साहित्यपोस्ट डट कम

कथा: चौथी

कथा: चौथी

मंग्लु राजवंशीको निद्रा ठीक ५ बजे खुल्छ ! मधेसको एक सामान्य किसान मंग्लु अत्यन्तै मिहिनेती र सोझो सिधा मान्छे थियो । प्रत्येक दिन ५ बजे उठेर नित्यकर्म सकेर पहिला मुखिया बाकोमा गाई दुहुन गइदिने अनि फर्केर दिनैभरि खेती किसानीमा लागिरहने मंग्लुले मुखिया बाको ५ कट्ठा जग्गामा अधिया सब्जी खेती गर्थ्यो, पहिला पहिला धान खेती समेत गर्ने मंग्लु बिस्तारै धान खेती छोडेर तरकारी खेतीमै लागेको थियो । आफ्नो पुर्ख्यौली जग्गा प्रशस्त भए पनि बुवाले मुखिया शिवाकोटी खलकसँग मितेरी साइनो जोडेपछि रक्सी उत्पातै खाने र मित खलकलाई कोसेली दिने गरेर एक्लो छोरो मंग्लुले बुवाको अंशको नाममा जम्मा २ कट्ठा जग्गा पाएको थियो । ५ वर्षअघि अत्यधिक रक्सी सेवनले बुवाको मृत्यु भएपछि मंग्लुले भने रक्सी चटक्कै छोडेको थियो । मंग्लुकी आमा पनि बुवा बितेको १ वर्षपछि बितिन् । आफ्नो २ कट्ठा र मुखियाको ५ कट्ठा गरेर ७ कट्ठा जग्गामा तरकारी खेती गरेर मंग्लुले ३ जनाको परिवार सुखैले पालेको थियो, तरकारी खेतीमा जति नै पसिना बगाए पनि मुखियाले “छाक टार्न” भन्दै तरकारी लगिरहने र सीमावर्ती भारतीय बजारको तरकारीको खुल्ला आयात र बिचौलियाहरूको जगजगीले गर्दा मंग्लुले राम्रो दाममा तरकारी बेच्न भने खासै पाउँदैनथ्यो । यो समस्या हालसम्म पनि उस्तै छ ।

भदौको एक बिहान सदाझैँ मंग्लुको निद्रा ५ बजे खुल्यो । झापाको गर्मी उखुम नै थियो । मंग्लुले उठेर ढोका खोल्यो, ढोका खोलेर बाहिर निस्कनासाथ अनुहारमा झ्याम्मै केले पोलेजस्तो भयो । मंग्लु तर्सिएर बुरुक्कै उफ्रियो, उफ्रेर भुइँमा टेक्दा खुट्टा चिप्लेर मंग्लु नमज्जाले पछारिए । ज्या है ….ऊ त गुहुमा पो चिप्लिएको रैछ ! जुरुक्क उठेर ढोकामा हेर्दा सिस्नोको एक मुठो ढोकामा झुण्ढ्याएको देख्यो ।

मंग्लुले झल्यास्स सम्झियो –“हिजो त चौथी थियो… केटाहरूर्ले चौथी मेरोमा पनि मनाएछन् !” अनि उसले फेरि सम्झियो हिजै चौथी खेल्न हिँडेको आफ्नै छोरो ललित राति घर आएको थिएन ।

तराई र पहाडी जिल्लाहरूमा भदौ महिनामा पर्ने एउटा रमाइलो पर्वजस्तो थियो “चौथी”…. पचासको दशकसम्म चौथीको रौनक र किस्सा बेग्लै हुन्थ्यो । केटाकेटी तथा युवाहरूले यसो तुलफूल टिपेर खाने, सामान्य रमाइलो पाराको बिगारहरू गर्ने पर्वको रुपमा चौथी प्रख्यात नै थियो !

उठेर सामान्य हुँदै मंग्लु कलतिर लम्कियो । लौ…कलको त ह्याण्डिल नै छैन ! अनुहार बिगार्दै मंग्लु भान्छातिर दौडियो । गाग्रोमा राखेको पानीले हातखुट्टा पखाल्न खोज्दा गाग्रोमा थोपै पानी छैन, भान्साघरको ढोका अघि नै खुल्ला थियो, मंग्लुले केटाहरूले भान्सामा पनि पसेर बिगार गरेको थाहा पाइहाल्यो ! गाग्रोको पानी चुलामा खन्याइदेको रैछ चुला पुरै चिसो देखियो । भाडाहरू भुइँमा यत्रतत्र छरिएको थियो ।

यतिञ्जेलमा मंग्लुलाई पाइखाना लागिसकेकोथ्यो । ऊ पेट छाम्दै भमिट गर्न खोजेझैँ गर्दै पाइखाना तिर लम्कियो । पाइखानाको ढोकै नदेखेपछि भने मंग्लुलाई निकै रिस उठ्यो । यताउता हेर्दा ढोका कतै छैन, न कलाको ह्याण्डल छ न पाइखानाको ढोका छ ! बिहानै प्लस टु पढ्ने केटाकेटीहरू बाटोमा सल्याङमल्याङ् गर्न थालिसकेका थिए । मंग्लुको पाइखाना मेनरोडतिर फर्केकाले , तसर्थ धोकाबिना पाइखाना जानु सम्भव भएन । एकैछिन त मंग्लुले रिसले आँखा देखेन । भुत्भुताउँदै बोल्यो – “साला हरामीहरू कस्तो बिगार गरेको हो !”

अब मुखियाको तिरै गएर हातखुट्टा धुने र पाइखाना पनि जाने भनेर मंग्लुले बरण्डाको बाँसमा सिउरेको पातलो ज्याकेट लगाएर सुतिरहेकी श्रीमती फूलवतीलाई ढोकैबाट बोलाउँदै भन्यो – “ए फूलु सुन न साला सब केटाहरूले चौथी खेलेर खत्तम बनाएछ उठेर हेर त …” उसले ढोकामा लगाइदिएको सिस्नोको मुठो अघि नै फालिसकेको थियो…आँखा मिच्दै फूलवती उठी । चौथीको बिगार देखेर फूलवती पनि रिसले आगो भई ।

“ल अब सफा गर माथ्लो घरबाट पानी ल्याएर..के गर्नु ! अब आफ्नै छोरा ज्वाईं नै चौथी खेल्न गाकोछ कसलाई के भन्नु ? म मुखियाकोमा गएर आउँछु हेर अरु पनि केके बिगार गरेको छ साला हरामीहरू”

“छिटो आइहाल्नू है” फूलवतीले दिक्क भएझैं गर्दै बोली ।

मुखियाकोमा निस्कनलाई साइकल चढेर अलि अगाडि जाँदा मंग्लुको हात जिउ सबै चिलायो ! उसको ज्याकेटभित्र काउसो पनि हाल्दिएको रैछ । जसोतसो कन्याउँदै मंग्लु मुखियाकोमा पुग्यो । मुखियाकोमा बगैंचाको फलफूल खाइदिएको सामान्य बिगार मात्रै गरेको भन्ने बुझियो चौथीमा । मातेर सुतेको थापा जेठालाई खाटसहित नै बोकेर बाटोमा ल्याइदिएछन् ! बिहान ६ बजेतिर रक्सीले छोडेपछि मात्रै जेठाले थाहा पाएछ ! कतै झ्यालको सिसा फुटाइदिएको कतै अचाक्ली बिगार गर्ने चोरीचकारी गर्ने केटाहरूलाई पक्रेर चौकीमा थुनेको छ हरे भन्ने खबर पनि मंग्लुले मुखिया बाकोमै थाहा पायो !

मंग्लुले मुखिया बालाई सबै सुनायो, “फटाहहरूले गर्नु गरेछन् नि” यति भन्दै मुखिया बा बेस्सरी हाँसे !

मंग्लु घर पुग्दा फूलवती रिसले भुत्भुताउँदै वर र पर गर्दैथी । कलाको ह्याण्डल भान्साघरको छानामा राख्दिएको अवस्थामा भेटियो । जसोतसो निकालेर मंग्लुले कल जोड्यो !

“किरियाहरूले मासु पनि २ टुक्रा राखेर सबै लगेछन् नि ! अनि गाई पनि छैन ललितको बुवा” फूलवतीले रुन रुन खोजेजस्तो गर्दै मंग्लुलाई सुनाई ।

गाई पनि छैन भन्ने कुराले मंग्लु झसङ्ग भयो ।

“यो चौथी खेलेको हैन दुश्मन लागेको हो बुझ्नुभो ललिताको बुवा ? यस्तो अचाक्ली त कैले भाको थिएन यो त्यै कटुवालको काम हो” फूलवतीले ठोकुवा गरेझैं भनी ।

“अब चौथीको बेला छ, तिमी पनि त्यतिकै आरोप नलाऊ न हो फूलु !”

कटुवाल माइलासँग मंग्लुको सम्बन्ध अलिक चिसिएको १ वर्ष भएको थियो । कटुवाल माइला पनि तरकारी खेतीका लागि प्रख्यात किसान थियो । पुर्ख्यौली आधा विघा जमिनमा उसको तरकारी खेती राम्रो फस्टाएको थियो । मंग्लु र कटुवाल माइलाको तरकारी खेतीमा प्रतिस्पर्धा जस्तो थियो । भित्रभित्रै कटुवाल माइलाले मंग्लुको डाहा गर्थ्यो भने मंग्लु उसलाई एउटा असल छिमेकीको दृष्टिले हेर्थ्यो । चाहिनेभन्दा ज्यादा रासायनिक मल हालेर पोहोर साल कटुवालको सिजनको टमाटर कुहिएको र त्यही साल मंग्लुले ५० हजारको टमाटर बेचेपछि कटुवाल माइला आहारिसले फतक्कै गलेको थियो मंग्लुसँग ! धेरै नाफा खाने चक्करमा कटुवाल माइलाले जग्गा नै सबै बिगारिसकेको थियो रासायनिक मल धेरै हालेर । उसलाई उपभोक्ताको स्वास्थ्यभन्दा पनि नाफासँग मात्रै मतलब थियो । गाउँमा कटुवाल माइलाको घरको दुध पनि बदनाम थियो । साह्रै पातलो हुन्थ्यो । यता मंग्लु भने दुधमा पानी मिसाउनु पाप हो भन्थ्यो । गाउँमा मंग्लुको राम्रो प्रभाव थियो भने कटुवाल माइलाको कन्जुसीको किस्सा गाउँभरि प्रख्यात थियो । एकचोटी लौकामा सुई हानेर २ दिनमै ३ किलोको बनाएपछि कटुवाल माइला बदनाम भएको थियो । यता मंग्लु सकेसम्म रासायनिक मल नहाल्ने, हालेपनि थोरै हाल्ने गर्थ्यो ।

मंग्लु मुखियाकोमा पुगेर आउँदा सधैँ फूलवतीले गाई दोहिसकेर चिया पकाइसकेकी हुन्थी, बिहान बेलुका गरेर ६ किलो दुध दिने आफ्नो जर्सी गाई हराएपछि मंग्लु गाउँमा खोज्न हिन्नैलाग्दा कुर्केला मंग्लुको आँगनमा टुप्लुक्क आइपुग्यो !

“काका ! बुवाले भनेको हाम्रोमा छिटो आउनू अरे !” कुर्केला रामभरोसको छोरो हो । रामभरोस गाउँको अर्को सोझो किसान थियो । ऊ केरा व्यापार र तरकारी खेती दुवै गर्थ्यो ।

“किन कुर्केला… के भो र ? रामभरोस दाइले किन बोलाए मलाई ?”

“तपाईंहरूको गाईले हाम्रो ८० बोट बन्दाकोपी सबै खाइदिएछ काका हाम्रो बारीमा बाँधेर राखेको छ !”

यो खबरले मंग्लु खुशी हुनु कि दु:खी हुनु भनेजस्तो भयो । बाली नाश गरे पनि हर्जाना तिरौंला, गाई त भेटियो भनेझैं पनि लाग्यो उसलाई ! ऊ कुर्केलालाई पछि लाएर रामभरोसको तिर लाग्यो ।

नभन्दै गाई पगाहसहित बाँधेको थियो । १ कट्ठा बारीको बन्दाकोपी आधासरो खाएको, कुनै भाँचेको, लडाएको थियो ! मंग्लुलाई देख्नासाथ गाईले निर्दोष पाराले हेर्यो ।

एकछिन गलफती भयो । मंग्लुले भन्यो – “मैले किन यस्तो नकाम गर्थें रामभरोस दाई ? चौथी खेल्नेहरूको काम हो ! मेरो घरमा पनि मनपरी गरेका छन् ।”

“त्यसो भनेर थोडी हुन्छ मंग्लु ? कि फुकाएर मेरो बारीमा छोड्ने मान्छे देखाऊ, कि हर्जानातिर…मलाई १ बोटको कम्तीमा ५० रुपैयाँ चाहिन्छ ! अरु कुरा थाहा छैन..अब साला रोजिरोटी नै यही भएपछि…”

१ हप्ताभित्र ३५०० हर्जाना तिर्ने शर्तमा मंग्लु गाई लिएर घर फर्कियो ! चौथी खेल्नेहरूको बिगार सम्झेर रामभरोसले ५०० रुपैंया छुट दियो मंग्लुलाई ।

गाई भेटिएकोमा खुशी हुँदै फूलवतीले भनी – अपराधी किरियाहरूको हातै किरा परोस् ….अनि मंग्लुले हर्जानाको कुरा सुनाएपछि फूलवतीको रिस दोब्बर भो ! मंग्लुले जसोतसो सम्झाएर थामथुम पार्यो, फूलवती “रामभरोसकोमा कुरा गर्न जान्छु चौथी खेल्नेले बिगार गरेको हामीले किन तिर्ने ?” भन्दै हिन्न लागेकी थिई ।

अब मंग्लु पाइखानाको ढोका खोज्न थाल्यो । सिमीको झाङ्ग (माच) माथि फालिएको अवस्थामा पाइखानाको ढोका फेला पर्यो । मंग्लुले एकैछिनमा ढोका फिट गर्यो ।

अघिल्लै दिन खाना खान बोलाएकी छोरी ज्वाईं चौथी खेल्न हिँडेकाले आएनन् र छोरीले बिहान आउने खबर पठाएकी थिई । ज्वाईं र आफ्नो छोरो ललित समेत चौथी खेलेर अझै फर्किएका थिएनन् ! हिजो चौथी भएकाले खड्का जेठाकोमा खसी काटिएको थियो, त्यहीँबाट मंग्लुले पनि १ किलो मासु ल्याएको थियो चौथी मनाउन !

सदा राती ११, १२ बजेतिर चौथी खेलेर फर्किने गर्थे प्राय केटाहरू..ढिलोमा पनि १, २ बजे राति फर्किन्थे । यसपाली छोरो र ज्वाईं दुइटै नफर्केपछि मंग्लुलाई कतै फट्याई गरेर पक्राउ त परेनन् ? भन्ने आशंका पनि लाग्यो । यता छोरी ज्वाईंलाई खुवाउन अघिल्लो दिन ल्याएको मासु बिहान २ पिस मात्रै भेटियो । छोरी उर्मिली पोहोर मात्रै गाउँकै अजीत भन्ने मगर केटोसँग भागेकी थिई । अजीत रक्सी जोडै खाने बेगारी टाइपको केटो थियो । घरीघरी उर्मिलीलाई कुट्ने र रक्सी खाने नै अजितको मुख्य काम थियो । यसो मिस्त्री काममा पनि हिँड्थ्यो नमातेको बेला । मंग्लुलाई ज्वाईंका कारण पनि मनमा पिरोलो थियो । उर्मिली भन्दा विशु २ वर्ष कान्छो थियो ।

११ बजेतिर हिजो पक्राउ पर्ने ५ जनामध्ये मंग्लुको ज्वाईं अजीत पनि भएको खबर आयो । मंग्लुले २ हजार घुस खुवाएर निकाल्यो । ललितचैं जसोतसो फुत्केर भागेको भन्ने अजीतले नै सुनायो, बेलुका ६ बजेतिर ललित टुप्लुक्क तर्सेको कुकुर जस्तो भएर आइपुग्यो । सालो भेनालाई नै मंग्लुले साफ झपार्यो ।

यसरी चौथी काण्ड मत्थर भयो । यसपाली मंग्लुले ४ कठ्ठामा पुरै काँक्रा लगाएको थियो । चौथीको लफडा सकिएपछि काँक्रा गोड्न भनेर मंग्लुका बुढाबुढी बारीतिर पसे । अचम्म के भो भने आधाभन्दा धेरै काँक्रा गोडेको छ !

“लु कुनचैं गजेडी बज्याहरूले त काँक्रा पनि गोड्दिएछन् त” मंग्लुले खुशी भएझैं गरी फ़ूलवतीतिर हेर्यो ।

फूलवती पनि छक्क परि ।

“लौ बिगार गरेपनि यति त गर्दिएछ त कुनचैं बौलाहाले”

दुवै अचम्ममा परे ! बाँकी काँक्रा बुढाबुढी मिलेर एकै दिनमा गोडिसके ।

भदौ सकिन लाग्यो । दशैं आउन लागेकोले सबैले आ-आफ्नो खेतीपातीबाट दशैँ खर्च जोहो गर्नतिर लागे ।

अचम्म के भयो भने जुन जुन बोट कसैले गोडिदिएको ठानियो, ती बोटहरू बिस्तारै पहेंलो हुँदै सुक्दै गए । पछि गोडेका बोटहरू मात्रै लटरम्म फले । चिँचिला लागेका काँक्राका बोट अचम्म तरिकाले सुकेर गए ।

मंग्लुका बुढाबुढी छाँगाबाट खसेझैं भए । यसपालिको दशैं खर्च र तिरोभारो त्यही काँक्रोबाट निकाल्ने उनीहरूको हिसाब थियो ।

“हैन कि जरा काट्दिए हौ किरियाहर्ले ?”, फूलवतीले केही सम्झिएझैं गर्दै भनी ।

“के भन्छ ?” मंग्लु झसङ्ग भयो ।

नभन्दै जति बोट सुकेर गएका थए ती सबैको जरा छिनाइदिएर माथिबाट माटोले थाहा नपाउने गरी पुरिदिएको रहेछ ।

“अब त अत्ति नै भो ललिताको बुवा…यो सब चौथी खेल्ने को काम हैन सब त्यो कटुवालको काम हो …मैले त पहिले भनेको हैन ? चौथी खेल्ने केटाहरूले यत्रो बोट काँक्रा गोड्दिन भ्याउँछ ? त्यो असत्ति कटुवालको त हातै किरा परोस्….थुइया…!”

मंग्लुले केही बुझेजस्तो गर्यो । तर शंका पुरापुर भए पनि कटुवाल माइलाले नै त्यो सबै बिगार गरेको/गराएको भन्ने प्रमाण केही थिएन ।

यसरी ५४ सालको चौथी मंग्लुको लागि दशा बनेर आयो । मंग्लुमाथि त्यति धेरै मजाक कसले गर्यो कहिल्यै पत्ता लागेन । क्रमश: माओवादी द्वन्द्व चर्किंदै जाँदा चौथीको प्रचलन लगभग हटेर गयो ।

ट्याग: कथा
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.