत शरीरलाई अङ्गालो हालेकी रहिछन् । उनको हात र खुट्टा बिस्तारै बाको शरीरबाट हटाएँ । बाले ओढेको बर्को सरेर खुट्टा देखिएको रहेछ; बर्को तानेर बाको खुट्टा छोपिदिएँ ।

बुहारी भर्खर झकाएजस्तो लाग्यो ।

“चिभे बासेको सुनिस् ?” आमाले भन्नुभयो ।

म चुपलागेर बसेँ, फेरि भन्नुभयो, “अब चाँडै उज्यालो हुन्छ ।”

हामी बाँचेका जति उज्यालोको पर्खाइमा थियौँ ।

आमा पनि उठेर बस्नुभयो ।

त्यस चिसो रातले परिवारको आदर्श र मूलखाँबो ढालेको मात्र होइन, जीवन सत्यको सघन अनुभूति समेत गराएको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.