साहित्यपोस्ट डट कम

कथा : विवाहेतर

कथा : विवाहेतर

हिजो अजयको एकचालीसौं जन्मदिन थियो । साँझ श्रीमती, छोरी र छोरा को बीचमा अजयले केक काट्यो । गिफ्टका र्‍यापरहरू टेबलमा छरिए । समग्रमा रमाइलो भयो ।

रमाइलो– अर्थात, एक अनुभव– जो अजयले अरुको अनुहारमा हेरेर बुझ्ने गरेको छ ।

आज पनि उसले श्रीमतीले दिएको टि-सर्ट लाएरै आएको छ । एघार वर्षकी छोरीले दिएको की-रिङ उसको गोजीमै छ । आठ वर्षे छोराको तर्फबाट पाएको कफी कप घरमा सिरानी नजिकको टेबुलमा सुरक्षित छोडेर आएको छ ऊ ।

– 0 – 0 – 0 –

अहिले भने अजय सुनितासँग सिनिमा हलको अँध्यारोमा बसिरहेको छ । सुनिताले उसका औंलामा आफ्ना औंला उनेर, उसको हात ट्याप्प टाँसेर समाएकी छिन् ।

सिनिमा एकोहोरो चलिरहेको छ । अचानक सुनिता खितित्त हाँस्छिन् । अरू दर्शक पनि हाँसेको सुनिन्छ । पुलुक्क हेर्छ ऊ उनको अनुहार । कथाले सुनितालाई तानेको छ । सुनिताको हत्केलाले बाफिएको पसिना आफ्नो हातमा अनुभव गर्दैछ अजय । उसलाई लाग्छ– यस पटक ऊ सिनिमा हेरिरहेको छैन, बरु पर्दाको सिनिमाले नै उसको मानसपटलमा केही कथा खोज्दै छ । अथवा, खोजिदियोस् भन्ने चाहना पलाएको छ उसमा । मानौं सिनिमाले अरू सबै दर्शकको मनोकथा मन पराएको छ तर अजयको मनको पर्दामा भने सिनिमालाई वास्तै छैन । आफ्नै तमासामा मग्न भई चलिरहेको सिनिमा !

“तर जे होस्, यो पनि ठिकै छ”– सोच्छ अजय । “शायद यो उदासीनताले मलाई हिजोको उज्यालो र आजको अँध्यारोबीच आफैँलाई खोज्ने एउटा अवसर दिएको छ ।”

सिनिमा अझै मध्यान्तरसम्म पुगेको छैन । अजयलाई समय थामिएजस्तै लागिरहेको छ । पर्दाको कहानीले अझै उसलाई कुनै अर्थ दिइरहेको छैन । कहिले मध्यान्तर होला– यही सोचाइमा ऊ भित्रभित्रै थकित छ ।

तर सुनिताको उत्साह र मग्नता– अहो कति गह्रुङ्गो छ ! उनको त्यो खुशीलाई पन्छाएर ऊ उठेर हिंड्न पनि सक्दैन ।

– 0 – 0 – 0 –

बगिरहेको नदीजस्तै छ अजय– जीवनले जहाँ बगायो, त्यहीँ बग्यो । जीवनमा आफूले रोजेको, खोजेको र चाहेको कुरा ऊ स्पष्टसँग सम्झन सक्दैन, किनकि खोज्ने जिज्ञासा नै उसमा कहिल्यै जागेन । खुशी भनेको के हो भन्ने प्रश्न पनि उसले जीवनभर खासै सोधेको छैन– न त आफूलाई सोधेको छ न त अरू कसैलाई ।

सामान्यत: ऊ आफ्नो जीवनमा दुःखी पनि थिएन, र छैन पनि । त्यसकारण दुःख भनेको के हो भन्ने पनि उसलाई खासै थाहा छैन । आखिर अनुभव नै नगरेको अनुभूति कसरी बुझ्नु ?

खुशी र दुखी बीचको प्रष्ट विभेद दृष्टिको अभावमा ऊ अनुमान लाउँछ– “शायद म खुशी छु ।”

– 0 – 0 – 0 –

सुनितासँगको सम्बन्धमा आफू कसरी बिस्तारै तानिँदै गयो– अजयलाई यसको स्पष्ट उत्तर थाहा छैन । घटनाहरू सम्झन्छ ऊ– पहिलो भेट, रमाइला पलहरू, अनि बढ्दो नाजिकपनको अनुभूति । तर ती पलहरूमा मनले कुन किसिमको सम्बन्ध अनुभव गरिरहेको थियो– त्यो उसले कहिल्यै गहिरिएर बुझेन । एउटा हल्का रोमाञ्च र सामान्य जीवनभन्दा फरक स्वाद– उसले महसूस गरेको यति मात्रै हो । त्यही नयाँपनलाई उसले प्रेम ठानेको हो वा प्रेमको परिभाषा नै त्यही हो– उसलाई थाहा छैन । प्रेम के हो भनेर खोज्ने जिज्ञासा पनि उसमा कहिल्यै भएन ।

जुन ठाउँमा ऊ कार्यरत छ, त्यहाँ काम गर्न थालेको दुई वर्ष मात्रै भएको छ । पहिलो महिनादेखि नै सुनिता कहिलेकाहीँ सानो बहाना बनाएर उसको कोठामा आइपुग्थिन्– कहिले कुनै फाइल खोज्दै त कहिले घरमा बनाएको यमरी, बारा अथवा मोमो लिएर । त्यस्ता क्षणहरूमा साटिने हल्का मुस्कानले उनीहरू दुवैको मनमा शब्दमा व्यक्त गर्न नसकिने तरङ्ग उठाइरहेको हुन्थ्यो । त्यही तरङ्गमा बग्दै, दुई वर्षपछि, आज, अहिले सुनिताको हातमा आफ्नो हात टाँसेर सिनिमा हलको अन्धकारमा आफूलाई खोज्दै हराइरहेको छ अजय । शुरूका दिनमा अफिसका अरू स्टाफले शंका नगरेका होइनन्, तर अगाडि आएर कसैले केही बोल्ने कुरा पनि आउँदैन ! वास्तवमा भन्ने हो भने, अजयले त आफैंले आफैंलाई समेत शंकाको दृष्टिले हेरेन । जे हुँदै थियो– सो हुँदै थियो । अहिले त अरूले पनि वास्ता गर्न छाडिदिएका थिए ।

अनि बिस्तारै भेटघाट कार्यालय बाहिर पनि हुन थाल्यो । विगत दुई वर्षमा तीनपटक उनीहरू बाइकमा बुढानिलकण्ठ, नागार्जुन र गोदावरी पुगेका थिए ।

“शान्त ठाउँमा बसेर बीयर पिउँदै तिमीसँग गफ गर्नुको मजै बेग्लै !” यो भनाइ हुने गर्थ्यो सुनिताको ।

“हो, मलाई पनि त्यस्तै लाग्छ” मधुर शब्दमा थोरै बोल्थ्यो अजय ।

अनि आफ्ना चम्किला आँखाले अजयका शान्त आँखामा हेर्दै उनी एउटा हिन्दी गीत गुनगुनाउने गर्थिन्– “तेरी इसी अदा पे सनम मुझको तो प्यार आया …”

– 0 – 0 – 0 –

अजयको मन श्रीमतीतिर तन्किन्छ– १५ वर्षअघि भएको विवाहको क्षणसम्म । उमेर पुगेको, अब बिहे गर्नैपर्ने सामाजिक दबाब, घरको सल्लाह– यी सबैले उसलाई ३० वर्षको उमेरमा विवाहतिर धकेलेका थिए । तर धकेलिएको पीडा थिएन उसलाई । न त कुनै ठूलो खुशीको उत्साह नै थियो ।

परिवारले देखाएको केटीसँग पहिलो भेटमा केही औपचारिक शब्द साटिए । रंजिता नराम्री लागेन उसलाई– सुन्दरताप्रति कुनै गहिरो लगाव पनि त थिएन उसमा । स्वभाव पनि राम्रै भन्ने सुनेको थियो उसले । त्यसैले बिहे भयो, जीवन चल्यो, र सबै ठीकठाक नै थियो । श्रीमतीको हैसियतमा उनले अजयलाई कहिल्यै कमी महसूस हुन दिइनन्– माया दिइन्, ध्यान दिइन्, घरको जिम्मेवारी र सबै कुरा उनले आफ्नो ढंगले सन्तुलित राखिन् ।

तर, शायद समस्या त्यही थियो– अजयले कहिल्यै केही बढी खोजेन– न आफूबाट, न अरूबाट । उसको मनमा चाहनाहरू गहिरिनै सकेनन्, त्यसैले सम्बन्ध पनि सतहमै बगिरह्यो । अजयलाई रंजिताप्रति कहिल्यै आसक्तिको अनुभूति भएन ।

– 0 – 0 – 0 –

विवाहअघि पनि कसैप्रति प्रेमको झुकाव अनुभव गरेन अजयले– जस्तो कि उसका साथीहरूलाई हुन्थ्यो । तर मनमा प्रेमरस र रगतमा यौन रसायन नै नभएको भने होइन उसमा । काउकुती त लाग्थ्यो उसलाई पनि । एकपटक एउटी केटीलाई प्रेम प्रस्ताव पनि राखेको थियो उसले– साथीहरूको लहैलहैमा लागेर; तर अस्वीकार भयो । तर त्यसले उसको मनमा कुनै चोट लागेन । त्यसकारण कुनै पुरानो घाउको खत पनि छैन उसको मनमा ।

ती पुराना साथीभाइलाई सम्झिन पुग्छ अजय– “धेरैजसो त उहिले विदेशतिर उडिसके– कोही अमेरिका, कोही अष्ट्रेलिया, कोही युरोप गए मोराहरू !” फेसबुकमा उनीहरूका फोटाहरू देख्दा सोच्ने गर्छ ऊ, “उनीहरू श्रीमतीसँग ठुला बिल्डिंगका अगाडि वा समुद्रमा फोटो खिच्छन्, तर म पनि यहाँ आफ्नै किसिमले खुशी छु– आखिर फरक त्यत्ति न हो ! कहिले रेस्टुरेन्टका परिकार देखाएर फोटो पोस्ट गरेका हुन्छन्, तर त्यत्तिको लागि किन विदेश जानु ? सबै थोक त यहीं छ !” भन्ने लाग्छ उसलाई ।

खान–लाउन पुग्ने सम्पत्ति र समाजमा इज्जत– परिवारमा यी सबै कुरा उपलब्ध छन् । पढाइमा पनि शुरूदेखि राम्रै थियो ऊ, अनि, बोली र व्यवहारमा शान्त र शालीन । विवाह हुनुअघि सामाजिक हैसियतमा एउटा कमी थियो– जागीरको । बुवाको भनसुनले एउटा प्राइभेट संस्थामा प्रवेश पायो । त्यति भएपछि विवाह पनि सजिलै भयो । दुई वर्षयता ऊ पुरानो जागीर छोडेर नयाँमा छ– अर्को एउटा संस्थामा । र, त्यही नयाँ जागीरमा ठोकिन आइपुगेकी हुन् सुनिता ऊसँग ।

“रंजिताले मलाई खुशी राखेकी छिन्; मैले पनि रंजितालाई खुशी राखेको छु” सुनिताको बाफिलो हात समाएको समायै सोच्न पुग्छ अजय ।

– 0 – 0 – 0 –

रंजितामा केही कमी कमजोरी छैन त ? सम्झिने बल गर्छ ऊ ।

झट्ट सम्झिन पुग्छ ऊ सात वर्षअघिको त्यो घटना– पल्लो घरको डेरामा बस्ने अभिषेक र रंजिताबीचको बढ्दो आत्मीयता । त्यो २२ वर्षे अभि भाइ र २९ वर्षे रंजिताबीचको बढ्दो समिपतालाई थाहा नपाए झैं ध्यान दिएर हेर्ने गरेको थियो उसले । एक दिन आँगनमा रंजिताको काखमा सानो छोरो खेलिरहेको बेला बाबुलाई बोलाउने निहुँले नजिकै आएर अभिषेकले रंजिताको गालामा च्वाप्प किस खाएको अजयले कोठाभित्रबाट आफ्नै आँखाले देखेको थियो । त्यसपछि रातो अनुहार लाएर पल्याकपुलुक वरिपरि हेरेकी थिइन् उनले ।

त्यो क्षण बाहिर निस्केर उनीहरूलाई बिथोल्नु उचित लाग्दै लागेन अजयलाई । उनीहरूबीच आफू घुसपैठिया हुनबाट टाढिएको थियो ऊ । कसैको निजी आत्मीयतामा आफू अनावश्यक रूपमा बीचमा किन पर्नु जस्तो लागेको थियो उसलाई । त्यसैले त्यो दृश्यलाई नदेखेजस्तै गरिदियो उसले– न त प्रश्न गर्‍यो, न त मनमा कुनै अवसाद पाल्यो ।

मान्छेका आफ्नै आफ्नै जीवन जिउने तरिका हुन्छन र जीवनलाई हेर्ने पनि आफ्नै आफ्नै नजरिया हुन्छन, र ती सबै कुरा सधैं शब्दमा व्याख्या गर्नैपर्ने हुँदैनन्– त्यही क्षण बोध भएको थियो उसलाई ।

त्यसैले रंजिताका कुनै पनि रुची, गतिविधि र शौखहरुलाई ऊ अहिले पनि न कुनै कमी मान्छ न त कमजोरी । बरु तिनलाई हेर्नै नपरोस भनी ऊ आँखा चिम्लिदिन्छ । उनी कहाँ जान्छिन्, कोसँग भेट्छिन् र के गर्छिन्– त्यस्ता कुनै कुरामा अजयले कहिल्यै चासो देखाएको छैन ।

– 0 – 0 – 0 –

अजयको मन सुनितातिर फर्किन्छ– “मलाई थाहा छ यिनी मसँग हुँदा साँच्चिकै खुशी हुन्छिन् । यिनको खुशी कुनै स्वार्थबाट जन्मिएको होइन भन्ने मैले बुझेको छु । यिनी न त मेरो डिभोर्स गराउन चाहन्छिन्, न मसँग विवाह गर्ने सपना बोकेकी छन्, न मसँग स्थायी सहजीवनको माग नै राख्छिन् ।”

अजयलाई यो पनि थाहा छ– सुनितालाई केवल केही समयको साथ, केही क्षणको रमाइलोपन, र आफूलाई बुझ्ने मान्छेको उपस्थितिमात्र चाहिएको छ । त्यसबाहेक उनले कहिल्यै केही मागेकी छैनन् ।

एकपटक उनले कुरै कुरामा मुसुक्क हाँस्दै भनेको सम्झिन्छ अजय– “अजय, मलाई तिमीसँग एक रात बिताउने रहर छ ।”

पूर्ण सहानुभूति छ उसलाई उनको त्यो चाहनामा । किनकि त्यसमा ऊ स्वार्थ देख्दैन बरु केवल परमानन्द समाधिको एउटा सरल आकांक्षा मात्र देख्छ ।

तर पनि, त्यस बेला अजयले त्यो कुरा सहजै टारिदिएको थियो । गम्भीर अनुहारमा हल्का मुस्कान ल्याएर उसले यति मात्रै भनिदियो– “हो र ?”

बीयरको चुस्की निल्दै उनले जवाफमा “उम्” भनेको दृश्य सम्झिन्छ अजय ।

दुनियाँको भीडमा उसलाई त्यो काम अलि सहज र सुरक्षित लागेन । यद्यपि, सुनिताको त्यो सानो चाहना– अँध्यारोमा हात समाएर मात्र होइन, बरु अन्तरंग र निर्वस्त्र भएर बिताउने एक रात– अजयले बिर्सेको छैन । एक वर्ष भैसक्यो उनले त्यो भनेको । सम्झिंदा अझै केही काउँकुती लागेजस्तो पनि हुन्छ उसलाई । तर त्यस उप्रान्त सुनिताले सो चाहना दोहोर्‍याएर भनेकी पनि छैनन्, र अजयले पनि त्यो प्रसंगलाई फेरि कोट्याएको छैन ।

– 0 – 0 – 0 –

अकस्मात् मध्यान्तरको घण्टी बज्दा झसङ्ग हुन्छ ऊ । जोडिएका हात छुट्टिन्छन् । सुनिता भन्छिन्, “जाऊँ बाहिर एकछिन ।”

बाहिर पुगेर सुनिता उत्साहले सोध्छिन, “फिल्म कस्तो लाग्दैछ ?”

अक्क न बक्क भएको छ अजय । “मैले त हेरेकै छैन” भन्न सक्दैन ऊ । “राम्रै छ” भनिदिन्छ ।

“हो र ? मलाई त कस्तो राम्रो लाग्यो !” सुनिताको स्वरमा वास्तविक खुशी झल्किन्छ ।

अजयले दुईवटा आइसक्रिम किन्छ । आइसक्रिम अलिकति चाटेर आफ्नै ओठ चुस्दै सुनिता मुस्कुराउँछिन् र मधुरो स्वरमा भन्छिन् “मैले एकपटक भनेको मेरो पुरानो रहर सम्झ त ।”

“के कुरा ?” नबुझेको अभिनय गर्दै सोध्छ अजय ।

केही नबोली आइसक्रिम चाटिरहन्छिन् उनी ।

“भन न– के हो ?” जिद्दी गरेको स्वरमा बोल्छ ऊ ।

सुनिता निकै मसिनो स्वरले गुनगुनाउन थाल्छिन्, “तेरी इसी अदा पे सनम मुझको तो प्यार आया …”

त्यसपछि उनीहरू दुवै मौन रहन्छन ।

– 0 – 0 – 0 –

आइसक्रिम खाइसक्दा हलमा सिनिमा फेरि चालु हुने समय भइसक्छ । “जाऊँ” भन्छिन् सुनिता ।

“सुनिता !” भन्छ अजय– केही पीडाको स्वरमा । “साँच्चै भन्नुपर्‍यो अब चाहिं तिमीलाई …”

“के ?” गहिरो उत्सुकताले अजयको मुखमा हेर्छिन् सुनिता ।

“मलाई अलि सन्चो नभएको फील हुँदैछ । फिल्म पनि इन्जोय गर्न सकिरहेको छैन ।”

“अबुई, हो र ? के भयो ?”

“अघिदेखि छातीमा कस्तो कस्तो भैरहेको छ । खालीखाली जस्तो; भारीभारी जस्तो ।”

“ओहो, अघि नै भन्नु पर्दैन ?” सुनिता एकाएक आत्तिन्छिन् ।

“आत्तिनु पर्दैन,” अलि सम्हालिंदै भन्छ ऊ, “तर अहिले मलाई हल्का आराम चाहिएको छ । म अब सिनिमा हेर्न सक्दिन ।”

सुनिता अझै आत्तिएकै स्वरमा भन्छिन्, “हुन्छ हुन्छ, अब सिनिमा हेर्ने होइन । बरु यतै यतै डाक्टरकोमा जाने हो कि ?”

“होइन होइन, पर्दैन” भन्छ ऊ ।

“ल त्यसो भए गैहालौं यहाँबाट” भन्छिन् उनी ।

अधुरो सिनिमा छोडेर सुनिता निस्किन्छिन् ।

अज्ञात कहानीको कुहिरोबाट निस्किन्छ अजय पनि ।

ट्याक्सीमा धेरैजसो समय दुवै जना मौन रहन्छन्, यद्यपि बेलाबेला सुनिताले उसलाई सोध्दै रहन्छिन्, “अहिले कस्तो छ ?” भन्दै ।

“अहिले त ठीक छ” – हरेक पल्ट यही उत्तर दिन्छ ऊ ।

घर पुग्नु अघिको अन्तिम मोडमा अजयले ट्याक्सीलाई रोक्न भन्छ । ओर्लेर उभिन्छ र छुट्ने बेलामा सुनिताले दिएको बिदाको एकतर्फी मुस्कान मौन भई हेर्छ । ट्याक्सी सुनितालाई लिएर अगाडि बढ्छ, अनि ऊ पनि सरासर घरतर्फ मोडिन्छ ।

घर जाँदै गर्दा उसको आँखामा मध्यान्तरमा सुनिताले आइसक्रिम चाट्दै गीत गुनगुनाएको चेहरा झल्झली आउन थाल्छ । “मेरो पुरानो रहर सम्झ त” भनेर उनले भनेको शब्द दोहोरिन्छ उसको मनमा ।

उनलाई जवाफ दिए झैं मसिनो स्वरले गुनगुनाउन थाल्छ ऊ– “तेरी इसी अदा पे सनम मुझको तो प्यार आया …”

– 0 – 0 – 0 –

घर पुगेर गेटबाट छिर्छ ऊ । सिंढी चढ्नुअघि केही अलमलमा परेजस्तो एकछिन टक्क उभिन्छ ऊ र सोच्छ– “सिनिमाको अज्ञात कहानीको कुहिरोबाट त म निस्किएर आएँ । तर आफ्नै कहानीको कुहिरोबाट पनि म कुनै दिन बाहिर निस्किउँला ? के मेरो आफ्नै जीवनकथा पनि त्यो सिनिमाको कथा जत्तिकै धमिलो त छैन ? म आफैंले कत्तिको बुझेको छु मेरो आफ्नो कहानीलाई ?”

सिंढी उक्लिन्छ ऊ र माथि पुगेर खुइय गर्दै आफैंलाई जवाफ दिंदै भन्छ– “थाहा छैन ।”

“के थाहा छैन भन्नु भएको ?” ढोकामा अचानक प्रकट भएकी रंजिताले निधार खुम्च्याउँदै सोध्छिन् ।

पुलुक्क हेर्न खोज्छ ऊ उनको अनुहारमा, तर फेरि नहेरी, उदासीन स्वरले जवाफ दिन्छ– “केही होइन ।”

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.